नियुक्तिपत्र बोकेर गान्तोकबाट तिन्तेक, राक्दोङ, साम्दोङ हुँदै अप्पर तुमिनको सेकेन्डरी स्कुलमा पुगिन् वाणी । लामो, सलक्क परेर छोडिएको केशराशि, मिलेको जिउडाल, हल्का सुगारङ्गको साडी, साडीमा भरिएका बुट्टाको रङ्ग र टीका चुरासित मिलेको, हल्का हिलवाला चप्पल र हातमा झुन्ड्याइएको ब्याग । सडकदेखि आधाघण्टा जति लाग्ने विद्यालयको प्राङ्गणको गेटमा पुगेर वाणीले गार्डलाई सोधिन्, “यहाँ प्रिन्सिपलको अफिस कता छ ?”गार्डले आग्रह गऱ्यो, “हजुर कहाँबाट पाल्नुभएको, कति काम थियो ? अहिले प्रिन्सिपल त हुनुहुन्न, प्रभारीले काम चलाइरहनुभएको छ ।” प्रिन्सिपलको अफिसकोठा देखाइदियो ।
सबै कक्षा सञ्चालनमा थिए । दिवा भोजनको छुट्टी हुन पाँच-सात मिनट बाँकी थियो सायद । अफिसकोठा बन्द देखेर वाणी बाहिर प्रतीक्षा गरेर उभिइन् । टङ टङ टङ घण्टी लाग्यो, एक जना अधबैँसे अन्दाजी चालीस/बयालीस वर्षको गहुँगोरो झलक्क हेर्दा खाइलाग्दो मान्छे, आएर उनलाई सोधे, “भन्नुहोस् मेम, कसलाई खोज्नुभएको ?”
“प्रिन्सिपल प्रभारी महोदयसित भेट्ने काम थियो, उहाँलाई भेट्न पाइन्छ कि भनेर पर्खेर बसेकी,”वाणीले आफ्नो उद्देश्य बताइन् ।
“ए ! आउनुहोस् न भित्रै ,” भन्दै अफिसको ढोका खोले, वाणी पछि-पछि अफिसमा पसिन् , “म गौरव प्रधान यस विद्यालयको प्रभारी, भन्नुहोस् म केही सहायता गर्न सक्छु कि !”
वाणीलाई पनि चौकीमा बस्ने आग्रह गर्दै आफ्नो चौकीमा आसन जमाए । वाणीले आफ्नो ब्यागबाट नियुक्तिपत्र निकालेर गौरवका हातमा थमाइदिँदै भनिन्, “हजुर नमस्कार ! म वाणी शर्मा ।”
पाठशाला प्रभारी गौरवले पत्र खोलेर हेरे, “माफ गर्नुहोला, चिन्न सकिनँ, यो हो हजुरको स्थान, आजबाटै चार्ज लिइदिनुभए म क्लास गर्न पाउने थिएँ ।”
“ठिक छ सर ! म त आज ज्वाइन गर्न मात्रै आएकी हुँ । मलाई सबै तारतम्य मिलाएर आउन एक हप्ता जस्तो लाग्छ । म अर्को सोमबारदेखि मात्र आउनेछु त्यति समयसम्म तपाईँले हेर्दै गर्नुहोला ।” यति भनिराखेर वाणीले अगावै तयार पारेर ल्याएको छुट्टीको निवेदन गौरवअघि राखिन् ।
वाणीले दिएको छुट्टीको निवेदन टेबलमा राखे । नियुक्तिपत्रमा सही गरेर, स्ट्याम्प ठोकेर एकप्रति उनैलाई जिम्मा दिए ।
“मेम, टाढाबाट आउनुभएको, थाक्नुभएको होला, यतातिर त राम्रो होटल- रेस्टुरेन्ट पनि छैन, मेरो घरनजिकै छ, हजुरलाई असुबिस्ता हुँदैन भने एक कप चिया पिएर जाऊँ होइन ? यसै पनि लन्चब्रेक भएको छ ।”
“गौरव सर, चियाभन्दा पनि आउँदो आइतबार मैले मेरो कुम्लो-कुटुरो ल्याएर कहाँ बिसाउने ? यहाँको नजरमा नजिक कतै कुनै कोठा पाउन सकिन्छ कि ? फिलहाल पिजी भए पनि कुनै असुविधा हुने छैन ।” वाणीले आफ्नो समस्या गौरव सरलाई राखिन् ।
“लन्चपछि सबै स्टाफलाई दश मिनटका निम्ति सभाकक्षभित्र जमा हुनुपर्छ भनेर खबर गर है ।” पिउनलाई अह्राइराखेर वाणीसँग गफ गर्दै गौरव घरतिर लागे ।
“यहाँ हाम्री नयाँ प्राचार्य हुनुहुन्छ, आजदेखि ज्वाइन गर्नुहुँदै छ ।” गौरवले आफ्नी श्रीमती लतासित वाणीको परिचय गराए । लताले घरमा बनेको जेजस्तो थियो अफ्ठ्यारो नमानी गौरव र वाणीलाई खुवाइन् । चियाको कप टेबलमा राख्दै गौरवले सोधे ,”कस्तो पिजी मेडम, भेज-ननभेज ?”
