
युद्ध र शान्ति
खण्ड २
परिच्छेद- १५
अपरान्ह तीन-चार बजेतिर राजकुमार आन्द्रेइ, जो मलाई लडाइँमा पठाइयोस् भनेर कुतुजोभसँग अनुरोध गरिरहेथ्यो, गुन्थ पुग्यो र बग्रातिओनसामु हाजिरी दियो । बोनापार्टको सहयोगी अझै मुराटसँग पुगेको थिएन र लडाइँ पनि अझै सुरु भएको थिएन । बग्रातिओनको फौजमा घटनाचक्रको सामान्य भेउ पनि कसैले पाएको थिएन । त्यहाँ शान्तिको चर्चा भइरहेकोथ्यो तर शान्ति होला भनेर कसैलाई विश्वास थिएन । लडाइँको कुरा हुन्थ्यो तर यो पनि कसैलाई थाहा थिएन कि लडाइँ कहिले हुने हो ।
बोल्कोन्स्की, प्रधान सेनापतिको प्रिय पात्र र विश्वसनीय सहायक हो भन्ने बग्रातिओनलाई थाहा थियो । त्यसकारण उसले झप्रति विशेष ध्यान दिँदै उसको स्वागत गर्यो । उसलाई यो भनिदियो कि आजभोलितिर लडाइँ सुरु हुनेवाला छ । र, लडाइँको अवधिभरि उसलाई आफैंसँग बस्न सक्ने अथवा पृष्ठरक्षादलमा सम्मिलित भएर पछाडिको व्यवस्थामा चनाखो किसिमले नजर लगाउने विकल्प दियो, “जो ज्यादै जरुरी थियो ।”
“जे भए पनि, आज लडाइँ होला जस्तो छैन,” बग्रातिओनले राजकुमार आन्द्रेइलाई ढाढस् दिने हेतुले भन्यो ।
“ऊ एउटा सामान्य अफिसर रहेछ र तक्मा पाउनका लागि मात्र यहाँ पठाइएको रहेछ भने पृष्ठरक्षकदलमा बसे पनि पाइहाल्छ, होइन ऊ साँच्चै नै बहादुर अफिसर रहेछ भने मसँग बस्दा पनि फरक पर्दैन – उसको योगदानको कदर हुने नै छ,” बग्रातिओनले सोच्यो । यता राजकुमार आन्द्रेइको मनस्थिति अर्कै थियो । उसले राजकुमार बग्रातिओनको प्रश्नको उत्तर नै दिएन तर उसको सैन्यबलको स्थिति बरु कस्तो रहेको छ भनेर सोध्यो किनभने खटाइएका बखत कहाँ जानुपर्छ र के गर्नुपर्छ भन्ने उसलाई ठूलो जिज्ञासा थियो । त्यति, राम्रोसँग बोल्न नजाने पनि फ्रान्सेली भाषा बोल्न खूब मन पराउने, चोर औँलामा औँठी लगाएको र सुन्दर पहिरनमा सजिएको एउटा तेजस्वी ड्युटी अफिसरले राजकुमार आन्द्रेइसँग साथ लाग्ने इच्छा प्रकट गर्यो ।
सम्पूर्ण शरीर पानीले भिजेका र दिक्क अनुहार लगाएका अफिसरहरू केही खोजिरहेझैँ देखिन्थे र सैनिकहरूले गाउँबाट ढोकाका खापा, बेन्च र बारीका बारहरू घिसार्दै ल्याइरहेका देखिन्थे ।
“देख्यौ राजकुमार, यिनीहरूलाई हामीले रोक्न सक्तैनौँ,” ती सैनिकहरूतर्फ सङ्केत गर्दै ड्युटी अफिसरले भन्यो । ““यिदका हाकिमहरूले यिनीहरूलाई छाडा छोडेका छन् ! ठेक्दारको पालतिर देखाउँदै उसले भन्यो,” त्यहाँ हेर, उनीहरू एकै ठाउँमा जम्मा भएर बसिरहेका छन् । आज बिहान मैले उनीहरू सबलाई त्यहाँबाट भगाएको थिएँ तर अहिले फेरि उनीहरू जस्ताको तस्तै त्यहीँ जम्मा भएका छन् । राजकुमार, मैले त त्यहाँ गएर उनीहरूलाई अलिकति तर्साउनै पर्ला जस्तो छ । तर म तुरुन्तै फर्किहाल्छु ।”
