आज चौतर्फी रूपमा मान्छे गुलाम बन्दै गएको दृश्यले आँखालाई नमिठो ऐँठन गर्दछ । कसैले नौलो स्टाइल झिकेर केशविन्यास गर्‍यो । अर्थात् नवीन बान्कीमा कपाल छँटनी-कटनी गर्‍यो । त्यो देख्नेबित्तिकै हजार तन्नेरीको मन भट्किन्छ र हप्तादिन नभई त्यही हेयर स्टाइलको गुलाम बन्दछन् उनीहरू । केशमात्र किन कपडाको नयाँ बान्की परिधानले पनि मान्छेलाई अन्धो बनाउँछ । पागल बनाउँछ र नयाँ फेसनको सिलाइ देख्नेबित्तिकै सूचीकार समीपमा कम्मर छेक्न पुग्दछन् । एक महिनाभित्रै पोसाक परिधानको नूतन बान्कीले हजार मान्छेलाई गुलाम बनाइसक्छ ।

पुण्य कार्की

केश र कपडाको नयाँ स्टाइलले मात्र होइन, दाह्रीजुँगा कटाइको नयाँ शैलीले पनि मान्छेलाई गुलाम बनाएको छ । खानाको परिकारले मान्छेलाई गुलाम बनाएको छ । सुगन्धित तेल र सेम्पुले मानिसलाई गुलाम बनाएको छ । नजाने कतिलाई हिन्दी सिनेमाले गुलाम बनाएको छ । खाने चिज, पिउने चिज, दल्ने चिज, सुँघ्ने चिज, सुन्ने चिजका अनेकन उपभोग्य पदार्थले मान्छेलाई नयाँ युगको गुलाम सिद्ध गरेको छ । सुनेको छु- चाइना घुम्न जाने अमेरिकनहरू चाइनिज ममका गुलाम भएर अमेरिका फर्किन्छन् अरे । अर्थात् चाइनिज ममको स्वाद जिब्रोमा यसरी गाडिन्छ, त्यसको आदतबाट उम्किन कठिन-कठिन पर्ने कुरो आएको छ ।

एक अखबारमा भर्खरै एउटा खबर पढ्दै थिएँ; उडिसाको एक युवाले आफ्नो मृगौला बेचेर आइफोन किनेछ । भर्चुअल दुनियाँमा रमाउन थालेपछि मृगौलाभन्दा आइफोन ठूलो कुरा हुन थाल्यो कसैका निम्ति । आँखाको नानीभन्दा चस्मा ठूलो चिज हुन्छ । मुटुभन्दा मार्लोबोरोको खिली प्यारो बन्छ । अर्थात् मन र मगजमा थाहै नपाई यस्तो चिजको आदत बसेपछि मान्छेले मृगौला बेच्नु स्वभाविक परिघटना बन्दछ ।

प्राचीन कालमा गुलामीलाई एउटै अर्थको आयामबाट हेर्न सकिन्थ्यो तर आज गुलामीलाई अनेकौँ आयामबाट नापजाँच गर्न सक्छौँ । त्यो युगमा गुलाम हुनु भनेको आफ्नो स्वत्व गुमाएर कसैको दाश बन्नु थियो । दाश बनेपछि व्यक्तिको आस्तित्व पनि सकिन्थ्यो । व्यक्तित्व पनि सकिन्थ्यो । ऊ एक जडवत् वस्तुतुल्य भएर मालिकको सेवामा हाजिर हुन्थ्यो ।

गुलाम बनेपछि मान्छेलाई जन्तु-जनावरसरह बजारमा किनबेच समेत गरिन्थ्यो । बजारमा किनेर लगेको दाशलाई कठिन र अमानवीय शारीरिक श्रममा जोताइन्थ्यो । मान्छेलाई गुलाम बनाउने परिपाटिको सुरुवात प्राचीन कबिला युगमा भएको अनुमान छ ।