“हुन त म ननभेज हो सर तर पाहुनाको रोजीछाडी हुँदैन, सफा होस्, होहल्ला नभएको अनि बस्न सुरक्षित होस् ।” वाणीको प्रत्युत्तर थियो ।
गौरवले वाणीको फोन नम्बर आफ्नो फोनमा सेभ गरे, वाणीले ‘गौरव सर’ भनेर सेभ गरिन् ।”कोठाको व्यवस्था भएपछि हजुरलाई खबर गर्नेछु । यदि समयमा भनेजस्तो कोठा उपलब्ध हुन नसकेका खण्डमा घर छँदै छ नि मेम, कुनै असुविधा हुनेछैन !”गौरवले आफ्नो उदार हृदय देखाए ।
“होइन सर, तपाईँहरूलाई दुःख हुन्छ, म बसेपछि तपाईँहरूलाई घरको स्वतन्त्रतामा फरकपर्छ नि !”वाणीले आफ्नो मनमा लागेका कुरा गौरवलाई राखिन्, गौरव बोलेनन् ।
“स्वादिष्ट लन्चको लागि गुरुमालाई धन्यवाद ।” भनेर गौरव र प्रिन्सिपल मेडम स्कुल पुग्दा सबै शिक्षक शिक्षिकाहरू सभाकक्षमा जम्मा भइसकेका थिए । परिचयको आदान प्रदान, स्कुलका समस्या र विद्यार्थीहरूमाथि आइपर्ने कठिनाइहरू विषय छोटकरीमा चर्चापरिचर्चा भयो, गुरुबा-गुरुमाहरूले आफ्ना मन्तव्य राखे, प्रिन्सिपल मेमले पनि आफ्ना कुरा साझा गरिराखेर अर्को हप्तादेखि आफू उपस्थित रहने जानकारी गराइराखेर गान्तोक लागिन् ।
नभन्दै विद्यालयबाट नजिकै सुब्बा सरदारको सुविधायुक्त घर पाएको खबर गौरवले वाणीलाई फोनमार्फत दिए ।” घर मालिकका केही सर्त र भनाइहरू भए सरले मिलाइदिनुभए हुन्छ, म आगामी आइतबार आएर व्यवस्था गर्नेछु, फेरि भनेजस्तो घर नपाउला उम्काउन चाहन्नँ ।” वीणाले भनिन् ।
“होइन मेडम त्यस्तो कुनै सर्त छैन, अलिक रङ्गपचेराको काम छ, भोलि नै तीन-चारजना रङ्वालाहरूलाई बोलाएर ठिक गरिदिन्छु । घरमा पनि सरदार बा, सरदार्नी आमा र वृद्ध हजुरआमा मात्र छन्, एक जना सानी केटी काम गर्नलाई राखेका छन् ,दुई जना नानीहरू दिल्लीमा पढ्दैछन्, कुनै असुविधा छैन । सरदार्नी आमाले खानाको पनि व्यवस्था नमिलुन्जेल प्रिन्सिपल मेडमले हामीसितै खानुभए हुन्छ भन्नुहुँदै थियो ।” गौरवले एकै वाक्यमा प्रिन्सिपल मेडमलाई जानकारी गराए ।
“होइन गौरव सर ! म अरूको बोझ बन्न चाहन्छ, भरिसक्के पिजी ! यदि पाएन भने पनि आफैं पकाएर खाने व्यवस्था गर्नेछु, उहाँहरूको त भन्ने कर्तव्य हो, ठीकै छ, घर पाएकै छ, राखिदिनु होला ।” भनेर वाणीले फोन राखिन् ।
आइतबारको दिन बिहानै वाणीले गौरव सरलाई फोन गरेर आउँदै छु भनेर जानकारी गराइसकेकी थिइन्, नभन्दै करिब एक बजेतिर दुई जना साथी लिएर गौरवका घरमा आइपुगिन् वाणी ।
गौरवले प्रिन्सिपल मेडमको कुरालाई बुझेर अर्कै घरमा व्यवस्था मिलाइसकेका रहेछन्, वीणाले बुझेर पनि कुनै प्रतिक्रिया दिइनन् । मैनालीबाको भुईँतले घर । जम्मा छः ओटा कोठा । भान्साघर कालो धुवैँधुवाँले भरिएको, सायद रङ्ले दसैँ पर्खिएको जस्तो । आँगनको डिलबाट हिँड्ने बाटो, आँगन दुवैदुवोले ढाकेको । चटक्क फूलबारी, यसो हेर्दा व्यवस्थित तर स्याहार नपुगेर बिस्याहार ।
घरमा चारकोरी नाघेकी वृद्ध आमा, साथमा एउटी अधबैँसे आदिवासी महिला र उनकी छोरी सोना । सोना त्यही स्कुलकी नवौँ कक्षाकी विद्यार्थी । आदिवासी महिलालाई सबै छरछिमेकीहरूले भाभी भाभी भनेर बोलाउने हुँदा सबैकी भाभी भएकी हुन् । हुन ता उनका श्रीमान् कहाँ छन्, छैनन् जान्ने जिज्ञासा कसैले गरेका पनि छैनन् । घरको रेखदेख, राखनधरन देख्दा लाग्थ्यो त्यो घरकी अभिन्न सदस्य । गौरव सरले त्यही घरको दुई कोठा महिनाको बाह्र सय गरेर मिलाएका रहेछन् ।
भान्साकोठा एउटा रूममा बनाउँदा पनि हुने रहेछ । पाइखाना भने साझा गर्नुपर्ने । प्रिन्सिपल मेडम आउने भनेर कोठाहरू पुछपाछ गरेर भाभीले चिटिक्क पारेर राखेकी रहिछन् । वाणीका सामानहरू गाडीबाट कोठामा पु-याइराखेर शुक्रबार आउनुभन्ने आदेश पाएपछि चालक सँगै आएका दुई जना साथीहरूलाई लिएर बाटो लागे । भाभीले चटक्क अदुवा हालेर बनाएको कडक चिया वाणी र गौरवलाई चढाइन् ।
गौरवले पिजीमा मिलाएको रहेछ । वीणालाई जानकारी गराए । व्यवस्था ठिकसित नमिलुन्जेल खाना गौरवका घरमा खाने आग्रह गरेर घरतर्फ लागे । मैनाली आमासँग केही भलाकुसारी गरिराखेर वाणी कोठामा पसिन् । आफैंले ल्याएकी इलेक्ट्रिक कितलीमा पानी उमालेर पिइन् र नौलो ओछ्यानमा आराम गर्न ढल्किइन् । नयाँ ठाउँ, नयाँ वातावरण । गाउँबस्तीको स्वच्छ हावापानी, गाडीको कुनै हो-हल्ला छैन ।
वाणी शहरिया केटी । शहरमै जन्मिएर हुर्कीएकी, पढेकी र बढेकी हुन् । मास्टर सकेपछि नेट, टेट र बीएड सकिनासाथ वाणीको भाग्य राम्रो, गान्तोकस्थित देवराली सिनियर सेकेन्डरी स्कुलमा काम गर्न थालेकी थिइन्, करीब दुईसाल देवराली स्कुलमा काम गरेपछि शिक्षा विभागले पाचओटा सेकेन्डरी स्कुलमा प्रिन्सिपलको भेकेन्सी निकालेर इन्टरभिउ कल गरेको थियो । उक्त इन्टरभिउमा पास गरेर तुमिन स्कुलकी प्राचार्य सेवानिवृत्त भएपछि रिक्त भएको पदमा वाणी प्रिन्सिपल भएर आएकी थिइन् ।
