रोशन दियाली

रोशन दियाली

अझै सानै थिएँ जस्तो लाग्छ मलाई त्यो हाफ पेन्ट छोड़ेको- दिनभरि रोएर कराएर स्कूलै नगई-नगई फुल प्यान्ट सिलाउन बाध्य पारेको बुवालाई टेलरसित। त्यति बेला म कक्षा 6 -मा भर्खरै भर्ना भएको थिएँ। नौलो स्कूल, नयाँ साथीभाइ, नयाँ गुरुबा-गुरुमा, नयाँ-नयाँ सोच त्यो दिन मेरो। मलाई कहिल्यै हाफ प्यान्टमा अप्ठ्यारो लागेन। पाँच कक्षासम्म हाफ प्यान्टमै तिघ्रा देखाएर अप्ठ्यारो लाग्दैनथ्यो। त्यो दिन पनि लागेको थिएन। स्कूलको पहिलो दिन हुनाले होला त्यस दिन अलिक अबेला जानाले एसेम्बलीदेखि बाँचें। कक्षा 1, 2, 3 सबैको प्लेट हेर्दै कक्षा 6 -को दैलोमा पुगें, मनमा धेरै सोच-विचार आयो, जस्तै- कुन बेन्चमा बस्नु, कोसित बस्नु, क्लास टीचरले नाम सोध्दा कसरी उत्तर दिनु, यस्तै प्रकारका नाना थरी सोच्दै उम्लँदै पोखिँदै थिएँ। अचानक क्लास थर्कने गरी गलल हाँसेको सुन्दा मेरो चेत आयो। सबै मेरो छोटो नीलो हाफ प्यान्ट देखेर हाँसेका भन्ने प्रमाण पाएँ मैले। म पहिला नीलो भएँ हाफ प्यान्ट झैं, फेरि शरमले रातो भएँ मेरो टाइको रङ्ग झैं। अब के गर्ने? भित्र पस्ने कि त्यहाँबाट भाग्ने? सबै केटाहरूले फुल प्यान्ट लगाएका रहेछन् भित्र त, म मात्र हुने परें हाफ प्यान्ट लाउने। केटीहरूले पनि कुर्कुच्चासम्म सुरुवाल लगाएका रहेछन्। म मात्र आज कस्तो शरमै नगरी नाङ्गो तिघ्रा देखाएर कसरी बस्नु होला भन्दै मनमनै सोच्दै थिएँ। अचानक कक्षा एकदम सुनसान भयो। पछाड़िबाट म्याडम आउनुभएको रहेछ।

‘आर यू न्यू स्टुडेन्ट?’

‘यस् मेम।’

‘दिस इज् नट क्लास फाइभ। गो टु योर क्लास।’

‘नो मेम, आई रीड इन क्लास सिक्स।’

म्याडमले शायद तीस सेकेन्डसम्म मलाई नियाल्नुभयो र फेरि भन्नुभयो, ‘देन गेट इन, ह्वाट आर यू डुइङ?’

म्याडमले त्यति भन्नेबित्तिकै म कक्षाभित्र पसें। सबैका नजरले मलाई हेरिरहेका थिए। फेरि सबै एकसाथ बोले, ‘गूड मर्निङ म्याम।’

हतार-हतार बेन्च खोजी ब्याग राख्न सफल भई सबैको सोरमा सोर मिलाएँ। त्यो पूरा दिनभरि म क्लासबाट एकपल्ट मात्र बाहिर निस्कें शौचालय जानको निम्ति। त्यस दिन मेरो हालत बलिको बोकोको भन्दा पनि नराम्रो भएको थियो। बिचरा बोकोलाई त थाहा नै हुँदैन खुकुरी नआएसम्म तर आफ्नो त्यो दिन जिउँदै अलिअलि रेट्दै नून लगाए जस्तै बित्यो शरमले।

