
ढाकामोहन बराल
पोखरा ७, मासबार,
कास्की
१. उडेका मौरी

ढाका मोहन बराल
भूपालको गाउँ हल्का भिरालो पाखामा अति नै सुन्दर थियो । उत्तरतर्फ खुलेका सेता हिमाल टल्कन्थे भने पश्चिम तर्फको डाँडामा गाउँको सामुदायिक वन थियो, जसले पशुपालन गर्न गाउँले सबैलाई सजिलो बनाएको थियो । गाउँको पुछारबाट विशाल खेतको फाँट सुरु हुन्थ्यो, जसको उत्पादनले भूपाल र उसका गाउँलेहरुलाई कहिले पनि खाद्यान्नको अभाव हुन दिएन । त्यसमाथि खेतको अर्को छेउबाट राजमार्ग खुलेपछि त अझ गाउँ अति नै स्वर्ग भएको थियो । पाखो बारीको कागतीदेखि खेतको तरकारी सबैलाई बजार पहुँच पुगेको थियो । भूपाललाई मौरी पाल्न मन लाग्यो र सुरु गर्यो, जुन निकै फलदायक पनि भयो सबैले उसैको देखासिकी गरे र सबै गाउँलेको जीवन अझ सरल हुँदै जान थाल्यो । दैनिक राजमार्गमा आवत जावत गर्ने मानिसहरुबाट यो ठाउँमा आएपछि आहा भन्ने शब्द निस्कन्थ्यो । बिस्तारै यस ठाउँमा जग्गा व्यापारीहरुको आँखा पर्न थाल्यो । बिस्तारै जग्गाहरु बिक्री हुन थाले । खेत तथा पाखो बारीका जग्गाहरु तारबारले घेरिन थाल्यो । सामुदायिक वन संरक्षणको चासोसमेत घट्न थाल्यो । व्यापारीले ओगटेका जग्गाहरु सबै बाँझो हुन थाले । सफा बनाउन र झाडी पन्छाउन व्यापारीहरु आकलझुक्कल आउने गर्दथे । उनीहरुले सजिलोका लागि आफ्नो जग्गामा घाँस मार्ने औषधि छर्न थाले । जसले गर्दा मौरीहरुको चरणमा समस्या पर्न थाल्यो । एकएक गर्दै मौरीहरु सरेर जान थाले जसरी भूपालका गाउँलेहरुले स्वर्गजस्तो गाउँ छोडेर सहरतर्फ गएका थिए । एक दिन पिँढीमा बसेर भूपाल मौरीको घारहरुतर्फ हेर्दै अब कहिले काढ्न सुरु गर्ने हो भन्ने विचार गर्दै थियो । उसको घारहरुका मौरीहरु बिस्तारै उडेर जान थाले, जसरी भूपालका गाउँले र उनीहरुका मौरीहरु गएका थिए । ऊ उडेर गएका मौरीहरु कहिले पिँढीमा कहिले आँगनको डिलमा बसेर हेरिरहन्छ ।
२. राजमार्ग
लिना र अनुप आफ्नै कारमा काठमाडौँ फर्कदै थिए । भोलिपल्ट आइतबार पनि अनुपको कार्यालयमा बिदा नै हुने भएका कारण उनीहरुलाई त्यति हतार पनि थिएन । आफ्नो कारमा तराईको दायाँबायाँको जङ्गल हेर्दै महेन्द्र राजमार्गमा हुइँकिनुको छुट्टै मजा हुन्छ । आवश्यकताअनुसार उनीहरु कहिले रोक्दै बाहिरको दृश्य हेर्दै रमाइलो गर्दै अगाडि बढे । नारायणगढमा तासको स्वाद लिएपछि उनीहरु त्यहाँबाट मुग्लिनतर्फ लागे । करिब आधा घण्टामात्र गुडेका के थिए, बाटोमा जाम सुरु भइहाल्यो । अनुपले कारको झ्यालबाट टाउको निकालेर साँघुरो बाटोमा विपरीत दिशाबाट हाँसको गतिमा ढलपल गर्दै आइरहेको ट्रकको ड्राइभरसँग सोधे, “अगाडि के भएको रहेछ गुरुजी ?”
