ओशोको जन्म सन् १९३१, डिसेम्बर ११ मा भएको हो । उनी आफ्नो समयका चर्चित दार्शनिक हुन् । त्यो भन्दा पनि उनी सबैभन्दा ठूला पाठक ठहरिन्छन्, यस अर्थमा कि उनले आफ्नो जीवनकालभरि एक लाख भन्दा बढी पुस्तक पढेको दाबी गर्थे । र, उनले प्रवचन दिन बाँकी एकदमै कम विषय रहे । उनी विश्वभर जहाँ जहाँ गए, त्यहाँ त्यहाँ पूर्वीय दर्शनका बारेमा व्यापक प्रचार गरे । र, उनका केही विचार यस्ता थिए, जसले संसार चकित थियो । उनका त्यस्ता केही क्रान्तिकारी तर व्यावहारिक विचार वा सोच नपचाएर केही देश मूलतः पश्चिमा देशले उनीमाथि विविध अभियोग, आरोप, आलोचना गरी देश निकाला गरे । सन १९९०, जनवरी १९ मा उनको निधन भयो । तर उनको विचार वा दर्शन मरेन । आज संसारभर सबैभन्दा धेरै पढिने दार्शनिक उनै हुन् । उनले दिएका प्रवचनहरू पुस्तकका रूपमा प्रकाशित छन् । तीनै मध्येको एक पुस्तक ‘कम्युनिजम एन्ड जेन फायर, जेन वाइन्ड’ मा समावेस गरिएको एउटा महत्त्वपूर्ण प्रवचन मैले अनुवाद गरेको छु ।

 

मित्रहरु,
आज यहाँ सोभियत कमरेडहरूको एउटा समूह छ । तिनीहरूसँग केही सुन्दर र सरल प्रश्नहरू छन् । म ती प्रश्नको उत्तर दिन गैरहेको छु ।

पहिलो प्रश्नः
गोर्बाचेभलाई भनेर तपाईंले एउटा पुस्तक समर्पित गर्नुभएको छ । अझै पनि तपाईं राजनीतिज्ञको विरुद्धमा हुनुहुन्छ, के यो विरोधाभाष भएन ?

विज्ञान राज

सम्पूर्णतया होइन किनभने गोर्बाचेभ राजनीतिज्ञ होइनन् । उनका प्रत्येक कार्यले के प्रमाणित गर्छ भने उनी राजनीतिमा लागेका मानिस हुन् तर उनी राजनीतिज्ञ होइनन् । गोर्बाचेभलाई (र वैज्ञानिक सखारभलाई ) मेरो समर्पित यही सानो कारणले हो कि उनी राजनीतिज्ञ होइनन् । उनी संसारमा शान्ति कायम राख्न अत्यन्तै इच्छुक छन् । उनी संसारमा मित्रताको लागि छन्, युद्धका लागि होइन ।

राजनीतिज्ञको मन जहिल्यै युद्धसँग सम्बन्धित हुन्छ । एडल्फ हिटलरले आफ्नो आत्मकथा ‘मेरो संघर्ष’मा राजनीतिज्ञले राजनीतिमा रहिरहन चाहने हो भने उसले आफ्नो शत्रु बनाई रहनु पर्ने हुन्छ भनेको छ । यदि त्यहाँ वास्तविक शत्रुहरू छैनन् भने, कल्पना गर कि कोही तिमीलाई आक्रमण गर्न गैरहेको छ, कि तिमी शत्रुहरू बाट घेरिएका छौ । अनि यसले मात्र तिमीलाई सत्तामा राख्छ । (तर यसले तिमीलाई कहिले पनि शान्तिमा राख्दैन ।)

र यो यथार्थ कुरो हो थाहा पाउन; तिम्रो सम्पूर्ण इतिहास नायकहरूले भरिएको छ, जो केही थिएनन् तर युद्ध पिपासुहरू थिए । जसले लाखौँ मान्छेको नरसंहार गरेका थिए । तिम्रो इतिहासले एउटा पनि त्यस्तो नाम समेटेको छैन, जसले शान्ति कायम गरेको थियो ।