घरमा आएर आमाको अघि रुन थालें। कस्तो मन थियो त्यति बेला के भयो रोइहाल्ने, के गर्नु शायद बुद्धि नभएर होला वा दिनभरिको शरम सहेको अश्रुधारा बनी पोखिएको होला। शायद आमा सिकुवामा बसी चिउरा केलाउनुहुँदैथियो। रोएको देखी आउनुभयो सुम्सुम्याउन।

‘बाबु के भो तँलाई? किन रोएको मेरो बाबु? भोक लागो? यता हेर् बाबु।’ यसो भन्दै सुम्सुम्याउँदा मेरो मन झन् पग्लियो झन् भक्कानो छोड़ेर रुन थालें।
बखान सुनाउँदा आमाको काखमा टाउको राखें अनि मात्र आमाको सिफारिशले मलाई लिएर दोस्रो दिन बाबु टेलरकहाँ नाप दिन जानुभयो। टेलरले दुइ दिन लगायो सिलाउन र म चार दिनको अवकाश लिई बसें आमाको पुच्छर बनी घरैमा।

फुल प्यान्ट लगाएर स्कूल जान थालेको पनि आज 3 वर्ष बितिसकेको थियो। म कक्षा 9 मा भर्ना भएको थिएँ। आज मेरो सोच, बुद्धि कक्षा 6 को जस्तो थिएन। म अलिक बुझ्न थालेको थिएँ। मलाई स्कूल जाँदा एक रुपियाँ चाहिँदैनथियो। विकासको झैं। विकास फेरि मभन्दा पूरा दुइ वर्ष सानो छ, त्यही कारण उसको बुद्धि मेरो जति विकसित हुन अझ दुइ वर्ष लाग्छ शायद। त्यही भएर होला ऊ केही भए पनि रोएर मनको मुखले भन्दा धेर आँशुले बोल्यो दुइ वर्ष अगाड़िको विदुर (म झैं)। मलाई थाहा थियो एक रुपियाँमा रबर आउँछ भनी तर विकासलाई थाहा भए पनि भेद थिएन। मलाई थाहा थियो। बुवा राति राति नसुतिकन कुर्सी, आल्मारीहरूमा नयाँ-नयाँ बुट्टा छिल्नुहुन्थ्यो। किनकि अरू बढ़ईहरूले बुट्टा छिल्ने मेसिन किनेका थिए। हाम्रो बुवासित मेसिन किन्ने पैसा हामी दुइको ट्यूशन र स्कूल फिसमै जान्थ्यो। त्यसैले उहाँ राति-राति आफ्नो छेउछाउका प्रतियोगीलाई मात दिनका लागि रातदिन होड़ गर्नुहुन्थ्यो। आमा त सधैं ऊनीका नयाँ-नयाँ गन्जी, हात पञ्जा र गलफन बनाई बुवालाई सहयोग गर्नुहुन्थ्यो। आमाको कलाले नै विकासको आँसु थामिएको थियो। नत्र शर्ट नै भिजाउने गरी रुन्थ्यो त्यो।
त्यो दिन मार्च महीनाको थियो। स्कूल जाड़ोको छुट्टीपश्चात् सबै स्कूले नयाँ नयाँ युनिफर्ममा। म पनि। पहिलो दिन त 90 प्रतिशत जति उपस्थित थिए तर दिनदिनै जाड़ोले सबैको सातो लगेछ क्यारे स्कूल लागेको एक महीनापश्चात् पनि विद्यार्थीहरूको उपस्थिति आधा नै छ। कतिले त अझै पनि आफ्नो भर्ना गराएका छैनन्।
