रिजु देवी
(असम)

परिवर्तन संसारको नियम हो। प्रकृतिमा झैँ, यो परिवर्तन मानिसको जीवनमा पनि अविराम चलिरहन्छ। जस्तै प्रकृतिको वक्षमा समय-कालअनुसार ऋतु परिवर्तन भएको देखिन्छ, त्यसरी नै मानिस जीवन प्रकृतिकै इशारामा नाचिरहेको हुन्छ। किनभने प्रकृतिसँग मान्छेको अङ्गाङ्गी सम्पर्क छ । ग्रीष्म, वर्षा, शरद, हेमन्त, शीत र वसन्त-यी छ: ऋतुहरूका आफ्ना आफ्ना गुणगत मान भएजस्तै शरद ऋतुको पनि प्राणी तथा जीवजगतमा अनन्य अवदान रहेको पाइन्छ।

निर्मल-स्वच्छ आकाश, सुन्दर मुस्कानसहित चन्द्रमाको अवस्थिति, सुनौला घाम, हुस्सेको पातलो आवरण, शीतको न्यानो स्पर्श, पारिजात फूलको मगमगाउँदो वासना, आकाशको दुध जस्तो सेतो बादल, काँस फुलेर हावामा उड्दै कविमन लगायत साधारण जनको हृदयमा पनि कवित्त भावको अभिव्यञ्जना अङ्कुरित गरिदिने कस्तो हो कस्तो यो अनमोल शरद ऋतु! आहा! यही ऋतुको प्रेममा व्याकुल हुँदै अङ्ग्रेजी साहित्यका रोमान्टिक कवि जन कीट्सले “Seasion of mists and mellow fruitfulness” भन्दै यस ऋतुलाई अपरूप सौन्दर्यकी धनी भनेका छन्। परिपक्क घामको निकटतम मित्र भनेका छन्। कीट्सले यो पनि भनेका छन् कि प्राचुर्यताको समारोह हो शरद ऋतु।

प्रकृति हाम्री मातृ हुन। साँस, बास र गाँस प्रदान गरेर प्रकृतिले हामीलाई सदैव आफ्नो वात्सल्य प्रदान गरी आएकी छन्। शरद ऋतुले प्रकृतिमा आफ्नो चमत्कारिता थपेर मात्र हैन, आफ्नो समस्त क्षमताले सन्तानको निम्ति सबैथोक गर्न खोजे झैं लाग्छ। वर्षाको भयानक रूपबाट त्रस्त सबै जीव-जड- प्राणीजगत तथा भूमण्डलीय अवस्थानमा स्वस्ति र शान्तिको अमृतधाराले नुहाई दिएर परिवेश-परिस्थितिलाई स्वर्गीय र उत्सव प्रवन बनाउँदै प्राण सञ्चार गरिदिन्छिन्।