मैले आफ्नो पुस्तक गहिरो प्रेमका साथ गोर्बाचेभ र सखार्भलाई सर्मपित गरेको छु किनभने तिनीहरु विश्व शान्तिको लागी काम गरिरहेका छन । यो एक राजनीतिज्ञको तरिका होईन, यो एक मानवीय तरिका हो । त्यो एक तरिका हो जसले मानवतालाई प्रेम गर्छ, जसले यो सुन्दर ग्रहलाई प्रेम गर्छ, र जसरी पनि यसलाई बचाउन चाहन्छ । र म जे भनिरहेको छु, उनका कामहरुले प्रमाणित गरेका छन ।

मैले आफ्नो पुस्तक गहिरो प्रेमका साथ गोर्बाचेभ र सखारभलाई सर्मपित गरेको छु किनभने तिनीहरूले विश्व शान्तिका लागि काम गरिरहेका छन् । यो एक राजनीतिज्ञको तरिका होइन, यो एक मानवीय तरिका हो । त्यो एक तरिका हो, जसले मानवतालाई प्रेम गर्छ, जसले यो सुन्दर ग्रहलाई प्रेम गर्छ, र जसरी पनि यसलाई बचाउन चाहन्छ । र म जे भनिरहेको छु, उनका कामहरूले प्रमाणित गरेका छन् ।

दोस्रो प्रश्नः
एकचोटि तपाईंले भाषणमा के भन्नु भएको थियो भने, लेनिन विवाहको विरुद्धमा छन् र परिवारलाई भत्काउन चाहन्छन् तर यथार्थमा त लेनिनले परिवार न्युक्लियस हो भन्दै जहिल्यै एङ्गेल्सलाई पछ्याएको देखिन्छ ।

न्युकिलिएस के को ? पुँजीवादी समाजको न्युकिलिएस !

आफ्नो आर्थीक संरचनाको विश्लेषणमा मार्क्स र एङ्गेल्स दुवै यस बारेमा एकदमै स्पष्ट छन्; परिवार निजी सम्पत्तिसहित अस्तित्ववान् हुन्छ । निजी सम्पत्ति भन्दा पहिले परिवार थिएन; त्यसैले यदि निजी सम्पत्ति भङ्ग भयो भने, विवाह स्वतः भङ्ग हुन्छ । यो तार्किक निष्कर्ष हो; लेनिन यसमा सहमत हुन् वा नहुन्, यसले केही अर्थ राख्दैन । एङ्गेल्स आफैँमा खण्डन गर्छन् ।

परिवार संगठित धर्महरूको न्युक्लियस भएको छ; सामन्ती र पुँजीपति समाजको न्युक्लियस भएको छ; शोषण र युद्धको न्युक्लियस भएको छ । त्यो न्युक्लियस पूर्ण रुपमा ध्वस्त पार्नु पर्छ । परिवार नमरी तिमीसँग वास्तविक मानवता हुँदैन ।

मैले भनेको छैन कि लेनिन विवाहको विरुद्धमा थिए । मैले के मात्र भनेको छु भने, यो मार्क्स र एङ्गेल्सद्वारा गरिएको समाजको विश्लेषणबाट आएको तार्किक निष्कर्ष हो । तिनीहरूले भने- परिवार निजी सम्पतिसहित अस्तित्ववान् रहन्छ । त्यो किन निजी सम्पतिसहित अस्तित्वमा आउँछ ? किनभने प्रत्येक बाबु चाहन्छ- आफ्नो सम्पूर्ण सम्पति आफ्नो छोराले पाओस् । त्यसैले उसले आफ्नो पत्नीको कुरुवा बस्नु पर्ने हुन्छ, ताकि उसकी पत्नी अरु कसैबाट पनि गर्भवती नहोस् ।