म विकासलाई तल्लो ब्लकमा छोड़ेर आउँदैथिएँ, थाहा नै भएन कसरी मेरो साइकल गेटको कुनामा ठोक्किएर म अलिक परतिर साइकलसमेत बजारिन पुगेछु। उठ्न नसकेर लड़िराखें। तीस सेकेन्डसम्म आँखा चिम्लिएँ। घुँड़ानेर धेरै दुख्दै थियो। अचानक कसैले मेरो साइकल मदेखि अलग गरिदियो। म पछाड़ि फर्केर हेर्न आँटेको थिएँ ‘के भयो? कसरी लड्यौ भाइ?’ भनी कुनै ठूली केटीको आवाज आयो। त्यति नै बेला स्कूलको घण्टी लाग्यो। म उसलाई हेर्दैथिएँ चिन्ने कोशिश गर्दै। ‘छिटो हात देऊ बेल लाग्यो’ भनी। मलाई उठाएर मैले धन्यवाद पनि भन्न नपाई ऊ कुदेर बाह्रौं कक्षाको पङ्क्तिमा उभिन पुगी। म पनि खोच्याउँदै गएर कक्षा 9 को पङ्क्तिमा गएर उभिएँ। रातो रातो भई घुँड़ा नै पिल्सिएछ। बिहानको सरस्वती वन्दनापश्चात् त्यस दिनको समाचारको लागि स्कूल कप्तानले नाम बोलायो- वन्दना देवी कक्षा बाह्रौं। ऊ त्यही केटी थिई जसले मलाई उठाएकी थिई। अग्ली केटी थिई, श्याम वर्ण। आँखा चहकिला, काला थिए, मिलेको आर्य नाक थियो। केश दुइ चुल्ठो पारी बाटेकी थिई, रातो रिबनले बाँधेकी। वन्दना रहेछ नाम, ऊ मलाई आकर्षक लागी। थाहा छैन, किन? उसलाई हेर्दाहेर्दै मैले समाचार एउटै पनि सुनिनँ। खुट्टाको पीड़ा पनि एकछिन बिर्सेछु। उसको पालो सकिएछ र स्कूल कप्तानले राष्ट्रगान गाउँदैथिए तर म तेर्सो आँखा पारी उही वन्दनापट्टि हेर्न खोज्दैथिएँ। कस्तो मन? बालमन कि युवा हुँदै गइरहेको मन? मनमा के भो के? अलग्गै अनुभव हुँदैथियो। कहिल्यै नभएको। आज उभिन पनि कति रमाइलो लागिरहेको थियो! आज न त घामको तापले खायो न त उभाइको गलाइले सुम्सुम्यायो। आफै खाँदैथियो मनभित्र-भित्र खोइ किन हो किन, वन्दना दिदी… होइन, वन्दना, वन्दना देवीलाई देखेर। त्यतिकैमा स्कूल कप्तानले क्रमशः आ-आफ्नो कक्षामा प्रवेशको आदेश दियो। कक्षा बाह्रौं पहिला प्रवेश गर्नाले होला मैले थाहा पाएँ कि मेरो खुट्टाबाट रगत निस्किँदैरहेछ।

