(यो कथा सत्य घटनामा आधारित हो र यसलाई फिक्सनको रूप दिइएको छ। कथाको मुख्य स्रोत पञ्चायती समयका पत्रकार पदम ठकुराठी हुन्। ठकुराठी तिनै व्यक्ति हुन्, जसलाई पत्राकारिता गरेबापत पञ्चायती शासकका भित्रियाहरूले गोली हानेका थिए । यो घटना २०४३ साल भदाै २० गते भएको त्यही असफल हत्याको पृष्ठभूमिबाट लिइएको हो । यसमा लेखकले ठकुराठीलाई गोली हानेपश्चात आएका समाचार र स्रोत व्यक्तिहरूबाट तथ्यहरू संकलन गरेका थिए । यस कथालाई लेखकले ‘रेडियो छाप सलाइ’ उपन्यासका लागि लेखेका थिए तर सुरक्षा तथा अन्य कारणले यसलाई त्यसबेला समावेश गर्न सकेका थिएनन् । साहित्यपोस्टको आग्रहमा यसलाई पहिलो पटक सार्वजनिक गरिएको हो । यसका लागि लेखक कल्याण गौतमप्रति आभार ।- सम्पादक)
एक
‘मालिक बरबादै भयो ! ”
“किन, के भयो र ? ”
“शरद्चन्द्र शाह अमेरिकामा पक्राउ परे ।”
“कहिले?”
“अहिले भरखरैको कुरा । ”
तात्कालीन राजा वीरेन्द्रका भाइ धीरेन्द्र शाहको अगाडि उभिएको एडिसीले आत्तिदै भन्यो, “थाहा पाउनेबित्तिकै बिन्ति चढाउन आएको मालिक ।”
“ए ! त्यसो पो भएछ !!”
तात्कालीनअधिराजकुमार धीरेन्द्रको अगाडि उभिएको एडिसी भरत गुरुङ बेचैन थियो । ओठ खडेरीका पातझैँ सुख्खा थिए, अनुहार फुङ्ग उडेको । अधिराजकुमार धीरेन्द्र आफ्नो एडिसीतिर टाउको उचाले र गम्भीर मुद्रामा भने, “अनि ? शरदचन्द्रसँग अरु को को थिए ?”
“कृष्णमान श्रेष्ठ ।”
भुइँको बाक्लो गलैँचामाथि उभिएको मंगोलिन अनुहारको त्यो एडिसी टाउको तल झुकायो र भन्यो, “अरु थाहा हुन सकेन मालिक ।”
“ए त्यसो भए…”
बेडरुम बाहिरको लबीमा रहेको सोफामा पलेँटी मारेर बसेका थिए धीरेन्द्र । सुत्न जाने तरखरमा रहेका धीरेन्द्र शाह गुरुङको कुरा सुनेर खुब घोरिए । छेउको झ्याल बाहिरको कौशीमा बत्ती बलेको थिएन । त्यसैले काठमाडौंको डाँडामाथि उदाएको जूनको उज्यालो छतभरि पोखिएको थियो । धेरैबेरसम्म घोरिएका धीरेन्द्रले आफ्नो एडिसीलाई आदेश दिए, “यतिबेला अमेरिकामा दिउँसो छ। तिमी अहिलेनै अमेरिकास्थित नेपाली राजदूतलाई र हाम्रो परराष्ट्रमन्त्रीलाई तुरुन्त फोन गर । उनलाई जसरी भए पनि छुटाउने आदेश देऊ तर यी सब कुरा गोप्य राख्नू ।”
“हुन्छ मालिक ।”
आदेश पाउनासाथ एडिसी भरत गुरुङले हात जोड्दै भन्यो, “जो हुकुम मालिक ।”
पदले एडिसी भए पनि धीरेन्द्रको दाहिने हात थियो ऊ । अधिराजकुमार धीरेन्द्रबाट आदेश पाउनासाथ एडिसी बाहिरियो । काठमाडौंको रात्रिकालीन सुनसान बाटोहरुमा दौडिएको उसको गाडी वरपरका घरहरु थर्काउँदै केही बेरमै उसको घरको गेटभित्र छिर्यो । गाडीलाई गराजमा पार्क गरेर ऊ हातको घडी हेर्दै गाडीबाट निस्कियो | रातको बाह्र बजिसकेको थियो ।
“विश्वजी, जसरी भए पनि शरच्चन्द्र शाहलाई छुटाउनु पर्यो ।”
