साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
sp machapuchara cash back ads

म्याक्सिम गोर्कीकाे “आमा” शृङ्खला ३६

भाग २

बाँकी दिन आमाको आत्मा र शरीरमा एक घोर शिथिलता कायम रह्यो । नानाथरीका धमिला सम्झनाहरुले उनको पिछा गर्दै थिए । उनका आँखाअगाडि कहिले त्यो होचो अफिसरको अनुहार एक खैरो टाटाको रुपमा नाच्थ्यो त कहिले पाभेलको काँसजस्तो अनुहार चम्कन्थ्यो, आन्द्रेइका हँसिला आँखाहरु देखा पर्थे ।

उनी कहिले कोठामा ओहोरदोहोहोर गर्थिन् त कहिले झयालमा गएर बस्थिन् र सडकमा हेर्न थाल्थिन् । फेरि एकछिन उभिन्थिन् र हिँडडुल गर्न थाल्थिन् । कुनै पनि सानोतिनो आवाज सुन्नासाथ झस्किन्थिन् र यताउति हेर्न थाल्थिन्, मानौं केही कुरा खोज्दैछिन् । उनले धेरैपल्ट पानी पिइन् तर प्यास मेटिएन । हृदयमा उम्लिरहेको उदासी र अपमानको व्यथा निभाउन उनी असमर्थ थिइन् । आमाका लागि त्यो दिन एक भयङ्कर शून्यता फैलिएको थियो र एउटा प्रश्न फेरिफेरि व्यग्रतापूर्वक खडा हुन्थ्यो – “अब के गर्ने … ?”

कोर्सुनोभा आमालाई भेट्न आइन् । उनी कहिले बेस्सरी हात हल्लाउँदै कुरा गर्थिन् त कहिले रुन थाल्थिन्, अनि अकस्मात् भावावेशमा आएर खुट्टा बजार्थिन् । कहिले केही सुझाव दिन्थिन् त कहिले कुनै कुरा दिने कबुल गर्थिन्, कसलाई हो धम्की पनि दिन थाल्थिन् । तर आमालाई यी सबै कुराले कुनै प्रभाव पारेन ।

“आहा ! मान्छेहरु ज्यानको बाजी लगाएर मैदानमा उत्रे । पूरै फैक्ट्री कम्मर कसेर खडा भयो । पूरै फैक्ट्री !” आमाले पसलनीको तीखो स्वर सुनिन् ।

“हो !” आमाले शान्त स्वरमा भनिन् । तर उनका आँखा अझै पनि बितेका कुराहरुमाथि अडेका थिए, ती सबै कुराहरुमाथि जुन पाभेल र आन्द्रेइले आफूसँग लिएर गएका थिए । उनी रुन पनि सक्दैनथिन् । उनलार्य आफ्नो मुटु कक्रिएको र सुकेको जस्तो लाग्यो । ओठ, मुख सबै सुकेका थिए । उनका हातहरु काँप्दै थिए र बारम्बार पूरा शरीर जिङ्ग्रिङ्ग हुन्थ्यो ।

साँझपख पुलिसहरु आइपुगे । उनीहरुलाई देखेर आमालाई न त आश्चर्य नै लाग्यो, न डर नै । उनीहरु बडो हल्लीखल्ली मचाउँदै घरभित्र पसे । पुलिसवालाहरु बडो सन्तुष्ट र प्रसन्न देखिन्थे । पहेँलो अनुहार भएको अफिसरले जिस्क्याउने स्वरमा सोध्यो – “के छ त हालखबर ? लाग्छ, तेस्रोपल्ट हाम्रो भेट हुँदैछ, होइन त ?”