परिवार महिलाको निम्ति जेल बनेको छ । जस कारण बच्चा सोझै बाबुको छोरो हुन जान्छ । बाबुसँग अरु प्रमाण हुँदैन; आमालाई मात्र थाहा हुन्छ, यो बच्चाको बाबु को हो ! त्यसैले आमालाई पूर्णतया समाजबाट टाढा राखः न शिक्षा, न आर्थिक स्वतन्त्रता, न आर्थिक हैसियत । मोहमिदनको देशमा आमाले आफ्नो अनुहार पनि देखाउन पाउदिन । महिलालाई पूर्णरुपमा जेलमा राख — यो एक मात्र सुरक्षा छ तिमीसँग । तिम्रो छोरो तिम्रै छोरो हुनलाई, र सम्पूर्ण सम्पति जो तिमीले जम्मा गरेका छौ, त्यो तिम्रो छोराले बिना झन्झट पाउनलाई ।

तर कम्युनिस्ट देशमा, जब सम्पति निजी हुँदैन, त्यहाँ सुरक्षाका लागि कुनै परिवारको खाँचो पर्दैन । त्यो सम्पति सबैको साझा हुन जान्छ । उसो भए “मेरो छोरो मेरै हुनु पर्यो” भन्ने चिन्ता किन लिने ? मैले भनेकै थिएँ, यो नै तार्किक निष्कर्ष हो ।

मैले सम्पूर्ण कम्युनिस्ट साहित्य पढेको छु, जो मार्क्स, एङ्गेल्स, लेनिन, स्टालिनले लेखेका छन् । मैले ती सम्पूर्ण साहित्य पनि पढेको छु, जो साम्यवादको विरुद्धमा प्रकाशित भएका छन् । सोभियत कमरेडहरूले मेरो पुस्तकालय हेरुन् भन्ने चाहन्छु र तिनीहरूले त्यहाँ सम्पूर्ण कम्युनिस्ट र गैर कम्युनिस्ट साहित्य फेला पार्नेछन् ।

यो मेरो बुझाइ हो, कम्युनिस्ट समाजमा विवाह जीवित रहन सक्दैन । कम्युनले विवाहको ठाउँ लिनेछ र मैले कहीँ पढेको छु… किनभने विगत पन्ध्र वर्षदेखि म केही पढिरहेको छैन खासमा । मैले कहीँ पढेको छु कि सन् १९१७ मा जब रुसमा क्रान्ति भएको थियो, सुरुवातमा तिनीहरूले विवाहलाई भत्काउन, परिवारलाई भत्काउन तीन, चार, अथवा पाँच वर्ष कोसिस गरे तर तिनीहरूले थाहा पाए- यो त निकै कठिन रहेछ !

यो सबैभन्दा पुरानो संस्थाहरूमध्ये एक हो । भावनातात्मक रुपमा, वैचारिक रुपमा, मनोवैज्ञानिक रुपमा यसलाई भत्काउन निकै कठिन छ । एकदमै कठिन छ कि निजी स्वामित्व सहितको सम्पत्तिलाई भत्काउन र त्यसलाई सामुदायिक बनाउन गाह्रो छ । स्टालिनलाई कम्तिमा दस लाख मान्छे मार्नु परेको थियो, वर्गरहित समाज निर्माण गर्न ।

सम्पूर्ण विश्व रुसको विरुद्धमा थियो, जब ऊ आफ्नो क्रान्तिमा थियो । सम्पूर्ण विश्व साम्यवादलाई बर्बाद पार्न चाहन्थ्यो । यदि साम्यवाद सफल भयो भने अन्य राष्ट्रहरूका निम्ति खतरा साबित हुनसक्थ्यो; किनभने ती राष्ट्रमा गरिबहरू बढ्दै गैरहेका थिए र बराबर समानताका लागि आवाज उठाइरहेका थिए ।