मध्यरातमा घरको ल्याण्डलाइनबाट अमेरिकास्थित नेपाली राजदूतसँग फोनमा कुरा गर्दै अधिराजकुमार धीरेन्द्रको एडिसी ले भन्यो, “यो मालिकको आदेश हो ।”
“मैले भर्खरै थाहा पाएँ ।”
अमेरिकाबाट राजदूत विश्व प्रधानले फोनमा भने, “म प्रयास गर्छु ।”
“प्रयास होइन, काम हुनुपर्यो ।”
त्यो मध्य रातमा पनि एडिसीको स्वरमा कडापन थियो । दायाँ हातको रिसिभरलाई उसले बायाँ हातले मजबुतसँग समायो र भन्यो, “यो अरुको होइन, मालिकको आदेश हो ।”
“म आफैँ जमानी बसेर भए पनि त्यो काम गर्नेछु ।”
राजदूत विश्व प्रधानले पद र प्रतिष्ठालाई दाउमा लगाए । राजदूत बनेर अमेरिका पुगेका विश्व प्रधान कार्यकालको बीचमै फिर्ता हुन चाहँदैन थिए । त्यसैले उनले फोनमा भरत गुरुङलाई विश्वस्त पार्दै भने, “विश्वास गर्नुहोस्, म काम गर्छु ।”
“…. र यो कुरा अत्यन्तै गोप्य रहोस् ।”
एडिसीले लामो स्वास तान्यो र अन्त्यमा भन्यो, “फेरि यो कुरा समाचार बन्ला नि ! याद गर्नुहोला । त्यताका नेपालीहरु ठीक छैनन् ।”
मालिकको आदेश लिएर अरुलाई थर्काउन बडा सिपालु थियो, भरत गुरुङ । पञ्चायतकालमा उसको नाम थाहा नपाउने कोही थिएन । फिल्मको हिरो भन्दा कम थिएन ऊ । भन्थ्यो, दुई चार जनालाई त यत्तिकै ढालिदिन्छु । राजाका भाइहरुलाई विश्वासमा लिन सफल उसको पछिल्लो जीवनशैली राजाहरुकै हाराहारीमा थियो । अर्को दिन बिहान नहुँदै उसले परराष्ट्र मन्त्रीलाई फोन गर्यो । मन्त्रीले पनि मालिकको आदेशअनुसार काम गर्ने विश्वास दिलाएपछि एडिसी दङ्ग पर्यो तर यो कुरा अमेरिकामा बस्ने नेपालीहरुले थाहा पाए र फोनमार्फत कसैले नेपालको एक साप्ताहिक पत्रिकालाई घटनाको जानकारी गराइदियो । अर्को दिन निस्कने साप्ताहिक पत्रिका ‘विमर्श’ले त्यो घटनालाई प्रमुख समाचार बनाएर मुख्य पृष्ठमा छापिदियो । जसका सम्पादक थिए, पदम ठकुराठी ।
दुई
“मालिक बरबाद पार्यो त्यसले ।”
पत्रिका निस्केको दिन बिहानै बैठक कोठाभित्र छिरेको भरत गुरुङले कोठामा विराजमान अधिराजकुमार धीरेन्द्रका अगाडि उभिएर शीर झुकाउँदै भन्यो, “सर्पलाई विष खुवायो भने त्यस्तै हुन्छ मालिक ।”
“मैले अघि थाहा पाएँ ।”
“त्यसले लेखेरै छाडेछ ।”
अधिराजकुमारले आफ्नो एडिसीतिर हेरेर भने, “त्यसले लेखेरै छाडेछ हैन ?”
“हो मालिक।”
एडिसीको टाउको अझै निहुरिएको थियो । ऊ फेरि भुइँतिरै हेरेर बोल्यो, “कत्रो हिम्मत उसको ! मालिकहरुको बारेमा लेख्ने ?”
“तिमी चिन्ता नगर ।”
बहुमूल्य सामानहरुले सजाइएको धीरेन्द्र निवासको बैठक कोठा भव्य थियो । भुइँतलको माटोबाहेक एउटा पनि स्वदेशी समान थिएन त्यहाँ । बैठकको बीचमा सजाइएको सिंहासनजस्तो ठूलो काउचमा बसेका अधिराजकुमार धीरेन्द्रले आफ्नो एडिसीलाई विश्वस्त पार्दै भने, “मैले माल्दाइ (ज्ञानेन्द्र)लाई सबै कुरा अवगत गराइसकेको छु । उहाँ त्यो मान्छेसँग आगो भइबक्सेको छ रिसले ।”
“हो मालिक !”
