लोकसंस्कृतिमा नृत्यगीतको भूमिका असीम हुन्छ । त्यसैले नृत्यगीतहरूलाई एउटा जातिको परिचय वाहक र एैना हो भनेर भन्न मिल्दछ । त्यसरी नै नृत्यगीतहरूमा भिन्न जनगोष्ठीका भिन्न भावाभिव्यक्तिहरू गीतद्वारा प्रकाश गरिएको हुन्छ । गीतका यी भावानुभूतिहरू नर्तकनर्तकीहरूले खुट्टाका तालका माध्यमबाट, हातका मुद्राबाट, कम्मरको लचकाइबाट र चालचलनद्वारा प्रकाश गर्दछन् । पूर्वपरम्परादेखि मौखिक रूपमा चलिआएका यी गीतहरूको कुनै व्याकरण अथवा कुनै गीतकार, सुरकार छैनन् । फेरि पनि तनमन दुवैलाई सबलसक्रिय पार्ने लोकगीतहरूले समय र परिवेशअनुसार एउटा सुन्दर इतिहास तथा परम्परा बोकेकै हुन्छ । साँचो भन्नु हो भने लोकगीत लोकजीवनको भावात्मक इतिहास हो ।

रिजु देवी (असम)

लोकगीत व्यक्तिगत र सामूहिक चेतनाको उद्भावन हो । गोर्खेली लोक गीतहरूमा पनि घाँसदाउरा गर्न जाँदा, गाई-बाख्रा-भेडा चराउँदा, खेत रोप्दा, दाउरा चिर्दा स्वतःस्फूर्त मनका चिन्ताभावनाहरू परम्परा अनुसार गोठाले, ढाक्रे, दाउरे, बाउसे, भरिया, बटुवाका मुखबाट पोखिएर लोकगीत आकारमा आज पनि उति नै सुरिला र कर्णप्रिय भइआएका छन् । जीवनमा भोगेका दुःख, पिरमर्का, भिन्न प्रकारका आवेगअनुभवहरू यस्तै नृत्यगीतद्वारा प्रकट हुन्छन् । ऋतु परिवर्तन, हाँगा-लहरा-पातका झुलाइ, कुकुरबिराला, हाँसपरेवा आदि घरेलु जानवरपक्षीसँगको सहजीवन, ढिकी-जाँतो-ओखलीको अनुभव, घरदेखि बाहिरका तीतामीठा भावका मिश्रित प्रवाह, प्रकृतिपूजन, सङ्घर्षमय जीवनका अकृत्रिम उद्घोष नै लोकगीतको उत्सव हो ।

लोकगीतबारे भारतीय लोकसाहित्यका चिन्तक देवेन्द्र सत्यार्थीका अनुसार, “लोकगीत कुनै संस्कृतिको बोल्ने चित्र हो । ” लोकगीतहरू लोकनिर्मित भएता पनि यो व्यक्ति विशेषक हुँदैन, यो सामूहिक अर्थात सम्पूर्ण जातिको रचना भनिन्छ । ” त्यसैले लोकगीतनृत्यलाई जातिमा समन्वय गढ्ने संस्कृतिको ठुलो कला हो भन्न सकिन्छ । वर्तमान लोकगीतनृत्यको प्रचार र प्रासङ्गिकता धेरै मात्रामा बढेको देखिन्छ ।

गोर्खा समाजमा प्रचलित केही लोकगीतहरूको सानो टिप्पनी यस प्रकार छ –

झ्याउरे : झ्याउरे मादल तालमा गाइने र नाचिने अति रोमाञ्चक र फुर्तिलो गीत हो । लोकगीतमा मादल नभए गीतै जम्दैन । यो गीतमा तरुणतन्देरी दुवैले मन खोलेर आफ्नो मनको वह पोखी अथवा प्रेमप्रस्ताव राखी अनि अन्तमा फेरि दुवैको सहमतिअनुसार प्रणय भएको कुरा पाइन्छ । गीतहरूमा घाँस, दाउरा, मेलापातको कुराहरू उल्लेख गरिएको पाइन्छ । अति रोमाञ्चक किसिमका गीत हुन्छन् झ्याउरे । केटाकेटीले झ्याउरे तालमा हृदय खोलेर नृत्यगीत गर्छन् यस गीतमा ।

पुरुष जाम् भने जाम त नि

दुई-चार मैना(महिना)घुमेर आम् त नि

कपाल कोरेर रेलमा चढेर ।

नारी सुनको गजुर सुनको गजुर

जाम त भने हिँड्नुहोस् हजुर

कपाल कोरेर रेलमा चढेर ।

सङ्गिनी : सङ्गिनी गीत विशेषतः तीजमा गाइन्छ । यस गीतलाई ‘तीज गीत’ भनेर पनि भनिन्छ । सङ्गिनी गीतहरू नारी हृदयका पीरवेदनाहरू, हाँसोरोदन, दासत्व तथा वास्तविक जीवनका घटनाहरूलाई लिएर लयबद्ध तरिकाले सजिएका हुन्छन् । त्यसैले यस गीतलाई विषादात्मक गीत पनि भनिन्छ । छोरीलाई सानैमा उसले नचाहेको ठाउँमा बिहे दिएपछि उसको मन पिरोलिन्छ अनि विद्रोही बन्दछ । साथीसङ्गी, दिदीबहिनी, भाइबन्धुलाई सम्झेर हाहाकार गर्छ प्राण यसरी:

