साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

म्याक्सिम गोर्कीकाे “आमा” शृङ्खला ३९

Chovar Blues Mobile Size

भाग २, शृङ्खला ३९

केही दिनपछि आमा र सोफिया गरिब आइमाईको भेषमा निकोलाइको अगाडि आएर उभिए । उनीहरूले सुतीको फाटेको कपडा लगाएका थिए, पिठ्यूँमा झोला बोकेका थिए र हातमा लठ्ठी लिएका थिए । यस पहिरनमा सोफियाको कद अति होचो देखिन्थ्यो । र उनको फिका अनुहार सधैंभन्दा गम्भीर लाग्थ्यो ।

निकोलाइले दिदीलाई बिदा गर्दै बडो स्नेहपूर्वक उनको हात समात्यो । उनीहरूको पारस्परिक सम्बन्धको यस शान्त सरलताले आमाको हृदयमा गहिरो छाप पा¥यो । उनीहरू न त एक–दोस्रालाई म्वाइँ नै खान्थे, न त मीठामीठा कुराहरू नै गर्थे तर दुवै एक–दोस्राबारे सधैं पीर गरिरहेका हुन्थे । जुन बस्तीमा उनी पहिले बस्थिन्, त्यहाँ मान्छेहरू सधैं एक–दोस्रामाथि भोका कुकुरहरूजस्तो झमिटहाल्थे ।

ती दुवै आइमाईहरू चुपचाप सहरका सडकहरू पार गर्दै खेतमा निस्के । उनीहरू अहिले पुराना भोजवृक्षका दुई पंक्तिहरूबीचको एउटा चौडा गड्याङ्गुडुङ परेको सडकमा जाँदै थिए ।

sagarmani mobile size

“थाक्नु त हुन्न ?” – आमाले सोफियालाई सोधिन् ।

“तपाई सोच्न सक्नुहुन्छ, मलाई कम हिँड्ने आदत छ ? बानी परिसकेको छ … ।”

सोफियाले बडो उल्लासपूर्वक आफ्नो क्रान्तिकारी कामबारे बताउन थालिन् । यी सबै कुराहरू उनी यसरी बताउँदै थिइन्, मानौं आफ्नो बाल्यावस्थाको कुनै रमाइलो खेल याद गर्दैछिन् । उनी धेरैपलट आफ्नो नाम बदलेर नक्कली पासपोर्टअन्तर्गत बस्न बाध्य भएकी थिइन् । वेश बदलेर जासुसहरूलाई छक्याउनु उनका लागि साधारण कुरा थियो । उनी किताब र पर्चाहरूका गह्रौँगह्रौँ बण्डलहरू बोकेर एक सहरबाट अर्को सहर जाने गर्थिन्, निर्वासित साथीहरूलाई भाग्न मद्दत गर्थिन् र उनीहरूलाई साथ लिएर विदेश जान्थिन् । उनको घरमा गोपय छापाखाना राखिएको थियो । एकपलट पुलिसले सुइँको पाएर घरको खानतलासी लिन आइपुग्यो, तब नोकर्नीको पोसाकमा उनी मूल ढोकामा पुगेको पुलिसलाई छक्याएर चुपचाप निस्केकी थिइन् । जाडोको बेला थियो र त्यस दिन निकै चिसो थियो । तर उनी एउटा हलुको पोसाक मात्र लगाएर निस्केकी थिइन्, टाउकामा खालि एउाटा सुतीको रुमाल बेरेकी थिइन् । यत्तिकै लुगा लगाएरु हातमा मट्टीतेल राख्ने भाँडो बोकेर उनी सहरको एक छेउबाट अर्को छेृउमा पुगेकी थिइन् । एकपल्ट आफ्ना केही कामरेडहरूलाई भेट्न उनी एउटा अर्कै सहर आइपुगेकी थिइन् । घरको भ-याङ चढ्न थालेपछि उनले चाल पाइन्, त्यस कामरेडको डेरामा खानतलासी लिइँदै छ । पछाडि फर्कने कुरै थिएन । उनले हिम्मत गरे.र तल्लो तलामा रहेको फ्लैटको घण्टी बजाइन् र आफ्नो सुटकेस बोकेर ती अपरिचित मान्छेहरूको डेराभित्र सरासर पसिन् । भित्र पसिसकेपछि उनले घरधनीलाई जेजस्तो छ सबै कुरा खुलला रुपमा बताइदिइन् ।

चाहनुहुन्छ भने पुलिसलाई सुम्पन सक्नुहुन्छ, तर मलाई लाग्छ, तपाईहरूले यसो गर्नु हुने छैन,” – उनले विश्वासपूर्वक भनिन् ।