हो, शरद ऋतु उत्सवकालको प्रतीक हो। यही ऋतुमै शारदीय दुर्गोत्सव धुमधामसहित मनाइन्छ। गोर्खाहरूले चाहिँ महान् चाड बडा दसैँ एवं नौ भवानीको पूजाको रूपमा मनाउँदछन्। जहाँ नौवटी देवीको मौलिक विधिअनुसार पूजा गरिन्छ। ती देवीहरूको नाम यसप्रकार छन-१. मण्डालिणी अथवा महारानी बुढी बज्र २.चुङ्गेलणी ३. पुङ्गेलणी ४.ढुङ्गेलणी ५.बन्देलणी ६. जलपा ७. मालिका ८. कालिका अथवा काम सुन्दरी ९. केश मालिणी अथवा त्रिपुरा सुन्दरी। नौभवानीका साथै अन्य ग्राम्य देवी जस्तै- ब्रजयोगिणी, दन्तेकाली, दक्षिणकाली, बाघेश्वरी, श्वेती देवी, तीनकन्ये, सातकन्ये आदिलाई लिएर सोह्र बहिनीको पूजा पनि गरिन्छ। यसरी नै ग्राम्य उपमस्टो देवता र सहायक देवीहरूलाई लिएर अठार लाडेरोको पूजा हुन्छ। वैदिक र गोर्खाहरूको मौलिक पूजा विधिमा भिन्नता देखिने अर्को एउटा कुरा के हो भने- जमरा राख्ने विधि। पूजा समाप्त भएपछि टीकोसँग जमरा आशीर्वाद स्वरूप प्रदान गरिन्छ। जुन वैदिकमा देखिदैन। सप्तमीका दिन फूलपातीमा देवीलाई थान बनाएर भोग चढाइन्छ। अष्टमीमा फेरि भित्र देवीथानमा खुकुरी, खुँडा, ढाल, तरोवाल, फर्सा आदि विभिन्न हथियार पूजा गरिन्छ। पशु बलि चढाइन्छ। वैदिक रीतिअनुसार यिनै देवीहरूलाई नवदेवी दुर्गा भनेर नवरात्रिको व्रत पालन गर्दछन्। शक्तिकी अधिष्ठात्री देवी दुर्गा। दूर्गतीनाशिनी दुर्गा। महिषासुरमर्दिनी दुर्गा। दुर्गा पूजा भन्ने बित्तिकै मनमा एउटा आध्यात्मिक भावनाको उद्रेक हुन्छ। चारैतिर हर्षोल्लास छाउँछ। स्निग्ध आकाश तल कृषिजीवीहरूले बाली लगाएर पाएको फुर्सदको समय, न जाडो न गर्मी, रोग-व्याधिको न कुनै साह्रो झन्झट !-यस्तो यो पावन अवसरमा महाआडम्बरका साथ मनाइन्छ यो दुर्गा पूजा।

दुर्गा पूजा कहिले र कहाँबाट आयो त्यसको सठिक धारणा नभए तापनि, देवीको मूर्ति राखेर पूजा गर्ने चलन भने पश्चिम बङ्गालबाट आएको हो भनेर विज्ञजनहरूको मतामत छ। हितेश्वर बरबरूवाको “आहोम दिन” नामक पुस्तकमा असममा पनि आहोम राजा प्रताप सिंहले प्रथम माटोको दुर्गामूर्ति ल्याएर पूजेका थिए भन्ने वर्णन छ। धेरैले फेरि यो पनि भन्न खोज्दछन् कि दुर्गा पूजा बासन्ती पूजाबाट आएको हो। त्यसरी नै सुन्न पाइन्छ शारदीय दुर्गोत्सव प्रथम पालन गरिएको थियो ब्रिटिस आमोलाकै दिनमा।