“धर्तीका पल्ला छेउ दिइहाल्यौ बाबा

चरीपन्छी बादलुले पाउँदैन भेउ

कि मलाई देऊ विषको सेलो

कि मलाई अंश देऊ बाबा

अडेन मेरो मन ।”

सङ्गिनी गीतमा धार्मिक भावनाले पनि नारी मनको प्रगाढ आस्था प्रकट गरेको छ । जस्तै

कहाँमा जान्छौ रानी चरी बगाल

बरी लै भगवान्‌लाई भेट्न ।

देउसीभैली : तिहार गोर्खालीहरूको अति प्रिय चाड हो । गाईतिहार औँसीको दिनै सबै नारी मिलेर भैली खेल्ने परम्परा छ । यस दिन बिहान गाई पुजेर राति लक्ष्मी पूजा गरिन्छ र घरमा आएका आछेपाछेलाई दान दक्षिणा गरिन्छ । ‘भैली’ शब्द ‘भिल्ल’ जातिबाट आएको हो भनिएको छ । “प्राचीन आदिवासी भिल्ल जाति साह्रै पछौटे जातिमा गनिन्थ्यो । तिनीहरू मागिखाने हुनाले लक्ष्मी पूजामा उनीहरू मानिसका आँगनमा केही पाउने आशा लिएर आउँथे, दलैसँग आई माग्थे । केही पाउँथे र खुसी हुँदै दान दिने घरकालाई आसिक दिन्थे । परिचय माग्दा उनीहरू भिल्ल जाति भन्नुका साथै आइमाईहरू आफूलाई ‘भिल्लनी’ भनि परिचय दिन्थे । समयानुसार भिल्लबाट भैलो, भिल्लनीबाट भैलेनी हुन गएको हो । संस्कृतमा भिल्ल, प्राकृतमा भिल औ नेपालीमा भैलो हुन गयो ।”(नेपाली संस्कृतिःहाम्रो अस्तित्व, पृष्ठा नं ११६) । युग बित्दै जाँदा भैलो सामूहिक रूपमा भैलोभैली हुन पुग्यो र आज गोर्खा नारीहरूले “भैलेनी आयौँ आँगन, बडारी कुँडारी राख न

हे औँसीको दिन गाई तिहार भैली” भन्दै गाउँछन् । त्यसरी नै लक्ष्मी पूजाको दोस्रो दिन लोग्ने मानिसहरूले देउसी खेल्छन् । वैदिक कथानुसार देउसी संस्कृत शब्द ‘देहिक्षिय’ शब्दकै परिमार्जित रूप हो । देहिबाट देउ, क्षियबाट सिरे हुँदै देउसिरे भएको हो भनेर भने तापनि अर्को पक्षको युक्ति भने भिन्न छ । उनीहरू भन्दछन् बली राजालाई लिएर दिउसिरेको जुन कथन रहेको छ, त्यो असलमा प्राग्वैदिक परिघटना हो । बली एक जना महादानी राजा थिए र किराँत मूलका थिए । संस्कृत भाषा सीमित सङ्ख्यक आर्यहरूको भाषा हुनले गर्दा देउसिरे शब्द संस्कृतको परिमार्जित रूप हुनै सक्दैन । यस विषयमा गहिरो पर्यवेक्षणको अतीव जरूरी छ । बली दैत्य कूलका भए तापनि ऊ मानवीय गुणसम्पन्न थिए र उनको गुणगरिमाको बखान गर्दै हर वर्ष देउसिरे गाउँछन् ।

” ए झिलिमिली झिलिमिली देउसिरे ” । घरका आमैबाबै बाट केही पाउने र आशीर्वाद दिने उद्देश्यले नै देउसिरे भन्दै युवकहरूले गाउँछन् । नृत्यगीतको अन्तमा दातालाई आसिक दिन्छन् यसरी : “ए यसै घरका देउसिरे

ए आमै बाबै देउसिरे

ए सय वर्ष बाचून् देउसिरे

ए ढुङ्गो छुँदा देउसिरे

ए द्रव्य होस् देउसिरे.. । ”

देउसीभैलीबाट असलमा प्रेमदया, ममता, परोपकार, दानादिको वार्ता फैलाएको बुझिन्छ । यी सबै गुण भएनन् भने मानवजीवन व्यर्थ छ । देउसीभैलीले हामीलाई मानवताको पाठ पढाउँछ ।

सोरठी: मगर जनगोष्ठीको अति रोचक, आध्यात्मिक तथा पौराणिक कथाहरूको आधारमा गाइने र नाचिने नृत्यगीत हो सोरठी । सोह्र महिनामा जन्मेकी सोह्रठी रानीसम्बन्धी लोककथाकै आधार हो सोरठी । सोरठी शास्त्रीय गीत हो । सोरठी विशेष रूपले तिहारमा देउसीभैली खेल्दा गाइन्छ अर्थात् औँसीका दिन आरम्भ गरी पूर्णिमाको दिनसम्म सोरठी नाचिन्छ गाइन्छ । यो नृत्यमा एक जना मारुनी(नारी रूप), एक जना पुर्सुङ्गे(पुरुष पात्र), एक या दुई जना मादले, नृत्यकारका साथै एउटा ढँटवारे पनि हुन्छ । धर्मीय गीत भएकाले गर्दा गुरुद्वारा गीतको सुरुमा चारैतिर देवीदेउतालाई आह्वान गरिन्छ र मादल तालमा नृत्यगीतको प्रारम्भ हुन्छ । नाच्ने नचरीमा देवी देउता उत्रेर काम्न थाल्छन । गीतहरूलाई वास्तविक जीवनसँग जोडेर पनि गाइन्छ यसरी

