बा,

पाठशाला जान्नँ म

इतिहास पढाइन्छ त्यहाँ

मरेका दिनहरूको !

– कवि हरिभक्त कटुवाल

कवि हरिभक्त कटुवालको कविता पढेँ । लाग्यो, सत्य कुरा त यो पो रहेछ ।

आखिर हामी इतिहास किन पढ्छौँ ? प्रश्न मनमा उठ्यो । ‘मन’ एकछिन त, काँचो हलुवावेद चपाएको मुखजस्तै भयो । निकै बेर रन्थनिएँ । मनमस्तिष्कमा भुईँचालो गएझैँ भयो ।

श्रीबाबु कार्की उदास

…. के मैले इतिहास पढेर बिराएकै हुँ त ? कि मैले इतिहास पढेर महान् गल्ती गरेँ !

म आफ्नै पूर्वमनसँग वर्तमान मनलाई लाप्पा खेलाउन थालेँ । वर्तमान र पूर्वमन निकै द्वन्द्व गरिरहे । कुनै दिन दोलखाको गौरीशङ्कर कलेजमा इतिहास पढ्ने एक्लो विद्यार्थी थिएँ म ।

मैले कलेजलाई इतिहास पढ्ने नाममा आर्थिक भार थपेको थिएँ । कलेजले दश जना विद्यार्थीले नाम लेखाए इतिहास पढाउन सकिन्छ भन्ने सर्त राखेको थियो । पछि नाम लेखाउनेहरू धमाधम अर्को विषय पढ्न थाले । अन्ततः ….रहेँ म मात्रै ।

म एक्लैलाई इतिहास पढाउने शिक्षक व्यवस्था गर्न निवेदन गरेँ । धेरै अनुनय विनय र थोरै दबाब पनि दिएँ । आखिर म एक जना विद्यार्थीलाई इतिहास पढाउन कलेज प्रशासन बाध्य भयो । म महिनाको पचहत्तर रुपैयाँ फिस तिर्थेँ । कलेजले मलाई इतिहास पढाउने शिक्षकलाई हजार भत्ता थप्नुपर्थ्यो ।

मैले इतिहास पढ्दा कलेजलाई धेरै घाटा थियो । मेरो तत्कालीन निर्णय ठिक थियो या वेठिक ? यद्यपि मैले इतिहास पढेरै छोडेँ प्रमाणपत्र तहमा । अहिले पनि मलाई इतिहासप्रति गहिरो चासो र चाहना छ । श्रद्धा र सम्मान छ ।

पढेँ, हरिभक्तको कविता र गमे निकै बेर । आश्चर्य लाग्यो कविको कल्पना । खाँटी तर्क छ मरेका दिनहरू/बितेका पलहरू पढ्न किन जाने पाठशाला ? सत्य पनि यही हो । हाम्रा पाठशालाहरूमा उत्पातसँग पढाइन्छ इतिहास । कत्रो बिरोधाभाष छ त्यो विषय !

मानिसको सार त विगतसँग होइन, आगतसँग हुन्छ । मृत्युसँग होइन, जीवनसँग हुन्छ । रातसँग होइन, उज्यालोसँग हुन्छ । दुःखसँग होइन, सुखसँग हुन्छ । त्यसरी सोच्ने हो भने इतिहास बिर्सिनेहरूको एउटा पाटो मात्रै हो । विगतलाई सम्झनु घोक्नु बेकार छ । बेसार छ । व्यर्थ छ ।

निरर्थक विषयमा घोत्लिनु, रम्नु, गम्नु र गम्भीर हुनु व्यर्थ हो । त्यो समयको सत्यानाश हो । त्यसपछि लाग्यो – इतिहास पढेर ठूलै भूल गरेँ ।

