

रम्बास कविताको परिकल्पनाकार हुन् मिलन बोहोरा । जसको जन्म मार्च १९५९ मा गाँमौथान, बिहाली, विश्वनाथ जिल्ला, असममा भएको थियो । असम नेपाली साहित्य सभासँग आबद्ध समेत रहेका मिलन बोहोरा भारत सरकारको “पूर्वोत्तर बाँस बेत उन्नयन परिषद्” मा औद्योगिक परामर्शदाता समेत हुन् । बोहोराको रम्बास कविता सङ्कलन “तानाबाना” (२०२१) प्रकाशित छ ।
प्रस्तुत छ, हाल विश्वनाथ, असममा बसोबास गरिरहेका मिलन बोहोरासँग साहित्यपोस्टका लागि दीपक सुवेदीले गरेको कुराकानीको सम्पादित अंश;

मिलन बोहोरा
तपाईँको लेखनको दृष्टिले पहिलो विधा र रचना कुन हो ?
साहित्यको संसारमा प्रवेश गर्न अरू धेरैको जसरी मैले पनि कवितादेखि नै सुरुवात गरेको हुँ । असममा नेपाली भाषामा पठनपाठनको सुविधा नभएकाले असमको स्थानीय भाषा असमिया र अङ्ग्रेजीमा मात्रै पढ्न पाइयो र कवितालेखन पनि असमिया भाषाबाटै सुरु भयो । पछि हिन्दी विषय पनि कोर्समा हुँदा नेपालीमा लेख्न प्रयास गरियो । यसरी नै कनीकुथी गरेर साहित्य सिर्जनाको जगत्मा यहाँसम्म आइपुगेको छु । मेरो पहिलो असमिया कविता कुन थियो सम्झना छैन । नेपालीमा पहिलो कविता “बुढो रूख” थियो ।
प्रकाशनका दृष्टिले चाहिँ पहिलो कुन रचना हो र कुन पत्रिकामा कहिले प्रकाशित भएको थियो ?
सन् तारिख याद छैन तर मेरो पहिलो कविता आजभन्दा तीस-पैँतीस वर्षअघि गुवाहाटीदेखि निस्कने स्व. अनुराग प्रधानद्वारा प्रकाशित “हाम्रो ध्वनि” पत्रिकामा छापिएको थियो ।
जीवनका भोगाइ, प्राप्ति र पीडाका बिम्बमिश्रित बाल्यावस्थालाई हेर्दा कस्तो देख्नुहुन्छ ? कहाँ र कसरी बित्यो बाल्यावस्था ?
जीवनको भोगाइले मान्छेलाई परिपक्वता दिन्छ तर साहित्यमा रुचि उत्पन्न हुन परिपक्वताको साथसाथै सूक्ष्मानुभूति र भाषाज्ञानको आवश्यकता पर्छ । बाल्यकालमा बुबाआमाले पाँच जना सन्तानलाई निम्नतम साधनले पालनपोषण गर्दा गरेको सङ्ग्रामले मलाई आजसम्म प्रेरणा दिइरहेको छ । आफ्नै खुट्टामा उभिने सङ्कल्प त्यति बेलै लिएको थिएँ ।
मेरो बाल्यकाल आधा गाँमौथान र आधा बसाइँसराइ पछि बरझारनीमा (नेपालीमा झोडेनी) भएको थियो ।

अन्तर्वार्ताकार : दीपक सुवेदी
साहित्यमा प्रवेश गर्दाको सुरुका दिनलाई कसरी सम्झनुहुन्छ ?
जसरी बाल्यकाल र यौवनकाल एक मधुर स्मृति हो त्यसरी नै साहित्यमा प्रवेश गरेका दिनहरू मधुर छन् । उमेर कलिलो भए पनि सोच छिप्पिएको थियो र लेखनमा त्यसको प्रभाव परेको थियो । पर्यावरण, रूढिवाद, सामाजिक विषमता आदि विषयले मनमा विभिन्न सोच उब्जाउँथ्यो । यौवनकालमा प्रेमिल भावनाले पनि उक्साउने गर्थ्यो र निकै कविता पनि रचेको थिएँ ।
प्रेरणा के कहाँबाट मिल्यो ?