गाउँ-बस्तीतिर बेलुका चाँडै खाना खाने चलन हुन्छ, उक्त कुरामा वाणी अनभिज्ञ थिइनन्, छः बजीतिर गौरव सरको घरमा खाना खान असजिलो मान्दै गइन् । गौरवकी श्रीमती लताले बढो आदरकासाथ खाना खान बोलाइन् । गाउँ-बस्तीको खाना यस्तै हुन्छ गुरुआमा! के कस्तो भयो, अप्ठ्यारो नमानी लिनुहोला भन्दै खाना लगाइन् । गौरव र वाणीले लताका हातको खाना बढो स्वाद र प्रसन्न मानेर खाए । वाणीले खानाको तारीफ गर्दै भनिन्, “यस्तो स्वादिष्ठ भोजन खान हजुरहरूलाई कहाँबाट दु:ख दिन आइपुगें, आफैं पकाएर खाने व्यवस्था मिलाउनुपर्छ होला, नत्र भने कुनै कुनै विद्यार्थीलाई राखेर पकाउन लगाउनुपर्छ, उसलाई पनि सजिलो हुने अनि मलाई पनि साथी ।” वाणीले आफ्नो विचार पोखिन् ।
“होइन गुरुमा के भन्नु भएको ! हामीसितै दुःख-सुख खानुहुँदा कुनै असुविधा हुन्छ र ! घरमा जस्तो पाक्छ त्यही त खाने हो, हजुरलाई कुनै स्पेशल बनाउने कुरा आएन, त्यसमा अप्ठ्यारो मान्ने कुनै प्रश्नवाचक चिह्न देखिन्छ र ? “गौरवकी श्रीमती शिक्षित छन्, उनले आफ्नो उदारता, मित्रता, सभ्यता, आफ्नोपन र आतिथ्यता दर्शाइन्, वाणी बोल्न सकिनन् ।
“शुद्ध हावा-पानी, स्वच्छ परिवेश, कोलाहलरहित समाज, चारैतिर हरियाली, जैविक सागसब्जी, हेर्दै बसिरहनु जस्तो वातावरण, आँखामा हाल्दा पनि नबिझाउने छरछिमेकी, सीताजस्ती हाम्रा गौरव सरकी गुरुमाका सुकोमल हातको स्वादिष्ठ भोजन खान पाउनु भाग्यमा लिएर आएको हुनुपर्छ ।” वाणी मेडमले लामै भूमिका बाँधिन्, गौरव मुसुमुसु हाँसे मात्र तर कुनै प्रतिक्रिया देखाएनन् ।
“गुरुमा ! हामीलाई अप्ठ्यारोमा नपार्नुहोस् न, घरमा जे जस्तो छ त्यही त पाक्छ, हजुरलाई हामीले कुनै फाल्तै आतिथ्यता दर्शाउनु पर्ने छैन ।” लताको त्यसै पनि कम बोल्ने आदत छ, थोरैमा धेरै कुरा बुझिन् वाणीले ।
विद्यालयको कार्यभार जिम्मा लिइन् वाणीले । एक प्रकारले मनमा उत्सुकता थियो, कतै कतै मनमा डरडर पनि ।
विद्यालयका विद्यार्थी, स्टाफ, अभिभावक तथा व्यवस्था विषयमा प्रायः गौरवले बताइसकेका थिए, वाणीलाई कुनै असुविधा भएन । फेरि गान्तोकको प्रतिष्ठित स्कुलमा पनि शिक्षिकाको काम गरिसकेकी शिक्षित र अनुभवी वाणी परिपक्व थिइन् ।
पाठशालामा आफू नयाँ र प्रथम दिन पनि भएकोले एसएम्लीपछि शिक्षक- शिक्षिका, अफिस स्टाफहरूसित छुट्टै भेटघाट गरेर प्रिन्सिपल मेडमले स्कुलको दैनन्दिनी, विद्यार्थीहरूको अनुशासन, पठनपाठन बाहेक पनि गर्नुपर्ने आफ्ना कार्यक्रम लगायत स्कुलका अन्य स्टाफहरूको कार्यकुशलताप्रति सविस्तार बताइन् । उनीसित सबै प्रभावित भए ।
साँझ-बिहान घरमा वृद्ध आमासँग दु:ख-सुखका बातचित हुन थाल्यो, वाणीको सद्व्यवहारले मैनाली आमा खूबै प्रभावित भइन् । छोटो समयमा यस्तो घनिष्ठ देखेर भाभी, सोना, लगायत छरछिमेकीहरू पनि छक्क परेका थिए । गौरव सरको घरमा खाना खान नगएर यतै खाने धेरै पटक आमाले आग्रह गरिन्, भाभीले पनि रातसाँझ हुन्छ, आउन-जान समस्या हुन्छ चिया, नास्ता र खाना यतै खाने प्रस्ताव राखिन् तर पनि वाणीलाई असजिलो लागेर भनिन्, “हेर्नुहोस् आमा ! आएदेखि नै उहाँहरूलाई दु:ख दिंदै आइरहेको छु, बीचमा चट्ट छोडेर यता खाँदा पनि मलाई मेरो स्वाभिमानले मानेको छैन,”भनेर आफूलाई लागेको सत्य कुरा राखिदिइन् ।
शुक्रबार घर गएकी वाणी सोमवार बिहान विद्यालय पुग्दा प्रार्थना सभा चल्दै थियो । प्रार्थना सकिएपछि वाणीले आफ्नो छोटो वक्तव्य राखिन् । वक्तव्य सकिएपछि आठौं श्रेणीकी विद्यार्थीेले हात उठाउँदै भनिन्, “माफी चाहन्छु ! एक मिनट मेम, आज मेरो वर्थडे हो, सबै साथीहरूलाई एक-एकओटा केवल मिठाई बाँड्ने अनुमति चाहन्छु ।” तत्काल प्रिन्सिपल मेमले आदेश दिइन्, “यो त विद्यालयको नियम विरुद्ध हुनेछ, आज एक जनालाई अनुमति दिएपछि फेरि फेरि अरूलाई पनि दिन पर्दछ, ल ठिक छ, आजलाई चाहिँ विशेष ठानेर म अनुमति दिँदै छु तर भविष्यमा स्कुल समयमा यस प्रकारको कार्यक्रमको अनुमति दिइने छैन, यही नै स्कुलको आदेश पनि हो ।” विद्यार्थीहरूले मिलेर गुरुबा,गुरुमा, स्कुलस्टाफ लगायत सबै विद्यार्थीहरूलाई मिठाई बाँड्ने काम गरे ।
विद्यार्थी नानीहरू न हुन्, मिठाई खाएर जताततै कागजहरू फ्याकेको देखेर वाणीले सूचनाबोर्डमा एउटा सूचना टाइप गरेर अफिस एसिस्टेनलाई टाँस्न लगाइन् –
