गाउँमा रसद जम्मा गरिने भएको छ भन्ने र दोन नदीको तल्लो तलहटीबाट लुटेराहरू गराउँदै छन्‌ भन्ने पनि गाइँगुइँ सुनिन थालेको थियो । गाउँ सभाहरूमा कार्यकारिणी समितिका सदस्यहरू समेत आपस्तमा कानेखुसी गर्दै खबरको आदान-प्रदान गर्देथे। तर बूढा गाभ्रीलाले भने धरमरमा रहेको कार्यकारिणी समितिको संघारमा कहिल्यै पनि टेकेनन्‌ । यसको उनलाई आवश्यकता नै महसूस हुँदैनथ्यो। तसर्थ उनले धेरै कुरा सुनेकै थिएनन्‌, न त केही कुरा थाहा नै थियो। यसैले गर्दा एक पल्ट आइतबारको दिन, जब भेडाको भुवादार छालाबाट बनाइएको साबर रङको ज्याकेट लगाएका र बन्दूक भिरेका तीन जना मानिसहरूको साथमा दोपहरपछि स्वयं अध्यक्ष नै उनलाई भेट्न भनी आए, उनलाई यो ज्यादै नै अनौठो लाग्यो।

अध्यक्षले बूढा गाभ्रीलासँग हात मिलाए र पछिल्तिरबाट घुच्चुकमा एक घुस्सा दिएझैं गरी एकाएक सोधे-

“नढाँटीकन भन्नोस्‌, बूढाबा ! अन्नपात कति छ नि घरमा ?”

“के त तपाईं हामीलाई हावा मात्र खाएर बाँचिरहेको भन्ठान्नु हुन्छ ? ”

“बकबक गर्ने काम छैन ! भन्नोस्‌, अनाज कहाँ राख्ने गर्नु भएको छ ?”

“धनसारमा त हो नि !”

“देखाउनोस्‌ ! ”

“मेरो अन्न जाँच्ने तपाईंलाई के खाँचो? थाहा पाउन सकिन्छ कि ?”

एक जना हट्टाकठ्ठा स्वणकेशी अग्लो जवान मान्छेले जाडोमा गोडाले भुइँ बजार्दै भन्यो-

बचत अन्न राज्यको लागि बटुल्दै छौं। रसद-बचत क्या ! के तपाईंले सुन्नु भएको थिएन र बूढाबा ?”

त्यो मान्छे यसो हेर्दाखेरि हाकिम नै होला जस्तो देखिन्थ्यो ।

“यदि मैले एक गेडो पनि दिन चाहिनँ भने नि ? ” रीसले बम्किंदै गाभ्रीलाले कड्केर सोधें ।

“तपाईंले दिइरहनु पर्दैन! हामी आफै लिन्छौं ! ”

अनि उनीहरूले अध्यक्षसंग खासखुस कुरा गरे र धनसारमा अन्नको भकारी जाँच्न -थाले उनीहरू हिउँमा लतपतिएको बूट नै लगाएर एक एक गेंडा केलाएर सफा गरिएको निक्खर पहेँलो गहुँको रासमाथि चढिसकेका थिए। अग्ले स्वरणकेशीले चुरोट सल्कायो र त्यसको सर्को तान्दै फैसला: सुनायो –

“बीउको लागि र गाईवस्तुको निम्ति चारादानाको लागि छाडेर बाँकी रहेको सबै अन्न सर्कार लाग्छ। ”

उसले अन्नको अन्दाज लगाउने हिसाबले एक नजर दौडायो र बूढा गाभ्रीलातर्फ फर्केर सोध्यो-

“कति जग्गामा बीउ छर्ने विचार छ? ”

“भुत्रो छर्छ बीउ…।”-गाभ्रीलाले दाँत किट्दै भने । त्यसपछि मुख बंग्याउँदै लहरे खोकी खोक्दै उनले थपे। लैजाऊ, मोरा हो ! .. लुट ! .. यो सबै तिमीहरूकै हो ! .. ”

“के बहुलाउन त बहुलाएनौ, बूढाबा ? नकराउनोस्‌, बिनसित्तै ! “-अध्यक्षले बुढा गाभ्रीलाको काँधमा आफ्नो दस्तानाले थपथपाउँदै भने।

“अर्काको सम्पत्तिमा मोज गर! .. अजीर्ण हुने गरी खाऊ ! ..”

स्वणकेशीले आफ्नो जुँगामा जमिरहेको बरफको कण टिप्यो । उसले बूढा गाभ्रीलातर्फ कर्के आँखाले हेर्दै एक व्यंगात्मक नजर दियो र मुस्कुराउँदै शान्त स्वरमा भन्यो –

“हेर्नोस्‌, बूढाबा ! हाड नभएको जिब्रोमा लगाम लगाउनोस्‌ ! घोडा जथाभावी उफ्रन नपाओस्‌ ! बम्केर अब केही फाइदा छैन! कसैले तपाईंको पुच्छरमा पो कुल्चिदियो कि त? ”-अनि उसले आँखीभौं एकै ठाउँमा समेट्दै आफ्नो स्वरमा अचानक कठोरता ल्याउँदै थप्यो । “बकबास रोक्नोस्‌ ! .. यदि जीव्रो असाध्यै चिलाइरहेको छ भने दाँतले टोकेर चिलाइ मेट्नोस्‌ ! … विरोधमा प्रचारको लागि त…”- उसले पूरा वाक्य नटुंग्याईक्नै कम्मरमा लट्किरहेको पिस्तोलदानीमा हातले थपथपायो र अलि नरमसित भन्यो- “आजै लगेर बचत अन्न बुझाइदिनोस्‌ ! ”

बूढा गाभ्रीला डराएका त होइनन्‌, तर स्पष्ट र ओजदार स्वरले उनलाई सचेत गराइहाल्यो र बास्तवमा नै हल्लाखल्ला मच्चाएर केही तातो छारो लाग्दैन भन्ने उनले बुझे। अनि कुम हल्लाएर उनी ढोकातर्फ बढे। तर उनी बीच आगनमा पुग्न पाउँदा नपाउँदै एउटा भद्दा चिच्पाहट सुनेर उनी झस्किए,

“कहाँ छन्‌ यी रसदवालाहरू? ! ”

बूढा गाभ्रीलाले फर्केर हेरे। कठबारको पल्लोपट्टि एक जना घोडचढी उफ्रँदै हिनहिनाइरहेको आफ्नो घोडालाई लगाम तानेर रोक्दै थियो। कुनै अप्रत्याशित कुरा हुन गइरहेको चाल पाएर बूढाका तिघ्राहरूमा कम्प छुट्यो। उनले मुख खोल्न मात्रै के आँटेका थिए, घोडचढीले धनसारनेर एक जनालाई उभिइरहेको देखी आपनो घोडालाई टक्क अड्यायो र चालै नपाइने किसिमबाट झटपट काँधमा रहेको बन्द्रुक आफ्नो हातमा लियो।