जति नै इतिहासका पन्ना पल्टाए पनि देवी दूर्गाको आविष्कार कसरी भयो भनेर भन्नु पर्दा यही भन्नु पर्दछ कि जहिलेदेखि यो संसारको संरचना भयो, जहिलेदेखि यो पृथ्वीलाई अपरूपा, मातृस्वरूपा भनेर मान्न थालियो, तबदेखि नै मातृरूपाको अवतारणा मान्छेको मनभित्र भइसकेको थियो। आदिम कालमा मान्छेहरू जङ्ली जीवन यापन गर्दथिए। एकमात्र प्रकृति नै थिइन उनीहरूको भरोसा। प्रकृतिकै आड-अडेसोमा रहेर नदी, धरती, सूर्य, तरू-तृण, हावा-पानीआदिलाई आफ्नो आफ्नो किसिमले आराध्य देव-देवीको रूपमा मान्न थाल्दछन्। अर्थात् प्रकृतिको विचित्र रूपसज्जा, अनन्त विस्तार, शश्य-शालिनी, फलवती अन्नदा, वरदा, प्रेमप्रदा भावमूर्तिको अवलोकन गरेर र सबदेखि उच्च तेजोमय कान्तिको महिमा देखेर मान्छेको हृदयमा प्रगाड विश्वास र आवेग मिश्रित श्रद्धाको प्राणप्रतिष्ठा हुन्छ। यसरीनै कालक्रममा बिस्तारै ज्ञानको तेजस्वी प्रकाशले संसार उज्यालो भएको हुँदा विभिन्न वैदिक कवि-संस्कृतज्ञ महापण्डितहरूको हृदयास्थानमा ऐश्वर्यमय कल्पनाको आविर्भाव हुन्छ । अनि फेरि उत्पत्ति हुन्छ धर्मको पवित्र वेदी। यसैलाई अवलम्बन गरेर पृथ्वी प्रति अनजानैमा मान्छेको मनमा मातृधारणाको आविष्कार हुन्छ अनि फेरि बिस्तारै देवीमूर्तिको। कृतिवासी रामायण अनुसार रामले नौ दिनसम्म देवीको आराधना गरेर रावणलाई मार्न सक्षम भएका थिए। ब्रह्मवैवर्त पुराण अनुसार दैत्यहरूदेखि डराएर प्रथममा कृष्णले, त्यसपछि ब्रह्माले देवीको आराधना गरेका थिए। पृथ्वीमा सर्व प्रथम सुरथ राजाले नै दुर्गा पूजाको आरम्भ गरेर दशभूजा दुर्गाको मूर्ति निर्माण गरेका थिए भन्ने छ। पवित्र प्रेम, कोमल हृदय, सृष्टि तथा वंश वृद्धि क्षमता, सहनशीलता, उदारता, परोपकारिता, धैर्यशीलता,  क्षमा, दानभाव नारीकै हुन्छ। धर्मको सठिक रक्षा पनि नारीले नै गर्छिन्। र त्यसैले युगयुगदेखि नारी लक्ष्मी-सरस्वती, काली-दुर्गाको रूपमा चिर पूजिता भएर आएकी छन्।

