करिब तीन महिनाअगाडि नै सिमला यात्राको टिकट बुक भैसकेको थियो । हिमाचल प्रदेशको राजधानी हो सिमला । ५५ हजार ६ सय त्रिहत्तर वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस प्रदेशमा भारतको ६०/६१ लाख जनसङ्ख्या बसोबास गर्दछन् । ७७.१ % प्रतिशत पहाडी र हिन्दी भाषी जनसङ्ख्या रहेको यस प्रदेशमा सडक यातायात, रेलवे यातायात र हवाइ यातायातले पर्यटकहरूलाई सुगम बनाएको छ । हाम्रो यात्राको टुङ्गो सडक यातायात र रेलवे यातायातबाट हुने कुरा अग्रिम टुङ्गो थियो ।
२०६९ साल भाद्र २४ गतेका दिन बिहान हामी उदयपुरे मित्रहरू ओम खड्का, अशोक खड्का विजयसिंह, जलदेव चौधरी र म बिहानको ओखलढुङ्गे गाडीमा लाहान प्रस्थान गर्यौँ । बाटामा कुमारसिंह कार्की गुरुसँग भेट भयो । उहाँलाई मेरो भर्खरै प्रकाशित भएको दुःख काव्य प्रदान गरेँ । उहाँसित निकट भविष्यमै शिक्षा विषयमा गोष्ठी गर्ने सल्लाह भयो ।
लाहान पुगेर त्यहाँको ओशो माधुर्य ध्यान केन्द्रको पुस्तकालयलाई मैले अनुवाद गरेका कृति शिक्षामा कान्ति भाग-२ र अर्का मित्रले अनुवाद गरेको मौलिक क्रान्ति नामको पुस्तक अर्पण गरेँ । अन्य पुस्तक पनि प्रकाशन र विमोचन गर्ने विषयमा चर्चा चल्यो । खाजा खाएर यात्रामा प्रस्थान गर्ने योजनाबमोजिम चिउरा तरकारी रोटी तयार थियो । पेटभरि रोटी तरकारी सेवन गरियो । शिक्षा मन्त्रालयले शिक्षा सेवा पदकका लागि उदयपुर जिल्लाबाट मेरो र शङ्कर थापाको नाम प्रकाशित गरेछ । लक्ष्मीपुर माविको प्र.अ. टङ्क गुरागाईँले फोनमार्फत जानकारी गराउनुभयो । यस खबरले मनलाई आनन्दित पार्यो, ढिलोचाँडो मानिसको सही कामको मूल्याङ्कन हुने रहेछ भन्ने आत्मविश्वास जाग्यो ।
हामी लाहानबाट जयनगर प्रस्थान गर्दा घडीले ८:४५ बजाइसकेको थियो । जसै यात्रामा गोडाअगाडि लम्काइन्छ तसै मेरा इन्द्रियहरू सबल अनि सक्रिय बन्न थाल्छन् । बोर्डरमा पुग्नै लागेका बेलामा कलम पत्रिकाबाट ऋद्धिरमण घिमिरेजीले फोन गर्नुभयो । सुजीव तामाङलाई फोन गरेर एउटा कथा इमेल गरिदिनू भनेँ । घरतिर रेणुलाई फोन गरेर हामी भारतको सिमानाभित्र प्रवेश गर्यौँ ।
विगत आठ वर्षदेखि माडर जयनगर रुटबाट थुप्रैचोटि यात्रा गरेको छु । यस बाटाको दुरवस्थाले साह्रै दिक्क बनाउँछ । बिहारमा नितिशकुमार सत्तामा आएपछि ठाउँ-ठाउँमा छ लेनको बाटो बन्दै छ तर यो धुले उबडखाबड बाटाले त्यो छ लेनको रोडलाई कुरी-कुरी गरिरहेछ । यस बाटामा घोडाले तान्ने टाँगाहरू धेरै चल्छन् । एउटा लुते घोडाले तानेको टाँगामा आठ जनासम्म कोचमकोच बसेको देख्छु । घोडाका आङमा छापिएको कोर्राका डाम र आँखामा आँसुका लेग्राले मान्छेको क्रूरतालाई उदाङ्गो पारिरहेछ । घोडाका मलिन चेहराले मानवभित्रको मानवीय स्वभावलाई कुरी-कुरी गरिरहेछ ।
