ओशोको आत्मकथाः स्वर्णिम बालापन

सत्र १४: मनु–स्मृति संसारकै कुरुप पुस्तक

 

त्वदीयं वस्तु गोविन्दम्, तुभ्यमेव समर्पयेत । ‘हे प्रभु, यो जीवन जुन तिमीले मलाई दिएका छौ, त्यो तिमीलाई आभारसहित समर्पित गर्छु ।’ मर्दै गर्दा मेरा हजुरबुवाका यी अन्तिम शब्द थिए ।

हुन त उहाँले परमात्मामा कहिल्यै विश्वास गर्नुभएन र उहाँ हिन्दु हुनुहुन्थेन । यो वाक्य, यो सूत्र, हिन्दु सूत्र हो तर भारतमा सबै कुरा घुलमिल भएका छन्, खासगरी राम्रा कुरा । मर्नुभन्दा पहिले अन्य कुराहरूका बीच उहाँले एउटा कुरा पटक-पटक भन्नुभयो, ‘चक्रलाई रोक !’

त्यो बेला मैले यो बुझ्न सकिनँ । हामीले गाडीको चक्का रोक्यौँ भने त हाम्रो यात्रा नै रोकिन्छ । त्यो बेला हामी गोरुगाढामा थियौँ र मैले बुझ्ने चक्र भनेको त त्यही गाडीको चक्का थियो । अनि, हामी कसरी अस्पताल पुग्न सकौँला र ? जब उहाँले पटक-पटक चक्रलाई रोक भन्न थाल्नुभयो, मैले हजुरआमालाई सोधेँ, ‘उहाँको दिमाग खराब भयो कि क्या हो ?’

उहाँ हास्नुभयो । उहाँको त्यही विशेषता मलाई मन पर्थ्यो । उहाँलाई पनि मलाईजस्तै थाहा थियो, अब मृत्यु नजिक छ । जब मलाई नै मृत्यु नजिक छ भन्ने थाहा छ भने उहाँलाई कसरी थाहा नहोस् ! यो त प्रस्टै देखिदै थियो । उहाँको श्वास जुनबेला पनि बन्द हुनसक्छ । र, पनि उहाँ पटक-पटक चक्रलाई रोक भन्दै हुनुहुन्थ्यो । हजुरआमा हाँस्नुभयो । म अहिले पनि उहाँ हास्नु भएको देख्न सक्छु ।

त्यो बेला उहाँ पचास वर्षभन्दा माथि हुनुहुन्थेन । तर मैले सधैँ देखेको छु, जो बनावटी शृङ्गारले आफूलाई सुन्दर बनाउँछन्, ती पैँतालिसकै उमेरमा कुरुप देखिइसकेका हुन्छन् । सारा संसार घुमेर हेर्नु, म जे भनिरहेको छु, त्यो सत्य हो कि झुटो हो । तिनका लिपिस्टिक, मेकअप, कृत्रिम आँखीभौँ र नजाने के के…! हे भगवान् !

भगवान्ले जब यो संसार बनाए, उसले ती चिजका बारेमा पनि सोचेका थिएन होला । कम्तीमा बाइबलमा त लेखिएको छैन कि पाँचौँ दिन उसले लिपस्टिक बनायो र छैटौँ दिन कृत्रिम आँखीभौ, आदि । यदि स्त्री साँच्चिकै सुन्दर छे भने पैँतालीस वर्षको उमेरमा उसको सौन्दर्य चरम सीमामा हुन्छ र स्त्री पैँतालीस वर्षको उमरमा आफ्नो आयु पुरुषभन्दा दस वर्ष बढीको हुन्छ । र, यो गलत या अनुचित पनि होइन । सन्तान जन्माउँदाका बेला उनीहरूले यति कष्ट झेल्नुपर्छ कि उसले थोरै अतिरिक्त जीवन पाई भने पनि त्यो उचित हो ।