एक कबिला र अर्को कबिलाबिच समूहको युद्धमा जितुवा समूहले हारुवा समूहलाई सुरुसुरुमा त मारेरै सिध्यायो तर पछि पशुपालन र खेतीको युग सुरु भएपछि तिनलाई युद्धबन्दीका रूपमा पाता फर्काएर घर ल्यायो । अब उसलाई मृत्युदण्ड दिनुभन्दा जीवनभर दाश बनाएर काममा जोताउँदा अकुत फाइदा मिल्ने भयो । सो बेलासम्म मान्छेले उत्पादनको महत्त्व बुझिसकेको थियो । नाफाको हिसाबकिताब जानिसकेको थियो । जितुवा मालिकले मान्छेलाई एक साधनका रूपमा प्रयोग गर्न जान्यो । कज्याउन जान्यो र उसको श्रम पसिनालाई आफ्नो अमन चैनका लागि भरपुर दोहन गर्न थाल्यो ।

प्राचीन युनान र रोमको गुलामी प्रथाका बारेमा पढ्दा शरीरमा काँडा उम्रिन्छन् । डेलोस द्वीपमा दाश बजारै लाग्ने कुरा इतिहासमा पढ्न पाइन्छ । अर्थात् त्यहाँ मुलाभान्टा सरह गुलामहरूको खरिदबिक्री चल्थ्यो । त्यस बजारमा एकैदिनमा दश-दश हजार दाशहरूको खरिदबिक्री चल्थ्यो ।

सुरुसुरुमा युद्धबन्दीलाई गुलाम बनाइयो । त्यसपछि क्रमशः गुलामहरूको दायरा फिँजाउँदै लगे मालिकहरूले । गुलामका छोराछोरी शाखा सन्तान गुलामै हुने नियम राखे । त्यतिले नपुगेर कुनै मान्छे ऋणमा चुर्लुम्म डुब्यो अरे । कसै गर्दा पनि उसले साहूको ऋण तिर्न सकेन । त्यसपछि उसलाई आजीवन गुलाम बनाइयो । गरिब मातापिताले खान लाउनकै आवश्यकता परिपूर्तिका निम्ति आफ्ना अबोध सन्तानहरूलाई सुक्रीबिक्री गरे । बेचिएका छोराछोरी पनि गुलामकै रूपमा मालिकका घरमा शरणागत भए । शक्ति हुनेले निरीह अदना कमजोरहरू उपर अपहरण गरेर पनि कतिलाई गुलाम बनाए । केही समयअघिसम्म हाम्रै देशमा कुनै जातिका सन्तान दरसन्तानलाई पुस्तौँपुस्ता कमैया-कमलरीको रूपमा राख्ने चलनका साक्ष्य हामी नै छौँ ।

समयक्रममा मालिकहरूको ज्यादतीले चरम सीमा नाघेपछि गुलामहरूको जाग्रत चेतना ज्वाला बनेर दन्क्यो । प्राचीन कालमा स्पार्टाकसको विद्रोहलाई मानव इतिहासले अहिले पनि अभिनन्दन गरिरहेकै छ । उनैले प्रथमचोटि मानवजातिको इतिहासमा दाशत्वको साङ्लो चुँडाउने चेष्टा गरेथे । प्राचीनकालको कुरा त धेरै टाढाको विषय भयो; हाम्रै देशमा सय वर्षअघिसम्म कमाराकमारीको खरिदबिक्री गरिन्थ्यो । चन्द्रशमशेरको पालामा आएर बल्ल तिनलाई मालिक मुखियाको पन्जाबाट अमलेख गरिएको कुरा पढिरहेका छौँ ।