जरूरी सूचना
—————–
“पाठशाला शिक्षाको मन्दिर हो, अफिसस्टाफ, टिचर्स लगायत विद्यार्थीहरूले आफ्नो जन्मोत्सवका दिन मिठाई नबाँडेर स्कुल परिसरको खाली ठाउँमा आफ्नो नाम अथवा आफूले सम्मान गरिएका व्यक्तिका नाममा फलफूल वा कुनै वृक्षारोपन कार्य गर्नुपर्ने छ, उपहार स्वरूप आफूले चाहेको व्यक्तिलाई एउटा फूलको गुच्छा दिन सक्नेछन् । पाठशाला परिसर होस् या वरपर कसैले मैला गरिएको थाहा पाइए सफा उसैले गर्न पर्नेछ अनि सजाय पनि दिइने छ ।”
प्राचार्य
कैजरबहादुर सेकेन्डरी स्कुल
तुमिन, पूर्व सिक्किम
सूचनापटमा टाँसिएको सूचनाले विद्यार्थीहरूदेखि अभिभावकहरूमा समेत प्रभावित गऱ्यो । सबैले प्राचार्य वाणीको प्रथम कार्यलाई मुग्धकण्ठले प्रशंसा गरे, अब भने हामीले योग्य स्कुल सञ्चालिका अथवा प्राचार्य पायौं ।
दिनहरू बित्दै गए । वाणी सधैँ समयमा साडीले सुसज्जित भएर विद्यालय जाने गर्थिन् । महिला प्राचार्य भनेर शिक्षक, विद्यार्थी तथा अभिभावकहरूले जति हलुका सोचेका थिए तर ठिक विपरीत पाए । उनको काम र अनुशासनले उत्तिकै सबैको मन जितेकी थिइन् । तैनमा राखेकी थिइन् ।
आफूले पनि अभिभावक मानेकी मैनाली आमासँग झ्यामिएकी वाणीले भाभीलाई पनि अराइकराई गरेर घरका प्रत्येक काममा खटाउँथिन् । कहिले भान्साकोठा पोतेर उज्यालो बनाउँन लाउँथिन् भने घर-आँगनको सरसफाई सकेर खानाखाइवरि सोना स्कुल जाने दैनिक रूटिन थियो ! शनै: शनै: मैनाली आमाकी छोरीसरह भइसकेकी थिइन् वाणी । साँझ बिहान सोनालाई पढ्न सिकाउँथिन् । सोना पनि वाणीसँग झ्याम्मिएर गुरुमा भन्दा पनि आफ्नै दिदीजस्तो भएर पढेको देख्दा भाभीमात्र होइन आमालाई पनि खुशी लाग्दथ्यो । वाणी समय पाउँदा प्रायः नै आमासँगै समय बिताउँथिन्, स्कुलका कामहरू घरमा ल्याएर भए पनि सकेर लान्थिन्,अनि उभ्रेको समय कोठामा पसेर लेखिरहन्थिन् । आमालाई एक्लोपनको महशुश हुन छोडेको थियो । जति बेला पनि आमासँग बसेर गफ गर्थिन्, वाणीका हातमा सानो नोट बुक र कलम हुन्थ्यो ।
एक दिन कुरैकुरामा वाणीले सोधिन्, “आमा हजुरका छोराछोरी कति जना छन्, के के गर्छन् ? “आमाले असजिलो मान्दै जवाफ दिइन्, “जन्मिएका त नौ जना हुन् नानी तर ऐले हातमा चारजना मात्र छन् । छोरी-छोरा सबै जागिरे भए, कहिले काहीँ आउँछन्, सरसौदा ल्याइदिएर फर्किन्छन् ।”
“अनि आमा तपाईँलाई छोराहरूले उनीहरूको घर जाउँ भन्दैनन् ? किन उनीहरूसित नबसेर एक्लै बस्नु भएको त ?”वाणीले सोधिन् ।
“छोरा-बुहारी सबै जागिरे । बिहान खाना खाएर अफिस निस्कन्छन् अनि एकैचोटी बेलुका घर पस्छन् । वहाँ पनि उही एक्लो, यहाँ पनि त्यस्तै हो, कमसेकम यहाँ त छर छिमेकी छन्, गफ गर्ने साथीभाइ आउँछन् । गाईबाख्रा छन्, घाँसदिने निहुँले घुम्न-डुल्न पनि पाउँछु । बजारको घरमा सासै निस्सासिएर आउँछ, छरछिमेकीहरू पनि सबै आफ्नो आफ्नो इलिममा व्यस्त, कहाँ जाउँ र कसो गरूँ हुन्छ नि नानी ! कोठामा बस्दा बस्दा त सास बन्द हुन्छ छोरी ।” खुइय गर्दै आमाले आफ्ना मनमा बिझेका काँडा निकालिन्, आफैंलाई हल्का भएको अनुभव गरिन् । वाणी आमाका प्रत्येक भनाइलाई मनमा र नोटप्याडमा टिप्ने गर्दथिइन् । मैनाली आमाका मुखारविन्दबाट निस्किएका परिपक्व अनुभवले वाणीलाई खूबै प्रभावित पारेको छ, यतिसम्म कि आमा नै सिङ्गो ग्रन्थ हुन् ।
वाणीको रहन-सहन, बोलीचाली, पहिरन,विनम्रता, हिँडाइ-डुलाइ, व्यवहार, चालचलन,उदारता लगायत सुन्दरता देखेर मन्त्रमुग्ध नहुने विरलै थिए होलान् । शिक्षकहरू त झन् वाणीका समीपमा पुग्ने निहुँ बनाउँथे, चाहे उनी विवाहित हुन् कि अविवाहित हुन् कसैलाई सोध्ने आँट भने कुन चराको नाउँ हो । वाणी यावत् कुराहरू नजाने पाराले खूब याद गर्थिन् तर उनले कहिल्यै पनि आफ्नो ठाउँ, मानमर्यादा तथा आफू एउटी नारी हुँ भन्ठानेर आफ्नो ठाउँबाट एक इञ्च हल्लिनन् । तर पुरुष आखिर पुरुष नै हुन्छन् चाहे उनी विवाहित हुन् या अविवाहित, सुन्दर स्त्री देखेपछि कोही हच्किन्छन् त कोही लच्किन्छन् सायद प्रकृति या प्रवृत्ति नै हुनसक्छ ।
आफ्नै बाबाले पनि आफू सानै छँदा आमाकै अघाडि कान्छी विवाह गरेर आमालाई सौता हालिदिएको र आफ्नी आमालाई गरेको हेलाँ अझै पनि भुल्न सकेकी छैनन् । बाबाबाट पाएको अनेकौं यातना र पीडाको कारण आमा मानसिक रोगको शिकार बनेकी थिइन्, यतिसम्म कि आमालाई सानैमा गुमाउनु परेको थियो । यी दु:खदायी घटनाले वाणी छटपटी रहन्थिन् र कल्पना गर्दथिन्, पुरुषहरू प्रायः यस्तै पो हुन्छन् कि ?
