कोरोना डायरी ३३
१२ वैशाख २०७७ ( २४ अप्रिल २०२०)

लकडाउनको २६ औँ दिन हिजो स्नान गरेपछि हात गोडा र शरीरमा तेल दलौँला, घाममा सेकौँला, नङ काटौँला भन्ने प्लान थियो तर दिनभरि घामै लागेनन् । सिमसिम पानी पर्दै ओसिँदै बित्यो ।

तर रातिको निद्रा भने निर्वाध भयो । दुई घान निधाउँदा, दुई व्याच सपना देखिसक्ता प्रभातको चार बज्यो । जुरुक्क उठेर माथि चढेँ ।

आजको आकाश कस्तो निर्मल, सफा छ; आजदेखि घाम तात्ने होला । सारा धर्तीले वैशाखभरि पुग्ने पानी पिइसकको छ । तर वासन्ती पक्षीहरूको गान आज पनि कतै सुनिएको छैन भन्दा पनि एकछिनदेखि कुहु कुहु चरी गाउन थाल्यो ।

फेरि आज पनि कोरोना संक्रमित थपिएका छन् । सर्वप्रथम मेरो प्रतीक्षामा रहेको विद्युतीय सन्देश समाचार सम्बन्धको निरीक्षण गर्दछु । आजको प्रथम रहेछ सिक्किमका भाइ स्रष्टा अमर बानियाँ लोहोराको छोटो— ऊँ प्रणाम श्रद्धेय सर, साँच्चै घत गयो । विश्वसामयिक यो कविता नजानिँदो हास्य र मनोवल प्रदान गर्ने यो कविता शुभम् ।

अमर बानियाँ भर्खर जोडिए पनि धेरै पहिलेदेखि चिनिएका हुन् । उनको कोमल हार्दिक पक्ष, सरल कवित्व र आध्यात्मिक प्रेमको कारणले गर्दा उनी नित्य विनयशील छन् । अघिल्लो संवादमा उनले लेखी पठाए, मैले पनि ॐकारले उनको स्वागत गरेँ । उनी अत्यन्त प्रशन्न भएर म पहिला ‘शुभम्’ मात्र लेख्थेँ भन्थेँ अहिले ‘ॐ’ पनि सर । उनले त्यताको झुकाव सुनाए । मैले हाम्रा पिताजीले प्रत्येक सन्ध्यामा गाउन सिकाउनु भएको एक अंश कीर्तन सुनाएँ—
अच्युतम् केशवम् रामनारायणम्
ॐकार ॐकार जप्न मेरो मन
आज फेरि ॐकारबाट अभिव्यक्ति आरम्भ गरी छोटो सन्देश लेखे । काकाले गाउनु हुने एक स्तोत्र मेरो मनमा भएको एउटा भजन त्यो पनि लेखी पठाएँ अमरलाई
ॐकार विन्दु संयुक्तम्नित्यम् ध्यायन्ति योगिनः
मोक्षदम कामदम्श्चैवॐकाराय नमोनामः

त्यसपछि एकछिन फेसबुकमा बसेँ । पहिलो अध्यायमै लेख्योः नेपालमा थप दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ— उदयपुरकी ५५ वर्षीय महिला र जनकपुरका १४ वर्षीय विनोद । यसरी नेपालमा हालसम्म संक्रमितको संख्या ४७ पुगेको छ, उनीहरुमध्ये ९ जना निको भइसकेका छन् ।
कोरोनाबाट विश्वभर एक लाख ९० हजारको ज्यान गयो । अमेरिकामा मात्रै ४८ हजारको । अमेरिकाले कुर्लिनु र अमेरिकाको पक्षमा कुर्लिनु व्यर्थ रहेछ भन्ने प्रमाण हो ।

छ बजे एकपल्ट उठेँ, अर्को चियापानी बसाएर जगिङमा गोडा चलाएँ, फर्केर आई बसेँ । आज बिहानैदेखि यही थिसिसको काम छ । साढेआठमा सेवाले बेल बजाइन् । खगेन्द्रको फोन आइसकेको थियो— यता राम्रो छ, पानी रोकियो । बारीमा सागसब्जी तरकारी खाई नसकिने भयो, बाँडेर पनि । कटहर छन् रुखभरि, हरिया मकै पाके । लाग्यो— आमा हुँदा जस्तै पारेछन् ।