उसले पनि ट्रकबाट टाउको निकालेर भन्यो, “पर पुलको मुखमा इन्डियन ट्रक बिग्रेछ मुस्किलले एउटा गाडी पास हुन्छ । वन वे गरिराछ । जाम त लामो छ । ढुक्कले बसे हुन्छ ।”
पालैपालो बाटो खुलाएका कारण उनीहरु एक छिन अगाडि बढ्थे अनि एकै छिनमा फेरि रोकिन्थे ।
“यसो काठमाडौँ छोडेर यताउति जाउँ भन्यो सधैँ यस्तै हुन्छ भन्या ! कति हैरान हो ? सबै ठाउँमा नभए पनि कमसेकम पुलको मुखमा त अलि चाक्लो पार्नु नि !” लिनाले सरकारलाई सुझाव दिइन् तर सुन्ने उनको श्रीमान् अनुप मात्र थिए ।
लामो समय कारमा बस्दाबस्दा नियास्रो लागेर एक हातमा मोबाइल र अर्को हातले जुसको बोतल समाउँदै लिना कारबाट झरिन् । यतापट्टिको पालो आउन अझै दस मिनेट लाग्ने अनुमान गरेर अनुप पनि कारको ढोका खोल्दै उनको पछि लागे ।
एक घुट्को जुस पिएर उनले त्रिशूली पारिको भिरालो डाँडामा बसेको सानो बस्तीतिर हेर्दै भनिन्, “ओहो, त्यस्तो भिरालो ठाउँमा पनि किन घर बनाएर बसेका होलान् ?”
अघिदेखि उनीहरुको कुरा सुनिरहेका सडक विभागका कामदारले लगाउने पहेँलो हाफ ज्याकेट लगाएर सडक छेउको नालामा उम्रेको झाडी सफा गरिरहेका शान्तबहादुर गाहा दाइले पुलुक्क उनीहरुतर्फ हेरेर पारिको बस्ती देखाउँदै भने, “बीचको अलकत्राको ड्रम सोझ्याएर छानो बनाएको मेरो घर हो हजुर । के गर्नु, आफ्नो जग्गा जहाँ छ त्यहीँ घर बनाउन पर्ने । त्यसो त मलाई पनि वालुवाटार वरिपरि नै घर बनाउन मन थियो नि !”
३. हात सफा
नयाँ संविधानको कार्यान्वयनसँगै राष्ट्र नयाँ संरचनामा गयो । स्थानीय निकायहरुका अधिकार र कर्तव्यहरुलाई संविधानमार्फत नै सम्बोधन हुन थाल्यो । स्थानीय स्तरमा पनि केही उत्साह थपिँदै गयो । यसैक्रममा चुनावको माहोल आयो । राजनैतिक पार्टी भित्र र बाहिर जताजतै रस्साकसी चल्न थाल्यो । अनेक जोरजुलमका साथ पार्टीबाट उम्मेदवारी पाउन सफल भएका गोपालले स्थानीय स्तरको चुनावमा सफलता हासिल गरेर मेयरसमेत चुनिन सफल भए । जनताको बढ्दो आकांक्षालाई पूरा गर्नु परिरहेको छ । स्थानीय निकायमा स्वयं व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको अभ्यास गर्ने कल्पना कानुनमा गरिएको छ । भौतिक संरचना निर्माण गर्न बजेट व्यवस्थापन गर्न र बाँडफाँडको चुनौती थियो । स्थानीय निकायका अधिकारको बारेमा संविधानको पुछारमा अनुसूचीमा नै उल्लेख गरिएको छ । तर गोपाललाई भने एउटै चिन्ताले सताइरहेको हुन्थ्यो । सवारी साधनको चालक अनुमतिपत्र त उनीसँग पुरानै थियो तर चलाउन पाएका थिएनन् । उनलाई लाग्यो– अब त मेयर पनि भइयो नगरपालिकाको बजेट पनि राम्रो छ । अन्य कुरा छोडेर भए पनि सवारी साधन खरिद प्रक्रिया अगाडि बढाउनु प-यो ।”
