अमल बजारबीचमा रहेको खुला चोकतिर लाग्यो, जहाँ उसका दामले साथीहरू भेला भएका थिए । दसैँको रमझमले सानो बजारलाई गाँजिसकेको थियो । मुन्डा घरका रङ्गीचङ्गी बिजुली बत्तीहरू, डाइस खेल्ने र रमितेहरूको हल्ला, दुर्गा पूजाको पन्डाल छिचोलेर निस्केको भजन सङ्गीत, पटका र झिरझिरेका साना ठुला आवाजहरू, धुप र बत्तीका पातलो गन्ध, अमल त्यसै फुरुङ्ग हुँदै रमाउँदै यो सब अनुभव गरिरहेको थियो ।

मनोजबाबु पनेरु

वरिपरिका बत्तीले चोक त्यसै उज्यालो थियो । भुराहरू चोर-पुलिस खेलिरहेका थिए । अमललाई देखेर, विकल खेल्न छाडेर उसको छेउ आयो र रबाफ लगाउँदै भन्यो- “हेर् ! मेरो नयाँ लुगा । योभन्दा ठुलो बजारबाट बाबाले किनिदिएको, बुझिस् ।” विकलले अमलतिर औल्याउँदै थप्यो, “लौ, थोत्रे लुगा भिरिस् ! तेरा घरमा दसैँ नआउने भयो अब” ,अमल झसङ्ग भयो । अमल पूजाको झिल्के जामा हेरेर टोलाइरहेको थियो । विकलको प्रश्नले अमल अलमलमा पऱ्यो । साँच्चै, उसको नयाँ लुगा खोइ हँ ? दसैँ पनि आइसक्यो, उसका सबै साथीका नयाँ लुगा पनि आइसके । थोत्रा लुगामा अमलले आफूलाई निकै बाउन्ने पायो । आफैँले आफैँलाई डाढस दिँदै भन्यो “अब आउने हाटमा किनिदिने अरे” । उसलाई थाह छ, ऊ सरासर झुट बोलिरहेको छ किनकि उसको घरमा त्यस्तो कुनै तयारी छैन । फेरि अर्को हाट त टीकापछि पो छ । धन्न कसैले बार गनेनन् । विकलले भनेजस्तो उसको घरमा दसैँ नआउने पो हो कि ? परिस्थितिलाई हाल टारे पनि ऊ भित्र डराएको थियो ।

“यो पटका सल्काउन ! मलाई त डर लाग्छ” पूजा हातमा पटका लिएर अनुरोध गर्दै थिई । अमलले अरू साथीहरूको मुख हेऱ्यो । सबै अनकनाइरहेका थिए । “नाइँ ! म पड्काउन्न हात पोल्छ” ,कसैले भन्यो । अमल पनि डराएको थियो तर उसले सोच्यो, यिनले नयाँ लुगाको धाक दिए म पनि पटका पड्काएर रबाफिलो बन्न पाउँला ।

अमलले पूजाको हातबाट पटका लिएर भुईँमा राख्यो । सबै भुराहरू केही पर सरे । अमलले डराई डराई सलाई पाऱ्यो र आँखा चिम्लिएर पटकाको सुत्लीमा झोस्यो र हुल भएतिर कुद्यो । ऊ नपुग्दै चोक थर्काउने गरी पटका पड्कियो । सबै थपडी मार्दै रमाएर उफ्रिए । अमल केही तर्सिएर उफ्रियो । पूजाले सोधी “तिमीलाई डर लागेन ।” उसले नलागेको भावमा टाउको हल्लायो र केही उफ्रिँदै भन्यो, “यिनीहरू त सबै डर छेरुवा ।” अहिलेको उफ्राइमा भने ऊ रमाएको थियो । अमलले केही शीतल महसुस गऱ्यो । यिनले नयाँ लुगा लगाएर दसैँ बोलाए भने मैले पनि त पटका पड्काएँ । अब त मेरो दसैँ कसो नआउला ? मनभित्रको सबै डर ननिथारिए पनि अमल केही ढुक्क भयो । नयाँ लुगा नभएको हीन-तुष भने उसको मनमा बाँकी नै थियो ।