मानवताविरुद्ध मान्छेलाई गुलामीको सिकन्जामा कस्ने ऊबेलाको दारुण कथा किन बखान गरिरहूँ । अहिले गुलामीको परिभाषा बदलिएको छ । यसको आयाम र स्वरूप बदलिएको छ । अहिले पनि विभिन्न रूप र परिधानमा मानव बेचबिखनका घटनाहरू चलिरहेका छन् । चाहे कमैया कमलरी प्रथा होस्, चाहे घरेलु नोकरचाकर राख्ने प्रथा होस्, चाहे वैदेशिक रोजगारी दिलाउने नाममा मेनपावर एजेन्टले मान्छे बेच्ने कुरा होस् या चेलीबेटी बेचबिखन र यौनदासीको आपूर्ति गर्ने कुरा होस् अनेकन् आवरणमा मान्छेलाई दाशदाशीकै कोटिमा खसाउने तुच्छ काम भइरहेका छन् । ती एक किसिमका गुलामीकै रूप हुन् । नाम र रूप जे भए पनि यी गुलामीकै छद्म दृश्य हुन् भन्ने मेरो ठहर छ ।

यी त भए शारीरिक मानसिक श्रम र सिप दोहनका लागि प्रत्यक्ष रूपमा शरीर बन्धक राखेर बनाइने गलामीका रूप तर अहिले अर्कै आयाममा मान्छे स्वैच्छिक रूपमा गुलामीको कतारमा खडा छ । पहिलेको गुलामी सत्ता र शक्तिको बलमा जबरजस्ती घिसारेर मान्छेलाई दाश बनाइन्थ्यो तर अहिलेको गुलामी रुचि, आदत, अम्मल र संस्कारको माध्यमबाट दिल र दिमागमा घुस्तै छ । पहिले मान्छे बलपूर्वक गुलाम बन्थ्यो, अहिले मान्छे स्वेच्छाले गुलाम बन्दोछ ।

आजको मान्छेलाई खानेलाउने चिजले भन्दा बढी समाचार सम्प्रेषणका अनेकन् च्यानेलहरूले पनि गुलाम बनाउँदै लगेको साक्षात् दृश्य देख्तछु । एउटै न्युज पटक-पटक अनेक भिजुअल माध्यमहरूमा हेर्दछ, त्यसैलाई अनेकन् अडियो माध्यममा सुन्दछ । अनेकन् अखबार र न्युज पोर्टलमा त्यसैलाई पढ्दछ । मानौँ समाचार सुन्न, पढ्न र हेर्न लत लागेपछि त्यो नपढुन्जेल मनमा शान्ति हुँदैन । त्यो नसुनुन्जेल नहेरुन्जेल आत्मामा चैनको अनुभूति मिल्दैन ।

अहिलेको मनुवालाई कुनै चिजले अइँअइँ तुल्याएको छ भने पलपलमा ह्वारर ओइरिरहेका सूचना र समाचारहरूले निसासलाग्दो अवस्थामा पुर्‍याइरहेको छ । सूचना र न्युजको बाढीले मान्छेभित्रको शान्तिलाई साँच्चै मजाले खलबल्याइदिएको छ । दिल र दिमागको सन्तुलन भत्काइदिएको छ । यति धेरै अखबार, एफएम, रेडियो, टिभी इन्टरनेट, युटुब, फेसबुक, ट्विटर, इन्स्ट्राग्राम, ह्वाट्सएपले यति धेरै सूचना र समाचार छादिरहेका हुन्छन् । त्यसले मान्छेलाई अइँअइँ पारिरहेको छ । सासै रोक्ने गरी उकुसमुकुस ऐँठन गरिरहेको छ ।

एउटा समाचार रेडियो एफएममा सुनेर मात्र चित्त बुझ्दैन मान्छेलाई; त्यसलाई टिभी र भिडियोमा हेर्नु पनि पर्‍यो । समाचारपत्र र न्युजपोर्टलमा पढ्नु पनि पर्‍यो । छापा माध्यममा पढेर पुग्दैन उसलाई डिजिटल अनलाइनमा पनि हेर्नुपर्‍यो । एउटै समाचार हजार ठाउँ बजेको छ । हजार ठाउँ छापिएको छ । हजार ठाउँ दृश्याङ्कन भएको छ ।

