
क्यानाडा, टोरन्टोको नेपाली समाजमा बिना बर्मा समाजसेवीको रूपमा एक सुपरिचित नाम हो । नेपालबाट बसाइँ सरेर टोरन्टो आउनेहरूले नयाँ परिवेश (टोरन्टो) मा स्थापित हुने अनेक किसिमका समस्याहरू भोग्नुपर्दछ । यसरी आउने नवआगन्तुक नेपालीहरूलाई टोरन्टोमा स्थापित हुन बिना बर्माले निकै सहयोग पुऱ्याउनुहुन्छ । समाजसेवामा समर्पित बर्माको स्थायी ठेगाना भने काठामाडौँ हो । उहाँ टोरन्टोमा बस्न थाल्नुभएकाे दुई दशकभन्दा बढी भइसकेको छ ।
प्रस्तुत छ, साहित्यपोस्टका लागि विश्वराज अधिकारीले बिना बर्मासँग गरेको प्रवास वार्ताको सम्पादित अंश;

बिना बर्मा
तपाईँलाई समाजसेवामा लाग्न के-के कुराहरूले प्रेरित गरे?
समाजसेवामा लाग्न जन्मघरबाट सिकेकी हुँ । बुबाआमाको प्रेरणा र व्यवहारबाट सिकेकी हुँ ।
तपाईँ क्यानाडाको टोरन्टो सहरमा बस्नुभएको छ । यो सहरमा सामाजिक सेवाको क्षेत्रमा केकस्ता कामहरू भइरहेका छन्?
यो सहरका नेपालीहरूले एकले अर्कालाई सहयोग गरिरहेका छन् । समस्या पर्दा एकअर्कासँग सरसल्लाह गर्ने गरेका छन् । यो सहरमा प्रथमपटक स्थायी बसोबास गर्न आउने आउने नेपालीहरूलाई प्रारम्भिक चरणमा खाने बस्ने जो हो गर्न हामी मिलेर सहयोग गर्छौँ ।
तपाईँले आफ्नो समाजसेवाको कार्यलाई नेपालमा पनि विस्तार गर्नुभएको छ?
प्रत्यक्ष रूपमा वा स्वयं उपस्थित भएर सहयोग नगरे पनि अप्रत्यक्ष रूपमा नेपालतिरका खाँचोमा परेका व्यक्ति एवं परिवारहरूलाई सहयोग गर्ने गरेकी छु ।