हुन्छ, म पनि सँगै जान्छु र, अलिकति पाउरोटी र चिज खान्छु, राजकुमार आन्द्रेइले भन्यो । उसले केही पनि खाने अवसर पाएको थिएन ।
“अगि नै किन नभनेको ? मैले केही व्यवस्था गर्ने थिएँ नि ।”
उनीहरू दुवै जना घोडाबाट ओर्लेर क्यान्टिनभित्र छिरे । त्यहाँ थकित र क्लान्त अनुहार लिएका केही अफिसरहरू पनि कुर्सीमा बसेर खानपिन गर्दै थिए ।
“सज्जनहरू, यस्तो पनि कहीँ हुन्छ ? ड्युटी अफिसरले त्यो मान्छेको जस्तो निन्दात्मक भाषामा भन्यो, जुन मान्छेले एउटै कुरा धेरै पटक भनेको होस् ।” “थाहा छ, तपाईंहरूले आफ्नो-आफ्नो ठाउँ छोडेर: यसरी गायब हुन नहुने हो । कसैले पनि आफ्नो तोकिएको ठाउँ नछोड्नू भन्ने राजकुमारको आदेश छ । अनि, तिमी कप्तानजस्तो जिम्मेवार अफिसर भएर पनि…” भन्दै ऊ तोपखानाको दुब्लो- पातलो, अलि फोहरी र पुडूको खालको एक जना अफिसरतिर फर्क्यो, जो बिनाजुत्ता (उसले क्यान्टिनवालालाई जुत्ता पालिस लगाएर सुकाउन दिएको थियो) मोजा मात्र लगाएर यी दुवै जना अफिसर आउँदा उभिएको थियो र मन नलागीनलागी मुस्कुराइरहेको थियो । –
“कप्तान तुसिन, तिमीलाई लाज लाग्दैन ?” ड्युटी अफिसर भाषण छाँट्दै थियो । तोपखानाको अफिसरको हैसियतले तिमी त अरूको अगाडि एउटा उदाहरण भएर प्रस्तुत हुन पर्ने थियो, तर खुट्टामा जुत्तासमेत नलगाएर उपस्थित भएका छौ । यदि खतराको घन्टी बज्यो भने तिमी लज्जास्पद अवस्थामा देखिने छौ । (स्टाफ अफिसर हाँस्यो) “तत्काल
तिमीहरू सबै आफ्नो आफ्नो ठाउँमा फर्क, सज्जनहरू हो, सबै फर्क !” उसले आदेशात्मके शैलीमा थप्यो ।
“तोपखानाको कप्तान तुसिनतर्फ हेर्दै राजकुमार आन्द्रेइ अनिच्छापूर्वक हाँस्यो । कप्तान तुसिन चुपचाप लागेर तर हाँस्दै नाङ्गा खुट्टाले घस्रँदै आफ्ना ठूल्ठूला तीक्ष्ण र दयालु आँखाले केही सोधेजस्तै गरेर राजकुमार आन्द्रेइ र ड्युटी अफिसरलाई हेर्न लाग्यो ।
“सिपाहीहरूले जुत्ता नलगाउँदा झन् सजिलो हुन्छ भन्छन्,” अप्ठ्यारो मान्दै, लजाउँदै र मुस्कुराउँदै कप्तान तुसिनले भन्यो । यो स्पष्ट थियो कि ऊ ठट्टा गरिरहेको देखाउन चाहन्थ्यो । तर आफ्नो कुरा पूरा गर्न नपाउँदै उसलाई यो थाहा भयो कि उसको ठेट्टालाई गम्भीरतापूर्वक ठट्टाका रूपमा लिइएन र ऊ आफूले सोचेजस्तो उद्देश्य प्राप्त गर्न
– सफल भएन । ऊ दिग्भ्रमित भयो ।
“आफ्नो आफ्नो ठाउँमा फर्कनु पर्यो ” गम्भीर मुद्रा बनाउँदै ड्युटी अफिसरले भन्यो ।
राजकुमार आन्द्रेइले कप्तान तुसिनको फुच्चे अनुहारमा फेरि नजर लगायो उसको अनुहार केही विशेष प्रकारको थियो, एकदम असैनिक थियो, उपहासपूर्ण थियो तर थियो असाध्यै आकर्षक ।