शास्त्र-पुराण-महापुराणहरूमा अन्यान्य देव-देवीका रोचक कहानीहरूको साथै दुर्गाबारे धेरै आख्यान-कथाहरू लेखिएका छन्। समस्त भूमण्डलमा दुर्गालाई परम शक्तिशाली मानिन्छ। संसारमा महिषासुर नामक असुरले उधम मचाउनले गर्दा देवी दुर्गाले उसको निधन गरेर असत्य माथि सत्यको विजय प्राप्त हुन्छ।

[bs-quote quote=”पूजाको उद्देश्य केवल आत्म एवं व्यक्तिकेन्द्रिक मात्र नभएर समाजकेन्द्रिक हुन अति जरूरी छ।” style=”default” align=”left” color=”#dd3333″ author_name=”” author_job=”” author_avatar=”” author_link=””][/bs-quote]

दुर्गा पूजाको इतिहास धेरै केलाउनपटि नगएर वर्तमान जीवनमा यस्को प्रासङ्गिकताबारे केही कुरा चर्चा गर्न खोजेको मात्र हो। दुर्गा पूजा हाम्रो आवेग हो, हाम्रो ढुकढुकी हो। दुर्गा पूजा भन्नेबित्तिकै अहिले हाम्रो मनमा आउँछ, एकजोडी नयाँ दामी लुगा लगाएर पूजा दर्शन गर्ने कुरा, दामी रेष्टुरेन्टमा बसेर खाने इच्छा, आफ्नो मान्छेसँग सेल्फी उठाउने कुरा, बहुजातिक कम्पनीहरूको विज्ञापनको रङ्गीचङ्गी अनि फेरि कसरी सकिन्छ आफूलाई अरूभन्दा अझ राम्रो र उन्नत देखाउने होडबाजीको कुरा। तर, हाम्रो पूजाको उद्देश्य केवल आत्म एवं व्यक्तिकेन्द्रिक मात्र नभएर समाजकेन्द्रिक हुन अति जरूरी छ। समाजमा उच्च र निम्न वर्ग दुई श्रेणीका मान्छे छन्। जो निम्न श्रेणी वर्गका हुन उनीहरू सँधै भोगवादीको सिलौटामा अचार झैं पिसिएका छन। समाजमा भएका गरीब-दुखीहरू, लुला-लङ्गडाहरू, वानपीडितहरू आज पनि निराश्रय घरका न घाटका भएर जीवन अतिवाहित गरि रहेका छन। यस्तो यो उत्सवको बेलामा उनीहरू प्रति पनि अलिकति समभाव, सममर्मिता राखेर आफ्नो सामर्थ अनुसार केही उपहार दिन सक्दा पुजाको आनन्द अरू चौगूणा हुन्थ्यो जस्तो लाग्छ। किन भने प्रेम, दया, परोपकार जस्ता गुणहरूले मान्छेलाई महान तुल्याउँछ । प्रेम-दया-मानवता नै हो असल धर्म। युग युगदेखि हिन्दु दर्शनले पनि यही उद्देश्य अघि राखेरै धर्म प्रचार गरि आएको छ। जहाँ प्राणी मात्रमा माया, दया, सद्भावना, आदर-सम्प्रीति छैन भने त्यहाँ कुनै धर्म छैन, कुनै संस्कार छैन। आज दिनदिनै देशमा अन्याय, व्यभिचार, दुर्नीति, नारी शोषन , अपहरण,कुरीति, कुटकौशलहरू बढदै गएका छन्। सबल पक्षले निर्बल पक्षको साँस, बास र गाँस छिन्नु, अर्काको प्राप्य आफूले हडप गर्नु यी सबै नित्य घटित घटना भएका छन्। जीवन-मरणको केही भरोसा छैन। र यस्तो संकटको घडीमा अपसंस्कृतिको संहार पनि हामीलेनै गर्न पर्दछ। हामीले हाम्रो भित्र भएको अशुभ शक्ति महिषासुरलाई आद्यशक्ति रूपी सत्यले काबुमा राखेरै मात्र समाज-देशको उत्थान गर्न सक्छौं। दुर्गा पूजा भनेको नै अशुभ शक्ति माथि शुभ शक्तिको विजय हो। एकजना अङ्ग्रेज लेखकले भनेका छन-“Animal bloods are always in man. ” त्यो एनिमेल ब्लडले मान्छेलाई आफ्नो वशमा राख्न लगातार प्रयास गरि रहेको हुन्छ। यदि त्यो सफल भयो भने काम, क्रोध, लोभ, मोह, मद अनि मात्सर्य जस्ता रिपुहरू अशुभ कार्य तिर लम्कन्छन। यीनै रिपुहरूले हामी भित्र आत्मगोपन गरेर हाम्रै अनिष्ट गरि महिषासुर, रक्तबीज जस्ता दैत्यहरूको भूमिका पालन गरेका हुन्छन। जबसम्म हामीले यी रिपुहरूलाई दमन गर्न सक्दैनौं, तबसम्म समाजबाट ठग-प्रवञ्चना, हत्या, चोरी-डकैती जस्ता अपसंस्कृतिआदि कहिल्यै हट्ने छैन। त्यसर्थ रिपुहरूलाई दमन गरेर सत मार्गतिर अग्रसर हुनु नै अशुभ शक्ति माथि विजय पाउनु हो।

फेरि अर्को कुरा, दुर्गा पूजाको फूलपाति देखि नै बलि विधानको कार्यक्रम हुन्छ। कसैकसैले पञ्चबलिमा पाँचवटा जीवको बलि चडाउने प्रथा राखेका छन् भने कसैकसैले फुलपाति र अक्षताले मात्रै पनि पुजा गरेको देखिन्छ। महाष्टमीमा पनि ठाउँ ठाउँमा मार हान्ने प्रथा छ। बलि प्रथाका कुराहरू कालिकापुराण,पद्मपुराण,भागवत पुराणादिमा पाइन्छन्।

नेपाल, बाङ्गलादेश, भुटान, श्रीलङ्का, पाकिस्तान, कम्बोडिया, थाइलैण्ड, चीन, मङ्गोलिया, भारतका विभिन्न प्रान्तहरूमा आज पनि बलि प्रथा चलिआएको छ। असमका कयौं मन्दिर जस्तै नलबारी जिल्लाको धर्मपुर नदला मन्दिर, बालिलेसा काली मन्दिर, नीलाचलस्थित कामाख्या मन्दिर, हेलसा गाउँको मनसा मन्दिर, धुबरी जिलाको बगरीबारी महामाया मन्दिर आदिमा अघिदेखि नै पशु बलि प्रथा चलिआएको छ।

