साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
sp machapuchara cash back ads

दसैँमा तेजपुरको यात्रा

दीपक सुवेदी

असोज मध्य मध्यको समय । दशैँको फूलपाती आउन आठ दिन मात्रै बाँकी छ । साइबेरियन चराजस्तै, प्लेटफममा परदेशीहरूको भिड देखिन्छ । जति दुःखी छन् परदेशी आफन्तबाट टाढिएकोमा, त्यति नै खुसी पनि छन् सायद दशैँ नजिकिएकोमा ।

बिउ उम्रिनु मात्र पर्छ, समयको चक्रसँगै पालुवा पाउलिहाल्छ । पालुवा बिस्तारै फूल भई फक्रिन थाल्छ । समयको यस क्रमलाई न त कसैले रोक्न सकेको छ, न त कसैले रोक्न खोजेरै रोकिएको छ । अविश्रान्त गतिमा यो गतिमान भइरहेछ । यसलाई केही फरक परेको छैन, को आयो को गयो । तर यसका विपरीत आउने र जानेहरूमा समयसँगै फरक फरक अनुभूति भइरहँदो रहेछ । २७ सेप्टेम्बर २०१९ का दिन मलाई यस्तै भयो ।

बेलुकाको नौ बजेको थियो । म मोवायलमा ह्वेर इज माइ ट्रेन ? हेर्दै थिएँ । त्यही बेला फोन आएको सङ्केत गर्यो मोवायलले ।

‘दीपक सर, कहाँ हुनुहुन्छ ?’

‘प्लेटफम नम्बर एकमा छौँ ।’ मैले भनेँ ।

‘ए, सर, तपाईंहरूको ट्रेन प्लेटफमभित्र पस्यो है ।’

‘हामी पनि हेर्दैछौँ सर ।’

‘सर, दुई मिनेटको मात्र ट्रेनको वेटिङ्ग छ । तपाईंहरूको वोगी इन्जिनको ठ्याक्कै पछाडि पर्छ है ।’– तेजपुरबाट मदन थापाले भन्नुभयो ।

कृष्ण अविरल र म एनजीपी प्लेटफममा गुवाहाटी एक्सप्रेस (ट्रेन नम्बर १२५०९) को प्रतिक्षामा थियौँ । क्ज्ञ को ३४ र ३५ नम्बरका हाम्रा स्लिपर रङ्गियासम्मका लागि थिए ।

दीपक सुवेदी

२९ सेप्टेम्बर २०१९ आइतबारका दिन असममा अनुपम चिन्तन मञ्चले पहिलो वार्षिक सभा, पुस्तक विमोचन, अभिनन्दन र काव्यानुष्ठान सम्पन्न गर्दै थियो । कार्यक्रममा विशेष आतिथ्यता ग्रहणको लागि हामी जाँदै थियौँ ।

नभन्दै हामी प्रतीक्षारत प्लेटफम नम्बर एकमा ट्रेन देखियो । यात्रुहरू आ–आफ्ना सामान बोकेर यता र उता हतारिन थाले । हामी पनि मदन सरले भने अनुसार ट्रेनको अगाडिको भाग पर्नेतिर तयारी भयौँ । ट्रेन थाक्दै हामी नजिक आइरहेको थियो ।

हामी एकाएक गल्यौँ । कारण मदन सरले भन्नु भए जस्तो इन्जिनको पछि हाम्रो क्ज्ञ बोगी थिएन । ट्रेनबाट निस्कने र पस्नेको घुइँचो । हतारमा झन् हामी हतारियौँ । खोलामा एक्कासी बाढी आएजस्तै मानिसको वहाव । हामी त यताबाट उता, उताबाट यता ठेलिन थाल्यौँ ।

‘ला ! बरबाद भो । अब के गर्ने दीपक जी ?’ कृष्ण जीले भन्नु भयो । ‘ट्रेनको पछि हेर्दैहेर्दै जाऊँ । ट्रेन हिँडिहाल्यो भने कुनै एउटा बोगीमा चढौँला । भित्र पसेपछि त केही न केही भइहाल्छ ।’ मैले भनेँ ।
हामी आफ्नै सुरले हेर्दै ट्रेनको पछिल्तिर गयौँ । हेर्दाहेर्दै धेरै मान्छे त दौडन थाले । लु ट्रेन त छुट्छ होला । मदन सरले भन्नु भएको हामीले दुई मिनेट सम्झियौँ । अब हामी पनि दौडन थाल्यौँ । मेरो मोवायल बजिरहेको थियो । कृष्ण जी सानो मान्छे त्यो भिडमा बतासिनु भयो । म पनि दौडिँदै, हेर्दैछु । कृष्ण जी हेर्दाहेर्दै निक्कै अघि पुग्नु भयो ।

म आफ्नै सुरमा थिएँ भिडमा । ट्रेनले हिँड्ने सङ्केत गर्यो । म एक्कासी झसङ्ग भएँ । मेरो पिठ्युँमा भएको झोला कसैले तान्यो । पछाडि फर्केर हेरेँ ।

‘दीपक जी, दीपक जी, यता यता । हाम्रो क्ज्ञ यही होइन ।’ झोला तान्दै कृष्ण जी पो भन्दै हुनुहुँदोरहेछ । हतारमा कति दौडिएछ कति । मैले आनन्दको स्वास फेरेँ । हामी ट्रेनमा चढ्यौँ ।
मोवायलले अझै फोन आएको सङ्केत गरिरहेको थियो । हेरेँ मदन सरले गर्नु भएको रहेछ ।

‘सर, चढ्नु भयो ?’