एउटै सूचना अनेक ठाउँबाट पटक-पटक पिउन मान्छे अभिशप्त छ । के उचित के अनुचित, के सही के गलत दिमागमा सूचनाको बाढी पसाउन विवश छ । सूचना र समाचारको आदती बनेको छ मान्छे । संसारमा बेलगाम आएको सूचना क्रान्तिले मान्छेलाई अइँअइँ पारेको छ । मिडियाले मान्छेको मगज गोलमाल पार्दै छ । सुललित विचार शृङ्खला गन्जागोल बनाउँदै छ । समाचारले समस्यामाथि समस्या थुपारिरहेको छ । कुनै सुस्पष्ट समाधान भने पस्किन सकेको छैन । सूचनाप्रविधिमा कहिल्यै नभएको अभूतपूर्व विकास भयो । यो अत्यन्त सकारात्मक कुरा हो । यसले मानवविकासको यात्रालाई नै नवीन मोड प्रदान गर्‍यो । यो सुखद विषय हो तर नपाउनेले केरा पायो बोक्रैसित खायो भनेजस्तो कुनै पनि चिजको अति सेवनले उसलाई लाभभन्दा बढी हानि भैरहेको छ । जुनसुकै चिजको पनि परहेजहीन प्रयोगले मान्छे गुलाम बन्दछ । त्यो जुन रूपको होस्; त्याज्य नै हुन्छ ।

मान्छेको हातमा छ न्युज च्यानेलको रिमोट । ऊ दश मिनेटको समयभित्र बिस ओटा च्यानेल खोतली हिँड्छ । सुँगुरले बाँझो बारीमा मथेका दाना खोतेले जस्तो टिभीमा त्यसरी नै खोतली बस्छ । फेसबुक, युटुब, अनलाइन न्युज पोर्टल, ट्विटर अनेक ठाउँमा हरबखत न्युज खोतली हिँड्छ । बिहान ओछ्यानबाट उठेदेखि रात्रि-विश्राममा निद्राले नच्यापेसम्म कुनै समाचारकै खोजमा हुन्छ मान्छे । समाचार हेर्नु, सुन्नु, पढ्नु नराम्रो कुरा हुँदै होइन तर त्यसलाई पनि सम्यक् रूपमा हेर्दासुन्दा त्यसको उपादेयता सुखद हुन्छ । आफैँलाई अस्तव्यस्त पारेर अम्मली बन्यो भने जीवनमा दुर्घटना पनि निम्तिन सक्छ । त्यसैले मूल कुरा सन्तुलित सेवनको हो । चाहे समाचार होस् या सुस्वादु भोज्य पदार्थ होस् सन्तुलनमा रहेर प्रयोग गर्दामात्र त्यसले लाभ दिने गर्छ ।

उहिले सुख्खा खेतमा भलबाढी पसाएको घटना याद गर्छु । गाउँमा कुलोको पानी नचल्ने खेतहरू प्रशस्तै थिए । असारको झरी छोपेर बल्ल-बल्ल रोपो लाइन्थ्यो । त्यसपछि कहिलेकाहीँ अलिदिन पानी पर्दैनथ्यो । रोपेका खेतमा धाँजा फाट्न सुरु हुन्थ्यो । कुनै दिन अकस्मात् मेघ गड्गडाएर पानी पर्दा खोल्सीमा उर्लेको बाढी आआफ्ना खेतमा हुल्न होडबाजी चल्थ्यो । बल्ल-बल्ल आएको बाढी खेतमा टिलपिल पार्दा हप्ता दश दिन धानका बोटलाई प्राणऊर्जा मिल्थ्यो । गाउँमा सिँचाइको अर्को कुनै वैकल्पिक प्रबन्धन थिएन । किसानका लागि भल छोप्नु आवश्यकता र बाध्यता दुवै थियो ।

