प्रख्यात चित्रकार तथा मूर्तिकार माइकेलेन्जेलोले बनाएको डेभिड शीर्षकको मूर्तिकला संसारभरि नै प्रख्यात छ । सो मूर्तिकला हेर्न संसारकै चासो रहन्छ । यस पटक दुबईमा गरिएको मूर्तिकला प्रदर्शनीमा डेभिडले सनसनी मच्चायो । यसको कारण थियो, सो मूर्तिलाई माथि र तलको भाग मात्र प्रदर्शनीमा राख्नु । यसको बीचको अर्थात् गोप्य अंग भने नदेखिने गरी राखिएको थियो । र, सोही कारण यो प्रदर्शनीमा मूर्ति विवादित बन्न पुग्यो ।

प्रदर्शनीका आयोजकहरूले भने यसो गर्नुको कारण मुस्लिम संस्कृतिले कतै यसलाई नराम्रो नठानोस् भनी लिङ्ग देखिएको भाग छोप्न नयाँ शैली अपनाइएको बताएका छन् ।

इटालेली दैनिक अखबार ला रिपब्लिकाका अनुसार, १७ फुट अग्लो सो मूर्ति सिधासिधा प्रदर्शनीमा राख्नुभन्दा यसलाई दुई तल्लाको सिँढी बनाइयो । यसो गरेपछि अवलोकनकर्ताले कि त डेभिडको अनुहारको भाग हेर्न सक्छन् कि त गोडाको भाग । झट्ट हेर्दा कम्मरको भाग छोपिएको देखिन्छ ।

प्रदर्शनी थलोमा छिर्नेबित्तिकै देखिने सो मूर्तिको लिङ्गमा झट्टै आँखा नपरोस् र मुस्लिम युवायुवतीले मुसुमुसु हाँस्न नथालून् भन्ने उद्देश्यले यसो गरिएको प्रदर्शनी केन्द्रले जनाएको छ ।

अर्कोतर्फ कसैलाई डेभिडको लिङ्ग हेर्ने चासो नै भयो भने पनि निहुरिएर त्यसैका लागि मिहिनेत गर्नुपर्ने हुन्छ । फेरि त्यसो गर्न सर्वसाधारणले भने पाउने छैनन् । त्यो देखिने ठाउँमा जान प्रदर्शनी हलका अधिकारी तथा आयोजकलाई मात्र छुट छ ।

यो प्रदर्शनीमा दुबई सरकारले किन यत्रो लगानी गरिरहेको छ त ? महामारीले दुबईको पर्यटन उद्योग ध्वस्त भएको छ । यस्ता प्रदर्शनीले यसलाई उकास्न मद्दत गर्ने अपेक्षाका साथ यो प्रदर्शनी गरिएको आयोजकको भनाइ छ ।

यो प्रदर्शनी ६ महिनासम्म चल्नेछ । यो प्रोजेक्टमा संलग्न एक व्यक्तिका अनुसार, मुस्लिम देशमा एउटा नग्न मूर्ति ल्याउनु गल्ती थियो भन्ने कुरा धेरैपछि मात्र महसुस गरिएकाले यसलाई कम क्षति गर्न यो उपाय अपनाइएको हो ।

माइकलेन्जेलोले सन् १५०४ मा डेभिडको मूर्ति बनाएका थिए । डेभिडले जब रोमन सेनापति गोलिथसँग युद्ध गर्ने निधो गर्छ, सोही क्षणको निर्णयात्मक भाव यस मूर्तिमा अभिव्यक्त गरिएको छ । डेभिड र गोलिथको कथा बाइबलका सबैभन्दा प्रभावशाली कथामध्ये एक मानिन्छ ।

यो मूर्ति त्यो बेला फ्लोरेन्स गणराज्यको शानका रूपमा गनिन्थ्यो । माइकेलेन्जेलोले यसलाई फ्लोरेन्सको पिएज्जा डेला सिग्नोरियामा राखेका थिए । पछि सन् १८७३ मा यसलाई सारेर फ्लोरेन्स एकेडेमी अफ फाइन आर्टमा राखियो ताकि आँधि, हुरी, पानी र घामबाट जोगाउन सकियोस् ।

फ्लोरेन्समा अझै पनि यो सबैभन्दा रूचाइएको पर्यटकीय थलोमध्येमा गनिन्छ ।

डेभिडको मूर्तिको लिङ्ग कतिसम्म लोकप्रिय छ भने यहाँका प्रायः पोस्टकार्डमा विभिन्न कोणबाट खिचिएका लिङ्गका पोस्टकार्डहरू निकै ठूलो माग हुने गरेको छ ।

बेलायतकी महारानी भिक्टोरियालाई एक पटक यो मूर्ति यति मन पर्यो कि उनको निजी संकलनका लागि भनेर एउटा डेभिडको नक्कली मूर्ति बनाइएको थियो र उनी जब त्यो मूर्ति हेर्न भनेर गएकी थिइन्, डेभिडको लिङ्ग देखेर हाँसेकी थिइन् ।

त्यसयता डेभिडको लिङ्गको भाग निकाल्न र पुनः राख्न मिल्ने गरी बनाइएको थियो । हालसम्म पनि भिक्टोरिया एन्ड अल्बर्ट म्युजियममा सो डेभिडको मूर्ति देख्न पाइन्छ ।

यता दुबईमा लिङ्ग छोपिने गरी मूर्ति प्रदर्शनीमा राखेकामा भने इटालेली कला समीक्षक भिटोरियो स्गार्बीलाई चित्त बुझेको छैन । यस्तो गर्नु मूर्खता भएको उनले इटालेली अखबारमा टिप्पणी गरेका छन् ।

‘यो बाइबलको एउटा थिम हो, कुनै यौन आसनमाथि बनाइएको अश्लील मूर्ति होइन,’ उनले भनेका छन्, ‘त्यसैले माइकेलेएन्जेलोले बनाएको मास्टरपिसको एउटा भाग नै छोपिनु कलाको अपमान हो र कला कुनै धर्म र संस्कृति भन्दा माथि हुन्छ भन्ने बुझ्नुपर्छ ।’

विवादपछि डेभिडको लिङ्ग छोप्नुमा सरकार वा अन्य कसैको दवाव नभएको प्रदर्शनीका निर्देशक डेभिड राम्पेलोले बताएका छन् ।

नग्न भाग छोपिएको अर्थमा मात्रै नहेरी यसलाई पेभिलियनमा छिर्नेबित्तिकै डेभिडले जसरी दर्शकहरूलाई स्वागत गर्छ, त्यो अनुभव अद्भुत हुने गरेको राम्पेलोको दाबी छ ।

माइकेलेन्जेलोको यो डेभिडको ठ्याक्कै नक्कल गर्न लेजर स्क्यान गरिएको थियो । त्यसपछि संसारकै ठूलो थ्रिडी प्रिन्टरको सहयोगले यसलाई प्रिन्ट गरिएको थियो । यो थ्रिडी प्रिन्टले इटालीको विज्ञतालाई संसारसामु पुर्याउने अपेक्षा राम्पेलोको छ ।

प्रदर्शनीका आयोजकहरूले भने डेभिडको विवादलाई चियाकपको तुफान भन्दै लिङ्गको भाग छोप्नु सही निर्णय भएको बताएका छन् ।