“तिमीलाई भेट्न आउँदै छु म”, “संसारभरि छाएको छ कालो महामारी” (जसमा डा. भोला रिजाल, कृष्ण मल्ल लगायत अन्य चर्चित कलाकारहरूले पनि अभिनय गरेका छन्), “सम्झेर मलाई नरुनु प्रिय”, “रातको सपना टुटेपछि एकलै छाडिदियौ” जस्ता अनेक चर्चित नेपाली गीतका रचनाकार सुनिता बस्नेत थापा अमेरिकाको मेरिलैण्डमा बस्नु हुन्छ। थापाका गीतहरू युट्युबमा पनि सजिलै हेर्न सकिन्छ। नर्सिङ पेशामा रहनु भएकी थापाको जन्म नारेश्वर, गोरखा, नेपालमा भएको हो। बहुप्रतिशाली थापाले समसामयिक लेख, कथा, लघुकथा, कविता आदि पनि लेख्नु हुन्छ। प्रस्तुत छ, साहित्यपोष्टका लागि विश्वराज अधिकारीले सुनिता बस्नेत थापासँग गर्नुभएको कुराकानी।

१. अचेल के गर्दै हुनु हुन्छ?
सामान्य दैनिकीको अलावा केही साहित्यिक र सामाजिक काम गर्दै छु। मैले लेखेका केही गीतहरू छिट्टै बजारमा आउँदै छन्।

२. नेपालमा नर्सिङ क्षेत्रमा काम गर्नु र अमेरिकामा नर्सिङ क्षेत्रमा काम गर्नु बीच कति ठूलो अन्तर छ?
नेपाल र अमेरिकाको नर्सिङ शिक्षा गुणस्तरमा उस्तै भए पनि सामाजिक, प्राविधिक, आर्थिक रुपमा धेरै अन्तर छ।

नेपाल र अमेरिकामा नर्सिङको काम गराई निकै भिन्न छ मेरो अनुभवमा। नर्सिङ सेवालाई र नर्सलाई समाजले हेर्ने दृष्टिकोण फरक पाएँ। अमेरिकामा निकै सम्मानजनक नजरमा हेरिन्छ र विश्वास गरिन्छ तर नेपालमा त्यो थिएन, मैले नेपालमा काम गरेको समयमा। त्यस्तै, अमेरिकामा गुणस्तरको मापन नवीकरण गरिरहनु पर्ने हुनाले नर्स स्वयंलाई पनि सबल बनाएको छ। अर्को महत्त्वपूर्ण कुरा भनेको औजार एवं सामग्री हुन्।

आवश्यक औजार र भौतिक एवं प्राविधिक सामग्रीहरूको अभावमा नेपालमा कतिपय अवस्थामा चाहेर पनि स्तरीय सेवा दिन सकिदैनथियो तर त्यो समस्या यहाँ छैन। साथै ‘केयर टिम’ मा पनि नर्सलाई सम्मानपूर्वक विश्वास गरिन्छ।

आर्थिक, सामाजिक, प्राविधिक रुपमा धेरै फरक छ नेपाल र अमेरिकाको नर्सिङ सेवा तर मूल आधार शिक्षा र ज्ञान एउटै धरातलमा छ। जहाँ जे गरे पनि त्यही नेपालमा प्राप्त नर्सिङ शिक्षा र ज्ञानले पाइला टेक्न सकिन्छ।

नेपालमा कतिपय अभाव र असहज अवस्थामा पनि काम गरेको हुँदा हाम्रो धैर्य र आत्मबल अमेरिकी नर्सहरूको दाँजोमा चाहिँ अलि बढी नै हुन्छ।

३. साहित्यमा तपाईंलाई मन परेको विधा के हो?
मलाई साहित्यका सबै विधा मन पर्छन्। लेख, कथामा भावनालाई बाँधविना बग्न दिन सकिन्छ। अहिले गीततिर पनि अलि आकर्षित छु।

४. गीत के हो?
गीत कविताको ‘नौनी घ्यु’ हो। गीतका शब्दहरू सङ्गीतसँग ठडिन सक्नुपर्छ अनि गायक-गायिकाको स्वरसँगै हिँड्न सक्नु पर्छ। त्यसैले गीत सजीव कविता पनि हो जस्तो लाग्छ।

५. गीत किन लेखिन्छ?
मेरो विचारमा साहित्यिक सिर्जना भनेके नै मनको भाव पोख्नु हो। गीतले पनि श्रृंगारिक रुपमा भावहरू पोखिराखेको हुन्छ। गीत सुन्नेले पनि गीतसँगै आफ्ना चेतन, अर्धचेतन भावहरू महसुस गरिरहेका हुन्छन्। गीत संवेगसँग जोडिने हुनाले मनोरन्जन दिन, जनचेतना जगाउन, साथै मेडिटेसनको लागि समेत उपयोगी हुन सक्छ। गीत जनमानसको भावनालाई छुनको लागि लेखिन्छ मेरो विचारमा।