प्रकृति र परिस्थितिलाई नै म प्रेरणास्रोत ठान्छु । आफूलाई कुन विधाको स्रष्टा भनिन रुचाउनुहुन्छ ? किन ? म आफूलाई कविता विधाकै स्रष्टा भनेर ठान्छु । आख्यान र निबन्ध पढ्न र लेख्न रुचाउँछु तर धेरै झुकाव कवितातिर मात्रै छ ।
रम्बास कविताको परिकल्पना वा सोच कसरी कहाँबाट भयो ?
यो नयाँ उपविधाको जन्म हुनुको कारणचाहिँ केही व्यतिक्रमवाला काम गर्ने लालसाले भएको हो । सधैँ एकै प्रकारको लेख्ने र पढ्ने बाध्यता भएकाले मन एक प्रकारले नयाँको खोजीमा अनुसन्धित्सु भइसकेको थियो, छटपटी भइरहेको थियो । २०२० सन्को मार्च महिनापछिको समय सिर्जनात्मक काममा लागि रहनेहरूका लागि वरदानस्वरूप आइलागेको थियो । कोरोनाकालीन लकडाउनले मलाई पनि समय र परिवेश दियो । त्यही समयमा धेरै तरिकाले कवितामा प्रयोग गर्दागर्दै यो उपविधा भूमिष्ठ भयो । प्रायः दुई महिना जतिको अभ्यासपछि यसले एक रूप लियो र मैले सामाजिक सञ्जालमा पोस्ट गर्न थालेँ । कसैले सकारात्मक, कसैले नकारात्मक त कसैले ठट्यौली समेत गरे तर जब मेरा शुभचिन्तक साहित्यिक, समालोचक मित्र ज्ञानबहादुर छेत्रीज्यूले यसलाई निरन्तरता दिने प्रेरणा दिनुभयो तब मेरो हौसला दोब्बर भयो र आजसम्म यसैका लागि आत्मोत्सर्ग गरेको छु ।
यसै सरसरती बुझ्दा कविता कविता नै हो । ती चाहे छन्दोबद्ध हुन् या आधुनिक गद्यकविता हुन्, हाइकु हुन् वा मुक्तक, गजल, युग्मक या शीत हुन् । भावनात्मक र संरचनात्मक दृष्टिकोणले सबैमा आआफ्नो पाराको महत्त्व छ । हजुरको प्रश्नको उत्तर दिनुपर्दा म यति नै भन्न चाहन्छु कि अचेल जसरी विभिन्न उपविधाका कविताहरू छन् त्यसरी नै पाठकको रुचि पनि विभिन्न प्रकारको छ । सामाजिक सञ्जाल र प्रिन्ट माध्यममा हरदिन यति पठनीय सामग्री पाइन्छन् कि कुन पढूँ कुन छोडूँजस्तो स्थिति हुन्छ । उत्कृष्ट भए तापनि धेरै लामा-लामा रचनाहरू पढ्न समय नै मिलाउन सकिन्न । एकदमै छोटा हुँदा पनि काव्य तिर्खा मेट्न नपाई नै पढिसकिन्छ । यस्तो एक परिस्थितिमा सय अक्षरमा लेखिएको रम्बास कविताले थुप्रै पाठकलाई आकृष्ट गर्न सक्छ भन्ने आशा मनमा लिएर यो उपविधाको सृष्टि गरिएको हो । जस्तो कि हामी जान्दछौँ कि मान्छेको ध्यान आकर्षण गर्न कुनै सामग्री वा धारणालाई विभिन्न रोचक वा व्यतिक्रमको पाराले उपस्थापन गरिन्छ । त्यसैले यो रम्बास कविता पनि आकर्षक बनाउन रम्बासीय आकार दिइएको छ ।
के यो प्रयोग नै हो ?