ड्युटी अफिसर र राजकुमार आन्द्रेइ आफ्नोआफ्नो घोडा चढेर त्यहाँबाट सर्पट ठोके ।
गाउँबाट बाहिर निस्केपछि नजिकबाट ओहोरदोहोर गर्ने अनेकौँ प्रकारका सैनिक र अफिसरहरूसँग उनीहरूको जम्काभेट भइ । उनीहरूको बायाँतिर भर्खर मात्र खनिएको सुरुङको रातो र ताजा माटो देखिएको थियो । हावा ताजा थियो । सैनिकहरू कैयौँ बटालियन धमिराजस्तै गोलो भएर कमिजको बाहुला माथितिर सुर्काएर माटो खन्दै बाहिर फ्याँक्दै थिए ।
राजकुमार आन्द्रेइ र ड्युटी अफिसर किल्लाबन्दीसम्म पुगे र त्यसलाई हेर्दै त्योभन्दा पनि अगाडि बढे । यो किल्लाबन्दीको ठीक पछाडि केही दर्जन सिपाहीहरू देखिए । ती सिपाहीहरू आफ्नो पालो पर्खेर लगातार सुरुङतिर दगुरिरहेका हुन्थे र त्यसै गरी त्यहाँ पुगेर फेरि फर्किरहेका हुन्थे । यी दुई जना अफिसरहरू त्यो दुर्गन्धित चर्पीबाट बच्नको लागि नाक थुन्दै घोडालाई कोर्रा लगाएर अगाडि बढ्दै थिए ।
“यही हो सैनिक क्याम्पमा रहँदा प्राप्त हुने आनन्द, राजकुमार,” ड्युटी अफिसरले भन्यो ।
फेरि उनीहरू पहाडको पल्लो छेऊतिर घोडा चढेर कुदे । त्यहाँबाट फ्रात्सेलीहरू स्पष्ट रूपमा देखिन्थे । राजकुमार आन्द्रेइ त्यहाँनिर यसो रोकियो र जताततै नजर दौडाउन लाग्यो ।
“ती हाम्रा तोप हुन्,” ड्युटी अफिसरले सबभन्दा अग्लो ठाउँ देखाउँदै भन्यो । “बिनाजुत्ता मोजा मात्र लगाएर हिँड्ने त्यही अचम्मको मान्छे नै यो तोपखानाको हाकिम हो । त्यहाँबाट सबै कुरा राम्रोसँग देखिन्छ । जाऔँ राजकुमार ।”
“त्यसका लागि तिमीलाई धन्यवाद छ । तर म एक्लै जान्छु,” उक्त ड्युटी अफिसरसँग पिण्ड छुटाउने इच्छाले राजकुमार आन्द्रेइले भन्यो । “तिमीले यसमा अब धेरै दुःख गर्नु पर्दैन ।”
ड्युटी अफिसर फिर्ता भयो र राजकुमार आन्द्रेइले आफ्नो घोडा अगाडि बढायो । राजकुमार जतिजति शत्रुको नजिकनजिक पुग्थ्यो सैनिकहरू त्यतित्यति सुव्यवस्थित प्रसन्नचित्त भएको उसले पायो । सबभन्दा ठूलो गडबडी र विषाद त उसलाई त्यो बिहान जाइनाम सडकमा छिर्दा सामान लादिएका तोपवाला गाडीमा देखा पर्यो, जुन सडक फ्रान्सेलीहरूभन्दा सात माइल॑ मात्र टाढा थियो । उसलाई ग्रन्थमा पनि केही झस्को, त्रास र आशङ्का उत्पन्न भएको थियो तर ऊ जतिजति फ्रान्सेलीहरूको नजिक पुग्थ्यो, हाम्रा सैनिक उतिउति आश्वस्त र निर्धक्क देखिन्थे । ठूलो कोट लगाएका सिपाइहरू एउटा पंक्तिमा उभिएका थिए । सार्जेन्ट मेजर र कम्पनी अफिसरहरू मान्छेको गिन्ती गर्दै थिए र हरेक पंक्तिको अन्तिम सिपाहीको छातीमा औँलाले घोँच्ये र उसलाई हात माथि उठाउने आदेश दिन्थे । सारा क्षेत्रमा छरिएका सिपाहीहरूले दाउरा र पातपतिङ्गर ओसारिरहेका