शिरै लाउने शिरफूल यस्तै राजाले बेची खायो

यसै पो राजाको आशा मलाई छैन, चलिजाऊँ

माइतीको देशैमा ।

रामायण हरिलग्यो हरिलग्यो

रावण्यले सीताजीलाई हरिलग्यो ।

विभिन्न स्वर, ताल, लयमा यसरी सोरठी गाएर गृहस्थीलाई मनोरन्जन दिने गर्छन् र दक्षिणा ग्रहण गरेपछि आसिक दिन्छन तर यस किसिमका पौराणिक नृत्यहरू हाम्रा समाजबाट आज भोलि हराउँदै गएका छन् ।

तामाङ सेलो : तामाङ सेलो गोर्खा समुदायको तामाङ जनगोष्ठीको अन्यतम नृत्यगीत हो । यो गीतमा मातृवन्दना हुन्छ । तामाङहरू गीतलाई ‘व्हाइ’ भन्दछन् । ‘व्हाइ’ गाउने अघि मातृ वन्दना चार किसिमले हुन्छ अर्थात् डम्फु बजाउने डम्फारेहरूले “आम्माइले होइ आम्माइले” भनी कलाकी देवी सरस्वती, रुइसाङ(पार्वती), मातृभूमि अनि जन्म दिने आमाको स्तुति गर्दछन् । डम्फु तामाङहरूको प्रधान लोकबाजा हो । डम्फु, टुङ्गना, मर्चुङा, मादल आदि बजाएर अति सुन्दर तरिकाले यो गीत गाएर नाच्छन् । दिनभरिको अथक परिश्रम आनन्दमय बन्न पुग्छ । अघि-अघि तामाङ भाषामा मात्र तामाङ सेलो गाइन्थ्यो तर हिजाज नेपाली भाषामा पनि यो गीत गाएको देखिन्छ यसरी :

“उठ न च्याङबा नाच…..२

लहै च्याङबा लहै, लहै च्याङबा लहै

च्याङबाको खुट्टा कस्तो, बाँसको जराजस्तो

च्याङबाको हात कस्तो, भोटेको दाबिलोजस्तो

उठ न मैचाङ नाच

लहै मैचाङ लहै, लहै मैचाङ लहै…….”

व्हाइ धेरै प्रकारका हुन्छन् । १. ताम्बाला व्हाइरीतिरिवाज सम्बन्धित गीत । २. फावर व्हाइप्रेम सम्बन्धित गीत । ३. साङ्ला व्हाइ विभिन्न दिशा र गाउँका देवीदेउता सम्बन्धित गीत । ५. सैरगेम ला व्हाइचारै दिशाका देवीदेउराली, नागलाई सम्झेर गाउने गीत । ६. डम्फु सेङला व्हाइडम्फु बनाउने विधि गीत । ७. मोइवाला है व्हाइ देवीदेउताबाट गीत सही तरिकाले गाउन सक्ने आशीर्वाद लिने गीत इत्यादि ।

बालन: गोर्खेली जनजीवनमा धार्मिक आस्थाको ठुलो प्रभाव देखिन्छ । बालन पनि तीज, सङ्गिनीजस्तै नारीहरूले खेल्नेगाउने लोककृष्टि हो । यस गीतमा धार्मिक परम्परा व्यक्त हुनुका साथै सामाजिक, व्यावहारिक जीवनका तीतामीठा घटना प्रवृत्तिहरू, संस्कार कूसंस्कारहरूको स्पष्ट चित्रण प्रतिफलित भएको देखिन्छ । रामायण तथा कृष्णचरित्र आदिका पौराणिक कथाहरू दुई पक्ष भएर लयबद्ध तरिकाले अभिनयका साथ प्रस्तुत गरिन्छ । बालनको आरम्भमा दियो बाली कलश राखेर प्रभुसँग नाच्नेगाउने अनुमति मागिन्छ….

“हे हे उत्तर दिशाका पशुपतिनाथ, तमु रक्षे करे

हम रक्षे होई हामी खेल्छौँ बालन….”

प्रश्न” कहाँ तुम्हारो जन्मभूमि मालिकै

कहाँ तुम्हारो गाउँ?”

उत्तर” गहते चउरको जन्मभूमि

पाटन हाम्रो गाउँ नि मालिकै

पाटन हाम्रो गाउँ ।”

बालन पनि हिजाज खेलेको देखा पर्दैन । बालनसँग एउटा लोकविश्वास पनि जुडेको छ । बालन गीत गाएर खेल्नाले गाईवस्तु नहुनेलाई गाईवस्तु, निर्धनीलाई धन साथै पुत्र नहुनेलाई पुत्र प्राप्त हुन्छ भन्ने जनविश्वास छ ।

चुटका: चुटका विशेष गरी विभिन्न पूजा, बिहे, अनुष्ठानहरूमा मनोरन्जनका निम्ति गाइन्छ औ नाचिन्छ । यो व्याङ्गात्मक तथा रसिलो पाराको हुन्छ । दर्शकस्रोताहरूको भोकनिन्द्रा सबै हराउँछ यो नृत्य उपभोग गर्दा । मादल तालको यस गीतमा अति फुर्तिलो पाराले बुरुक्क बुरुक्क उफ्रेर नाच्नेगाउने गर्छन् ।

“एउटा गोरु झालेमाले, एउटा गोरु कैले

जाने भए हिँड कान्छी उडाई लान्छु मैले

आहा नाच्यो भाले पोखरीको छेउ-छेउ

नाच्यो भाले….”

