साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

कठै पत्रकार ! कठै चार ‘स’ !!

जब-जब विपत्ति आउँछ, संकट आउँछ, आउनु पर्ने जत्ति पनि विपत्ति संकटमा देशमा चार ‘स’ सक्रिय हुन्छन् । उनीहरु अग्रपंक्तिमा देखिन्छन् । विपत्तिसँग लडिरहेका हुन्छन् । चाहे भूकम्प आउँदा होस् या बाढी पहिरो । कतिपय अवस्थामा त आफ्नोसमेत पर्वाह नगरी समाज र देशका लागि खटिरहेका भेटिन्छन् । यी चार ‘स’ हरेक विपत्तिमा सारथिजस्तै बनेका हुन्छन् । भोक–तिर्खा, रातदिन नभनी आ–आफ्नो काममा खटिरहन्छन् । आफू हुनुको कर्तव्य निभाउँछन् । घर परिवार भन्दा महत्त्व समाज र देशलाई दिन्छन् । अहिले विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसका विरुद्धमा पनि यी चार स अग्रपंक्तिमा नै छन् । तर अरु बेलाको भन्दा यस पटक उनीहरुको अवस्था फरक छ । उनीहरुलाई हेर्ने दृष्टिकोण यस पटक फरक भएको छ । ती चार स अर्थात स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी र समाजसेवी । कोरोना कहरमा यिनीहरुलाई हेर्ने दृष्टिकोण परिवर्तन भएको छ । हिजोसम्म भगवान लाग्ने स्वास्थ्यकर्मी आज आफ्नै मृत्यु बोकेर आए जस्तो भएको छ। सुरक्षाकर्मी, समाजसेवी र सञ्चारकर्मीले पनि यतिबेला यस्तै सकस भोग्नु परिरहेको छ । सुरक्षाकर्मीहरुले भनिरहेका छन्– ‘हामी तपाईंहरुको सुरक्षाका लागि छौं, कृपया तपाईंहरु घरभित्रै बसिदिनुस् ।’ अरुबेला सुरक्षा कवच लाग्ने सुरक्षाकर्मी अहिले परिवार समाजबाट अपहेलित छन् । मानौं उनीहरु मृत्यु बोकेर हिँडिरहेका छन् ।
स्वास्थ्यकर्मीलाई घरबेटीले कि अस्पतालमै बस्नु, कि डेराबाट बाहिर नजानु भन्ने उर्दी जारी गरेका छन् । जसको काम नै बिरामीको सेवा गर्नु हो । अस्पतालमा कयौं रोगीहरु उनीहरु नै एक मात्र केन्द्र भनेर बाँचेका छन् । उनीहरुकै बाटो हेरिरहेका छन् तर तिनै स्वास्थ्यकर्मी पिटिएका छन् । डेराबाट निकालिएका छन् । होटलमा बसेर काम गर्न बाध्य भएका छन् । स्वास्थ्यकर्मी, जसलाई हिजोसम्म भगवान भन्थे, आज काल बनेर आएजस्तै गरिरहेका छन् । उनीहरु घर आउँदा काल आउँछ र घरका सबै सदस्यलाई कालले टिपेर लान्छ जस्तो गरिरहेका छन्। आज यिनै-यिनै गन्थन लेख्न मन लाग्यो, लकडाउन डायरीमा । आफू पनि सञ्चारकर्मी भएको र त्यही चार स भित्रको एउटा पात्र भएकाले । हामीले सकेसम्म सुरक्षा सर्तकता अपनाएका नै हुन्छौं । तर गर्दै जाँदा कहिलेकाहीँ नसोचेको नतिजा आउँछ र त्यसको निकै ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ ।
