विश्वराज घरमा थियो । बाआमा माडी खेतमा जानुभएको थियो । माडीको फाँटले मन्थली बजारको झिलिमिली आँखा नझिम्क्याई एकोहोरो हेरिरहने प्राकृतिक हिसाबले स्वर्गजस्तै छ माडी त्यहीँ बा र आमाको दिनको प्रहर बित्छ । विश्वराजले सोच्छ यो सान्नेको पाखोबाट बा आमालाई अब मैले तल झार्नुपर्छ, बाआमाले जिन्दगीमा धेरै दुःख गर्नुभयो । उकालो ओरालो गर्दा दमको रोगी आमालाई झन् गाह्रो हुँदै गएको छ । अब त म हुर्केको छु केही गरेर बा आमालाई मधेसतिर लैजान सकेँ भने म जन्मेको अर्थ हुन्छ । साँझ पर्‍यो बाआमा घरमा आउनुभयो । विश्वराजले सबै घरधन्दा सकेकाले खाना च्यापेर आँटीमा उक्ले सबै जना ।

अम्बिका कार्की

बिहान डोकोमा गाग्री राखेर स्वाँ स्वाँ गर्दै आमा मास्तिर उक्लेपछि विश्वराजले बासँग भन्यो । बा ! म घरमा बसेर हल्लिएर हुँदैन म विदेश जान्छु काठमाडौँ जाँदा ठुलाकान्छा दाइलाई पासपोर्ट बुझाएर आएको छु राम्रो अवसर आउँदा फोन गर्नू दाइ भनेर । बहिनीहरूले पनि पढ्नै छ । यो डाँडाबाट तल झार्न सकुँला नसकुँला छोरो भएर जन्मेको छु कोसिस त गर्छु । तिनोटी छोरीहरू जन्मेपछि जन्मेको छोरो धनराजलाई परदेश पठाउन पटक्कै मन छैन ऊ जन्मेपछि अपुत्रो भन्नेको मुखमा बुजो खाँदिएको थियो । विश्वराज जन्मेपछि जन्मेका दुइटी छोरीहरूको पालामा धनराजलाई जे जन्मे पनि पर्वाह थिएन ।

शनिबारको दिन थियो । आज दिउँसो खेतमा जानुपर्ने थिएन र बा, आमा, सङ्गीता, गीता घरमै थिए विश्वराजको मोबाइलमा रिङटोन बजिरहेको थियो ।

यो दसैँमा म घर आइनँ, सम्झनालाई पठाउन केही पाइनँ …… गीताले मोबाइल हातमा लिएर चिच्याई, “दाइ! कता हुनुहुन्छ फोन आछ ।” विश्वराज बोल्यो यता ले सानी म खोरतिर छु । विश्वराज बाख्राले दाम्लो बेरेकाले फुकाइदिँदै थियो । उसले फोन उठायो । ठुलाकान्छाले फोन गरेका रहेछन् । उताबाट बोले, “विश्व तँ दुबई जाने तयारी गरेस्, तेरो भिसा लाग्यो नक्कली डकुमेन्ट बनाएर दुबई पुलिसका लागि डकुमेन्ट पठाइदिएको थिएँ भिसा लाग्यो ।” फोन राखेपछि विश्वराजले खुसी हुँदै घरमा सबैलाई त्यो खबर सुनायो । बहिनीहरू पनि दाइसँगै खुसी हुँदै उफ्रे तर बाआमाको मुहारमा खुसीको चमक थिएन । बा आमालाई मलिन देखेपछि विश्वले भन्यो, “हजुरहरू चिन्ता नगर्नू आमा! सारा दुनियाँ परदेश गएकै छन् आआफ्नो भाग्यमा जे छ त्यो सबैले भोग्नैपर्छ । ठाउँ राम्रै छ दुबई पुलिसमा कमाइ पनि राम्रो हुन्छ यो हैरानबाट हजुरहरूलाई बाहिर निकाल्न सकेँ भने र गीता, सङ्गीतालाई राम्रोसँग पढाउन पाए उनीहरूको पनि भविष्य बन्छ । तिनोटी दिदीहरूले पढ्न पाएनन् । गाउँमा दिइयो उनीहरूको जस्तो दुःख यी दुइटीले नपाऊन् भनेर पो म जान लागेको ।” सबै शान्त थिए धनराजले सोचे छोरो अब हुर्केछ । अनि बोले, “हुन दे सीताकी आमा ! चिन्ता नलिई अब हाम्रो छोरो ठूलो भयो उसले केही गर्छु भनेर हिम्मत गरेको छ हामीले रोक्न हुन्न ।”