आमा आफ्नो सुकेको जिब्रोले ओठ भिजाउने कोसिस गर्दै चुपचाप बसिरहेकी थिइन् । अफिसर खुब कुरा गर्दै थियो, आमालाई उपदेश दिने कोसिस गर्दै थियो । आमाले बुझिन्, अफिसरलाई आफ्नो करामा आफैंलाई मजा आइरहेको छ । उसको कुराले आमाको सोचाइमा अलिकति पनि बाधा पु¥याइरहेको थिएन, उनी उसको कुरा सुनिरहेकी थिइन् । जब अफिसरले भन्यो – “तेरो आफ्नै दोष छ आमा, आफ्नो छोरालाई ईश्वर र जारप्रति उचित श्रद्धा राख्न सिकाएकी भए … ।”

आमाले सहन सकिनन् र ढोकामा उभ्याउँदै जवाफ दिइन् – अफिसर रिसाउँदै अस्पष्ट स्वरमा बडबडाउन थाल्यो, तर उसका शब्दहरु आमाका कानसम्म पुगेनन् ।

खानतलासी लिँदा मारिया कोर्सुनोभालाई साक्षीका रुपमा डाकिएको थियो । उनी आमासागै उभिएकी थिइन् तर मुख अर्कोतिर फर्काएकी थिइन् । अफिसरले जुनसुकै प्रश्न सोधे पनि उनी झुक्दै सलाम गर्थिन् र एउटै कुरा दोहो-याउँथिन् – “हजुर मलाई थाहा छैन ! म लेखपढ गर्न नजान्ने आइमाई, सानो पसल थापेर आफ्नो जीविका चलाइरहेकी छु । मूर्ख आइमाई छु, हजुर केही थाहा छैन … ।”

“चुप लाग् !” – अफिसरले आफ्नो जुँगा मुसार्दै हप्कायो । उनी फेरि अघिजस्तै झुकिन् तर अफिसरले आफ्ना पिठ्यूँ फर्काउनासाथ उसतिर आँखाले इसारा गर्दै बिस्तारै आमाको कानमा भनिन् – “पर्खलास्, म तँलाई देखाउँछु !”

जब उनलाई पेलागेया निलोभ्नाको जीउ छाम्ने आज्ञा दिइयो, कोर्सुनोभाले जिल्ल परेर अफिसरको मुखमा हेरिन् ।

“हजुर म जान्दिनँ यस्तो काम गर्न !” – उनले भयभीत स्वरमा भनिन् ।

अफिसरले जोडले खुट्टा बजार्दै गाली गर्न थाल्यो । मारियाले आँखा झुकाइन् र बिस्तारै आमालाई अनुरोध गरिन् – “पेलागेया निलोभ्ना, लौ त, केही लागेन । टाँक फुकाल तिमी अब … ।”

आमाको जीउ छाम्दा उनको मुख रातो भयो ।

“कस्ता कुकुरहरु ।” – उनले बिस्तारै भनिन् ।

“तँ त्यहाँ के बकबक गर्दैछस् हा ?” – अफिसरले जङ्गिदै सोध्यो र त्यतातिर हेर्न थाल्यो, जहाँ कोर्सुनोभा आमाको जीउ छाम्दै थिइन् ।

“हजुर केही होइन, आइमाईको कुरा हो हजुर !” – मारियाले तर्सदै भयभीत स्वरमा भनिन् ।

अन्त्यमा अफिसरले आमालाई एउटा कागजमा सही गर्न लगायो । आमाले ठूलठूला टेढामेढा अक्षरले लेखिन् – “पेलागेया भ्लासोभा, एक मजदुरकी विधवा ।”

“के लेखिस् यो ? किन यस्तो लेखेकी ?” – अफिसरले घृणापूर्वक मुख बङ्ग्याउँदै भन्यो र फेरि हाँस्दै भन्यो – “जङ्गलीहरु … ।”

उनीहरु निस्के । आमा दुवै हात बाँधेर झ्यालनेर उभिइन् र एकटकले बाहिर हेर्न थालिन् । उनका आँखीभौ तन्किएका थिए, ओठ जोडिएका थिए । उनले कति कसेर आफ्नो बङ्गारा किटेकी थिइन् भने पीडा अनुभव गर्न थालिन् । बत्तीमा मट्टितेल सकियो र भकभक गर्दै निम्न थाल्यो । आमाले फू गरेर बत्ती निभाइन् र अँध्यारैमा उभिइरहिन् । उनको मुटु बेस्सरी दुख्दै थियो र सास चल्न पनि मुस्किल पर्दै थियो । उनी धेरै बेरसम्म यसरी नै उभिइरहिन्, जसले गर्दा उनका आँखा र खुट्टासमेत दुख्न थाले । मारिया झ्यालनेर उभिइन् र रक्सीले मात्तिएको स्वरले सोधिन् – “पेलागेया निदायो ? बिचरी, कस्तो दुःख पाइन् । लौ, लौ सुत !”