आदिमकालदेखि नै चलिआएको यस प्रथालाई धेरै जसो व्यक्तिस्वार्थकै निम्ति व्यवहार गरिएको कुरा थाहा लाग्दछ किनभने आदिम कालमा मान्छेहरूले कन्दमूल, जङ्गली जानवर मारेरै जीवन निर्वाह गर्नु पर्नाले र अझ धेरै सिकार प्राप्त गर्नका निम्ति रूख, पहाड, नदी, ढुङ्गा आदिलाई देउता मानेर “मेरो यस्तो मनोकामना पूर्ण भयो भने म यस्तो किसिमको भोग अथवा पशु बलि चडाउँछु” भनेर भाकल राख्दा राख्दै बलि दिने क्रम चलेर आएको हो भन्ने थाहा लाग्दछ। यस्तै लालचको भूमरीमा परेर भारतवर्षमा प्राचीनकालमा नरबलि गरेको पनि थाहा लाग्दछ। असमको नलबारी जिलाको “बरनर्दी”मा पनि अघिअघि नरबलि चडाउँदथिए भन्ने तत्थ्य पाइन्छ। तथ्यानुसार बङ्गको कालिघाट, असमको कामाख्या भैरवी मन्दिर, ताम्रेश्वरी केँसाई खाइती मन्दिर तथा भारतको विभिन्न ठाउँमा नरबलि चडाएको ज्ञात हुन्छ। कामरूपको पाल वंशीय राजाहरूको पालामा देवी पीठमा नरबलि चढाइन्थ्यो। जयन्ती सिन्तेङहरूले जयन्ती देवीका अगाडि मान्छे बलि दिन्थे। खासीहरूले थेलन सर्प देवताका सामु नरबलि दिन्थे। प्रकृतमा भन्न जानु हो भने यो कुनै जीवको निर्मम मृत्युमा पाएको पैशाचिक आनन्दको आदिम प्रवृत्ति हो। कालक्रममा नरबलि चडाउने रीति समाप्त भए तापनि पशु बलि चढाउने प्रथा भने अझै पनि चलेकै छ। त्यतिबेला देवदेवीका सामु स-साना नानीहरूलाई पनि बलि चडाइन्थ्यो देव-देवीहरूलाई सन्तुष्ट पार्नका निम्ति। महाभारतमा भीमले नरबलिको घोर विरोध गरेका छन्। घटोत्कचले जब एउटा ब्राह्मण परिवारको एकजना सदस्यलाई आफ्नी माताको आदेश अनुसार नरबलिको लागि प्रस्ताव राख्दछ, भीमले “म जान्छु” भनेर ऊ हिडिम्बाको कुटीरमा पुग्दछन्। तब हिडिम्बाले आर्यपुत्र भीमलाई देखेर बाउ-छोराको परिचय गराउँछिन्। त्यतिबेला भीमले हिडिम्बालाई “कसैले कसैलाई बलि दिने अधिकार छैन। यो पाप हो। के माताले बलि मागेकी छन्? यसरी माताको घोर अपमान गर्यौ” भनेर हिडिम्बाको भत्सर्णा गरेका छन्। तर, पछौटे, शिक्षादेखि धेरै टाढा कतिपय समाजमा अझै पनि लुकीलुकी स-साना नानीहरूलाई बलि चडाएर भोग दिएको खबर सुनिन्छ। यो हाम्रो लागि अतिनै शर्मनाक कुरा हो। अन्धविश्वास हो। पूर्व परम्परादेखि संस्कृतिको नाम गरी चलेर आए तापनि यो कुरा भन्नै पर्दछ, जब समस्त जड-जीव, पशु-प्राणी, कीट-पतङादि देवीकै सृष्टि र सन्तान हुन् भनेदेखि कसरी देवीले आफ्ना संतानको रक्त माग्दी हुन् र जीवश्रेष्ठले यसरी जीवहत्या गर्दै भोग लगाउँदै गरेका हुन्?