भिसा आएको दस दिनपछि घरबाट बिदावारी भएर विश्वराज काठमाडौँ गयो र त्यहाँ पुगेर मेडिकल गर्‍यो, श्रम गर्‍यो । सबै काम कुरा सकेर ऊ दुबई गयो । उसलाई एजेन्टले भनेको र एग्रिमेन्ट अनुसारको काम थियो । विश्वराज आफ्नो काममा खुसी थियो । ऊ पुगेर पनि म पुगेँ भनेर घरमा फोन गरेको थियो । काममा लागेपछि पनि घरमा फोन गर्‍यो । सङ्गीताको माग थियो, “दाइ ! पहिलो महिनाको तलबले मलाई मोबाइल किनिदिनू ।” गीताले पनि त्यही भन्थी । “दाइ! मेरो मोबाइल ह्याङ हुन्छ हजुरलाई थाहै छ ।” बाआमाले कहिल्यै पनि यो र त्यो चाहियो भन्नु भएन ।

समय बित्दै गयो उसले बेला-बेला घरमा फोन  गर्थ्यो, घरको दुःखसुखबारे जानेकै थियो । यसरी ऊ गएको पनि निकै समय भइसकेको थियो । बहिनीहरूले उच्च शिक्षा पढ्न अब सहर पस्नुपर्ने बाध्यता थियो । विश्वराजले घरबिदा लिएर घर आयो । बाआमाले र आफन्तले विवाह गर्न कर गर्नुभएको थियो तर ऊ मानेन । उसको सोचाइ अर्कै थियो । उसले अब गाउँ छाडेर सहर पस्ने निर्णय लिएको थियो जहाँ बहिनीहरूले पनि पढ्न सहज होस्, बाआमालाई पनि उकालोओरालो गर्नुपर्ने कष्टकर दैनिकीबाट  सहज होस् । उसले बालाई भन्यो, “बा! एकपटक चितवन घुम्न जाऔँ, त्यता चित्तबुझ्दो भए घर पनि लिउँला नत्र देवघाट घुमेर फर्कौँला ।” देवघाट भनेपछि धनराजले स्वीकृति जनाए ।

भोलिपल्ट बाउछोरा चितवनतिर लागे । आएर बसपार्कको होटलमा एउटा रुम लिएर बसे । मिर्मिरेमा दुवैका आँखा खुल्यो र गन्थन गर्न लागे । “पहिला यस्सो घुमफिर गरौँ कता मन अडिन्छ त्यतै किनबेचका घरहरू बुझौँला चित्त नबुझे तीर्थ धामहरू घुमेर फर्कौँला ।”

