गरीब मानिसहरू
मूल लेखक: भिक्टर ह्युगो
अनुवाद: प्रकाशकुमार शर्मा
एक जना माझीको समुद्र किनारमा ठडिएको सानो झुपडीभित्र माझीदाइकी स्वास्नी जेना अगेनो नजिकै बसेर एउटा पुरानो फाटेको पाल टालटुल परिरहेकी छे । बाहिर बतास् सुसेल्छ र गर्जन्छ । अनि सागरका तुफानी लहरहरू छपलाङ्छुप्लुङ् गर्दै किनारातिर गर्जँदै अघि बढ्छन् र ललकार्छन् । सागरको यस किनारातिरको पाखो अँध्यारो र चिसो छ । समुद्रमा तुफान चलिरहेको छ तर जेनाको छाप्रो भने न्यानो र आरामदायी छ । माटेभूँइ जेनाले चिटिक्क पारेर सफा राखेकी छ । अगेनोमा अझै आगो बलिरहेको छ । अगेनाको उज्यालोमा सफाचम्किला भाँडाकुँडाहरू तख्तामा चम्किरहेको देख्नसकिन्छ । अगेनाको अर्कोपट्टि सफा सेतो तन्ना लगाइएको सानो खाटमा पाँच जना केटाकेटीहरू तुफानी समुद्रको गर्जनसँगै मस्त सुतिरहेका छन् । घरको मुखिया माझीदाइ बिहानै सानो डुङ्गा लिएर समुद्रमा माछा मार्न निक्लिएको हो तर अझै फर्किएको छैन । जेना समुद्रको गडगडाहट र लहरहरूको गर्जन सुन्छे । जेना भयभीत छे ।
पुरानो काठे घडी एउटा कर्कश अन्दाजमा दश‚ एघार…बजाउँछ तर माझी दाइ अझै फर्किएन । जेना विचारमा डुब्छे । उसको पति आफ्ना लागि कहिल्यै समय निकाल्दैन । चिसो तुफानी मौसममा पनि माछा मार्न निस्किन्छ । ऊ सबेरैदेखि राति अबेरसम्म आफ्नो काममा लागिरहन्छे । यति गरेर पनि सुख छ र ? उनीहरू मुस्किलैले आफ्नो पेट भर्छन् । केटाकेटीहरूलाई जुत्ता किनिदिन सकेको छैन । गर्मी होस् या सर्दी उनीहरू नाङ्गै खुट्टा दौडिन्छन् । गहुँको रोटी खरिद गरेर खान सकिन्न; राइकै रोटीमा खुशी हुनुपरेको छ । उनीहरूको भोजन जुटाउने एकमात्रै साधन माछा पक्रिनु हो ।
“धन्यवाद ईश्वर‚ केटाकेटीहरू स्वस्थ छन्, केही गुनासो छैन,” जेना यस्तै विचार गर्छे र फेरि समुद्रको गर्जन सुन्छे । “ऊ अहिले कहाँ होला ? प्यारो ईश्वर उसलाई जोगाऊ‚ उसलाई बचाएर दया देखाऊ ।” मनमनै यसो भन्दै जेना आफ्नो शरीरमा क्रूसको साङ्केतिक चिनो बनाउँछे ।
अहिल्यै सुत्नु त निकै चाँडो हुन्छ । जेना उठ्छे र एउटा बाक्लो दोपट्टा टाउकोमा राख्छे‚ अनि बाहिरको अवस्था विचार गर्न निस्कन्छे । समुद्र शान्त भयो कि भएन‚ बिहान हुन लाग्यो कि छैन‚ प्रकाशस्तम्भमा उज्यालो छ कि छैन अनि ऊ आफ्नो लोग्नेको डुङ्गा देख्न सक्छे कि सक्दिनँ । तर समुद्रमा केही कुरा पनि देख्न सकिँदैन । हावाको झोक्का उसको दोपट्टा च्यात्न खोज्छ अनि छिमेकीको घरको ढोका केही अलग अन्दाजले ढकढकाइरहेको छ । साँझ परेदेखि नै आफ्नी बिरामी छिमेकीलाई भेट्न जान जेना मन गरिरहेकी थिई ।
“उसको हेरचार गर्ने कोही छैन,” यस्तै सोचेर ऊ छिमेकीको घरबाट आइरहेको अलग तरिकाको खट्खटाइले अँध्यारो र तुफानको पर्वाह नगरेर त्यता गई ।
“सुन्यौ !” जेना बतासको सुसेलीलाई चिर्दै बाहिरबाट चिच्याई ।
तर उताबाट कुनै आवाज आएन ।
“यस विधवाको जीवनमा नराम्रो भयो,” ढोकाको सङ्घारमा उभिएर जेनाले सोची । “यद्यपि यो विधवाका जम्मा दुई जना केटाकेटी मात्रै छन् । तर सबै कुरा यस विधवा एक्लैले जुटाउनुपर्छ । फेरि ऊ बिरामी छ । हाय ! गरीब विधवाको जिन्दगी । म उसलाई हेर्न भित्र जान्छु ।”