के देवीले कुनै दिन “मलाई यस प्राणी,यस मान्छे,यो बालकको भोग चाहिन्छ” भनेकी छन होला र? यस बारे इतिहास पनि, हामी पनि निरूत्तर छौं। आदिम युगमा मान्छेहरूले वल्कल लगाउँथे, गुफा-गाछआदिमा वास गर्थे, जे पनि काँचै खान्थे। तर ,हिजोआज मान्छे न गुफामा बस्छन न त पात-पतिङ्गर बेरेर बस्छन्। अहिलेको बुद्धिजीवी समाजले यसबारे वैज्ञानिक तरिकाले अवश्य पनि चिन्तन मनन गर्नु पर्ने कुरा हो। संस्कृति अनि परम्पराको आडमा यसरी चलेर आएको यस बलि प्रथालाई के साँचै नै संस्कार भन्न सकिन्छ त? लाखौं निरीह-निर्वोध प्राणीको बलि चडाएर देवी सँग हाम्रो केही माग्ने अधिकार छ त? यो त सोझै कुसंस्कार हो भन्दा, मौलिक कृष्टि हो भनेर मानेर आउनेहरूलाई मनमा ठेस त अवश्यै लाग्छ होला कता कता। तर,यो कुरा स्वीकार गर्नै पर्छ कि संसारको कुनै पनि धर्मले हिङ्साको उपदेश दिएको छैन, अर्थात् कुनै प्राणी हत्याको आदेश दिएको छैन। पशु बलिलाई भारतीय संस्कृतिको परम्परा मान्न कदापि सकिँदैन। एकाइसौँ शताब्दीमा भारतीय शिक्षा व्यवस्थाले प्रचुर उन्नति गरे तापनि मान्छे भित्र रहेको अन्धसंस्कारले चाहि उन्मुक्तिको बाटो आजसम्म देखेको छैन भनेर भन्ने पर्दछ। बलि चडाउनुको अर्थ हो आफू भित्र रहेको ईर्ष्या, रिष-राग, हिंसा-कपट, अहङ्कार, कुमनोबृत्ति, कुचाल, कामना-वासना, लोभ-लालचा, कुभावना र कुप्रवञ्चनाहरूको बलि चढाउनु हो र प्रतिदानमा हृदयमा प्रेम, दया, सहानुभूति, भातृत्ववोध, सम्वेदना आदि हृदयमा भरेर नारीको सुरक्षा र सम्मान गर्नु हो। अवश्य, हिजोआज कुनै कुनै ठाउँमा धर्मसँग संगति राखेर पशु बलि नगरी फूल, धुप-द्वीप, नैवेद्य आदि चढाएर धर्म कार्य सम्पन्न गरको देखिन्छ। यो एउटा शुभ लक्षण मान्न सकिन्छ।

धर्म भनेको धारण गर्नु हो। त्यसर्थ राम्रो कर्म,राम्रो संस्कार, राम्रो रीतिलाई धारण गर्नु नै हो जीवश्रेष्ठको परम कर्त्तव्य। अर्को तथ्यबाट हेर्न जानु हो भने शाक्तधर्मको मूलसार नै ईश्वर सृष्टि सबै पार्थिव वस्तुको सकेसम्म भोग गर्नु हो। देवीबाट भक्तहरूले रूप, अर्थ, विद्या, बुद्धि, काम, यश, ऐश्वर्य, विभूति र अरू पनि धेरै थोगको कामना गर्दछन्। आफ्नो भोग-भागमाथि युक्ति-तर्कले सिद्धान्त लिने क्षमता सम्पूर्ण आफ्नो व्यक्तिगत हो।

दुर्गा पूजासँग व्यावसायिक दिशा पनि जोडिएको छ। कुन मण्डप कति लाखको हुन्छ, कुन ठाउँकी देवीको सजावट अरू ठाउँको भन्दा औधि राम्रो हुन्छ, बाहिर राज्यबाट देवी ल्याउँदा चाहिँ पो पुजा लाग्ने हो कि भनेर करोडौं रूपियाँ खर्च गर्ने, रङ्गीचङ्गी चाइनीज लाइट बालेर ढुक्क मान्ने, विदेशी बन्दुक-पिस्टोलादि ल्याएर नानीहरूको मनस्तत्वसँग खेल्ने मानसिकताले देशको अर्थनीतिमा पनि आघात हान्नुको साथै अर्काकै पकेट दह्रौ पारेको छ। एउटा गरीबलाई बीस रूपियाँ दिन संकोच गर्ने मान्छेले, त्यो समयमा पूजाको चन्दा भनेर खुवात्तै हजार हजार रूपियाँ निकालेर दिन्छ। यसले गर्दा बहिरागत व्यवसायी करोडौंको मुनाफामा रहन्छन्।