उज्यालो भयो चियाको घुट्को पिएर बाउछोरा ट्याक्सी रिजर्भ लिएर नगर घुम्न निस्के । उनीहरूको मन सुन्दरपुरमा पुगेर रोकियो । अग्लो-अग्लो फाँट, चोकमा मन्दिर, स्कुल, कलेज, खानेपानीको सुविधा, ढल व्यवस्थित, फराकिलो बाटो, न भिडभाड नै छ ज्यादा । विश्वराजले बालाई सोध्यो बा! यहाँनेर कस्तो लाग्यो हजुरलाई ? बाले भन्नुभयो । बाबु ! तेरी आमा र म बुढो पनि भइयो । अब साँझबिहान ईश्वरको आराधनामै मन खुसी हुन्छ यही मन्दिरको वरिपरि यतैकतै लिन पाए गजब हुन्थ्यो यो ठाउँ मलाई मनपर्‍यो तर चिनेजानेको कोही छैन कसरी सम्भव होला र खै? ट्याक्सी ड्राइभर बोले, “तपाईँहरू कहाँदेखि आउनुभएको ? यस्सो कुरा बुझ्दा घर जग्गाका लागि आउनुभएको जस्तो लाग्यो तपाईँहरूलाई समस्या हुन्न भने म यही गाउँको हुँ म सहयोग गर्छु तपाईँहरूलाई ।” धनराजलाई सहरिया मान्छेको भर लाग्ने थिएन त्यसैले चुपचाप बसे । विश्वराजले बोले, “हामी रामेछापदेखि आएका हौँ दाइ ! हो हामीहरू घर लिने विचारले आएका हौँ ।” यति बोली सक्दा नसक्दा ट्याक्सी ड्राइभरले ट्याक्सी चियाघरअगाडि  साइड लगाएर रोके । सबै जना तल झरेर चिया अर्डर गरेर कुरा गर्न थाले । ट्याक्सी ड्राइभरले भने, “भाइ! यहाँ एउटा घर छ त्यो दाइहरू तनहुँबाट आएर घर बनाउनुभएको थियो । घर लोनमा बनेको रहेछ कोरोनाको लकडाउनपछि बिजनेस ठप्प भएर ऋणले आँत्तिएर बेच्न खोज्नुभएको छ । आफैँ बस्न बनाएको घर बलियो छ तर के गर्नु सबैको आआफ्नो व्यवहार हुन्छ ।” “खै कुन घर ? विश्वराज बोले ।” चिया टेबुलमा राखिदिँदै साहुनीले भनिन्, “श्याम दाइको घर हेर्न आउनुभएको हो ? ट्याक्सी ड्राइभरले टाउको हल्लाएर हो भन्ने सङ्केत गरे । चिया पिएर तीन जना श्यामको घर हेर्न गए ।

धनराजले सोधे, “यो बस्तीमा कुन जातिको बाहुल्यता छ बाबु ?” ट्याक्सी ड्राइभरले भने, “यहाँ सबै मिक्स छ बाजे गुरुङ, मगर, नेवार, थारू, क्षेत्री, बाहुन, दमाई, कामी, सार्की । अधिकांश मानिसहरू अब ठाउँ हेर्छन् बाजे ! जातजाति त के हो र मानिसले बनाएको त हो ।” धनराजले भने त्यो त हो । श्यामको घर आयो । सोह्र धुरमा बनेको घर । बाटातिर पनि जग्गा छोडेको, पछाडि यस्सो साग खान पुग्ने जमिन पनि छ, वरिपरि पर्खाल अनि चिटिक्कको गेट । साढे दुई तलाको जापानिज मोडलको घर साह्रै राम्रो माने बाउछोराले । घरबाहिर मान्छेहरू देखेर श्यामबाहिर निस्केर सोधे, “कसलाई खोजेको होर नारन !” ( नारन ट्याक्सी ड्राइभरको नाम हो ) “ए दाइ! उहाँहरू चितवनमा घर किन्ने सुरले आउनुभएको रहेछ संयोगवश मेरै ट्याक्सीमा पर्नुभयो उहाँहरू र मैले तपाईँको घर देखाउन ल्याइदिएको छु  उहाँहरूले घर मन पराएजस्तो लागेको छ तपाईँहरू कुरा गर्नुस् कुरा मिल्यो भने मैले पाउने पर्सेन्ट मलाई दिनू पुगिगो नि मलाई ।” नारन हाँस्यो । नारन सँगै सबै जना हाँस्दै घरभित्र गए । भित्र पनि घर हेरे । मन पराए । अब घरको रेट बुझ्न आतुर थियो विश्वराज । मनले नमानेर सोध्यो, “अनि दाइ घरको मूल्य कति भन्नुभा’छ ?” श्यामले घरको मूल्य भनेपछि मूल्य पनि चित्त बुझ्यो विश्वलाई । घर भोलि नै पास गर्ने कुरा भयो ।