जेनाले बारम्बार ढोकामा खट्खटाई तर कसैले जवाफ दिएन ।
“ए छिमेकी !” जेना कराई ।
“केही खराब कुरा भएको छैन भन्ने मेरो आशा छ,” यस्तै विचार गरेर उसले ढोका धकेली ।
घर ओसिलो र चिसो थियो । जेनाले बिरामी कतातिर छ भन्ने निधो गर्न लाल्टिन उचाली । लाल्टिन उचालेपछि उसले ढोकाको सामुन्ने एउटा खाट देखी जहाँ उसकी छिमेकी थिई । उत्तानो परेर सुतेकी‚ यति शान्त र गतिहीन कि जस्तो कि मृतकको अवस्था हुन्छ । जेना लाल्टिन उचाल्दै अझै खाटको नजिक गई । हो ऊ जेनाकै छिमेकी थिई । शिर पछाडितिर झुकेको; चिसो‚ नीलो चेहरामा मृत्युको शान्ति फैलिएको थियो । पँहेलिइसकेका हातहरू केही कुरा माग्नको लागि फैलाइएका जस्ता लाग्थे । जेनाले छुँदा ती हातहरू खसे र तल लट्किए । मृतक आमाको नजिकै बच्चा सुताउने कोक्रोमा दुई साना बच्चाहरू सुतेका देखिए । जेनाले गौर गरेर हेरी; मोटा राता गाला‚ घुँघुरिएको कपाल‚ अदुरानो लुगा ओढेका ती बच्चाहरू आफ्ना गोरा शिरका साथमा एकअर्कालाई अङ्गालो हालेर सुतेका थिए । यो कुरा प्रष्ट थियो कि त्यस आमाले मर्नुअघि ती बच्चाहरूको खुट्टातिर एउटा पुरानो बर्को र तिनीहरूको शरीरमा आफ्नो पुरानो लुगा ओढाउन भ्याएकी थिई । ती केटाकेटीहरू एकनासले चुपचाप स्वास फर्थे र गहिरो र मिठो निँदमा मस्त देखिन्थे ।
जेना बच्चाहरू सुतेको कक्रो उठाउँछे र तिनीहरूलाई आफ्नो दोपट्टामा लपेटेर आफ्नो घर लैजान्छे । उसको मुटु जोडले धड्किन्छ । उसलाई थाहा छैन उसले बच्चाहरू आफ्नो घर लैजाने काम कुन अठोटले गरी अथवा किन गरी । तर उसलाई यो थाहा छ कि आफूले गरेको काम गर्नबाट ऊ आफूलाई रोक्न सक्तिनथिई ।
घरमा ल्याएर उसले ती निदाएका बच्चाहरूलाई कोक्रोबाट झिकेर आफ्ना बच्चाहरूकै साथमा सुताई अनि हतारमा छतरीलाई तल ओराली । ऊ पहेँलिएकी र तनावमा थिई । यस्तो लाग्थ्यो कि उसको विवेकले उसलाई चिमोटिरहेको छ ।
“उसले के भन्ला ?” ऊ आफैसँग कुरा गर्छे ।
“हाम्रा आफ्नै पाँचपाँच जना बालबच्चा छन् । यो कुनै ठट्टाको कुरा होइन । आफ्नै बच्चाहरूको देखभालको लागि मेरो लोग्नेले धेरै कष्ट उठाउनुपर्छ । के यो ऊ हो ? अहँ होइन । त्यसोभए किन ऊ एक्लैले बच्चाहरू यहाँ ल्याएकी त ! उसले मलाई मार्छ । म यसकै लायक छु । ऊ आयो क्यार ! अहँ छैन…धन्य प्रभु ।”
जेना अन्तरमनको यस्तै द्वन्द्वमा छटपटाइरहेको बेलामा ढोका बज्यो र कोही भित्र पसेजस्तो लाग्यो । जेना हठात् कुर्सीबाट उठी ।
“होइन रहेछ । फेरि पनि कोहो होइन रहेछ । मेरो प्रभु ! मैले यी बच्चाहरू किन यहाँ ल्याएँ ? लोग्ने घर आयो भने उसका आँखामा कसरी हेर्न सकुँला ?” यस्तै सोचेर जेना ओछ्यानको छेउमा चुपचाप धेरैबेरसम्म बसिरही ।
पानी पर्न रोकिइसकेको छ । बिहान भइसक्यो तर हावा अहिले पनि तेज छ अनि समुद्र पनि रातिकैजस्तो गर्जिरहेको छ ।
अचानक ढोका खुल्छ‚ समुद्रतिरबाट आएको तिखो हावाको झोक्का घरभित्र पस्छ । अनि अग्लो ज्यानको माझीदाइ फाटेको चिसो जाल लतार्दै जेनालाई बोलाउँदै कोठाभित्र पस्छ ।
“म आएँ जेना !”