हिजोआज उनी नगरक्षेत्रका खाल्टाखुल्टी भएका, कच्ची, साँघुरा र धुलौटे सडकहरुमा चालकलाई छेउमा राखेर हात सफा गरिरहेका देखिन्छन् ।
४. बुद्धिजीवी
हरिप्रसाद सानैदेखि पढ्नमा तेज दिमाग भएका थिए । पढाउन उनको सानै देखिको सोख भएको कारण एस.एल.सी. दिएर बसेको समयमा पनि आफूले पढेको विद्यालयमा पढाएर बसे । गुरुहरुलाई घाम तापेर गफ गर्न पाएपछि त मख्ख हुने नै भए । गाउँघरमा पनि सबै जना आफ्ना छोराछोरीहरुलाई हरिप्रसाद जस्तै विद्वान र बुद्धिजीवी जस्तै हुनु पर्दछ भन्ने सम्झाउँथे । पढाइमा तेज उनको पढाइ विद्यावारिधिसम्म कुनै अवरोध बिना अगाडि बढ्यो । पढाउनमा सौखिन उनले पेशा पनि शिक्षण नै रोजे र आधारभूत तहदेखि उच्च शिक्षासम्म उनले नपढाएको कुनै तह बाँकी छैन ।
आज शिक्षण पेशादेखि लिएर विभिन्न पेशाकर्मीहरु जो निजामति सेवा तथा अन्य सेवामा समेत कार्यरत छन्, अझ कुनै कुनै त विभिन्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुमा काम गरिरहेका मानिसहरु जम्मा भइरहेका छन् । जसलाई हिजोआज बुद्धिजीवी भन्ने गरिन्छ । एक ठाउँमा भेला भएका छन्, कसैको आगमन हुने प्रतीक्षामा । हलभरि एकआपसमा भलाकुसारी र गफगाफले बाँसघारीमा साँझ कागहरु बास बस्न आउँदा हुने हल्लाको जस्तो वातावरण छ । एक छिनमा हलमा नेताजीको आगमन हुन्छ । आज पार्टी समर्थक बुद्धिजीवीहरुको भेला आयोजना गरिएको छ, जसलाई नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको जानकारी र निम्तो हरिप्रसादलाई समेत भएको कारण उनी पनि उपस्थित भएका छन् । नेताजीको अगाडि एक जना युवा कार्यकर्ता देखा पर्दछन् भने पछाडि दुईजना विद्यार्थी कार्यकर्ता देखिन्छन् । हरिप्रसाद उनीहरुलाई नियालेर हेरिरहन्छन् उनीहरुमध्ये दुईजना उनले पढाइरहेको कक्षामा उनीहरुले भनेबमोजिम कक्षा बन्द नगरेको कारण तोडफोड गरेका थिए जसमा उनलाई समेत अभद्र व्यवहार गरेका थिए अन्य एक जनाले बाटोमा रक्सीको तालमा उनलाई अमानवीय व्यवहार देखाएको थियो । उनीहरु मध्यको एक जनाले आजको कार्यक्रम सञ्चालन गर्न थाल्दछ । कार्यक्रम सञ्चालनको क्रममा नै उसले पार्टीको कार्यक्रमहरुका बुद्धिजीवीहरुको सहयोग कम भएको गुनासो ग-यो ।
एक छिनपछि नेताज्यूको सम्बोधन सुरु भयो । सबै क्षेत्रका विद्वानहरु जम्मा भएको भेलामा उनले उनीहरुलाई करिब डेढ घण्टा पढाइरहे सिकाइरहे । युवा जागरुप कार्यकर्ताको बीचमा बसेर उनले विज्ञान देखि भूगोलसम्म, समाज विज्ञानदेखि अर्थशास्त्रसम्म र अन्तर्राष्ट्रिय सम्बन्धदेखि आतंकवादसम्म सबै क्षेत्रको ज्ञान बाँडे । हरिप्रसाद लगायत हलमा भएका सम्पूर्ण बुद्धिजीवीहरु एकाग्रह भएर सुनिरहे । उनीहरुको मनमा यौटै चिन्ता थियो नेताको नजरमा आफू परियो वा परिएन ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