एडिसी दङ्ग पर्यो । धीरेन्द्रको अगाडि उभिएको उसको टाउको काँचो माटोझैँ तल झुण्डिरहेको थियो । ऊ फेरि बोल्यो, “के हुकुम भयो त मालिक उहाँबाट ? ”
“आज बोलाइ बक्सेको छ उहाँले आफ्नै निवासमा तिमी र जगत बेलुका त्यहीँ आउनू ।”
धीरेन्द्रले आफ्नो अगाडि उभिएको एडिसीतिर हेर्दै भने, “तर यो कुरा कतै नभन्नू । ठूल्दाजु (तात्कालीन राजा वीरेन्द्र) लाई पनि …।”
“हवस् मालिक ।”
एडिसीले आफ्नो झुण्डिएको टाउको अलिकति उठायो र भन्यो, “म जगतलाई अहिले नै खबर गर्छु ।”
०००
सन् १९८४ मा ओलम्पिक गेम हुँदै थियो अमेरिकाको लस एन्जल्स शहरमा । त्यतिबेला राजा वीरेन्द्रका कान्छा भाइ अधिराजकुमार धीरेन्द्र नेपाल खेलकुद परिषद्का संरक्षक थिए भने सदस्य सचिव थिए शरच्चन्द्र शाह । नेपालको तर्फबाट उपस्थिति जनाउन अमेरिका उडेको शरच्चन्द्र शाहलाई लस एन्जल्स अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी होम सेक्युरिटीले अचानक गिरफ्तार गर्नुको कारण सहितको समाचार छापेपछि पत्रकार पदम ठकुरी तात्कालिन राजाका भाइहरुको आँखाको कसिंगर बनिरहेका थिए ।
तीन
“पदम दाइ तपाईंको फोन,” राजभाइ श्रेष्ठले आफ्नो हातको कर्डलेस पदम ठकुराठीको हातमा राखिदिँदै भने, “कुरा गर्नुहोस् ।”
“कस्को फोन ?”
‘उही भरत गुरुङको ।”
“ए, मलाई खोजेको त्यसले ?”
पदम ठकुराठीले दायाँ कानको भित्तामा नफुत्किने गरी कर्डलेस फोन टाँसे र कराए, “हेल्लो ।”
“नमस्कार पदमज्यू, म भरत गुरुङ बोल्दैछु ।”
“नमस्कार ।”
पदम ठकुराठीले एक पटक कार्डलेसले हेरे र फेरि बायाँ कानको भित्तामा नफुत्किने गरी कर्डलेस फोन टाँसे र फेरि कराए, “के थियो, भन्नुस !”
“तपाईंसँग मालिकहरु धेरै रिसाइबक्सेको छ ।”
उताबाट एडिसीको आवाज सुनियो, “मालिकहरुलाई रिसानी हुने काम गर्नै भएन ।”
“अनि तँ किन जान्ने भएको ?”
त्यतिबेला निर्भिक पत्रकार पदम ठकुराठीलाई सूर्यबहादुरको मान्छे भन्थे। पञ्चायतकालमा सूर्यबहादुर दरबारलाई हातमा लिएर “इंडिया” सँग राम्रो ‘डिल’ गर्न सक्ने नेता कहलिन्थे। त्यसैले पञ्चायत कालको राजनीतिमा सूर्यबहादुर प्रभावशाली नेता थिए । त्यस कारण पनि पदम ठकुराठी कसैसँग डराउँदैन थिए। उनले फेरि बायाँ कानको भित्तामा टाँसेको कर्डलेस फोन दायाँ कानको भित्तामा टाँसे र फेरि कराए, “यदि त्यसो हो भने तेरा मालिकहरुले नै मसँग कुरा गर्नु पर्यो नि ।”
“ठीकै छ, तपाईंसँग लामो कुरा भयो ।”
भरत गुरुङले रिसाएका पदम ठकुराठीलाई शान्त पर्दै भन्यो, “तपाईंको टेलिफोन नम्बर पाउँ न त । म पछि फोन गर्छु ।”
“ए ! फोन चाहियो ?”
पदम ठकुराठीले फोनबाटै आफ्नो टेलिफोन नम्बर दिँदै भने, “ल लेख्, मेरो नम्बर। म डराउनेवाला छैन। ”
पञ्चायतकालमा राजनीतिक दलका ठूला नेताहरु कि दुलोभित्र लुक्थे कि भारततिर भाग्थे । पञ्चायती शासकहरुले भेट्यो भने तिनलाई झ्यालखाना हाल्थे । उस्तै परे गोली हानेर मारिदिन्थे । भन्थे- आफैँ मर्यो । कानूनका किताबहरुमा धमिरा लागेको हुन्थ्यो । मौसमअनुसार पञ्चायती शासकहरु ठाउँठाउँमा भाषण गर्न निस्किन्थे र भन्थे, हाम्रो जस्तो राम्रो व्यवस्था संसारमै छैन । व्यक्तिहरुले मात्र चुनावमा भाग लिन पाउँथे, दलहरुले होइन । चुनाव जितेका तिनै व्यक्तिहरुलाई राष्ट्रिय पञ्चाय सदस्य भनिन्थ्यो । तिनीहरुलाई आफ्नो नामको अगाडि माननीय लेख्न पाउने सुविधा थियो । पञ्चायकालमा बडा गज्जबको चुनाव हुन्थ्यो । जोगमेहर श्रेष्ठ नाम गरेका एक जना व्यक्ति थिए, काठमाडौंका । तिनको चुनाव चिह्न हुन्थ्यो, माछा । उनी बडेबडे माछा लिएर चुनाव प्रचारमा निस्किन्थे । मानिसहहरुले भन्थे, जोगमेहर खतरानाक छन् । तिनीसँग पैसा पनि छ । चुनाव जिते भने जागिर पनि लगाइदिन्छन् । तिनै जोगमेहर श्रेष्ठसँग चुनाव हारेर वैरागी बनेका राजभाइ श्रेष्ठले त्यो दिन केशरमहल पछाडिको आफ्नो घरमा लन्च खान पत्रकारहरुलाई आग्रह गरेका थिए र निम्तालु पत्रकारहरु थिए, जनार्दन आचार्य, कमल जोशी र तिनै पदम ठकुराठी ।
“यिनीहरुले तर्साएर म तर्सन्छु ?” हातको कर्डलेश फोन राजभाइ श्रेष्ठलाई फिर्ता दिँदै पदम ठकुराठी कुर्लिए, “म अझै लेख्छु, यिनीहरुको बारेमा ।”
“पदम दाइ अझै छ र लेख्ने कुरा ?”