जुवारी : जुवारीलाई दोहोरी गीत पनि भन्दछन् । जुवारी शब्द संस्कृत युगलिका-प्राकृत-जुअलि-आजुवाली-जुवारी । शृङ्गार रसपूर्ण यस गीतमा युवकयुवतीले मन साटासाट गर्दै भाका हालेर गाउँछन्, नाच्छन् । मनका भावानुभूतिहरू गीतका माध्यमबाट पोख्दछन् । रोचक किसिमले सवालजवाफको सिलसिला चल्छ । यस गीतलाई रसिया गीत पनि भनिन्छ । गाउँघरमा पाइने विभिन्न भाकाहरूजस्तै रेलीमाई, लालुमाई, निरमाया, लैबरी लै, जाली रुमाल, पापी मायाजाल, सुनमाया, धाननाच, ठाडो भाका इत्यादि झ्याउरे र चुडका तालमा यो गाउने गरिन्छ । जुवारी गीतमा जितेर घर बसाल्ने परिवार पनि खोज्नु हो भने गाउँबस्तीमा अझै पाइने छन् होला ।

पुरुष : आ….माया भन्ने मुटुको रैछ घाउ

बिर्सी बस्न सकिनँ फर्की आऊ

निर्मोहीले मूलबाटो बिर्सिँदा

आँखाबाट आँसु रसायो ।

नारी: आ…स्वर्ग जानेबाटैमा कुरुँला

अर्को जुनी उहीमाथि भेटौँला

निर्मोहीले मूलबाटो बिर्सिँदा

आँखाबाट आँसु रसायो ।

गाइने गीत: विभिन्न समयमा घटेका घटना, प्राकृतिक दुर्योग, राजनैतिक उथलपुथल, सामाजिक व्यवस्था आदिका वर्णनाहरू गाइने गीतमा पाइन्छ । गाई हिँडने ‘गाइने’ले सारङ्गी रेटेर आफ्नो लयतालका साथमा मनमोहक तरिकाले यो गीत गाउँछ । संस्कृत ‘गायन’ बाट गाइने बनको हो । यी गीतहरू साह्रै हृदयस्पर्शी हुन्छन् । गाइने गीतमा झोपडी र दरवारको था, मायापिरतीका कथा साथै विजय गाथाहरू सुन्न पाइन्थ्यो ।

“हाम्रो टेनजिङ सेर्पाले चढ्यो हिमाल चुचुरा

गम्केर बजे खैँजडी झम्केर नाचे मुजुरा ।”

धाननाच: धाननाच विशेष गरी लिम्बुहरूको कृषि सम्बन्धित नृत्यगीत हो । यालाङ भनिन्छ लिम्बु भाषामा । ‘या’ भनेको धान र ‘लाङ’ भनेको नाच हो । यसको मुख्य उद्देश्य हो धान माड्नु । मङ्सिर महिनामा जब लटरम्म पाकेको धान काटेर खलामा ल्याइन्छ तब कृषकको मनमा अपार आनन्द हुन्छ । खलामा ल्याएको धान माड्नका निम्ति धान नाच्न बोलाइन्छ । तब नै तरुणतन्देरीहरू दुई दल भई हातेमालो गर्दै, खुट्टाको ढपढपसँगै अघि र पछि सर्दै, घुम्दै गाउँदै नाच्छन् । यसरी नाच्दा गाउँदा मनोरञ्जन पनि हुन्छ साथमा दाइँ गर्ने काम पनि अघि बढछ । धान नाचमा गाउने गीतलाई पालाम भनिन्छ ।