मेरी हजुरआमा पचास वर्षकी हुनुहुन्थ्यो र पनि उहाँको यौनव तथा सौन्दर्य चरम सीमामा थियो । त्यो क्षण म कहिल्यै बिर्सन्नँ – त्यो यस्तो क्षण थियो ! मेरा हजुरबा मर्दै हुनुहुन्थ्यो र हामीलाई चक्र रोक्न भनिरहनु भएको थियो । कस्तो वाहियात् ! म कसरी चक्रलाई रोक्न सक्थेँ ? हामीलाई त अस्पताल पुर्‍याउनु हतारो थियो र चक्र रोक्दा त हामी त्यही जङ्गलमा हराउँथ्यौँ । मेरी हजुरआमा यति जोडले हाँसिरहनु भएको थियो कि गाडी चलाइरहेको भुराले बाहिरबाट सोध्यो पनिः ‘के भो ? किन हाँस्नु भा को ?’ म मेरी हजुरआमालाई ‘नानी’ भन्थेँ । त्यसैले भुराले पनि उहाँलाई नानी नै भन्थ्यो । उसले भन्यो, ‘नानी ! मेरा मालिक बिरामी हुनुहुन्छ । तपाईं भने यति जोडले हाँस्दै हुनुहुन्छ ! के भयो ? राजा, यति चुप्पो किन लाग्नु भएको ?’

मृत्यु र मेरी हजुरआमाको त्यो हाँसो – दुवैले मलाई एकदम चुप्प पारिदियो । किनभने जे घटिरहेको थियो, म त्यसलाई बुझ्न चाहन्थेँ । केही यस्तो घटिरहेको थियो, जुन मैले पहिले कहिल्यै थाहा पाएको थिइनँ । एक क्षणका लागि पनि म आफ्नो ध्यान यताउता पार्न चाहन्न थिएँ ।

मेरा हजुरबाले भन्नुभयो, ‘राजा, चक्र रोक । तिमीले सुनेनौ ? मैले तिम्री हजुरआमाको हाँसो सुन्न सक्छु भने तिमीले बोलेको पनि सुन्न सक्छु । मेरो आवाज पनि तिमीले सुन्न सक्छौ । मलाई थाहा छ, ऊ अद्भुत महिला हो तर मैले उसलाई कहिल्यै बुझ्न सकिनँ ।’

मैले भनेँ, ‘हजुरबुवा, मैले चिनेसम्म उहाँ सबैभन्दा सरल महिला हुनुहुन्छ– हुन त मैले संसार देखेकै कहाँ छु र ?’

तर अब म तिमीहरूलाई यतिबेला भन्न सक्छु– यो धर्तिमा शायदै यस्ता कोही मानिस होला, ज्यूँदो या मृत, जसले स्त्रीहरूलाई त्यति देखेको हुँदो हो, जति मैले देखेँ । तर मर्दै गरेका हजुरबुवालाई मैले ढाढस दिनका लागि मैले उहाँलाई भनेँ, ‘उहाँको हाँसोको चिन्ता नगर्नुस् । म उहाँलाई जान्दछु । तपाईंले भनेका कुरामा उहाँ हाँस्नु भएको होइन । मैले उहाँलाई चुटकिला सुनाएको थिएँ, त्यसैमा हाँस्नु भएको हो ।’

उहाँले भन्नुभयो, ‘ठीक छ । ऊ तिम्रा चुटकिलामा हाँसेकी हो भने, हाँस्नु बिल्कुल राम्रो । तर चक्रको बारेमा हुन्छ ?’

