द ह्वाइट टाइगर

भाग ४१

चिठी पट्याएर खल्तीमा राख्दै केटालाई यति जोडले थप्पड लगाइदिएँ कि केटो ढुन्मुर्निँदै गएर खाटमा ठोकियो र झुल तान्दै भुइँमा पछारियो ।

“उठ्‌ ! म तँलाई फेरि बजाउँछु ।” म झोक्किएँ |

रेन्चु उठाएर उसको टाउकोमा ताके र भुइँमा फालिदिए । केटाको अनुहार कालो-निलो भएको थियो । काटेको ओठबाट रगत बग्दै थियो, तर पनि एक शब्द बोलेन !

म झुलभित्र बसेर बोतलमा बचेको आधा ह्विस्की चुस्की लिँदै केटालाई हेरिरहेँ ।

त भिरको छेउमै आइपुगेको थिएँ । म आफ्नो मालिकको गला रेट्न तयार भइसकेको थिएँ | यो केटो आइपुगेर मलाई हत्या र जन्म कँदबाट जोगायो ।

त्यस साँझ अशोकलाई मैले मेरो परिवारले मलाई कार सफा गर्न एउटा साथी पठाइदिएका छन्‌ भनेर सुनाएँ । धेरैजसो मालिक जस्तै फेरि खाने मुख एउटा थपियो भनेर रिसाउने हुन्‌ कि भनेर डराएको त उनले त, “आहा ! कति राम्रो केटो । तिमीजस्तै रहेछ । यसको अनुहारमा के भएछ ?” पो भने ।

धर्मतिर फर्केर भनेँ, “ल बताइदे त के भएको हो ?”

उसले यसो एकछिन एकोरिएर सोच्यो र भन्यो, “म बसबाट खसेको ।”
चलाख केटो रहेछ ।

” अब आइन्दा बस चढ्दा ख्याल गर्नू ।” अशोकले भने | “यो गजब भयो

“तिमीलाई बोलाउ हुने भयो ।”

धर्म शान्तिस्वभावको बच्चो थियो । मसँग केही पनि मागेन । मैले भनेपछि भुइँमै सुत्थ्यो । उसलाई आफ्नै कुराको मात्रै सुर्ता थियो । आफूले गरेको कामको पछुतो मान्दै उसलाई चिया पलसमा लिएर गएँ ।

“आजभोलि स्कुलमा कसले पढाउँछ हँ ? अझै पनि त्यही कृष्ण मास्टरले हो ?
“हो काका ।”

“अझै पनि त्यसले खाजा र पोसाकको पैसा झ्याप मार्छ ?”

“चोर्छ काका !”

“राम्रो मान्छे छ त्यो ।”

“म पनि पाँच वर्ष त पढ्न गएँ अनि कुसुम हजूरआमाले अब पुग्यो भनेर छुटाइदिनुभयो ।”

” ल हेरौँ त तैँले पाँच वर्षमा के सिकेछस्‌ ? आठको पाहाडा आउँछ ?”

“आउँछ काका ।”

“ल सुना त ।”

“आठ एकाने आठ ।”

“त्यो त सजिलो छ । त्यसपछि के हो भन न ।”

“आठ दुना सोह्र !”

“पख त ।” मैले उसले ठीक भन्यो कि भनेन औंला गनेर हेरेँ । ठीकै रहेछ । ठीक छ । ल अरू भन्‌ ।

दुबीओठे मेरो छेउमा आएर बस्यो । धर्मलाई हेरेर मुसुक्क हाँस्दै भन्यो, “ए मेरा लागि पनि एक कप चिया भन्दे न ।”

“आफैँ भन्‌ न ।” मैले भनेँ ।

ऊ रन्कियो, “ए श्रमिक हिरो, मसँग बोल्ने तेरो तरिका त्यही हौ ?”

धर्मले हामीलाई बडो ध्यान दिएर हेर्दै थियो । अनि मैले भनेँ, “यो केटो मेरो गाउँबाट आएको हो । यो मेरो आफन्त हो । म अहिले यससँग बोल्दै छु । एकछिन चुप लाग्‌ ।”

“आठ तियौँ चौबीस ।”

दुबीओठेले भन्यो, “यो को हो मलाई मतलब छैन । पैले मेरा लागि चिया मगा त, ए हिरो |”

खुलेको पञ्जा मेरो मुखै अगाडि तेर्स्यौं । यसको अर्थ थियो, “पाँच सय निकाल ।”

“मसँग त सुको पनि छैन ।”

“आठ चौका बत्तीस ।”

हाँसेर घाँटी रेटेजस्तो गरेर देखाउँदै भन्यो, “नत्र तेरो मालिकलाई सबै कुरा थाहा हुन्छ ।”

“ए केटा, तेरो नाम के हो ?”

