एडम किर्च

सन् २०१८ को नोबेल पुरस्कार स्थगन भयो । यौन दुर्व्यवहार काण्ड सार्वजनिक भएसँगै स्विडिस एकेडेमीले त्यो वर्षको नोबेल साहित्य वितरण स्थगन गरेसँगै एउटा प्रश्न पनि उदाएको थियो, स्विडिस एकेडेमीले दिइरहेको नोबेल साहित्य पुरस्कार सधैँका लागि बन्द गरिदिँदा के होला ? यतिञ्जेल बाँडिएको यो पुरस्कारले हामीलाई खासमा दियो चाहिँ के त ? हामी भन्नाले पाठकलाई यो पुरस्कारले के दियो ?

सन् २०१८ मा साराका सारा नोबेल विजेताका समाचारहरू प्रकाशमा आए । फलानो भौतिकशास्त्री, फलानो अर्थशास्त्री साराका सारा समाचारहरू बजारमा आए । अखबारमा छाए । ठूलो चर्चा परिचर्चा भयो । त्यो बेला लेखक मात्र बाँकी रहे चर्चामा रहन । यसले केही मानिसलाई अवश्य फरक पा-यो । खासगरी प्रकाशकलाई । उनीहरूले तिनको नाम भजाउन पाउने थिए । ती लेखकका विदेशी भाषाको अनुवाद अधिकार लिन पाउँथे । पत्रकारले खपतका लागि केही लेख्थे, लेख्न पाउँथे । फिलिप रोथ र सिरियाली कवि एडोनिसजस्ता केही सीमित नोबेल हकदार मानिएका लेखक कविलाई भने झ्वाँक चल्थ्यो, आफ्ना पालामा नोबेल पुरस्कार दिन छाडियो कि भनेर उनीहरू सन्किन्थे ।

यसमा पाठकको के जान्थ्यो ? नोबेल साहित्य पुरस्कार बिनाको वर्षले हामी साहित्यकुपोषित हुने थियौँ ? थप एक जना लेखकका बारेमा जान्न नपाउँदा साहित्यप्रतिको हाम्रो निष्ठा र मोह घट्थ्यो ? वा, हामीले प्रेम गरिरहेका, चिनेका, तिनका साहित्यलाई रुचाइरहेका हामीले नोबेल साहित्य नपाउँदैमा तिनीहरू प्रतिको सम्मान घट्ने थियो ? उत्तर स्पष्ट छ, हामीलाई केही पनि फरक पर्दैन । दसकौँदेखि, स्विडिस एकेडेमीले अमेरिकी पाठक र प्रकाशकहरूलाई उत्तेजित पार्ने कुनै पनि काम गरेको छैन । सन् १९९३ मा टोनी मोरिसनलाई नोबेल साहित्य दिएयता अमेरिकी साहित्यका लागि सो पुरस्कारले खासै महत्त्वपूर्ण योगदान दिएको छैन । (बब डाइलन भन्नु होला, साहित्यकारमा उनलाई नगनौँ !) नोबेल साहित्य पाएकाहरूमध्ये तपाईंले ज्यादै थाहा पाउनु भएका साहित्यकार को छन् ? कसले जेएमजी ले क्लेजिओ अथवा हेर्टा मुलरको नाम सुनेको छ ? कसले तिनलाई पढेको छ ?

अमेरिकी पाठकले अनुदित साहित्य पढ्दैनन् भन्ने होइन । यस्तो गनगन चाहिँ प्रायः अमेरिकी प्रकाशकहरूले गरिरहेका हुन्छन् । बरु दुई दशकयता अनुदित साहित्य तथा विदेशी लेखकहरूले अमेरिकी साहित्यमा निकै ठूलो प्रभाव पारेका छन् । डब्लु.जी. सेबाल्ड, रोबर्टो बोलानो, एलेना फेरान्टे, कार्ल ओभ नसगार्ड र हारुकी मुराकामी संसारभर मात्र होइन, अमेरिकामा पनि उत्तिकै रुचाइएका छन् । र, यीमध्ये कसैले पनि नोबेल पुरस्कार जितेका छैनन् । बरु यसले स्विडिस एकेडेमीको ठूलो असफलता बयान गरिरहेको छ र त्यो असफलता हो, उसका लागि साहित्य इतिहासको वास्तविक सम्मान गर्न नजान्नु ।

तपाईंले २० औँ शताब्दीमा नोबेल पुरस्कार पाएका साहित्यकारहरूको चित्र खिँच्नुभयो भने तपाइँले सबैभन्दा प्रभावशाली लेखक नोबेल पुरस्कारबाट वञ्चित भएको देख्नुहुन्छ । र, यसमा सबैभन्दा माथि आउँछन्– हेनरिक इब्सन । त्यसपछि मार्सल प्रोउस्ट, जेम्स जोयस, भर्जिनिया उल्फ, एना एख्मातोभा, जर्ज लुइस बोर्गस, इएमी सिसेयर र अन्य देखिन्छन् ।