‘चढ्यौँ सर ।’

‘ल सर, विहान ढिलोमा सात बजेसम्ममा रङ्गिया ल्याउँछ । त्यहाँबाट आठ बजेको ट्रेन छ ।’

‘हुन्छ सर । हामी सम्पर्कमै रहन्छौँ ।’

यसपछि तेजपुरबाट अर्जुन निरौला र कृष्णनील कार्कीले पनि फोन गर्नु भयो ।

ट्रेनभित्र पानी, चना, पानीपुरी, चटपटे, कपडा, चर्जर…..व्यापार गर्ने बच्चादेखि वृद्ध उमेरसम्मका व्यापारीको लर्को लागिरहेको थियो ।

कृष्ण जीले भर्खरै राहुल साङ्कृत्यायनको भोल्गा से गङ्गाको नेपाली संस्करणको बुस्ट गराउनु भएको थियो । स्लिपरमा बसेपछि फेसबुक मार्फत उहाँ बजारीकरणमा लाग्नु भयो ।

बाटो छेक्न आउने अँध्यारोलाई आफ्नो उज्यालोले धपाउँदै टे«न चिच्याउँदै घिस्रिरहेको थियो । मैले झ्यालबाट बाहिर हेरेँ । जूनसँग पोखिएका शीतका थोपाहरूले धर्तीका पीडावेदना र दुःखका आँसुका थोपाहरूसँग साइनो गाँसिरहेका थिए । जूनको उज्यालोलाई ओझेलमा पार्न खोज्ने हल्लैहल्लाको शहरभन्दा टाढा रहेको रातसँगै लुकामारी खेलिरहेको गाउँलाई सिठी मार्दै जिस्क्याउँदै ट्रेन दौडिरह्यो, रातभरि नै ।

विगत दुई वर्षदेखि प्रत्येक विहान चारबजे मलाई मोवायलले ब्यूँझाउँछ । मोवायल निकालेर हेरेँ । मिसकल देखायो । मदन सरले फोन गर्नु भएको रहेछ ।

‘मदन सर मर्निङ ।’ मैले भनेँ ।

‘मर्निङ सर, अघि गरेको थिएँ । निदाउनु भएको रहेछ । अब सायद तीन स्टेशनमा रोक्छ र त्यसपछि रङ्गिया आउँछ है ।’

कृष्ण जीलाई हेरेँ । निदाइरहनु भएको थियो । मैले स्लिपमा ओछ्याएको लुगा मिलाउँदै कृष्ण जीलाई बोलाएँ ।

‘मस्त निदाइए छ । हामी उत्रने ठाउँ आउन लाग्यो कि क्या हो ।’ कृष्ण जीले बिर्के टोपी लगाउँदै भन्नु भयो । ट्रेनको गति कम हुँदै गयो । मैले बाहिर च्याहेँ । विहानको बादल उघ्रिएर बलिलो घामले चिहाउन आँटेको दृश्य असाध्य रमाइलो । घामले चिहाउने मात्रै हो र ट्रेनभित्र पनि पस्न लागेका थिए । प्लेटफमको होडिङ बोडले रङ्गियाको सङ्केत गर्यो ।

हामी रङ्गियामा उत्रदा विहानको ६ः०० बजेको थियो । ‘यहाँबाट आठ बजेको ट्रेन छ तेजपुरसम्मको लागि । सात बजे टिकट खुल्छ ।’ हामीले पाएको जानकारी यही हो । हामीसँग लगभग दुई घण्टाको समय छ । हामी प्लेटफम बाहिर निस्क्यौँ । होटलमा गयौँ र फ्रेस भयौँ । सुख्खा रोटी र तड्का बनाउन लगायौँ । चिया प्यूँन थाल्यौँ । केही समय रङ्गियालाई नियाल्यौँ । सात बज्यो । अब चाहिँ टिकट खुल्ने बेला भयो । लाग्यौँ टिकट घरतिर ।

‘आज् तेजपुरका ट्रेन नै हे ।’ टिकटघर भित्रबाट एक जनाले भने ।

‘क्युँ ?’ मैले सोधेँ ।

‘आज् सन्डे हे न ।’

‘मदन सर तेजपुरको लागि त ट्रेन छैन भन्छन् त ।’ मैले भनेँ ।

‘सर, आज के बार ?’

‘आइतबार ।’

‘ला, आइतबार त ट्रेन आउँदैन । कस्तो मैले पनि भुसुक्कै बिर्सेछु ।’

‘ए, हुन्छ सर । अब हामी विकल्प खोजेर तपाईंलाई सम्पर्क गछौँ नि ।’

‘हुन्छ ।’

हामी विकल्पको खोजीमा लाग्यौँ । अब हाम्रो लागि एउटै मात्र विकल्प देखापर्यो । बसको यात्रा ।

‘कहाँसम्म जाने ?’

‘मिसन चारआलीसम्म ।’

‘यहाँबाट कति टाढा पर्छ मिसनचारआली ?’ कृष्ण जीले ड्राइभरलाई सोध्नुभयो ।

‘दुई सय किलोमिटर ।’ जवाफ आएको थियो ।

बाटो र जीवनका बीच घनिष्ट सम्बन्ध रहेछ । जीवनले बाटो खोज्दोरहेछ र बाटोले जीवनलाई सुन्दरताको पाटोतिर डो¥याइ रहँदोरहेछ । जति हिँड्यो त्यति तन्किँदो रहेछ सायद बाटो । मानिसले सुन्दर जीवनको बाटो खोजेजस्तै । जतिजति सुन्दर खोज्दै गयो त्यतित्यति जटिल बन्दै जाने जीवन । हाम्रो पनि तन्किँदो छ बाटो ।

‘सर हामी बसमा चढ्यौँ है ।’ मैले भनेँ ।

‘ए, हुन्छ नी सर । एक बजेतिर ल्याइपु-याउला ।’

तीब्र गतिमा लम्किएको बस बजार कट्दा नकट्दा जाममा फस्यो । जाम अनौठो भने लागेन । बरू भरे कतिबजे मिसन पुगिने हो भन्ने सोचाइले मथिङ्गल भने घोच्न थाल्यो ।