हो, मैले एउटा गम्भीर भूल गरेँ । समयको बरबादी गरेँ । खरानी भएको मान्छेहरूको सग्लो नाम र काम खोज्नु मेरो अतीव गल्ती नै हो । उनीहरूले गरेका राम्रा नराम्रा कामको लेखाजोखा गर्नु शतप्रतिशत भूल हो । हो मैले भूल नै गरेँ । एक महत्त्वपूर्ण समयको घाँटी अठ्याएँ ।

कुरा उठ्यो, हरेक कुरालाई ग्रहण कसरी गर्ने भन्ने । यद्यपि कुनै पनि विचारले अर्को विचारसँग द्वन्द्व गर्नु निरर्थक होइन । विचारले विचारसँग द्वन्द्व गर्नैपर्छ । जो अहिले मलाई कवि हरिभक्त कटुवालको कविता पढ्दा उत्पन्न भयो ।

म निश्चित केमा छु भने – विचारको अर्थ र उपादेयता मानिसको उमेरसँग पनि विनिमय हुने रहेछ । विचार यस्तो कुरा हो जो उमेरको रङ्गसँग प्रतिबिम्बित भैदिन्छ ।

म कुनै समय धेरै साथीहरूसँग पत्रमित्र गर्थें । जति वेला भौतिक दूरी भएका मानिससँग जोडिने माध्ययम पत्रचार थियो । हामी त्यति बेला अहिलेको जस्तो तीव्र विद्युतीय सञ्चार माध्ययममा जोडिएका थिएनौँ ।

मनको बह हातले लेखेर खामबन्दी गरी हुलाकको ढोकामा पुगेर चिठी पठाउनुपर्थ्यो । त्यसको जवाफ महिनौँपछि उसैगरी एउटा सानो लिप्टो कागजमा खामबन्दी भएर हाम्रो हातसम्म आइपुग्थ्यो – हुलाकीमार्फत । त्यो चिरप्रतीक्षाको मूल्य अहिले तीव्र रूपमा बत्तिँदै आउने विद्युतीय सूचनाभन्दा महत्त्वपूर्ण हुन्थ्यो ।

२०४७/४८ सालतिर हुनुपर्छ त्यस बेला चितवनका मेरा एक जना श्रद्धेय दाइ हुनुहुन्थ्यो मैले अत्यन्तै आदर सम्मान गर्ने ।

उहाँ नाम हो श्री विष्णुप्रसाद वाग्ले । चितवन भरतपुर -१० घर भएको ।

 

एउटा माध्यमिक विद्यालयका शिक्षक । उहाँले गर्नुभएको मप्रतिको सद्भाव र मायाँ कहिल्यै खुइलिएर गएन । उहाँले मेरो कोमल मस्तिष्कमा धेरै ऊर्जा र उमङ्ग भरिदिनुभयो – त्यो पनि पत्रमार्फत । यति बेला पत्र (चिठी) भनेको के हो ? त्यो युवापिँढीलाई थाहा पत्तो हुन्न । समय कति गतिशील ।

त्यति बेला हामी पत्रमित्र थियौँ । उहाँले मलाई जीवनको लय सिकाइदिनुभयो । समयको लहर पहिल्याइदिनुभयो । धेरै कुरामा मार्गदर्शन दिनुभयो – पत्रमार्फत ।

त्यस बेला आफ्नो रुचि र चाहनाका कुरा लेखेर डायरीका पन्ना भर्ने चलन थियो । मन पर्ने गीत, मन पर्ने ऋतु, मन पर्ने गायक / कलाकार……. के हुँदैन्थ्यो जो आफूलाई मन परेको होस् ।

जो सबै आफ्नो डायरीका पन्नामा खोज्दा भेटिन्थ्यो । त्यस क्रममा मैले पनि आफ्नो डायरीमा लेखेको थिएँ । आआफ्ना रुचि र चाहना आफ्ना साथीहरूलाई पठाउने चलन थियो । पठाउँथे । आफ्नो उमेर समुहका साथीहरूले त्यो सामान्य लिन्थे । त्यस बेला मैले आफूलाई मन परेको स्वरसम्राट् नारायण गोपालको गीत –

मेरो आँखालाई राख्ने फूलबारी छैन,

तिम्रो मुहारमा राखूँ कि,

मेरो बतासलाई बाँध्ने सुगन्ध छैन,

तिम्रो निःश्वासमा राखूँ कि ?