तर तिनीहरूले परिवारलाई भत्काउन सकेनन् । तर मेरो बुझाइ छ- तिनीहरूले परिवारलाई भत्काएनन् किनभने तिनीहरूले स्वयं मार्क्स र एङ्गसलाई छल गरे । सोभियत युनियन अर्को वर्ग समाज हुन पुग्योः नोकरशाहहरू एउटा वर्ग र गैरनोकरशाह, जनताहरु अर्को वर्ग । नोकरशाहहरू जो कम्युनिस्ट हुन्, तिनीले पुँजीवादलाई विस्थापित गरे । सोभियत संघमा अहिले पनि वर्गविहीन छैन; यसले नयाँ वर्ग घर्षण पैदा गरिदिएको छ । जस कारणले अचेल परिवार साम्यवादको न्युक्लियस भैसकेको छ, जो विरोधाभाष हो ।

म आफ्नै बुद्धिलाई मान्छु, मेरो निष्कर्ष कसैसँग सम्झौतामा जानु पर्दैन । तर कोही बौद्धिक छ भने काफी छ उसलाई वास्तविक समस्या हेर्न र बुझ्न ।

तेस्रो प्रश्नः
यदि तपाई सोभियत संघमा जानुभयो भने तपाईं के गर्नु हुन्छ ?

क्रान्ति !
निकै समय भैसक्यो सोभियत संघले क्रान्ति देखेको । पक्का, मेरो क्रान्ति अध्यात्मिक हुनेछ । म चाहन्छु, सोभियत संघले आफ्नो प्रतिष्ठामा केही थपोस्ः त्यो हो ध्यान । आर्थिक समानताले मात्र पुग्दैन । आध्यात्मिक समानता पनि आवश्यक हुन्छ ।

म चाहन्छु सोभियत संघ धनी बनोस् — भौतिक रुपमा मात्र धनी होइन, चेतनामा, ज्योतिमा पनि धनी बनोस् । म चाहन्छु, सोभियत संघसँग सचेत मान्छेहरू जस्तै गौतम बुद्ध, लाओ त्जु अथवा छुङ्ग त्जु पनि होऊन् ।
म सोभियत संघलाई तिनीहरूसँग परिचय गराउन चाहन्छु । त्यो नै मेरो क्रान्ति हो ।

युरोपका एक जना चर्चित आध्यात्मिक र चर्चित तान्त्रिक जादुगर फ्रान्सिस इज्राइल रिगार्दीले आफ्नो देहान्तअघि भनेका छन्ः “पुर्नजन्मको सवालमा यदि मैले कुन रुपमा फर्किने भनेर रोज्न पाएको भए, रोज्ने थिएँ कि म रजनिस नहुन्जेल ठूलो कार्य गरिरहन चाहन्छु ।”

आज मात्र मैले उसको पुस्तक पाएँ र मैले विश्वास नै गर्न सकिनँ कि कुन तरिकाको आध्यात्मिक हो यो साथी, फ्रान्सिस इज्राइल रिगार्दी ।

अध्यात्मिक मान्छेले, सुरुमै थाहा पाएको हुन्छ कि ऊ पुनः जन्मिने छैन । यदि ऊ त्यो बिन्दुमा आउँदैन भने, आफूलाई आध्यात्मिक भन्ने उसलाई कुनै अधिकार छैन । जो मान्छेले आफ्नो आध्यात्म थाहा पाएको हुन्छ, कुनै प्रकारको पुनर्जन्ममा पनि उसलाई कुनै वस्तुमा फर्किन आवश्यक पर्दैन । वस्तुमा कैद त्यो बिन्दुसम्म मात्र हुन्छ, जब तिमी बुद्ध बन्छौ । जब तिमी बुद्ध बन्छौ, तिमीले ती सब पढ्छौ, जो जिन्दगीले तिमीलाई पढाउँछौ र तिमीले बाहिरी संसार मात्र पढ्दैनौ, भित्री संसार पनि पढ्छौ । अनि त्यहाँ केही पनि बाँकी रहँदैन ।