प्रिन्सिपल भएर वाणी यस विद्यालयमा आएको छः महिना नपुग्दै स्कुलले रूप-रङ्ग फेऱ्यो । अफिसदेखि सबै कक्षा र बिल्डिङ नै रङ्गपचेरा भयो, प्रत्येक क्लासरूम,स्टाफरूम लगायत अफिसमा पर्दा झुण्डिए । कतिपय ठाउँ र भित्ताहरूमा महान् पुरुष, महान् लेखकका तस्विर र विद्यार्थीहरूका हस्तकलाले सजिए । महिनाको अन्तिम शनिवार विद्यालयमा विद्यार्थीहरूबीच विभिन्न विषयमा अन्तरक्रिया हुन्थ्यो, फुटबल, हक्की,ब्याडमिन्टन, बास्केटबल, क्रिकेटजस्ता खेलहरूले प्राथमिकता पाएका थिए । विद्यालयहरूमा लगाइएका फूल-बिरूवाहरूको हेरचाह गर्ने छुट्टै मालीको आवश्यकता देखाएर सरकारबाट नयाँ पोस्ट निकालेकी थिइन् । विद्यार्थीलाई आ-आफ्ना मातृभाषा लगायत अङ्ग्रेजीमा लेख-रचना कथा र कविता लेखेर ल्याउने र स्कुलको वार्षिक पत्रिका निकाल्ने चाँजो मिलाउने जिम्मा गौरव सरले पाए । निबन्धलाई प्राथमिकता दिइएको थियो । विभिन्न प्रकारका वाद्ययन्त्र किन्नका निम्ति प्रोजेक्ट बनाउन सरिता गुरुमालाई दिएर विभागबाट छुट्टै बजेट ल्याइएको थियो ।
आफ्नो गाउँको स्कुललाई कुनै नामी बजारको प्राइवेटस्कुलभन्दा पनि राम्रो बनाएको देखेर सबै गाउँले अभिभावक पनि अघि आएर गच्छे अनुसार यथाशक्ति स्कुललाई छुट्टै बजेट बनाउने प्रस्तावलाई प्रिन्सिपल वाणीले मुग्धकण्ठले स्वागत गरिन् । यतिसम्म कि सुब्बा सरदार र बिजुलीवाला मिलेर अतिरिक्त भवन बनाइदिने र चौथा तलामा चाहिँ राम्रो अत्याधुनिक सभाकक्ष लगायत नाटक हल पनि बनाउने योजना थालियो । पुस्तकालयका निम्ति पनि चारओटा रूम छुट्याउने प्रस्ताव पासाङ्कित मेमले राखिन् । वाणी उक्त पाठशालामा आएपछि आएको परिवर्तन देखेर सबैजना अवाक थिए । स्कुलको नाम सुवास चारैतिर चल्यो । बोर्ड परीक्षामा सतप्रतिशत मात्र होइन राज्यका नीजी पाठशालाहरूलाई लङ्कै छोडेको देखेर पञ्चायत,विधायक लगायत शिक्षामन्त्री आएर, यसपटकको वार्षिक उत्सव राज्यस्तरीय रूपमा तीनदिन मनाउने र समापनका दिन मुख्यमन्त्री महोदयलाई निम्त्याउने कार्यक्रम तय गर्नुहोस् भने । घरगाउँले लगायत स्कुलका सबै गुरुमा-गुरुबाहरूले आफ्नो -आफ्नो जिम्मेवारी निभाउने भए ।
यता मैनाली आमाले वाणी गुरुमालाई छोरीको ठाउँमा पाएर छोरा-छोरीको तृष्णा मेटाइरहेकी थिइन् । आफूमा लागेका प्रत्येक दु:ख,दर्द वाणीलाई पोख्थिन् । आफू विवाह गरेर यो घरमा भित्रिंदा बाह्र वर्षकी मात्रै थिएँ ,जबकि उहाँ मेरा श्रीमान् पचास वर्षका थिए, पहिलापटिका छोरा-छोरी नै म जत्रा थिए । म झ्याईँ झ्याईँ बाजा बजाएरै भित्रिने तेस्रो कान्छी श्रीमती थिएँ । ज्योतिषी बा प्रायः ज्योतिषी काम गर्न, चिना बनाउन, आर्जे हेर्न बाहिर गइबस्ने, बेलुका फर्किएपछि कुनै कारणबिना नै अग्निशर्मा भएर कसको रीस छोराछोरी र ममाथि उतार्दथे, गाई-बाख्राका निहुँमा हामीले कुटाइ नखाएको दिन विरलै हुन्थ्यो, छरछिमेकी पनि छक्क पर्थे र कुरा गर्दथे, “होइन हौ! जाँड धोकेर आएपछि पो यस्तो कोहोलो हुन्छ भन्छन् तर ज्योतिषी बा चाहिँ के भएका होलान्, खुट्टा घाटमा पुगिसकेका छन्, बिहे गर्न छोड्दैनन् । आखिर भाग्यमा भए पो श्रीमतीहरू हातमा रहन्छन् त, ज्योतिषी बाको भाग्य नै पत्नी पीर्ने छ कि क्या हो ? “छरछिमेक, जोरीपारीको मुख कसले थुन्न सक्छ र ।”
मैनालीआमाका यस्ता असह्य र पीडाजन्य कुराहरू सुनेर वाणी गुरुमा आँखाभरि आँसु पारेर यावत् सत्यतथ्य डायरीका पानामा नोट गर्थिन् । गफका शिलशिलामा एक दिन मैनाली आमाले भनिन्, – “बालकै थिएँ, कैयौं रात रोएर बिताएँ । आमाको धेरै सम्झना आउँथ्यो, कहिले भागेर आमालाई भन्न माइत पुग्थें तर फेरि लिन टुप्लुक्क पुग्थे र हरेक पटक मेरा आमा-बाबासित भारतीय स्वतन्त्रता सङ्ग्राममा आफू पनि खटेको कुरा गरेर वाक्कै पारेर फर्किन्थे । जमाना अहिलेको जस्तो थिएन, पुरानो परम्परा छोरीहरूको जात अर्काको भित्ता टाल्ने जात भन्थे, आमासित बस्न कहाँ भाग्यमा लेखेको हुन्छ र ? पहिलापटिका छोरा-छोरीले पनि बढो दु:खले पढेर नोकरी पाए, अहिले आफ्नै घरजम गरेर बसेका छन् ।” आमाका कुराले वाणीको हृदय छियाछिया हुन्थ्यो ।