लकडाउन भएदेखि रेडियोमै बसेर काम गरिरहेकी छु । लकडाउनका अनुभूतिमा लेखिरहेकी छु । आफ्नै र आफ्नाहरु जस्तैका बारेमा लेख्न मन लाग्यो अहिले । यस विषयमा लकडाउन डायरीमा लेखिने थिएन होला । यदि नेपाल पत्रकार महासंघ पर्सा शाखाको भर्चुअल बैठक नबसेको भए । लकडाउन गरेको झण्डै १९ दिनपछि वीरगन्ज २ मा कोरोना संक्रमित फेला पर्‍यो । मुस्लिम धर्मप्रचारकहरुमा कोरोना संक्रमण फेला पर्‍यो । त्यसपछि वीरगन्जमा एकखालको त्रास सृजना भयो । अहिले झापा भए पनि मैले लामो समय वीरगन्ज कार्यक्षेत्र बनाएर काम गरेँ । अहिले पनि पत्रकार महासंघ पर्साको उपाध्यक्ष हुँ । भलै आफ्नै कारणले अहिले झापा छु । वीरगन्जमा संक्रमित भएपछि चासो झन् बढ्यो । वीरगन्जकै धेरै साथीहरुले पनि खबर सोधिरहनु भयो । सुरक्षित रहनु भनेर म्यासेज गरिरहनु भयो । अन्य ठाउँका साथीहरुको आइरह्यो । यतिन्जेलसम्म पनि सञ्चारकर्मी र नागरिक समाजले सम्बन्धित निकायलाई घच्घच्याइरहे । तर सम्बन्धित निकायले कानमा तेल हालेर बसिरहेको भन्ने खालका समाचार पनि आइरहे ।
पत्रकारिता पेशा व्यावसायिक रुपमा सधैं प्रतिपक्षको भूमिकामा हुन्छ । चित्त नबुझेका समाचारहरु प्रकाशन र प्रसारण गर्छ । यस्तो बेला पत्रकारितालाई संकुचित बनाउने प्रयासमा पनि हुन्छन् । यसमा हामी कतिको पानीमा छौँ भन्ने पनि थाहा हुन्छ । यो बेला त अग्रपंक्तिमै रहेर पत्रकारिता गर्नलाई पनि चुनौति थियो, छ पनि । अझ सबैतिर मुस्लिमहरुबाटै कोरोना संक्रमण भित्रियो भनेर विभिन्न टीकाटिप्पणी आइरहेको थियो । नेपालमा मुस्लिम धर्मप्रचारकले कोरोना भित्र्याए भन्ने खाले पनि समाचार नआएका होइनन् । यस्तो बेला संयमित भएर समाचार संकलन र सम्प्रेषण गर्न पनि कठिनाई थियो । हामीले हाम्रो दायित्व पूरा गरिरहेकै थियौं । समाचार संकलन र प्रसारण सम्भव भएसम्म गर्‍यौं । यदि अहिले सञ्चारकर्मी नभए भए अहिले यो लकडाउनमा यससम्बन्धी थप जानकारी लिन गाह्रो हुने थियो । लकडाउनमा घरभित्र भएकाहरुलाई सूचनाको एउटा माध्यम टिभी, एफएम रेडियो र अनलाइन पत्रपत्रिका नै थिए । यस महामारीबाट बच्न, सुरक्षित हुन, थप संक्रमण फैलिन नदिन गरिएका पहलहरु घरमा बसेर जानकारी लिन सजिलो भएको छ- सञ्चारकर्मका कारण ।
