टाउकामा
ठ्याक्कै कन्सिरीका टाङमुनि
बुढो चिलाउनेको
धोत्रो ठुटोको छेउछाउ
लस्करै उम्रिएका
च्याउकै हुलियामा
कसैले ट्वास्स टाँसिदिएझैँ
छ, यो कान ।
कानका बाहिरी भागले सुन्दैनन्
न यो सुन्दर छ,
मेरो ठुल्दाइको कान झन् नराम्रो छ
हरेकलाई आआफ्नो कान राम्रो लाग्छ
मान्छे कानका लागि ऐना राख्दैन
हुन त ऐना आन्तरिक रहस्य बताउँदैन
कानको माथिल्लो भागमा
लस्करै उम्रिएका लामा-लामा
सिन्के कपालहरूले कान झन्
कुरूप देखिन्छ ।
मैले गरेका ससाना गल्तीमा
मास्टरले यसैलाई बटारिदिन्थे
दुख्थ्यो तर नदुखेको भए पनि हुन्थ्यो
किनकि यसको खासै काम छैन
मेरी आमा दिदिबहिनीहरूले
कानका माथिल्लो भागदेखि
तल्लो भागसम्म
प्वालैप्वाल बनाएको
केही हदसम्म ठिकै थियो
लटरम्म सुन फलाएको मलाई मन पर्दैन
किनकि त्यहाँ आर्थिक हानि छ ।
मैले झल्याँस्स मेरी आमादिदी बहिनीको सुन फलेको कान सम्झेँ
चिट्चिट पसिना आयो जुरुक्क उठेँ र आगन र पिँढीतिर हेरेँ
सुन फलेका आफन्त कानहरू
गफ सुनेर नाचिरहेका थिए जो
कागले कान नलगेकोमा
खुसी लाग्यो ।
कानको जाली फुट्ने काम गर्नु हुन्न
जाली फुट्यो भने
मान्छेले कान सुन्दैन
हो त्यही सुन्ने भाग हो काम लाग्ने
यसैले केही बहुलट्ठी मान्छेहरू
कानको बाजी राख्छन्
मैले भनेको मिलेन भने
कान काटेर पातमा राख्छु भन्छन्
भन्नु र गर्नुको अन्तर नाप्ने हो भने
ठूलो खाडल छ
मैले कहिले पनि देखिनँ –
तर बाजी हारेर काट्नैपरे पनि
त्यो सुन्ने भाग काट्नु नपर्दो रहेछ
यसैले कानको बाजी जालीको बाजी होइन
हो नै भने पनि यो ठट्टाबाजी हो भने हुन्छ
कसैले कान काटेर
पातमा राखेको कमसेकम मलाई चाहिँ थाहा छैन ।
केही ठुलाहरू साना नानीहरूको
डर कोट्याउछन् र जिस्काउँछ्न्
तिम्रो कान काटिदिऊँ ?
साना नानीहरू यसरी जिस्क्याउने ठुलालाई
कान काट्ने मान्छे भन्छन्
तर तिनीहरू पनि हामीजस्तै हुन्
तिनीहरू कान काट्दैन् ।
म च्याउको सिजन आएपछि
मेरो कान सम्झन्छु
ठुल्दाइको कान सम्झन्छु
च्याउको सिजनमा तिज आउँछ
तीजमा मेरा चेलिबेटीका कानमा
अझै धेरै झपक्क सुन फल्छ
मलाई आफन्त कानहरूमा
लटरम्म सुन फलेको
पटक्कै मन पर्दैन
किनकि
त्यहाँ ठूलो आर्थिक हानि छ ।
एक दिन एउटाले
कागले कान लग्यो कान लग्यो भन्यो
मान्छेहरू कागको पछि लागे
मैले मेरो कान लगे पनि लगोस् झैँ गरेर बसिरहे
मैले मेरो ठुल्दाइको झुत्रे कान लगे पनि लगोस् झैँ ठाने ।
बेलाबखत धेरैको कागले कान लान्छ
लान त के लान्थ्यो बिचराले
दोष मात्र पाउँछ
कान नछामी कागका पछि लाग्नेहरूको जत्था
देशमा छ्यापछ्याप्ती भएका बेला
म हैरान छु –
जे भन्यो त्यही पत्याउने अधबेस्राहरूबाट
कानका नाममा काग पोल्नेहरूबाट
अहिले आजित छ मेरो देश ।
(चितवन)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।