गौतम बुद्धलाई के भयो ? उनी सजिलै युनिभर्सल जीवनमा, बाहिरी जीवनमा बिलाए । उनी कुनै वस्तुमा पनि फेरि फर्केर पृथ्वीमा आएनन् ।

यो फ्रान्सिस इज्राइल रिगार्दी भन्ने मान्छेलाई अध्यात्मको बारेमा केही पनि थाहा छैन । तर पश्चिममा मान्छेहरूलाई बेकुप बनाउन धेरै सजिलो छ किनभने तिनीहरू भित्री संसारको बारेमा केही पनि बुझ्दैनन् । त्यसैले जो सुकै गधाले तन्त्रमन्त्र, रहस्य र अध्यात्मजस्ता ठूलाठूला शब्दले जसलाई नभोगिकनै, मान्छेलाई धोका दिन सक्छ ।

किनभने यो मान्छे वास्तवमै अध्यात्मिक हो भने, उसले पुनर्जन्मको कुरो नगर्नु पर्थ्यो तर ऊसँग अवस्था पनि छः “म निरन्तर काम गर्न चाहन्छु जब म रजनीश बन्दिनँ ।” म जीवित छु, ऊ पनि जीवित छ, ऊ यहाँ आउनु पर्यो । यहाँ आउन साहस र आँट नभएर ऊ सोचिरहेको छ कि मृत्युपश्चात रजनीश बन्ने भनेर — यदि त्यहाँ पुनर्जन्म भए । यो त अत्ति भो !

उसले यहा आउन पर्यो । दिनदिनै निरन्तर हजारौँ मान्छेहरू आउँछन् जान्छन् । म कुनै नेता होइन र म पुजारी होइन र म कुनै दर्शन पढाइरहेको छैन । म सामान्यतः उनीहरूलाई आफूभित्र चिहाउन सघाइरहेको छु — कसरी आफ्नो आँखा अन्तसतिर घुमाउने ताकि तिमी आफैँलाई देख्न सक । एक पटक तिमीले देख्यौ भने, तिमी बुद्ध हौ ।

अनि बुझिन्छ, त्यहाँ जन्म छैन, मृत्यु छैन । तिमी जन्ममृत्युको वृत्तभन्दा पर पुग्छौ ।

म मेरा सोभियत साथीहरूलाई मात्र अध्यात्म, मात्र धर्मरहित पढाउन चाहन्छु ।

सोभियत संघमा पहिले नै भूमिगत करिब तीन सय संन्यासीहरू छन् किनभने म अमेरिकामा थिएँ । केजिबीले सोचेको रहेछ, म अमेरिकी एजेन्ट हुँ । सोभियत संघमा तिनीहरूले मेरा मान्छेलाई सताएका रहेछन्; तिनीहरूले मेरा पुस्तक जलाएछन्; तिनीहरूले सबै पुस्तक जफत गरेछन् र मेरा मान्छेहरू एकअर्कालाई भूमिगत रूपमा भेट्न थालेछन्, हातले लेख्न र छाप्न थालेछन् ।

मेरा कमरेडहरूमार्फत मेरा मान्छेहरूलाई म सहयोग गर्न चाहन्छु । म साम्यवादको विरुद्धमा छैन । तपाईंहरूले थाहा पाएको भन्दा म धेरै ठूलो कम्युनिस्ट हुँ किनभने म अध्यात्मिक कम्युनिस्ट हुँ ।