पछिल्लो समय एकै पटक ३९ जनामा संक्रमण देखिएपछि वीरगन्ज त इपिसेन्टर जस्तै बन्यो । थपिने क्रममा दुईजना सञ्चारकर्मीमा पनि संक्रमण पुष्टि भयो । आधारभूत सुरक्षाका उपायहरु नअपनाएको त होइन । अपनाउँदा अपनाउँदै पनि संक्रमित भए । यसले झन् तनाव बढ्यो । यस सँगैसँगै अहिले अन्य क्षेत्रका सञ्चारकर्मीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । यसले सञ्चारकर्मी पनि उच्च जोखिममा रहेको पुष्टि गर्छ । यतिबेला सञ्चारकर्मी पनि धेरै जनाको सम्पर्कमा हुन्छन् । उनीहरु जोखिममा पर्नु अस्वभाविक होइन । यही समाचार संकलनकै क्रममा वीरगन्जका एक पत्रकारलाई दुर्व्यवहार मात्रै होइन प्रहरीले पक्राउ नै गर्‍यो । पत्रकार पक्राउ परेको विरोधमा लकडाउनकै बीचमा पर्साका सञ्चारकर्मी आन्दोलित भए । घण्टाघरमा धर्ना बसे । धर्नामा पनि सुरक्षात्मक उपाय त अपनाएकै थिए । भोतिक दुरी कायम राखेकै थिए । जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाए । यसैबीच धेरै ठाउँ पुगिएकाले गर्दा आफैँ पनि परीक्षण गरी हेरौँ भनेर चार सञ्चारकर्मी स्वाब परीक्षणका लागि नारायणी अस्पताल पुगे । जसै उनीहरुमध्ये दुईको रिपोर्ट पोजिटिभ आयो । त्यसपछि झन् त्रासको वातावरण छायो । अनेक टीकाटिप्पणी भयो । निकै ठूलो अपराध गरेजस्तो । सञ्चारकर्मीलाई हेर्ने नजरिया नै एकाएक परिवर्तन भयो ।
यसैबीच नेपाल पत्रकार महासंघ पर्सा शाखाको भर्चुअल माध्यमबाट बैठक बस्यो । सञ्चाकर्मीले नै सबैलाई सारेसम्म भने । आम नागरिक त भए भए तर सरकारी कार्यालयका जिम्मेवार व्यक्तिले समेत पत्रकारकै कारण वीरगंजमा कोरोना फैलियोसम्म भन्न भ्याए । हो, पत्रकारलाई संक्रमण भयो । सावधानी अपनाउँदा अपनाउँदै भयो । संक्रमण हुने बित्तिकै उनीहरुले आफ्नो सम्पर्कमा आएका सबैलाई तत्काल खबर पनि गरे । समाचार संकलन गर्ने क्रममा सावधानी अपनाएर गर्दागर्दै पनि संक्रमण भएर अहिले अस्पतालमा छन् । उनीहरुको परिवार र सम्पर्कमा आएका सबैको रिपोर्ट नेगेटिभ आइसकेको छ । एक किसिमले ढुक्क त भयो तर हेर्ने दृष्टिकोण भने उस्तै । विश्वकै नामुद अपराधीलाई जस्तो । त्यस्ता कुरा संक्रमित पत्रकारले बैठकमा सुनाउँदा कस्तो कस्तो भयो । तिनै समाजका अगुवा हुन्, जसले हिजोसम्म यही भाइरसका बारेमा विभिन्न जानकारी सञ्चाकर्मीबाट लिन्थे । तर अहिले समाजमा नै बहिष्कृत भए । यहाँ सञ्चारकर्मी सबै सही छन् भन्न पनि सकिन्न । अहिलेको महामारी सबैले बुझेकै छन् । सकेसम्म घरमै बस्नु पर्ने । धेरै पत्रपत्रिका बन्द छन् । अनलाइन संस्करण चलिरहेको छ । घरमै बसेर भएको सुविधा प्रयोग गर्न सकिन्छ । सकेसम्म घरबाटै समाचार लिएर लेख्न सकिन्छ । सकिनेसम्म त्यसो गर्नुपर्छ । टेलिभिजनका सञ्चारकर्मीले भने विशेष सावधानी अपनाएर काम गर्न सकिन्छ । पास छ, प्रेस कार्ड छ भनेर लखरलखर हिँड्ने समय होइन भन्ने बुझ्न जरुरी छ । संक्रमित एक