सम्भवतः त्यो गीत मैले धेरै मन पराउँथे र सुन्थेँ । रेडियो नेपालमा फर्माइस गरेर पठाउँथेँ । मेरो कर्णप्रिय गीत भनेर चिठीलेख्दा साथीभाइहरूलाई लेखिपठाउँथेँ । यस्तै-यस्तै रुचि र चाहनाको लामो लिस्ट मैले आदरणीय पत्रमित्र दाइ विष्णुप्रसाद वाग्लेलाई पठाएँ । जब दाइले पत्रको प्रत्युत्तर पत्र पठाउनुभयो । म छाँगाबाट खसेजस्तै भएँ ।

उहाँले लेख्नुभयो – “हेर तिमीलाई जुन कुरा आज मन परेका छन् ती अस्थायी मात्रै हुन् । जीवनको बाटो लामो छ । यो यात्रामा धेरै कुरा थपिँदै जान्छन् र कैयौँ कुराहरू छुट्दै जान्छन् । आज जुन कुरा र दर्शनले तिमीलाई छुन्छ, त्यो स्थायी हुन्छ भन्ने होइन ।”

उहाँले उदाहरण दिँदै लेख्नुभयो – आज तिम्रो आँखालाई राख्ने फूलबारी छैन भन्ने गीत मन पर्ने तिमीलाई, कुनै दिन-

माली गाईको दही,

नरोई बसे मेरी आमा फर्की आउँछु है ! भन्ने गीत पनि त मन पर्न सक्छ । त्यति बेला तिमी के गर्छौ ?

आखिर हो रहेछ । यी सब समयका चिन्तन र चरित्रले निर्धारण गर्ने विषय रहेछन् । चिठी पढेपछि ममा एक प्रकारको परिवर्तन देख्न थालेँ । निकै बेर गम्भीर र भावुक भएँ । आखिर हो रहेछ । सत्य पनि र परिवर्तनशील रहेछ ।

हामी अस्थिर छौँ

हाम्रो सोचाइ अस्थिर छ

हाम्रो बुझाइ अस्थिर छ

हाम्रो भोगाइ अस्थिर छ

हाम्रो धारणा अस्थिर छ ।

सायद त्यसैको परिणाम हुन सक्छ । आज एउटा कविताले मस्तिष्कका तारहरूमा भोल्टेज बढायो । मनमथिङ्गलमा तुलबुल मच्चायो । हामीले भ्रम र भ्रान्तिमै धेरै ‘भूल’ गर्‍यौँ । विवेक गुमायौँ । आवेगमा कति इतिहास जलायौँ र खरानीमा अस्तित्व खोज्यौँ ।

मानिस विचारको जड होइन । अहँ, हुँदै होइन स्थिर प्राणी । ऊ त चलायमान छ, गतिशील छ । चेतनावान् छ, चरित्रवान् छ, विवेकवान् छ, विचारवान् छ । हरेक हिसाबले मानिस गतिवान् छ ।

तसर्थ मानिसको गुदीमा अनेकौँ विचारहरूको खिचडी पाक्छ / पाकिरहन्छ । हामीले हिजो सोचेको सोचाइ र आज सोच्ने सोचाइमा व्यापक अन्तर आइरहन्छ । जीवनको भोगाइ र शिक्षा नै विशाल विश्वविद्यालय सावित हुँदो रहेछ । जहाँ हरेक घण्टा-घण्टामा फरक-फरक विषयको ज्ञान आर्जन भइरहन्छ । मानिस मात्रै यस्तो अजिब जीव हो, जो समय, काल र परिस्थितिमा पृथक् मोड र पृथक् धारणाको निर्माण गरिरहन्छ ।