थिए, हाँस्दै र ठट्टा गर्दै ओत लाग्ने ठाउँ बनाइरहेका थिए । लुगा लगाएका र नलगाएका अरू सिपाहीहरू, आफ्ना लुगा सुकाउँदै खुट्टामा सैनिकपट्टी बान्दै जुत्ता र ठूलो कोट मरम्मत गर्दै, पानी उमाल्दै र रोटी पकाउँदै एकै ठाउँमा भीड लागेर अगेनाको वरिपरि बसेका थिए । एउटा कम्पनीमा खाना तयार भएको थियो । सिपाहीहरूले उत्सुकतापूर्वक वाफ उडिरहेको भाँडामा हेर्दै, थुक निल्दै खाने कुरा चाख्ने समय कुर्दै थिए । तयार भएको खाने कुरा एक जना क्वाटर मास्टर सार्जेन्टले काठको कचौरामा राखेर आफ्नो छाप्रोमा बसिरहेको अफिसरछेउ चाख्नका लागि पुर्याउँदै थियो ।
अर्को भाग्यशाली कम्पनीमा, किनकि सबै कम्पनीमा भोड्का थिएन, सैनिकहरू एक जना चौडा काँध भएको छ्याके सार्जेन्ट मेजरनजिक भीड लाएर उभिएका थिए, जसले पीपा तेर्सो पार्दै आफ्नोअगाडि ल्याइएका मगमा पालैपालो भोड्का भर्दै गइरहेको थियो । सैनिकहरूले श्रद्धापूर्वक अनुहार झुकाउँदै भोड्का भरेको मग मुखमा लैजान्थे, भोड्का मुखभित्र हाल्थे, घाँटी भिजाउँथे, ओंठ चाट्थे र ठूलो कोटको बाहुलाले ओंठ पुछ्थे र प्रसन्न मुद्रामा उक्त छ्याके सार्जेन्ट मेजरसँगबाट हट्थे । सबैको अनुहार यति शान्त थियो मानौँ यो सबथोक दुस्मनको एकदम नजिक, लडाइँ हुनुभन्दा पहिले होइन, जसमा कम्तीमा आधा सैनिक खेतमा छोडिनेवाला थिए, बरु युद्धको प्रतीक्षामा कतै आफ्नै मातृभूमिमा भइरहेको होस् । सासर रेजिमेन्ट (तेजगतिमा हिँड्ने फ्रान्सेली सैनिकको सम्पन्न रेजिमेन्ट) बाट अगाडि बढेपछि राजकुमार आन्द्रेइ किभको ग्रिनेडियर रेजिमेन्टनजिक पुग्यो, जुन रेजिमेन्टका हृष्टपुष्ट सिपाहीहरू उस्तै शान्तिपूर्ण काममा व्यस्त थिए । यहाँ एउटा छाप्रोनजिक, जुन छाप्रो अरू रेजिमेन्ट कमाण्डरहरूका छाप्राभन्दा । अग्लो भएको हुँदा छुट्टै किसिमको देखिन्थ्यो, ऊ ग्रिनेडियर रेजिमेन्टको एउटा यस्तो गुल्मको नजिक पुग्यो, जसको अगाडि एउटा नाङ्गो मान्छे पल्टिरहेको थियो । दुई जना सिपाहीले उसलाई पकडिरहेका थिए भने अन्य दुई जनाले उसको नाङ्गो पीठमा लगातार कोर्रा बर्षाइरहेका थिए । उक्त सजाय पाउने व्यक्ति रोइकराई गरिरहेको थियो । एक जना मोटोमोटो खालको मेजर उक्त व्यक्तिका अगाडिबाट आउने-जाने गरिरहेको थियो रे, उसको रोदन-क्रन्दनको वास्तै नगरेर दोहोर्याई-दोहोर्याई एउटै कुरा भन्दै थियो । “एउटा सैनिक भएर चोरी गर्नु भनेको अत्यन्त लज्जास्पद कुरा हो । सिपाही भएपछि त इमान्दार, सम्मान्य र बहादुर हुनै पर्छ । तर उसले आफ्नै सहपाठीको कुनै चिज -चोर्छ भने उसमा इमान्दारिता भन्ने कुरै रहेन । ऊ त छुद्र र नीच हो । उसलाई नपिटेर कसलाई पिट्ने ? अझै पिट यसलाई !”