त्यो दिन त्यसै गयो, पढ़ाइमा चाहिँ जस्तै भए पनि मन थियो मेरो, राम्रो पढ़ें मैले। घर आएर आमाले हर्दीको लेप लगाइदिनुभयो र पट्टी बाँधिदिनुभयो। त्यसबेला मात्र बुझें कि चोट धेरै लागेको रहेछ।

पाँच दिन बित्यो, चोट निको भयो तर थाहा छैन कि मलाई मेरो घुँड़ाको चोट राम्रो हुँदा पनि दुःख लाग्दैथियो। मेरो घुँड़ाको चोटमा न्यानो, कोमल र निश्चल अनुराग छल्के झैं लाग्दैथियो। वन्दना देवी होइन, वन्दनाले हात दिएर उठाएको सम्झना आलो हुन्थ्यो। तर पाँचै दिन भयो उसलाई नदेखेको पनि। गणितको अतिरिक्त कक्षा हुन थालेछ। विज्ञानले भन्दैथियो मेरो साथी जुन चाहिँ सोध्दैथियो मलाई म किन पाँच दिनदेखि स्कूल साह्रो छिटो आएको र के मैले पनि ट्यूशन पढ्न छोड़िदिएँ भनी। मैले भनें, ‘होइन, आजभोलि हामी 6 बजीदेखि 7 सम्म पढ्छौं।’ वास्तवमा म ट्यूशन पढ्दिनँथिएँ… विक्रम मात्र पढ्छ तर म ट्यूशन पढ्छु भनी ढाँटेको थिएँ किनकि स्कूलमा जबर्जस्ती साथीहरू पढ़ौं भन्दैथिएँ। विज्ञान त असीम ढिपी गर्दैथियो तर मैले मानिनँ। कहाँ मान्नु र, मान्नु पनि भएको छैन, बुवाले कति होड़ गर्नुहुँदैछ कारबारमा प्रतिस्पर्धा गर्न। त्यस्तै त्यस्तै महीना बिते, वन्दना देवीको निशान (चोट) मेरो अङ्गमै रहेन, पूरै हरायो तर फुल्दै गरेको कलिलो मनमा डाम आयो। यस्तो डाम यस्तो डाम कि डामेको छाला फुटी मायाको पानी पर्‍यो- पानी परेको हिलोले मेरो पढ्ने दिनचर्या नै भिज्न थाल्यो। एक महीनाभित्र वन्दना देवी (वन्दना)-लाई हेर्न के के गरिनँ मैले! फुच्चे आशिक बनी स्कूल छिटो निस्कन थालें, जाड़ोकै बेला भए पनि दिनदिनै नुहाउन थालें। केश पहिला दाहिनेपट्टि लिपिक लिप्के जस्तो कोर्ने आजभोलि चलेको स्टाइल पंक हेयर बनाएँ। आमाको अनुहारमा लाउने क्रीम चोरी चोरी लाउन थालें। कस्तो जोश? कस्तो चाह? कस्तो रिस? कस्तो मन? आफैलाई थाहा नहुने। आमाले ममा देखेको बद्लाउ चाँड़ै थाहा पाउनुभयो तर भन्ने बाटो पाउनुभएन किनकि मैले घर ढिलो आउने, पढ़ाइ नगर्ने होइन र पहिलो मासिक परीक्षामा सधैंको जस्तो नै राम्रो अङ्क ल्याएको थिएँ। म त्यति मेधावी थिइनँ, मेरो परिश्रम थियो। त्यो आमा राम्रो देख्नुहुन्थ्यो राति नौ बजीसम्म तोताराम भएको। ममा आएको बद्लाउ आमाले कुखुरे बैंश लागेको भन्नुहुँदैथियो हजुरआमासँग- ‘विदुर निक्कै राम्रिँदैछ आजभोलिको फेसनले हो कि कुखुरे बैंशले हो।’

एक दिन वन्दना देवीलाई मैले स्कूल आएकी देखें मेरो साथी विज्ञानसँग मेरो साइकलको घटनाको शायद डेढ़ महीनापश्चात्। मजाले बोल्दैथिए दुइजना दिदी-भाइ जस्तै, साथी जस्तै वा बहुत चिनेको जस्तै। आफ्नो मनकी वन्दना – प्रेम उजागर गर्ने साथी जस्तै। के सोच्नु म, के भन्नु म? के गर्नु म, के भयो मलाई? कस्तो पाजी फुच्चे आशिकको धड़कनको रफ्तार नै शताब्दीसँग होड़ गर्न थाल्यो। आँखा एकहोरिन थाले। गाला त के भन्नु पाकेका रामभेड़ा जस्तै राता भए। वाह! के भएको त्यस्तो पसिना पनि आयो र दिल बज्न थाल्यो। वर्षको पहिलो परीक्षा थियो शायद फुच्चे आशिकको अहिले सोच्दा हाँस पनि उठ्छ रोमांस पनि। विज्ञान नजीक आएर ‘विदुर, के गरेको? कसलाई पर्खेको यसरी रिसाएर?’ भन्दा मात्र होश आयो आफूलाई। वन्दना देवी भने सरासर अघि बढ़िहालिन्- ‘आइज है तँ’ भनिन्। हतार हतार मैले अचम्म मानी सोधें विज्ञानलाई के वन्दना उसकी दिदी हुन्? भनी। ‘हो’ भन्ने जवाफ पाउँदा शताब्दी रोक्कियो।