६. गीत राम्रो हुन के चाहिन्छ?
गीत शब्द, सङ्गीत र स्वरकौ सङ्गम हो। एउटा गीत राम्रो हुनको लागि सबैभन्दा पहिले शब्दहरू नै सशक्त हुन पर्छ। शब्द रचना गीतको जग नै हो। जस्तो जग छ, त्यस्ता घर बन्छ भने जस्तै शब्दहरू राम्रा छन् भने सङ्गीत र स्वर पनि राम्रो रुपमा ढाल्न सकिन्छ।

७. ‘गीतमा यति शक्ति हुन्छ कि यसले बाँच्नका लागि ऊर्जा दिन्छ भने ज्यादै निरुत्साहित पारेर कुनै व्यक्तिलाई जीवनमा असफल पनि पारिदिन्छ’ भन्ने भनाई तपाइँलाई उचित लाग्छ?
यो भनाइसँग सहमत छु। गीतले सिधै संवेग छुने हुनाले मानिसको मनोभावमा असर पार्छ। गीतको माध्यमबाट कतिपय अव्यक्त भावना, कुण्ठा, खुशी, दु;ख दर्द पोखिइराखेको हुन्छ। जन्मदिनको शुभकामना ‘ह्याप्पी बर्थ डे’ देखि भगवानको प्रार्थनासम्म पनि गीत नै हुन्। जन्म, पूजापाठ, चाडबाड, प्रेम, वियोग, सुख, दु:ख, सफलता, असफलता जस्ता ‘मेलो ड्रामा’ गीतका माध्यमबाट पोखिइरहेका हुन्छन्। मानव मन छोइरहेका हुन्छन्। आत्मवल बढाउनलाई मानिसले प्रार्थना गर्छ। ऊर्जा मिल्छ। अव्यक्त प्रेम जाहेर गर्न गीत सुन्छ। मनमनै गुनगुनाउँछ। मेरै मनको कुरा गरेछ गीतले भनेर त्यही गीतसँग दुःख साट्छ। राहत मिल्छ। दुर्भाग्यवश कुण्ठा (डिप्रेसनमा) भएको बेला निराशाजनक गीत सुन्न पुग्यो भने चाहिं यस्तै अझै दुःख बढाउन पनि सक्छ। त्यस्ता उदाहरण पनि छन्। कतिपय अश्लील र दोअर्थे शब्दहरूले पनि अलि नकारात्मक प्रभाव पारेको देखिन्छ।

८. ‘ग्लुमी सन्डे’ भन्ने गीतलाई संसारका विभिन्न देशहरूमा बजाउनमा प्रतिबन्ध लगाइयो रे, हो?
हजुर, पढे र सुने अनुसार ‘ग्लुमी सन्डे’ प्रेम वियेगमा, सन् १९३३ मा लेखिएको गीत थियो । यसलाई ‘हंगेरियन सुसाइड सङ’ भनेर पनि चिनिन्छ। यो गीत सुनेर त्यतिबेला धेरै मानिसले आत्महत्या गरे भनेर यसलाई निशेध गरिएको थियो।

९. केवल आफ्ना मनका भावनाहरूलाई ब्यक्त गर्नु मात्र गीत हो वा जन चेतानाका कुराहरू प्रस्तुत गर्नु गीत हो?
आफ्ना मनका भावनाहरूलाई अरुको मनको भावनासँग जोड्नु गीत हो। आफ्ना भावना मात्र व्यक्त गर्दा अरुको मन नछुन पनि सक्छ। अरुको भावना पढेर आफ्ना भावलाई त्यस्मा ढाल्न सक्नु पर्छ । गीतमा जुनसुकै विषयवस्तु पनि पर्न सक्छन्। म आफूले भने आफ्नो गीतमा अलिअलि जनचेतना, साहस र हौसला पनि मिसाउने गरेकी छु।

१०. गीतकारले गीत आफ्नो लागि लेख्ने हो वा समाजको लागि?
गीत रेकर्ड भएर सार्नजनिक भए पछि त्यो समाजको सम्पति हो। त्यसैले म चाहिं समाजको लागि लेख्ने कोशिस गर्छु।