“धर्म |”
“कति राम्रो नाम रहेछ । तँलाई यसको अर्थ थाहा छ ?”

“छ हजूर ।”
“यससको अर्थ तेरो काकालाई थाहा छ ?”

“चुप लाग्‌ ।” म झर्के ।

यो दिउँसोको चिया पसल सफा गर्ने बेला थियो | एकजना मानव माकुरो चारखुट्टा टेकेर गन्हाउने धमिलो पानी छ्याप्दै पोछा लाउँदै थियो ।

एउटा मुसा पनि खुर्र बाहिर दौड्यो । मुसो दौडिँदा पसलका ग्राहकहरूलाई पनि छिटा पर्यो । बिंडीको ठुटा, प्लास्टिकका खोलहरू, च्यातिएका बसका टिकटहरू, प्याजका बोक्रा, धनियाँका पातहरू कालो पानीमा तैरिए । बिजुलीको बत्ती फोहर पानीमा कुनै बहुमूल्य पहेँलो वस्तु जस्तै टल्कियो ।

जब त्यो कालो पानी बगेर गयो, अनि मेरो अन्तरआत्माले भन्यो, “मुन्ना, तेरो मनपेट त्योभन्दा पनि कालो भइसकेको छ !”

राति चिच्च्याएको आवाज सुनेर धर्म बिउँझियो । झुलको छेउमा उभिएर सोध्यो,
“काका, के हो ?”

“बत्ती बाल्‌ न मूर्ख, बत्ती बाल्‌ !”

उसले बत्ती बाल्यो र मलाई झुलभित्र शिथिल/बेहोसजस्तो अवस्थामा देख्यो ।

“मैले डरले त्यो वस्तु पनि देखाउन सकिनँ । एउटा मोटो माउसुली पर्खालबाट झरेर मेरो ओछ्यानमा आएछ । धर्म त नपत्याए जस्तो गरी हाँस्यो ।

“मैले ठट्टा गरेको होइन के मूर्ख । यसलाई ओछ्यानबाट फाल्दे त !” मैले झोक्किँदै भनेँ ।

उसले झुलभित्र हात छिरायो, छेपारो च्याप्प समातेर भुइँमा फाल्यो र खुट्टाले कुल्च्यो !

“ल ल यसलाई ढोका बाहिर घरभन्दा टाढा लगेर फाली दे त ।”

ऊ छक्क परेर मलाई मनमनै भन्दै थियो, “मेरो काका जस्तो पाको मान्छे पनि छेपारो देखेर डराउने !”

उसले बत्ती निभायो अनि बल्ल म ढुक्क भएँ र मुस्काउँदै मनमनै भनेँ, “अब यसले मेरो योजनामा शङ्का गर्न सक्दैन ।”

क्षण भरमै मेरो मुस्कान तुहियो ।

म के योजना गर्दै थिएँ रे साँच्चै ?

मेरो पसिना छुट्यो । त्यो भित्ताको सेतो प्लास्टरमा परेको अज्ञात हत्केलाको छापलाई एकोहोरो हेरिरहेँ ।

बाहिर पक्कामा टकटक लठी बजेको आवाज आयो । पालेले लामो लठ्ठी लिएर बकिङ्घम ‘बी’ ब्लकको पहरा दिँदै घुमिरहको थियो । लठ्ठीको टकटक आउन छोडेपछि कोठामा साङ्लाहरूले चबाएको र यताउता सल्बालाएको भन्दा अरू आवाज केही पनि थिएन | राति गुम्म परेर गर्मी थियो । सायद साङ्लाहरूको पनि ‘पसिना छुटेको थियो होला । मलाई सासै फेर्न गाह्रो भयो |

जब मलाई अब निद्रा पर्दैन जस्तो लाग्यो, मैले दुई लाइनको कविता पटक पटक दोहोर्याएँ ।

म वर्षौंदेखि साँचो खोज्दै थिएँ

तर ढोका त सधैं खुल्लै रहेछ ।

अनि म भुसुक्क निदाएछु ।