आमा लुगै नफुकाली बिछयौनामा पल्टिइन् र कति गाढा निद्रामा परिन् भने मानौं उनी कुनै गहिरो तलाउभित्र डुबेकी छिन् ।

आमाले सपना देखिन् – धापपारि पहेँलो बालुवाको थुम्को हुँदै उनी सहरतिर गैरहेको थिइन् । त्यही थुम्काको छेउमा, ठीक त्यही खडालनेर जहाँबाट बालुवा निकाल्ने गर्थे, पाभेल उभिएको थियो र आन्द्रेइ मधुर स्वरमा गाउँदै थियो – “जाग लौ उठ ए मजदुरगण !”

उनी निधारमा हात राखेर आफ्नो छोरातिर हेर्दै त्यस थुम्कोछेउबाट पार भइन् । नीलो आकाशको पृष्ठभूमिमा पाभेलको आकृति स्पष्ट देखिन्थ्यो । आमालाई आफ्नो छोराको नजिक जान लाज लागिरहेको थियो । उनले पेट बोककी थिइन् र हातमा एउटा अर्को बच्चा समाएकी थिइन् । हिँड्दाहिँड्दै उनी एउटा त्यस्तो मैदानमा पुगिन्, जहाँ धेरै केटाकेटीहरु भकुन्डो खेलिरहेका थिए । भकुन्डो रातो थियो । हातमा बोकेको बच्चाले भकुण्डो लिन हात पसा¥यो र चिल्लाउँदै रुन थाल्यो । आमाले बच्चालाई दूध पिलाउन थालिन् र पछाडि फर्केर हेरिन् । तर अहिले त्यस थुम्कामा सिपाहीहरु आमातिर आफ्नो सङ्गीन तेस्र्याएर उभिएका थिए । बीच मैदानमा एउटा गिर्जाघर थियो, उनी दौड्दै त्यतैतिर लागिन् । त्यो सेतो, पारदर्शक गिर्जाघर कति मोहक र अग्लो थियो भने हेर्दा बादलका टुक्राहरुले बनेजस्तो लाग्थ्यो । त्यहाँ कसैको लास गागिँदै थियो । त्यसको कालो कफन निकै ठूलो थियो र टम्म पारेर बन्द गरिएको थियो । मुख्य पादरी र उनका सहायकले सेतो पोसाक लगाएका थिए र गिर्जाघरमा यताउता हिँड्दै गाइरहेका थिए – “ईसाको पुनर्जन्म भयो … ।”

सहायक पादरीले आमालाई देखेर झुक्दै अभिवादन ग-यो र धूपदान घुमाउँदै मुस्कुरायो । गाढा रातो रङको कपाल भएको त्यस पादरीको अनुहार समोइलोभकै जस्तो हँसिलो थियो । गिर्जाघरको किनारका छिँडहरुबाट सूर्यको किरण सेता रुमालहरुझै लहराउँदै भित्र पसिरहेका थिए । सामूहिक गाना गाउने दुवै कोठाहरुबाट केटाहरुले गाएको आवाज आइरहेको थियो – “ईसाको पुनर्जन्म भयो … ।”

“गिरफ्तार गर यिनीहरुलाई !” – गिर्जाघरको बीचमा पुगेपछि अकस्मात् थामिँदै पादरी चिललायो । उसले लगाएको पादरीको पोसाक गायब भयो र अनुहारमा बाक्लो सेतो जुँगा देखा प-यो । सबै भाग्न थाले । सहायक पादरीले आफ्नो धूपदान फाल्यो र उक्राइनिले जस्तै आफ्नो टाउको समायो, त्यसपछि ऊ पनि भाग्न थाल्यो । आमाले आफ्नो बच्चालाई ती दौडधुप गर्न थालेका मान्छेहरुका खुट्टाअगाडि लगेर राखिदिइन् तर उनीहरु भयभीत आँखाले बच्चाको नाङ्गो शरीरमा हेर्दै छेउतिरबाट अगाडि बढे । आमा घुँडा टेकेर बच्चा अगाडि बसिन् र रुँदै अनुरोध गर्न थालिन् – “मेरो बच्चालाई यसरी छोडेर नजानोस् ! उसलाई पनि आफूसँगै लिएर जानोस् … !”