हामी मिसन चारआलीहुँदै विश्वनाथ चारआली पुग्यौँ । मिसनदेखि विश्वनाथ चारआलीसम्म ६० किलोमिटरको दुरीमा पर्दोरहेछ । बाटामा बीचबीचमा मदन सरले फोन गर्दै हाम्रो यात्राको बारेमा जानकारी लिइरहनुभएको थियो । हामी विश्वनाथ चारआली आइपुग्दा दिनको एक नै बजेको थियो । मदन सर गाडी लिएर बस स्टेशनमा पर्खिरहनुभएको रहेछ ।

हामी गाडी चढ्यौँ । चारआलीको सुन्दरतालाई कुहिराको घुम्टोले आफूभित्र लुकाउन खोजे पनि हामी मदन सरको कारभित्र पसेरै चारआलीको मनलाई छाम्यौँ । मदन सरबाट थाहा भयो– ‘अनेकौँ किंवदन्ती र केही यथार्थमा हुर्केको सांस्कृतिक रूपले समृद्घ बजार रहेछ ।’ यसको विगतलाई रहस्यमय र सुन्दर बनाउनमा साथै यसको गौरव र गरिमालाई अत्युच्च पार्न ती किंवदन्तीले महत्वपूर्ण भूमिका खेलेका रहेछन् । चारआली बजारबाट मदन सरको घर गोलिया गाउँ तीन किलोमिटरको दुरीमा रहेछ ।

उषाको कम्मरमा सपक्क टाँसिएर बसेको गोलिया गाउँ । यसको आकर्षक छटाहरूले मानिसको मनमात्र लोभ्याउँदो रहेनछ आसपासको सौन्दर्यले मनलाई हुरुक्क पनि पर्दोरहेछ । अनि आफ्नो रूप मानिसका आँखाभरि बिच्छ्याइदिएर कहिल्यै नरित्तिनेगरी मोहनी समेत लगाउँदोरहेछ ।

प्रकृतिमा पोखिएको जुनेली आभा देखेर हर्षविभोर भइरहेको थियो गोलिया गाउँ । असम आएर त्यसमा पनि चारआली टेकेर समन्वय साधक हरि गजुरेलको तपश्या स्थल नटेकी फर्किए असम आएको के होला र ! असम आएको सार्थकता के बन्ला र ! मलाई लाग्छ– ‘असमेली नेपाली भाषा, साहित्य र संस्कृतिमा उच्च स्थान छ हरि गजुरेलको ।’ उहाँसँग मेरो १०१३ देखि चाहिँ घनिष्ट सम्बन्ध थियो । हामी हरि गजुरेल सरको घर जाने भयौँ ।

मदन सर, कृष्णनील र अर्जुनका साथमा हामी हरि सरको घर पुग्दा जून टहटह लागिरहेका थिए । हरि सरले आफ्नो मुस्कान छरेर गाउँलाई नै मन्त्रमुग्ध बनाइरहनुभए जस्तो लाग्यो । हामीलाई स्वागत गर्न नै सफा, कञ्चन आँगन फैलिएझैँ लाग्यो ।

आँगनका वरिपर फूलिरहेका फूलहरूले रङ्गीचङ्गी वर्को उठाएर हामीसँग आँखा जुधाइरहेका थिए । हामी आउँदै गरेको पूर्व जानकारी पाइसक्नु भएको थियो गजुरेल परिवारले । परिवार नै आँगनमा निस्किएर स्वागत गर्नु भयो । मेरो मन एक तमासको भएर आयो । मैले आँगन बीचबाट आकाशतिर शिर उठाएर हरिसरलाई फेरि एक पटक सम्झिएँ ।

साँच्चै हरि सर, आलस्य मानिसको सम्पूर्ण कार्यको बाधक हो रहेछ । सङ्घर्ष नै मानिसको सम्पूर्ण सफलताको साधक रहेछ । मागेर, रोएर, याचना गरेर पाएको सफलतालाई सङ्घर्ष मान्न कदापि सकिन्न रहेछ । उत्साह, साहस, हिम्मत, आँटसाथ सङ्घर्ष गरेर पाएको सफलताले नै जीवनलाई सार्थक बनाउँदोरहेछ । ‘छुन्छ तिलस्मी करले उसले सेवकहरूको माथ ।’ देवकोटाका उक्त पङ्क्ति हात उचाल्दै हरि सरले सुनाउनु भएको फेरि याद दिलायो यस साँझले ।

‘बाबालाई घरको राखनधरन केही थाहा थिएन । हामीलाई कहिल्यै केही भन्नुहुन्न थियो । प्रायः नेपाल गइरहनुहुन्थ्यो । हिँडेपछि जहिल्यै एकभारी किताव लिएर आउनु हुन्थ्यो । यत्रा किताव किन ल्याउनु भएको होला भन्ने लाग्थ्यो मलाई । कवि, कविता….मलाई मतलब थिएन ।’ हरिसरको जेष्ठ पत्ररत्न दिपकले भन्दै हुनुहुन्थ्यो ।

हुरीबतास आउँदा होस् वा कहालीलाग्दो आँधीबेहरी छाउँदा होस् मालीहरूले आफ्नो कर्म र फूलहरूले आफ्नो मुस्कान कहाँ बन्द गर्दा रहेछन् र ! मैले हेरेँ– ‘हरिसरको सम्झनामा दुर्गा, दीपक, दीपान्विता, दिपन, कुञ्ज, दिलीप र बिनिता मालीका रूपमा सुक्सुकाउँदै घरआँगन सिङ्गारिरहेका रहेछन् । त्यहीँ दीपान्विता, प्रस्तुती, प्रतीक, परिधि, प्रकृति र अभिनव काव्यविम्बका रूपमा फूल बनेर फूलिरहेका रहेछन् ।’

