शब्द र पङ्क्ति गनेर वा आकार नापेर कवितालाई लामो वा छोटो भन्नु उपयुक्त हुँदैन । कविले समातेको आयाम तथा कवितागत विषयवस्तुले ओगटेको परिधिलाई हेर्नुपर्दछ । नेपाली कविताको फाँटमा आयामगत दृष्टिले लामा छोटा कविताहरू लेखिँदै आएका छन् । पछिल्लो समयमा मान्छेका रहर, रुचि र लेखनमा पनि परिवर्तनका आयामहरू देखापर्न थालेको अनुभूत भइरहेको छ । परिवर्तित परिवेशका कारण मान्छेले चिन्तनको तहलाई पनि फराकिलो बनाउँदै लैजानुपर्ने महसुस गर्‍यो । साहित्यका क्षेत्रमा पनि नौलानौला विषय र शैलीको प्रयोग हुनुपर्ने बुझेर लेखकहरूले त्यही अनुसार कलम चलाउँदै गए । नेपाली साहित्यमा सबभन्दा लामो इतिहास बोकेको साहित्यिक विधा कविताले व्यापक परिवेश र क्षेत्रफल पनि ओगटेको छ ।

केही वर्षअगाडि कवि महेश पौड्यालले आफ्नो कविताकृति शून्य प्रहरको साक्षी प्रकाशन गरे । उक्त कविताकृतिमा उनले आयामका हिसाबले छोटा कविताहरू समावेश गरे र त्यो कृतिले नेपाली कविता साहित्यमा फरक शैलीको मूल्य स्थापना गर्न सक्यो । उनै कवि महेश पौड्यालले सम्पादन गरेको नयाँ कविताकृति उज्यालोका मालीहरू यतिखेर चर्चामा रहेको छ । उज्यालोका मालीहरू कृतिभित्र एघार जना कविका एकसय दश वटा कविताहरू समावेश गरिएका छन् । यी एघार जना युवा कविका एकसय दश वटा कविताले पनि कवि महेश पौड्यालको शून्य प्रहरको साक्षीभित्रका कविताले ओगटेकै आयामलाई पछ्याएको अनुभूत हुन्छ । यस कृतिका सम्पादक पौड्यालले आफ्नो सम्पादकीयमा लेखेका छन्— यी कविता हुन् ।

अगाडि वा पछाडि कुनै उपसर्ग वा प्रत्यय यी कवितालाई स्वीकार्य नभएको प्रस्टै बुझिन्छ । म विश्वस्त छु, पाठक, समीक्षक वा समालोचकबाट पनि यस्तो काम हुने छैन। दोस्रो उत्तराधुनिकताको उदयसँगै मानक परिभाषाको हैकम सकिएको हो । विचारको तीक्ष्णता र कलाको प्राचूर्य यी कवितामा छ । त्यसैले यिनले कविता हुनु वा नहुनुको सनातनी वा संरचनावादी मान्यतामा नअल्झिने निर्णय गरेरै कविताको भूमिमा प्रवेश गरेका हुन् भन्न सकिन्छ ( सम्पादकीय )।

सम्पादक पौड्यालको यो विचारले पनि कविता कविता नै हो, कविताको अघिल्तिर छोटो वा लामो विशेषण जोड्नु उपयुक्त छैन भन्ने कुरालाई प्रस्तुत गरेको देखिन्छ । हिजोका कविले कवितामा कस्तो शैली प्रयोग गरेका थिए र आजका युवापुस्ताका कविले लेखिरहेका कवितामा कस्तो शैली प्रयोग भइरहेको छ ? यो प्रश्नले हरेक सर्जकलाई सोच्न बाध्य गराएको छ ।

उज्यालोका मालीहरू सङ्ग्रहमा अटाइएका कविहरू क्रमशः अदिप अधिकारी, अनिल खतिवडा, अर्जुन आचार्य, ऋजन मायालु, दिपिका खतिवडा, निरज दाहाल, प्रदीप योङहाङ, मोहन सङ्ग्राम, रेहान खान, शरद ऋतु र सुदर्शन पौडेल रहेका छन् । यी एघार जना कविका कविताको आयामगत पाटो एकै खालको रहे पनि यी कविले देखेको कवितात्मक विश्वदृष्टि भने फरकफरक छ । यस सङ्ग्रहमा अटाइएका कविहरूको चेतनाको तह उनीहरूको उमेरभन्दा माथि रहेको दखिन्छ । देश, समाज, प्रेम अनि मानिसका पीडा र सुखलाई कविताका माध्यमबाट कसरी पाठक समक्ष सम्प्रेषण गर्ने भन्ने सूत्र यी कविहरूलाई थाहा छ । विश्लेषणात्मक ढाँचाको कवितालेखनको शैलीलाई संश्लेषणात्मक शैलीबाट लेखौँ न त भन्ने एउटा प्रयोग पनि हो यो सङ्ग्रह, त्यसैले यो कवितासङ्ग्रहका कविताहरूलाई उत्तरआधुनिकताको मान्यताका साक्ष्यका रूपमा राख्न सकिन्छ । कविहरूले कविताको शक्तिलाई यसरी देखाउन खोजेका छन्—