घरको माथिल्लो छतमा टेबुलभरि नेवारी परिकारहरु थिए। ठूलो टेबुललाई घेरेर राखिएका कुर्सीमा बसेका निम्तालु पत्रकारहरु लञ्च खाँदै थिए । चिसो बियरको बोटलहरु पनि थिए टेबलमा । तिनै निम्तालुहरुको छेउमा बसेका थिए राजभाइ । बियरको स्वाद लिँदै गरेका राजभाइले क़ुराकानीको प्रसंगलाई जोड़दै भने, “अस्ति लेखेर सकिएन र भन्या ?”
“कहाँ सकिनु यिनीहरुको कुरा !”
बियरको ग्लास रित्तियो । ठकुराठीले टेबलमा रहेको “रेडियो छाप सलाई” उठाए र सिगरेट सल्काए अनि हावामा धुवाँको मुस्लो छोड्दै तिनी फेरि बोले, “यिनीहरुको कुरा जति लेखे पनि सकिन्न ।”
“के कुरा रहेछ दाइ त्यस्तो ?”
रित्तो ग्लासमा बियर थप्दै गरेको राजभाइले भने, “सुन्न मिल्छ ?”
“मिल्छ, किन नमिल्नु ! आरामले मिल्छ।”
निडर पत्रकारको रुपमा चिनिने पदम ठकुराठीले चारैतिर हेरे । राजधानी काठमाडौंको पर्यटकीय क्षेत्र ठमेलका बाटाहरुमा विदेशी पर्यटकहरु हिँडिरहेका थिए। तिनले चिसो बियर एकपटक फेरि मज्जाले तन्काए र भने, “यिनीहरुले फुटबलभित्र चरेस लुकाएर लगेको साँचो हो । राजाका भाइहरुले राजाकै हैसियतमा भिआइपी पासपोर्टमा विदेश घुम्छन् । यिनीहरुको सामान एयरपोर्टमा चेक हुँदैन । यिनीहरु बाहिर जाँदा देशका पुराना मूर्ति र चरेश लैजान्छन् । अनि फर्कंदा हेरोइन र सुन ल्याउँछन् । यिनीहरुको पश्चिम नेपालमा कत्था उत्पादन गर्ने मिल छ । सुनलाई कत्थाकै रंगमा बदलेर यिनीहरु भारतमा पठाउँछन् किनकि यतिबेला सुन नेपालमा भन्दा भारतीय बजारमा महँगो छ । यो भन्दा पनि दु:खलाग्दो कुरा ‘मन्दिर नै मन्दिरको देश’ भनेर चिनिने नेपालका मन्दिरहरुका बहुमूल्य मूर्तिहरू सब गायब भइसके । कहाँ गए ती मूर्तिहरु ?”
“मूर्तिहरु जहाँ पुगे पनि फ्राई गरेको माछाहरु चैँ हाम्रो टेबुलमा आइपुग्यो है दाइ !”
पत्रकारहरुको बीचमा दरबारविरोधी कुराले उग्र रुप लिन थालेपछि अतिथिसत्कारमा जुटेका राजभाइ श्रेष्ठले प्रसंग बदल्ने उपाय सोच्दै थिए । ठीक त्यतिबेला भान्साकोठाबाट काम गर्ने केटाले टेबुलमा भर्खरै तारेको माछाका पिस लिएर आयो ।
राजभाइ श्रेष्ठले माछातिर इशारा गर्दै फेरि भने, “ल पदम दाइ माछा खाऊ । साह्रै मीठो छ ।”
राजभाइको कुराले तीनै जना पत्रकार दिल खोलेर हाँसे। त्यो दिन अबेरसम्म चल्यो लञ्च । पत्रकारहरुले पञ्चायती व्यवस्थाका दिनहरु धेरै छैनन् भनेर ठोकुवा गरे । तिनका कुरा राजभाइले खुब गहिरिएर सुने । लञ्च सकिएपछि राजभाइले पत्रकार कमल जोशी, पदम ठकुराठी र जनार्दन आचार्यलाई आफ्नो गाडीमा राखेर गन्तव्यतर्फ लागे । जनार्दन आचार्यलाई घरको गेटमा छोडेर कमल जोशीको घर पुगी पदम ठकुराठीको डेरा बानेश्वर आइपुग्दा राजभाइको घडीमा रातिको नौ बजिसकेको थियो ।
चार
“कस्को फोन हो यो ?”