‘यहीँ खाटमा बसेर पढिरहनुहुन्थ्यो । बाबा घरमा रहुन्जेल टाढाटाढाबाट हामीले चाहिँ नचिनेका मानिसहरू भेट्न आइरहनुहुन्थ्यो । घरमा जहिल्यै भिडभाड नै रहन्थ्यो । बाबा १०/४/२०१८ मा आकस्मिक बित्नु भयो । घरमा देशदेशान्तरबाट हजारौँ व्यक्तिहरूको उपस्थिति रह्यो । हामी पनि छक्क पर्यौं । बाबा बितेपछि चाहिँ मलाई पनि कहाँबाट लेख्न आयो । अहिले चाहिँ म पनि कविता लेख्छु । ‘दीपक सर, हामीले हाम्रो बाबालाई ज्यूँदोमा चिनेनछौँ ।’ दिपक भावुक हुनुभयो ।

मैले मक्सिम गोर्कीलाई सम्झिएँ– ‘पुस्तकहरू ज्ञानका स्रोत हुन्, ज्ञान लाभदायी मात्र हुन्छ र ज्ञानले मात्र तपाईंलाई आत्मिक रूपले शक्तिशाली बनाउन, इमानदार र बद्घिमान बनाउन, मानिसलाई सही रूपमा माया गर्न सक्षम बनाउन सक्तछ । पुस्तकहरूलाई माया गर्नुस्, तिनले तपाईंको जीवनलाई अरू सहज बनाउने छन् । तिनले विचार, आवेग र घटनाहरूको रङ्गीचङ्गी र अन्यौलमा बाटो पहिल्याउन मित्रतापूर्ण सेवा प्रदान गर्ने छन् ।’

दिपक भन्दै हुुनुहुन्थ्यो– ‘अहिले आएर बाबाका डायरी खोज्दै छौँ । बाबाले यस स्थानमा रहेर सामाजिक, राजनैतिक, आर्थिक एवं साहित्यिक रूपमा जुन योगदान दिनुभएको छ । समाजले पनि केही गर्न खोज्दै छ । हामीलाई पनि हौसला मिलेको छ । अब बाबाको नाममा हामी पनि केही गर्ने योजनामा छौँ ।’ हामी पनि परिवारसँगै भावुक भयौँ । बाँचेर मरिरहनु र मरेर पनि बाँचिरहनुमा कत्ति फरक पर्दोरहेछ हरि सर ।
मैले झ्यालबाट बाहिर च्याएँ । जून बनेर हरिसरले आँखा झिम्क्याए जस्तो लाग्यो । हामी हरिका सन्ततिसँग खेल्दाखेल्दै शीत बनेर पग्लियौँ र प्रीति गाँसेर विदा भयौँ ।

२९ सेप्टेम्बर २०१९ आइतबारका दिन विहान १० बजेदेखि २ बजेसम्म निर्धारित कार्यक्रम थियो । हाम्रो बसाई मदन सर र तारा म्याडमको सानिध्यमा थियो । हामीलाई कृष्णनील र अर्जुन लिन आउनु भयो । तारा म्याडमले खाजा खुवाएर विदा गर्नु भयो । मदन सरलेसँगै लिएर जानुभयो ।

कार्यक्रम विश्वनाथ, चारआली स्थित विश्वनाथ ज्ञान भारती विद्यालयमा आयोजना गरिएको रहेछ । अनुपम चिन्तन मञ्चका अध्यक्ष मदन थापा सभापति रहनुभएको थियो । असम नेपाली साहित्य सभा विश्वनाथ जिल्ला सभापति उदयनारायण गौतमले दीप प्रज्वलन तथा मञ्च उद्घाटन गर्नु थियो । आन्सुका पूर्व सचिव राजेन शर्माको स्वागत मन्तव्य र स्वागत गीत प्रेम विश्वकर्माको टोलीको रहेको थियो भने नृत्य नेहा भट्टराईले गरेकीथिइन् । कार्यक्रममा कृष्ण अविरलले पुस्तक प्रकाशन, बजारीकरण अनि वर्तमान अवस्थामा रहेका समस्याको बारेमा र मैले गजल र वर्तमान समयमा गजल लेखनको अवस्थाका बारेमा बोलेका थियौँ ।
कार्यक्रममा डा. सञ्जिव उपाध्यायको सम्पादन रहेको संयुक्त कविता सङ्ग्रहको विमोचन साहित्य अकादमी नेपाली भाषा परामर्श समितिका सदस्य डा.खेमराज नेपालले, चेवन शर्माका कविता सङ्ग्रह साथी, यहाँ यस्तै छ जीन्दगीको विमोचन प्रा.टीकाराम उपाध्याय निर्भिकले गर्नु भएको थियो भने रामप्रसाद दाहाल, कृष्णनील कार्की र अर्जुन निरौलाको सम्पादन रहेको संयुक्त गजल सङ्ग्रह विमोचन मैले गरेको थिएँ । यो गजल सङ्ग्रह असमबाट प्रकाशित पहिलो संयुक्त गजल सङ्ग्रह थियो ।

यस सङ्ग्रहमा गोविन्द शाण्डिल्य, भविलाल लामिछाने, रामप्रसाद दाहाल, इन्द्रकान्त कार्की, अर्जुन निरौला, कृष्णनील कार्की, रुद्र ढुङ्गेल, अर्जुन कार्की, डा.दैवकीदेवी तिम्सिना, बुद्घि सुवेदी, ऋषिकेश अधिकारी, हेमन्त भट्टराई, राजु काश्यप साथै नवीन गजलकारहरूमा कमल शर्मा, तारा थापा, मणिकुमार रिजाल, विकाश दुलाल, नीलिमा आचार्य, अनुप शर्मा, अर्जुन न्यौपाने, मिलन बोहरा, चन्द्र भट्टराई, गङ्गाराम फुयेल ‘माल्दाइ’, विकास कठेत, भावना सापकोटा, चिराग दाहाल, राजु न्यौपाने, अनुपमा कट्टेल, द्रोण खनाल, दीपक दवाडी र प्रेम विश्वकर्माका तीन तीनवटा गजलहरू रहेकाथिए ।

