सत्र १५

मोजेस, जिसस र मग्गाबाबाको चिहानमा उभिँदा

हेनरी फोर्डका बारेमा प्रचलित एउटा कथा मलाई सधैँ रमाइलो लाग्ने गर्छ । फोर्डले ज्यादै सुन्दर कार बनायो । कारलाई उसले एक जना धनी ग्राहकलाई देखाइरहेको थियो । यो उसको नवीनतम मोडल थियो र उसले आफ्ना ग्राहकलाई घुमाउन लग्यो । ४८ किलोमिटर दौडिएपछि कार अचानक रोकियो । ग्राहकले भन्यो, ‘नयाँ कार अनि जम्मा ४८ किलोमिटर दौडिएर बन्द भयो रे ?’

फोर्डले भन्यो, ‘माफ गर्नुहोस् हजुर, यसमा मैले पेट्रोल हाल्न बिर्सिएछु ।’

त्यो बेला अमेरिकामा पनि पेट्रोललाई पेट्रोल नै भनिन्थ्यो, ग्यास भनिदैनथ्यो ।

ग्राहकलाई अचम्म लाग्यो, उसले भन्यो, ‘तिमीले के भन्न खोजेको ? तिमीले कतै पेट्रोल बिनै ४८ किलोमिटरसम्म दौडिन्छ भन्न खोज्या हो ?’

फोर्डले भन्यो, ‘हो हजुर ! ४०–५० किलोमिटर चल्नका लागि त मेरो नाम नै काफी छ, पेट्रोल हाल्न जरुरी छैन ।’

एक पटक म शुरु भएपछि म स्वयंमा पर्याप्त हुन्छु, मलाई अरु केही चाहिँदैन । म राति निदाउन सकिनँ । मलाई कुनै कष्ट थिएन । रात ज्यादै सुन्दर थियो । आकाशमा चन्द्रमा चम्किरहेको थियो । त्यसको चाँदनी, उज्यालो चारैतिर फैलिएको थियो । चन्द्रमाको त्यो सौन्दर्यले नै शायद मलाई सुत्न दिएन । तर होइन, म नसुत्नुको कारण यो हुन सक्तैन । यसको कारण चाहिँ वास्तवमा देवगीतलाई मैले केही कडा व्यवहार देखाएँ । अँ, म ज्यादै कठोर हुन सक्छु तर म कठोर छैन । तर म ज्यादै कठोर हुन चाहिँ सक्छु । खासगरी ती क्षणहरूमा जब भित्र केही घट्ने र केही खुल्ने सम्भावना देखिएका बेला । त्यो बेला म कुनै सानोतिनो हतौडी होइन, निकै ठूलो हतौडीले बजाउँछु । जब कसैलाई हान्नु नै छ भने सानो हतौडी किन उठाउनु ? ठूलोको एक चोट नै काफी छ । कहिलेकाहीँ म ज्यादै कठोर हुन्छु । त्यसैले म कहिलेकाहीँ ज्यादै कोमल पनि हुनुपर्छ… सन्तुलन बनाउनका लागि ।

जब म कोठाबाट बाहिर निस्किरहेको थिएँ, तिमी मुस्कुराइरहेका थियौ तर तिम्रो मुस्कुराहटमा उदासी थियो । मैले त्यसलाई बिर्सन सकिनँ । जबकि म सबै कुरा सहजै बिर्सन्छु, तर जब म कठोर हुन्छु, त्यसलाई बिर्सन सक्दिनँ । शायद म सुत्न नसक्नुको कारण यही थियो । मेरो निद्रा त पातलो बर्को ओढेजस्तै हो, त्यसभित्र त म सधैँ ब्युँझेकै हुन्छु । एउटा ज्यादै पातलो पत्र, त्यसभित्र म सधैँ जागा नै हुन्छु । त्यो पातलो बर्कोलाई सहजै विचलित पार्न सकिन्छ तर म मै मात्र त्यस्तो गर्न सक्छु, अरूले सक्तैन ।

जुन क्षण म कोठाबाट निस्किए, देखेँ, तिमी उदास देखियौ… मैले कुट्नुबाहेक कारण अरु पनि हुनसक्छन् तर तिम्रो उदासीको जे कारण भए पनि मैले तिमीभित्रको अन्धकारलाई अझ गाढा बनाएँ । म यहाँ तिमीलाई एनलाइटेन गर्न, भित्रको अन्धकार हटाउन, प्रकाशित गर्नका लागि भनेर छु, ‘एनडार्कन’ गर्नका लागि होइन, अझ बढी अन्धकारमा धकेल्न होइन । यदि ‘एनडार्कन’ शब्द चल्छ भने चलाऊ । सत्य त के भने हामीले यो शब्द ‘एनडार्कन’लाई चल्तीको शब्द बनाउनुपर्छ । मानिसहरू एकअर्कालाई एनडार्कन गरिरहन्छन्, अन्धकारमा धकेलिरहन्छन् । बडो अनौठो कुरा छ, एनडार्कनजस्तो शब्द नै छैन । एनलाइटनमेन्ट निकै दुर्लभ घटना हो र पनि त्यसका लागि हामीसँग शब्द छ । एनलाइटनमेन्ट पछिका लागि जे रहन्छ, त्यसका लागि हामीसँग शब्द छैन । शायद हरेक कुराको एउटा सीमा हुन्छ । शब्दहरूभन्दा पर सधैँ केही रहन्छ– केही यस्तो जुन शब्दहरूले ओगट्न वा अँगाल्न सक्तैन, जुन शब्दहरूभित्र अटाउन सक्तैन । तर एनडार्कन शब्द सामान्यतः प्रयोग हुने शब्द हुनुपर्ने हो । सबै मानिसले एकअर्कालाई एनडार्कन गरिरहेका छन्, अन्धकारमा ढकेलिरहेका छन् । पतिले पत्नीलाई अँध्यारोमा ढकेलिरहेका छन् । नत्र त ऊ अँध्यारोमा के गरिरहेकी छे ? पत्नीले पतिलाई अँध्यारोमा धकेलिरहेकी छ । नत्र त पति के गरिरहेको छ ? त्यो पति मुर्ख हो, जसले पत्नीलाई अँध्यारोमा कोचेको ठानिरहेको छ । अँध्यारोमा त उसले पतिलाई ऊभन्दा बढी अन्धकारमा कोचेकी छ । अँध्यारोमा उसले पतिलाई ऊभन्दा बढी अन्धकारमा हालेकी छ । खैर पतिलाई चस्मा चाहिन्छ । पत्नीलाई भने अहिले त्यसको आवश्यकता छैन । ऊ त बिचरो हेडक्लर्क मात्र हो, त्यसैले उसलाई चस्मा चाहिन्छ । पत्नी के हो ? ऊ त आमा मात्र हो, पत्नी हो । उसलाई चस्मा चाहिन्न ।

अँध्यारोमा, तिमी जुन स्त्रीलाई प्रेम गर्छौ, उसबाट तिमी सचेत हुनु– खासगरी अँध्यारोमा । शायद त्यसैले पुरुष बत्ती प्रयोग गर्छ । प्रेम गर्दाका बेला पुरुष उज्यालो मन पराउँछ । प्रेम गर्दा ऊ आफ्नो आँखा खुला राख्छ । स्त्री आफ्नो आँखा बन्द गर्छे किनभने जे भइरहेको छ, त्यसको भद्दापनलाई देखेर उनीहरू नहाँसीरहन सक्तैनन्…