यसले स्विडिस एकेडेमीले पुरस्कारको प्रशासकीय व्यवस्थापनको अक्षमता जनाउँछ । के फरक समूहका आलोचक, समालोचक, ठूला कस्मोपोलिटन सहरका प्राध्यापकले विजेता छान्न बढी सक्षम हुन्थे त ? त्यसको सम्भावना थियो । कुन बेला भने जब नोबेल साहित्य पुरस्कार स्थगन गरियो, त्यो बेला आफ्नो छनोटका बारेमा मनन् गर्ने पर्याप्त समय नोबेल कमिटीले पाएको थियो । अन्य पुरस्कारले झैँ नोबेल पुरस्कारले पनि आफ्नो ख्याति बचाउन, आफूलाई समकालीक बनाइरहनका लागि निर्णायक को हुन् भनेर चिनाउनु वा पारदर्शी बनाउनु एउटा पक्ष मात्र हो । निर्णायक उनीहरूले लुकाउँदैनन् । तर जो निर्णायक हुन्छन्, उनीहरूलाई स्विडेनभन्दा पर केही थाहा छैन । तिनलाई जो पुरस्कृत हुन्छ, अचानक पहाडबाट खसेर धर्तीमा पछारिएजस्तो हुन्छ । उनीहरूले गर्ने निर्णय एउटा निश्चित समूहका पाठकले गर्ने निर्णयजस्तो देखिन्छ । उनीहरूको जे सशक्तता र कमजोरी छ, त्यसैका आधारमा उनीहरूले पुरस्कृत व्यक्ति छनोट गर्ने हुन् ।

त्यहाँ पनि विजेता छनोट गर्दा सिर्जनालाई भन्दा पनि राजनीतिलाई हावी हुने ठाउँ दिन्छन् । यसले नोबेल साहित्य पुरस्कारको समस्या अझ गहिरिन्छ । कोठाभित्र कसले यसको निर्णय गर्छ, त्यहाँ के हुन्छ यसको अर्थ छैन । नोबेल पुरस्कार एउटा सानो समूहका विशेषज्ञले निर्णय गरेर दिने हो । यो विज्ञान र सामाजिक विज्ञानहरूका सन्दर्भमा महत्त्वपूर्ण हुँदो हो किनभने त्यसलाई जान्ने केही विशेषज्ञ नै चाहिन्छ । साधारण पाठकले विज्ञान र सामाजिक विज्ञानका अप्ठेरा सूत्र खुट्याउन सक्तैन । साधारण पाठकले त तिनका कुराहरूलाई खुरुखुरु पछ्याउने मात्र हो ।

अझ पछिल्लो समय त विज्ञान वा सामाजिक विज्ञानको आविष्कार पनि कुनै एक या दुई जनाको क्षमताको मात्र कुरा रहेन । यो त सामूहिक सफलताको उदाहरण हुने गरेको छ । त्यसैले अन्य विधामा पनि पुरस्कार दिइँदा ती समूहको दिनरातको मिहिनेतलाई नजरअन्दाज गरिएको देखिन्छ ।

बरु साहित्य चाहिँ विज्ञानहरूको तुलनामा एक्लै गरिने सिर्जना हो । एक्लै गरिने सिर्जनाका बारेमा निर्णय गर्न सजिलो हुन्छ तर नोबेल कमिटीले जुन विज्ञको विज्ञतालाई आधार मानेर निर्णायक बनाएको हुन्छ, त्यसले बेग्लै किसिमको समस्या उजागर गरिरहेको छ । साहित्यका पाठक संसारभर छन् । संसारभरिका पाठकले केही सीमित विज्ञहरूको विज्ञतालाई मूल्याङ्कन गरिरहेका छन् ।

साहित्य न त प्रगतिशील हुन्छ, न त यो कुनै खोज हो । कुनै पुराना साहित्यका आधारमा नयाँ सिर्जना हुने हुँदैन । जति अढाई हजार वर्ष पहिले होमर महत्त्वका थिए, अहिले पनि उनी उत्तिकै महत्त्वका छन् । उनका सिर्जना अहिले पनि पुराना भएका छैनन् । उनलाई आधार मानेर नयाँ खोजका लागि कुनै नयाँ साहित्यकार निस्किएका छैनन् । यस्तोमा कोभन्दा को कम, को बेसी, को उत्कृष्ट र को कम उत्कृष्ट भन्ने छनोट गर्नु लगभग असम्भव छ । आफूलाई मनपर्ने लेखक छनोट गर्न लगायो भने हरेकको आफ्नो किसिमको रुचिअनुसार छनोट गर्छ । उनीहरुको मनपर्ने किताब बेग्लाबेग्लै हुन्छ ।

