साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
sp machapuchara cash back ads

छुवाछुत विरूद्धको कविता अभियानः म मान्छे भएर बाँच्न चाहन्छु

पवित्रा सुनार

सरकार !
मलाई चिन्नुभयो ?
पन्ध्र वर्षअघि
जनआन्दोलन चलेको बेला
कलङ्कीमा गोली लागेर ढल्ने
मै हुँ— दीपक कामी ।
मलाई याद छ,
त्यो दिन मेरो शवलाई
आर्यघाटमा खोसाखोस गर्नुभएको थियो
रातो झन्डा ओढाएर
मेरै पार्टीको सहिद भन्नुभएको थियो
अब त चिन्नुभयो ?

सरकार !
बाह्रवर्षे युद्धताका
भीडन्तमा गोली लागेर ढलेको
दिलबहादुर रम्तेल मै हुँ
त्यही वर्ष
सहिदको पङ्क्तिमा मेरो चर्चा थियो ।
सरकार !
त्यही वर्ष सडकमा उर्लिरहेको आन्दोलनमा
प्रहरीको गोली लागेर
नेपालगन्ज चोकमा ढलेकी
मै हुँ सेतु बिक
सडकमा नारा चर्किरहेको थियो—
‘अब आउने सङ्घीय गणतन्त्रमा
जातभातको
धनी–गरिबको
नाम निसान हुने छैन ।’
यही नारा सुनेरै
म होमिएको थिएँ
समानताको युद्धमा
हो सरकार !

मैले विभेदको पर्खाल ढाल्ने
यो समाजमा मान्छे भएर बाँच्ने
सपना देखेरै
देशलाई रगत चढाएकी हुँ
सरकार अब चिन्नुभयो ?
बाह्रवर्षे युद्धमा
देशलाई रगत चढाउने
हजारौँ दलितमध्येको एक मै हुँ
हजुरलाई थाहा छ ?
मेरो रगत बगाएरै
लोकतान्त्रिक नेपालको
पहिलो प्रधानमन्त्री
पहिलो राष्ट्रपति
बनेकै हुन्
मेरै हड्डीको पर्खालले
हजुरको सत्ताको उचाई
चुलिएकै हो
मेरै भोटले
हजुरको बहुमत पुगेकै हो
भुल्नुभयो ?
मेरो झुपडीमा आउँदा
गरेका वाचा

पख्नुस्,
म सम्झाउँछु–
‘सङ्घीय गणतन्त्रमा
छुवाछूत, भेदभाव
निमिट्यान्न हुनेछन्
मात्र मान्छेको समाज हुनेछ !’
सरकार !
हजुरकै कुराले
हातमा गणतन्त्रको झन्डा लिएर
काँधमा मुक्तिको बन्दुक बोकेर
बुनेर यस्तैयस्तै सपनाहरू
होमिएकी हुँ
हजुरको महान् युद्धमा ।

यो पनि भन्नुभएको थियो—
आऊ, बोक बन्दुक
देऊ देशलाई रगत
आउनेछ सुनौलो दिन
जहाँ प्रेम गरेबापत
नवराज विकलाई झैँ
भेरीमा बगाइने छैन
प्रेम गरेकै अभियोगमा
अजित मिजारलाई झैँ
मृत्यु उपहार दिइने छैन ।

सरकार !
यो पनि भन्नुभएको थियो
भूमिहीन दलितले भूमि पाउनेछन्
रूढिवादी समाजको जरा उखेलेर
सुन्दर समाज निर्माण गर्नेछौँ
गणतान्त्रिक राज्यमा
अछूतको नाममा कुनै ढोकाहरू
प्रतिबन्धित हुने छैनन्
धारा–पधेँरामा पानी छुँदा
मना सर्किनी झैँ
छैन कुटिएर मर्नुपर्ने ।
अफसोच !
अस्ति रुकुममा
‘उच्च’ जातकी युवतीलाई
प्रेम गरेको अभियोगमा
नवराजहरूलाई
कुटीकुटी मारेर
भेरीमा बगाएपछि
र समानताकै लागि बगाएको मेरो रगत
हजारौँ दलितले बगाएको रगत
भेरी नदीमै बगेपछि
मलाई धिक्कार लागिरहेछ
सङ्घीय गणतान्त्रिक राज्यको
सहिद भन्न लाज लागिरहेछ ।
भन्नू त, सरकार !
के मलाई झुक्याएर
मेरो रगत माग्नुभएको थियो ?
गणतन्त्रको दशकौँसम्म
हजुर मौन किन ?
आँखैअघि मलाई मारिँदा
हजुर मौन किन ?
भन्नुस् सरकार !
समृद्ध नेपालमा मेरो अस्तित्व खै ?
झुपडीमा गरेका वाचाहरू खै ?
यस्तो पनि गणतन्त्र हुन्छ र ?
सरकार !
भो फिर्ता देऊ अब मेरो रगत
म मान्छे भएर बाँच्न चाहन्छु।

प्रतिक्रिया
Loading...