११. ‘आजभोलि लेखिएका गीतहरूमा ज्यादै सरल शब्दहरू प्रयोग गरिएका हुन्छन्, बिम्बको प्रयोग नगण्य रुपमा हुन्छ’ भन्ने भनाइ उचित हो?
यो भनाइ आंशिक रुपमा सत्य हो जस्तो लाग्छ। आज पनि विम्ब सहितका गीतहरू आउँछन् तर त्यति चर्चा पाउँदैनन्। गहन गीत सुन्ने स्रोता छैनन्। प्रविधिको विकाससँगै गीत पनि सुन्ने भन्दा पनि हेर्ने परिपाटी बनेको हुनाले जसको हातमा गीतको पहुँच छ, उनीहरूको रुचि गीत सुन्नुमा भन्दा नाच/कथा हेर्नुमा बढी गएकाले गहन शब्दहरू बिक्दैनन्। या भनौं बिम्ब बुझ्ने श्रोताको पहुँचमा आजको ‘मिडिया’ छैन। त्यसैले सजिला/सिधा शब्दहरू बढी प्रचलनमा आएका होलान्।

१२. गीतको मुख्य उद्देश्य मात्र मनोरञ्जन दिनु हो वा खास विषयमा कुनै सन्देश दिनु हो?
गीतको माध्यमबाट मनोरञ्जन र सन्देश दुवै दिन सकिन्छ।

१३. गीतकार हुन तपाईंलाई कुन कुराले प्रेरित गर्यो?
सर्वप्रथम त आदरणीय सुनिल मास्के दाइलाई धन्यवाद दिन्छु। उहाँलै नै मेरो पहिलो गीत एवं एल्बम ‘सुरबी’ कम्पोज गर्नु भएको थियो। म खासैमा गीत बनाउँछु भन्ने सोचमा थिइनँ। सुनिल मास्के दाइले यति राम्रा शब्दहरू छन्, ल एउटा गीत बनाइहेर्नु त भन्नुभयो। गीत म आफूलाई पनि मनपर्यो। अनि जब गीतहरू राम्रा बन्दै गए, म यो कामप्रति आकर्षित बन्दै गएँ। जब आफ्ना निर्जिव शब्दहरु सङ्गीतले सास भरिदिएर उठ्छ अनि गायक/गायिकाको आवाजले जीवन भरिदिन्छ। एरेन्जरले सिंगार पटार गरिदिन्छ। लाग्छ, मलाई मेरा शब्दले जीवन पाएको छ, एउटा सन्तानजस्तो। अनि त्यही गीतले कहिँकतै कसैको मन छुन्छ। कसैको ओठमा मु्स्कान अलिकति हिम्मत थपिदिन्छ। फेरि सिर्जना गर्न मन लाग्छ।

१४. गीत लेख्न सजिलो छ कि कथा, कविता लेख्न सजिलो छ?
गीतको तुलनामा लेख, कथा कविता लेख्न सजिलो लाग्छ मलाई। यी विधामा लेखनको लम्बाई र चौडाई फराकिलो हुन्छ तर गीतमा साँघुरो हुन्छ। थोरै शब्दमा धेरै कुरा व्यक्त गर्नुपर्ने हुन्छ। साथै, गीतमा कम्तीमा पनि ३ जना ( गीतकार, सङ्गीतकार र गायक/गायिका) संलग्नता हुने हुनाले धेरै कुरामा विचार पुर्याउनु पर्छ। माथि नै उल्लेख गरेँ, मोही पार्दा मदानी फिर्काएर नौनी घ्यु निकालेको जस्तो शब्दहरूको मन्थन गर्नपर्छ गीत बनाउन।

१५. तपाईंलाई मनपरेका केही गीतकारहरू को-को हुन्?
सबै जसो गीतकारहरू मन पर्छ तर निकटमा रहेर आदरणीय कृष्णहरि बराल, दिनेश अधिकारी, ज्ञानेन्द्र गदाल, लीलु गुरुङ, राजु बाबुश्रेष्ठ, राजकुमार बगरका गीतहरू खोजीखोजी सुन्छु। नयाँ पुस्तामा प्रकाश सपुतका केही शब्दले आकर्षित गरेका छन्।

१६. एक वा दुई त्यस्ता नेपाली गीतहरू भन्न सक्नुहुन्छ जुनले तपाईंको चेतन, अर्धचेतन र अचेतन मस्तिष्कलाई छोएको होस् ?
डा. राम विक्रम सिजापतीको ‘जीवन हाम्रो सङ्ग्लो पानी हो’ यो गीत निक्कै सरल र सरस लाग्छ। जिन्दगीलाई मार्गनिर्देश गरे जस्तोलाग्छ। यो गीतमा दु;खी ‘मुड’ लाई पनि खुशी बनाइदिने तागत छ।

राम थापाको ‘लेकाली हे चोयाको डोको’ यो गीत पनि बालपनदेखि नै मेरो मन मस्तिष्कमा गडिएको छ। अन्ताक्षरी, जमघट, नाचगानमा यो गीत नआएसम्म मनोरन्जन अपुरो भए जस्तो हुन्छ।

बिम्बको हिसावले हेर्ने हो भने योगेश बैद्यको ‘सपना भुलाई सारा आँसु पिएर जाऊ’ मनपर्छ।

