बिबिसी मास्टर सेफ प्रोफेसनल्स २०२० मा फाइनलसम्म पुगेका नेपाली सेफ सन्तोष शाहको खान्कीसम्बन्धी लेखिएको पुस्तक अैला बजारमा आएको छ । पुस्तकलाई डिकेले बजारमा ल्याएको छ । डिके पेइन्गुइन रेन्डम हाउसको चित्रमय हार्डकभर पुस्तक प्रकाशन गर्ने सहप्रकाशन संस्था हो ।

नेवारी परम्परागत सगुनलाई अैला भनिन्छ । यसलाई भाइचारा र प्रेमको प्रतीकका रूपमा समेत लिइन्छ ।

यो पुस्तकमा ६० भन्दा बढी खान्की समावेश गरिएका छन् । तराई, पहाड तथा हिमालमा चल्तीमा रहेका खान्कीका सूची यहाँ राखिएको छ । यो कुकबुकमा राखिएका जानकारी हेरी सर्वसाधारणले सहजै विविध परिकार बनाउन सक्ने सन्तोषको भनाइ छ ।

नेपालमा भने यो पुस्तक कहिले बजारमा आउनेछ भन्ने प्रस्ट भइसकेको छैन । आउँदो फेब्रुअरी अन्तिम तथा मार्चतिर नेपाल आइसक्ने अपेक्षा आफूहरूले गरिरहेको काठमाडौँको जमलस्थित एडुकेशनल बुक हाउसका रमन राउतले जानकारी दिनु भएको छ । अवस्था मिलेसम्म र सन्तोष शाह नेपाल आएको मौका पार्दै, नेपालमा एउटा कार्यक्रम गर्ने योजनासमेत रहेको भए पनि हाल सन्तोष शाह न्युयोर्क पुगेका कारण सो योजना थाँति राखिएको उहाँले जनाउनुभयो ।

बेलायतमा भने यो पुस्तक आउँदो ३ फेब्रुअरीमा बजारमा पठाइँदैछ । त्यसपछि संसारभर वितरण गरिने र नेपालसम्म आइपुग्न एकदेखि दुई साता लाग्नसक्ने बताइएको छ ।