यसरी वेतको कोर्राले हानेको र अभियुक्तको हताश तर अस्वाभाविक चीत्कारको आवाज लगातार सुनिइरहेको थियो ।
“ठोक, ठोक, अझै हान,” मेजरले भनिरहेको थियो ।
एक जना युवा अफिसर व्याहत र व्यथित अनुहार लाउँदै अभियुक्तको छेउबाट लम्कियो र घोडा चढेर गइरहेको सहायकलाई प्रश्नसूचक दृष्टिले हेरिरह्यो ।
राजकुमार आन्द्रेइ अग्रिम रेखामा पुगेर अगाडिको चौकीनजिकैबाट जान लाग्यो । हाम्रो सेनाको पंक्ति र दुस्मनको अग्रपंक्ति दायाँ र बायाँ छेउमा धेरै टाढा तैनाथ थियो । तर बिहान युद्धविरामका सन्देशबाहकहरू भेटिएको ठाउँको बीचमा, उनीहरू आपसमा यतिनजिक आएका थिए कि उनीहरूले एक-आपसको अनुहार राम्ररी चिन्न पनि सम्थे कुराकानी गर्न पनि सक्थे । यिनी चौकीहरूमा उपस्थित फौजबाहेक दुवैतिर धेरै स्थानीय जिज्ञासु दर्शक पनि उभिएका थिए । उनीहरू ख्यालठट्टा गर्दै अनौठा खालका देखिने आफ्ना शत्रुहरूलाई आँखा तानीतानी हेर्दै थिए । अग्रिम चौकीहरूमा आउन निषेध गर्दागर्दै पनि अफिसरहरूले जिज्ञासु दर्शकहरूलाई रोक्न सकिरहेका थिएनन् । कुनै दुर्लभ वस्तु देखाउने मान्छेहरू जस्तै यी चौकीहरूमा उभिएको फौज अब फ्रान्सेलीहरूतर्फ ध्यान नदिएर दर्शकहरूतर्फ हेर्न लाग्यो र उक्त फौज उँघ्दै आफ्नो ड्युटी (पालो) सकिने समय कूदै थियो । राजकुमार आन्द्रेइले फ्रान्सेलीहरूलाई राम्ररी हेर्नका लागि आफ्नो घोडा रोक्यो ।
“हेर त, उता हेर त,” एउटा सिपाहीले अर्को सिपाहीलाई त्यो निसानावाज रसियाली सैनिकतर्फ इशारा गरेर भन्दै थियो, जो आफ्नो कप्तानसँगै फ्रान्सेलीहरूको चौकीनजिक पुगेको थियो र फ्रान्सेली ग्रिनेडियरसँग छिटोछिटो र उत्तेजित आवाजमा भनिरहेको थियो । “ऊ क्या मजाले बर्बराइरहेछ, सुन । रमाइलो छैन त?” बिचरा फ्रान्सेलीले त्यति छिटो जवाफ दिन सकिरहेको छैन । अब तिमीले बोल्देऊ, सिदोरोभ !” “एकछिन पर्ख, कुरा सुनौँ न पहिले, रमाइलै रहेछ !” फ्रान्सेली भाषाको खप्पिस मानिने सिदोरोभले जवाफ दियो ।
हाँसिरहेको फौजीले सङ्केत गरिरहेको सिपाही दोलोखोभ थियो । राजकुमार आन्द्रेइले उसलाई चिन्यो र एकछिन रोक्किएर उसले बोलिरहेको कुरा सुन्ने चेष्टा गर्यो । दोलोखोभ सेनाको बायाँ छेउबाट आफ्नो कप्तानसँग आएको थियो, जहाँ उसको रेजिमेन्ट अवस्थित थियो ।
“ल, ल, भन्दै जाऊ, अरू भन,” कप्तान अगाडितिर झुक्दै र आफ्नो लागि दुर्बोध्य एक-एक शब्द नबिराई सुन्ने प्रयास गर्दै दोलोखोभलाई उक्साइरहेका थियो । “अझै अरू कुरा गर । उसले के भन्दै छ ?”