परेवा पङ्खी सात जोरी

नाची पो राखौँ हात जोरी ।

बोलेको बोली सुनसरि

सोल्टिनी मेरी गुजेश्वरी ।

देख्दा र सुन्दा हाँसिराखौँ

माया प्रीति गाँसी राखौँ ।

धान नाचको मूल आधार प्रणय भए तापनि यसमा सामाजिक, प्राकृतिक, धार्मिक चित्रणहरू देखा पर्छन् । धान नाच्दा कसैको खुट्टामा ठोक्किनु हुँदैन । ठोक्कियो भने क्षमा याचना गरी सद्भावना प्रकट गर्नुपर्छ । फेरि साइनो-सम्बन्ध लाग्ने, चेलीमाइती र आफन्तमा धान नाच गरिँदैन । त्यसकारण धान नाचलाई पवित्रताको प्रतीक मानिन्छ । लिम्बू समुदायमा यालाङ धेरै किसिमका हुन्छन् । जस्तै कुसरक्पा, सिरधाप्पे, ताम्राङ्गे, पान्थरे, छथरे, केङ्जोरी, सुक्किमे, चिराक, श्रीधाप्पे इत्यादि । लिम्बुहरूका अरू-अरू लोकनृत्य पनि यस प्रकार छन् । १. केलाङ (च्याब्रुङ नृत्य यस नृत्यमा कुनै गीत हुँदैन, जसमा बाजाको धुन मात्र हुन्छ । २. हाक्पारे यो गीत बिहेको बेला बेहुलीतर्फ र बेहुलातर्फ बिच जुवारीजस्तै गाइन्छ । ३. तुम्याहाङ साम्लोयो गीतमा इतिहास हुन्छ । मुन्धुमद्वारा यो गीत गाउँछन् । ४. चिराक लाक साम्लो यो गीत पराल माड्दा गाउने गीत हो । यो पुरुषले नाच्ने नृत्य हो । ५. निसाम्माङ सेवा साम्लोयो धार्मिक कार्यक्रममा गाउने गीत हो । ६. ताम्के साम्लोयो गीतलाई दम्के गीत भन्दछन् । यो मकै गोड्दा गाउने गीत हो । ७. ख्याली साम्लो मनको अभिव्यक्तिलाई तरुणतरुणीहरूले मनोरञ्जनात्मक तरिकाले प्रकाश गर्ने गीत हो यो । यो गीत पालाम छन्दमा गाउने गर्छन् । ८. पेनालाङकोदोसँग जुडेको हुनले यस गीतलाई कोदो नाच पनि भन्दछन् । ९. केङ्जोरी लाङ्टाङ १ ०.येलाङ ११. फेदाङ्बा लाङ्टाङ इत्यादि ।

मालसिरी:  मालसिरी एउटा आध्यात्मिक भावसम्पन्न गीत हो । नवरथामा नौ दिनसम्म देवी दुर्गाको आराधना र पूजापाठ गरिन्छ । मालसिरी एक प्रकारको श्लोक भए तापनि यसलाई लामो स्वर तानेर मादलसितै गाइन्छ । मालसिरी धुनबाट नै दसैँको आगमनको शङ्खनाद हुन्छ । मालसिरी धुनमा पाइने लगभग पच्चिस ओटा गीतहरू सबैमा देवीको स्तुति गरिएको पाइन्छ । जस्तै- “जै देवी भैरवी गोरखनाथ, दर्शन देऊ भवानी हे ।” तर हिजोआज मालसिरी गीतमा नाचेको गाएको देख्न गाह्रो परिसक्यो ।

घाटु नाच: घाटुनाच विशेषतः गुरुङ र मगर समुदायको अति लोकप्रिय नृत्य हो । यो नृत्य उहिले गुरुङहरूले कम्ती उमेरका नानीहरूलाई रोधी घरमा लगेर सिकाउने गर्थे । यो नाच केवल दस-एघार वर्ष उमेरका अनि दुईदेखि चार जनासम्म कन्या केटीहरूले नाच्न सक्छन् । यो घाटुनाच बाह्रमासे, कुसुन्डा र सती घाटु तीन प्रकारका हुन्छन् । बाह्रमासे घाटु दसैँ, विभिन्न उत्सवपर्व, हर्षानन्दको बेला नाचिन्छ । बाह्रमासेमा कुनै वाद्य बज्दैन । अर्कातिर सती घाटु नाच्ने समय वसन्त पञ्चमीदेखि लिएर वैशाखी पूर्णिमासम्म हो । यस नृत्यमा गीतलाई छोडेर केवल मादल तालमा मात्र नाच्नुपर्ने हुन्छ । सती घाटु राजा परशुराम र रानी सतीदेवीको त्रासदीपूर्ण जीवनमाथि आधारित छ । साथै युद्धमा मारिएका राजा परशुरामको शवसितै सती गएकी रानी सतीदेवीको कथा पाइन्छ । घाटु नाच एक जना विज्ञ गुरुको मन्त्रोच्चारणद्वारा आरम्भ हुन्छ । भुईँलाई गोबरले लिपेर शुद्ध बनाई त्यहाँ गुन्द्री ओच्छ्याएर दुई ओटी कन्या केटीलाई राखिन्छ र चोखो वस्त्र लगाउन दिएर गुरुद्वारा स्तुतिको प्रारम्भ गरिन्छ । यसरी मन्त्रोच्चारण गरेका बेला जुन कन्यामा चाँडो देवी उत्रन्छ उसलाई घाटुनी भनिन्छ । घाटुनीका आँखा चिम्लिएका हुन्छन् । देवी उत्रँदा आह्वान गरिने मन्त्र यस प्रकार छ-

“सातै मूलको पानी ल्याई माली गाईको गोबरले लिपौँला,

हिमैचुली देउता आवैला,

वरैचुली देउता आवैला

सतको मा छौ भने

सबै देवीदेउता आई

हाम्रै यी बालिका कन्याको शिरैमा बसैला ।”

घाटु नाच वैशाखी पूर्णिमाको दिन साङ्गे गरेर नृत्यगीतका साथ समाप्त गरिन्छ । पौराणिक कालमा जुन सती जाने प्रथाको चलन थियो, त्यस बेला गुरुङहरूका बिचमा सती घाटु नाच्ने चलन थियो भन्ने मान्यता छ । घाटु नाच भित्रमा सबैभन्दा लोकप्रिय हो बाह्रमासे घाटु ।