चेतनाको गहिराइ अनन्त छ । म हरदम चेतनाको गहिराइमा चेतनास्थ हुन्छु । मलाई चेतनाको अनन्त गहिराइ मन पर्छ । म त्यहीँ ध्यानस्त हुन्छु निकै बेर । आफैँभित्र हराउनु, आफ्नै इन्द्रियलाई स्पर्श गर्नु जत्तिको आनन्द के होला ? आफैँभित्रको नीलगगनमा उन्मुक्त उडान भर्नुको मज्जालाई कुन खुसीले जोख्न सकिएला ! म कत्तिपटक आफैँभित्र हराउँछु र अथाह आनन्दको बोध गर्छु । हृदयबाट आउने तुष्टि संसारकै सबैभन्दा महत्त्वपूर्ण हुने रहेछ ।

हामी मानिसलाई किन सजिलोसँग बुझ्न सक्दैनौँ ? जो विशाल शब्दहरूबाट जानिन्न । ज्ञानका अर्थले बुझ्न र पढ्न सम्भव छैन । कुनै क्लिष्ट कविताले निर्माण गर्ने अथाह अर्थभन्दा मानिस बेग्लै छ ।

– मानिस स्वयं एक अमूर्त कविता हो । जो हम्मेसी नबुझिने होस् ।

मानिसमा बहुआयाम छ बहुधारणा छ,

बहुसोच छ, बहुचिन्तन छ, बहुचरित्र छ । एउटै चिन्तन र चरित्रले मानिस रत्तिभर टिक्न सक्दैन ।

मानिस परिवर्तनको संवाहक हो,

मानिस विचारको संवाहक हो,

मानिस विवेकको संवाहक हो,

मानिस विद्वत्ताको संवाहक हो,

मानिस विविधताको संवाहक हो ।

यत्ति हो मानिसलाई इतिहास पढ्ने छुट छ भने, इतिहास नपढ्ने पनि छुट छ । इतिहास विगतको पुस्तकालय हो । जसले अगाडि बढ्ने विराट् मार्ग देखाउँछ । भूलहरू, गल्तीहरू, दुःखहरू, पश्चात्तापहरू, पीडाहरू, भ्रमहरू बिर्सिदिने एउटा पाठशाला हो – इतिहास ।

इतिहासबाट धेरै कुरा सच्चिन, परिवर्तन हुन सक्छ । इतिहासको दुःख पढेर हामी वर्तमान र भविष्यलाई सुखैसुख बनाउन सक्छौँ । इतिहास कुनै पनि देशले पैसाले किन्न सक्ने विषय होइन – यो अमूल्य र अनमोल हुन्छ । अनुपम हुन्छ । दुःखको होस् वा सुखको । आँसुको होस् या हाँसोको । इतिहासको पनि आफ्नै इतिहास हुन्छ ।

इतिहास पूर्वजहरूको गौरव गाथा चिहाउने पाठशाला हो । इतिहास विगत चिहाउने आँखीझ्याल हो । जहाँबाट राम्रो नराम्रो दुवै हेर्न सकिन्छ ।

इतिहासलाई उदाङ्गो आँखाले हेर्ने एउटा शास्त्र पनि हो – इतिहास ।

मन न हो, कहिले कोमल कहिले दोमन भैदिन्छ । सधैँ एउटै रफ्तारमा चल्दैन । मनको आयतन संसारको कुनै यन्त्रले नाप्न र जाँच्न सक्दैन । सक्ने कुरा पनि भएन । कहिले खुम्चिन्छ र कहिले फैलिएर विशाल हुन्छ । तसर्थ मनमा कहिले कुन कुरा खेल्छ र कुन कुरा मनबाट चल्छ भन्ने हेक्का हुन्न । तब त गरे होलान् कवि हरिभक्तले मरेका दिनहरूको इतिहास नपढ्ने उद्घोष ।

मन किमार्थ दोमन गर्नु हुन्न । कहिले कहिले भन्दाभन्दै पनि मन भैदिन्छ दोमन । कविहरूको मन झन् चञ्चल हुन्छ । स्मृतिमा एकाएक महाकवि लक्ष्मीप्रसाद देवकोटा आउँछन् । देवकोटाले पागल कवितामार्फत उसै यस्तो लेखेनन् होला !