मलाई केही अपसोच भयो । ‘केही’ थोरै भनिरहेको छु किनभने मेरालागि थोरै र केही सानो अपसोच पनि बढी हुन पुग्छ । मेरो एउटा आँसु नै पर्याप्त हुन्छ । म घण्टौँ रोएर आफ्नो कपाल लुछ्न आवश्यक छैन । त्यसै पनि मेरो कपाल छैन । कहिले पनि दाह्री लुछ्दै विलाप गरेको सुनेको छैन होला । कुनै पनि भाषामा, हिब्रुमा पनि यस्तो कुनै लोकोक्ति नहोला, दाह्री लुछ्ने । जबकि यहुदीहरू र तिनको बाइबलमा उल्लेख गरिएका सबै पैगम्बर (गुरु)हरूको दाह्री थियो । कसैको दाह्री छ भने उसको तालु खुइलिन्छ भन्ने त एउटा प्राकृतिक नियम नै हो किनभने प्रकृतिले सधैँ सन्तुलन बनाइरहन्छ ।

मलाई फेरि मेरी हजुरआमाको याद आयो ।

म सानो छँदा उहाँले मलाई भन्नुहुन्थ्यो, ‘राजा, सुन त ! कहिले पनि दाह्री नपाल्नु है !’

म उहाँलाई भन्थेँ, ‘तपाईंले दाह्रीको कुरा किन गर्नुभएको ? म त जम्मा १० वर्षको छु ! मेरो दाह्री अहिले आएको छैन भने अहिले नै त्यसको कुरा किन गर्नु ?’

उहाँले भन्नुभयो, ‘घरमा आगो लाग्नुअघि नै इनार खन्नुपर्छ ।’

हे भगवान् ! उहाँ त साँच्चिकै आगो लाग्नुअघि इनार खन्दै हुनुहुन्थ्यो ! उहाँ ज्यादै सुन्दर स्त्री हुनुहुन्थ्यो । मैले उहाँको त्यो कुरा बुझ्न सकेको थिइनँ र मैले भनेँ, ‘तपाईंलाई जे भन्नुछ, भन्नुस् ।’

उहाँले भन्नुभयो, ‘दाह्रै कहिल्यै नपाल्नू ! तर मलाई थाहा छ, तिमीले दाह्री त राख्छौ राख्छौ ।’

मैले भनेँ, ‘यो त बडो अनौठो कुरा हो । जब तपाईंले पहिलेदेखि नै जान्नुहुन्छ भने त्यसलाई रोक्ने प्रयास किन गरिरहनु भएको त ?’

उहाँले भन्नुभयो, ‘मलाई थाहा छ, तिमीले दाह्री त राख्छौ राख्छौ । म त्यसलाई रोक्न पूरा प्रयास गरिरहेकी छु । तिमीजस्ता मानिसले सधैँ दाह्री पाल्ने गर्छन् । म तिमीलाई ११ वर्षदेखि चिन्दछु ।’

यसको केही कारण त होला र उहाँ त्यो कारणका बारेमा सोच्न थाल्नुभयो ।

यसको कुनै विशेष कारण छैन । यत्ति मात्र हो, हरेक दिन दाह्री काट्नका लागि मुर्खलेजस्तो ऐनाअघि उभिएर समय बर्बाद गर्न म चाहन्नँ । एकछिन सोच त, कुनै दाह्री भएकी स्त्री ऐनासामु उभिई भने कस्ती देखिन्छे ?
दाह्री बिनाको पुरुष ठीक त्यस्तै देखिन्छ । कुरा स्पष्ट छ, यसले तिम्रो समय वचत गर्छ र तिम्रो ऐनाअघिल्तिर आफू बेकुपजस्तो देखिनबाट जोगिन्छौ ।

तर एउटा कुरा निश्चित छ, जब तिमीले दाह्री पाल्न थाल्यौ भने कपाल खुइलिन थाल्छ । प्रकृतिले सन्तुलन बनाउन कहिले पनि बिर्सदैन । उसले तिमीलाई कपालको एउटा निश्चित संख्या दिएको छ र तिमीले दाह्री पाल्न थाल्यौ भने बजेटलाई कतैबाट त कम गर्नु प-यो नि ! जोसुकैलाई सोध, यो त अर्थशास्त्रको सरल नियम हो ।

मलाई देवगीतका बारेमा थोरै चिन्ता लागिरहेको थियो । मलाई लाग्यो, मैले उसलाई ठेस पु-याएँ । शायद मैले चित्त दुखाएँ… शायद यसको आवश्यक नै थिएन । त्यसैले मेरो निद्राको चिन्ता नगर । आवश्यक प-यो भने कुनै पनि क्षण आफ्नो जीवनलाई गुमाउन म तयार छु… कुनै राष्ट्रिय उद्देश्यका लागि होइन । कुनै राज्य या जातिका लागि होइन । बरु यस्तो कुनै पनि व्यक्तिका लागि, जसको हृदय अहिले पनि ढुकढुक गरिरहेको छ, जो अहिले पनि बालकजस्तो व्यवहार गर्दो छ, आफूलाई बच्चाजस्तो महसुस गर्दो छ । याद राख, म बच्चाजस्तो व्यवहार भनिरहेको छु । मेरो अर्थ हो, जो अहिले पनि बच्चै छ । यदि ऊ विकसित र परिपक्व हुनसक्छ र भित्रबाट अखण्ड, इन्टिग्रेटेड छ भने उसका लागि म आफ्नो जीवन समर्पण गर्न तयार छु । मैले इन्टिग्रेसन शब्द गर्नुको अर्थ, बुद्धिसहित प्रेम । बुद्धि र प्रेमको डोरी अखण्ड हुन्छ, यो चुँडिदैन ।

यो निकै लामो फुटनोट भयो । यदि जर्ज बर्नार्ड शअलाई माफ गर्न सकिन्छ भने.. माफी मात्र दिइएन, उसलाई त नोबेल पुरस्कार नै दिइयो, मलाई पनि माफ गर्न सक्छन् होला । म त नोबेल पुरस्कार पनि मागिरहेको छैन । यदि उनीहरूले मलाई दिए भने पनि म अस्वीकार गर्छु । त्यसलाई म लिन सक्तिनँ किनभने त्यो रगतले लत्पतिएको छ ।

नोबेल पुरस्कारका साथ जुन रकम दिइन्छ, त्यो रगतले लत्पतिएको छ किनभने नोबेल नामक त्यो मानिस बम बनाउँथ्यो र पहिलो विश्वयुद्धमा उसले दुवै पक्षलाई हतियार बेचेर अपार धनराशि जम्मा ग-यो । म त उसको पैसा छुन पनि रुचाउँदिनँ । सत्य त के भने कयौँ वर्षसम्म मैले पैसालाई छोइनँ पनि । किनभने मलाई छुन आवश्यक छैन । सधैँ नै कोही न कोही मेरा लागि चिन्ता गर्ने फेला परिरह्यो । पैसा सधैँ फोहोर हुन्छ, नोबेल प्राइजको पैसा मात्र होइन ।

जुन व्यक्तिले नोबेल पुरस्कार स्थापना ग-यो, ऊ अपराधभावले भरिएको थियो । अपराधभावबाट मुक्त हुनका लागि उसले नोबेल पुरस्कार स्थापना ग-यो । यो राम्रो काम थियो तर यो कस्तो हो भने कसैलाई मारेर मलाई माफ गर्नोस्, मलाई आफ्नो कर्मप्रति खेद छ भनेजस्तै हो । म रगतले लत्पतिएको त्यो पैसालाई स्वीकार गर्दिनँ ।