त्यसपछि तल झरेँ । आज स्पेसल खालको बिटरुट सूप छ; विथ लेमन र तुलसी चिया । सकेर छुट्यौँ । चिसो छ, जाडो फेरि थपिन्छ कि जस्तो आकाश । एकसर्को न्यूजखबरतिर दृष्टि दिएँ । ओलीजीले साहसपूर्वक केही नयँ लडडू बनाइरहनु भएको थियो । त्यसको सुवास चारैतिर चिप्लेर खारिज भयो । धूत्र्याइँ छ, मूर्ख्याइँ छ, राज्यसत्ता सर्वत्र यस्तैका हातमा जाने रहेछ । अमेरिकाका ४९ हजार मरिसके फेरि पनि हिजो लकडाउनविरुद्ध सर्वत्र नारा जुलुस छ । मानिस पूर्ण रुपले भौतिकवादी भएपछि अध्यात्म बिर्सन्छ, ईश्वर देख्दैन, मूर्खतावश आफैँ ईश्वर बन्छ, पैसा मात्र गन्दागन्दै छिटै बिदा हुन्छ । त्यसो त श्रद्धा नेतृत्वको पनि पूर्णता हुनुपर्छ र पूर्ण भौतिकताले निलेका मान्छे त्यसैको उन्मादमा छन् हाम्रै ओलीजी बहुमतको दम्भमा नाच्नेझैँ गरी । चिप्लिन के बेर भीरबाट !

आज एकपल्ट मात्रै ९ः३० मा १० मिनेट निदाएर उठेँ । एक अर्को मिठो सपना देखेजस्तो भयो । उठ्ता चिसो बादल छ निहुरेको, परेवा घुरिहेका, बाटामा आवतजावत बन्द छ, नौ बजे कडा लकडाउन शुरु हुन्छ ।

एउटा पोष्ट आयो कोरोना घटाउने आयुर्वेदिक औषधी भन्दै जसमा एउटा सूची छ यी पदार्थको अदुवा, बेसार, लसुन, ज्वानो, असुरो, तुलसी, अमला, दालचिनी इत्यादि । आज मध्याह्नमा हेर्दा अमेरिकामा कोरोनाबाट दिवंगत हुने नागरिकको संख्या ५० हजार ३६० पुगेछ । सबै संवेदना हराएपछि मात्रै मान्छेको मृत्युलाई संख्यामा गन्न थालिन्छ । नत्र एकैजना मात्र अकारण बितेको सुन्दा हाम्रो मन सिरिङ्ग हुने गर्थ्यो । आज त्यही हरायो, देश देशमा कहाँ कतिजना बिते भन्ने आँकडा दिनदिन हेरिन्छ, त्यो बढदैछ ।

यस्तो समयमा अमेरिकामा तीव्र विरोध पनि हुँदैछ । आइतबार लकडाउनको विरोध भयो। रिपोर्टले भनेका छन्, विरोधीहरू अधिकांश मात्रामा कन्जर्बेटिव दलका ट्रम्प पक्षीयहरू छन् । मिसिगन, ओहायो, नर्थ क्पारोलाइना, मिनेसोटा, युटाह, भर्जिनिया, केन्टकी, विस्कन्सिन ओरेगन, मोरिल्याण्ड, आइडाहो, टेक्सास, एरिजोना, कोलोराडो, मोन्टाना, वाशिङ्टन, न्यू ह्याम्पशायर, पेन्सिल्भानिया, राज्यहरूमा विरोध प्रदर्शन भए ।

ती राज्यका गवर्नरलाई अधिनायकसँग दाँज्दै उनीहरुले “मलाई स्वतन्त्रता देऊ नत्र मलाई मृत्यु देऊ” भन्ने नारा लाए ।

लकडाउन खोल्नुको तात्पर्य पार्कहरू खोल्नु, सयर गर्ने समुद्री तट र व्यवसाय पुनः सञ्चालन हो । नागरिकले स्वतन्त्र घुमफिर गर्ने अधिकारमा प्रतिबन्ध लगाएर बिजिनेस बन्द गरेर नागरिकमाथि प्रहार हुँदैछ ।
यो नागरिक स्वतन्त्रताको हनन भयो । यसले स्थानीय अर्थतन्त्रलाई विनाश गर्दछ । अढाइ लाख नागरिक बरोजगार भएका छन् । यस्तै तर्क छन् ।

“अमेरिका नर्थ कोरिया” लेखेको देखियो; “लिभ फ्री अर डाई” (स्वतन्त्र बाँच नत्र मर” भन्ने पनि देखायो ।

यसरी संवैधानिक अधिकार राज्यले कटायो । ती नारा, ती दावी, ती मुक्तिका प्रयत्न देख्ता आज मलाई के लाग्यो भने अमेरिकाबाट अब संसारले आशा गर्ने धेरै कुरा छैन । मुख्य त मानवता छैन । स्वतन्त्रताका नाममा सभ्यता नै मेट्ने आँट गर्नुहुन्छ ?

