Chovar Blues Mobile Size

सान्द्रा सिस्नेरोज

सान्द्रा सिस्नेरोजको यो कथा मैले उनको पहिलो लघुउपन्यास ‘द हाउस अन म्याङ्गो स्ट्रिट’बाट लिएकी हुँ । भिग्नेटे शैलीमा लेखिएको उक्त उपन्यास स–साना कथाहरुको बिम्बात्मक संग्रह हो, जसको प्रमुख पात्र स्पिरेन्जाले आफूजस्तै धेरै आप्रवासीहरुका भिन्दाभिन्दै कथा भन्छिन् । यो कथा उपन्यासको अन्तिम कथा हो, जसमा कथाकी नायिकाले ‘घर’को बिम्ब र एउटा आप्रबासीको रुपमा यसको महत्त्वलाई नजाँनिदो तरिकाले व्याख्या गर्छिन् । कति कुरा बिर्सन खोजेर पनि बिर्सन सक्दैनौँ, यो यस्तै छुट्टिन चाहेको तर कहिल्यै हृदयबाट छुट्न नसकेको घरको कथा हो ।

मलाई कथा भन्न मनपर्छ । म मनमनै भन्नेगर्छु । हुलाकीले तिम्रो चिठ्ठी यहाँ छ, ‘तिम्रो चिठ्ठी’ भनिसकेपछि म भन्ने गर्छु ।
म आफ्नो जीवनको लागि एउटा कथा बुन्छु, जसरी मेरा खैरा जुत्ताहरुले एक एक पाइला चाल्छन् त्यसरी नै । म भन्छु, ‘र, त्यसैले ऊ अफ्ठेरोसाथ काठका खुटकिलाहरुमा पाइला टेक्छे । उसका निराश खैरा जुत्ताहरुले उसलाई त्यो घरमा लाँदैछन्, जुन उसलाई कहिल्यै मनपरेन ।’

सान्द्रा सिस्नेरोस

मलाई कथाहरु भन्न मनपर्छ । म त्यो केटीको कथा भन्दैछु, जो यो आँप सडकको घरभित्र कहिल्यै अट्न चाहिनँ ।
हामी सधैं आँप सडकमा बसेनौं । त्योभन्दा पहिले लुमिजको तेस्रो तलामा बस्थ्यौं । त्यो भन्दा पनि पहिले केलरमा बस्यौं । केलर अगाडि पौलिनमा तर म अधिकांशतः आँप सडकलाई नै सम्झन्छु । त्यो रातो र निराश घर, जसलाई म आफ्नो ठान्छु ।

म यी सबै कुराहरु पानामा उतार्छु तर मेरो इतिहासले मलाई त्यति पिरोल्दैन । म लेख्छु – यदाकदा आँप सडकले मलाई अलबिदा भन्छ । उसले मलाई बाँधेर राख्दैन । मलाई उड्न दिन्छ, आफ्नै सपनाको उडानमा ।

एकदिन जब म आफ्ना किताबकापी पोको पार्नेछु र साँच्चिकै आँप सडकलाई अलबिदा भन्नेछु तब म उसलाई सदासदाका लागी हृदयमा राख्न सक्ने भैसकेकी हुनेछु । एकदिन म यहाँँबाट पर पुग्नेछु ।

साथीहरु र छिमेकीहरुले भन्नेछन्, के भयो यो स्पिरेन्जालाई ? किन ऊ किताबकापीसँगै गई ? किन ऊ यति पर गई ?
तर उनीहरुलाई थाहा हुनेछैन, म फर्कनकै लागि गएकी हुँ । उनीहरुका लागि जसलाई मैले पछाडि छोडेँ । उनीहरुका लागि जो यो सडकबाट कहिल्यै बाहिर निस्कन सक्दैनन् ।