जर्मनीको सार्वजनिक टेलिभिजन जेडडिएफले प्रख्यात उपन्यास ‘डेर स्वार्म’लाई आठ भागको शृङ्खला बनाउने भएको छ । तर रोचक पक्ष यसमा के छ भने यसअघि जर्मन भाषामा शृंखला बनाइरहेको टेलिभिजनले यो नयाँ उपन्यासलाई भने अंग्रेजी भाषामा शृङ्खला बनाइरहेको छ । ‘द स्वार्म’ शीर्षकमा यसलाई टेलिभिजनका लागि पटकथा तथा निर्माण गर्न कम्पनीले हलिउडका प्रख्यात निर्माता फ्राङ्क डोएल्गरलाई जर्मनी डाकेको छ ।
डोएल्गरले गेम अफ थ्रोन्स निर्माण गरेका हुन् । यससँगै यो शृंखला जर्मनीले पहिलो पटक अंग्रेजी भाषामा बनाएको शृंखला हुनेछ ।
फ्राङ्क सात्जिङले लेखेको यो उपन्यास सन् २००४ मा बजारमा आएको थियो । बजारमा आउनेबित्तिकै आठ महिनासम्म यो बेस्टसेलर सूचीमा रहिरह्यो ।
हालसम्म यो पुस्तक ४५ लाख प्रति बिक्री भइसकेको छ । यसलाई वैज्ञानिकहरूले पनि रूचाएका छन् । साइफाई बिधाको यो उपन्यासमा समुद्रमुनिको कथा रचिएको छ ।
यसलाई शृंखला बनाउन अधिकांश समय पानीमुनिको भाग खिच्नु पर्ने भएकाले पानी मुनिको प्रभाव देखाउन मात्र टेलिभिजनले २ करोड ३० लाख पाउन्डको सेट बनाएको छ ।
जर्मनीले पनि अन्य मुलुकले झैँ गतिलो टेलिभिजन शृंखलाको अभाव झेलिरहेको छ । यहाँको मनोरञ्जन उद्योगले स्तरीय सामग्रीका लागि अमेरिकी तथा बेलायती शृंखलाहरू किनेर प्रसारण गर्ने गरेका छन् । यस्तो अवस्थामा गतिलो चिजलाई अंग्रेजी भाषामा बनाएर बेच्ने योजना जेडडिएफको हो ।
अमेरिकी टेलिभिजन कम्पनी एचबिओले बनाएको गेम अफ थ्रोन्स संसारभरिका २४० टेलिभिजन कम्पनीले किनेर प्रसारण गरेका थिए । स्तरीय कन्टेन्ट बनाउन सक्दा संसारभरि बेच्न सकिने आशाका साथ जेडडिएफले यसमा ठूलो लगानी गर्ने भएको हो ।
समुद्र सम्पूर्ण प्राणी जगतको आदिमाता हो । समुद्रमा नै पहिलो जीवको शुरूवात भयो । त्यसपछि क्रमशः जीवले आफूलाई फलाउँदै फुलाउँदै लगे ।
तर अर्बौं वर्षपछि समुद्र फल्नेफुल्ने ठाउँ भन्दा पनि मृत्युको कारक बनिरहेको छ । यहाँ जीवहरू क्रमशः नष्ट हुँदै गइरहेका छन् । यसले मानिसको जीवनलाई भविष्यमा कस्तो प्रभाव पार्छ भन्ने विषयमा यो उपन्यास आधारित छ ।
शृंखला तयार हुँदै गर्दा यसलाई बिबिसी टेलिभिजनले किन्ने तयारी गरिरहेको छ । यति मात्र होइन, यसमा जापान, स्पेन, स्विट्जरल्यान्ड, इटाली, फ्रान्सका टेलिभिजनहरू पनि जोडिन थालेका छन् । ती टेलिभिजनहरूले यसलाई आफ्नो भाषामा स्वराङ्कन गरी प्रसारण गर्ने भएका छन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।