पागल

जरुर साथी म पागल !

यस्तै छ मेरो हाल

म शब्दलाई देख्दछु

दृश्यलाई सुन्दछु

बास्नालाई स्वाद लिन्छु

आकाशभन्दा पातला कुरालाई छुन्छु

ती कुरा,

जसको अस्तित्व लोक मान्दैन

जसको आकार संसार जान्दैन

म देख्दछु, ढुङ्गालाई फूल !

८८

 

स्वयं जीवनभर नास्तिक देवकोटा पनि जीवनको उत्तरार्धमा भैदिए आस्तिक ! जीवनभर नास्तिक भएर लेखेका देवकोटा पनि मृत्युको लडाइँ लड्दै गर्दा आस्तिक मन जाग्यो र लेखिदिएछन् – आस्तिकभावले झरझराउँदो कविता-

शून्यमा शून्यसरी बिलाएँ

 

रहेछ संसार निशासमान

आएन ज्यूँदै रहँदा नि ज्ञान ।।

आखिर श्रीकृष्ण रहेछ एक

न भक्ति भो ज्ञान न भो विवेक ।।

मानिस जब शून्यमा शून्यसरि बिलाउँछु भन्नेमा पुग्छ । तत्क्षण भावनाका लहरमा बग्न थाल्छ । अनि जीवनको लयमा हुन्छ पृथक् !

म पलपल देवकोटाको जीवनलाई गहिरोसँग पढ्छु र सोच्छु – देवकोटा किन आफ्नै दर्शनसँग भैदिए तरल ? सोचेँ जीवन तलाउ होइन रहेछ । जीवन त नदी रहेछ नदी । …बगिरनुपर्ने ! …बगिरहनुपर्ने !

मानिस आस्तिक-आस्तिक भएर बाँच्न पनि गाह्रो छ । मानिस नास्तिक-नास्तिक भएर पनि बाँच्न गाह्रो छ । सत्यलाई ‘सत्य’ हो भनी बुझ्न पनि परिवेश चाहिन्छ । झुटोलाई ‘झुटो’ हो भनी बुझ्न पनि परिवेश चाहिन्छ । सत्य पनि सबै कोणबाट सत्य नै देखिन्छ भन्ने हुन्न । झुटो पनि सबै कोणबाट झुटो नै देखिन्छ भन्ने छैन ।

 

संसारका सबै दर्शन सही भन्ने हुँदैनन् ।

संसारका सबै विचार सत्य भन्ने हुँदैनन् ।

संसारका सबै वाद ठिक भन्ने पनि हुँदैनन् ।

सत्यको पनि रूप फरक हुन्छ ।

असत्यको पनि स्वरूप फरक हुन्छ ।

धेरै विचारहरूको, वादहरूको, सिद्धान्तहरूको, चेतनाहरूको पुञ्ज हो मानवजीवन ।

अथाह विचार, वाद, सिद्धान्त र चेतनाले सुसोभित नगरी मानवजीवनले पूणर्त्व पाउँदैन । यो पढ्ने त्यो नपढ्ने भन्ने हुन्न । पढ्दै जाँदा धेरै कुरा पढिन्छ र पढ्नुपर्छ । पढेका सबै कुरा ग्रहणयोग्य हुँदैनन् र ग्रहणयोग्य कुरा मात्रै पढ्न सम्भव पनि हुन्न ।

यसर्थ संसारका सबै विषय पठनीय हुन्छन् । पढ्नुपर्छ, बुझ्नुपर्छ । सायद कुनै मोडमा ती कुराप्रति खेद उत्पन्न हुनु स्वाभाविक हो । ममा पनि त्यो कुनै समय भयो, हुनुपर्छ ।