यतिबेला मलाई थाहा छ तर त्यचो बेला म त्यो पारिभाषिक शब्दावलीबाट बिल्कुल अपरिचित थिएँ । यो चक्र जीवन र मृत्युको चक्रको प्रतीक थियो र भारतीय विचारधारा यसमा यति अभिभूत छ, यति ग्रसित छ कि हजारौँ वर्षदेखि लाखौँ मानिसहरू यसलाई रोक्ने प्रयास गरिरहेका छन् । उहाँले बैलगाडीको चक्काको कुरा गरिरहनु भएको थिएन– त्यसलाई रोक्नु त ज्यादै सजिलो थियो बरु यसलाई चलाउन गाह्रो थियो । त्यहाँ कुनै सडक थिएन । त्यो बेला पनि थिएन, अहिले पनि छैन । गएको वर्ष मेरा एक जना टाढाका काकाका छोरा आश्रम आएको थियो । उसले मलाई भनेको थियो, ‘मैले त आफ्ना सारा परिवारलाई तपार्यंकै चरणमा ल्याउन चाहन्थेँ तर खास अप्ठेरो त त्यहाँ कुनै सडक छैन । ल्याउन अप्ठेरो भयो ।’

मैले भनेँ, ‘अझै पनि ?’

करिब पचास वर्ष बितिसक्यो तर भारत यस्तो देश छ कि त्यहाँ समय लगभग रोकिएको छ । अघि बढ्दै बढ्दैन समय । थाहा छैन, कुन बेला घडी बन्द भयो ? तर ठीक बाह्र बजे बन्द भएको छ, दुवै सुई एकै ठाउँमा । यो सुन्दर छ, घडीले बन्द हुने सही समय तय गर्‍यो । जुन बेला यो घडी बन्द भयो, शायद हजारौँ वर्षअघि बन्द भएको हुनुपर्छ । जहिले पनि बन्द भएको हो, या त संयो.गले या त कम्प्युटराइज्ड बुझाइले बाह्र बजे रोकियो, दुवै सुई एकै साथ ! ती दुवै एक भए, दुई वटा देखिदैन । शायद रातको बाह्र बजे बन्द भएको हुँदो हो, किनभने देश यति अँध्यारोमा छ भने रात त्यति नै चूक अँध्यारोमा हुनु नै पर्छ ।
‘हे प्रभु !’ ती भाइले भने, ‘मैले आफ्ना सारा परिवार तपाईंकहाँ ल्याउन सकिनँ । सडक साह्रै खराब छ ।’

यही एउटा सडकका कारण शायद उनीहरू कहिल्यै पनि मसँग भेट्न सक्ने छैनन् । त्यो बेला कुनै सडक थिएन र आज पनि त्यो गाउँ हुँदै कुनै रेल जाँदैन । त्यो ज्यादै गरिब गाउँ छ । जुन बेला म बालक थिएँ, त्यो गाउँ त अझ बढी गरिब थियो ।

त्यो बेला मैले बुझ्नै सकिनँ कि हजुरबा किन पटक पटक त्यस्तो भनिरहनु भएको छ । शायद त्यो गोरुगाढाले सडक नभएका कारण ठूलो आवाज निकालिरहेको थियो कि ? खटखट आवाजका कारण उहाँलाई कष्ट भइरहेको थियो कि ? त्यसैले स्वाभाविक छ, उहाँ पैँया रोक्न चाहनुहुँदो हो । तर मेरी हजुरआमा हाँसिदिनुभयो । यतिबेला मलाई थाहा भयो उहाँ किन हाँस्नुभएको थियो । हजुरबा जुन पैयाँको पटक पटक कुरा गरिरहनुभएको थियो, त्यो जीवन र मृत्युको चक्र थियो, जो निरन्तर चलिरहेको थियो । हजुरबा पनि जीवन र मृत्युको त्यो चक्रबाट अभिभूत त्यो भारतीय मानसिकतालाई अभिव्यक्त गरिरहनुभएको थियो ।