१२:४० मा जयनगर कलकत्ता एक्सप्रेस चढ्यौँ । यसमा दरभङ्गा आयौँ र स्वतन्त्र सेनानी नामको रेल चढेर दिल्ली प्रस्थान गर्यौँ । दरभङ्गाबाट रेल चढ्दा दिउँसोको ३:४० बजेको थियो । मधुवनीबाट सत्यार्थीको सौजन्यतामा प्याकिङ गरिएको खाना आएको थियो । सो खाना बाँडेर खाइयो । दरभङ्गा समस्तीपुर मुजफ्फपुर छपरा बलिया बनारस इलाहावाद कानपुर हुँदै हामी अघि बढ्यौँ । करिब १२ सय किलोमिटरको यात्रा रेलमै छिचोल्दा भारतको शस्यश्यामला विशाल फाँटहरू नियाल्दै अगाडि बढ्यौँ ।
त्यस यात्रामा नेपाली टोपी लगाउनेमा म र ओमकारजी थियौँ । एउटा कालो बिहारीले हामीलाई धेरैचोटि घुरी-घुरी हेर्यो । यस दृश्यले मन थोरै भयभावहरू पैदा भए । अर्कोतिर एसिमा टिकट नपाएको विषयलाई लिएर जलदेव र ओमजी भित्रभित्रै गनगन गरिरहनुभएको थियो । स्वीकार भावमा बाँच्न अभ्यस्त नभएका मान्छेहरू सानो कुरामा पनि गनगनै गरिराख्छन् । झिनामसिना अभावमा पनि गुनासाको पहाड उभ्याइदिन्छन् ।
म त यात्रामा यात्रासितै फैलिँदै गएको महसुस गर्छु । यात्रासितै फुक्तै गएको महसुस गर्छु । आफूभित्र सारा सङ्कीर्णताहरू परित्याग गर्नकै लागि यात्रामा निस्किन्छु । एक ठाउँको पट्यार लाग्दो बसाइले मनमा एक रसता (मनोटोनस) बनाउने गर्छ । त्यसले आफूलाई दिन पर दिन साँगुरो पार्दै लगेको अनुभूति हुन्छ तर यात्राले साँगुरो सुरुङबाट तानेर मलाई विशाल फाँटतिर ताते गराइरहेको आभास मिल्दछ । राति रामकुमारजीले नास्ता बाँड्नुभयो । त्यो सेवन गरी तल्लो स्लिपरमा विश्राम गरेँ ।
भदौ २५ गते धर्तीमा उज्यालो खस्ता हामी चढेको रेल कानपुर पुगेको रहेछ । रेलभित्रै नित्यकर्म सम्पन्न भयो । बिहानीको खाजा पनि भित्रै खायौँ । दिउँसोको २ वजे दिल्ली पुगियो । पाँच बजे दिल्लीबाट काल्काको रेल चढ्नुथियो । तीन घण्टासम्म रेलवे जक्सनको विश्रामालयमा बसियो । त्यहीँको भोजनालयमा गएर खाना खायौँ । दिल्लीबाट अत्याधुनिक र सुविधा सम्पन रेल चढेर काल्का प्रस्थान गर्यौँ । कुरुक्षेत्र अम्बाला, चण्डीगढ, पञ्चकुला नहुँदै काल्का पुगियो । रेलभित्रै चिया नास्ता मिल्यो । १० बजे राति काल्काबाट चार ओटा जीपमा सिमला प्रस्थान गरियो ।
दिल्लीबाट काल्कासम्मको यात्रामा गुरु ज्ञान साहिलसितै रहने अवसर मिल्यो । बाटोभरि उहाँले निकै मार्मिक कुरा गर्नुभयो । अन्तर्यात्राको क्रममा साधकले उत्थान र पतनको सिलसिला बेहोरिराख्नुपर्दछ । स्थिति एकनाशको हुँदैन । उतार चढाव आइराख्छन् । कहिले त्वरित गतिका शिखर उक्लिन्छ मान्छे, कहिल्यै एकैचोटि छ्वाङ्ग खाडीमा गिर्दछ । सबैभन्दा ठुलो कुरा जीवनको सबै स्थितिहरूमा साक्षी भएर रहन सक्नु ज्यादै ठुलो कुरा हो । यस्ता अनमोल ज्ञानका कुरा सिक्न पाइयो ।
नागबेली पहाडको यात्रा गर्दै आधारातमा हामी सिमला भाटिका रिर्सोट पुग्यौँ । भोक र थकानले लखतरान थियौँ । हामी धेरै जना केही नखाइ सुत्यौँ तर हाम्रो टिमका साथीहरू विजयसिंह, जलदेव र ओमजीले बिहानको तीन बजे खाजा खाएर सुत्नुभयो । २६ गते बिहान ६ बजे ब्युझेँ । अझ साथीहरू निद्रामै हुनुहुन्थ्यो । कारण सुताइ नै ढिलो भएको थियो ।