घरधनीहरू असाध्यै तर्सिए र रातभरि निदाउन सकेनन् । उनीहरूलाई हरेक मिनेट कसैले ढोका घचघच्याएजस्तो लाग्थ्यो, तर सोफियालाई चाहिँ पुलिसको हात सुम्पेनन् । भोलिपल्ट यो घटना सम्झेर सबै मिलेर खुब हाँसेका थिए । एकपल्ट उनले यसाई सन्यासिनीको पोसाक लगाएर रेलको त्यसै डिब्बामा र त्यही बेन्चमा सफर गरेकी थिइन् जसमा उनका पिछा गर्ने जासुस बसेको थियो । ऊ आफ्नो चलाखीको डिङ हाँक्दै उनलाई बताउँदै थियो – कसरी ऊ त्यस आइमाईको पीछा गर्दैछ । उसलाई विश्वास थियो, उनी त्यसै रेलको दोस्रो दर्जाको डिब्बामा सफर गर्दैछिन् । ऊ प्रत्येक सटेसनमा निस्कन्थ्यो र फेरि आफ्नो ठाउँमा फर्कदै भन्थ्यो –

“खोइ देखिन्न, सायद निदाई होला । कुरै छैन, थाकिन् । यिनीहरूको जिन्दगी पनि हाम्रैजस्तो कठिन हुँदो रहेछ !”

आमा सोफियाको कुरा सुनेर हाँसिन् र बडो स्नेहपूर्वक उनलार्य हेरिन् । अग्ली र लाम्चो अनुहार भएकी सोफिया आफ्ना सुडौल खुट्टाहरूले बडो फूर्तिसाथ हिँडिरहेकी थिइन् । उनको हिँड्ने र कुरा गर्ने तरिकामा, अलि बाक्लो उल्लासपूर्ण स्वरमा र तानिएको आकृतिमा जवानीको जस्तो अल्लडपूर्ण साहस र अन्तरात्मादेखि नै स्वाभाविक रुपले उत्पन्न स्फूर्ति भेट्टाइन्थ्यो । उनी जुनसुकै कुरालाई पनि युवतीको जस्तो उत्साहले हेर्थिन् र प्रत्येक कुरामा उल्लासको कुनै न कुनै स्रोत भेट्टाइहाल्थिन् ।

“हेर्नोस् त, कति राम्रो सललाको रुख !” – सोफियाले एउटा रुखतिर औंलाले देखाउँदै प्रफुल्ल स्वरमा भनिन् । आमा थामिइन् र त्यस रुखतिर हेर्न थालिन् । सल्लाको ते रुख अरु अनगिन्ती रुखहरूभन्दा केही फरक थिएन ।

“हो, राम्रो रुख छ !” – आमाले हाँस्दै भनिन् र सोफियाको काननजिकै हावामा फरफराइरहेको सेतो कपालको लट्टातिर हेरिन् ।

“ऊ भारद्वाज चरो !” – सोफियाका खैरा आँखा स्नेहपूर्वक चम्किन थाले र उनले स्वच्छ आकाशमा गुन्जिरहेको त्यो सङ्गीत ध्यानपूर्वक सुन्न थाल्थिन् । कहिलेकाहीँ हिँड्दाहिँड्दै उनको फुर्तिलो शरीर अकस्मात् थामिन्थ्यो, अनि कुनै जङ्गली फूल टिपेर आफ्ना पातला फुर्तिला औंलाहरूले फूलका ती कम्पित पत्तीहरू सुम्सुम्याउँथिन् र बिस्तारै कुनै मीठो धुन गुनगुनाउँथिन् ।

खैरा चम्किला आँखा भएका त्यस आइमाईका यी कुराले आमालाई मोहित तुल्यायो र उनी सोफियाको अझ नजिक सरिन् । कहिलेकाहीँ सोफियाको स्वर कडा हुन्थ्यो र उनको यो कडा स्वर सुनेर आमालाई दुःख लाग्थ्यो ।

“रिबिनले मन पराउन्न होला, यिनलाई … ।” – आमा चिन्तित हुँदै मनमनै सोच्थिन् ।

फेरि एकैछिनमा बडो स्नेहपूर्वक सीधासादा स्वरमा कुरा गर्न थाल्थिन् र आमा मुस्कुराउँदै उनका आँखामा हेर्थिन् ।

“तपाई अझ तरुनी नै हुनुहुन्छ !” आमाले सुस्केरा हाल्दै भनिन् ।

“म बत्तीस वर्षकी भैसकेँ !” – सोफियाले जवाफ दिइन् ।

पेलागेया निलोभ्ना मुस्कुराइन् ।

“मेरा मतलब यो होइन, हेर्दा त तपाईको उमेर अझ यसभन्दा पनि बढी लागछ । तर म तपाईको कुरा सुन्छु र तपाईका आँखामा हेर्छु मलाई आश्चर्य लाग्छ, तपाई एकदम भर्खरकी युवतीजस्ती देखिनुहुन्छ । तपाईको जीवन यति कठिन र खतरापूर्ण छ, तैपनि तपाईको हृदय सधैं मुस्कुराइरहेको हुन्छ ।”