१.
गुरुत्वाकर्षणको प्रभाव
या किसानको चीत्कार
पृथ्वी छोडेर वायुमडण्ल पुग्यो कुहिरो
र खुसीमा बदल्यो भोकको आँसुलाई
हामी पो उग्राउँदै मुस्कुराउँछौँ ढुङ्गामाथि बसेर
भोकका कथाहरू सुनिरहेका छौँ ।

एकदिन प्रकृतिले पनि हामीले जस्तै धर्म
छोड्यो भने
भ्यागुताको बिहेभोजले मेटाउला भोक ? (भविष्य, पृ.१७अदिप अधिकारी)

२.
तिमीले धेरै पहिले
पैसा भनेर दिएको पीपलको पात
बालापनको खेल भनेर सजिलै भुलिदियौ
म मूर्ख अझै त्यही पात लिएर
सम्बन्धहरू किन्न बजारमा भौँतारिरहेछु । (सँगालिएको अतीत,पृ.३० अनिल खतिवडा)

३.
भाव र अभावको तालमा डुबेको
मेरो जिन्दगीका कयौँ प्रहरहरूलाई
कविताले
सहजै उतारेको छ समयको छातीमा
तर भन्नेले भनिदिन्छ—
कविताले जिन्दगी उतार्दैन । (प्रतिलिपि,पृ.४६ अर्जुन आचार्य )

४.
समय जित्न पैतालाभन्दा
अक्सर जुत्ताहरू उत्साही छन्
एक समय थियो
जुत्ताभन्दा भरपर्दा थिए पैतालाका छालाहरू
समय बद्लिँदो छ
कुनै क्षण
जुत्ताहरूले आन्दोलन गरे भने ? (समय,पृ.५२ ऋजन मायालु )

५.
आगोले पानीलाई सिध्याउँछ
बफ बनाएर उडाउँछ
तर त्यही आगोले मलाई सिध्याउँदा
किन खरानी बनाउँछ, आमा ?
पानीमा फोहोर मिसाई हेरौँ एकचोटि
बनि पो हाल्छ कि खरानी ? ( खरानी, पृ. ७२ दिपिका खतिवडा)

६.
सोध्नू—
बुद्ध देश कुन हो ?
तर नसोध्नू—
बुद्धत्वको सीमा कहाँसम्म छ ?
यहाँ धेरै जवाफहरूलाई
आवाज होइन आँखा चाहिन्छ । (प्रश्न—उत्तर,पृ. ७६ निरज दाहाल )

७.
प्रेम गर्दै नगर्नु
गरेपछि त
आगोले चित्रालाई गरे जस्तो गर्नू
नखोजी उसको जात
नखोजी उसको औकात । (आगो र प्रेम, पृ. ८८ प्रदीप योङहाङ )

८.
कुनै दिन भगवान्ले
मलाई खुसी बनाए भने
म उनलाई
मान्छे बन्ने बरदान दिनेछु । (बरदान,पृ. १०३ मोहन सङ्ग्राम)

९.
उसले श्रीमतीको लागि
एउटा सानो सिन्दूरको बट्टा किनेको थियो
हुन त श्रीमतीले भन्ने गर्थी
‘मेरो सिन्दूर त तिमी नै हो ।’
सायद यो कुरा
त्यो ठूलो बाकसले सुनेछ
जे स्वयम् बट्टा बनेर आइपुग्यो
विमानस्थलमा कुनै दिन (बट्टा,पृ. ११७रेहान खान)

१०.
चराको आयु त
बूढो क्षितिजसँग सोध्नू

या
सकल सगरसित सोध्नू
या
उल्लु आँधीलाई सोध्नू

मृत्युका अस्थिरपञ्जर जस्ता
बिजुलीका तार र खम्बामा झण्डिएका
मांसपिण्डहरू त
केवल माटो न हुन् । (चराको आयु, पृ. १३० शरद ऋतु )

११.
मानौँ कुनै कैदीले
सजाएको हो कारागारको भित्ता
कुनै किशारीले बनाए जस्तो
बुर्कामा बुट्टा
कुनै भिखारीलाई दिए जस्तो
च्यातिएको नोट
समयले मलाई मर्ने सान्त्वना दिएर
धरतीमा पठाएको छ । ( सान्त्वना, पृ. १४२सुदर्शन पौडेल )

