तीन दिन उनीहरूलाई एकदम रमाइलो भयो । बुवाले गाउँमा नै राम्रो खसी खोजेर राखिदिनु भएको रहेछ । चार भाइ मिलेर नवमीको दिन काटकुट गरेर बनाए, बुहारीहरूले शहरदेखि लिएर आएको मरमसला राखेर पकाए । नातिनातिना पनि रमाउँदै यता र उता दौडेर रमाइलो मानेर खेले । वर्षभरि दुईजना बुढाबुढीहरू मात्र हुने यो घरको आँगन भरिभराउ भयो । बुबाआमालाई शहरबाट जुस ल्याएका रहेछन्, उनीहरूलाई दिए र बुहारीहरूको एउटा समूह र छोराहरूको अर्को समूह भएर आँगनमा बसेर भर्खर पकाएको मासुसँग पिउन थाले ।

छोराहरूले पानी मिसाउँदै पिएका छन् तर बुहारीहरूले सिधै पिएको देखेर प्रश्नवाचक नजरले आमाले बुबातर्फ हेरिन् । बुबालाई पनि खास कारण त थाहा थिएन तर पनि आफू श्रीमतीभन्दा जान्ने मान्छे भएको देखाउनको लागि भनिदिए, “छोराहरूले खाएको सर्बत हाम्रोभन्दा बढी गुलियो परेछ होला !”

ढाका मोहन बराल

खाने पिउने काम सकिएपछि नातिले शहरदेखि बोकेर ल्याएको सानो स्पिकर निकाल्यो तर आवाज भने चर्कै रहेछ । बजाउन थाल्यो । सबैजना नाच्न शुरु गरे । बुबाआमालाई पनि नचाउन थाले । भोलिपल्ट दशैँको टीकाको दिन टीका लगाउँदे ठिक्क भयो । दशमीको अर्को दिन सबैजना फर्कन तरखर गर्न थाले । दुई दिनको रमाइलो सकिन थाल्यो । सबैलाई आफ्नो झोला मिलाउन हतार भयो । भोकै जान्छन् कि भनी आमालाई खाना पकाउन हतार भयो । छिटो भान्छा तयार गर्न थालिन् । वर्ष दिनसम्म हुने सुनसान वातावरण सम्झेर कसैले नदेख्ने गरी बुबाले दुई थोपा आँसु चुहाए र हत्केलाले पुछे । भित्र धुँवाले हो कि किन हो आमाको आँखा पनि रातो देखियो । खाना खाएर सकेपछि उनीहरू आफ्नो आफ्नो झोला बोकेर बुबाआमालाई ढोग्दै निस्कन थाले ।

सबैभन्दा पछाडि सानो नाति थियो । ऊ सँगसँगै उसका हजुरबुबा पनि तगारोसम्म आए । तगारोबाहिर निस्कँदै सानो नातिले उसको बुबासँग सोध्यो, “बाबा, अब हामी अर्को होमस्टे कहिले जाने ? ”

तगारो भित्रबाट उसको हजुरबुबाले के बुझ्नुभयो थाहा भएन ।