उक्राइनि हात पछाडि फर्काएर मुस्कुराउँदै गाइरहेको थियो – “ईसाको पुनर्जन्म भयो … ।”

आमाले झक्दै बच्चा हातमा लिइन् र उसलाई फल्याकहरु लादिएको एउटा गाडामा सुताइन् र निकलाइ हाँस्दै गाडासँगसँगै गैरहेको थियो ।

“यो कठिन काम त मलाई पो सुम्पेछन् !” – ऊ भन्दै थियो ।

सडक फोहोर थियो । मान्छेहरु झ्यालबाट टाउको बाहिर निकालेर चिल्लाइरहेका थिए, सिटी बजाइरहेका थिए र हात हल्लाउँदै थिए । मौसम सफा थियो, न्यानो सूर्य चम्किरहेको थियो, छायाँको कतै नामोनिसाना थिएन ।

“आमा गाउनोस् !” – उक्राइनिले भन्यो – “जिन्दगी यस्तै हो !”

उक्राइनि आफैँ गाउन थाल्यो र उसको गीतको आवाजमा अरु सबै आवाज बिलाए । ऊ हिँड्न थाल्यो र आमा उसको पछिपछि लागिन् । अचानक उनले ठक्कर खाइन् र एक अथाह खाडलमा खसिन् । खाडलबाट भयङ्कर चित्कार सुनिँदै थियो … ।

आमा झसङ्ग भएर ब्युँझिन् । उनको पूरा शरीर काँप्दै थियो । यस्तो लाग्थ्यो मानौं कसैले आफ्नो कडा पन्जाले उनको मुटु समाउँदै छ र बिस्तारै निचोर्दै छ । फैक्ट्रीको सिाटी लगातार मजदुरहरुलाई डाक्दै छ । आवाजबाट आमाले यो दोस्रो सिटी हो भन्ने अन्दाज लाइन् । कोठामा जताततै किताबहरु छरिएका थिए, सबै कुरा अस्तव्यस्त थियो र भुँइमा जताततै हिलो लागेका जुत्ताका दागहरु थिए ।

आमा उठिन् । हात मुख नधोई र पूजा नगरी कोठा सफा गर्न थालिन् । भान्साकोठामा त्यस झन्डाको लठ्ठीमाथि आमाको आँखा प¥यो, जसमा अझ पनि एक टुक्रा रातो कपडा बाँधिएको थियो । आमाले त्यो लठ्ठी टिपिन् र चुल्होमा फाल्नै आँटेकी थिइन्, केही सोचेर थामिइन् । लामो सुस्केरा हाल्दै लठ्ठीबाट त्यो रातो कपडा निकालिन् र बडो सावधानीपूर्वक पट्याएर खल्तीमा राखिन् । अनि घुँडा अड्याएर त्यो लठ्ठी भाँचिन् र चुल्होभित्र हुत्याइन् र लुगा फेर्न थालिन् । सबै काम सिध्याएर उनी भान्साकोठाको झ्यालमा गएर बसिन् । फेरि त्यही प्रश्न उनको अगाडि खडा भयो – “अब के गर्ने हो ?”

“अझ पूजा गरेको छैन भन्ने सम्झेर उनी ईसाको तस्वीर राखिएको कुनातिर लागिन् र त्यहाँ एकछिन उभिइसकेपछि फेरि आएर बसिन् । आज उनको हृदय शून्य थियो ।

वातावरणमा एक अनौठो निस्तब्धता फैलिएको थियो । यस्तो लाग्थ्या, मानौं ती मानिसहरु, जो हिजो त्यत्रो उत्साहसहित सडकमा चिल्लाउँदै थिए, आज आ–आफ्नै घरमा लुकेर बसेका छन् र हिजोका ती असाधारण घटनाहरु केलाउँदै छन् ।