जर्ज बर्नार्ड शअलाई ज्यादै आदर गरिन्थ्यो । उसलाई नोबेल पुरस्कर दिइएको थियो । उसका साना-साना किताबका लामा-लामा भूमिकाहरू लेखिएका छन् । पुस्तक भूमिकाका लागि लेखिएको थियो कि भूमिका पुस्तकका लागि लेखिएको थियो, म बुझ्न सक्तिनँ । पक्कै भूमिकाका लागि पुस्तक लेखिएको थियो होलाजस्तो लाग्छ । मेरो विचारमा यो ज्यादै सराहनीय हो ।

यो त लामो प्रस्तावना नोट पो तयार भयो ! मेरो निद्राका बारेमा चिन्ता नगर । तर स्मरण रहोस्, म कठोर भएँ भने त्यसमा चिन्तित हुनुपर्ने कुनै कुरा छैन ।

हुन त तिमीहरू सबैलाई थाहा छ, कुनै पनि कुराले मभित्र परिवर्तन हुन सक्तैन, केही कुराले मेरो शरीर र मनमा अवश्य परिवर्तन गर्न सक्छ । म न त शरीर हुँ, न त मन नै । तर यी दुवैका माध्यमले मैले काम गर्नुपर्ने हुन्छ ।

म यो बेला मेरो ओठ सुकेको देख्न सक्छु । अब म बोलिरहेको छु, तर यी सुकेका ओठले मलाई दुःख दिइरहेका छन् । म काम चलाउँला तर यसले बाधा पु-याइरहेका छन् । देवगीत, तिमीले मलाई सहयोग गर्न सक्छौ, केही गर । यसरी त मेरो प्रस्तावना–वक्तव्यको क्रम नै भङ्ग होला र म फेरि शुरुदेखि बोल्न थालूँला… । धन्यवाद…

अब त्यो कथा ।

मृत्यु अन्त्य होइन तर त्यो सबै जीवनको चरमबिन्दु हो, पराकाष्ठा हो । तिमी समाप्त भएका होइनौँ । तिमी त अर्को शरीरमा पुगेका हौ । पूर्वीय मानिसहरू यसैलाई चक्र भन्छन्, यो घुमिरहन्छ । घुमिनैरहन्छ । अँ, यसलाई रोक्न सकिन्छ तर यसलाई रोक्ने उपाय मर्दामर्दै गर्न सकिन्न ।

हजुरबाको मृत्युले मैले यही सबैभन्दा ठूलो पाठ सिकेँ । उहाँ रोइरहनु भएको थियो । आँखाभरि आँशु पारेर उहाँले हामीलाई चक्र रोक्न भनिरहनु भएको थियो । मैले बुझिरहेको थिइनँ, के गरौँ, कसरी चक्रलाई रोकौँ । उहाँको चक्र त उहाँकै मात्र थियो । हामीले त्यो देख्न पनि सकिरहेका थिएनौँ । यो त उहाँको आफ्नो चेतना थियो र उहाँले नै त्यसलाई रोक्न सक्नुहुन्थ्यो । उहाँले हामीलाई रोक्न भनिरहनु भएको थियो । यसको अर्थ, उहाँले रोक्न सकिरहनु भएको थिएन । त्यसैले उहाँको आँशु आइरहेका थिए र हामीलाई त्यो चक्र रोक्न बारम्बार आग्रह गरिरहनु भएको थियो । मानौँ, हामी बहिरो छौँ र सुन्न सक्तैनौँ !

मैले उहाँलाई भनेँ, ‘हजुरबा, मैले तपाईंको कुरा सुनेँ र बुझेँ पनि । तपाईंले अब भन्नु पर्दैन । चुप लाग्नुस् ।’

त्यसै क्षण केही भयो, केही घट्यो । मैले यसका बारेमा कसैलाई केही पनि भनिनँ । शायद योभन्दा पहिले उपयुक्त समय थिएन । मैले उहाँलाई भनेँ, ‘तपाईं चुप लाग्नुस् ।… ।’

त्यो कच्ची सडक, उबडखाबड सडक, खट्खट् आवाज आउने सडकमा गाडी चलिरहेको थियो र उहाँले भनिरहनु भएको थियो, ‘राजा, चक्रलाई रोक ! सुन्दैछौ ? चक्रलाई रोक !’

मैले पनि उहाँलाई बारम्बार भनिरहेको थिएँ, ‘सुनिरहेको छु । तपाईंको अर्थ बुझिरहेको छु तर तपाईंलाई थाहा छ, तपाईंबाहेक अरु कसैले पनि यो चक्रलाई रोक्न सक्तैन । कृपया चुप लाग्नुस् र म तपाईंलाई सहयोग गर्ने प्रयास गर्नेछु ।’

हजुरआमा छक्क पर्नुभयो । उहाँले ठूलाठूला आँखाले आश्चर्यचकित भएर म के गरिरहेको होला भनेर मलाई हेर्नुभयो । म कसरी उहाँलाई सहयोग गर्न सक्छु र ? भनेर उहाँ छक्क पर्नुभयो ।

मैले भनेँ, ‘यसमा छक्क पर्नेपर्ने कुनै कुरा छैन । अचानक मलाई पछिल्लो एउटा जीवनको घटना याद आयो । यो मृत्युलाई देखेर मैले आफ्नो एक मृत्यु स्मरण गरेँ ।’

मेरो त्यो जन्म र मृत्यु तिब्बतमा भएको थियो । त्यही एउटा मात्र यस्तो देश थियो, जसले त्यो वैज्ञानिक ढङ्गलाई जान्दछ र यो चक्र कसरी रोकिन्छ थाहा छ । यसपछि मैले केही जप गर्न थालेँ । न त मेरी हजुरआमाले बुझ्नुभयो, न मर्दै गरेका हजुरबुवा र न त नोकर भुराले नै बुझ्यो । बाहिर बसे पनि उसले ध्यान दिएर मलाई नै सुन्दै थियो । र, मैले जे जपिरहेको थिएँ, त्यसको एक शब्द पनि मैले बुझिरहेको थिइनँ । बाह्र तेह्र वर्षपछि मात्र मैले थाहा पाए, त्यो के थियो ! त्यत्तिका वर्ष लाग्यो मलाई त्यो खोज्न । तिब्बतमा त्यो कर्मकाण्डलाई ‘बारदो–थोडाल’ भन्छन् ।

तिब्बतमा जब कोही मानिस मर्छ, उनीहरू एउटा विशेष मन्त्र जप गर्छन् । त्यो मन्त्रलाई बारदो भन्छन् । त्यो मन्त्र मर्दै गरेका व्यक्तिलाई सुनाइन्छ, ‘शान्त होऊ ! मौनमा रहू । आफ्नो केन्द्रमा जाऊ र त्यहीँ बस । शरीरलाई जेसुकै होस्, तिमी केन्द्रबाट नहट्नू । केवल साक्षी बन । जे भइरहेको छ, त्यसलाई हुन देऊ, बीचमा बाधा नपार । स्मरण गर ! स्मरण गर ! स्मरण गर, तिमी केवल साक्षी हौ र त्यही तिम्रो वास्तविक स्वभाव हो । यसलाई स्मरण गर्दै तिमी म-यौ भने यो चक्र रोकिनेछ ।’