उम्लिँदै गरेको पानी खटखट गर्न रोकियो। मनमा एउटा खुशीको लहरले ठाउँ बनायो अनि विज्ञान र म बातचीत गर्दै स्कूल गयौं। हर दिन वन्दना देवीप्रति चाहना र आकर्षण बढ्न थाल्यो। फलतः उसलाई भेट्न, हेर्न मार्ग आफै बन्यो। म विज्ञानको घर जान थालें। केही न केही बहाना बनाई। हुन त विज्ञानसँग मेरो मित्रता भएको सात कक्षादेखि हो तर म कहिल्यै उसको घर गइनँ। भन्छन् केही चीजलाई आन्तरिक हृदयदेखि चाह्यो भने पाइन्छ तर मेरो त पाउने कुनै आशा छैन भनी मेरो आत्माले बुझिसकेको थियो। मन पनि पराउने, हेर्न पनि खोज्ने तर आमाकै कसम आमाको साह्रो डर लाग्थ्यो फुच्चे आशिकलाई बुझ्नुभयो भने के हुन्छ भनी। यसै त्यसै विज्ञानको घर जानाले वन्दना देवीलाई परैबाट हेरिन्थ्यो, रमाइन्थ्यो भनी नहुँदो याद बोकी पागल झैं जोशसँग घर गइन्थ्यो। अब त म आइतवार पनि विज्ञानको घर जानथालें- आइतवार जानाले मैले पहिलोपटक राम्रोसँग वन्दनासँग बोलें। विज्ञानको केश कोरिदिँदै थिइन् वन्दना। नुहाएर मेरो पनि कोरिदिन्छिन् भनी मलाई साह्रो लाज लाग्यो। तर मनले भन्यो, ‘केटा, छेउमा जान पाइन्छ, यति प्रेमले बोलाएकी, जा जा।’ उसले मेरो केश कोरिदिइन्, राम्रो बनाइदिइन् विज्ञान जसरी नै। उनलाई कहाँ थाहा थियो र मेरो निर्देश भनौं वा पापी सोचाइको बारेमा, उनले त भाइसरी माया गरिन् मलाई तर मेरो सोच पापी होइन, म त केवल उनको त्यो निर्दोष मानवीय ममतामा लुटुपुट भएको थिएँ र उनलाई आफ्नो प्रेमिका बनाउन चाहन्थें। तर कहिल्यै भनिनँ मैले वन्दनालाई।

भन्ने मौका धेरै पाएको थिएँ मैले वन्दनालाई। त्यही नवौं कक्षाकै साल शिक्षक दिवसको कार्यक्रम नियोजन र प्रबन्धन कक्षा नवौं र बाह्रलाई दिने गरेको थियो अनि म र वन्दना पनि नियोजन गर्ने सदस्यमै थियौं। यस अवसरमा वन्दना र म धेरै सधैं पैसा सङ्ग्रह गर्दा शायद दुइ प्रेमी जसरी। म र वन्दना शिक्षक दिवसको कार्यक्रम सञ्चालक रोजिएका थियौं र हामी त्यस कार्यक्रमका लागि सञ्चालनको पूर्व अभ्यास गर्दैथियौं। यो समय मेरो प्रेमको उच्च र निर्मम समय थियो। म त थिएँ नै पागल, वन्दनाको प्रेममा, तर वन्दना पनि पागल नै थिइन्। मैले गल्ती गर्दा समयमा अभ्यासको लागि नपुग्दा कहिल्यै रिसाएर बोलिनन्। एक दिन उनलाई हाम्रो सञ्चालन गर्ने सहयोगी शिक्षकले धेरै कराउनुभएछ म समयमा पुगिनँ भनी तर वन्दनाले मलाई त्यो भनेर शिक्षकको रिस मलाई पोखिनन्। त्यसैले म उनलाई म जस्तै पागल र ममता भएकी सुन्दर मान्छे सोच्दथें। अब त हुनेछ प्रेम। आह! अन्तरिक्षमै पुगें। यति सानो उमेरमा प्रेमको अन्तरिक्ष यन्त्र उड़ाइ चन्द्रमाको भुइँमा गुलाफ रोप्ने पहिलो फुच्चे आशिक बन्न खोजें तर यो सबै सपना मात्र मेरो। शिक्षक दिवस समारोह आयो। त्यस दिन वन्दना साड़ीमा क्या राम्री देखिएकी थिई। त्यो लामो कदमा श्याम वर्ण र लामो उठेको आर्य नाकमा सुहाउने छिर्के मिर्के पहेंलो र सेतो बुट्टे साड़ी। मलाई त मेरो हीर नै लाग्यो शायद म रांझा हुने थिएँ। तर हुन्नँ हीर-रांझा, मुना-मदन र रोमियो-जुलियट। म त वन्दना देवीसँग हाम्रो हजुर बुवा र हजुर आमा जस्तो भई बाँच्न चाहन्थें। तर यस्तो कहाँ हुन्छ? उमेर त हेर्नुहोस् पाजी मेरो 14 वर्ष!