यस प्रश्नको उत्तरमा म अर्को कुरा के पनि भन्न चाहन्छु भने यो प्रयोगवादको एक फसल हो र यसको स्थायित्वका बारेमा अहिले नै केही भन्न सकिँदैन । सफल पनि हुन सक्छ असफल पनि । असफल हुन्छ होला कि भन्ने डरले प्रयोग नगर्नु पनि त प्रगतिशील विचारको अन्त्य हो । “डरको अगाडि जित छ” भन्ने जोखिम उठाएको एक पहल हो यो रम्बास कविता तर मेरो लागि खुसीको कुरा के हो भने यस शैलीलाई आजको दिनमा भारत, नेपाल र म्यामारदेखि अँगाल्ने सयभन्दा बढी कवि भइसकेका छन् । यो अत्यन्तै आशाव्यञ्जक लक्षण भनेर म ठान्छु ।
रम्बास कवितालाई विज्ञजनले कसरी हेरिरहेका छन् ?
यो कविता उपविधालाई ठोस कविताअन्तर्गत पर्ने दृश्यात्मक या चित्रात्मक कविता हो भनेर केही साहित्य जगत्का विज्ञजनले आआफ्नो प्रतिक्रियामा भनिसक्नुभए तापनि यो ठोस वा चित्र कविताको परिभाषाभित्र पर्दैन किनभने ठोस वा चित्र कवितामा जुन विषयमा कविता लेखिन्छ कविताको आकृति पनि त्यही वस्तुको हुन्छ अनि थरी-थरीका आकृति हुन सक्छन् तर हामीले त्यस्तो केही गरेका छैनौँ । जीवन र जगत्का सबै विषयमाथि लेखिन्छ तर आकृति केवल ज्यामितीय आकार रम्बास (धेरैले रम्बस भनेर उच्चारण गर्छन्) जस्तै राखिएको छ ।
रम्बास कवितालाई कसरी परिभाषित गर्नुहुन्छ ?
यो भावनात्मक मात्रै नभएर दृश्यात्मक पनि हो . यसको कलात्मक आकृति र लेख्ने छुट्टै नियमसमेत भएकाले केही त अभिनव स्वरूप छ जसले गर्दा भिन्न स्वाद खोज्नेहरूले रुचाएका छन् ।
सङ्क्षेपमा भन्नु हो भने यति भन्न सकिन्छ कि रम्बास कविता उत्तरआधुनिक कालको नेपाली साहित्यमा भारतको ब्रह्मपुत्र उपत्याकामा उब्जिएको बान्की परेको एक नयाँ उपविधा हो र हामी यसलाई आयामेली कविता ठान्छौँ । सूक्ष्म रूपले भए पनि यो अब अन्ताराष्ट्रिय पर्यायमा बामे सर्दै छ र नेपाली साहित्यमा भित्रिसक्यो । अब यो मेरो होइन नेपाली भाषाप्रेमीको भइसक्यो । यो शिशु कवितालाई हुर्काउने कि मार्ने यो उनीहरूको पालनपोषणमा निर्भर गर्छ ।
रम्बास कवितामा के हुँदा राम्रो हुन्छ ?
सय अक्षरमा मनको भावना पोख्न सक्नु नै यसको विशेषता भएकाले गर्दा विषयलाई सम्पूर्ण रूपले प्रकाश गर्न शब्द छनोट अत्यन्तै राम्रो र सटीक हुनुपर्छ । गद्यकविताजसरी उन्मुक्त भएर लेख्न नसकिने हुनाले रम्बास कविले “गागरमा सागर” धारणा मनमा राखेर लेख्दा राम्रो सिर्जना गर्न सक्छन् । त्यसै पनि हाम्रो भाषामा शब्दको प्राचुर्यता छ र अक्षर सङ्ख्या मिलाउँदा विकल्प शब्दको कमी हुँदैन ।
जहाँसम्म आकृति चतुष्कोणी पार्ने प्रश्न छ त्यो आजको मोबाइल वा कम्प्युटरको युगमा किपेडको स्पेस कीले समाधान गर्छ, केवल धैर्य र कलात्मक मन चाहिन्छ ।
रम्बास कविता सिर्जनामा के कुरामा ध्यान दिनुपर्छ जस्तो लाग्छ ?
खास गरेर आकृति र भावनामाथि धेरै ध्यान दिनुपर्छ । यस्तो गर्नुपर्दा शब्द चयनमा सजग रहनुपर्छ । आकृति नै यसको मुख्य आकर्षण हो र यसमा केही सम्झौता गर्न सकिँदैन । यो नभए अरू कविता र यो कवितामा केही फरक रहँदैन ।
अन्य कविता र रम्बास कवितामा के फरक छ ?