सिलोक: शार्दूलविक्रीडित छन्दमा गाइने सिलोक भनेको श्लोक हो । बिहेमा जन्ती आएपछि सिलोक सुरु गरिन्छ । यो प्रायः रातभरि चल्ने गर्छ । सिलोकमा कन्यापक्षले लयबद्ध तरिकाले वरपक्षलाई प्रश्न गर्छन् र वरपक्षले पनि त्यही किसिमले जवाफ फर्काउँछन् । यो समय बिताउने र चिनजान गर्ने उत्कृष्ट माध्यम पनि हो भन्न सकिन्छ । सिलोकमा रामायण आदिका श्लोक पनि पाठ गरेर सुनाइन्छ ।

कन्या पक्ष कति बाटेउ नाम्लादाम्ला

कति बाटेउ कुच्चा

कति आएउ बुढापाका

कति आएउ फुच्चा?

वरपक्ष धेरै बाटिउँ नाम्लादाम्ला

धेरै बाटिउँ कुच्चा

धेरै आयौँ बुढापाका

कोही छैनन् फुच्चा ।

रत्यौली: रत्यौली शब्द रतिलीलाबाट अपभ्रंश भएर आएको हो भन्ने छ । सङ्गिनीसरह रत्यौली पनि दियो र कलश राखेर सुरु गरिन्छ । जन्तीहरू बेहुलो साथ बेहुली लिन गएपछि बेहुलाका घरमा महिलाहरू भेला भएर रत्यौली खेल्दछन् । यहाँ पुरुषहरूको प्रवेश पूर्ण रूपमा निषेध छ । कारण रत्यौलीमा कोही महिलाहरूले पुरुषका लुगा लगाएर उपद्रव गर्ने गर्दछन् । यहाँ उच्छृङ्खलताको कुनै सीमा हुँदैन । महिलाहरूको यस्तो काण्ड देखेर उनीहरू नै भुईँमा लडी लडी हाँस्दछन् । रत्यौली गोर्खा नारीहरूको अति विशेष पर्व हो । यहाँ उच्छृङ्खलता झल्किएता पनि नारीहरूले एकछिन आफ्नो दुःख, पिरमर्का बिर्सिएर रमाउने प्रयास गर्दछन् । यसले एकार्काप्रति प्रेम, स्नेह र आत्मीयता बढाउदछ । गोर्खा समाजमा रत्यौलीको साथै आज पनि जिउँती लेख्ने परम्परा छ । रत्यौलीमा गर्भवती महिलाले नौ महिनासम्म आफूले सामना गर्नुपरेका हरेक परिस्थितिहरूको बखान गरेको र अन्तिम महिनामा घरका सबै सदस्यहरूलाई आफ्नो साथ बसिदिने र प्रसव वेदनामा नैतिक सहयोग पुऱ्याउने आह्वान गरेको पाइन्छ ।

मारुनी नाच: मारुनी असलमा पुरुषले नारीको वेश धारण गरेर तिहार उत्सवमा नाच्ने गर्छन् । यस लोकनृत्यमा मूल मादलेले धुपदीप बालेर, देवीदेउतालाई आह्वान गरेपछि मारुनी सिँगार्ने कामको प्रारम्भ हुन्छ । गाई तिहारदेखि एघार दिनसम्म मारुनी र मादलेले एउटै वेशभूषा लगाएर मान्छेका घर-घर गएर यो नृत्य प्रदर्शन गर्दछन् । धार्मिक परम्पराअनुसार मारुनीलाई पार्वती र मादलेलाई शिवको प्रतिरूप भनेर ठानिन्छ ।

गोर्खा समाजमा मारुनी नृत्यको विशेष महत्त्व रहेको छ । समला, बिरहनी, विवाह, ख्याली, छोकडा, गर्रा, कुसुले, लहरे टप्पा आदि मारुनीका मुख्य अङ्गहरू हुन् र यी सबै भिन्न-भिन्न समयमा गाएको देखिन्छ । यस गीतका शब्दावली र प्रदर्शनबाट गोर्खा जातिका वेशभूषा, खानपान, रहनसहन, रीतिथिति, पूजाआजा आदि बारे सबैकुरा छर्लङ्ग हुन्छन् । शास्त्रीय कलामाथि आधारित मारुनी गीतको छुट्टै रागताल हुन्छ । ख्याली, बिरहनी, टप्पामा रामायण, महाभारतको गाथाहरू पाउने साथै विभासमा भजनकीर्तनको मधुर ध्वनि गुन्जिएको पाइन्छ । बिरहनीको व्यथारूपी धुनसँगै मारुनीको शशी गाउने क्रम सुरु हुन्छ र मारुनीलाई सिँगार्ने र उतार्ने काम विधिपूर्वक गरिन्छ । मारुनी सजाउँदा “स्वायो स्वायो” भन्दै गाइन्छ भने मारुनी उतार्दा “स्वाएन स्वाएन” भनेर गाइन्छ । मारुनी नृत्य गोर्खा समुदायका सबैले नाचे तापनि हातको मुद्राबाट