समुद्री सतहबाट २२ सय मिटर उचाइमा रहेको सिमला सुरम्य हरियालीले ढाकिएको हिमाचलको पहाडी राजधानी रहेछ । पाइन र देवधारको जङ्गल आफैँमा मनमोहक छटामा फिँजारिएको थियो । प्रकृतिको सुन्दर दृश्यहरूलाई हृदयको क्यामेराले फोटो खिचिरह्यो । केही साथीहरू यात्रामा केही अप्ठ्याराहरूलाई पनि सिकायत भावले हेर्छन् । यस्ता गनगनदेखि दिक्क लाग्छ । स्वीकार भावमा बाँच्ने, सिकायत नगर्ने र प्राप्ति भएको चिजमा खुसी मनाउने स्वभाव मन पर्छ आफूलाई । नभएको चिज खोजी गरेर दुःखी हुने स्वभाव कदापि मन पर्दैन ।
बिहानको नास्तापछि करिब १२ बजेतिर चार ओटा सुमो र स्कोरपियो गाडी लिएर घुम्न निस्क्यौँ । त्यहाँका स्याउका बगैँचाहरू र ग्रिन भ्यालीको शान्त हरियाली वन आँखाले जति पिए पनि प्यास नमेटिने चिजहरू थिए । सबैभन्दा पहिले सिमला सहर घुम्न गयौँ ।
पर्यटकको आसध्यै ठुलो घुइँचो लाग्ने सिमलामा हेर्न लायक ठाउँहरू अनगिन्ती रहेछन् । समयको सीमित पावन्दीमा बाँधिएका थियौँ हामी । त्यसैले सबै ठाउँ भ्याउन नसके पनि मुख्य मुख्य ठाउँ हेरियो । महात्मा गान्धी, इन्दिरा गान्धी, यशवन्त सिंहको शालिक रहेको ठाउँ पुग्यौँ ।
त्यहाँको सबभन्दा पुरानो चर्च (सन् १८४६-१८५७) पुग्यौँ । सल्लेरी वनको भिरमा बनाइको अति भव्य सङ्कटमोचन मन्दिर पनि पुग्यौँ । सन्त निम कोरेरी बाबाको प्रतिमा स्थल पुगियो । छिनछिनमा अदलीबदली भइरहने यहाँको मौसम आफैँमा विचित्रमय थियो । एकछिनमा छ्याङ्ग घाम लाग्छ । एकछिनमा गुप्प धुम्मिन्छ । एकछिनमा पानी ओइरिन्छ । फेरि उग्रिन्छ ।
सिमला सहरको परिक्रमापछि मलरोडबाट १० किलोमिटर उचाइमा अवस्थित तारादेवी मन्दिर हेर्न गयौँ । करिब अढाइ सय वर्ष पुरानो यस मन्दिरमा धेरै पर्यटकहरू जाँदा रहेछन् । नेपालमा भने सयकडौँ डाँडाकाँडाहरू खाली-खाली छन् । यस किसिमको धार्मिक पर्यटनलाई प्रोत्साहन गर्ने किसिमले भौतिक संरचनाको विकास गर्ने हो भने देशको कायापलट गर्न कति समय लाग्थ्यो होला ? दिनभरिको घुमाइ पछि बेलुकी उही रिसोर्टमा आयौँ । ९ बजे खाना खाएर विश्राम गरियो । घरतिर छोरी आँसुलाई फोन गरेँ ।
भोलिपल्ट भदौ २७ गते कुफरी जाने योजना थियो । नास्ता खाएर १० बजे कुफरी प्रस्थान गरियो । १२ बजे कुफरी पुग्यौँ । यो थलो एडभेन्चरको टुरिस्ट आउने ठाउँ रहेछ । एक निश्चित ठाउँसम्म मात्र गाडी लान दिँदो रहेछ । त्यसपछि कि त पैदल कि त घोडामा जानुपर्दो रहेछ । सबै जना घोडामा जाने सोच बनायौँ । जीवनमा पहिलोचोटि मैले पनि घोडामा यात्रा गरेँ ।