वाणी गुरुमाले गौरव सरको घरमा अब खाना खान नजाने र मैनाली आमासितै खाने अठोट गरेर घरमै गएर गौरव सर र गौरवसरकी श्रीमतीलाई यावत कुरा जनाएपछि उनीहरूले कुनै आग्रह गरेनन् पनि । आमाको ममता पाएर भाभीले पकाएको खाना खान थालिन् । समय पाएको बेला चूह्लामा पसेर खाना बनाउन पनि थालिन् । वाणी गुरुमाको शीलस्वभाव र बोलिचालीले सबै मख्ख थिए । आफूले पकाएको खानालाई आमाले अघाडि नै प्रशंसा गरिदिएर वाणीको मुख नै बन्द गरिदिइन् ।
छोरा-बुहारीहरू आउन भन्दा पनि आमाका निम्ति चाहिने सरसौदाहरू पठाउँनमा आनन्द मानेको अड्कल वाणीगुरुमाले समयमै लगाएकी थिइन् तर कसैलाई भन्ने कोशिश गरिनन् । आमाको ममतामा मन भाँचिने भय त थियो नै ।
एक दिन वाणीले साहस गरेर सोधिन् ,”आमा दशैंमा त सबै दाजु-भाउजु घरमा आउनु हुन्छ होइन र ? सबैजना भेला हुँदा बस्नलाई घर साँघुरो हुन्छ, म घर जाँदा मेरो रूमको चाबी पनि छोडेर जानेछु नि ! ”
“के आउँथे छोरी ! यो घरमा कोही आउँदैनन्, मलाई लिन पठाउँछन् । अनि दसैँ सकिएपछि लगत्तै म नै फर्केर आउँछु । आफूले दुःख गरेर बनाएको घर, बाबाको पसिना आलैछ, यो माटोको कणकणमा पसिना गह्नाउँछ, कसरी म छोड्न सक्छु र छोरी ! तिमी आफैं भन ।”
मैनाली आमाका वचनले वाणीलाई छोयो, भक्कानिएर बसिन्, केही बोल्न पनि सकिनन्, छेउको आङ्खोरा उठाएर घटघट पानी पिइन् र मुख पुच्दै भनिन्, “यो वर्षदेखि छोराहरूले लिन पठाए पनि हजुर कतै नजाने, आफू नगएपछि छोरा-बुहारी, छोरी-ज्वाईँ, नातानातिना लुरूक्क परेर आमालाई भेट्न मूलघरमा आउन करलाग्छ । यो घर त बाबाको निसानी हो । दाजु-भाइ, छोरी-बुहारीलाई आफ्नो पैतृक घरको महत्त्व बुझाउनु पर्छ । नाता-नातीनीलाई गाउँ ठाउँको परम्परा,संस्कृति, रीतिथिति, संस्कार बुझाउनपर्छ नत्र आफ्ना पितापुर्खाले बचाएर ल्याएको संस्कृति नै बिर्सने छन् । हजुर हुन्जेल त यो घरको रेखदेख, स्याहार-सुसार हुने हो, हजुरपछि खण्डहर हुनसक्छ, यसैले समयमा नै हजुरले सबैलाई सम्झाउनुपर्छ ? “वाणीका कुराले आमाका आँखा रसाए, मजेत्रोको टुप्पाले आँखा पुच्दै भनिन्, “हुन त ठीकै हो नानीले भनेका कुरा तर यत्रो घरको व्यवस्था कसले मिलाउने र ! ”
“हजुर चिन्ता न लिनुहोला, सबै व्यवस्था मिलाएर मात्र म घर जाने विचार गरेकी छु ,”वाणीका कुराले आमालाई हिम्मत आयो ।
भनिन्छ कृष्ण अष्टमीदेखि हिन्दू धर्मावलम्बी त्यसमा पनि नेपालीहरूका चाडपर्वले घेर्न थाल्छ । यसपालीको तीज वाणीले आमासँग मनाइन् । गाउँको रमझम ,आमासितको सौहार्दता र न्यानो पनमा मन्त्रमुग्ध भइन्, स्कुलबाट छुट्टि मिलाएर दिनभर भोकै व्रत बसिन् अनि बेलुका शिव- पार्वती, कार्तिकेय तथा गणेश भगवानको पूजा सकेर मात्र आमासितै फलाहार खाइन् । कहिल्यै व्रत नबसेकी वाणी दिनभरि भोको बसेर व्रत लिन सकिंदो रहेछ, स्वयं छक्क परिन् । आजकल छुट्टीहरूमा पनि घर जान भुलेकी वाणीले जन्मदिने आमा नसही कर्म दिने आमाबाट भरपूर माया, स्नेह पाएकी छन् ।
रङ्वाला मिस्त्रीहरूलाई बोलाएर घरको रङ्पचेरा गरिदिइन् । आँगनमा उम्रिएका झारपातहरू उखेलेर चिटिक्क पार्न लगाइन् । भाभी र सोनालाई पनि धेरै अह्राइरहनु पर्दैनथ्यो, बुझेर र देखेर सबै काम गरिरहेका हुन्थे ।
फूलपातीका दिन आमालाई लिन आएको जेठो छोराको गाडी रित्तै राजधानी फर्कियो । यसपाली तिमीहरू सबै मूल घरमा आउनू म आउँदिन भनेर आमाले खबर पठाइन् ।
आमाका कुराले ठूलो छोराको घरमा छोरा-बुहारीबीच भनाभैरी पनि भएको खबर संन्यासी माहिलाले फोन गरेर वाणीलाई सुनाइदिएछ । यो कुराले मन दुखाउनुहुन्छ भनेर वाणीले आमालाई सुनाइनन् बरू नौरथाको नवमीका दिन सबै तारतम्य मिलाइदिएर वाणी घर लागिन् ।