माथिका कवितामा कविको कवितात्मक चिन्तनको गहिराइलाई देख्न सकिन्छ । थोरैमा धेरै भन्ने क्षमता यी कविहरूसँग रहेको देखिन्छ । अदिप अधिकारीको ध्वन्यात्मक कविचेतनाभित्र समाज एवम् मान्छेका अनुभूतिलाई भेट्न सकिन्छ । अनिल खतिवडाका मिथकीय एवम् सामाजिक, सांस्कृतिक कविताले वर्तमानसँग समानधर्मिता कायम गरेको देखिन्छ । अर्जुन आचार्यले कवितामा मानवप्रेम, देशप्रेम र समाजको परिघटनालाई केन्द्रीय विषय बनाएका छन् । ऋजन मायालुको कविताको क्षेत्रफल अभाव, माया, भोक र जिन्दगीका पाटाहरू रहेका छन् । दिपिका खतिवडाको कविताको आयामले स्वतन्त्रताको खोजी, छोरीको अर्थ, समाज र सारा मान्छेको जीवनको सङ्गीतलाई समेटेको देखिन्छ । निरज दाहालका कवितामा समाजिक, सांस्कृतिक मानसिकतामा मान्छे केन्द्रमा रहेको देखिन्छ । प्रदीप योङहाङका कविताले देश, मानव जीवन, प्रेम र समयको वेगलाई विज्ञानसँग समानधर्मिता राखेको देखिन्छ । मोहन सङ्ग्रामका कविताले मानवीय धर्मको बाटो, मान्छेभित्रको देवत्व, सामाजिक सङ्गतिको आह्वानलाई समेटेका छन् । रेहान खानको कविताको आयाम पनि प्रेम, मान्छे रसामाजिक परिघटना नै रहेको देखिन्छ । शरद ऋतुको कविताको केन्द्रमा पूर्वीय दर्शन, मिथकीय चेतनासँगै कलात्मक विचारको गहिरो चिन्तनको प्रभाव देखिन्छ । सुदर्शन पौडेलका कवितामा चिन्तनको गहिराइ, मान्छेको मनोविज्ञान र सामाजिक परिघटनाहरू ध्वन्यात्मक तरिकामा प्रस्तुत भएको देखिन्छ ।

उज्यालोका मालीहरू कृति प्रकाशनसँगै आधुनिक नेपाली कविता लेखनमा कति धेरै परिवर्तन आइसक्यो भन्ने कुराको सङ्केत देख्न सकिन्छ । पाठक के चाहन्छन् ?कविले थोरै शब्दमा कसरी सम्पूर्ण कुरा समेट्न सक्छ भन्ने एउटा परीक्षणकै रूपमा पनि यो कृतिलाई मान्न सकिन्छ । लामा कविता पढिरहेका नेपाली कविताका पाठकका लागि यो कृतिले सोच्न बाध्य गराएको छ ।यस सङ्ग्रहभित्र कुनै कविले यसो भएन उसो भएन भनेर न त असन्तुष्टि प्रकट गरेका छन् न त नेता कार्यकर्तालाई देश बिगा¥यौ भनेर गाली नै गरेका छन् । यसबाट पनि यी कविरूले कविता भनेको असन्तुष्टि पोख्ने चौतारी होइन भन्ने प्रमाणित गरेका छन् । के अब नेपाली कवितालेखन प्रवृतिमा नयाँपन नै आएको हो त ? लामा कविताको शक्ति र छोटा कविताको शक्तिमा के फरक छ त ? यो प्रश्नले कविता साहित्यलाई एकचोटि फेरि झकझकाएको देखिन्छ ।

आयामका हिसाबले छोटा कविता लेख्दा कविले पाठकसँग सम्प्रेषण हुन सक्ने गुण राख्न सक्नुपर्ने हुन्छ । पाठकको दिमागको तलाउमा झन्झनाहट पैदा गर्ने क्षमता भएन भने अर्थात् कविता पढिसकेपछि पाठकलाई सोच्ने वातावरण बनाउन सकिएन भने कवितालाई शक्तिका रूपमा भन्दा सीमाका रूपबाट हेर्नुपर्ने हुन्छ । यहाँका केही कवितामा त्यो झन्झनाहट पार्ने कला पूरा हुन बाकी रहेको देखिए पनि यो उज्यालाका मालीहरूकविता सङ्ग्रहभित्रका सम्पूर्ण कविताहरू वर्तमान समयका बिम्ब हुन् । यथार्थवादी स्वरमा प्रभावपूर्ण कविता लेख्ने यी एघार जना कविहरूको यो सङ्ग्रह पठनीय रहेको छ ।

विधा : कविता
प्रकाशक : शिखा बुक्स
पृष्ठ : १४४
सम्पादक : महेश पौड्याल
कवि : एघार जना कविहरू
मूल्य : २५०