मैले मर्दै गरेका हजुरबाका लागि बारदो–थोडाल जप गरेँ, थाहै नपाई । अनौठो कुरा त, जब म यो जप मन्त्रिरहेको थिएँ, हजुरबा यसलाई सुनेर बिल्कुल शान्त हुनुभयो । शायद तिब्बती भाषा सुन्नु यति अनौठो थियो होला । उहाँले तिब्बती भाषाको एउटा शब्द पनि पहिले सुन्नु भएको थिएन होला ! उहाँलाई त शायद तिब्बत नामक कुनै देश छ भन्ने पनि थाहा नहुँदो होला । मृत्युका बेला उहाँ पनि चुप र एकाग्र हुनुभयो । बारदोले आफ्नो काम ग-यो, हुन त उहाँले त्यो बुझ्न सक्नु भएन । कहिलेकाहीँ नबुझिने कुराले पनि काम गर्छ किनभने तिमीले नबुझेका हुनाले त्यसले काम गर्छ ।

ठूलाभन्दा ठूला सर्जन पनि आफ्ना सन्तानको अपरेसन आफैँ गर्दैनन् । किन ? सबैभन्दा ठूला सर्जनले पनि आफ्नो प्रेमिकाको अपरेसन गर्न सक्तैन । मेरो भनाइको मतलब पत्नीको कुरा होइन, पत्नीको अपरेसन त जो कोहीले गर्न सक्छ । मेरो भनाइको अर्थ त प्रेमिकासँग हो, जो उसकी श्रीमती होइन र जो हुन पनि सक्तिन । प्रेमिकालाई पत्नीका रुपमा परिवर्तिन गरिदिनु अपराध हो । कानुनले त यसको सजाय दिँदैन तर प्रकृतिले आफैँ सजाय दिन्छ । त्यसैले कानुन आवश्यक परिरहँदैन ।

[bs-quote quote=”हसबेन्ड– पति शब्द बडो भद्दा छ । यो चाहिँ हसबेन्ड्री अर्थात् कृषिकर्मको शब्दबाट बनेको हो । हेसबेन्ड वा पति त्यो हो, जो बिउ रोप्नका लागि स्त्रीलाई खेतजस्तै गरी प्रयोग गर्छ । संसारको हरेक भाषाबाट हसबेन्ड अथवा पति शब्द मेटाउनुपर्छ । यो शब्द अमानवीय छ ।” style=”default” align=”left” color=”” author_name=”” author_job=”” author_avatar=”” author_link=””][/bs-quote]

यसरी नै प्रेमीलाई पति बनाउँदा त्यो सम्बन्धको सौन्दर्य नष्ट हुन्छ । हसबेन्ड– पति शब्द बडो भद्दा छ । यो चाहिँ हसबेन्ड्री अर्थात् कृषिकर्मको शब्दबाट बनेको हो । हेसबेन्ड वा पति त्यो हो, जो बिउ रोप्नका लागि स्त्रीलाई खेतजस्तै गरी प्रयोग गर्छ । संसारको हरेक भाषाबाट हसबेन्ड अथवा पति शब्द मेटाउनुपर्छ । यो शब्द अमानवीय छ । प्रेमी त बुझ्न सकिन्छ तर पति चाहिँ अँहँ ।

म बारदो दोहो-याउँदै थिएँ । हुन त मलाई त्यसको अर्थ थाहा थिएन, न त त्यो कहाँबाट आइरहेको छ भन्ने नै थाहा थियो । त्यो बेला त मैले पढेको पनि थिइनँ । तर जब त्यो जप गरिरहेको थिएँ, ती विचित्र शब्दहरूको आवाजले मेरा हजुरबा शान्त हुनुभयो । त्यो मौनमा नै उहाँको मृत्युभयो ।

मौनमा बाँच्नु सुन्दर त हो नै, मौनमा मर्नु त्यो भन्दा पनि बढी सुन्दर हो किनभने मृत्यु हिमालयको सबैभन्दा अगलो शिखर सगरमाथाजस्तो हो । जबकि मलाई कसैले पनि सिकाएको थिएन तर मौनको त्यस क्षणमा मैले धेरै कुरा सिकेँ । मैले आफूलाई अनौठो शब्द दोहो-याइरहेको देखेँ । त्यसको झड्काले मेरो चेतनालाई नयाँ स्तरमा पु-याइदियो र मलाई एउटा नयाँ आयाममा प्रवेश गराइदियो । म एउटा नयाँ खोजमा निक्लिएँ–– एउटा नयाँ तीर्थयात्रामा ।

यो तीर्थयात्रामा मेरो भेट जो असाधारण, अद्भुत मानिसहरूसँग भयो, तिनको संख्या गुर्जियफले आफ्नो पुस्तक ‘मिटिङ्स विद द रिमार्केबल म्यान’ भन्ने पुस्तकमा उल्लेख गरेका छन् । पछि म बिस्तारै तिनका बारेमा कुरा गर्नेछु । आज म त्यस्तै एक जना अनौठा व्यक्तिका बारेमा कुरा गर्न चाहन्छु ।

न त उनको वास्तविक नाम थाहा छ, न त उनको वास्तविक उमेर नै । तर उनलाई मानिसहरू मग्गाबाबा भन्थे । मग्गा अर्थात् एउटा ठूलो कप । उनी हातमा सधैँ एउटा मग बोक्थे । उनले यसलाई हरेक कामका लागि उपयोग गर्थे । चिया, दुध, खाना त्यसैमा हालिन्थ्यो । यसका अतिरिक्त मानिसहरूले उनलाई दिएको पैसा पनि त्यहीँ राख्थे । आवश्यकताअनुसार उनी त्यो मगलाई उपयोग गर्थे । सम्पत्तिको नाममा उनीसँग यही एउटा मात्र मग थियो । त्यसैले उनलाई मग्गाबाबा भनिन्थ्यो । बाबा आदरसूचक शब्द हो, जसको अर्थ, हजुरबा अर्थात् पिताका पिता ! हिन्दीमा आमाको पितालाई ‘नाना’ भनिन्छ, र पिताको पितालाई ‘बाबा’ ।

मग्गाबाबा यो धर्तीमा भएका अनौठा व्यक्तिहरूमध्येमा एक थिए । चुनिएका मानिसहरूमा उनको गणना गर्न सकिन्छ । जिसस, बुद्ध, लाओत्सुका बराबरी उनलाई राख्न सकिन्छ । म उनको बालापन वा उनका मातापिताका बारेमा केही जान्दिनँ । उनी कहाँबाट आएका थिए पनि कसैलाई थाहा छैन । उनी शहरमा अचानक देखिए ।

उनी बोल्दैनथे । मानिसहरू उनलाई कयौँ प्रश्न सोध्थे । या त उनी चुप लाग्थे या प्रश्न सोध्नेहरूलाई चिच्याई चिच्याई निरर्थक शब्द सुनाउँथे । मानिसहरूलाई लाग्थ्यो, उनी यस्तो भाषा बोलिरहेका छन्, जो तिनलाई थाहा छैन । उनी भाषाको प्रयोग गरिरहेका थिएनन् । उनी त अनौठो किसिमको आवाज निकालिरहेका थिए । जस्तो, हिगलल हु हु गुलु हिगा हि हि । उनी केहीबेर रोकिन्थे र फेरि भन्थे, ‘हि हि हि हि ।’ मानिसहरू बाबाले केही सोधिरहेकोजस्तो मान्थे र जवाफमा भन्थे, ‘हो, बाबा हो !’

