डा. विनोद ढकाल
यदि मानिसले बोलेका, सोचेका प्रत्यक शब्द
ब्रह्माण्डको कम्प्युटरमा कतै अभिलेख हुने भए
जीवनमा गरेका प्रत्येक कर्मको
अन्त्यमा हिसाबकिताब गर्नुपर्ने भए
संसारमा कसले राज गर्ने थियो ?
इमान कि बेइमान
लाज कि शान ?
साँच्चै
मानिसले के सोच्थ्यो ?
सत्य कि असत्य ?
देवता कि दैत्य ?
के मानिसले सोच्थ्यो ?
के मानिसहरूबिच, देशहरूबिच झगडा हुन्थ्यो ?
साँच्चै के देशहरू हुन्थे होलान् ?
यदि मानिसले विगतजस्तै भविष्य थाहा पाउने भए
विगत
हिँड्दै पाइला मेट्दै गर्ने पानीजहाजजस्तै
स्मृतिमा विलीन हुने भए
के मानिसलाई भविष्यले सताउने थियो ?
कि बिर्सिएको विगतले ?
कि विगत भविष्य हुने थियो ?
भूकम्पको सानो झोकाले ढाल्ने घरभित्र
भूकम्प आउन लागेको थाहा पाउँदापाउँदै के मानिस बस्थ्यो ?
मृत्यु हुने समय
के मानिस मृत्युको बाटो हिँड्थ्यो ?
कि मृत्युबाट भाग्न खोज्थ्यो ?
साँच्चै
के मृत्यु हुन्थ्यो ?
सायद बेन्जामिन बटन हुन्थ्यो
पृथ्वी तत्त्वबाट वृद्ध बनेर
मसानघाटको आगाबाट मानिस प्रकट हुन्थ्यो
चिहान उठेर हिँड्न लाग्थ्यो
भर्खर जन्मेको बच्चाले जस्तै
वृद्ध मानिस आफ्नो पहिलो सास फेर्न कसरत गर्थ्यो ?
अनि मसानघाटमा हर्षको गीत बज्थ्यो ?
जीवन उल्टो घुम्थ्यो
आमाको प्रसववेदना अन्त्य हुने समयमा
रुवावासी चल्थ्यो ?
गर्भावस्थाको नौ महिना के आउने थियो ?
खुसी कि दुःख ?
अनि
के सम्भोगले मानिसलाई तृप्त पार्थ्यो ?
के साँच्चै मानिसले उक्त सम्भोग गर्थ्यो ?
बिगब्याङ थ्योरीले भनेजस्तै
तन्काएको रबर छोडेको जस्तै
विस्तारित ब्रह्माण्ड खरबौँखरब वर्षपछि फर्केका बेला
के पृथ्वी उही बिस्तार हुँदा गएको बाटो हिँड्थ्यो ?
के फर्केको पृथ्वीमा
जातभात अझै बाँकी हुने थियो ?
साँच्चै के दुई ठूला शक्तिबिच ब्रह्माण्डको कम्प्युटर
आफ्नो बनाउने द्वन्द्व चल्थ्यो ?
के फर्केको पृथ्वीमा
हत्या हिंसा बलात्कार आजकै जस्तै हुने थियो ?
सायद मानिस खुसी हुने थियो
सायद यो कविता म फेरि लेख्ने थिएँ
साँच्चै पृथ्वीमा मानिस
के आदिमकालजस्तो सत्य बोकेर
नाङ्गो बनेर हिँड्थ्यो ?
धुलिखेल अस्पताल
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।