कार्यक्रममासँगै विमोचन भएको अनुपम संयुक्त कविता सङ्ग्रह पनि मैले हेरेँ । यसमा मदन थापा, हेमकुमार गौतम, कृष्णनील कार्की, डा.सञ्जीव उपाध्याय, प्रेम विश्वकर्मा, अर्जन निरौला, हेमन्त भट्टराई, वेदद्वीप उपाध्याय, दीपक गजुरेल, दुर्गा उपाध्याय, मन्टु बराल, चेवन शर्मा, तारा थापा, दीपान्विता गजुरेल, डेइजी देवी, सङ्गीतादेवी, निरुपादेवी, मन्दिरा शर्मा, मृदुला उपाध्याय, गोमा निरोला, जमुना विश्वकर्मा, चम्पादेवी, दीपिका देवी उपाध्याय र गङ्गादेवी भट्टराईका कविताहरू रहेकाथिए ।

‘सार, चा लिनुस्न ।’ स्टेजमा मेरो पछाडिबाट आवाज आइरहेको थियो ।

‘खै, खै, फोटो उठाउनु पर्यो ।’ दिपक गजुरेल स्टेज अगाडि उभिएर भन्दै हुनुहुन्थ्यो ?

सार, चा आदि शब्द सुन्दा मलाई अनौठो लागिरह्यो । हामी सर भन्छौँ । यता सार । हामी चिया भन्छौँ । यता चा । हामी फोटो खिच्नु भन्छौँ । यता फोटो उठाउनु । हामी काँचो सुपारी भन्छौँ । यता तामुल । हामी रुख भन्छौँ । यता गछ । हामी आसाम भन्छौँ । यता असम अझ अखम । यता अंग्रेजी शब्दको ‘अ’ उच्चारण हुने पहिलो अक्षर ‘आ’ र ‘स’ चाहिँ ‘ख’ उच्चारण हुँदोरहेछ । हामी फस्ट भन्छौँ । यता फास्ट ।
कार्यक्रमको अन्तिम चरणमा रचना वाचन कार्यक्रम रहेको थियो । जसमा रामप्रसाद दाहाल, दीपक दवाडी, कृष्ण पौडेल, अनुपमा कट्टेल, विकास कठेत, तारा विमली, किरणवाला देवी, गङ्गाराम फुयल माल्दाई, चन्द्र भट्टराई, दीपक गजुरेल, तारा थापा, अर्जुन कार्की, प्रेम विश्वकर्मा, कमल शर्मा, चित्र पौडेल, चेवन शर्मा, विमल गजुरेल, हेमन्त भट्टराई र डा.खेमराज नेपाल लगायतले रचना बाचन गर्नु भएको थियो ।
हामीलाई मदन सर, अर्जुन निरौला सर र कृष्णनील कार्कीले छोड्नु नै भएको थिएन । अथवा हामीले अनुपमका स्तम्भ त्रयलाई छोडेकै थिएनौँ ।

३० तारिक सोमबारका दिन विहानै पानी पर्दैछ स्यार स्यार । घाम कस्ता छन् देखिएकै छैनन् । धुम्म छ आकाश, गुम्म छ विश्वनाथ । स्वीकार्य छैन सायद उसलाई हाम्रो आगमन । चिसो आकाश र चिसै धरती । तारा म्याडमले भ्याइनभ्याइ गरेर तातोतातो चिया खाजा दिनुभयो । कुशल ब्यवस्थापक मदन सरको निर्देशनमा नाटककार कृष्णनील ड्राइभर, ब्यङ्ग्यकार अर्जुन सर खलासी, हामी दुई यात्रु घुम्न निस्कयौँ ।

‘असम’ संस्कृत शब्द ‘अस्म’ अथवा ‘असमा’ जसको अर्थ ‘असमान’ को अपभ्रंश मानिँदो रहेछ । प्राचीन भारतीय ग्रन्थहरूमा यस स्थानलाई प्रागज्योतिषपुरको नाममा समेत उल्लेख गरिएको पाइँदोरहेछ । पुराणहरूका अनुसार यो कामरूपको राजधानी पनि रहेछ ।

पूर्वोत्तर भारतको एउटा सीमावर्ती राज्य । पूर्वोत्तर भारतीय राज्यहरूबाट घेरिएको पनि रहेछ । भारत, भूटान तथा बङ्गलादेशका सीमानाका केही हिस्साहरू आसामसँग जोडिएका पनि रहेछन् ।

मैले मदन सरको घरमा बेलुका नक्सा हेरेको थिएँ । असमभित्र उत्तर कछर, करीमगञ्ज, कामरूप, कार्बीआङ, कोकराझाड, गोलाघाट, कछर, ग्वालपाडा, जोरहट, डिब्रुगढ, तीनसुखिया, दाराङ्ग, धुबरी, धेमाजी, नलबाडी, नागाँव, बारपेटा, बोगाइगाँव, मारिगाँव, लखिमपुर, शिवसागर (शिवसागर), शोणितपुर, हैलाकाँडी, कामरूप, बक्सा, उडलगुडी र चिराङ्ग गरी २७ वटा जिल्लाहरू रहेछन् ।

‘बाणासुर भन्ने राक्षसकी एउटी मात्र सुपुत्री उषालाई श्रीकृष्णका छोरा अनिरुद्धले प्रेमपूर्वक भगाएर डाँडो कटाउन खोज्दा त्यसको प्रतिरोधमा धेरै ठूलो सङ्घर्ष भएर समस्त तेजपुर खूनैखुनले लेपिएको थियो रे ।’ अर्जुन सरले उषा पहाडको बारेमा कथा सुनाउनु भयो ।