पश्चिमा जगतमा नित्सेले मात्र शाश्वत पुनरावृत्रिका बारेमा बोल्ने साहस गर्‍यो, एक किसिमले पागलपन देखायो । ऊ पनि यही पूर्वीय विचारधाराबाट प्रैभावित थियो र यसैबाट उसले त्यो विचारधारा उधारो लिएको थियो । ऊ दुई वटा शास्त्रबाट ज्यादै प्रभावित थियो । पहिलो ग्रन्थ त, मनु–स्मृति । यो मनुका विचारहरूको सङ्कलन हो र जयादै महत्त्वपूर्ण हिन्दु–शास्त्र हो । मलाई चाहिँ घृणा लाग्छ । यसको महत्त्व तिमीहरू बुझ्न सक्छौ ! कुनै पनि साधारण चिजलाई म घृणा गर्दिनँ । यो त असाधारण रुपले कुरुप छ । यदि मैले कतै मनुलाई भेटेँ भने म सारा अहिंसाहरूलाई बिर्सिएर उसलाई गोली हान्नेछु । ऊ यही योग्य छ ।

मनु–संहिता, मनु–स्मृतिलाई म संसारको सबैभन्दा कुरुप पुस्तक किन भन्छु ? किनभने यसले स्त्री र पुरुषलाई फरक ठान्छ । स्त्री र पुरुषलाई मात्र होइन, यसले त मानिसलाई नै चार भागमा वर्गीकरण गर्छ । एउटा वर्गको मान्छे अर्को वर्गमा जान सक्तैन । यसले माथ्लो र तल्लो जात बनाइदियो ।

तिमीहरूलाई आश्चर्य लाग्ला, एडल्फ हिटलरले आफ्नो मेचमा, ओछ्यान छेउमा सधैँ मनु–संहिताको एउटा प्रति राख्थ्यो । ऊ यस पुस्तकलाई बाइबलभन्दा बढी आदर गथ्र्यो । अब त तिमीहरूले बुझ्यौ होला, म किन यो पुस्तकलाई त्यति घृणा गर्छु । मेरो पुस्तकालयमा मनु–संहिता राखिएको छैन । मलाई कम्तीमा पनि एक दर्जन जति उपहारका रुपमा दिइएको थियो । तर मैले सधैँ त्यसलाई आगो लगाइदिएँ । अँ, मैले ती जलाउँदा बडो आदरका साथ जलाएको थिएँ !

नित्सेका लागि दुई पुस्तक निकै प्रिय थिए र त्यसबाट उसले धेरै कुरा अपनायो… एउटा थियो, मनु–संहिता र अर्को थियो महाभारत । महाभारत ज्यादै विशाल ग्रन्थ हो । यसको आकार यति ठूलो छ कि यसको बराबरी अर्को कुनै ग्रन्थ हुन सक्तैन, न बाइबल, न कुरान न त धम्मपद न त ताओ तेह चिङ । यदि महाभारतलाई इन्साइक्लोपेडिया ब्रिटानिकासँग राख्यो भने त्यसको तुलनामा इन्साइक्लोपेडिया ब्रिटानिका पनि सानो देखिनेछ । निश्चित नै यो ठूलो काम हो, तर भद्दा छ, कुरुप छ ।

वैज्ञानिकहरूलाई थाहा छ, यो पृथ्वीमा विगतमा ठूलाठूला विशाल जनावर हुन्थे– करिब करिब पर्वत जति नै ठूला तर भद्दा । महाभारत पनि ठीक त्यस्तै पशुजस्तो छ । त्यसमा कुनै सुन्दर कुरा खोज्न नसकिने होइन, यो यति ठूलो छ कि यदि त्यो पहाडलाई खनेर त्यसको गहिराईमा हेर्‍यौँ भने कहीँकहीँ सौन्दर्य पनि देखिनेछ ।