१७. हाम्रो क्षेत्रमा गायक, गायिका आदिको नाम निकै चर्चामा आउँछ तर गीतकारको नाम चर्चामा आउँदैन। त्यस्तो हो ?
हजुर, यो कुरा साँचो हो। एउटा गीतको सिर्जना गीतकार, सङ्गीतकार र गायक/गायिकाबाट हुन्छ तर दुर्भाग्यवश चर्चा चाहिं गायक/गायिकाको मात्र हुन्छ। अब त गीत गायक गायिकाको पनि नभई नायक/नायिकाको हुने चलन आएको छ। यो स्रस्टाप्रति भएको ठूलो अन्याय हो। जसले गीतलाई जन्म दिन्छ, ऊ ओझेलमा पर्नुले धेरै स्रस्टाहरू निरुत्साहित पनि भएको देखेकी छु। ‘मेडिया र पर्फमर’ यो विषयमा जिम्मेवार हुन आवश्यक छ।

१८. प्रवासको बसाई कस्तो लाग्दैछ?
प्रवासको बसाई सामान्य नै लाग्दैछ। रोजीरोटीको दौडधुप, साहित्य सिर्जना, व्यक्तिगत जिम्मेवारी, सामाजिक क्रियाकलाप आदिमा नै दिनहरू बितिरहेछन्। आफ्ना चाडबाड, कला, संस्कृति नेपालको जस्तै गरेर मनाउन अलि गाह्रो हुन्छ। त्यतिबेला मातृभूमि र आफन्तको याद धेरै आउँछ तर दोष कस्लाई दिनु र ? विदेशिने निर्णय आफ्नै थियो। त्यसैले सबै कुरालाई सहज बनाउने प्रयास जारी छ। हाम्रो चाडबाड र संस्कृति यहाँको रफ्तारमा नबग्ने हुँदा आफ्नै विशेष पहलले समय मिलाउन अलि असहज हुन्छ तर सकेसम्म नेपालकै जस्तो गरेर मनाउने गरेकी छु। त्यही संस्कार नयाँ पिँढीलाई पनि सिकाएकी छु।

आफ्ना गीतहरु, पुस्तक, लेख रचना यहाँका स्थानीय पुस्तकालय, एफ्.एम् स्टटेशन, अमेजन डट कम मा राखेर ‘कल्चर एक्सचेन्ज’ गर्ने जमर्को गरेकी छु। ‘जित्छौँ महामारी’ गीतमा अङ्ग्रेजी सबटाइटल राखेर बनाएकी छु। सहकर्मीहरु माझसम्म पुर्याएकी छु। प्रवासमा नेपाली सुवास फैलाउने प्रयासमा छु। साथै समकालीन लोकप्रिय कलाकारहरूलाई यहीँ पनि साङ्गीतिक क्रियाकलाप गर्न हातेमालो गरेकी छु। टेक्ससको १० वर्षे बसाईमा नेपाली समाज टेक्ससको सल्लाहकार भएर विविध क्रियाकलापमा पहल गकेकी छु।

त्यस्तै पेशाले नर्स भएकोले नेपालीको लागि टेक्सस नेपाली समाज र टेक्सस नेप्लिज मेडिकल एसोसियसनले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा निरन्तर स्वयंसेविका भएर काम गरेकी थिएँ। सोसाइटी अफ नेप्लिज अमेरिकन नर्सको टेक्सस च्याप्टरको सचिव भएर पनि काम गरेकी थिएँ।

१९. तपाईं जनचेतनाका गीतहरू लेख्न निकै रुचाउनु हुन्छ। यस सन्दर्भमा तपाईं नेपालबाट टाढिएको जस्तो लाग्दैन ?
सायद नेपालबाट टाढा भएर र नेपालको न्यास्रो लागेर नै होला, मलाई चेतनामूलक गीत लेख्न मन लागेको हो। नेपाल हुँदा नेपाल र विदेश दाँज्ने अवसर मिलेको थिएन। यहाँ आएपछि स्वदेश के हो भन्ने थाहा पनि भयो। साथै, हामी र हाम्रो समुदायले कुन कुरामा सबल हुन आवश्यक छ भन्ने महसुस भएर नै साहित्य र सङ्गीतमा नर्सिङ र मानव चेतना सम्बन्धित कुराहरू मिसाएकी हुँ।

२०. कस्ता गीतहरू कालजयी हुन पुग्छन् ?
सशक्त शब्दहरूको मर्म बुझेर लेखिएका गीतहरू अजम्बरी हुन्छन्, कालजयी हुन्छन् । जुनसुकै समय वा कालको मन-मष्तिष्कलाई छुने गीतहरू कालजयी हुन। खास विषय, परिस्थिति, मुद्दा आदिमा लेखिएका गीतहरूको आयु भने ज्यादै छोटो हुन्छ।