मैले पहिले नै भनिसकेको छु कि सबै कविता परिभाषाको दृष्टिकोणले हेर्दा एकै हुन् । रम्बास कविता र अरू कविताका बिचमा फरक केवल आकृति र लेख्ने नियममा छ ।
यसको सैद्धान्तिक र व्यावहारिक पक्षबारे प्रकाश पारिदिनुहोला ।
प्रयोगवादको उद्देश्य साहित्य सिर्जनाका स्थापित परम्पराबाट उन्मुक्त भएर नयाँ आविष्कार गर्नु र प्रयोग गर्नु हो ।
यसको लेख्ने नियम यस प्रकार छ
यो अपरम्परागत शैली र आकारमा लेखिने कविता केही साधारण नियमले लेखिन्छ ।
१) यसमा जम्मा सय अक्षर र उन्नाइस पङ्क्ति हुन्छन् ।
२) एउटा अक्षरको शब्ददेखि सुरु भएर एउटै अक्षरमा समाप्त हुन्छ ।
३) एक दुई अक्षर गर्दै दस अक्षरसम्म पुगेपछि फेरि नौ, आठ, सात गर्दै एक अक्षरमा टुङ्गिन्छ ।
४) आरम्भको र अन्त्यको अक्षर भिन्नाभिन्नै या एकै हुन सक्छन् ।
५) यस शैलीमा भावपक्ष जति महत्त्वपूर्ण हो यसको रम्बासीय आकृति पनि उत्तिकै महत्त्वपूर्ण हो ।
आकृति र भावना दुवै यस कविता उपविधाका आत्मा हुन् ।
६) शिर्षक भरिसक्के एक शब्दको हुनुपर्छ ।
रम्बास कविताका कमजोरी र बलिया पक्ष के के हुन् ?
जति पनि नियम अनुसरण गरेर लेख्नुपर्ने काव्यविधा हुन्छन् त्यहाँ कतिपय अन्तर्निहित सीमाबद्धताहरू हुन्छन् नै । उदाहरणका लागि अक्षर सङ्ख्या, अनुप्रास, छन्द या तुक, पङ्क्ति आदिको नियम हुँदा स्वतन्त्रता कम हुन्छ र यस्तोखाले कमजोरी पक्ष यसमा पनि छ तर हाम्रो भाषामा शब्दको प्राचुर्यताले गर्दा रम्बास कवितामा धेरै कठिनता भने छैन । सय अक्षरमा आफ्नो भाव पोख्न कसैलाई साह्रो पर्छ कसैलाई पर्दैन ।
आजको दिनमा सजिलैसँग उपलब्ध मोबाइल या कम्प्युटरका सुविधाहरू राम्रोसँग व्यवहार गर्न नसके रम्बासीय आकृति दिन अप्ठ्यारो हुन्छ अनि आकृति राम्रो भएन भने यो कविताको सौर्न्दर्य नै रहँदैन ।
सबल पक्ष भन्दा यसको चित्रात्मक कलाकारिता र नाति ह्रस्वदीर्घ संरचना हो । अर्को हो शब्द चयन गर्नुपर्दा भाषाको अधिक जानकारी पाउनु । एउटै अर्थ बुझाउने धेरै शब्दको जानकारी भएमात्रै खँदिलो रम्बास कविता सिर्जना गर्न सकिन्छ र मलाई लाग्छ यस्ता कविता लेख्नेहरूले निकै भाषासम्बन्धि ज्ञान आहरण गर्नुपर्ने हुन्छ जस्तो मलाई लाग्छ ।
तपाईँका कवितामा समाजका कुन वर्गका वा के कस्ता छन् भाव भएजस्तो लाग्छ ?
कविहरूको दायित्व जीवन र जगत्सँग सम्बन्धित विषयहरूलाई पाठकको मनमा प्रभाव पार्न सक्ने गरी सहजबोध्य पाराले उपस्थापन गर्नु हो । सबै पाठक एकै प्रकारका बोधगम्यता भएका हुँदैनन् र सबैले कविताको आशय बुझ्नुपर्छ भने कविता दुर्बोध्य नभएकै राम्रो । त्यस्ता कविताको आयु पनि लामो हुन्छ ।
स्रष्टाहरूको प्रोत्साहनका लागि राज्यले के कस्तो भूमिका खेल्नुपर्दछ ?