ती दुई पुस्तकहरूले नित्सेलाई ज्यादै प्रभावित गर्‍यो । शायद फ्रेडरिक नित्सेका सिर्जनामा ती दुई किताबभन्दा बढी अरु कुनै जिम्मेवार छैनन् । एउटा मनुले लेखेको स्मृति र अर्को ब्यासले लेखेको महाभारत । दुवै पुस्तकले ठूलो काम गरे, फोहोर गर्ने काम । यदि यी दुवै पुस्तक नलेखिएको हुन्थ्यो भने राम्रो हुन्थ्यो ।

फ्रेडरिक नित्सेले यी दुई ग्रन्थलाई यति आदरले सम्झन्थ्यो कि त्यो व्यक्तिले क्राइस्टविरोधी भनेको थियो । तर यसमा आश्चर्यको कुनै कुरा छैन किनभने ती दुवै पुस्तक क्राइस्ट विरोधी नै छन् । सत्य त के भने, त्यहाँ यदि केही सुन्दर छ भने, त्यसको विरुद्ध छ– सत्यविरोधी, प्रेमविरोधी । र, यो संयोग मात्र होइन, नित्सेलाई यी दुई पुस्तक ज्यादै प्रिय लाग्यो । उसलाई लाओत्सु पनि मन परेन, बुद्धि त कहिल्यै मन परेन तर मनु र कृष्ण राम्रा लागे । किन ?

यो प्रश्न ज्यादै महत्त्वपूर्ण छ । उसलाई मनु मन पर्‍यो किनभने मनुले उँचो–होचोमा आधारित गरेरको मानिसको वर्गीकरण मन पर्‍यो । ऊ प्रजातन्त्र, स्वतन्त्रता र समानताको विरोधी थियो । संक्षेपमा ऊ सबै सत्यका मूल्यहरूका विरुद्धमा थियो । उसलाई व्यासको पुस्तक महाभारत ज्यादै मनपर्‍यो किनभने, त्यसमा केवल युद्ध नै सुन्दर छ भन्ने विचार प्रतिपादन गरिएको थियो । एक पटक उसले आफ्नी बहिनीलाई पत्रमा लेखेको थियो, ‘म यो बेला असीम सौन्दर्यबाट घेरिएको छु । यस्तो सौन्दर्य मैले पहिले कहिल्यै देखेको थिइनँ ।’ उसका ती शब्दहरूबाट लाग्छ, ऊ इडन गार्डनमा छिर्‍यो होला तर होइन, उसले त मिलिटरी परेड हेरिरहेको थियो– सूर्यको प्राशले नाङ्गा तरबारहरू चम्किरहेका थिए । जुन आवाजलाई उसले मधुरो भनिरहेको थियो, त्यो बिथोवन या मोजार्ट या वाग्नरको सङ्गीन पनि थिएन बरु युद्धमा ‘आक्रमण’ भनिरहेका जर्मन सैनिकको जुत्ताको आवाज थियो ।

वाग्नर नित्सेको साथी थियो । साथी मात्र होइन, त्योभन्दा बढी । नित्सेले आफ्नो साथीकी पत्नीलाई प्रेम गथ्र्यो । उसले आफ्नो साथीका बारेमा त केही सोच्नु पथ्र्यो नि । तर अँहँ, उसलाई त जर्मन सैनिकको जुत्ताको आवाज वाग्नर, मोजार्ट र बिथोविनका सङ्गीतभन्दा राम्रो लाग्थ्यो । उसका लागि त सूर्यको प्रकाशमा चम्किएका तरबार र ‘परेड’ गरिरहेका सैनिकहरूको आवाज अत्यन्त आकर्षक लाग्थ्यो र त्यसमा उसको सौन्दर्यको चरम सीमा देख्थ्यो । यसलाई भन्छन्, सौन्दर्यबोध !