“मलाई त भोक लागेको छ, घर पुगेर आउँछु है ।” अमल समूहबाट छुट्टिएर घरतिर हान्नियो । उसलाई आमाले नयाँ लुगा किनिदेलिन् ? सोध्न त पऱ्यो । उसको सोचमा ठुलो प्रश्न चिह्न लाग्यो । बाले फेरि पैसा छैन भन्नान् । उसलाई थाह छ अरूका लुगा सिलाएर जीविका चलाउने उसका बाआमासँग अरूका झैँ पैसा हुन्नन् । खानै त धौ-धौ छ । हैन, जसरी भए पनि किन्दिनैपर्छ । नत्र उसको घरमा दसैँ कसरी आउँछ । शङ्का साँचा भयो भने ! डरले खेदाएर उसलाई छिट्टै घर पुऱ्यायो ।

बाहिरझैँ घर उज्यालो थिएन । दुई बबुरा टुकी सकेजति अँध्यारो चिर्दै थिए । घरधनीलाई मिटरअनुसारको पैसो तिर्न नसकेकाले लाइन काटिदिएका हुँदा हुन् । यो पटके कारण थियो । अमलले कुनै अनौठो महसुस गरेन । बाआमा दुवै थिएनन् । बा भट्टीतिर गए होलान् । आमा आजको चामल र नुन-भुटुन लिन । उसले आफैँलाई उत्तर दियो । आमा सम्झिएपछि भने उसको भोक झनै बढ्यो । बाहिर कोक्रामा उसकी बहिनी रुँदै थिई । ऊ यादै नगरी भित्र छिऱ्यो । चुलामा केही खानेकुरा नदेखेर ऊ रनथनियो र फेरि बाहिर फर्कियो ।

निस्कँदै गर्दा ढोकाको बाहिरी कुनाको खाटमा थुप्रिएका लुगामा उसका आँखा जब ठोक्किए उसको सबै भोक हरायो । थुप्राको छेउमा लुगा सिउने कल थियो । ऊ कल थोरै सारेर थुप्रो खोतल्न थाल्यो । ती उसका बाले सिलाएका अरूकै लुगा हुन् भन्ने हेक्का रहेन । उसले मात्र लुगा देख्यो । दसैँ बोलाउने नयाँ लुगा ।

अब भने आफ्नै मूर्खाता सम्झेर अमल आफैँसँग रिसायो । म नि हुस्सु नै हुँ । यतिका नयाँ लुगा भएपछि दसैँ नआई धर । थुप्रोबाट खोतलेर आफूलाई मिल्लाजस्तो प्यान्ट र सर्ट निकाल्यो । हतार-हतार तिनै पुराना लुगामाथि नयाँ लुगा थुपाऱ्यो र फेरि चोकतिर हान्नियो ।

चोकमा उसका साथीहरू अझै खेल्दै थिए । परैबाट कराउँदै आयो, “देख्यौ ! मेरा पनि नयाँ लुगा छन् ।” “हो धेरै नयाँ रछ । अझै पनि थान कपडाझैँ बास्ना आउँछ” ,कसैले आधिकारिकता थप्यो । अमल मक्ख पऱ्यो । उसले पूजासँग मागेर फेरि पटका पड्कायो । यसपटक ऊ सबैभन्दा रमाएर उफ्रियो । ऊ फुलेल थियो । उसले विकललाई निर्धक्क धक्कु लगायो । “नयाँ लुगा पनि छ । पटका पनि पड्काएँ । दसैँ, अब मेरो पनि आउनेछ, बुझिस् ।” अमलको सबै डर निथ्रिएको थियो ।

सबै बिस्तारै लाखापाखा लागे । अमलले पनि भोक लागेको सम्झियो । उसको मन उडिरहेको थियो । ऊ चालै नपाई घर आइ पुग्यो । घर छिरिसक्दा अघिको न्यानो अनुभूति भने एक्कासि चिसियो । उसका बा सिलाएर ठिक्क पारेका लुगा हराए भनेर रनथनिरहेका थिए । अमल डरले काँप्दै बाका अगडि उभिएको थिए । हराएका नयाँ लुगा लगाएर । नयाँ लुगा लगाएर उभिएको अमल देखेपछि उनको रिसको पारो जोडसँग उकासियो । “तेसिमा झयाक्ने ! घरमै चोर । लुगा मालिकले थाहा पाए भने के गर्छन् थाह छ ?” अमलले वरिपरि तारा देख्ने गरी चड्कन भेट्यो । केही थप चड्कनसँगै, रुँदै उसले दसैँ उताऱ्यो । दसैँ बोलाउने सुरमा भएको उसको मौलिक प्रयास बाले बुझ्ने सम्भावना नै थिएन । उसलाई बाले कुटेको, दुःख थिएन । यो भै परी आउने कुरो थियो । दसैँ नआउला भन्ने दुःख भने फेरि बौरिएको आयो ।