अकस्मात् आमालाई आफ्नो जवानीको एउटा घटना याद आयो । जाउसाइलभ परिवारको बङ्गलाअगाडिको पुरानो पार्कमा एउटा ठूलो तलाउ थियो, जसमा कमलका फूलहरु फुलेका थिए । यो घटना शरद् ऋतुको अन्त्यतिर घटेको थियो । त्यस दिन उनी तलाउ किनाराबाट जाँदै थिइन् । अकस्मात् बीच तलाउमा एउटा डुङ्गा देखिन् । तलाउ शान्त कालो देखिन्थ्यो । पहेँला, सुकेका पातहरु बिछ्याइएको पानीको सतहमा डुङ्गा देख्दा, जसमा न कुनै मानिस बसेको थियो न त पानी खियाउने डाँडी नै थियो, कुनै अज्ञात दुर्घटनाको आभास हुन्थ्यो । आमा धेरैबेरसम्म तलाउको किनारमा उभिएर सोचिरहिन्, कसले त्यो ड्ङ्गा पानीमा उता-यो होला र किन होला ? त्यसै दिन साँझ उनले थाहा पाइन् – त्यस बङ्गलामा काम गर्ने मान्छेकी स्वास्नी तलाउमा डुबेर मरिन् । त्यस आइमाईलाई उनी चिन्थिन्, जसको कालो कपाल घुङ्ग्रिएको थियो र बडो छिटोछिटो हिँड्ने गर्थिन् ।

आमाले आफ्नो निधार छामिन् । हिजोको घाटनासम्बन्धी सम्झनाहरु अन्य विचारहरुसहित उनको दिमागमा बिस्तारै घुम्दै थिए । आमा धेरै बेरसम्म यिनै विचारहरुमा डुबेर बसिरहिन् । उनी एकटकले चिसो चियाको गिलासमा हेर्दै थिइन् । अकस्मात् आमालाई कुनै समझदार, सिधा–सादा मान्छेसँग कुरा गर्ने र थुप्रै प्रश्नहरु सोध्ने इच्छा भयो ।

मानौं उनको यही इच्छा पूरा गर्न दिउँसोको खानापछि निकोलाइ इभानोभिच भेट्न आइपुग्यो । उसलार्य देख्नासाथ आमा झस्किन् र उसको अभिवादनको उत्तन नदिई बिस्तारै भन्न थालिन् –

“किन आउनुभएको ? तपाई बेकारमा आउनुभयो । यहाँ तपाईलाई देखे भने अवश्य पनि समातेर लानेछन् ।”

उसले बडो प्रेमपूर्वक आमासँग हात मिलायो र आफ्नो चस्मा ठीक पार्दै उनीतिर झुक्यो ।

“कुरा के हो भने पाभेल र आन्द्रेइलाई मैले बचन दिएको थिएँ, केही भएर उनीहरु गिरफ्तार भैहाले भने भोलिपल्ट नै तपाईलाई सहर लिएर जानेछु ।” – ऊ छिटोछिटो बोल्दै थियो । उसको स्वर कोमल र सहानुभूतिपूर्ण थियो – “के यहाँ खानतलासी लिन आएका थिए ?”

“हो, सबै उलटपलट गरेर छाडे । यी मोराहरुलाई लाजसरम भन्ने पटक्कै छैन !” – आमाले भनिन् – “केलाई चाहियो र उनीहरुलाई लाजसरम ?” – निकोलाइ इभानोभिचले काँध हल्लाउँदै भन्यो । त्यसपछि उसले बताउन थाल्यो किन आमाले सहर गएर बस्नु् जाती हुन्छ ।

प्रेम र सहानुभूतिले भरिएको उसको आवाज सुनेर आमा बिस्तारै मुस्कुराइन् । उसको कुरा त उनले बुझिनन् तर उनलार्य आश्चर्य लाग्दै थियो किन यस मान्छेको कुरा सुन्दा आमाको हृदयमा विश्वास र ममताको भावना पैदा हुन्छ ।

“यदि पाभेलले भनेर गएको हो,” – आमाले भनिन् – “र, तपाईलाई कुनै कठिनाइ पर्दैन भने … ।”