दुर्गा पूजा अहिले एउटा फेसनमा परिवर्तन भएझैं लाग्दछ। कसले कति दामी फैश्वनेबल लुगा लगाएर आफूलाई आधुनिक दैखाउन सक्छ, पूजा समितिहरू पनि कति करोड खर्च गरेर पूजाको स्तर बढाउन सकिन्छ त्यही ताकमा रहन्छन्। बाहिर राज्यबाट सङ्गीत-नृत्य शिल्पीहरू ल्याएर लाखौं रूपियाँ पानीमा फ्याक्न केही जस्तो लाग्दैन तर स्थानीय कलाकारलाई दुईचार हजार रूपिया पारिश्रमिक दिन कुन्ठावोध गरेको देखिन्छ। स्थानीय कलाकारले जति नै राम्रो कार्यक्रम गरेता पनि त्यो आँखामा पर्दैन। तर अर्काले आएर पश्चिमे लय, ढाँचा, पहिरणमा अनुष्ठान गरेर गयो भनें त्यो यादगार भइ रहन्छ। फेरि हिजोआज पूजा हवस अथवा अन्य कार्य निहु मात्र पाउनु पर्छ, रङ्गारङ्ग कार्यक्रमको आडमा त्यहाँ हो-हल्लाहा बाहेक अरू केही हुँदैन। सभ्य समाज ढुक्कले बसेर अनुष्ठान उपभोग गर्न नसक्ने हुन्छ र उठिवास लाउनु पर्छ। अहिले कोरोना प्रोटोकोलले गर्दा परिस्थिति साम्मे छ,नत्र यस्ता किसिमका विसंगति धेरै देखा पर्ने थिए। जतिनै आडम्बर गरे पनि मनको कलेश निकालेर फ्याक्न सकिएन भनें त्यो केही काममा लाग्ने छैन। बरू व्यर्थैमा अर्थनीतिको अपसय गर्नु भन्दा कुनै साङ्ठनिक काम,कर्मशाला,उद्धार कार्यमा लगाउँदा कसै न कसैको धेरै उन्नति हुन्छ।

दसैँलाई अरू सम्प्रदायहरूले दुर्गा पूजा, दसहरा आदि विभिन्न नामले ठाउँअनुसार प्रत्येक वर्ष पालन गरी आएका छन। त्यस उपरान्त पनि समय, ऋतु, कालअनुसार नाना देव-देवीको पूजा, धार्मिक कार्य हुन्छन् हाम्रो देशमा। तर, मान्छेको मनको गहिराईलाई आधात्म्यले अझ स्पर्श गर्न सक्षम भएको छैन। किनभने लगातार बढदै गएको भ्रष्टाचार, अस्थिरता, आक्रोश, मादक द्रव्यको मुक्त व्यपार, बलात्कार, षडयन्त्र , ईर्ष्या नै हो त्यसको प्रमाण। मान्छे मान्छेमा विभेदता, विश्वासहीनता र शत्रुता फैलिएको छ चारैतिर। एकअर्कालाई हामी आज मार्न काट्न डराउँदैनौं। आफ्नो स्वार्थ सिद्धको निम्ति तुच्छ भन्दा तुच्छ काम गर्न पछि पर्दैनौं। अन्ध स्वार्थको निम्ति शिक्षा जस्तो पवित्र ज्ञानको भण्डारलाई पनि हामी बुढो औंलो देखाउँछौं। मान्छेबीच जात-धर्म, उच्च-नीचको सीमाना कोरेर फरक भावना राख्छौं। आफ्नो आफ्नो घर-परिवारको बीचमा हरदिन कुरूक्षेत्रको लडाईं चलेको छ। ईष्ट-मित्र भाइ बन्धु, परिवारदेखि दिनदिनै टाढिँदै गएका छौँ । मानवीय दृष्टिकोणलाई साम्प्रदायिकताले ग्रस्त पारिसकेको छ। क्षुद्र राजनैतिक स्वार्थ पूरण हेतु समाजको वृहत् स्वार्थलाई हेय ज्ञान गरिएको छ। समाजमा दिन प्रतिदिन महिषासुर जन्मिरहेका छन्। भोगवाद र वस्तुवादका चिन्तनले मान्छेको जीवनबोध झन् भन्दा झन् आत्मकेन्द्रिक भइरहेछ। व्यक्तिवादी चिन्ताधाराले मान्छेको मन दिनहु साँघुरी रहेछ। फेरि पनि हामी आफूलाई जीवश्रेष्ठ मान्दछौं। हो, हामी जीवश्रेष्ठ नै हौँ तर कुन दृष्टिकोणबाट आफैँले विचार गरौं।