लगातार फोनमा घन्टी बजिरहेको थियो । डेराभित्र पसेका पदम ठकुराठीले बजिरहेको फोन सेटतिर हेरेर भने, “फोन उठाउनु पर्दैन ?”
” त्यो हजुरको फोन हो ।”
फोन राखिएको बैठक कोठाबाट किचेनतिर जाँदै गरेकी श्रीमती ठकुराठीले भनिन्, “अरु कसैको फोन होइन त्यो ।”
पदम ठकुराठी फोनसेट नेरको मेचमा थ्याच्च बसे। तिनलाई फ़ोन ऊठाउने मन थिएन।
“हेल्लो,” निकै बेरपछि फोन उठाउँदै उनले भने, “को बोलेको ?”
“म भरत गुरुङ बोल्दैछु,” उताबाट जवाफ आयो, “ठकुराठीज्यू हुनुहुन्छ ?”
“म पदम ठकुराठी नै बोल्दैछु,” फ़ोनमा आवाज चिने पनि फेरि ठकुराठीले सिधै सोधे, “ल भन्, तेरो कुरा के हो ?”
“माननीयज्यू तपाईंलाई एउटा प्रस्ताव छ ।”
“के प्रस्ताव ?”
पदम ठकुराठी छेउको सोफा ढल्काए । तिनका आँखा राता थिए । कोठाभरि छरिएका पत्रपत्रिकाहरु र किताब देख्दा लाग्थ्यो, त्यो मिहिनेती पत्रकारको बासस्थान हो। त्यही कोठाको सोफामा ढल्कँदै उनले भने, “भन छिटो ।”
“तपाईंले यो पत्रकारिता पेशा छाड्नु पर्यो । यो दुई पैसा पनि फाइदा नहुने काम गरेर केही फाइदा छैन,” उताबाट शालिन भाषामा भरत गुरुङले भन्यो, “बरु त्यसको बदलामा तपाईं पद, प्रतिष्ठा अथवा पैसा जे भन्नु हुन्छ, म मालिकबाट दिलाइदिन्छु ।”
“चाहिँदैन मलाई तेरो मालिकले दिएको पद, पैसा र प्रतिष्ठा ।”
भरत गुरुङको कुराले आगो भए पदम ठकुराठी र उनी जुरुक्क उठे र कराउँदै भने, “मलाई तेरो मालिकबाट केही चाहिन्न। तेरो मालिकले दिएको पद, पैसा र प्रतिष्ठा भन्दा मलाई मेरो पाठकहरुले दिएको माया हजारौँ गुणा ठूलो छ। अब आइन्दा मलाई यस्ता कुरा गरेर फोन नगर्नु बुझिस् ?”
फोन ढ्याक्क राखेर मुर्मुरिँदै भने, “साला ! अब त झन् त्यसलाई के छोड्छु ? त्यसको बारेमा म लगातार लेखिछाड्छु ।”
त्यो दिन असाध्यै जङ्गिएर फोनराखे पत्रकार ठकुराठीले । त्यसपछि उनलाई भरत गुरुङले कहिल्यै फोन गरेन।
पाँच
“गोली टाउकोमै लागोस् । फेरि खुट्टातिर हानेर आउला नि!”
“त्यस्तो हुँदैन हामीबाट।”
“घर यही हो ?”
मध्यरातमा काठमाडौँको पुरानो बानेश्वरस्थित रंगनाथ पाठकको घरमा कालो सिसाले छोपेको गाडीभित्रबाट देखाउँदै कसैले भन्यो, “तल्लो तल्लामा सुतेको होला, गएर उडाइदेऊ ।”
बाहिर चुक घोप्टिएको जस्तो अँध्यारो थियो । बाटोको छेउमा उभिएर अग्ला खम्बाहरुमा झुन्डिएको बत्तीहरुले फ्याँकेको उज्यालो ठाउँठाउँमा पोखिएको थियो । त्यो सुनसान रातमा सडकमा डुल्ने भुस्याहा कुकुरहरुको आवाज मात्र सुनिन्थ्यो।
“ल, काम फत्ते गरेर आउनू।”
हातमा पिस्तोल राखिदिँदै अघि घर देखाउनेले मन्त्र पढेझैँ गरी कानैमा गएर भन्यो, “फेरि जिउँदै रहला नि?”