ढुङ्गा यति बेला देवता बन्छ – जुन ढुङ्गाले छिनो र हतौडाको हजारौँ चोट सहन्छ । हजारौँ चोट सहने ढुङ्गा नै देवता बन्ने हो । निर्जीव देवताले पनि मूर्तरूप पाउन असङ्ख्य चोट सहन सक्नुपर्छ । हाम्रो जीवन पनि त्यस्तै हो । जसरी ढाँडको ढुङ्गाले पनि छिनोको चोट सहन सके मात्रै मन्दिरमा पुजिन पाउने हो । बिचैमा फुटे वा चोइटिए उही ढाँडकै बास हुने त हो । अब भन्नुस् हामी हजार चोट सहेर मन्दिरको मूर्ति बन्ने कि, चोइटिने फुट्ने ढुङ्गाको सामान्य अस्तित्व ….?

उमेरको लयसँगै हाम्रा धेरै कुराहरू परिवर्तन हुन्छन् । मैले यी उमेरका वर्षहरूबाट धेरै पाठ सिकेको छु । हामीले हमेसा आफ्नो चेतनालाई तरल बनाउनुपर्छ । जम्न दिनु हुन्न । समयलाई बुझ्न हाम्रो इन्द्रियका सबै झ्यालढोका खुल्लै राख्नुपर्छ । पुस्तक पढ्नु वा विश्वविद्यालयका कोर्समा राखिएका पाठ्यक्रम मात्रै पनि हाम्रा ज्ञानका भण्डार होइनन् । हामीले भोगेको समयका आरोहअवरोह । हामीले अनुभूत गरेको समयको जयपराजय, गन्धसुगन्ध ! जीवनको एउटा विशिष्ट पाटा हुन् । जहाँबाट हामीले सिङ्गो मानवसभ्यता चिहाउन सक्दो रहेछौँ ।

मैले धेरैचोटि खोलाका बगरमा गाईवस्तु चराउँदा नदीको अविरल प्रवाहबाट निरन्तरताको पाठ सिकेको छु । बगैँचामा बस्दा फूलको सौन्दर्यबाट शान्तिको गहिरो अनुभूति प्राप्त गरेको छु । पुतलीहरूको हुल हेरेर एकता र मित्रताको शिक्षा लिएको छु । कमिलाको ताँती हेरेर कर्मशीलताको सार्थक अभ्यास बुझेको छु । खुला आकाशमा उडेका चराहरू हेरेर उनीहरूको पखेटाप्रतिको गहिरो आत्म विश्वास बुझेको छु ।

सिक्ने कुरा पढ्नेहरूले मात्रै जान्दछ्न भन्ने हुन्न । सिकाइ ‘पढेर मात्रै होइन, परेर पनि अनुभूत गर्न सकिन्छ ।’ जो हामीलाई समाजबाट अनुभूत गरिरहेकोका छौँ ।

म हजारौँपटक रिँगिएको छु विषयसँग, भावसँग, वस्तुसँग, विम्बसँग, विचारसँग, सुखसँग, दुःखसँग…….!

 

“………! खै के लेखिदिऊँ कतिपय खाली-खाली ठाउँहरूमा म आफैँ निरुत्तर हुन्छु । म आफैँ शून्य शून्य र निःशब्द निःशब्द हुन्छु । लेख्दै गरेका अक्षरहरूले मलाई गिज्याउँछन् र भन्छन् तँ शून्य शून्य छस् ।

जीवनका आफ्नै कैयौँ पृष्ठहरूसँग । मैले हिँडेको गन्तव्यसँग । मैले हेरेको दृश्यसँग ….! जीवनमा हिँडिरहँदा कतिपटक आफैँ हराएको छु । कतिपटक हिँडिरहेको बाटो नै हराएको छ । बाटो हराउँदै गर्दा पनि पुनः बाटाको खोजी गर्नु पो जीवन रहेछ, भन्ने बोध हुन्छ ।