घोडा खेद्ने अधिकांश ठाउँमा नेपाली युवाहरू भेटिए । घोडाको सइसमात्र होइन, होटल ढावामा पनि नेपाली नै भेटिए । चौँरी गोठमा पनि नेपाली नै भेटिए । ढुङ्गा फोर्ने ठाउँमा पनि नेपाली नै भेटिए । स्याउका बगैँचाहरूमा पनि नेपाली नै भेटिए । साना र तल्लो स्तरका श्रममूलक काममा हजारौँ हजार नेपालीहरू रोजगारीका लागि यस थलोमा आइपुग्दा रहेछन् । सिमलामा वातावरणीय सरसफाइका लागि त्यहाँको सरकारले महत्वपूर्ण काम गरेको रहेछ । प्लास्टिक मुक्त क्षेत्र घोषणा गरिएको रहेछ, चुरोट खैनी खानेलाई दुई सय रुपियाँ दण्ड गरिँदो रहेछ । जाँड रक्सीलाई मनाही गरिएको रहेछ । त्यति धेरै मासु पसल पनि भटिएन । बेरोजगारलाई छ महिना रोजगार भत्ताको व्यवस्था रहेछ । स्कुल पढ्ने बच्चाका लागि २ जोर कपडा र अन्य शुल्क मिनाहा गरिएको रहेछ । दिनभरि कुफरी घुमेर बेलुका शोधी फिरियो ।
२८ गते बिहान शोधीको भाटिका रिसोर्ट छोड्यौँ । दस बजेतिर हामी कण्डाघाटको फेल्कन होटल प्रस्थान गर्यौँ । अवका तीन दिन हामी होटल फेल्कनमै रहनेवाला थियौँ । होटलमा झोला राखेर हामी चायल प्रस्थान गर्यौँ । त्यो ठाउँ त्यहाँबाट तीस किलोमिटर टाढा थियो । त्यहाँको एक अति उच्च लेखमा अवस्थित कालीमन्दिर अवलोकन गर्न हामी त्यहाँ पुगेका थियौँ । प्राकृतिक सुन्दरताका अनुपम बान्कीहरू, नियाल्दै, नागबेली परेको अस्वीखड नदीको तट हुँदै हामी तीन बजेतिर होटल फर्कियौँ । खाना खाएर विश्राम गरियो ।
त्यसै साँझबाट तीन दिनको मेडिटेसन शिविर सुरु थियो । त्यस शिविरमा सक्रिय सहभागी बनियो । गुरुबाट मेडिटेसनका विभिन्न विधिहरू डाइनामिक मेडिटेसन, कुण्डलिनी मेडिटेसन, स्टोप्स मेडिटेसन, चक्रासाउन्ड मेडिटेसन आदि प्रयोग गरियो । ३० गते बेलुका संन्यास सेलिब्रेसन भयो । नेपालबाट जानेमा अशोक र विजयजी संन्यस्त हुनुभयो । भोलिपल्ट ३१ गते दिउँसो मेडिटेसन शिविरको समापन भयो । ध्यान आभा र अन्तर जगदीशले बोल्नुभयो ।
२ बजे फेरि हामी शोधीको भाटिका रिर्सोट आयौँ । भोलिपल्ट हामी नेपाल फर्किनुथियो । सिमला यात्राको आखिरी दिनमा थियौँ हामी । कण्डाघाट र शोधीबिचको हरियाली खरवनको सुन्दरता नियाल्दै, घाँसैघाँसका बगैँचाहरूलाई आँखा भरिभरि पिउँदै हामी शोधी आएका थियौँ ।
चितवनका केही साथीहरू भने त्यही दिन दिल्ली प्रस्थान गर्नुभयो । हामी भोलिपल्ट असोज १ (२०६९) गते बिहानको नास्ता खाएर अस्वीनिखडको चारधामतर्फ लाग्यौँ । त्यहाँका नेपालीहरूको बस्ती हेर्यौँ । बन्दै गरेको चारधाममा मूर्तिकलाका अद्भुत दृश्यहरू अवलोकन गर्यौँ । त्यहाँबाट शेरचरागतर्फ लाग्यौँ । त्यहाँ हामीलाई ध्यान आभा र अन्तर जगदीशले आफ्नो घरमा खाना खान बोलाउनुभएको थियो ।
खाना खानुअगाडि उहाँहरूले बनाउन लागेको आश्रमको जग्गा हेर्न सल्लेरी वनतिर गयौँ । फर्केर खाना खायौँ । केही पुस्तक र क्यासेट खरिद गरियो । बिदाइ भएर हामी दिउँसो सोलन आयौँ । सोलन स्टेसनबाट काल्काको रेल चढ्नु थियो ।
रेलमा धर्मपुर झरिसकेपछि भारी बर्सात भयो । बर्सातका कारण पहिरो गएर रेलको लिकलाई नै क्षति गरेछ । हामी आलान्तरमा पर्यौँ । हामी मात्र होइन रेलका जम्मै यात्री बिचल्नीमा परे । अब अनिश्चित कालका लागि रेलको यात्रा अवरुद्ध बनेको कुरा थाहा पाएपछि बस रिजर्भ गरेर काल्का प्रस्थान गरियो ।