त्यसपछि उनी मग देखाएर इशारा गर्थे । भारतमा इशारा गर्नुको अर्थः पैसा हो । पुराना जमानामा वास्तविक सुन र असली चाँदीका रुपैयाँ चल्थ्यो, त्यो बेलादेखि नै यस्तो ईशारा प्रचलित छ । मानिसहरू रुपैयाँलाई जमिनमा फ्याँकेर त्यसको आवाज पत्ता लगाउँथे कि यो सिक्का वास्तविक हो कि नक्कली ! वास्तविक सुनको आवाज बेग्लै हुन्थ्यो । अन्य सिक्काको आवाज त्यस्तो हुन सक्तैनथ्यो । मग्गाबाबा एउटा हातमा आफ्नो मग पक्डन्थे र अर्को हातले इशारा गर्थे– तिमीले कुरा बुझ्यौ भने यसमा पैसा हाल ! मानिसहरू उनलाई पैसा दिन्थे ।

ती कुरा देखेर मलाई यति हाँसो उठ्थ्यो कि मेरा आँखामा आँसु नै आउँथे किनभने वास्तवमा उनले केही पनि भनेका हुँदैनथे । उनलाई पैसाको लालच थिएन । उनी एक जनासँग लिएर अर्कोलाई दिन्थे । उनको मग सधैँ खाली नै हुन्थ्यो । कहिलेकाहीँ मात्र त्यसमा केही बाँकी रहन्थ्यो । त्यो एउटा बाटो थियो– त्यसमा पैसा आउँथ्यो, जान्थ्यो । खाना त्यसमा भरिन्थ्यो, फेरि रित्तिन्थ्यो । मग चाहिँ खालीको खाली नै रहन्थ्यो । उनले त्यसलाई सधैँ सफा गरिरहन्थे । मैले उनलाई बिहान, दिउँसो र बेलुकी यसलाई सफा गर्दै गरेको देखेको छु ।

म तिमीहरूका अघिल्तिर– ‘तिमी’ भन्नाले ‘संसार’ हो– यो बुझिराख्नू । म तिमीहरूका सामु स्वीकार गर्छु, म मात्र एक्लो व्यक्ति थिएँ, जोसँग ती मग्गाबाबा कुरा गर्थे । त्यो पनि उनी बिल्कुल एक्लो भएका बेला । अन्य मान्छे नभएका बेला मात्र मसँग कुरा गर्थे । म रात छिप्पिएपछि शायद बिहान दुई बजे उनीकहाँ जान्थेँ ! त्यो बेला नै उनलाई एक्लो भेटिने सम्भावना हुन्थ्यो । जाडोका बेला उनी धुनी जगाएर पुरानो कम्बलमा गुटुमुटु भएर पल्टिरहेका हुन्थे । म चुपचाप उनको छेउमा गएर टुसुक्क बस्थेँ र केही बोल्दिन थिएँ । उनलाई केही पनि दुःख दिन्न थिएँ । दुःख नदिनुको एउटा कारण त उनले मलाई ज्यादै प्रेम गर्थे । कोल्टे फेर्दा उनको आँखा खुल्यो भने म चुपचाप बसेको देखेर आफैँ बोल्न थाल्थे ।

उनी हिन्दीभाषी थिएनन्, त्यसैले मानिसहरू उनीसँग कुरा गर्न गाह्रो छ भन्ने ठान्थे तर त्यो सत्य थिएन । उनी हिन्दीभाषी त पक्कै थिएनन् तर हिन्दी मात्र होइन, अनेकन् भाषा जान्दथे । सबैभन्दा बढी त उनी मौनको भाषा जान्दथे र प्रायः सारा जीवन उनी मौन नै बसेका थिए । दिउँसो उनी कसैसँग कुरा गर्दैनथे तर राति जब म एक्लो हुन्थेँ, मसँग कुरा गर्थे । उनका केही शब्द सुन्नु नै सौभाग्य थियो ।

मग्गाबाबाले आफ्नो जीवनका बारेमा कहिल्यै केही भनेनन् तर जीवनका बारेमा उनले धेरै कुरा भने । उनी पहिलो व्यक्ति थिए, जसले मलाई भने, जीवन जति देखिन्छ, त्योभन्दा धेरै बढी छ । यसको बाहिरी रुपमा नै नरोकिनू, यसको गहिराईमा गएर जरासम्म पुग्नू । अचानक बोल्न थाल्थे र अचानक रोकिन्थे । यही उनको शैली थियो । उनलाई बोल्नका लागि मनाउने कुनै बाटो थिएन । आफ्नो इच्छाले उनी कहिले बोल्थे, कहिले बोल्दैनथे । कुनै प्रश्नका उत्तर उनी दिन्थे, कुनै दिँदैनथे । हामी दुईका बीच वार्तालाप बिल्कुल गोप्य हुन्थ्यो । यसका बारेमा कसैलाई पनि थाहा हुन्थेन । पहिलो पटक म यसका बारेमा भनिरहेको छु ।

मैले ठूलाठूला वक्ताहरूलाई सुनेको छु । उनको तुलनामा त ती केही पनि थिएनन् । उनका शब्द शुद्ध मह थिए– मिठा र पौष्टिक– त्यति अर्थपूर्ण ! तर उनले मलाई भने, ‘जबसम्म म मर्दिनँ, तिमीले अरुलाई कुरा गर्छु भनेर नसुनाउनू । किनभने धेरै मानिसहरू म बहिरो छु भनेर ठान्छन्, यो मेरा लागि राम्रो हो । धेरैले म पागल हुँ भन्ने सोच्छन् । त्यो त मेरालागि अझ राम्रो हो । धेरैजसो बौद्धिक मानिसहरू म के भनिरहेको छु भन्ने बुझ्ने प्रयास गर्छन् । म त केही पनि भन्दिनँ । उटपट्याङ शब्द बोल्दिन्छु । त्यसबाट मानिसहरू जे अर्थ निकाल्छन्, त्यो सुनेर म पनि छक्क पर्छु । हे भगवान्, जब यी प्राध्यापक, विद्वान, पण्डित र बौद्धिकहरूको यो अवस्था छ भने विचरा साधारण मानिसको अवस्था के होला ? मैले केही भनेको छैन र पनि यी मानिसहरूले आफ्नो व्याख्या तयार पारेका छन् ।’

थाहा छैन, उनले मलाई किन प्रेम गर्थे– शायद अकारण नै । सौभाग्यले मैले धेरै अद्भुत मानिसहरूबाट प्रेम पाएको छु र मेरो यो सूचीमा पहिलो नाम मग्गाबाबाको छ ।

दिनभरि मानिसहरूले उनलाई घेरिरहेका हुन्थे । उनी वास्तवमै स्वतन्त्र व्यक्ति थिए र पनि उनी एक इन्च यताउता जान सक्तैनथे किनभने मानिसहरूले उनलाई पक्डिरहेका हुन्थे । उनलाई मानिसहरू रिक्सामा बसाएर जहाँसुकै लगिरहेका हुन्थे । उनी अस्वीकार पनि गर्दैनथे किनभने उनी बहिरो वा लाटो या पागल हुने ढोंग गर्थे । उनी कुनै यस्तो शब्द बोल्दैनथे, जुन शब्द शब्दकोशमा पाइयोस् । न उनी अँ भन्न सक्थे, न त नाइँ नै– लग्थे र साथ लागी हिँडिदिन्थे ।