दसैँको टीकाका दिन बिहानै छोरा-बुहारी र नाता-नातिनीहरू सरसौदा बोकेर आमाको मूलघर आए । घरको रूपरङ्ग नै परिवर्तन देख्दा छोरा-बुहारी छक्क परे । चुलामा पसेर खाना बनाउनु पर्ने सोचले भारी दिमाग बोकेका बुहारीहरू दङ्दास परे । भाभीले सबैलाई चिया दिइन् र भनिन्, खाना त अब टीका सकेरमात्र त खाने होला, बहिनी-ज्वाईँ पनि आउनुहुन्छ होइन र ! भनिराखेर सीधै किचनतर्फ हानिइन् ।
धेरै वर्षको अन्तरालमा आफ्नो पुर्ख्याउली घरमा आएको रौनक र खुशीयाली देखेर आमाले छोरी वाणीलाई हृदयदेखि नै कृतज्ञता प्रकट गरिन् । सुनसान वातावरणमा उजाड हुन गइरहेको घरलाई स्वर्गमा परिणत गरिदिने छोरी वाणी सम्झेर मन मनै भगवानलाई धन्यवाद दिइन् ।
टीका सकेर छोराहरू फर्किने सुरसार गरेको देखेर आमाले भनिन्, “नानी हो मैले कति दिन यो घर र जग्गा-जमीनको चौकीदारी गरेर बस्ने ? अब नाता-नातिनीहरूलाई साँध-सिमाना, छरछिमेक पनि चिनाउँदै गर्नुपर्छ । बाबाका खून-पसिनाले सिँचेको माटोको मूल्याङ्कन होस्, बस मलाई भन्नु केही छैन् ।” आमाका गहबाट झरेका आँसु गालाको बाटो भएर ओराली झर्दै थिए । छोरा-बुहारी नतमस्तक भएर हेरिरहेका थिए, कलेज पढ्दै गरेकी नातिनीले आएर हजुर आमाकै मजेत्रो तानेर आँसु पुछिदिंदै भनिन्, “हजुरआमा तपाईँ चिन्ता नलिनु होला, अब हामी पनि नाबालक छैनौं, प्रत्येक चीजको हेरचाह गर्नेछौं, हजुरले हाम्रा निम्ति यस्तो दु:ख-कष्ट सहेर बस्नु भएको छ, अब हाम्रो जिम्मेवारपूर्ण समय आएको छ ।” हजुर आमाले नातिनीलाई च्याप्प समातेर अँगालो हालिन् ।
दिन बित्न समय लाग्दैन, तिहारले झ्याप्पै छोप्यो । वाणीले आमालाई एक्लो महशुश हुन नदिई घरको तारतम्य सबै मिलाइदिइन् । देउसे-भैलेहरूले आँगन गुञ्जायमान पारेर लक्ष्मी बोलाए । आमासित बसेर वाणीले यथासक्य लक्ष्मीपूजा गरिसकेर आउने ठूला-साना, देउसे-भैलेहरूलाई दानदक्षिणा गरेर खूब रमाइलो गरिन् ।
छोराहरूले वाणी गुरुमाको सम्पूर्ण व्यवहारका बारेमा आमाले भन्न भन्दा पहिला गान्तोकमै कान्छी फुपूका मुखारविन्दबाट यावत खबरहरू सुनिसकेर अत्यन्त प्रभावित भइसकेका थिए । भेट गर्ने सुअवसर तिहारभन्दा अरु कुनै राम्रो समय हुनसक्दैन भन्ने विश्वास थियो । आमाबाट उनको प्रशंसा सुनेर भाइटीकामा घरै आउँछौं,बरू मानिन् भने वाणी बहिनीलाई पनि भाइटीका लगाएर मात्र गान्तोक जाने कुरा आमाले गरिदिने भनेर छोराहरूले भनेको हुँदा आमाको आदेश वाणीले उलङ्घन गर्ने प्रश्नै आएन । वाणीले निश्चय गरिन् यता दाजुभाइहरूलाई भाइटीका लगाइदिएर मात्र गान्तोक जाने भइन् ।
गोवर्धन पूजा यानि हली तिहारका दिन करीब एघार बजीतिर आमाका तीन छोरा र दुई छोरी घर आइपुग्दा वाणीले अचम्म मानिन्, आमा र भावीले लख काटे यसको श्रेय वाणी गुरुमालाई नै दिनुपर्दछ नत्र भने यतिका वर्षसम्म यसरी छोराहरू समयमा आएको पटक्क थाहा थिएन । आमाले सबैसँग वाणी गुरुमाको परिचय गराइन् ।
बिहान उठेर वाणी गुरुमा गान्तोक जाने तरखर गरेको देखेर ठूलो दाज्यूले, “छिट्टै भाइटीका लगाएर वाणी बहिनी घर जाने आग्रह गरे “, वाणी गुरुमाले नाइनास्ती, हुँदैन भन्न सकिनन् ।
वाणी गुरुमा यस ठाउँमा आएर स्कुलकी प्रिन्सिपल गरेको पनि तीन वर्ष पूरा हुनै लागेको थियो । विद्यालयको वार्षिकोत्सव धुमधामले मनाउने निश्चय भयो । तर मुख्य अतिथिमा रूपमा कुनै राजनीतिक व्यक्तित्वलाई ननिम्त्याएर समाजसेवी, साहित्यिक व्यक्तित्व अथवा कुनै गन्यमान्य वीरपुरुष अथवा कोही रहेछ भने यही स्कुलको भूतपूर्व विद्यार्थी भए सुनमा सुगन्ध हुनेकुरा स्कुलबाट यही साल सेवानिवृत्त हुनगइरहेका रत्नकमल सरले प्रस्ताव राखे । वाणी गुरुमा लगायत सबै गुरुमा गुरुबाहरूले सही थपेर ताली बजाए । गौरव सरले उठेर आफ्नो मन्तव्य राखे, “हेर्नुहोस् सर ! यो स्कुलको स्थापनाकालदेखि सेवा पु-याउने वरिष्ठ व्यक्तित्व हजुर नै हुनुहुन्छ, हजुरले राख्नु्भएकाे कुरालाई हामी सबै सहमति दिन्छौं, सरले नै यस्तो व्यक्तित्व खोजी निकाल्नु पर्नेछ ।” रत्नकमल सर अन्यमनस्कमा परे, एकक्षण घोरिएर आफूलाई आज एक दिनको समय दिने आग्रह गरे ।