वन्दना – ‘होइन छिटो यहाँ आऊ न विदुर, कहाँ टोलाएका? अब दश मिनटमा कार्यक्रम शुरु हुन्छ अन्तिम अभ्यास गरौं, आऊ त। अरे तिमीले त युनिफर्म पनि लगाएर आएछौ त आज मैले ब्लेजर लगाएर आउनू भनेकी थिएँ। केही छैन मलाई थाहा थियो तिमी यसरी नै आउँछौ भनी त्यसैले मैले विज्ञानको ब्लेजर र प्यान्ट ल्याइदिएकी छु। छिटो लगाऊ त वाशरूममा गएर।’ यो सुन्दा म त घाइते भएँ वन्दनामा उसको प्रेममा लट्टु भएँ। मेरा हातखुट्टा कामे, दिल तेज गतिमा धड्किन थाल्यो, बिरामी भएँ जस्तो लाग्यो र उनलाई हेर्दै उनले दिएको ब्याग लिई वाशरूमबाट लुगा फेरेर आएँ।

‘वाउ विदुर, क्या ह्यान्डसम देखियौ तिमी त, क्या सुहायो। तिमी यहाँ आऊ त, तिम्रो कल्लर मिलाइदिन्छु’ भन्दा त मेरो बिमार कामज्वरो जस्तो बढ्यो। म बेहोश हुन्छु जस्तो लाग्दैथियो तर भगवान्, आमालाई सोच्दा बेहोश भइनँ। उनको त्यो नजिक आउँदा केशको सुगन्ध कति मीठो! कल्लर बनाउँदा कति रमाइलो, कति आनन्द! भन्न सक्दिनँ। अन्तमा उनले ब्लेजरको चोर पाकेटमा एउटा गुलाफी कपड़ा राखिदिइन्, मेरो छातीलाई छोइन्, म त स्वर्ग पुगें, त्यो स्वर्गको आनन्दमा शिक्षक दिवस कार्यक्रम कति बेर सकियो थाहा नै पाइनँ। हेड मास्टरले ‘वेल्डन, नाइस कन्डक्ट बोथ अव् यू’ भनी श्याबासी दिँदा पो थाहा पाएँ। फेरि हाम्रो फोटो सेसन भयो। त्यसमा वन्दना र मैले पनि फोटो खिच्यौं जुनचाहिँ आज पनि मेरो फोटो एल्बममा छ। वन्दनाले दिएकी गुलाफी कपड़ा चोरेर मैले आफ्नो सिक्रेट बक्समा राखें। त्यो कसैले थाहा पाएन, आमाले पनि। शिक्षक दिवस सकिएपछि वन्दना देवी होस्टलमा बस्न थालिन् कक्षा बाह्रको परीक्षाको लागि, र म रोगी जस्तो हुन थालें। तर रोगले मेरो पढ़ाइलाई बिगारेन। मेरो रोग मलाई मात्र थाहा थियो अनि वन्दना देवी मेरो नादानीको प्रेमिका भन्ने मलाई मात्र थाहा छ।