अन्तर्वार्ताकारः विश्वराज अधिकारी
समाचारमा आएअनुसार तपाईँले ‘नवरत्न’ पुस्कार पाउनुभएको छ । यो पुस्कार केकस्ता गर्नु भएकाले पाउनुभएको हो र यो कुन संस्थाले तपाईँलाई प्रदान गरेको हो ?
मलाई र मेरो कामलाई कदर गर्दै अमेरिका-अन्ताराष्ट्रिय नेपाली साहित्य समाजले मलाई ‘नवरत्न’ पुरस्कार दिएको हो । यस्तो पुरस्कार पाउँछु भन्ने मलाई लागेको थिएन । मेरो उद्देश्य केवल जनसेवा गर्दे जानु हो । पुरस्कार पाउनु मेरा लागि केवल एक संयोग हो ।
यस किसिमबाट पुस्कार पाउँछु जस्तो लागेको थियो?
मैल पुरस्कार पाउने उद्देश्यका साथ नियोजित किसिमले समाजसेवा नगरेको हुनाले मैले कुनै पनि किसिमक पुरस्कार पाउने आशा गरेकी थिन् ।
यस किसिमबाट पुरस्कार पाउँदा अझै कस्सिएर समाजसेवामा लाग्न मन लाग्छ?
म स्वयं आफ्नो अन्तर्मनबाट समाजसेवामा समर्पित व्यक्ति हो तर पनि यो पुरस्कारले मलाई थप ऊर्जा प्रदान गरेको छ । समाज सेवामा अझ कस्सिएर लाग्न मलाई थप उत्साहित पारेको छ ।
समाजसेवाका विभिन्न क्षेत्रहरू छन् । तपाईँलाई कुन क्षेत्रमा बढी दत्तचित्त भएर लाग्न मन लाग्छ?
आवश्यकतामा परेका व्यक्तिहरूलाई चाहिने जुन सुकै किसिमको सहयोग गर्न म सदैव तत्पर रहने गर्दछु । त्यसकारण सहयोग गर्ने मेरो एउटा कुनै क्षेत्र छ भन्ने छैन । म धेरै पहिले क्यानाडा आएको हो । त्यस बेला यहाँ स्थापित हुन म र मेरो परिवारले अनेक दुःख कष्ट भोग्नुपरेको थियो । म भने अब आउने नेपालीहरूले मजस्तो दुःख कष्ट भोग्न नपरोस् भन्नेतर्फ ध्यान दिन्छु र उनीहरूलाई क्यानाडा आउनेबित्तिकै केकस्ता सहयोगहरू गर्नुपर्छ त्यस्ता सहयोगहरू गर्छु ।
समाजलाई केही गर्ने र समाज सेवामा लागेका व्यक्तिहरू टोरोन्टो आउँदा उहाँहरूलाई मैले आफ्नै टोरन्टो स्थित निवासमा समेत पनि राख्ने गरेकी छु । पछिल्लोपटक मेरो निवासमा अनुराधा कोइराला बस्नुभएको थियो । उहाँका साथमा नेपालबाट केही अन्य व्यक्तिहरू पनि आउनुभएको थियो ।
‘पश्चिमाहरूको तुलनामा हामी पूर्वेली (नेपाल, भारत, पाकिस्तान आदि) हरूले समाज सेवाको क्षेत्रमा कमै श्रम र साधनहरू खर्च गर्ने गरेका छौँ’, यस्तो भन्नेहरूको यो भनाइ उचित लाग्छ?
मेरो विचार यो भनाइ उचित होइन । हामी पूर्वेलीहरू पनि सहयोग गर्ने सन्दर्भमा उदार मनका छौ ।
प्रवासी जीवन कस्तो लागिहरेको छ?
मानवीय जीवन दुख र सुखको शृङ्खला हो । रथको पाङ्ग्राजस्तो सुख र दुख पनि हाम्रो जीवनमा तलमाथि गरी घुमिरहन्छ । कहिले सुखमाथि त कहिले दुःख तल । कहिले सुख तल त दुःखमाथि । प्रवासी जीवन मलाई र मेरो परिवारलाई राम्रो लागिरहेको छ । मान्छे जहाँ भए पनि सन्तुष्ट रहनुपर्छ ।
स्वतन्त्रताको सन्दर्भमा नेपाली र क्यानाडेली महिलाहरूबिच के कस्तो अन्तर पाउनुहुन्छ?
सर्वप्रथम त के भन्न चाहन्छु भने क्यानाडामा नेपालमा जस्तो ठूलो काम र सानो काम भन्ने छैन । हेरक कामलाई सम्मान दिने गरिन्छ, क्यानाडामा । यहाँका महिलाहरू आर्थिक रूपमा सक्षम छन्, सबल छन् । महिला र पुरुषबिच यहाँ नेपालमा जस्तो विभेद छैन । नेपालको तुलनामा यहाँ महिलाहरूलाई धेरै स्वन्त्रता छ । क्यानाडाको सरकार यस विषयमा निकै चनाखो छ । प्रधान मन्त्री जस्टिन त्रुदोले हालै आफ्नो मन्त्रीमण्डलमा समान सङ्ख्यामा महिला एवं पुरुषलाई मन्त्रीका रूपमा नियुक्त गरेका छन् ।
नेपालमा महिला-स्वतन्त्रताको स्थिति वर्तमानमा कस्तो छ?
नेपालमा महिला-स्वतन्त्रताको स्थिति पहिलेभन्दा धेरै नै राम्रो छ । शिक्षित महिलाहरूको सङ्ख्यामा निकै वृद्धि भएको छ तर गाउँघरतिर भने महिला-स्वतन्त्रताको स्थिति सन्तोषजनक छैन् । महिलाहरूलाई सराप पाएर महिलाभइ जन्मेको झैँ गर्छन । समग्रमा भने अहिले नेपालमा महिलाहरू पहिलेभन्दा आर्थिक रूपमा आत्मनिर्भर हुँदै गएको देखिएको छ ।
नेपालका शिक्षित र सचेत महिलाहरूले समेत, अहिले पनि, माहिनाबारीलाई शरीरिक अपवित्रता ठान्दछन् । यस्तो ठान्नु उचित हो?
शिक्षित र सचेत महिलाहरूले महिनाबारीलाई शरिरीक अपवित्रता ठान्नु गलत हो ।
नेपालमा हुने महिला-पुरुषबिचको भेद अन्त्य गर्न तपाईँको विचारमा के गर्नुपर्ला?
महिला-पुरुषबिचको भेद नेपालमा मात्र होइन संसारका अन्य मुलुकहरूमा पनि छ । यो भेद समाप्त गर्नुपर्छ र यो भेद समाप्त गर्न महिला र पुरुष दुवैले एक अर्कालाई सम्मान गर्नुपर्छ । यो पुरुषले गर्ने र यो महिलाले गर्ने काम भनेर छुट्याउनु हुँदैन । कुनै पनि किसिमको कमा महिला एवं पुरुष, अर्थात् दुवैले गर्न सक्छन् भन्ने भाव राख्नुपर्दछ । यस्तो भाव प्रत्येकले राखेमा महिला-पुरुषबिचको भेद समाप्त भएर जान्छ ।
पछिल्लोपटक नेपाल कहिले जानुभएको थियो?
१५ वर्ष जति पहिले नेपाल गएकी थिएँ ।
नेपाल जाऊँ जाऊँ जस्तो लाग्दैन?
प्रत्येक पल नेपाल जान मन लाग्छ । प्रत्येक बिहानी आफ्नो जन्म भूमि नेपालको याद आउँछ र जन्मभूमिको त्यो यादले कल्पनाको हवाइजहाजमा चढाएर नेपालतिर पुऱ्याउँछ । परिस्थितिको बाध्यताले गर्दा भने आफूले खोजेको समयमा नेपाल जान पाएको छैन ।
साहित्यमा कत्ति रुचि राख्नुहुन्छ?
साहित्यमा मेरो अति नै रुचि छ । साहित्यले जीवन कसरी सुख र सन्तोषपूर्वक बाँच्न सकिन्छ भन्ने कुरा सिकाउँछ । यो कुरामा मलाई बलियो गरी विश्वास छ ।
तपाईँले पछिल्लोपटक पढ्नुभएको पुस्तक कुन हो?
मैले पछिल्लोपटक पढेको पुस्तक डा. सानु भाइ डङ्गोलद्वारा लिखित “नेपाली राजनीतिमा दरबार” हो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...

आधारभूत आवश्यकताका वस्तुसरह पुस्तकहरू बिक्री कहीँ पनि हुँदैन – सीता अर्याल

‘परदेशको साहित्य, रहरको साहित्य’ भन्ने आरोपबाट मुक्त हुन गाह्रो हुन्छ – राजेन्द्रप्रसाद अर्याल