सञ्चारकर्मीकी श्रीमतिले भावुक हुँदै फेसबुकमा लेखिन्, ‘हाम्राविरुद्ध मेला लगाएर ढोल पिट्दै हिँडे । सत्यनाश बनायो हाम्रो टोल पनि भने । धेरै जान्ने भएर खुब मै हुँ भन्दै पैसा कमाउन हिँडेको थियो नि खाइस् पनि भने । घरका अरू सदस्यलाई पनि फोन गरी–गरी तेरो घर बर्बाद भयो भनेर उचाले । कतिले त यस्तोलाई राख्न हुन्न भन्दै हिँडे ।’
उनको यो पोस्ट पढेपछि लाग्यो– संक्रमित हुने त भइहाले, तिनको परिवारले भोगेको मानसिक पीडाको पहाड झन् कस्तो भयङ्कर ! समस्या त अहिले पनि छ । संक्रमित थपिएकै छन् । मृत्यु समेत भइसकेको छ । लकडाउन बढेको बढ्यै छ । विस्तारै आधारभूत आवश्यकताका सामाग्रीहरुको अभाव हुन थालेको छ । जनजीवन थप कष्टकर बन्दै गइरहेको छ । राहत वितरण भइरहे पनि पाउनु पर्नेले नपाइरहेको गुनासो पनि आइरहेको छ । यस्तो बेला सञ्चारकर्मीलाई समस्या हुँदैन भन्ने पक्कै होइन । झन् समाचारकै आधारमा पारिश्रमिक पाउने सञ्चारकर्मीको अवस्था हामी अन्दाज गर्न सक्छौँ । समयमा पारिश्रमिक नपाउनेहरुको अवस्था पनि उस्तै छ । काममा महामारी भन्न पाएका छैनन् । विपत्ति भनेका छैनन् । उनीहरुका पनि समस्यामा हुन सक्छन्, छन् , प्रभावित हुँदै गएका छन् । जिम्मेवार पत्रकारिता गर्नु चुनौती छँदैछ । पेशालाई मर्यादित पनि बनाउनु छ । यही लकडाउनका बीचमा मे ३ तारिकमा विश्व प्रेस स्वतन्त्रता दिवस थियो । नारा थियो “भय र पक्षधरतामुक्त पत्रकारिता” तय गरेको थियो । तर झन् भय थपिएको छ । यतिबेला ज्योकट लगाएर हिँड्दैमा, क्यामेरा भिर्दैमा पत्रकार हुने भ्रम नपालौं । जिम्मेवार भएर काम गरौं । आफू सुरक्षित रहेर संक्रमण फैलन नदिने वातावरण सिर्जना गर्ने कर्तव्य पनि तपाईं-हाम्रै हो । समाजप्रति जिम्मेवार भएर काम गर्नु आजको आवश्यकता हो ।
यस्तै सुरक्षाकर्मीमा पनि संक्रमित भएका छन् । नर्स संक्रमित भएका छन् । यसले कसैलाई चिन्दैन । उनीहरु पनि सेवामा खटिएका छन्, चाउचाउ र पानीको भरमा । घरपरिवारबाट टाढा छन् । घरकालाई उस्तै चिन्ता छ । स्वभाविक हो । उनीहरु हाम्रै लागि खटिएका छन् भन्ने बुझौं । यस्तै समाजसेवी पनि उसरी नै खटिएका छन् । लामो यात्रा तय गरेर भोकभोकै पैदल हिँडेका यात्रीहरुको कतै गाँस त कतै बास बनेर । बीचमा अलपत्र परेकाहरुलाई सकेको सहयोग गरिरहेका छन् । सकेको सहयोग सबैले आआफ्नो ठाउँबाट गरिरहेका छन् । यस्तो बेला यी सबै हाम्रै लागि गरिएको हो भन्ने बुझौं । सुरक्षित रहौं । समाजलाई पनि सुरक्षित रहन सहयोग गरौं र जिम्मेवार भएर काम गरौं ।

प्रतिक्रिया
Loading...