फ्रेडरिक नित्सेको विरोधी म होइन भन्ने हेक्का राख । जब जब ऊ सत्यको निकट पुग्छ, म उसलाई सराहना गर्छु । तर मेरो मापदण्ड त सत्य हो । जब उसले सूर्यको तेजमा चम्किएको तरवार र सैनिकहरूका जुत्ताको आवाजको वर्णन गर्दा सत्यबाट टाढिन्छ त्यो बेला नाङ्गो तरबार म उसैको टाउकोमा ठोक्छु । त्यो बेला कति सुन्दर होला नाङ्गो तरबार र फ्रेडरिक नित्सेको टाउको काटिएको आवाज अनि चारैतिर बगेको रगत !…

त्यही त उसको शिष्य एडल्फ हिटलरले गरेको थियो ।

हिटलरले मनुका विचार नित्सेबाट प्राप्त गरेको थियो । हिटलर स्वयं मनुका बारेमा जानेको थिएन । ऊ त होचो थियो । नित्से निश्चय नै प्रतिभाशाली व्यक्ति थियो तर ऊ भड्कियो । ऊ बुद्ध हुन सक्थ्यो तर खेद छ, पागल भएर मर्‍यो ।

म तिमीहरूलाई भारतीय सनकका बारेमा भनिरहेको थिएँ र त्यो सन्दर्भमा मलाई नित्सेको कुरा याद आयो । पश्चिममा सबैभन्दा पहिले उसैले शाश्वत–पुनरावृत्तिको विचारलाई बुझेको थियो । तर ऊ इमान्दार थिएन । उसले आफ्ना विचार उधारो लिएको भनेन । उसले आफू मौलिक भएको ढोंग गर्‍यो । मौलिकताको दाबी गर्नु जयादै सजिलो छ । त्यसमा बुद्धि चाहिँदैन । ऊ ज्यादै प्रतिभाशाली थियो भन्नेमा कुनै सन्देह छैन तर उसले आप्नो त्यो प्रतिभाले कुनै नयाँ कुरा खोजेन । उसले आफ्ना विचारहरूलाई यस्ता स्रोतहरूबाट उधारो लियो, जसका बारेम संसारालई निकै कम जानकारी थियो । मनुसंहितालाई कसले चिन्थ्यो ? कसलाई पो त्यसको परवाह थियो ? पाँच हजर वर्ष पहिले मनुले यसलाई लेख्यो । महाभारतको चिन्ता कसलाई पो थियो, कसले पो पछ्छ ? यो यति ठूलो पुस्तक छ कि जबसम्म कोही पागल हुँदैन, ऊ पढ्दै पढ्दैन ।

तर यस्ता मानिसहरू पनि छन्, जो इन्साइक्लोपेडिया ब्रिटानिका पढ्छन् । म यस्ता एक जनालाई जान्दछु । उनी मेरा चिनेका साथी थिए । शायद उनी अझै पनि ज्यूँदै होलान् । मलाई यही कुराको डर छ र डराउनुको कुनै कारण छैन किनभने उनी इन्साइक्लोपेडिया ब्रिटानिका पढ्थे । मैले यहाँ जे लेखेको छु, उनले कहिल्यै पढ्दैनन्, ऊसँग यो पढ्ने फुर्सद पनि त छैन । उनी त एन्साइक्लोपेडिया ब्रिटानिका पढ्ने मात्र होइन, याद पनि गर्ने गर्थे । र, यही उनको पागलपन हो । नत्र त उनी साह्रै नर्मल, सामान्य लाग्छन् । तर कसैले इन्साइक्लोपेडियाको कुनै कुरा उप्कायो भने उनी तत्क्षण असामान्य बन्न पुग्छन् । एउटा एउटा पृष्ठलाई उधृत गर्दै बताउन थालिहाल्छन् । तिमी सुन्न चाहन्छौ कि चाहन्नौ, त्योसँग उनलाई मतलब हुँदैन ।