मैले बोकेको विचार कति ठाँउमा गलत भयो होला ! मैले हेरेको सत्य कति ठाँउमा असत्य थियो होला । मैले ठानेको आदर्श कति ठाँउमा अनर्थ भयो होला ! यत्ति हो हामी हजार ठाँउमा उत्तीर्ण हुँदै आउँछौँ । हजार ठाँउमा अनुत्तीर्ण हुँदै आउँछौँ । त्यो पनि समयले मात्रै पर्गेल्न सक्छ । मै हुँ भन्ने कोही नहुने रहेछ ।

यति बेला मलाई सत्यभन्दा टाढा रहनु छैन । म यथार्थ र सत्यको खोजी गर्न मन पराउँछु । सत्य निर्विकल्प छ । सत्य शाश्वत र एउटै छ । असत्य असङ्ख्य हुन्छन् । सत्य जीवनको ब्रह्माश्त्र पनि हो । सत्यवादी जीवन कदापि हार्दैन । सत्यको जीत सुनिश्चित छ । म सधैँ सत्यको साधना गर्न सकूँ । सत्यको आरधना गर्न सकूँ ।

जीवन त नदीजस्तै होस् । यात्राका अनेकौँ किनारहरूमा जीव र जीवनलाई प्यास मेटाउँदै समुद्र चुम्न पाइयोस् । मलाई लाग्छ, नदी र जीवन उस्तै-उस्तै हुन् ! सरल रेखामा बग्दैनन् तर अविरल बग्छन् । बगिरहनु, गतिशील हुनु र सङ्लो हुनु जीवन र पानी दुवैको समान धर्म हो ।

मैले धेरै चोटी आफ्ना भूलहरूको समीक्षा गरेको छु । धेरैचोटि नदीझैँ बगेर आफैँलाई शुद्ध बनाउने कोसिस गरेको छु । सधैँ पानीझैँ गतिशील बन्ने हो भने हामी आफैँ शुद्ध बन्न सक्छौँ । बग्नु भनेको नजम्नु हो । नजम्नु भनेको गतिशील हुनु हो । गतिशील हुनुभनेको लक्षमा पुग्ने प्रयासमा लाग्नु हो । धेरै पटक मनलाई भत्काउनुपर्छ । धेरैपटक विचारलाई साँध लगाउनुपर्छ । धेरैपटक विवेकलाई चम्काउनुपर्छ । धेरैपटक …….! जीवनको लक्ष चुम्ने कुरामा साधना चाहिन्छ । साधना भएन भने हामी कहीँ पनि पुग्न सक्दैनौँ । पोखरीको पानीझैँ जम्नु हुँदैन ।

यस्ता धेरैपटक गर्नुपर्ने धेरै कर्महरू छन् । कहिले-कहिले मनलाई खण्डहर बनाउन सक्नुपर्छ । अहङ्कारको उचाइ चुलिनुभन्दा भत्काउनु नै जाति हुन्छ । भ्रम र भ्रान्तिबाट जोगिन पनि गतिशीलता महत्त्वपूर्ण हुन्छ ।

हामीले दृष्टिपात गर्ने एउटा कोण मात्रै हो । हाम्रो दृष्टिकोण नै सर्वस्वीकार्य हुन्छ भन्ने हुँदैन । कुनै समय आफैँले हेरेको दृश्यमा पनि हामीलाई भ्रम हुन जान्छ । मानिसले कुन समय, कुन परिस्थिति र अवस्थामा के निर्णय लिन्छ भन्ने हेक्का स्वयंमा अज्ञात हुन्छ । कतिपय हाम्रो निर्णय मस्तिष्कबाट नभएर परिस्थितिले निर्धारण गर्छन् ।