यस प्रश्नको उत्तरमा यति नै भन्न सकिन्छ कि राज्यले स्रष्टाहरूलाई प्रोत्साहित गर्न योग्यजनलाई पुरस्कृत गरोस्, साहित्य पेन्सन दियोस्, पुस्तक प्रकाश गर्न केही आर्थिक सहयोग पुऱ्याओस्, साहित्यसँग जडित प्रतिष्ठानहरूलाई सहयोग पुऱ्याओस् ।
कविताको समकालीन बजारलाई कसरी हेर्नुहुन्छ ?
कविताको समकालीन बजार भन्नुभन्दा कविताको सर्वकालीन बजारभन्दा यथार्थ होलाजस्तो लाग्छ । अरू विधाहरूभन्दा मन्दा बजार कविताकै छ- सर्वकालीन।
अहिलेसम्मका नबिर्सने क्षण कुन हुन् र किन ?
सामग्रिक रूपमा हेर्नु हो भने जीवनका प्रत्येक सुखद र दुःखद क्षण नै नबिर्सने खालका छन् मेरा लागि । छोटो जीवनकालका प्रत्येक घटना र घटनासँग जोडिएका व्यक्तिहरूलाई बिर्सनु हो भने हामीजस्ता सङ्ग्रामरत स्रष्टाहरूले सिर्जना गर्ने स्रोत नै हराउँछौँ । अब हेर्नुस् न तपाईँसँग परिचय हुनु, वार्तालाप गर्नु पनि त एक स्मरणीय क्षण हो जो बिर्सन सकिँदैन ।
नबिर्सने कारणचाहिँ यी क्षणहरूमै अडेस लागेर म सिर्जना गर्छु । अडेसलाई बिर्सन सकिन्छ र? ऊ आजीवन साथमै हुन्छ- टेवा दिँदै ।
जीवनलाई परिभाषित गर्नुपऱ्यो भने के भन्नुहुन्छ ?
सबभन्दा कठिन अनि सबभन्दा सजिलो प्रश्न यही हो । हजारौँ तरिकाले परिभाषित गर्दा पनि अधुरो अनि फेरि एउटै परिभाषाले मात्रै पनि सम्पूर्ण बुझिने । होइन र विचित्रको यो जीवन ?
जीवनका भावी लेखकीय इच्छाहरू के छन् ?
साहित्यमा, खासगरी काव्य विधामा, मेरो रुचि स्कुल कलेजको दिनदेखि नै छ । त्यस हिसाबले करिब-करिब चालीस-पैँतालीस वर्ष भइसकेछ । गद्यकविता, गजल, मुक्तक, हाइकु आदि सबै स्थापित उपविधामा लेख्ने क्रम अझसम्म जारी छ । एउटा उपन्यासको पाण्डुलिपि पनि तैयार छ । कुनै दिन अनुकूल समयमा प्रकाश गर्नेछु ।
अहिले साहित्यमा लागेर के पाएँ र के गुमाएँ जस्तो लाग्छ ?
साहित्यमा लाग्दा केही पाउने या गुमाउने धारणा भ्रान्त हो । जसले केही पाएका छन् या गुमाएका छन् ती व्यतिक्रम हुन् । साधारणतया न केही पाइन्छ न केही गुमाइन्छ । केही यदि पाइन्छ नै भने त्यो सिर्जना गर्दाको आत्मसन्तुष्टि हो ।
अन्त्यमा रम्बास कविताको एउटा उदाहरण दिन चाहेँ :-
जीवनाकृति
*********
यो
कस्तो
आकृति
विहीनको
जिन्दगी रैछ ।
भ्रमको आकृति,
अनिश्चित आकार,
आआफ्नै परिभाषा छ।
न चाहेको रङ्ग भरिन्छ,
न दिगो रूप दिन सकिन्छ ।
ठेलीका ठेली शोध भए
अनगिन्ती बाँकी नै छन् ।
तैपनि आशा छैन
ठोस परिभाषा ।
त्यसैले भन्छु
जीवनको
आकृति
भ्रम
हो ।



