डेनमार्कको एउटा कला म्युजियमले एक जना कलाकारलाई ८३ हजार डलर तिर्यो । उसले भन्यो, तिम्रा दुई पुराना सुन्दर कलाकृतिलाई नयाँ तरिकाले पेन्टिङ गरेर हामीलाई देऊ । त्यसबापत यो रकम राख ।

कलाकारले त्यो रकम राखे तर उनले पुराना पेन्टिङको नयाँ प्रतिकृति होइन, नयाँ दुई क्यानभास दिएर पठाए ।

कुनै रमाइलो ठट्टा होला भनेर म्युजियमले गएको जनवरीमा कलाकार जेन्स हानिङको सो खाली क्यानभासलाई प्रदर्शनीमा राख्यो ।

गएको महिना सो क्यानभास डेनमार्कको कुन्स्टेनस्थित म्युजियम अफ मोर्डन आर्टमा प्रदर्शनीका लागि राखिएको थियो । प्रदर्शनी सकिएपछि म्युजियमले कलाकारलाई चित्र फिर्ता लैजान भन्यो । कलाकारले अस्वीकार गरे ।

क्यानभास फिर्ता नलैजाने भएपछि म्युजियमले उनीसँग उनलाई दिएको कला कमिसनको रकम फिर्ता माग्यो । उनले भने दिन अस्वीकार गरिरहेका छन् ।

एउटा कलाकारले रकम पचाउन हुने नहुने भन्नेबारे यतिबेला ठूलो बहस चलिरहेको छ । कलाकार जेन्स हानिङले भने सो रकम आफूले लिने र यो कलाको लागि तिरिएको रकम भएकाले लिनु बेइमानी नहुने बताएका छन् ।

‘क्यानभास खाली होला, तर त्यहाँ कला छ,’ हानिङले न्युयोर्क टाइम्ससँग भनेका छन्, ‘मैले राम्रो कलाको पिस सिर्जना गरेँ भन्ने विश्वास छ, नत्र त म्युजियमले किन भित्तामा टाँस्थ्यो होला र ?’

यसअघि पनि उनले यस्तै केही चमत्कार गरेका थिए । उनले प्रदर्शनीमा राखेका क्यानभासमा अस्ट्रिया र डेनमार्कका कलाकारहरूको दैनिक ज्याला रकम टाँसिदिएका थिए । तिनले पाउने ज्यालादारी रकम निकै कम भएको भन्दै विरोधस्वरूप गरेको उनको कला प्रतिरोधको चर्चा निकै ठूलो भएको थियो ।

यस्तो चर्चाका लागि उनले बेलाबेलामा काम गरिरहेका हुनाले अहिलेको यो रकम र पचाइएको पैसा सबै नयाँ नाटक भएको केहीको बुझाइ छ ।

यतिबेला जब हानिङले खाली क्यानभासको त्यति ठूलो रकम लिए र रकम फिर्ता गर्न मानेनन्, म्युजियम निर्देशक लासे एन्डरसन त्यसलाई फिर्ता कसरी ल्याउने भन्ने सोचमा छन् । हानिङले सिधासिधा फिर्ता नदिए मुद्दाको तयारी गर्ने तयारी भइरहेको एन्डरसनको भनाइ छ ।

यता हानिङ चाहिँ जस्तोसुकै मुद्दा हाले पनि आफू त्यसका लागि तयार रहेको तर पैसा फिर्ता गर्ने कुनै मनशाय नरहेको उनी बताउँछन् ।

सन् १९५८ मा पनि भेस क्लेनले एउटा ठूलो प्रदर्शनी हलमा खाली क्यानभास राख्दा त्यो खाली क्यानभास हेर्न हजारौँ दर्शक ओइरिएका थिए । अहिले हानिङले सोही कुरा दोहोर्याएकाले त्यो कुनै नयाँ काम नभएको हानिङको आलोचक बताउँछन् ।

यो घटनाको पटाक्षेप कसरी हुन्छ, त्यो चाहिँ हेर्न बाँकी नै छ ।