असल आलोचनाले मानिसलाई उनीहरुको बक् हासिल गर्ने पुस्तक फेला पार्न सघाउँछ । फलानो पुस्तक चाहिँ साँच्चिकै गज्जब भनेर दिइएको पुरस्कारले कुनै एउटालाई ‘आफू फेला पार्न’ सघाउला, अर्कोलाई नसघाउन सक्छ । नोबेलले उनका सिर्जनाले संसारलाई यो दियो, त्यो दियो, उनका सिर्जनाले यसो ग-यो, उसो ग-यो भनेर जुन पुरस्कार दिइन्छ, त्यसले साँच्चिकै दिएको होला त भन्नेमा प्रश्न गर्ने ठाउँ प्रशस्त हुन्छ, रहन्छ ।

[bs-quote quote=”जब साहित्यकारलाई जुन ‘तोप’ ताकेर हानिरहनु भएको हुन्छ, त्यो तोप साहित्यमा सधैँ गलत ‘मेटाफर’का रुपमा उभिने सम्भावना हुन्छ किनभने निर्णयका अनेकन् सीमा र बाटा हुन्छन् ।” style=”default” align=”left” color=”” author_name=”” author_job=”” author_avatar=”” author_link=””][/bs-quote]

निर्णयका अनेकन् पाटा हुन्छन् । र, जब कुनै व्यक्तिलाई तपाईंले संसारकै असल व्यक्ति भनेर पुरस्कार जसरी दिन सक्नुहुन्न, त्यसरी नै एउटा मानव भएका कारण त्यसको सिर्जनालाई पनि संसारकै सर्वोत्कृष्ट सर्जक भनेर पुरस्कृत गर्न अप्ठेरो हुनुपर्ने हो । जब साहित्यकारलाई जुन ‘तोप’ ताकेर हानिरहनु भएको हुन्छ, त्यो तोप साहित्यमा सधैँ गलत ‘मेटाफर’का रुपमा उभिने सम्भावना हुन्छ किनभने निर्णयका अनेकन् सीमा र बाटा हुन्छन् ।

कुनै पुस्तकले ‘शास्त्रीय’ (क्लासिक)को लाहा छाप किन पाउँछ ? त्यसका लागि कमिटीले स्वीकृति दिँदैन न त कसैले पाठ्यक्रममा समावेश गरेका कारणले यो सम्मान पाउने हो । कुनै पुस्तक क्लासिक त्यो बेला हुन्छ, जब त्यसलाई पाठकहरुले लामो समयसम्म उत्तिकै प्रेम, स्नेह दर्शाइरहन्छन् । पुस्तौँपुस्ता त्यो पुस्तक पढेर हुर्कन्छ अनि मात्र त्यसलाई क्लासिक भनिन्छ । साहित्यको सम्मान स्वतन्त्र बजारमा फक्रन्छ, केन्द्रीय योजना आयोगबाट होइन । त्यसैले म स्विडिस एकेडेमीलाई साहित्यको पोलिटब्युरो भन्ने गर्छु ।

अन्ततः सन् २०१९ मा नोबेल पुरस्कार दिइयो, त्यसपछि २०२० मा पनि । तर २०१८ मा रद्द गरिएको नोबेल पुरस्कारले धेरै मानिसमा रहेको नोबेल साहित्यको स्थायी रद्दको चाहनालाई मलजल गरेको थियो । के पाठकलाई साँच्चिकै नोबेल पुरस्कारको ठप्पा आवश्यक छ र भनी सोच्नेहरूलाई हौस्याएको समय थियो त्यो । जब जब नोबेल साहित्य पुरस्कारको याम आउँछ, त्यो बेला रद्द गरिएको २०१८ को पुरस्कार स्मरण दिलाउने गर्छ । यो एउटा शक्तिशाली बिम्ब हो । अठारौँ शताब्दीका आलोचक स्यामुअल जोन्सनले भनेका कुरा सबैजसो सम्मानको मार्ग हुनुपर्छ । उनले भनेका थिए, ‘साहित्यको स्वादबाट स्खलित नभएका साधारण पाठकहरूको आम सोच नै काव्यिक सम्मानको अन्तिम निर्णायक हुनुपर्छ ।’

(एडम किर्चको यो आलेख एटलान्टिक मासिक पत्रिकाबाट साभार गरिएको हो । उनको ‘द ग्लोबल नोवेलः राइटिङ द वल्र्ड इन द ट्वेन्टी फस्ट सेन्चुरी’ प्रकाशित छ ।)