१२
“हाम्रो यस संसारमा जे कुरा पनि उल्टो हुन्छ । विवाह हुनुभन्दा पहिले कथंकदाचित् कुनै मान्छे संयममा रहन्छ नै भने पनि विवाह भैसकेपछि चाहिं तुरुन्त नै उसले संयमलाई अनावश्यक ठानिहाल्छ । आखिर विवाहपछि जो रीतिरिवाज पूरा गरिन्छ सो के हो ? युवा दम्पति आफ्ना आमाबाबुहरूको पूर्ण अनुमति पाएर एकान्तमा गैहाल्छन् यो व्यभिचारको लागि अनुमति दिनु नभए अरू के हो त ? परन्तु सदाचारको पनि आफ्नै नियम हुन्छ् । यदि त्यसको उल्लंघन गरियो भने मान्छेले त्यसको दण्ड पनि भोग्नुपर्ने हुन्छ । मैले मधुमासलाई वास्तवमा नै मधुमास तुल्याउने खूब प्रयार गरेको थिएँ, तर सफल हुन सकिनँ ।
शुरुदेखि अन्तसम्म नै त्यो सारा केलिक्रीडा लज्जास्पद, घृणाजनक र नीरस रहयो । छिटै नै त्यो अझ बढी कष्टकर समेत भएर आयो । यस्तो हुन कुनै बेर नै लागेन । तेस्रो दिन हो वा चौथो दिन मैले आफ्नी पत्नीलाई उदास पाएँ । मैले कारण सोधेँ र माया पनि गर्न थालें । उसले चाहेको पनि यही नै होला भन्ने मलाई लागेको थियो, तर उसले मेरो हात झट्कारिदिई र रुन पो त लागी । किन ? उसले कुनै कारण बताउँदा समेत बताइन । ऊ शोकाकूल र दुखित थिई । सम्भवत: ज्यादा स्नायविक जोड परेर उसका नसाहरू समेत शिथिल भैसकेका थिए र यसैबाट नै हाम्रो सम्बन्ध ज्यादै भद्दा खालको छ भन्ने उसलाई आभास भैसकेको हुँदो हो, तर यो कुरा उसले शब्दद्वारा व्यक्त गर्न सकिन । मैले कारण सोधेको सोध्यैँ गरेँ । आफ्नी आमाको सम्झना आइरहेकोले दिक्क लागिरहेछ भनेर उसले बिस्तारै भनी । परन्तु यो सत्य हुन सक्तैन भन्ने मलाई लाग्यो । म उसलाई फकाउन-फुल्याउनपट्टि लागें, तर आफ्नी आमाको बारेमा जुन कुरा उसले भनेकी थिई त्यतापट्टि पटक्कै ध्यान दिइनँ । कुनै अरु नै कारणले गर्दा ऊ दु:खी भएकी छे र आमाको पीर चाहिँ त बहाना मात्रै हो भन्ने मैले बुझ्न सकिनँ । ऊ जडङ्ग रिसाइहाली र के भन्न थाली भने मैले उसकी आमाको आदरभाउ नै राखिनँ र उसको कुरामा एक फुट्टी विश्वास पनि गरिनँ । म उसलाई प्रेम पनि गर्दिनँ भन्ने कुरामा आफूलाई विश्वास भएको कुरा पनि उसले गरी । मैले यसलाई आइमाईको नखरा भन्न मात्र के भनेको हुँदो हुँ, एकाएक उसको अनुहारको भाव नै बदलियो र त्यहाँ खिन्नताको सट्टा आक्रोश देखा पर्यो ।
मलाई उसले स्वार्थी र निर्दयी भनेर भन्नसम्म भनी । म अकमक्क परेर उसलाई ट्वाल्ल हेदैर्हैँ । उसको अनुहार कठोर भैसकेको थियो र उसका आँखामा मप्रति विरोध र घृणाको भाव भरिएको थियो । यो सब देखेर म कति भयभीत हुन पुगेको थिएँ त्यसको मलाई राम्रो सम्झना छ । ‘किन ?’ यो के हुँदै छ ?’ – मैले सोचेँ । – प्रेम ! दुई आत्माको मिलन ! खै, यी सबको ठाउँमा यो के हो ? असम्भव ! यो हुनै सक्तैन ! जरुर पनि यसको मन ठेगानमा छैन ! मैले उसलाई शान्त पार्ने कोशिश गरें, परन्तु मेरो अगाडि उपेक्षा र कटुविरीधको एक दुर्लघ्य पर्खाल नै खडा भैदियो । एकाएक मलाई पनि जङ्ग चलेर आयो र हामीले एक दोस्रोलाई थुप्रै अप्रिय कुराहरू भन्यौं । ममाथि यस पहिलो कलहका निकै भयानक असर पर्यो । मैले यसलाई कलह भनें, तर यो वास्तवमा कहल थिएन, बरु यो