र नाचको प्रस्तुतिबाट उनीहरूको उपजातिबारे थाहा लाग्दछ ।

सिली नृत्य: राईहरूको एउटा विशेष नृत्य हो सिली । उनीहरूले गीतलाई “छाम” भन्दछन् । उनीहरूका दुई प्रकारका नृत्य हुन्छन् सिली र लाक । शास्त्रीय लयमा आधारित सिलीमा आध्यात्मिक भावनाको सुगन्ध पाइन्छ । यहाँ शब्दको कुनै समाहार हुँदैन, केवल धुन हुन्छ । सिलीमा बाह्र जनाले नाच्ने गर्छन् । सिली विभिन्न शैलीको हुन्छ । जस्तै- हिम्पा सिली, ढोक्पा सिली, साक्मा सिली, खोम्मा सिली, भुन्मा सिली, बुत्मा सिली, सेवान्ने सिली, तावा सिली, खसा सिली, वापा सिली, नारोक्का सिली (अरू पनि धेरै छन्) इत्यादि तर सिक्किममा बसोबास गर्ने राई समुदायहरूले “चासुम” सिली अधिक मात्रामा नाच्ने गरेको थाहा लाग्दछ । “चासुम”को अर्थ हो धान, मकै र कोदो । सिली नाच्दा नाइकेले हातमा चमर अर्थात् चौरी गाइको पुच्छर र कटारी लिएका हुन्छन् । अर्को कुरा धान, मकै र कोदो राई समुदायको कुनै पनि अनुष्ठानमा अनिवार्य हुन्छ ।

लाक: लाक राई समुदायको अन्य एउटा मनोरञ्जनधर्मी नृत्य हो । लाकमा प्रेमप्रीतिका मीठा अभिव्यक्तिहरू पाइन्छन् । सिलीमा केवल वाद्यहरू मात्र भए जस्तो यहाँ हुँदैन । लाकमा शब्द, गीतवाद्य सबैको समाहार हुन्छ । यो नृत्य स्त्रीपुरुष दुवै मिलेर नाच्दछन् । साकेवा पर्वको चण्डी पूजामा सिली अनि पूजा समाप्त भएपछि मनोरञ्जनका निम्ति लाक नाचेर रमाइलो गर्दछन् ।

महाकाली नाच: महाकाली नाच हिन्दू आध्यात्मिक दर्शनमाथि आधारित छ । यो नेवारहरूको खुबै लोकप्रिय मुखुन्डो नाच हो । यहाँ महाकाली महालक्ष्मीको कथा पाइन्छ । यस नृत्यको एउटा अलग्गै मान्यता छ । त्यो के हो भने महाकाली महालक्ष्मी र कुमारीले राक्षसहरूलाई युद्धमा परास्त गरी मानवको उद्धार गर्नुका साथै पृथ्वीमा शान्ति कायम गरेका थिए । यो नृत्य असत्यमाथि सत्यको विजय हो । तसर्थ नेवारहरूले देवीका वेशभूषा आदि परिधान गरेर यो नाच नाचेको देखिन्छ । यो नाच सितम्बरको अन्त अथवा अक्टोबरको आरम्भमा इन्द्रजात्रा पर्वमा गरेको देखिन्छ ।

भैरव नृत्य: नेवार समुदायको अर्को एउटा नृत्य हो भैरव नृत्य । यहाँ पनि भैरवको मुखुन्डो लगाएर नाचिन्छ । भैरव नृत्य तीन परिकारका हुन्छन् । जस्तै- श्वेतभैरव, नीलभैरव र भैरवकाली नाच । महाकाली नृत्यको अन्तमा श्वेतभैरव नाचिन्छ । नीलभैरव इन्द्रजात्रा पर्वमा नाचिन्छ । यो एउटा स्वतन्त्र नाच हो । भैरवकाली नृत्यमा कामसूत्रको आशक्ति रूपको देखिन्छ । भनाइअनुसार यो नृत्यमा तान्त्रिक देव भैरव र कालीका चौरासी ओटा शारीरिक मुद्रा देखाइन्छ । प्राप्त तत्थानुसार सिक्किममा पहिलोपटक दक्षिण जिल्लाको नामथाङमा भैरव नृत्य प्रस्तुत गरिएको थियो । सम्भवतः तीस-चालिसको दशकमा तत्कालीन रायसाहेब बाबुराम प्रधानको पहलमा नेपालबाट आएका कलाकारहरूले यो नृत्य प्रदर्शन गरेका थिए ।

खैँजडी भजन: खैँजडी गोर्खाहरूको एक प्रकार वाद्य हो । यही वाद्यसँग गाउने भजन नै हो खैँजडी भजनअर्थात् माङ्गलिक गीत । खैँजडी भजन विशेष गरी धार्मिक र सामाजिक अनुष्ठानहरूमा गाइन्छ । यस किसिमको भजनमा रामायण महाभारतको गाथाहरू लयबद्ध तरिकाले गाएको देखिन्छ । बिच-बिचमा हरि-हरि र नारायण ध्वनि पनि सुनिन्छ । एक जना भट्याउने र बाकी “हो की हैन” भन्दा “हो हो” भन्ने सहयोगी सहयोगी कण्ठहरू हुन्छन् । यो मुख्यतः रूपमा बिहे बटुल, पूजाआजा र देउसी खेल्दा खैँजडी, कठताल, मजुराजस्ता वाद्यहरू बजाएर सामूहिक रूपमा नाच्न-गाउन गर्छन् ।