“त्यस्तो हुँदैन,” पिस्तोल हातमा समाउने मोटो ज्यानको केटाले भन्यो, “काम पक्का हुन्छ।”
स्ट्रिट लाइटको उज्यालोलाई छलेर बायाँ छेउमा उभिएको कारबाट दुई जना बाहिर निस्के। मन्द गतिमा कार अलि अगाडि पुगेर एउटा अँध्यारो गल्लीतिर साइड लाग्यो । गाडीबाट ओर्लिएकोमध्ये एकजना त्यहीँ उभियो । उज्यालो छलेर अर्को पेशेवर हत्यारा पर्खाल उक्लियो र कम्पाउण्डभित्र छिर्यो । बडो सावधानीपूर्वक उसले तल्लो तलाको झ्यालबाट एक-एक गर्दै कोठाहरुभित्र चियाउन थाल्यो। बिरालोको चालमा झ्यालबाट भित्र चिहाउने क्रममा उसले पदम ठकुराठी सुतेको कोठा पत्ता लगायो।
झ्यालसँगै जोडिएको फराकिलो बेडमा श्रीमती, एक छोरासँगै पदम ठकुराठी मस्त निदाएका थिए । छेउको टेबुल ल्याम्प बलिरहेको थियो । उनको छातीमा एउटा मोटो किताब घोप्टो परेको थियो। हेर्दा लाग्थ्यो, किताब पढ्दापढ्दै निदाएका हुन्।
आफूसँगै ल्याएको हतियार प्रयोग गरेर उस्ले झ्यालमा लगाइएको जाली काट्यो। कोठाभित्र हावा छिर्नको लागि उधारिएको झ्यालको सिसा बाहिरतिर फर्किएको थियो ।
उसले देब्रे हात जाली काटिएको भागबाट भित्र छिरायो र भित्रको पर्दा अलिकति खोल्यो । खल्तीबाट बिस्तारै पिस्तोल झिक्यो अनि मस्त सुतेको पदम ठकुराठीतिर पिस्तोल सोझ्यायो।
अनि ठकुराठीको टाउकोमा गोली प्रहर गर्यो ।
“गुहार! गुहार! मेरो श्रीमानलाई कसैले गोली हानेर भाग्यो,” गोलीको आवाजले तर्सदै उठेकी श्रीमती ठकुराठीले ढोका खोलेर बाहिर निस्किन् र पर्खाल नाघेर भागेको हत्यारातिर हेर्दै भनिन्, “गुहार! ब्वाँसाहरुले मेरो श्रीमानलाई गोली हानेर गाडीमा भागे।”
“के भयो हँ ? कसले के गर्यो ?” घर वरिपरिका छिमेकीले झ्याल फटाफट खोले।
“कसले हान्यो गोली हँ ?”
“हाम्रो टोलमा को आएछ?”
छिमेकीहरु तुरुन्तै आँगनमा जम्मा हुन थाले। चारैतिर हल्लाखल्ला हुनथाल्यो। कति मान्छे डरले घरभित्रै बसे । रगतले लतपतिएको बेडमा सुतेका पदम ठकुराठीको शरीर अचेत भइसकेको थियो।
उनको एक वर्षे छोरा जोडजोडले रोइरहेको थियो। पदम ठकुराठीको टाउकोबाट रगत बगेर बिस्ताराभरि फैलिरहेको थियो र उनको अचेत शरीर उत्तानो परेको थियो। दृश्य एकदमै विकाराल थियो।
“राक्षस हरुले गोली हाने। तिमीहरुको सत्यानास् होस्।”
बाहिरबाट दौडदै कोठाभित्र पसिन्, श्रीमती ठकुराठी। रगतमा लतपतिएका श्रीमानको टाउको र शरीर देखेर तिनी काँप्न थालिन्। छेउमा सुतेको छोरा अझै कहालिएर रोइरहेको थियो। तिनी उभिन सकिनन् र भुइँमा थ्याच्च बसिन् र भनिन्, ‘सत्य कुरा छाप्ने पत्रकारमाथि गोली चलाएर भागे राक्षसहरु।”
वरपरका छिमेकीहरुले कल गर्नासाथ साइरन बजाउँदै तुरुन्त एम्बुलेन्स आयो र उनलाई बोकेर एम्बुलेन्स हस्पिटलतिर दौडियो।
“नलेख् भनेकै त हो नि !” पल्लो छेउको रातो घरको झ्याल बन्द गर्दै कसैले भन्यो, “बडा राजाको विरुद्धविरुद्ध लेख्ने भा को ?”
२०४३ साल भदौ २० गते बिहान साढे चार बजे गोली लागेका पदम ठकुराठीलाई वीर हस्पिटल पुर्याउँदा बिहानको पाँच बजिसकेको थियो।
छ
“अवस्था एकदमै खराब छ,” उपचारमा संलग्न डा. दिनेशनाथ गंगोलले वीर अस्पतालको आकस्मिक कक्षबाहिर निस्किएर भने, “तैपनि हाम्रो प्रयास जारी छ।”
श्रीमती ठकुराठी डाक्टरका कुरा सुनेर थर्रर काँपिन्। रोक्न खोज्दाखोज्दै तिनका आँखाबाट बगे आँशुहरु। तिनी त्यहाँ उभिन सकिनन् र अस्पताल हाताभित्र फोन खोज्न दौडिन्। फ़ोनका लागि कसैले सहयोग गरेपछि उनले छेउको कोठाबाट तात्कालिन राजा वीरेन्द्रका सचिव कर्णध्वज अधिकारीलाई फ़ोन लगाइन्।
“सारा अस्पताल जनताले घेरिसके। तपाईंहरु किन चूप ?”