दोलोखोभले कप्तानलाई जवाफ दिएन । उ फ्रान्सेली ग्रिनेडियरसँग चर्को विवादमा फसेको थियो । जस्तो कि हुनुपर्थ्यो, उनीहरू दुवै लडाइँका विषयमा छलफल गर्दै थिए । फ्रान्सेली सैनिकले अष्ट्रियालीहरूलाई रसियाली ठानेर रसियालीहरूले आत्मसमर्पण गरे र उल्मबाट टाप ठोकिसके भनेर प्रमाणित गर्ने प्रयास गर्दै थियो भने अर्कोतिर रसियालीहरूले आत्मसमर्पण गरेका होइनन् बरु उनीहरूले फ्रान्सेलीहरूलाई पराजित गरेर लखेटेका हुन् भनेर दोलोखोभ ढिपी र प्रतिवाद गर्दै थियो ।
“यहाँबाट तिमीलाई धपाउनू भन्ने आदेश आयो भने तिमीलाई हामी धपाउँछौँ,” दोलोखोभले भन्यो ।
“ठीकै छ, तर तिमी र तिम्रा सबै कोजाकहरू समेतले पक्राउ खाएर युद्धबन्दी बन्नु नपरोस् नि, होस् गर,” फ्रान्सेली ग्रिनेडियरले भन्यो ।
फ्रान्सेली दर्शक र श्रोताहरू हाँस्न थाले ।
सुभोरोभलेजस्तै हामी तिमीलाई यहाँ पुतलीझैँ “नचाउन सक्छौँ,” दोलोखोभले भन्यो ।
“ऊ के भन्दै छ ?,” एक जना फ्रान्सेलीले सोध्यो ।
“पुरानो कुरा गरेजस्तो लाग्छ,” अर्को फ्रान्सेलीले अनुमान गर्दै भन्यो । “हाम्रो सम्राटले तिम्रो सुभारालाई अरूहरूलाई ठीक गरेजस्तो ठीक गर्ने छन् ।”
“बोनापार्टले,” दोलोखोभ फेरि बोल्दै थियो तर फ्रान्सेलीले उसलाई बोल्न दिएन ।
“बोनापार्ट होइन, उनी सम्राट् हुन् । राक्षसहरूको नास होस् ।” ऊ रिसले आगो भयो ।
“तिम्रो सम्राट्को राक्षसले छाला काढून ।”
दोलोखोभ फौजी शैलीमा रसियाली भाषामा अश्लील गाली गर्दै काँधमा बन्दुक भिरेर त्यहाँबाट हिँड्यो ।
“जाऔँ अब इभान लुविच,” उसले कप्तानलाई भन्यो ।
“हो, यसरी पो फ्रान्सेली भाषा बोल्नु,” चौकीका सिपाहीहरूले एक स्वरमा भने ।
“सिदोरोभ अब तिमीले केही भन ।”
फान्सेली सैनिकतर्फ फर्कदै आँखा झिम्काएर सिदोरोभ छिटोछिटो र अर्थहीन शब्दहरू प्रकट गर्न लाग्यो “कारी, माला, ताफा, साफी, मुटेर, कास्का,” आफ्ना मुखबाट, निस्केका शब्दहरूलाई अभिव्यक्तिपूर्ण बनाउने प्रयास गर्दै उसले भन्यो ।
“हा, हा, हा, हा, ही, ही, ही, ही, हो, हो, हो, हो,” सैनिकहरूका बीचमा स्वस्थ र हाँस्यपूर्ण स्वर गुन्जियो र खुसीको यो लहर अनायास फ्रान्सेलीहरूसम्म पुग्यो । यसपछि यस्तो वातावरण सिर्जना भयो कि अब बन्दुकका गोली हावामा छोड्नु पर्छ । भएभरको गोली वर्षाएर सबै जना जतिसक्यो छिटो घर फर्कनु पर्छ ?”
तर भरेका बन्दुकहरू-भरिएकै अवस्थामा रहे । भित्ताका छिद्रहरू भित्तामा नै रहे । चौधेराहरू पहिलेकै जस्ता डरलाग्दो स्थितिमा नै रहे । र, तोपगाडीहरूबाट उतारेर तल राखेका तोपहरू एसटका अगाडि अर्को गरेर ठीक, दुरुस्त अवस्थामा राखिए ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...