मानिस भ्रम र भ्रान्तिको चक्रव्यूहमा धेरैचोटि फस्छ । हाम्रो निधारभित्रको कराइमा सधैँ उम्लिरहेको हुन्छ खिचडी । पाकी रहन्छ कैयौँ-कैयौँ विषय ! अविरल चलिरहन्छ चेतनाको भट्टी ।

लाग्छ, मानिस यस्तो प्राणी हो । जो सधैँ विचारको नदीमा पौडी खेलिरहन्छ । सौन्दर्यको भट्टीमा खारिइरहन्छ । दुःखको गोरेटोमा दौडिरहन्छ । मानिस जीवनभर विचारबाट मुक्त हुन सक्दैन । विषयहरूबाट फुकुवा वा स्वतन्त्र बन्न सक्दैन ।

रातमा निदाउँछ । निद्रामा पनि विचारहरू सपना भएर तैरिरहेका हुन्छन् । भावी योजनाहरू पौडी खेलिरहेका हुन्छन् । रातमा विचारकै सिरानी हालेर सुत्नुपर्छ । दिनमा विचारकै भारी बोकेर संसार चहार्नुपर्छ ।

होसमा आउँछन् विचारहरू । बेहोसीमा आउँछन् विचारहरू, अमूर्त भएर मूर्त बन्छन् विचारहरू …! विचारको आगाझैँ निर्बाध बलिरहन्छ । विचारको आगमन मानिसको जीवनमा वर्जित छैनन् । हाम्रा हरेक सोचाइ स्वतः छन् र हुनेछन् ।

जीवन जिउने मेसोमा हाम्रा इच्छाहरू, आकाङ्क्षाहरू, चाहनाहरू, विचारहरू र चेतनाहरूको झ्याङ निकै लहराउने रहेछ । फैलिने र फराकिलो बन्दै जाने रहेछ । जीवन गणितको सूत्रझैँ एउटै ‘फर्म्याट’मा जोडन, घटाउन, वा भाग लगाउन सकिने विषय होइन । यसले रूपमा फरक पाएजस्तै आआफ्ना जियाइमा पनि देखाइदिन्छ पृथक् ! कहिले मनले भनेको मान्नुपर्छ । कहिले तनले सोचेको मान्नुपर्छ ।

मानिस विचारको जड होइन । उसको चेतनामा सधैँ परिवर्तन र रूपान्तरणको कोसी उर्लिरहेको हुन्छ । हजारौँ अनुभव र अनुभूतिको सगरमाथा चुलिरहेको हुन्छ । ठान्छु, हमेसा परिवर्तन भइरहनुपर्छ मानिसको चेतना । बगिरहनुपर्छ कर्णालीझैँ सयौँ माइलको यात्रा । जो समयको प्रवाहमा प्रवाहित हुन सक्दैन, जो समयको गतिसँगै हिउँझैँ पग्लन सक्दैन त्यो जड हो । जीवनलाई ‘जड’ बनाउनु हुन्न भन्ने लाग्छ ।

सोच्छु – जर्मन दार्शनिक फ्रेडरिक विल्हेम नित्सेलाई । नित्सेले ‘ईश्वरको मृत्युको घोषणा गर्दा स्वयं नित्सेमा पनि ईश्वरको अस्तित्व जीवित थियो । विचारको अन्तर्द्वन्द्वमा ‘ईश्वर’ नित्सेको मस्तिष्कमा पराजित बन्यो र उनले ईश्वर मरेको घोषणा गरे । जसले विश्वमा एउटा तरङ्ग पैदा गर्‍यो । मानिसका मस्तिष्कबाट ईश्वर डेरा सरे ।

हामी आज पनि हृदयमा ईश्वरको अस्तित्व बोकेर हिँडिरहेका छौँ । यो ब्रह्माण्डको सबैभन्दा ठूलो भ्रम ईश्वर हो या विचार ? म उत्तर खोजिरहेको छु । निरन्तर खोजीमा छु ।

तसर्थ हमेसा मन निर्वर्जित छ ।