एक दुई पटक त उनलाई चोरियो । महिनौँसम्म उनी गायब भए किनभने अर्को शहरका मानिसहरूले उनलाई चोरेका थिए । जब प्रहरीले उनलाई खोज्यो, उनलाई सोधियो, तपाईं फर्कन चाहनुहुन्छ ? उनले उटपटाङ शब्द बोलिदिए, ‘यडल, फडल, शडल… ।’

प्रहरीहरूले भने, ‘यो त पागल मान्छे रैछ । रिपोर्टमा के लेख्ने ? यडल, फडल शडल ? के अर्थ हो यसको ? कसैले यसको निकाल्न सक्छ, हँ ?’ उनी त्यो शहरमा त्यतिञ्जेलसम्म बसे, जबसम्म जहाँबाट उठाइएको थियो, त्यहाँका मानिसले उनलाई उठाएर लगेनन् ! उनलाई पछिल्लो पटक फर्काउने त्यही शहर थियो, जहाँ मेरा हजुरबाको मृत्युपछि बस्थेँ ।

म त नियमित रुपमा राति सधैँ उनीकहाँ जान्थेँ । एउटा नीमको रुखमुनि उनी बस्थे । त्यहीँ राति उनी सुत्थे । जब म बिरामी हुन्थेँ, मेरी हजुरआमाले मलाई बाहिर जान दिनु हुन्थेन । त्यो बेला पनि म सुटुक्क निस्कन्थेँ । म दिनमा एक पटक मग्गाबाबाकहाँ जान्थेँ नै ! मैले जानु नै पर्थ्यो किनभने उनीबाट मैले आध्यात्मिक पौष्टिकता पाउने गर्थें ।

जबकि उनले कहिल्यै पनि पथप्रदर्शन गरेनन् । उनले मलाई कुनै दिशा निर्देश गरेनन् । र पनि, उनी हुँदा मात्र, उनको उपस्थितिले मात्र मलाई ठूलो सहयोग प्राप्त भयो । मभित्रको सुप्त अज्ञात शक्तिहरू उनको उपस्थितिमै जागृत भयो । उनका बारेमा त म केही जान्दिनँ तर म चाहिँ मग्गाबाबाप्रति ज्यादै कृतज्ञ छु । म त्यो बेला सानो बालक थिएँ र उनी केवल मसँग मात्र कुरा गर्थे । यो मेरो अहोभाग्य थियो ! उनीसँग बिताएका ती क्षण मेरालागि ज्यादै मूल्यवान् थिए किनभने तिनले मेरो अन्तरहृदयलाई पुष्ट गरिरहेका थिए र एक प्रकारले भन्ने हो भने मेरालागि जीवनदायी सिद्ध भइरहेका थिए । उनी अन्य कोहीसँग कुरा गर्दैनथे । कहिलेकाहीँ उनीकहाँ जाँदा कोही मानिस हुन्थ्यो, त्यो बेला यस्तो हर्कत गर्थे कि छेउको मान्छे भाग्थ्यो । केही सरसामान फ्याँक्न थाल्थे, पागलझैँ नाच्न कुद्न थाल्थे । र, त्यो पनि आधा रातमा ! यो देखेपछि को चाहिँ नडराउला ! आखिर तपाईंकी श्रीमती, ६ सन्तान र जागिर छ र यो मानिस चाहिँ बिल्कुल पागल छ भने जे पनि गर्न सक्छ ! र, त्यो मानिस त्यहाँबाट भाग्थ्यो अनि हामी दुवै मज्जाले हाँस्थ्यौँ !

त्यति त म अरु कसैसँग हाँसिनँ । सोच्छु, यो जीवनमा अब शायदै कसैसँग यसरी हाँसिएला !

मेरो कुनै अर्को जीवन छैन । चक्र रोकिएको छ । अँ, जे केही बचेको छ, चलिरहेको छ र त्यो पनि विगतको गतिको तीव्रताका कारण चलिरहेको छ । त्यसमा नयाँ ऊर्जा थपिएको छैन ।

मग्गाबाबा यति सुन्दर थिए कि म उनको तुलना अरु कसैसँग गर्न सक्तिनँ । उनी त रोमन मूर्तिकलाका उत्कृष्ट नमुना थिए । बरु त्योभन्दा बढ्तै सुन्दर थिए किनभने उनी त्यति जीवन्त थिए । जीवनले भरिएका थिए । मग्गाबाबाजस्ता अर्को कुनै व्यक्तिसँग भेट्नु अब सम्भव हुन्छ या हुँदैन ! र, मलाई त्यसको कुनै इच्छा पनि छैन किनभने एक जना मग्गाबाबा नै पर्याप्त छन् । उनले यति तुष्ट गरे कि पुनरावृत्तिको चिन्ता कसलाई पो होला ? मलाई राम्रोसँग थाहा छ, कोही पनि उनीभन्दा माथि पुग्न सक्तैन ।

म स्वयं त्यो बिन्दुमा पुगेँ, जहाँबाट अझ बढी माथि चढ्न सकिँदैन । आध्यात्मिक विकासमा एउटा क्षण यस्तो आउँछ, जसलाई पार गर्न सकिँदैन । जतिसुकै माथि चढ, तिमी त्यही उचाइमा अडिन्छौ । बडो विचित्रको कुरा छ, यस्तो क्षणलाई अनुभवातीत, ज्ञानातीत भनिन्छ ।

जुन दिन मग्गाबाबा हिमालयका लागि निस्किए, त्यो दिन पहिलो पटक मलाई बोलाए । राति, कोही हाम्रो घर आयो र हाम्रो घरको ढोका ढक्ढक्यायो । मेरा पिताले ढोका खोल्नुभयो । त्यो मानिसले मग्गाबाबाले मलाई बोलाएको जानकारी दियो । मेरा पिताले आश्चर्यले भन्नुभयो, ‘मग्गाबाबा ! मेरा छोरासँग उहाँको के काम छ र ? उहाँले त कहिल्यै बोलेको पनि थाहा छैन । अनि बोलाउन कसरी पठाए ?’

त्यो मानिसले भन्यो, ‘मलाई त्यो मतलबको कुरा भएन । मैले त यो सन्देश दिनु मात्र थियो, दिएँ । यो सन्देश तपाईंको छोरोका लागि हो त म के गर्न सक्छु ?’

यति भनेर ऊ गयो । मेरा पिताले आधा रातमा मलाई उठाउनुभयो र भन्नुभयो, ‘बडो अनौठो भयो, मग्गाबाबाले तँलाई बोलाउनु भयो तर उनी त बोल्दैनन् भन्ने तँलाई थाहा छ नि, हैन !’

म हाँसेँ किनभने मसँग त उनी बोल्थे तर मैले यो कुरा पितालाई भनिनँ । उहाँले भन्नुभयो, ‘उहाँले तँलाई यसै बेला आधा रातमा बोलाएका छन् । तँ जान्छस् ? ती पागल मानिसकहाँ जान्छस् ?’

मैले भनेँ, ‘जान्छु । मैले त जानै पर्छ ।’

उनले भने, ‘कहिलेकाहीँ त मलाई तँ पनि पागल नै जस्तो लाग्छ । ठीक छ, जाँदा बाहिरबाट ताला लगाएर जानू ताकि फर्कंदा म उठ्नु नपरोस् ।’

म दौडदै गएँ । पहिलो पटक उनले मलाई बोलाएका थिए । म उनीकहाँ पुगेँ र सोधेँ, ‘किन बोलाउनु भएको ?’