त यस्तो ज्योति थियो जसले मेरो आँखा खोलिदियो र मैले त्यो भाँजो छर्लङ्ग देख्न थालें जुन हामी दुवैको माझमा परिसकेको थियो । वासना तृप्त हुनासाथै हाम्रो प्रेमको मादकता पनि हटिसकेको थियो र अब हामी आफ्नो सच्चा स्वरुपमा एक अर्काको सामुन्ने उभिन पुगेका थियौं । अब हामी पूर्णतया अलग-अलग र यस्तो स्वार्थी जीव बनिसकेका थियौं जो एक अर्कोबाट आफ्नो कामवासनाको अधिकाधिक तृप्ति खोज्दथ्यो । हाम्रो बीचमा जुन घटना घट्यो त्यसलाई मैले कलह भन्ने नाउँ दिएँ, परन्तु त्यो कलह थिएन, बरु हाम्रो कामवासनाको परिपूर्ति हुन गएको कारणल्ने गर्दा हाम्रो वास्तविक सम्बन्धको अनावरण मात्र भएको थियो । यही कठोर उपेक्षाभाव र क्रूर वैमनस्य नै हाम्रो वास्तविक सम्बन्ध थियो भन्ने मैले बुझ्न सकिने । कुन कारणले गर्दा मैले यो बुझ्न सकिनँ भने छिटै नै कामेच्छाको अर्थात् प्रेमको एक लहर उठ्यो र त्यो आपसी वैमनस्यको भाव एकाएक बिलाएर गयो ।
म के विचार गर्न पुगें भने हाम्रो बीचमा कलह उठेको थियो, तर सम्झौता भैहाल्यो, र अब फेरि यस्तो कहिल्यै पनि हुन दिइनेछैन । परन्तु मधुमासको त्यस पहिलो महीनामा नै फेरि एकपल्ट हामी एक अर्काबाट अघायौं । हामीलाई फेरि एक दोस्रोको आवश्यकता रहेन र यसको परिणामस्वरुप फेरि एकपल्ट कलह हुन गयो । यस दोस्रो कलहले मलाई पहिलो कलहले भन्दा बढी चकित पारिदियो । ‘हाम्रो पहिलो कलह आकस्मिक थिएन र त्यो अवश्य हुनैपर्ने थियो र भएरै छोड्यो पनि । भविष्यमा पनि यस्ता कलहहरू बेला-बेलामा हुँदैरहनेछन् ।’ – मैले मनमनै सोचेँ । यस दोस्रो कलहले मलाई बढी चकित तुल्याउनुको कारण के थियो भने त्यो कलह एउटा ज्यादै नै तुच्छ निहुँबाट शुरु भएको थियो अर्थात् पैसाको कञ्जुसी त मबाट हुने कुरै भएन । मलाई यत्तिकै के सम्झना छ भने मैले पैसाको सन्दर्भलाई लिएर कुन्नि के हो भनें जसलाई बंग्याएर उसले के अर्थ लगाई भने म पैसाको माध्यमद्वारा उसमाथि आफ्नो मर्जी लाद्न खोज्दैछु र यसै पैसाको कारणले गर्दा मैले आफ्नो लागि विशेषाधिकार पनि खोज्नेगरेको छु । उसले यस्तैउस्तै केही अर्थ न बर्थका नचाहिंदा कुराहरू भनी जनु न उसलाई, न त मलाई नै सुहाउँदा किसिमका थिए । जङ चलिहाल्यो । तिमीलाई कुरा गर्ने सहुर नै छैन’ भनेर मैले प्वाक्क भन्दिइहालें । यसको जवाफ दिन उसले बाँकी राखिन र हामी मुख फोरेर भनाभन गर्न लागिहाल्यौं । उसको शब्दमा उसको अनुहारको भावमा र उसका आँखामा फेरि मैले त्यही कठोरता, उपेक्षा र वैमनस्यको झलक पाएँ जसलाई देख्दा पहिलोपल्ट म त्यति चकित भएको थिएँ । आफ्नो दाजुसँग, आफ्ना साथीभाइसँग र अझ पिताजीसँग नै पनि मेरो कतिपल्ट हो कतिपल्ट झगडा भैसकेको थियो र त्यसको मलाई राम्रै सम्झना पनि छ, तर कहिल्यै पनि हाम्रो बीचमा यस्तो अनौठो किसिमको विषाक्त कटुताको अनुभव भएको थिएन जस्तो यहाँ मलाई अनुभव भएको थियो । बिस्तारै समय बित्दैगयो र यो आपसी घृणा फेरि त्यही प्रेम अर्थात् इन्द्रिय-सुखभोगको पर्दाद्वारा ढाकियो । यी दुवै कलहहरू भूलचुकले हुन गएका हुन् र भविष्यमा त्यसबाट बच्न सकिनेछ भन्ने विचार गरेर मैले