भलबाढीको पानी धेरै दिनसम्म खेतका गरामा टिकाउनका लागि आलीका समाहाहरू ट्याप्प थुनेर बाढी हुलिन्थ्यो । निकास जाने द्वार बन्द गरेर पानी पसाएपछि त्यसले आँठाको डिल नाघ्ने र कालान्तरमा खेतको कान्लै पड्केर पानी खेर जान्थ्यो । अहिले मलाई लाग्छ, मगजका सारा समाहाद्वार थुनेर अनन्त सूचनाको भेलबाढी टाउकोभित्र पसाउँदै छौँ । थाहा छैन कुन बेला मान्छेको गिदी पड्किने हो ।

शरीरलाई हित गर्ने खालका खानेपिउने चिजहरू छन् । तिनलाई खाद्य वस्तु भनिन्छ । शरीरलाई अहित र हानि नोक्सानी पुर्‍याउने चिज पनि छन् त्यसलाई अखाद्य-वस्तु भनिन्छ । सूचना र समाचार पनि एका थरी खाद्य तत्त्वयुक्त छन् । अर्का थरी अखाद्य तत्त्वले लबालब भरिएका छन् । पेटको पाचनयन्त्रले गाल्न पेल्न नसक्ने खाने चिजभित्र हुल्यो भने के हुन्छ ? स्वाभाविक रूपमा त्यसले अपच गर्छ । त्यसैगरी दिमागको पाचन क्षमताले गाल्न पेल्न नसक्ने सूचना र जानकारी टाउकोभित्र पसाउँदा के होला ? यतिखेर टाउकोमा सही विवरण पनि ठुसिरहेछौँ । गलत विवरण पनि कोचिरहेछौँ ।

खाद्य र अखाद्य वस्तुका बिच कुनै फरक व्यवहार छैन । विषादी र अमृत तत्त्वको बिच कुनै पार्थक्य-बोध छैन । स्वस्थकर चिज हो कि अस्वस्थकर चिज हो कुनै छानविन विश्लेषण नगरी गिदीभित्र चिजहरू ठुँसेपछि मान्छे दिन परदिन असन्तुलनको शिकार बन्दो छ । आजको मानव त्यसै विक्षिप्त बनेको छैन । त्यसै तनावग्रस्त र पागल भएको छैन ।

पहिलेको मनुवा भौतिक रूपमा अनेकन् असुविधा र कठिनाइबिच बाँचेको थियो होला तर दिमागी रूपमा अहिलेको भन्दा धेरै सन्तुलित थियो । विवेकी थियो । संवेदनाले भरिएको अवस्था थियो । सद्दे र सही सलामत थियो । आवश्यकताहरू सीमित थिए । प्रकृतिवत् थियो जीवनशैली । सूचनाका गन्जागोल गुजुल्टाले कतैबाट पनि उसलाई बेर्न सकेको थिएन । देशदुनियाँको ताजा खबर सुन्नलाई गाउँभरिमा जम्माजम्मी एउटा दुइटा रेडियो हुन्थे । त्यसमा पनि कति गाउँ र रेडियो शून्य अवस्थामा थिए । काठमाडौँमा महिना दिनअघि छापिएको गोर्खापत्र महिना दिनपछि हुलाकमार्फत ताजा बनेर गाउँ पुग्थ्यो । अन्य पत्रपत्रिका, टेलिभिजनको त कुनै नामोनिसाना थिएन ।