काल्का राति आइपुगियो । रोज होटलमा बास बसियो । पन्जाबी ढावामा खाना खायौँ । त्यस होटलमा हाम्रै प्युठानतिरका भाइहरू भान्से र भाडा माझ्ने काम गर्दा रहेछन् । नेपालमा आज तीजको दर खाने दिन थियो । राति १२ बजेतिर विश्राम गरियो ।
असोज २ गते बिहान ५:३० बजेको रेल समात्नु थियो । सबेर उठेर नित्यकर्म सम्पन्न गरी शताब्दी एक्सप्रेस रेलबाट दिल्ली फिरियो । रेलमै खाजाको व्यवस्था थियो । रेलमा एक सन्काहा सफेदपोस यात्रीले साह्रै असभ्य र अशिष्ट व्यवहार प्रदर्शन गर्यो । उसको निर्लज्ज व्यवहारले सबै यात्री चकित बने ।
हामी ११ बजे दिल्ली आइपुग्यौँ । झापाका साथीहरू सिलिगुडी जाने रेल समातेर बिदाइ हुनुभयो । गुरु ज्ञान साहिल र जीवन महेमान दिल्लीबाट जापान उड्नुपर्ने थियो । उहाँहरू विमानस्थलतिर लाग्नुभयो । हामी भने बेलुकी ५:२५ को गरिब रथबाट जयनगर आउनु थियो । सबैलाई बिदाइ गरेर हाम्रो समूह आनन्दबिहार रेलवे स्टेसन आयौँ । विश्रामालयमा झोला झ्याम्टा थन्क्याएर क्यान्टिनमा गएर खाना खायौँ । हामीसित केही समय बाँकी थियो । कपडा बजार गएर केही लुगाफाटा किनियो । निर्धारित समयमा गरिब रथ रेलबाट जयनगर फिर्ता भयौँ । ओमजी १४ नम्बर बोगी चढ्नुपर्नेमा ६ नं. बोगी चढ्नुभएछ; सत्यार्थीदेखि रिसाउनुभयो । एसीवाला स्लीपरमा राति जाडो हुने भएकाले मन्डी लिने काम भयो । अशोक खड्काले आफू मन्डी नलिएर जलदेवको मन्डी तान्न पुगे । यस विषयमा भनाभैरी समेत चल्यो ।
अलिगढबाट चढेको एक यात्रीको सामन्ती व्यवहारदेखि चकित बनेँ । अक्सर यात्राहरूमा यस्तै मानिसहरूका मनोविज्ञान पढ्न पाइन्छ । त्यसले एक-एक ओटा शिक्षा दिइरहेको हुन्छ । अनेकन् व्यवहारका पात्रहरूसित जम्काभेट हुन्छ । उनीहरूका असङ्गत व्यवहारहरूलाई चिन्न पाइन्छ ।
२०६९ असोज ३ गतेका दिन पटना आइपुग्दा बिहानको ६ बजेको थियो । २ बजे दिउँसो बल्ल-बल्ल पटना आइपुगियो । बरौनीमा खाना खाइयो । जयनगर आइपुगेर सबै साथीहरूले किनमेल गरेँ । मैले पनि पिताजीलाई गीताको पुस्तक किने । स्याउ किने । हामीलाई लिन लाहानबाट ट्याक्सी पठाइएको थियो । ५:३० बजे लाहान आइपुगियो । त्यहाँबाट पनि तुरुन्तै गाईघाटको गाडी भेटी हालेँ । समयमै घर आइपुगियो ।
समग्रमा सिमला यात्रा सुखद र सफल नै रह्यो । तापनि चम्बा पुग्न सकिएन । त्यहाँको भव्य म्युजियम हेर्ने धोको थियो । त्यो अधुरै रह्यो । धर्मशाला, कुल्लु मनाली र काँगडा पुग्ने रहर पनि पुरा हुन सकेन । हाम्रा वीर पुर्खाहरूले पश्चिम किल्ला कँगडा बनाएको कथा त इतिहासमा पढेको छु । प्रत्यक्ष रूपमा काँगडाको दर्शन भने गर्न सकिएन । यस अर्थमा चाहिँ सिमला यात्रा अधुरो बन्यो ।
समाप्त
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।