“तिमी आयौ !” यति भनेर जेना हठात् आफूलाई रोक्छे । शिर उठाएर लोग्नेतिर हेर्ने हिम्मत जुटाउन सक्दिनँ । अङ्गालो हाल्न जान लागेका उसका पाइला टक्क रोकिन्छन् ।
“हाय‚ कस्तो रात थियो ! एउटा दुस्वप्नजस्तो !” लोग्नेले भन्यो ।
“हो त‚ मौसम भयानक थियो । माछा पक्रिन सक्यौ त ?” जेनाले सोधी ।
“वाहियात‚ पूरै वाहियात ! के को पक्रिनु । केही पनि समात्न सकिनँ । जाल मात्रै फाट्यो । बिथ्थामा ! मौसम कस्तो थियो भनेर म तिमीलाई भन्छु जेना । यस्तो रात म सम्झिन पनि चाहन्नँ । माछा पक्रिने कुरा बिर्सिदेऊ । धन्य प्रभु‚ म जिउँदै घर फर्किन सकेँ । अनि मबिना तिमीले घरमा के गर्यौ नि ?” बेलिबिस्तार लगाउँदै लोग्नेले जाललाई लतार्दै कोठामा ल्याएर अगेनोको नजिकै बसेर सोध्यो ।
“मैले ?” जेनाले पँहेलिदै भनी‚ “मैले के नै गर्नुपर्छ र…म पाल टालटुल पारिरहेकी थिएँ…हावा तीव्र भएकोले तर्सिएँ । तिम्रो बारेमा सोचेर एकदमै डराएँ ।”
“हो त,” माझीदाइ बड्बडायो‚ “मौसम एकदमै खराब थियो । तर तिमी के गर्न सक्थ्यौ र !”
त्यसपछि ती दुवै चुपचाप लागे ।
केहीबेरपछि जेनाले भनी, “तिमीलाई थाहा छ‚ हाम्री छिमेकी सिमोना मरिन् त ।”
“हो र ?”
“मलाई थाहा भएन तिनी कहिले मरिन् ? सायद हिजो नै होला कि ! यो उनको भयानक मृत्यु थियो । उनको हृदय बच्चाहरूको निम्ति तड्पियोजस्तो लाग्छ । उनका साना दुई बच्चाहरू… एउटाले अझै बोल्न थालेको छैन, अर्को भर्खरै बामे सर्दैछ ।” बोल्दाबोल्दै जेना रोकिई ।
माझीदाइले चेहरा मोड्यो । ऊ गम्भीर र चिन्तित बन्यो ।
“कुरो के हो ?” कपाल कन्याउँदै उसले भन्यो । “ठिकै छ तिमीले चाहिँ के गर्न सक्छ्यौ त ? हामीले तिनीहरूलाई ल्याउनुपर्छ किनभने जब तिनीहरू ब्यूँझनेछन् तिनीहरूले आफूलाई मृत आमाको छेउमा भेटे भने तिनीहरूको बाल मनमा कस्तो प्रभाव पर्ला ? त्यही ठीक हुन्छ । हामी जसरी पनि बन्दोबस्त गरौँला । ल जाऊ‚ ढिलो नगर !”
तर जेना बसिरहेको ठाउँबाट चल्मलाइन ।
“तिमीलाई के भयो जेना ? के तिमी बच्चाहरू आफूसँग राख्न चाहन्नौ ? तिमी गलत गरिरहेकी छौ जेना,” माझीदाइले आवेगमा आएर करायो ।
“तिनीहरू यहाँ छन्,” यति भनेर जेनालाई तिनीहरूलाई ढाकेको छतरी माथि सारी ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।