उनले भने, ‘यहाँ यो मेरो अन्तिम रात हो । शायद म सधैँका लागि जाँदैछु । तिमी मात्र एक्लो व्यक्ति हौ, जोसँग मैले कुरा गरेँ । जो मानिसलाई तिमीकहाँ पठाएँ, ऊसित मैले बोल्नु नै प-यो । तर उसलाई यसबारे केही थाहा छैन । उसलाई म आध्यात्मिक मानिस हुँ भन्ने पनि थाहा छैन । अञ्जान मानिस थियो । मैले उसलाई एक रुपैयाँ दिएँ ताकि ऊ तिम्रो घर पुगेर मेरो सन्देश दिओस् ।’

[bs-quote quote=”अंग्रेजी शब्द ‘रुपी’ हिन्दीकै रुपये शब्दबाट बनेको भन्ने तिमीहरूलाई थाहा छ ? रुपया शब्दको अर्थ हो, सुनौलो । कागजको नोटलाई रुपैयाँ भनिनु हुँदैन किनभने त्यो सुनौलो हुँदैन । अँ, मुर्खहरूले त्यसमा सुनौलो रङ लगाउन चाहिँ सक्थे तर लगाएनन् । त्यो बेला एक रुपैयाँको मोल अहिलेको सात सय रुपैयाँ बराबरको थियो । चालीस वर्षमा यत्ति धेरै परिवर्तन भयो । वस्तुहरू सात सय गुणा महँगो भइगए ।” style=”default” align=”right” color=”” author_name=”” author_job=”” author_avatar=”” author_link=””][/bs-quote]

त्यो बेला सुनको रुपैयाँ या मोहर निकै मूल्यवान् मानिन्थ्यो । चालीस वर्ष पहिले भारतमा एउटा सुनको रुपैयाँले बडो आरामले एक महिनासम्म जीवननिर्वाह गर्न सकिन्थ्यो । अंग्रेजी शब्द ‘रुपी’ हिन्दीकै रुपये शब्दबाट बनेको भन्ने तिमीहरूलाई थाहा छ ? रुपया शब्दको अर्थ हो, सुनौलो । कागजको नोटलाई रुपैयाँ भनिनु हुँदैन किनभने त्यो सुनौलो हुँदैन । अँ, मुर्खहरूले त्यसमा सुनौलो रङ लगाउन चाहिँ सक्थे तर लगाएनन् । त्यो बेला एक रुपैयाँको मोल अहिलेको सात सय रुपैयाँ बराबरको थियो । चालीस वर्षमा यत्ति धेरै परिवर्तन भयो । वस्तुहरू सात सय गुणा महँगो भइगए ।

उनले भने, ‘मैले उसलाई एक रुपैयाँ दिएँ र तिमीलाई सन्देश देऊ भनेँ । रुपैयाँ देखेर ऊ यति हैरान भयो कि उसले मतिर हेर्दा पनि हेरेन । ऊ अपरिचित थियो, मैले उसलाई पहिले कहिल्यै देखेको थिइनँ ।’

मैले भनेँ, ‘म पनि भन्न सक्छु, उसलाई मैले यो शहरमा यसअघि कहिल्यै देखेको थिइनँ तर यसका बारेमा चिन्ता गर्ने कुनै कुरा छैन । तपाईंले मलाई किन बोलाउनु भएको ?’

मग्गाबाबाले भने, ‘म जाँदैछु र तिमीबाहेक मैले बिदा लिने अरु कोही पनि छैन ।’

उनले मलाई प्रेमपूर्वक अँगालो हाले । मेरो निधार चुमे । बिदा भने र यत्तिकैमा हिँडिदिए ।

मग्गाबाबा आफ्नो जीवनमा कयौँपटक गायब भइसकेका थिए । मानिसहरू उनलाई लैजान्थे र पुनः छोडिदिन्थे । त्यसैले यस पटक जब उनी गायब भए, कसैले पनि खासै ध्यान दिएनन् । केही महिनापछि मानिसहरूले मग्गाबाबा साँच्चिकै गायब भएको थाहा पाए । कयौँ महिना उनी नदेखिएकाले उनीहरूले बल्ल चाल पाए, मग्गाबाबा त छैनन् ! त्यसपछि उनीहरूले यताउता र सबैतिर खोज्न थाले । पहिले गएका ठाउँमा पनि पुगे । तर ती ठाउँका मानिसहरूलाई पनि उनका बारेमा केही थाहा थिएन ।

त्यो रात उनले मलाई भनेका थिए, ‘शायद तिमी फक्रिएको फूल बन्दै गरेको देख्न नसकूँला तर मेरो आशीर्वाद सधैँ तिम्रा साथमा हुनेछ । मेरालागि फर्कन शायद सम्भव नहोला । म हिमालय जाँदैछु । म कहाँ गएँ भनेर मेरा बारेमा कसैलाई केही पनि नभन्नू ।’

मलाई उनी हिमालय जाँदैछु भनेर सुनाउँदै गर्दा उनी ज्यादै खुसी र आनन्दित थिए । जसले खोजे र पाए तिनका लागि हिमालय घर रह्यो । मलाई त उनी कहाँ गए भन्ने थाहै थिएन किनभने हिमालय संसारको सबैभन्दा ठूलो पर्वत शृङ्खला हो । तर एक पटकको हिमालय यात्रा गर्दा म त्यो ठाउँ पुगेँ, जहाँ उनको चिहान थियो । बडा अनौठो कुरा, उनको चिहान मोजेस र जिससको चिहान नजिकै थियो । यी दुई व्यक्ति पनि हिमालयमा नै सुतेका थिए । म त्यहाँ जिससको चिहान हेर्न गएको थिएँ र संयोगवश मैले मोजेस र मग्गाबाबाको पनि चिहान फेला पारेँ । मलाई बडो आश्चर्य भयो, किनभने म सोच्न पनि सक्तिन थिएँ, मग्गाबाबाको सम्बन्ध मोजेस र जिसससँग थियो ! तर त्यहाँ मग्गाबाबाको चिहानलाई देखेर मैले बुझिहालेँ, उनको अनुहार त्यति सुन्दर, दिप्त किन थियो । उनी किन मोजेजजस्तै देखिन्थे र हिन्दुजस्ता किन देखिँदैनथे । शायद उनी हराएको कबिलाका थिए, जसले मोजेसले इजरायल जाँदै गर्दा हराएका थिए । ती हराएका कबिलाका मानिसहरू हिमालयमा, कस्मिरमा बसे । र, म अधिकारपूर्वक भन्न सक्छु, वास्तविक इजरायल खोज्न यो कबिला मोजेसभन्दा बढी सफल रह्यो । मोजेसले जुन इजरायल खोजेका थिए, त्यो मरुभूमि थियो । बेकारको भूमि थियो । यिनीहरू जसले कस्मिरमा इजरायल खोजे, त्यो वास्तवमा प्रभुको बगैँचा थियो ।