विश्व स्वतन्त्रताको नेतृत्व दिने प्रथम स्वतन्त्र देश अब त्यसको स्वतन्त्रताको अर्थ पनि प्रश्नमा छ । मानवताको रक्षा गर्ने, अरु आवाजहीनको जीवन जोगाउने कर्ममा अमेरिकाले एक उदाहरणीय दृष्टान्त देखाउनु पर्ने तर केवल स्वतन्त्रता भनेर कुर्लिरहेछ । आफ्नो स्वतन्त्रताले अरुको क्षति गर्छ भने त्यसको चाहना राख्नु हुन्न, आखिर त्यसले ता आफ्नै पनि प्राण लिन्छ— हामीलाइृ त्यस्तो लाग्छ ।

उनीहरुको ध्यान केवल भौतिक प्राप्तिमा छ । बिजिनेसमा, जागिरमा जसलाई मानवको जीवनसँग साट्न सकिने होइन । आम्दानी यथावत् रहोस् फ्याक्ट्री उद्योग चलिरहोस, उद्योगीहरू कमाइरहून, मर्नेहरू मर्दै गर्छन्, बाँच्नेहरू बाँच्तै भन्ने होला ।

यसको जड कारण के हो भने अमेरिका जस्ता उन्नत मुलुकका आफ्नो आध्यात्मिक, धार्मिक आधार भूल्यो । यसले नैतिक र मानवतावादी आधार पनि भुल्यो केवल भौतिक आर्थिकलाई सर्वश्व ठान्न थाल्यो । संसारमा अरु मानवजाति छन् भन्ने पनि भूल्यो । गर्दागर्दै आज ता ट्रम्पले घोषणा गरे— अब इमिग्रेशन (आप्रवाशन) नदिने ।

के सम्पन्न राष्ट्रले आफूमात्रै सुख चयन गर्ने हो ? आजसम्ममा आधा लाख नागरिकको प्राण गइसकेको छ । विश्वले नै आशा गर्ने मानवजाति बचाउलान् भनी आशा गर्ने तिनै सम्पन्न राष्ट्र आफ्नै कारणले उठ्न नसक्ने भए अरुलाई के शिक्षा दिने कुन भरोसा दिने ? पैसा नै सर्वश्व हो ? अमेरिकाले विश्वमै सर्वाधिक मानिस मर्ने मुलुकको रुपमा नाम कमायो— त्यहाँ पढ्न जाने, सेवा गर्न जाने, जीवन व्यतीत गर्न जाने विश्व नागरिकको मनमा कस्तो प-यो होला । भयङ्कर गरीबी र अशिक्षाले, अज्ञानता र अभावले घेरिएका विशेष गरी एसियाली मुलुक र आफ्रिकी देश कसलाई हेरेर बाँच्तै होलान् ? तर हामी त्यत्रो हत्ते गर्दैनौँ जीवन र मृत्युमा, त्यसरी बिर्सिदैनौँ मानवलाई सम्पत्ति र विपत्तिमा । यो आर्यभूमिलाई गीता र उपनिषद्को कत्रो गंगाले सिंचित गरेका छन्, वेद पुराणले कत्रो । हाम्रा मानिस त्यत्ति दरिद्र छैनन्, त्यति भोका छैनन्, उनीहरुभित्र द्रव्य पिसाच पसेको छैन । नेपालले पूर्वीय चिन्तन र अध्ययनसाथ सम्हाल्दै लग्यो भने यो एक भौतिक अध्यात्मिक दुवै रुपले सम्पन्न हुनेछ तर अमेरिका जस्ता देशहरु झन् भोका, झन प्यासा, झन् शुष्क, झन् अतृप्त हुनेछन्त्यहाँ सधैँसधैँ दारिद्र्य चुलिँदै जानेछ । यो प्रस्ट छ ।

आज अर्थोक गरिएन भन्दा पनि म बलरामको थिसिसमै लागिरहेँ । १८५ पृ. पुग्यो । दिन बदली थियो । दिनभरि कोट र उनी टोपी लगाएर कटाएँ । धेरै सम्पर्क पनि भएन । मुक्तिदाइले भन्नुभयो— अष्ट्रेलिया यात्रा भ्रमण लेखेर सक्नै लागेँ । सकेपछि एकपल्ट पढिदिनु होला, तपाईंलाई पठाउँछु । उहाँको साहित्यमा एकाग्रता देखेर सहयोग गर्न मन लाग्छ ।
नेपालमा बिरामी पर्नेको संख्या ४८ जना पुग्यो ।