“म चाहिँ पटक्क कठिनाइ अनुभव गर्दिनँ । योभन्दा रमाइलो र आकर्षक जीवनको म कल्पना गर्न सक्दिनँ … । म तपाईलाई निलोभ्ना भन्ने गर्छु है, पेलागेया नाम किन हो तपाईलाई सुहाउँदैन ।”

“जे मन लाग्छ, त्यही भन्ने गर्नोस् ।” – आमाले विचारमग्न हुँदै भनिन् – “म तपाईलाई हेर्छु, तपाईको कुरा सुन्छु र सोच्न थाल्छु । यो कुरा देख्दा मलाई असाध्यै खुसी लाग्छ, तपाईले मान्छेको हृदयसम्म पुग्ने बाटो पहिल्याइसक्नुभएको छ । जुनसुकै मान्छेले पनि विनाकुनै सङ्कोच तपाईलाई आफ्नो हृदयको रहस्य बताइदिन्छ । स्वेच्छापूर्वक आफ्नो आत्मा तपार्यका अगाडि खोलेर राखिदिन्छ । जब म तपाईहरू सबैका बारेमा सोच्न थाल्छु तब मलाई विश्वास हुन थाल्छ, तपाईहरूले मानिसको जीवनबाट सबै कसिङ्गर निकालेर फालिदिनुहुनेछ, मलाई पूरा विश्वास छ !”

“हाम्रो विजय अवश्यम्भावी छ, किनभने मजदुरवर्ग हाम्रो साथ छ !” – सोफियाले ठूलो विश्वाससहित भनिन् – “मजदुर जनतामा उक महान् शक्ति लुकेर रहेको छ र उनीहरू साथ लाग्दा सबै करा सम्भव हुन जान्छ ” हामीले खाली उनीहरूको त्यस चेतना मात्र ब्युँझाइदिनुपर्छ, जसलार्य हुर्कन दिइरहेका छैनन् … ।”

उनको कुरा सुनेर आमाको हृदयमा विभिन्न भावनाहरू पैदा भए । किन हो, उनलाई सोफियामाथि दया लाग्यो, तर यो त्यस्तो दयाको भावना थियो जसमा उपकारको होइन, मित्रताको भावना थियो । उनलाई सोफियाबाट अरु पनि कुरा सुन्ने इच्छा भयो, अघिकै जस्ता सिधासादा … ।

“तपाईहरूको यस परिश्रमका लागि कसले पुरस्कार देला र ?” – आमाले उदास हुँदै बिस्तारै सोधिन् ।

“हामीले आफ्नो मेहनतको फल पाइसकेका छौं ।” – सोफियाले जवाफ दिइन् ।

उनको स्वरमा गर्वको भावना भएजस्तो लाग्यो आमालाई – “हामी आफूले चाहेजस्तो जीवन बिताउँदै छौं, हाम्रो आत्मा पूर्णतः स्वतन्त्र छ, फेरि अरु चाहना नै के गर्न सकिन्छ र ?”

आमाले सोफियातिर हेरिन् र तुरुन्तै आँखा झुकाइन्, अनि सोच्न थालिन् – “मन पराउन्न मिखाइलले यसलाई … ।”

आफ्नो गहिरो सासले त्यो मीठो हावा तान्दै उनीहरू छिटोछिटो हिँडिरहेका थिए, तर उनीहरू हतारो पनि गरिरहेका थिएनन् । आमालाई उनीहरू कुनै तीर्थयात्रामा जाँदैछन् जस्तो लाग्दै थियो । आमालाई सम्झना भयो, किशोरावस्थामा पर्वको समयमा गाउँबाट धेरै टाढा रहेको गिर्जाघरमा जाँदा उनी कसरी रमाउने गर्थिन् । त्यस गिर्जाघरमा गजबको देवप्रतिमा थियो ।

सोफिया बीचबीचमा आफ्नो कुरा मधुर स्वरले आकाश अथवा प्रेमबारे कुनै नयाँ गीत गाउँथिन् । फेरि खेत, जङ्गल अथवा भोलगा नदीबारे कविताहरू सुनाउँथिन् । आमा ती कविताहरू सुनेर मुस्कुराउँथिन् । यस्तैमा अनायास आमालाई सङ्गीतको कुनामा बसेर आराम गरिरहेकी छिन् ।

लेखक परिचय

म्याक्सिम गोर्की रूसका प्रख्यात साहित्यकार हुन् । उनको आमा उपन्यास संसार प्रख्यात मानिन्छ । यसबाहेक उनका छोटा कथाहरू पनि उत्तिकै प्रख्यात छन् ।

प्रतिक्रिया
Loading...