मोजेस त्यहाँ आफ्ना ती हराएका कबिलालाई खोज्दै पुगे । जिसस पनि त्यहाँ आफ्नो तथाकथित सूली चढेपछि गएका थिए । म यसलाई तथाकथित किन भन्दैछु भने उनी सूली चढाइएपछि पनि ज्यूँदै थिए । क्रसमा छ घण्टा झुण्ड्याइएपछि पनि जिसस मरेका थिएनन् । सूली चढाउने यहुदीहरूको तरिका यति आदिम र जङ्गली थियो कि मानिस मर्न छत्तीस घण्टा लाग्थ्यो । जिससको एक जना धनी शिष्यले कसैगरी शुक्रबार शूली चढाउने व्यवस्था मिलाएका थिए । यो सबै व्यवस्थित थियो किनभने शनिबार यहुदीहरूले कुनै काम गर्दैनथे । कुनै काम भोलि अर्थात् शनिबारका लागि पनि राख्दैनथे किनभने शनिबार पवित्र दिन थियो । त्यसैले जिससलाई अस्थायी रुपमा सूलीबाट झारेर एउटा गुफामा केही समयका लागि अर्थात् सोमबारसम्म राखियो । तर यसबीच गुफाबाट उनलाई चोरेर लगियो ।

क्रिस्चियनहरू यही कथा भन्छन् । सत्य त के भने सूलीबाट उतारिएपछि उनलाई गुफामा राखेपछि उनलाई इजरायलबाट भगाइयो । बाहिर लगियो । उनको धेरै रगत बगे पनि उनी ज्यूँदै थिए । उनलाई सञ्चो हुन केही दिन लाग्यो । तर उनी पूर्ण रुपमा निको भए र उनी कस्मिरको एउटा सानो गाउँ पहलगाममा एक सय १२ वर्षसम्म बाँचे ।

उनले पहलगामलाई किन चुने भने मोजेसको चिहान त्यहीँ थियो । उनीभन्दा पहिले मोजेस आफ्ना हराएका कबिला खोज्न पुगेका थिए । कबिला त फेला परे र कस्मिरलाई देखेपछि उनलाई थाहा भयो, कस्मिरको तुलनामा इजरायल केही पनि होइन । कस्मिरको तुलना गर्न सकिने अर्को कुनै ठाउँ थिएन । मोजेस त्यहीँ बसे र त्यहीँ मरे । र, जब जिससले आफ्ना प्रिय शिष्य थोमसका साथ कस्मिर गए, उनले थोमसलाई भारतमा आफ्नो बाटोको प्रचार गर्न पठाए । उनी स्वयं कस्मिरमा मोजेसको चिहान छेउ बसे र जीवनभर त्यहीँ बसे ।

सोही पहलगाम सानो गाउँमा मग्गाबाबालाई पनि गाडियो । जब म पहलगाममा थिएँ, मलाई त्यो विचित्र सम्बन्धसूत्रको बारेमा थाहा भयो, जो मोजेसबाट शुरु भएर जिसस र मग्गाबाबाको माध्यमले मसम्म आइपुग्यो ।
मग्गाबाबाले मेरो गाउँबाट निस्कनुअघि मलाई आफ्नो कम्बल दिँदै भनेकका थिए, ‘मसँग यही एउटा मात्र चिज छ र तिमी एक्ला यस्तो व्यक्ति हौ, जसलार्य म यो दिन चाहन्छु ।’

मैले भनेँ, ‘ठीक छ ! तर मेरा आमाबुवाले यो कम्बललाई घरभित्र लैजान दिने छैनन् ।’

उनी हाँसे, म पनि हाँसे । हामी दुवै ज्यादै खुसी भयौँ । उनलाई पनि यो राम्रोसँग थाहा थियो, मेरा पिता यति फोहोर कम्बललाई घरभित्र छिराउन दिने छैनन् । मलाई यो कुराको अफसोस छ, म त्यो कम्बललाई सुरक्षित राख्न सकिनँ । हुन त त्यो एउटा फोहोर ओढ्ने थियो तर जस्तो भए पनि त्यो बुद्ध र जिससजस्ता जाग्रत पुरुषको थियो । म त्यसलाई घरमा लैजान सक्तिन थिएँ । मेरा पिता कपडाका व्यापारी थिए र उनी कपडालाई निकै ध्यानपूर्वक हेर्थे । मैले त्यसलाई हजुरआमाको घरमा पनि लैजान सक्तिनथेँ । उहाँले पनि त्यसलाई घरभित्र छिराउन दिनुहुन्न थियो । सरसफाईमा उहाँ ज्यादै ख्याल गर्ने महिला हुनुहुन्थ्यो ।

सफाईसम्बन्धी मेरो सनक उहाँबाटै विरासतमा पाएको हुँ । यो उनको गल्ती हो, मेरो यसमा कुनै जिम्मेवारी छैन । म कुनै पनि फोहोर वा प्रयोग गरिसकिएको वस्तुलाई सहन सक्तिनँ । म ठट्टामा भन्थेँ, ‘मलाई तपाईं बिगार्दै हुनुहुन्छ ।’

तर यो सत्य हो । उहाँले सधैँका लागि मलाई बिगार्नुभयो । तर यसका लागि म उहाँप्रति आभारी छु । उहाँले मलाई सफा, शुद्ध र सौन्दर्यको पक्षमा बिगार्नु भयो ।

मेरालागि मग्गाबाबा ज्यादै महत्त्वपूर्ण थिए तर मैले मग्गाबाबा र मेरी हजुरआमाबीच छनोट गर्नुपर्थ्यो भने म हजुरआमालाई नै छान्थेँ । हुन त, त्यो बेला हजुरआमा सम्बुद्ध हुनुहुन्थेन तर मग्गाबाबा सम्बुद्ध थिए ।

कहिलेकाहीँ समाधिविहीन व्यक्ति यति प्यारो र सुन्दर हुन्छ कि त्यसका लागि हामी जाग्रत पुरुषले विकल्प पनि छाड्न तयार हुन्छौँ । निश्चित नै, मैले दुवैलाई छान्न सक्थेँ भने दुवैलाई छान्थेँ । संसारका करोडौँमध्ये दुई जना छान्ने अवसर हुन्थ्यो भने म दुवैलाई छान्थेँ । मग्गाबाबा बाहिरै बस्थे । हजुरआमाको घरभित्र जाँदैनथे । उनी बाहिर नीमको रुखमुनि बस्थे । मेरी हजुरआमा मग्गाबाबाको छेउमा कहिल्यै बस्नु हुन्थेन । उहाँले नाक, आँखा, मुख खुम्च्याउँदै भन्नुहुन्थ्यो, ‘त्यो मान्छे ! त्यो मान्छेका बारेमा बिर्सिदेऊ । म कहिल्यै त्यसको छेउ जान्नँ । तँ त्यसको छेउबाटै हिँडिस् भने पनि तुरुन्तै नुहाउनू ।’

मग्गाबाबालाई जुम्रा परेको छ भन्ने हजुरआमालाई डर थियो किनभने उनले नुहाएको उहाँले देख्नु भएको थिएन र कसैले पनि देखेको थिएन । शायद उहाँले ठीकै भन्नुभयो । मैले पनि उहाँलाई कहिल्यै नुहाएको देखिनँ । सत्य त के भने, ती दुवै प्राणी एकसाथ बस्न सक्तैनथे । उनीहरू दुवैको सहअस्तित्व सम्भव थियो । तर हामी त केही न केही व्यवस्था गरिहाल्थ्यौँ । मग्गाबाबा बाहिर आँगनमा नीमको रुखमुनि बस्न सक्थे र हजुरआमा घरभित्र रानी बनेर बस्न सक्थिन् । र, छनोट बिना नै मैले दुवैको प्रेम पाउन सक्थेँ । मलाई यो अथवा त्यो छनोट गर्ने कुरा बिल्कुलै मन पर्दैन ।

कति बज्यो ?