अर्जुन सरले कथा सुनाइरहँदा मलाई यस्तो लाग्यो– ‘प्रेम र यौनवका प्यासहरूले पनि मनभित्र घामछायाँसँगै भूइँचालो जन्माइदिँदो रहेछ । अनि रगतका खोलाहरू बनाएर बगाउन समेत सक्दोरहेछ ।’

हामीले उषा पहाडबाट ब्रहृमपुत्र नदीमा डुङ्गाबाटै जाल हानिरहेका माझीहरूको दृश्यहरू नियाल्यौँ । जसका छालले पानीको सतहभन्दा निकै माथि उफ्रिएर तेजपुर पुग्नुअघि गुवाहाटीदेखि नै हाम्रो ध्यान भङ्ग गराएका थिए ।

कालिका पुराणमा उल्लेखित स्थल वाणासुर मन्दिर, वाणासुर हिन्दु पौराणिक मिथकीय पात्र । दानवीर बलि राजाका पुत्र । हालको मध्य असम उनको राज्य । राजधानी शोणितपुर जिल्ला (वर्तमानमा तेजपुर, असम) ।
विश्वनाथ घाट जसलाई गुप्त काशी पनि भनिदोरहेछ । यो धार्मिक रूपले मात्र महत्वपूर्ण होइन, ऐतिहासिक रूपमा अङ्ग्रेजद्घारा स्थापित अन्तर्देशीय जल परिवहन क्षेत्र पनि रहेछ । यस स्थानमा कुनै समयमा शिव मन्दिर अग्लो भूमिमा थियो रे । जुन १८९७ को महाभूकम्पमा धसिएपछि त्यही स्थानमा विश्वनाथ मन्दिर निर्माण गरिएको रहेछ । ब्रम्हपुत्रको किनारै किनार खुब हिँड्यौँ हामी ।

जीवनमा हिँडिएका सबै बाटाहरूले सजिलै गन्तव्यमा पु¥याइदिने भए जीवन शायद यति महत्वपूर्ण हुँदैन थियो होला । फर्किएर हेर्दा जीवन सरलरेखा जस्तो पनि छैन । यसका बाटाहरू त बक्ररेखा जस्ता पनि छन् ।
हामी दिउँसो खाना खाएर टिकाराम निर्भिकको निवासमा कला, साहित्य र संस्कृतिका विविध प्रसङ्ग गफिँदै बाघमारीका चेवन शर्माको निवाससम्म पुग्यौँ । आँगनभरि फूलिरहेका थिए बाह्रैमासे सेता फूलहरू ।

‘म कृष्ण अविरल ।’ कष्ण जीले भन्दै गर्दा चेवन जीले शाहवंशको शाल्यक्रिया उपन्यास ल्याएर देखाउँदा कृष्ण जी त दङ्ग । नेपालमा राजदरबार काण्डभए पश्चात कृष्ण जीका उपन्यास असमका धेरै स्थानमा पुगेका रहेछन् । हामी जहाँ जान्छौँ, त्यहीँ उहाँका पाठक । जहाँ पाठक त्यहीँ उहाँका उपन्यासहरू देखाउँथे ।

असममा मात्र होइन । कुरा एक महिना अघिको हो । मिरिकका गोकुल रसाइलीको कालकुण्ठा कविता सङ्ग्रहको विमोचनमा हामीलाई पनि विशेष निमन्त्रण थियो । दार्जिलिङ मोडबाट पिजु चढेका थियौँ । सुुकुना पुगेपछि उकाली चढौँला, ओराली झरौँला…तिम्रो लागि हो भने…..गीत पिजुको पेनड्राइभबाट बज्न थाल्यो । पिजुमा भएका यात्रुहरू त गाउनै थाले ।

‘यो गीत राम्रो लाग्छ कि क्या हो ?’ मैले ड्राइभरलाई चाहिँ सोधेँ थेँ ।

‘हो त ।’

‘किन नी ?’

‘यो गीत बजाएर उकाली ओराली गाडी कुदाउँदा डल्लै आफ्नै कहानी जस्तो लाग्छ ।’

‘यो गीतको लेखक देख्नु भएको वा चिन्नु भएको छ ?

‘छैन ।’

‘किन ? तपाईं नै हो कि क्या हो ?’

हाम्रा गफ सुनेर मेरो देब्रेतिर बसिरहनु भएको कृष्ण जी यताउता हेर्दै बिर्के टोपी मिलाउँदै मुसुमुसु हाँस्दै हुनुहुन्थ्यो ।

‘उहाँ नै हो,’ मैले कृष्ण जीतिर देखाउँदै के भनेँ थेँ । पिजु रोकेरै ड्राइभरले चिनजान गरेका थिए । अझ मिरिकमा शाहवंशको शाल्यक्रिया पुस्तक नौओटा बिर्तामोडबाट ल्याएर एक्लैले गाउँमा बाँडेको भन्नेसम्म पनि भेटिएका थिए ।

मलाई अचम्म लागेर आयो । कतिपय ठाउँमा लेखकभन्दा अघि उसको सिर्जना र रचना पुग्दा रहेछन् । ती सिर्जना र रचनाले लेखकलाई पाठकमाझ चिनाइसकेका हुँदारहेछन् । थोरै सिर्जनाले चिनाएको लेखक विरलै मात्रै हुन्छन् । त्यसमा कृष्ण अविरल पनि सादय पर्दारहेछन् ।

जे होस् । खण्ड खण्ड छ यात्रा, हाम्रो जीवन जस्तै । हाम्रो हिँडाइ एकसरो छैन । हामी घरि कतै सुस्ताउँदै, घरि कतै अल्झिँदै हिँडिरहेका छौँ ।

मेरो मोवायल बज्यो । मैले उठाएँ । ‘सर नमस्कार, म राम दाहाल । सर हिँड्नु भयो ?’