मार्क्स र एङ्गेल्सहरूको म्याद गुज्रिसक्यो । सोभियत संघलाई बिल्कुलै नयाँ क्रान्तिको खाँचो छ, आध्यात्मिक क्रान्तिको । र मेरो विचारमा गोर्बाचेभले सोभियत संघको ढोका खोल्ने नाममा पुराना पुजारीहरूलाई अनुमति दिएर गलत गरिरहेका छन् । सायद उनले यी पुराना पुजारीहरूलाई बुझेनन् । उनीहरू सीमित समाजमा पर्छन्; तिनीहरू सामन्ती समाजमा पर्छन् । तिनीहरू कम्युनिस्ट समाजमा पर्दैनन् ।

रुसको ढोका खोल्नु सुन्दर हो । विज्ञानको लागि ढोका खोल्नु, कलाको लागि ढोका खोल्नु, ध्यानको लागि ढोका खोल्नु तर यसको मतलब हरेक रोगका निम्ति ढोका खोल्नु पर्छ भन्ने कदापि होइन ।

ईसाइकरण रोग हो र यदि तपाईंले यसको निम्ति ढोका खोल्नु भयो भने तपाईं मार्क्सका विरुद्धमा जानु हुनेछ, तपाईं साम्यवादका विरुद्धमा जानु हुनेछ । तिनीहरू ती मान्छे हुन्, जो पुँजीवादका वास्तविक एजेन्ट हुन् । तिनीहरू जुनसुकै क्रान्तिका विरुद्धमा हुन्छन् ।

तपाईं यसलाई भारतमा हेर्नसक्नु हुन्छ । भारतमा, पाँच हजार वर्षसम्म, इतिहासले जहाँसम्म भन्छ…..भारत पाँच हजार वर्ष भन्दा पनि प्राचीन हो तर पाँच हजार वर्षसम्म हामीले कुनै पनि सामाजिक संरचना विरुद्धको क्रान्तिका बारेमा थाहा नै पाएनौँ । र भारत एकदमै गरिब देश हो तर गरिबलाई हरबार अफिम दिइयो कि “तिमी गरिब किन छौ ? किनभने तिम्रा विगतका खराब कार्यहरूले । पुँजीपतिले केही गर्नु पर्दैन; तिनीहरूसँग पर्याप्त पैसा छ किनभने तिनीहरूले विगतमा धेरै राम्रा कार्य गरेका थिए ।”

अब के तपाईं भारतबाट शंकराचार्यहरूलाई सोभियत संघमा ल्याउन चाहनु हुन्छ ? तिनीहरू पुनर्जन्मका बारेमा पढाउँछन् । “तिमी गरिब छौ यस कारणले कि तिमीले विगतमा खराब काम गर्यौ र पुँजीपति यस कारणले धनी छ किनभने उसले विगतमा राम्रा कार्यहरू गरेको थियो, यो ईश्वरको उपहार हो” भनी तिनीहरूले सिकाउछन् ।

मेरातर्फबाट गोर्बाचेभलाई भनिदिनूः सबलाई अनुमति दिनू तर ईसाई सम्प्रदायलाई फेरि कहिल्यै अनुमति नदिनू ! ईसाई सम्प्रदायले सोभियत संघमा समलैङ्गिकता ल्याउने छन्, यसले गुदामैथुन ल्याउने छ, यसले रुखोपना ल्याउने छ, यसले एडस ल्याउने छ । के तपाईं यी सबको लागि ढोका खोलिरहनु भएको हो ?

सावधान र सचेत रहनू । संसारका विरुद्धमा कम्युनिस्ट पार्टीलाई बचाउन सत्तरी वर्ष लागेको हो । कुनै जोखिम नलग्नुहोस् । ढोका खोल्नु राम्रो हो तर कुर्नुहोस् कि कतै बाट पनि पोप छिर्न नपाओस्, अनि रुसमा ईसाई सम्प्रदायसँग पुनरुद्धार छैन ।