तिनै तात्कालीन राजा वीरेन्द्रका सचिव कर्णध्वज अधिकारीसँग फोनमा मनको पीडा र आक्रोश पोख्दै श्रीमती ठकुराठीले भनिन्, “के हो यो ? यस्तो पनि हुन्छ ?”
“त्यसो होइन,” कर्णध्वजले श्रीमती ठकुराठीलाई सम्झाउँदै गरेको आवाज उताबाट आयो, “यतिखेर असंग्लन राष्ट्रहरुको शिखर सम्मेलन हरारेमा हुँदैछ। राजा वीरेन्द्र त्यहीँ होइबक्सन्छ। राजासँग अघि भर्खरै कुरा हुँदा उसलाई जसरी भए पनि बचाउनू भन्ने हुकुम भएको छ। म प्रधानमन्त्रीसँग कुरा गरेर उचित निर्णय लिन लगाउँछु।”
“हरे ! के भएको यस्तो ?” आफ्ना शुभचिन्तकहरुको बीचमा उभिएकी श्रीमती ठकुराठीले रुँदै भनिन्, “देशको पत्रकारको टाउकोमा गोली लागेको छ तर बचाउने प्रयास कतैबाट भएको छैन।”
त्यत्तिकैमा हस्याङ्गफस्याङ्ग गर्दै हस्पिटलभित्र पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको प्रवेश भयो। थापा निकै बेचैन थिए। आफ्ना हितैषी पदम ठकुराठीको अवस्था बुझ्न अस्पतालभित्र छिरेका थापासँग श्रीमती ठकुराठीको अनायास भेट भयो।
“तपाईं मेरा श्रीमानको लास हेर्न आउनु भएको ?” थापालाई देख्नासाथ श्रीमती ठकुराठीले चोर औँला सोझ्याउँदै भनिन्, “यही हो तरिका ?”
‘त्यस्तो केही होइन।”
थापा झन् आत्तिए। अस्पतालभित्र र वरपर मानिसहरुको भीड बढ्दै गैरहेकोले वातवरण आफ्नो अनुकूल नभए जस्तो लाग्यो तिनलाई र त्यहीँबाट टाप कस्ने विचार गर्दै भने, “म सबै कुरा मिलाउँछु।”
बिहानैदेखि सुरक्षा निकायका गाडीहरु काठमाडौंका सडकहरुमा दौडिरहेका थिए। पुलिसका लामालामा भ्यानहरु सहरका गल्लीगल्लीमा खुब घुम्दै थिए। पदम ठकुराठीलाई गोली हानेको खबर काठमाडौंभित्र हावाझैँ फैलँदै गएपछि अप्रत्यासित रुपमा मानिसहरुको भीडले अस्पताल घेर्न थालिसकेको थियो।
“यो सब सूर्यबहादुर थापाको फेरि प्रधानमन्त्री हुने चाल हो,” अस्पताल अगाडि जम्मा भएको भीडबाट सेतो दाह्री पालेको मान्छे करायो, “ठकुराठी त मोहरा मात्र हुन्, यो दरबार भित्रकै तस्करहरुको खेल हो।”
भीडको बीचबाट हातमा ब्यान्डेज बाँधेको एउटा केटा कुर्लिदै भन्यो, “झुन्ड्याउनु पर्छ, तिनीहरुलाई ।”
“ए नकरा तँलाई पनि उडाउलान् पाजी !”