हामीलाई गमिरीमा राम सर प्रतिक्षा गरिरहनु भएको थियो । चेवन जीसँगको सन्लापपछि कृष्ण जी र म गमिरी जाने भयौँ । हामी सार्बजनिक बसमा चढ्याँै । मदन सर, कृष्णनील र अर्जुन सर यहाँबाट फर्किनु भयो ।
सार्वजनिक यातायातमा त बाटोको अवस्था यहाँ पनि नेपालकै जस्तो रहेछ । बसहरूले मान्छे कोच्नसम्म कोच्ने । सामान पनि खाँद्नसम्म त्यत्तिकै खाँद्ने । शायद असमेली भाषा, साहित्य र जनजीवन हेर्न हिँडेका हामीसँग परीक्षा लिँदै थियो बस । खाल्डाखुल्डी बाटोमा बस नाचिरह्यो । हामी पनि के कम । ऊसँगै हामी पनि उफ्रिरह्यौँ । पसिनै छुटायो । नाच्ने र उफ्रने क्रममा ४० किलोमिटर दुरी पार गरिएछ । हामी गमिरी चोकमा उत्रियौँ । गजलकार रामप्रसाद दाहाल गाडी लिएर पर्खिरहनु भएको थियो ।

धानका गाँजहरू संसार हेर्ने चाहनाले हुर्किरहेथे हलहली । आँखाले भ्याउन्जेल हरियालीले घेरिएको गाउँ आइरहेथ्यो । सोचेँ, हाम्रो नेपालमा जस्तो गाउँको मायामा रम्न नसक्नेहरू परदेशी भूमिमा जीवन बिताइरहेका यूवा यहाँका होलान् कि नहोलान् ? गाउँघरका आफन्तहरू पिरोलिइरहेका होलान् कि नहोलान् ? राम सरप्रति मेरो जिज्ञासाको विषय र विम्ब थियो । ‘छन् सर, छन् ।’ राम जी ड्राइभिङ गर्दै भन्दै हुनुहुन्थ्यो ।

रुमाल जस्ता खेतहरू काँक्रा चिरेजस्तै गरेर बनाइएका बाटाहरू हेरेर गमिरीबासीको जीवन संघर्ष अनुमान गर्छु । यी बाटा बनाइनुभन्दा पहिले नै कोरेकै थिए होलान् सायद गमिरीबासीहरूले आफ्नो भविष्य । भाग्यलाई जितेर संघर्षले बनाएका यी बाटामा सायद बर्षौदेखि चलिरहेछ गमिरी जनजीवन । वर्षौंदेखि गमिरीले कुटो र कोदालो, दाँती र मुङ्ग्री गरिरहेछ । म मन्त्रमुग्ध हुन्छु ।

घामले पश्चिमतिर पुछपाछ गर्न थालेको थियो हामी राम जीको घर पुग्दा । रामजीसँग गजलका बान्कीमाथि सन्लापहरू गर्दा गर्दै झन्नै झन्नै झमक्क साँझ प¥यो । साँझमा हामी गमिरी सेन्टर जाने भयौँ । गयौँ पनि । झिलिमिली थियो गमिरी सेन्टर हामी पुग्दा । अझ स्वयंवरका लागि प्रतिक्षारत बेहुली जस्तै थियो । त्यहीँ चोकैमा रम्घाको पारिलो पाखामा उदएका भानु भेटिए । मैले मनमनै सोचेँ– ‘दार्जिलिङको चौरस्ताबाट असम, विश्वनाथ जिल्लाको गमिरी सेन्टरमा कसरी आए बा !’ साँझको समयमा रामायण बोकेर पाठ गर्न हिँड्न लागे जस्ता थिए । तर हामीलाई देखेर होला सायद टक्क रोकिए । हामीलेसँगै फोटो उठायौँ ।

अक्टोबर १ तारिक मङ्गलबारका दिन आठ बजे रामसरले प्लेटफमसम्म पु¥याइदिनु भयो । अबको हाम्रो यात्रा उत्तर लखिमपुरहुँदै गोगामुख थियो । हामीले मिसामारीबाट ट्रेन समात्यौँ ।

हे अचम्म ! खचाखच हुने रेल । हामी निकै डिब्बा डुल्यौँ । हे¥र्यौं । एउटा मानिस छैन । सुते पनि हुने । जहाँ जसरी बसे पनि हुने । फगत हामी दुई जनामात्र थियौँ । यतिसम्म हेलेम, गोहापुर, डुबिया हुँदै तातिबाहारसम्म पुग्दा हामीले देख्ने गरी कोही चढेको देखिएन । रेल आफ्नै गतिमा थियो । बेलाबेला देखापर्ने विभिन्न आकारका घरहरूले हामीलाई नै हेरिरहेझैँ लाग्थ्यो । कतै भारी वर्षा, कतै पानी नपरेर पटपटी जमिन फुटेर लागेको खडेरी । बेलाबेला मझौला खोलाहरू रेललाई भेट्न दौडिरहेका देखिन्थेँ । तर तिनीहरू असफल भएको भान हुन्थ्यो ।

मानिसभन्दा पनि गतिशील रेल । एउटै पट्रीमा बारम्बार हिँडेर पनि कहिल्यै नथाक्ने । जीवनको गति पनि रेलजस्तै नथाक्ने भए कति रमाइलो हुने थियो । रहरै रहमा अनन्त बाँच्नै नपाई मानिसको नियतिसँग रेलको नियति सायद मिल्दैन । मानिसको जीवन रेल टिकट जस्तै निश्चित ठाँउ र समयमा पुगेर सकिनै पर्ने । झर्नै पर्ने ।