इन्साइक्लोपेडिया ब्रिटानिका

त्यस्ता मान्छेहरू मात्र महाभारत पढ्छन् । यो हिन्दु इन्साइक्लोपेडिया हो । यसलाई इन्साइक्लोपेडिया इन्डियाना भन्नुपर्छ । स्वभावतः यो इन्साइक्लोपेडिया ब्रिटानिकाभन्दा ठूलो त हुनै पर्छ । ब्रिटेन त ब्रिटेन मात्र हो, भारतको एउटा सानो राज्यभन्दा ठूलो छैन । त्यति ठूलो त कम्तीमा भारतका तीन दर्जन राज्य होलान् । र, त्यहाँ भारत मात्र छैन किनभने आधा भारत अब पाकिस्तान भइसक्यो । तिमीहरूलाई सारा भारतको तस्बिर हेर्नु छ भने त्यसमा अरु भाग पनि जोड्नुपर्छ ।

कुनै बेला बर्मा भारतकै भाग थियो । यही शताब्दीको शुरुमा यसलाई भारतबाट अलग गरियो । अफगानिस्तान पनि एक समय भारतको हिस्सा थियो । यो त एउटा महाद्विप हो । त्यसैले महाभारत, जो इन्साइक्लोपेडिया इन्डियाना हो, इन्साइक्लोपेडिया ब्रिटानिकाभन्दा हजार गुणा ठूलो हुनेवाला छ । यसका त केवल बत्तीस खण्ड छन् । त्यो त केही पनि होइन । मैले जे भनेँ, त्यसलाई तिमीहरूले संगृहित गर्‍यौ भने पनि त्योभन्दा बढी हुनेछ । कसैले मलाई त्इो सुनाएको थियो । मलाई ठ्याक्कै थाहा छैन किनभने म त्त्यस्ता व्यर्थको काम गर्दिनँ । तर ती व्यक्तिले आँकलन गरे, आजसम्म मैले तीन सय तेत्तीस पुस्तक लेखेँ । वाह ! वाह !! पुसतकका लागि वाह वाह होइन है यो । ती व्यक्तिका लागि हो, जसले गन्ती गरे । तिनले अझै प्रतीक्षा गर्नुपर्छ किननभने अझै पनि धेरै पाण्डुलिपि अप्रकाशित नै छन् । धेरैजसो मूल हिन्दीबाट अनुवाद भएका छैनन् । ती सबैलाई जब एकै ठाउँमा राखिन्छ, यो वास्तवमै इनसाइक्लोपेडिया रजनीशीका हुनेछ । तर महाभारत साँच्चिकै ठूलो छ र त्यो सधैँ संसारको सबेभन्दा ठूलो ग्रन्थ भई नै रहनेछ– मेरो मतलब त्यसको आकार र भारका हिसाबले ।

मैले यसको उल्लेख किन गरेँ भने, म जन्म र मृत्युको चक्रबाट मुक्त हुने भारतीय मानसिकताको कुरा गरिरहेको थिएँ । महाभारतमा शद रुपले सोही भारतीय मनोग्रस्तताका बारेमा लेखिएको हो कि मानिसको जन्म पटक पटक हुन्छ ।

त्यसैले मेरा हजुरबुवा भनिरहनुभएको थियो, ‘चक्रलाई रोक, चक्रलाई रोक !’ म रोक्न सक्दो हुँ त, उहाँका लागि मात्र होइन, सबैका लागि रोकिदिन्थेँ । म रोक्ने मात्र होयन, सधैँका लागि नष्ट पनि गरिदिने थिएँ ताकि दोहोर्‍याएर कसैले त्यो चक्र नचलाओस् । तर यो मेरो हातमा छैन ।

उहाँको मृत्युको त्यो क्षणले मलाई धेरै कुराको बोध गरायो । त्यो क्षण, म जुन कुराका प्रति सज भएँ, जे कुराको बोध भयो, त्यसका बारेमा म कुरा गर्नेछु । किनभने त्यो बोधले नै मेरो सारा जीवनलाई निर्धारित गरिदियो ।