त्यस युगको शालीन र सौम्य पक्ष पनि अलि-अलि भोगेको छु मैले । विद्रुप र कुरूप पक्ष पनि भोगेको छु मैले । समयको अनुदान र प्रताप हो- विज्ञानप्रविधिको विकास । मान्छेको असीम बुद्धिको चमत्कार हो- सूचना प्रविधिमा भएको आविष्कार र विकास । भेलबाढीले मलिलो माटो र अमृतमय जलमात्र बगाइ ल्याउँदैन; यसले विषाक्त हानिकारक वस्तु पनि साथसाथै ल्याएको हुन्छ । सूचनाप्रविधिमार्फत आएका विषाक्त चिजहरू देख्ने आँखा त छन् हामीसित ? यस अस्मेल बाढीमा दूध र पानी छुट्याउने रजहाँसको जिब्रो त छ हामीसित ? मलाई लाग्छ रजहाँसको जिब्रो र तालुको अभाव छ यहाँ र त अनन्त सूचनाको गुलाम बनेर त्यसै थुप्रोमा लट्पटिँदै विषाद निराश भोगिरहेका छौँ ।

आज बाहिरी दुनियाँको खबर मोहले आफ्नै भित्री दुनियाँप्रति बेखबर हुँदो छ मानिस । ऊ दिन प्रतिदिन खेद र खिन्नतातिर धकेलिँदो छ । अवशाद र उदासीमा तड्पिँदो छ । विज्ञानप्रविधिको अनुदान र आविष्कारलाई साधनको तहमा सीमित राखी यसलाई घोडा चढेर कज्याउन जानेन मान्छेले, बरु यसैलाई साध्य ठान्यो । साध्य त मान्छे हो । साध्य त मानवीय जगत्‌को संवर्द्धन हो । वस्तु साध्य बनेपछि आज वस्तुले मान्छेलाई घोडा बनाएको छ । मान्छेमाथि सवार छ प्रविधि । जसले गर्दा जीवनका सन्तुलनहरू भत्केका छन् । जसले गर्दा जीवनको गुणवत्ता ओझेलमा परेको छ ।

हामी शनैः शनैः साधनका गुलाम बन्दै छौँ । आदतका गुलाम बन्दै छौँ । यस गुलामीले अरू चिज त डामाडोल पार्‍यो पार्‍यो, समयमा उठ्ने प्रकृतिको निःसर्ग तालिकालाई समेत गडबड पारिसक्यो । आजको मान्छे सपनाको पछि कुदिराखेको छैन, दौडिराखेको छैन बरु गगनपथमा बेलगाम उडिराखेको छ ।

आफूसित जे चिज छ, त्यसमा राजी छैन । उसलाई आफ्नो श्रम, सिप र पौरखले जे चिज दिइरहेको छ । त्यसमा पटक्कै खुसी छैन । आफ्नो घर हेर्दैन हमेसा अर्काको महल हेर्छ । आफ्नो घर हेर्नुमा सुख थियो । आनन्द थियो । किनभने आफ्नो घर, टाउको आकाशतिर नउचाली हेर्न सकिने खालको छ । आँखाको समानान्तर रेखामा उभिएको आफ्नो घर हेर्न टाउकालाई कुनै तकलिफ थिएन तर अर्काको अग्लो महल हेर्न आँखा उचाल्नुपर्छ । टाउको आकाशतिर उठाउनुपर्छ । गर्धन दुखाउनुपर्छ । गर्धनमात्र दुख्तैन । मन पनि दुख्छ, दिल पनि दुख्छ र पनि अर्काकै महल हेर्न अभिशप्त छ मान्छे ।

आफ्नै जीवनको अखण्ड आनन्दबाट मान्छे किन विमुख बन्दै गएको होला ? के अखण्ड जीवनमा भन्दा पाखण्ड जीवनमा मान्छेको दिलचस्पी बढेको हो ? यी प्रश्नमा घोरिँदा एउटै उत्तर भेट्छु; मान्छे बेलगाम विचारको दाश बन्दै छ । मान्छे बेलगाम सपनाको दाश बन्दै छ । मान्छे बेलगाम वासनाको कैदी/बन्दी बन्दै छ । कुन चिजले आफूलाई घाँटी अठ्याई अइँअइँ पार्दै छ ? त्यो नबुझेसम्म तरह-तरहका गुलामीबाट मुक्ति सम्भव छैन ।

समाप्त