दमके नृत्य: दमके नृत्य वैशाख-जेठ महिनामा नाच्दछन् । यो नृत्य खासगरी मकै गोड्दा, बारीको जङ्गल सफा गर्दा कोदालो लिएर पुरुषमहिलाहरूले दल बाँधेर मादलबाँसुरीका साथ नाच्नेगाउने गीतनृत्य हो । यस नृत्यमा कोदालो साटासाट गर्नुका साथै कामको मेलो पनि छिटो सर्छ र थकाइ अनुभव हुँदैन ।

नौमती : नौमती बाजा गोर्खाहरूको अमूल्य सम्पदा हो । नौमती बाजा नभए विवाह अथवा कुनै पनि अनुष्ठान असफल हुन्छ । न्वारान, व्रतबन्ध, बिहेबटुल, पूजाआजा, धानरोपाइ, चाडपर्व आदि जस्ता शुभ अवसरहरूमा नौमती घन्किने गर्छ । गोर्खा समाजमा जन्मेदेखि मृत्युसम्म नौमतीको प्रयोग गरिन्छ । मान्यतानुसार पन्चेबाजा (सहनाई, ढोलकी, झ्याली, दमाहा, ट्याम्को)को बृहद् रूप नै हो नौमती बाजा । नौमती बाजामा नौ ओटा बाजा हुन्छन् । अर्थात् पन्चेबाजाका पाँच ओटा वाद्यका साथ चार ओटा वाद्यजस्तै भालेपोथी गरी नरसिंह दुई ओटा, कर्णाल र दमाहा ।

वाद्यहरू पाँच ओटा धातुले निर्मित हुन्छन् । त्यसर्थ यी पञ्च धातुलाई गणेश, विष्णु, शिव, देवी र सूर्यको प्रतिरूप भनेर ठानिन्छ । इतिहासकाको भनाइअनुसार सहनाईको जन्म पर्सियन युगमा भएको हो र सहनाईबाट छत्तीसभन्दा धेरै राग बजाउन सकिन्छ ।

खाँडो जगाउने गीत: खाँडो जगाउने गीत बिहेमा गाउने गीत हो । खाँडो भनेको खुकुरी, खड्ग, तलवार, ढाल, खुँडा भनेर बुझिए तापनि बिहेमा चाहिँ खुकुरी नै व्यवहार गरेको पाइन्छ । खुकुरी बेहुलापक्षबाट ल्याएको हुनुपर्छ । बेहुलाले बेहुलीलाई सिन्दुरपोते लगाइदिएपछि बेहुलापक्षका कुनै एक जनाले हातमा खाँडो नचाउँदै यो गीत गाउँछन् । बेहुलापक्षबाट कोही नभए यो काम बेहुलीपक्षका कसैले गर्न सक्नेछन् तर परिणाममा बेहुलापक्षबाट केही जरिमानाका रूपमा पैसा तिर्नुपर्छ । खाँडो जगाउने अघि विधिपूर्वक बेहुलापक्षबाट बेहुलीको हातमा खुकुरी/तलवार/खुँडा दिएपछि बेहुलीले बेहुलाको हातमा सुम्पेपछि बेहुलाले फेरि त्यो खाँडो जन्तीमा भएका खाँडो जगाउने व्यक्तिलाई दिएपछि मात्र खाँडो जगाउन सुरु गर्छन् । खाँडो जगाउने गीतमा हिन्दी र नेपाली दुवै भाषाको प्रयोग भएको देखिन्छ ।

 

‘श्री तीन प्रतापी महाराजा, मन्त्रीसरह जङ्गबहादुर राणा फौज में,

चलि आए भोट के निकट में, चले आए लस्कर जी

धन्य धन्य धन्य । ‘

 

बेहुली पक्षबाट एक जनाले

‘एउटा लौकिकको विधि छ, सुन लौ,

खैँची हतियारले खाँडो जल्दी जगाउनु अब पर्यो ।

कुनै सुरवीरले । ‘

 

खाँडो जगाएपछि यसरी सिद्धाइन्छ

‘स्वास्ति श्री गिरिराज राज कुलको, खाँडो जगाइदिए,

ड्याग ड्याग ड्याग गरी, दुस्मनको शिरहरू काटिदिए । ‘

युग-युगदेखि गोर्खा समाजमा चलिआएका अन्य लोकगीत जस्तै खाँडो जोगाउने गीत, सिलोक, फागु गीत, च्याब्रुङ, जिउँती, ताण्डव नाच, लाखे नाच, चण्डी नाच, टुङ्ना नाच, कौरा, दमाई गीतहरू समयको धारमा बिस्तारै सबै हराउनका लागि रहेछन् । जातीय कलाकृष्टि हराए जातिको अस्मिता नै हराउँछ तर हिजाज ठाउँ-ठाउँमा यस्ता किसिमका लोकगीतनृत्यको प्रतियोगिता, कर्मशाला अनुष्ठित गरेर यसको संरक्षण र संवर्धनको काममा शाखासङ्गठनहरू अग्रसर भएको देखिन्छ । जसले गर्दा जातीय चेतनाको भाव प्रवल भएको भान हुन्छ ।

सङ्ग्रह

१. नेपाली संस्कृतिसुधा प्रकाशकगोर्खा उन्नयन परिषद्, असम

२. असमर गोर्खा ओम प्रकाश बस्नेत

३. सिक्किममा सङ्गीतभित्रकाहरूअनिता निरौला