“यस कुरामा तपाईले पीर नमाने हुन्छ । म एक्लै बस्छु । कहिलेकाहीँ बहिनी आउने गर्छे ।”

“तर म तपाईसँग सित्तैमा खाएर पनि त बस्न सक्दिनँ नि !” – आमाले भनिन् ।

“तपाई चाहनुहुन्छ भने कुनै काम भेट्टाउन सकिन्छ !” – निकोलायले भन्यो । काम भन्नासाथ उनको दिमागमा पाभेल, आन्द्रेइ र उसका साथीहरुले गर्ने काम याद आयो । उनी निकोलाइको अझ नजिक सरिन् र उसका आँखामा हेर्दै सोधिन् ।

“साँच्ची भेट्टाइन्छ ?”

“मैले घरमा त कुनै त्यस्तो काम छैन, एक्लै बस्छु … ।”

“मैले यस्तो काम भनेकी होइन, घरेलु कामको कुरा गरेकी होइन !” – आमाले बिस्तारै भनिन् ।

उनले दिक्दार हुँदै सुस्केरा हालिन् । निकोलाइले आफ्नो इच्छा नबुझेको देख्दा उनलाई बडो चोट प-यो । निकोलाइ इभानोभिचका कमजोर आँखामा एक मुस्कुराहाट देखा प-यो । उसले विचारमग्न हुँदै भन्यो ।

“जेलमा पाभेलसँग भेट्न जाँदा यदि तपाईले उसबाट ती किसानको ठेगाना थाहा पाउन सक्नुभए, जसले हामीलाई अखबार निकाल्ने अनुरोध गरेका थिए, तब … ।”

“म उनीहरुलाई चिन्छु !” – आमाले दङ्ग पर्दै भनिन् – “म उनीहरुको ठेगाना पत्ता लाउँछु र सबै काम गर्छु । गैरकानुनी प्रचार गर्दै हिँड्छु भन्ने शङ्का कसले गर्ला र ? जय होस् तिम्रो, जय होस् तिम्रो, जे होस् फैक्ट्रीमा पर्चा लिएर जाने गरेकी थिएँ होइन र ?”

अकस्मात् उनलाई काँधमा झोला बोकेर लठ्ठी टेक्दै जङ्गल र गाउँ हुँदै कतै अज्ञात बाटातिर लाग्ने इच्छा भयो – “भाइ, तपाईं, जसरी भए पनि मलाई यो काम मिलाइदिनोस् ।” – आमाले भनिन् – “जहाँ पनि जान तयार छु । जिललाजिल्ला, गाउँगाउँ, जहाँ भए पनि जान्छु, जहाँ पनि बाटो पत्ता लाउँछु ! जाडो गर्मी, जे भए पनि नमरुन्जेल तीर्थयात्रीजस्तो हिड्याहिँड्यै गर्नेछु । के यो काम गौरवपूर्ण छैन ?”

गाउँले छाप्राहरुअगाडि ईसामसहिको नाममा भीख माग्दै हिँडेकी घरबारविहीन बुढियाका रुपमा आफूलाई कल्पनामा देख्दा उनको मन उदास भयो ।

निकोलाइले बडो प्रेमपूर्वक उनको हात समायो र आफ्नो तातो हातले उनको हात थपथपायो । एकछिनपछि उसले घडी हे-यो र भन्यो – “लौ, पछि कुरा गरौंला !”

“भाइ ! यदि हाम्रा बच्चाहरु, हाम्रा मुटुका टुक्राहरु, आफ्नो जिन्दगी, आफ्नो स्वतन्त्रता सबै कुरा बलिदान गर्न तयार छन्, आफूबारे अलिकति पनि पीर नगरी आफ्नो जीवनसम्म अर्पण गर्न सक्छन् भने म आमा भएर केही गर्न सक्दिनँ र ?”

