भिन्सेन्ट भ्यान गगको कुनै एउटा चित्रको नाउँ लिनुस् र त्यसको मोल ठम्याउनुस् ।

अब डेभिड ए. लिन्डनले बनाएको त्यसको नक्कल बौना कलाको मोल सोध्नु्स्, तपाईं चकित हुनुहुनेछ किनभने उनले त्यस्तो नक्कलमा बनाएको बौना कलालाई ९० हजार पाउन्डमा बेचेका छन् ।

यो चित्रको आकार चाहिँ सियोको धागो घुसाउने दुलो बराबरको मात्र छ । ०.४ मिलिमिटर अग्लो र ०.५ मिलिमिटर फराकिलो एउटै कला ९० हजार पाउन्डमा बिक्री भएको हो ।

लिन्डनले यस्ता पाँच वटा चित्र बनाएका छन् । उनी यसरी बौना कला बनाएर यति मोटो रकम हात पार्ने बेलायतकै तेस्रो कलाकार बन्न पुगेका छन् ।

उनको काम भन्नु नै प्रख्यात कलाकारहरूको नक्कलमा सानो चित्रकला बनाउनु हो । उनले यसअघि भ्यान गगको स्टारी नाइट र सनफ्लावर शीर्षकका चित्र बनाएका थिए । त्यस्तै क्लाउड मोनेटको वाटर लिलिज, बेङ्सीको गर्ल विद बलुन, जोहानेस भरमिरको गर्ल विद अ पर्ल इयररिङ तथा एडवार्ड मन्चको द स्क्रिमजस्ता चित्रको पुचुङ्ग्रो चित्र बनाएका थिए ।

तीन वर्षअघिदेखि लिन्डनलाई साना चित्रकलाको सोख लागेको थियो । यसरी आफ्नो कलालाई महँगो मूल्यमा किनेपछि आफूलाई कला जगतमा स्वागत गरेको महसुस गरिरहेको उनले जनाएका छन् ।

मन्चको द स्क्रिम पेन्टिङलाई सन् २०१२ मा सोथेबिजले १२० मिलियन डलरमा बिक्री गरेको देखेपछि उनलाई यसको नक्कल बनाउने रहर जागेको थियो ।

पेशाले पूर्व इन्जिनियर लिन्डनलाई विलार्ड विजन नामक बौना कलाका कलाकारले यस कार्यमा प्रेरित गरेको बताउँछन् । यस्तो कला जर्मनी, अमेरिका तथा जापानमा अझ बढी रूचाइन्छ । बेलायतमा भने यो भर्खरै रूचाइन थालेको हो ।

बेलायतमा यस्ता बौना कला बनाएर चर्चित हुनेमध्ये ग्राहम सर्ट हुन् । ग्राहमले बनाएका कला २ लाख पाउन्डसम्म बेचेका छन् ।

उनले यस्ता कला राति मात्र बनाउने गरेको बताउँछन् । रातिको सन्नाटामा ध्यान बढी केन्द्रित गर्न सहज हुने उनको भनाइ छ ।

कति बढी ध्यान केन्द्रित गर्नुपर्छ भने उनले आफ्नो मुटुको ढुकढुकीलाई समेत नियन्त्रित गर्नुपर्ने हुन्छ । कहिलेकाहीँ खोक्दा पूरा मिहिनेत खेर जान्छ ।

‘जुन दिन यो चित्र बनाएर सकिन्छ, त्यो दिन जति खुसी म अरू कुनै बेला हुन्नँ,’ लिन्डन भन्छन् ।