प्रत्येक वस्तु अथवा कर्मको राम्रो-नराम्रो दुवै गुण रहेकै हुन्छ। शरद सृष्टिको भण्डार हो। शरद ऋतुको आगमन हुनेबित्तिकै कवि-लेखक-कलाकारादिको मन-मस्तिष्क उर्वर भइ उठछ। उनीहरूले नयाँ नयाँ सिर्जना गर्दछन्। गीत, कविता, कथा, निबन्धजस्ता उत्कृष्ट लेखका बौछार हुन्छन् । कथन छ, शारदीय बेलामा सबै भन्दा धेरै साहित्यको सृजना हुन्छ। संगीतमय सन्ध्याहरूका सुर समलयमा मन नाच्दछ रमाई रमाई। शैल्पीक चेतनाबोधको जाग्रत हुन्छ यही शरदमा। जति पूजामणपका संख्या बढदै गएका छन्, त्यति शिल्पीहरूको बीचमा प्रतियोगिता बढदैछन। यस्ले गर्दा मृत शिल्प एउटा कुटीर उद्योगमा परिणत भएको छ। मृन्मय शिल्पीहरूका हातको स्पर्शले मूर्तिहरूले जीवन्त रूप प्राप्त गर्दछन् र दर्शक-भक्तगणहरूले हेरेर नान्दनिक आनन्द प्राप्त गरेका छन्। शिल्पी-कारिगरहरू आर्थिक रूपले स्वावलम्बी भएका छन्। स-साना नानीहरूदेखि लिएर बुढाखाढा सबैका मन उत्फुल्लित कुसुमित हुन्छन्। घर घरमा देवी माहात्म्य, चण्डी पाठ,पोटिक आदि लगाइन्छ। ठाउँठाउँमा कुइज, गीत-नृत्य, नाटक-अभिनय, लेखनकला, कविता आदिको प्रतियोगिता अनुष्ठित गरेर नानीहरूको मानसिक वौद्धिक विकासको व्यवस्था गरिएको हुन्छ। लिङ्गे पिङ्ग, रोटे पिङ्गमा मच्चिएर दिदी-बहिनी, दाजु-भाइहरूले आनन्द प्रकाश गर्दछन्। एकार्कालाई प्रेम-भातृत्वको बन्धनले बाँध्ने प्रयत्न गर्दछन्। लिङ्गे पिङ एउटा समन्वयको प्रतीक हो। यसले अर्को जातलाई पनि जोडेर राख्दछ। अर्कातिर वरिपरि स्वादिष्ट मिठाई-पकवानले मगमगाई रहेको हुन्छ परिवेश। अन्तमा फेरि विजया दशमीको दिन जेष्ठजनको हातको टिको लगाएर अनि आशीर्वाद थापेर दसैँलाई अर्को वर्षको निम्ति बिदा दिन्छन्।

शारदीय परिवेशले मान्छेको मनको संकीर्णता दूर गरेर एउटा उदार मानवीय चेतनासम्पन्न समाज निर्माण गरोस्। दुस्कृति नाश गरेर सुन्दर संस्कृति र शान्ति स्थापना गर्न भनेर देवी यो धरामा हर वर्ष आउँछिन् । यो कुरा सबैले ध्यानमा लिनु पर्छ। पूजास्थलीको वरिपरि शङ्ख, घण्टा अनि मन्त्रचारको ध्वनिले मुखरित भइरहन्छ। मनमा एउटा स्वर्गीय सुखको अनुभूत हुन्छ। यही पवित्र क्षणलाई साक्षी राखेर सबैले प्रण गरौं मनबाट सबै ऋणात्मक सोच-विचार र धारणाहरूलाई विलुप्त गरेर एउटा सकारात्मक चिन्ताधाराका साथ जीवनलाई भोग गरौं। समाज तथा देशमा सुख-शान्ति, आनन्द र सम्प्रीति प्रतिष्ठा गरौं।
* जय मा दुर्गे भवानी।।*

असम