दाहिने कानमा कुण्डल लगाएको केटाले उसको साथीको कानैमा गएर भन्यो, “चुप लाग्।”
“साहसी हुन्, ठकुराठी। यिनको कलम डगेन,” भीडको बीचबाट एउटा पातलो मान्छेले मुठ्ठी उचाल्दै करायो, “यस्ता धेरै पत्रकारको खाँचो छ देशलाई।”
२०२१ सालमा विज्ञान पढ्न नेपालको सुदूरपश्चिमी जिल्ला कञ्चनपुरबाट काठमाडौं छिरेका पदम ठकुराठी राजनीतिमा खुब चासो राख्थे। २०१७ सालमा तात्कालीन राजा महेन्द्र राणाहरुकै शैलीमा शिकार खेल्न शुक्लाफाँटा वन्यजन्तु आरक्षण क्षेत्र पुगेको बेला यिनले राजा महेन्द्रलाई भेटे। राजालाई भेटेपछि यिनी राजसंस्थाकै पक्षमा उभिए राजनीति गर्दागर्दै २०३४ सालमा कञ्चनपुरबाट चुनाव जितेर माननीय बने तर २०३८ सालको चुनावमा पराजित भएपछि यिनीले पत्रकारिताको क्षेत्रमा कलम चलाउन थालेका थिए। सत्य कुरा लेख्न कत्ति पनि नडराउने पदम ठकुराठीलाई त्यतिबेलाका केही मानिसहरुले भन्थे, “यी त महापञ्च सूर्यबहादुर थापाका मान्छे पो हुन् त।”
सात
“हामी मिस्टर ठकुराठीको अन्तिम सफलतामा पुग्दैछौँ,” भारतबाट डा. सहगलको टिम नेपाल आएर उपचारमा संलग्न हुँदा पनि ठकुराठीको स्थितिमा सुधार नआएपछि सरकारमाथि चौतर्फी दबाब बढ्दै गयो। सरकारले बिदाको दिन पनि नेपाल राष्ट्र बैंक खोलेर सात हजार डलर निकासा गरेर ठकुराठीलाई थप उपचारको लागि बैंकक पठायो। थाइल्याण्डको शहर बैंककस्थित समितिभेज अस्पतालमा भर्ना गरिएको ठकुराठीको उपचारमा संग्लग्न डाक्टरले धेरै दिनको प्रयासपछि बल्ल मुख खोल्दै भने, “तर एउटा कुरा…।”
“के कुरा डाक्टर?” श्रीमती ठकुराठीले आत्तिदै भनिन्, “भन्नुहोस् न।”
“उनी अब बाँच्छन्।”
अग्लो जीउडाल भएको डाक्टरले आफ्नो कुहिरा आँखा नचाउँदै भन्यो, “तर होस् खुलेपछि या त उनी पूरै पागल हुन्छन् या बच्चाको जस्तो व्यवहार देखाउँछन्। या उनलाई पक्षघात हुनसक्छ।”
सन् १९७५ तिर अमेरिकाको बमवर्षक विमानले भियतनामका आकाशमा फनफनी घुम्दै बम खसाल्थे। भियतनामी नेता हो चि मिह्नका चेलाहरु घना जङ्गलभित्र लुकेर बस्थे। जब अमेरिकी सेनाहरु तिनलाई खोज्न जङ्गलभित्र छिर्थे, तब गुरिल्ला युद्ध शुरु हुन्थ्यो। मर्ने र मार्नेको ठेगाना हुँदैन थियो। वर्षौंसम्म चलेको त्यो युद्धमा घाइते हुने अमेरिका सेना र अफिसरलाई लिएर भियतनामबाट उडेको विमानहरू थाइल्यान्ड पुग्थे तिनका ज्यान बचाउन। तिनै अमेरिकी सेनाहरुका लागि भनेर विशेष रुपमा खोलिएको थाइल्यान्डको समितिभेज अस्पतालमा भर्ना गरिएको पदम ठकुरीको पैंतीस दिनपछि बल्ल होस खुल्यो।
“मिस्टर ठकुराठी के छ हाल खबर ?” अग्लो जीउ डाल भएको डाक्टर कुहिरा आँखा नचाउँदै कोठाभित्र छिरेरे होसमा आएका पदम ठकुराठीको हात समाउँदै भन्यो, “भन्नुहोस् त, अहिले अमेरिकाको राष्ट्रपति को छ ?”
“किन सोधेको ?”
ठकुराठी छक्क परे। म कहाँ आइपुगेँ भन्ने कुराको अत्तोपत्तो नपाएका उनले कोठाको चारैतिर हेरेर भने, “रोनाल्ड रेगन।”
“कङ्ग्राचुलेसन्स।”
डाक्टर छेउमा बसेकी श्रीमती ठकुराठीतिर हेरेर भन्यो, “अब कुनै चिन्ता लिनु पर्दैन। हामीले सोचेको भन्दा फरक नतिजा आयो। मिस्टर ठकुराठी पहिले जस्तो हुनुहुन्थ्यो, अहिले पनि उस्तै हुनुभयो।”
“थ्याङ्क्यु डाक्टर,” श्रीमती ठकुराठीले खुशीका आँशु झार्दै भनिन्, “म आभारी छु, तपाईंहरुप्रति र नेपालका राजा वीरेन्द्रप्रति।”
डाक्टर कोठाबाट बाहिरिएपछि श्रीमती ठकुराठीले हस्पिटलको झ्यालबाट बाहिर हेरिन्। त्यो साँझ अत्यन्तै शोभायमान बनेर दुलहीझैँ सिंगारिएको थियो बैंकक शहर।
“पत्रकारलाई गोली हानेर पनि सत्य कुरा लुक्छ ?” पदम ठकुराठीले झ्यालनेर उभिएर अन्तै हेरिरहेकी श्रीमतीलाई आफ्नो नजिक बोलाए। उनी श्रीमानको छेउमा पुगिन्। श्रीमतीतिर हेर्दै उनले भने, “सत्ता र शक्तिले मान्छे कसरी पशुमा रूपान्तरण हुन्छ देख्यौ मनशा !! यिनीहरुविरुद्ध म अझै लेख्छु, निरन्तर लेख्छु।”
(कल्याण गौतम रेडियो प्रस्तोता हुन्। उनी स्रोताहरुबीच डियर कल्याणका रुपमा लोकप्रिय छन्।)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।