स्कुल स्थापनाकालदेखि विभिन्न माध्यमबाट स्कुल र स्कुल समितिलाई सहयोग गर्ने, स्कुललाई खेलमैदानको जमीन उपलब्ध गराउने स्वतन्त्रता सङ्ग्रामी स्व. रूद्रनारायण मैनालीकी चौरासी वर्ष पुगेकी वयोवृद्ध मैनाली आमा भनेर मानेएकी आमालाई मुख्य अतिथि राखिएको थियो । कार्यक्रमलाई रोचक र आकर्षक बनाउन विभिन्न प्रतियोगिता, सांस्कृतिक कार्यक्रम, खेलकूद, तर्क प्रतियोगिता लगायत गौरव सरले लेखेको नाटक -”तह नमिलेको समाज “खूबै मार्मिक र रोमाञ्चित भएको थियो । यसपछि स्कुलको वार्षिक प्रतिवेदन पेस गरियो । गौरव सरले कार्यक्रमको अघिल्लो र अन्तिम चरणको कार्यक्रमका बारेमा जानकारी दिए – “अब यहाँ विद्यार्थीहरूद्वारा विभिन्न स्थानीय र राष्ट्रिय भाषाहरूमा लेखिएका लेखहरूलाई समावेश गरेर प्रकाशित गरिएको स्कुलको वार्षिक पत्रिकाको विमोचन लगायत प्राचार्य महोदया सुश्री वाणी शर्माले लेख्नुभएको उपन्यास “अनुभव “मुख्य अतिथि मैनाली आमाका करकमलबाट विधिवत् विमोचन गरिनेछ, त्यसपछि प्राचार्य महोदयाले आफ्नो वक्तव्य पेश गर्नु हुनेछ । यसपछि उपस्थित सम्पूर्ण आदरणीय महोदय-महोदयाहरूलाई स्कुलको नयाँ भवनको माथिल्लो तलामा रहेको हलमा गएर केही चियाचमेना लिएर जाइदिनुहुने विनम्र अनुरोध गरिन्छ ।” गौरव सरले कार्यक्रमको सङ्क्षिप्त रूपरेखा प्रस्तुत गरेपछि सबैजना मुखामुख गरेर अवाक भए । कार्यक्रमलाई रोचक र आकर्षक बनाउने अभिप्रायले अन्तिममा मात्र गौरव सरले वाणी गुरुमाको पुस्तक विमोचन हुने जानकारी दिएका थिए ।
वाणी शर्माद्वारा लेखिएको उपन्यास “अनुभव “मैनालीआमाका करकमलबाट विधिवत् विमोचन भइसकेपछि विद्यार्थीहरूद्वारा उपस्थित महोदयहरूका हातहातमा पु-याइयो तर कसैले पनि उक्त कृति सित्यैंमा नथापेर मूल्य चुकाउन पछि सरेनन् । मूल्य नै नहेरी कसैले पाँच सय, कसैले एक हजार यति सम्म कि कसैले पाँच हजार पनि चढाएका छन् ।
पुस्तकको आवरणमा मैनाली आमा त्यस गाउँमा विवाह भएर आउँदा बाह्र वर्षकी बालिकालाई बेहुली बनाएर सजाइएको थियो, आवरणमा नै हाम्रो पुरानो परम्परावादी समाजको व्यङ्ग्यात्मक तस्विर थियो । धेरै शिक्षित,आधुनिक र साहित्यिक व्यक्तित्वहरूले स्पष्ट बुझे ।
प्रिन्सिपल वाणीले आफ्नो सम्बोधनमा स्कुलका गुरुमा,गुरुबा, अभिभावक, विद्यार्थीहरूले समाज, परम्परा, अनुशासन, चेतना र शिक्षा सम्बन्धित जिम्मेवारी लिएर काम गर्ने तर्कहरू राखिन् । शिक्षाले मात्र समाज अन्धकारबाट उज्यालोमा अघाडि बड्छ अनि अन्धविश्वास र रुढीवादी समाज हामीबीचबाट हमेसाका निम्ति निर्मूल भएर जान्छ भन्ने कुरालाई जोड दिँदै अझ भनिन्, “मैले यो उपन्यासमा यही कुरा नै दर्शाउन खोजेकी छु, हजुरहरूलाई मेरो कृति उपहार स्वरूप चढाउने मन बनाएकी थिएँ तर हजुरहरूका मुखारविन्दबाट कृति सित्यैंमा लगेको महत्त्व हुँदैन, किनेर पढ्नुपर्छ भन्ने सत्यले तथ्यले मलाई छोयो, अब यस कृतिबाट आएको मुनाफाबाट स्कुलका विद्यार्थी, शिक्षक तथा कुनै पनि अभिभावकका करकलबाट लेखिएका कृतिहरू स्कुलको नाममा प्रकाशित गरिने वचनबद्धता स्पष्ट पार्दछु ।” वाणी गुरुमाको सम्बोधनमा तालीको गडगडाहटले प्राङ्गण नै गुञ्जायमान भयो ।
वाणीगुरुमा र मैनालीआमा खादा, माला, बधाई र अभिनन्दनले पुरिए । जीवनमा नदेखिएको, नसोचेको भव्य कार्यक्रम र सम्मान देखेर मैनालीआमाका छोरा-छोरी,नाता-नातिना लगायत उपस्थित सम्पूर्ण उपस्थित महानुभावहरू आश्चर्यचकित भए ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।