निकोलाइको अनुहार फिका भयो र बडो मायालु दृष्टिले आमालाई हेर्दै उसले भन्यो – “यसभन्दा अगाडि मैले कहिल्यै, कसैबाट यस्तो कुरा सुनेको थिइनँ ।”

“त्यस्तो म भन्नै के सक्छु र !” – आमाले उदासीनतापूर्वक टाउको हल्लाइन् र बिस्तारै हात घुमाउँदै भनिन् – “मेरो छातीमा भएको यस मातृहृदयको वेदनाबारे बताउने शब्द मात्र मसँग भैदिएको भए … ।”

आमा उभिइन्, होइन, कुनै प्रबल शक्तिले जुरुक्क उचाल्यो भन्दा बेस होला र अत्यन्त रोषपूर्ण शब्दहरुको एक प्रबलप्रवाह फु्टेर बाहिर निक्क्यो ।

“… धेरै मान्छे रुन्थे होलान्, उनै दुष्ट र निर्लज्ज मान्छेहरुसमेत नरोइ बस्न सक्दैनथे होलान् … ।” निकोलाइ पनि उभियो र फेरि आफ्नो घडी हेर्न थाल्यो ।

“लौ त त्यसो भए पक्का भयो ! तपाईं सहरमा आएर मसँग बस्नुहुनेछ ।”

उनले चुपचाप टाउको हल्लाउँदै आफ्नो सहमति जनाइन् ।

“कहिले सर्नुहुन्छ त ? छिटो गर्नोस् !” – निकोलाइले भन्यो र फेरि कोमल स्वरमा भन्न थाल्यो – “तपाई आइपुग्नु नभएसम्म मेरो मन शान्त हुने छैन ।”

आमाले आश्चर्यपूर्वक उसलाई हेरिन् । उनीबारे किन ऊ यस्तरी चिन्ता गर्दैछ ? कमजोर आँखा भएको, कम्मर झुकेको, एउटा मामुली कोट लगाएको त्यो मान्छे आफ्नो टाउको झुकाएर त्यहाँ उभिइरहेको थियो र लज्जित हुँदै मुस्कुराइरहेको थियो । उसको समस्त पहिरन र ऊ आफैं पनि आमालाई बिलकुल पराइ लाग्यो … ।

“तपाईसँग पैसा छ ?” – उसले आँखा झुकाउँदै सोध्यो ।

“छैन !”

उसले झट्ट खल्तीबाट पैसा राख्ने थैली निकाल्यो र थैली खोलेर भएभरको पैसा आमालाई दियो ।

“लौ, यो लनोस् … !” – उसले भन्यो ।

आमा अनायास मुस्कुराइन् ।

“तपाईको त सबै कुरा अनौठो हुन्छ !” – आमाले टाउको हल्लाउँदै भनिन् – “तपाईका लागि त पैसाको कुनै मोलै छैन ! मान्छेहरु पैसाका लागि आफ्नो आत्मासम्म बेच्न तयार हुन्छन्, तपाईका लागि भने पैसाको कुनै महत्व नै छैन ! मानौं मानिसहरुमाथि दया लागेर मात्र पैसा लिएर हिँड्ने गर्नुहुन्छ … ।”

निकोलाइ मुसुक्क हाँस्यो ।

“यो पैसा भन्ने चिज बडो खराब कुरा हो ! लिन पनि असजिलो लाग्छ, दिन पनि असजिलो लाग्छ … ।” उसले बडो जोडले आमाको हात समात्यो ।

“सकेसम्म छिटो आउनुहोला !” – उसले आमालाई याद दिलाउँदै भन्यो र सधैंजस्तो चुपचाप निस्क्यो । उसलाई बिदा गरिसकेपछि पनि आमा ढोकामा उभिइरहिन् र सोच्न थालिन् – “कति भलाद्मी छ यो मान्छे ! तर मलाई अलिकति पनि सान्त्वना दिएन … ।”

उनले बुझ्न सकिनन् – यो कुरा उनका लागि अप्रिय थियो अथवा उनलाई आश्चर्य मात्रै लाग्दै थियो ।

लेखक परिचय

म्याक्सिम गोर्की रूसका प्रख्यात साहित्यकार हुन् । उनको आमा उपन्यास संसार प्रख्यात मानिन्छ । यसबाहेक उनका छोटा कथाहरू पनि उत्तिकै प्रख्यात छन् ।

प्रतिक्रिया
Loading...