हामी मिसामारीबाट हेलेम, गोहापुर, डुबिया, तातिबाहार, हारमती, कठाल पुखुरी, उत्तर लखिमपुरहुँदै गोगामुख पुग्यौँ । अझ सुवनश्री नदी पार गरेर सुवनश्री बजार मास्तिरसम्म पुग्यौँ ।

संस्कृतको ‘स्वर्ण’ र ‘श्री’ को समास भएर निर्मित शब्द सुवनश्री । कुनै समय यस नदी किनारमा सुन ढुङ्गा पाइन्थ्यो रे । तिब्बतीयन हिमालयबाट आरम्भ भएर असमको लखिनपुर जिल्लामा आएर ब्रम्हपुत्रमा मिसिने नदी । ब्रम्हपुत्र नदीका पाँच उपनदी (सुवनश्री तिस्ता, तोर्सा, लोहित र बराक) मध्येको एक सुवनश्री ।

सुवनश्री बजार जहाँ मेरो पूर्खाको एउटा हाँगो हुर्किरहेको स्थान । जहाँ म पहिलो पटक पुगेको थिएँ । पदम भाइ हामीलाई लिन प्लेटफमसम्म आएका थिए । धरर… धरर…पानी परिरहेको थियो । हामी प्लेटफमबाट सुवनश्री बजारतर्फ पसारिएको कालोपत्रे सडकमा टुमटुममा कुदिरहेका थियौँ । बजारै मास्तिर घरमा पुग्दा दिनको दुई बजेको थियो । साँझ पर्यो । पानी थामिदै थामिएन । रात पर्यो । पानी थामिदै थामिएन । रातभरि नै पानी परिरह्यो ।

कुखुरी काँ… । हप्ता दिनभन्दा बढी नै भएछ कुखुरा बासेको नसुनेको पनि । मोवायल हेरेँ । विहानको सात बजे छ । अझै पानी परिरहेकै रहेछ । दिउँसो दुई बजेतिर पानी थामियो । हामी घुम्न निस्कियौँ । सुवनश्री बजार गयौँ । अविरल वर्षाले सुवनश्रीलाई जलाम्य बनाइसकेको रहेछ ।

सुवनश्री नदी मात्तिसकेको रहेछ । पुलबाट हामी हेर्यौं । बुच्के छपडीहरू आतिरहेका थिए ।

अकासमा बादल बाक्लिरहेको छ । कालो बादल हाम्रै शीरमाथि छ । खोलापारि केही चराहरू उड्दै बस्दै भुइँमा चर्दै छन् । म वरपरको सुन्दर क्षितिज नियालिरहेछु । एक हुल पानी हाँसहरू काँ–काँ गर्दै आकास नाप्दै उडिरहेका थिए । इन्द्रधनुष उषाको सिउँदो रङ्गाउन उठिरहेको थियो ।

हामीले तिरैतिर नियाल्यौँ । नदी किनाराका खेतमा केही हल गोरु नारेर हलो जोतिरहेको थिए । आदिम गराहरूमा अझै हातभरि ठेला उठाइरहेका थिए उनीहरू । अझै प्रविधि फलाएर सहजतामा ज्यून खोजिरहेका छैनन् कि जस्तो मलाई लाग्यो । सुवनश्रीको जीवन भोगाइ, लवाइखुवाइ, तिनका शारीरिक बनोट, कान्तिहीन अनुहार, पत्तै नपाई बैँस सकिएको जस्तो लाग्यो ।

यहाँ हामी दुई रात बस्यौँ । अक्टोबर ३ तारिक विहिबार साँझ नौ बजेको ट्रेनमा फर्कियौँ ।

सुवनश्रीबाट फर्किंदा कृष्ण जीको गुवाहाटीका कृष्ण भुजेलसँग सम्पर्क भइरहेको थियो । हामीलाई विहान सात बजे गुवाहाटी प्लेटफममा लिन आउनु भएको थियो । हामी कृष्ण जीसँग लाग्यौँ । कृष्ण जीले Hotal vrinda Regency, Shri krishna tower, room no 202, Garchuk , Guwahati मा हाम्रो बसाइ व्यवस्थापन गरिदिनुभएको रहेछ ।

बेलुका नौ बजे कृष्ण जीले हामीलाई गुवाहाटी स्थित देउद्वार लिएर जानुभयो । सुदर्शन थिएटरमा नाटक हेर्न । रातको समय दर्शक खचाखच थिए । ‘यस थिएटरमा १२ सय दर्शक अटाउँछन् ।’ कृष्ण भुजेलजी भन्दै हुनुहुन्थ्यो । असममा अहिले पनि करिब ३५ वटा थिएटर रहेछन् । हामी थिएटरबाट निस्कँदा बाह्र बजेको थियो ।

लगभग ३० वर्ष अघि हुनुपर्छ । लालीगुराँस थिएटर असमबाट नै गौरादह गएको थियो । गौरादहमा आठओटा नाटक महिना दिनसम्म प्रदर्शन गरेको थियो । आज वर्षौंपछि उस्तै थिएटरमा नाटक हेर्ने अवसर जुर्यो ।
अक्टोबर ५ तारिक अबको हाम्रो यात्रा गुवाहाटी प्लेटफमबाट ४०९ किलोमिटरको दुरीमा रहेको एनजेपी प्लेटफमसम्मको रहेको थियो । हामीलाई शनिबार राती १०:३० बजेको कञ्चनजङ्घा (ट्रेन नम्बर १३१७६) ले घिस्रिर्दै फर्कायो । हामी पनि असमलाई मनभरि लिएर फर्कियौँ ।

ट्रेनभित्र कसैको सायद मोवायलमा बजिरहेको थियो माधव घिमिरेका शब्द, अरूणा लामाको स्वरमा
‘फूलैको थुँगा बगेर गयो गङ्गाको पानीमा ।
कहिले भेट होला हे बरै ! यो जिन्दगानीमा ।’

लेखक परिचय
दस
दीपक सुवेदी
प्रतिक्रिया
Loading...