साम्यवाद जेनसँग सुख हुन्छ किनभने जेनसँग केही छैन, तपाईंको सामाजिक संरचनासित गर्नलाई । जेनसँग केही छैन तपाईंको गरिबीसित र धनीसित गर्नलाई । जेनसँग केही छैन तपाईंको बाहिरी संसारसित गर्नलाई । जेन अन्तर्मनलाई खोज्ने विज्ञान हो । जेन मास्टरलाई आमन्त्रित गर्नुहोस्, जेन जादुमयीलाई आमन्त्रित गर्नुहोस्; त्यो स्वास्थ्य र सम्पूर्णतालाई आमन्त्रित गरिहेको हुनेछ ।

जो मान्छे शरीरमा मात्र विश्वास गर्छ, त्यो आधा हो र जो मान्छे आत्मालाई मात्र विश्वास गर्छ त्यो पनि आधा हो । म गौतम बुद्धलाई पनि आधा भनेर बोलाउछु किनकि उनले शरीरलाई इन्कार गरे, शरीरलाई त्यागे । म वास्तवमै गौतम बुद्धको पक्षमा छैन — खाली पचास प्रतिशत मात्र पक्षमा छु । र यो मेरो परिस्थिति हो कार्ल मार्क्ससँग पनिः म उनका पचास प्रतिशत कुरामा मात्र सहमत छु । उनको शरीरको स्वीकार्यता ठीक छ तर उनको आत्माको इन्कार गलत छ ।

बुद्ध र मार्क्सले हात मिलाउनु पर्छ — त्यो हो मेरो क्रान्ति । मार्क्स र बुद्ध दुवैलाई एकसाथ, हातमा हात मिलाएर, सोभियत संघमा नाच्दै ल्याउनुहोस् । तपाईंले बुद्ध र मार्क्सलाई फेला पार्नु भएन भने — किनभने दुवै मरिसके — तपाईंले वरपर देखेका म मेरा करिब दश हजार बुद्धहरू ल्याउँछु ! ती मानिसले सम्पूर्ण जीवन जिइरहेका छन् — शरीरको र आत्माको । सोभियत संघको कुनाकुना पुर्याउन म मेरा सम्पूर्ण दस हजार बुद्धहरू ल्याउँछु ।

र, मसँग भएका मात्र मानिसहरू होइनन् यिनीहरू — पृथ्वीमा करिब बीस लाख मानिसहरू छन् । यदि तपाईंसँग वास्तविक सुरुवाती छ भने म ती बीस लाख मानिसहरू पनि सोभियत संघमा ल्याउन सक्छु, नयाँ क्रान्ति ल्याउन, एकदम स्वच्छ क्रान्ति, जसले सोभियत जनतालाई शरीर र आत्मा एकसाथ भएको पूर्ण जनता बनाउने छ ।

हामीले गहिरो सद्भाव र सन्तुलनका साथ बाहिरी जीवन र भित्री जीवन जिउनु पर्छ ।

जहाँसम्म म चिन्तित छु, जबसम्म तपाईं ध्यानी हुनुहुन्छ तपाईं वास्तविक कम्युनिस्ट हुनसक्नु हुन्न । किनभने जहाँसम्म शरीरको सवाल छ, दुइटा मानिस ठ्याक्कै बराबर हुँदैनन् । क्षमतामा, बौद्धिकतामा, शरीरमा, शारीरिक बनावटमा । तपाईंले हुर्किन बराबर अवसर दिनुहुन्छ तर हुर्काइले असमान मानिसहरू ल्याउँछ । कोही वैज्ञानिक बन्ला र कोही जुत्ता सिउने बन्ला; कोही टोल्सटोय जस्तै वा टर्गेन्भ जस्तै वा चेकोभजस्तै वा गोर्कीजस्तै ठूलो उपन्यासकार बन्ला र कोही बाँसुरी बजाउने बन्ला ।

सबैलाई असमान हुर्किनलाई समान अवसर आवस्यकता पर्छ । तर जहाँसम्म अध्यात्मको सवाल छ, सबैजना बुद्ध समान छन् । त्यो नै वास्तविक कम्युनिस्ट हो — गहिराई, उचाई, धेरै आधिकारिक ।