सबैजना भोलिपल्ट मालपोत पुगे । गएर घर जग्गा नामसारी गरे । नामसारीमा फेरि धनराजले मानेनन् आफ्नो नाममा जग्गा लिन र विश्वकै नाममा पास गराए । श्यामले पनि छिटै घर खाली गरिदिन्छु भनेका थिए र सजिलो भयो उनीहरूलाई । तुरुन्त रामेछाप गएर त्यहाँ बन्दोबस्त मिलाएर सपरिवार चितवन आए । पहाडमा जस्तो पातलो बस्ती थिएन सुन्दरपुरमा । सामाजिक काममा धेरै मानिसहरू भेला हुन्थे । सबै जाति, सबै धर्मका मानिसहरू आआफ्नो संस्कार र संस्कृतिअनुसार चाडपर्व मनाउँथे । भैपरी आउने समस्यामा टोलका मान्छेहरू मिलेर समस्या सुल्झाउँथे । त्यही गाउँमा एक-दुई जना अलि समाजमा अमिल्दो खालका मानिस पनि थिए । उनीहरू अघिपछि त पिउने मान्छे झन् चाडपर्वका नाममा ज्यादै पिउँथे अनि गाउँमा होहल्ला गर्थे । अलि चित्त नबुझेका कुरा छाडा शब्द प्रयोग गरेर पिएको बेला ठूलो स्वरमा कराउँथे । जुन शब्दहरू सभ्य परिवारका सपरिवार  सँगै हुँदा सुन्न पनि लाज हुन्थ्यो ।

त्यो दिन अघिपछि ठिकै मानिने एउटा अङ्कलले मज्जाले पिएर छाडा शब्द प्रयोग गरी बाटामा निस्केर हल्लिँदै चिच्याइरहेका थिए । “ए फलाना ! तँ फलानो थोकलाई पख् ! तँ खुब नेता भाछस् । तँलाई ठिक पार्छौँ अब हामीले । हामीलाई तँ दलित भनेर हेप्ने ? यो मन्दिर हामीले बनाएको हो, हाम्रो हो ।” उनी बकबकाइरहेका थिए । आफ्ना वरिपरि जो देखा पर्थे छाडा शब्द प्रयोग गरिहाल्थे । टोलका छोरीबुहारीलाई त बाहिर निस्किसक्नु थिएन यत्तिकैमा बाटामा नेवार काइँल्दाइको छोरो बाहिर निस्कियो र, “ए राम अङ्कल! तपाईँ चुप लागेर घर जानू  त, तपाईँ ज्यादै बोल्नुभयो । सुन्नेलाई समेत लाज भइसक्यो” भन्यो । राम दाइ के चुप लाग्नु झन्‌झन् जङ्गिए । फुर्केर भनेझैँ  झन्‌झन् छाडा शब्द प्रयोग गरेर त्यही नेवार केटामाथि खनिए । पिएर झल्लु भएकालाई त्यो नेवार भाइले नि केही नभनेको भए राम एकछिन कराउँथे थाकेपछि चुप लाग्थे सक्किजान्थ्यो । गएर बोली त गयो केटाले । बोलेपछि मामला झन् बिग्रियो । तँ तँ र म म भयो । राम अङ्कलले पिएर थपक्क सुतेको भए जित्थे बाहिर निस्केर रामायण पढ्न लागे । त्यसपछि केटो तात्तियो त्यसरी केटोले बाबु समानका मान्छेलाई हात हाल्नु हुने थिएन । रक्सीले चुसेको ज्यान बलवान् केटाले हात हालेपछि भुईँमा लड्यो । सबै मिलेर अस्पताल पुर्‍याए तर जति कोसिस गरे पनि राम अङ्कल बाँचेनन् उनी गए । समाज हो समाजले पनि त हिंसा त हेर्दैन आखिर नेवार काइँल्दाइको छोरोलाई कानुनबमोजिमको सजायको माग गरेर प्रहरीलाई बुझायो । राम अङ्कलले पिएको बहानामा छाडा बोल्नु गलत थियो केटाले हात हाल्नु गलत थियो । आखिरिमा दुवै जनाको जिन्दगी सकियो ।

यही सुन्दरपुर हो हिजोआज सुन्दर छ जस्तो लाग्दैन । सबै जातजाति मिलेर बसेको समाजमा अहिले जातीय विभेदको नारा लगाएर अरू ठाउँका मानिसले समेत यसलाई राष्ट्रिय मुद्दा बनाएका छन् भन्ने सुन्छु । मिलिजुली बसेको समुदायका बिचमा यसरी टोल, गाउँ, जिल्ला मुछेर नाराहरू कहिलेसम्म घन्किन्छ ? कहिलेसम्म उचाल्ने र पछार्ने भइरहन्छ ?  हामीलाई हाम्रो सुन्दरपुर सुन्दर चाहिएको छ बस् यी टोलवासीहरू यो लफडामा नपरे हुन्थ्यो ।