आफूलाई सान्त्वना समेत दिएँ । परन्तु त्यसपछि तेस्रोपल्ट पनि कलह खडा भयो र फेरि चौथो कलह समेत भयो । अनि त यो आकस्मिक कलह होइन, जो हुनुपर्ने थियो त्यही नै भएको छ र यसलाई भविष्यमा पनि टार्न सकिनेछैन भन्ने मलाई पक्का विश्वास भैहाल्यो । भविष्यमा के हुन गैरहेको छ भन्ने कल्पना मात्र गर्दा पनि मेरो आङका रौंहरू ठाडा-ठाडा भएर आउँथे । मेरो मानसिक वेदना त कुन विचारले अझ बढाइदिएको थियो भने मेरा मनोकांक्षाहरूको विपरीत नै म त एउटा यस्तो अभागी व्यक्ति हुन पुगेको छु जसको विवाह नै सोचेको जस्तो किसिमले सफल हुन सकेन, जब कि अन्य व्यक्तिहरूको विवाह सफल नै भएको देखिन्छ । त्यतिखेर मलाई कुन कुरा थाहा थिएन भने अरुहरूको पनि यस्तै दुर्दशा हुनेगर्छ, हरेक व्यक्ति मैले जस्तै आफूलाई महाअभागी सम्झनेगर्छ । जो कोही पनि आफ्नो दुर्भाग्यलाई असामान्य र लज्जाजनक ठान्नेगर्छ र त्यसलाई अन्य व्यक्तिहरूबाट लुकाउने प्रसास गर्छ , यति मात्र होइन, अझ उसले त आफैबाट समेत त्यसलाई लुकाउनेगर्छ र आफ्नो अगाडि समेत यो कुरा स्वीकार गर्न चाहँदैन ।
हाम्रो विवाहको लगत्तैपछिदेखि नै यो विद्वेष शुरु भैहाल्यो । हाम्रो बीचमा घृणा र वैमनस्यको भाँजो झन् झन् गहिरो र फराकिलो हुँदैगयो । विवाह भएको पहिलो साताभित्रै मेरो अन्तरात्माले के अनुभव गर्न थालिसकेको थियो भने म बल्छीमा परिसकेको छु, सबै कुरा मेरो मनोकांक्षाको विपरीत हुँदैछ, मेरो विवाह नै सुखमय घटना हुनुको सट्टा बडो दुःखदायी दुर्भाग्य बन्न पुगेको छ । किन्तु म पनि अरुहरूले जस्तै यो कुरा स्वीकार गर्न चाहँदैनथें (यदि यसको यति भयङ्कर अन्त्य नभैदिंदो हो त म अहिले पनि स्वीकार गर्दिनथें हुँला ) । मैले यस कुरालाई अरुबाट मात्रै नभई आफैबाट समेत गुपचुप राखेको थिएँ । आफ्नो वास्तविक स्थितिलाई बुझ्न मैले किन नसकेको हुँला भन्ने सम्झना गर्दा अहिले आफै नै छक्क पर्छु । हाम्रो कलह कस्ता सानातिना कुराहरूबाट शुरु हुनेगर्थ्यो भने पछि तिनको सम्झनासम्म पनि रहँदैनथ्यो । कलह समाप्त भएपछि त्यसको कारण नै भेट्टाउन नसकिने एउटै तथ्यबाट समेत मैले सत्य के हो भन्ने कुरा ठम्याउन सक्नुपर्ने थियो । हाम्रो स्थायी पारस्परिक विद्वेषको कूनै आधार भेट्टाउन कुनै ठोस कारण पत्ता लगाउने समेत हामीलाई होश रहँदैनथ्यो । किन्तु यसभन्दा पनि बढी अनौठो कुरा त के थियो भने जुन उपायहरूद्वारा हामी आफ्नो कलह साम्य पार्नेगथ्यौं ती त अझ बढ्ता फोस्रा हुन्थे । कहिले एक-दुई शब्दद्वारा, कहिले स्पष्टीकरणद्वारा, कहिले आँसुद्वारा … । अहो ! एक दोस्रोलाई अत्यन्त कठोर शब्दहरू भनिसकेपछि पनि कहिलेकाही त हामी अचानक चूप लागेर एक अर्कालाई पुलुक्क हेर्नेगर्थ्यौ, लज्जाएर मुसुक्क हाँसिदिन्थ्यौं, उक अर्कालाई म्वाइँ खान्थ्यौं र अँगालोमा अठ्याइहाल्थ्यो ।… छि : ! आज यो कुरा सम्झँदा समेत घिन लागेर आउँछ । उफ् ! यसभन्दा बढी नीचता अरु के हुन सक्छ ? यी सारा क्रियाकलाप यतिसम्म घृणास्पद हुँदाहुँदै पनि मैले त्यस बेला किन देख्न नसकेको हुँला ? …”
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।