पोस्टरकविताले ५२ औँ शृङ्खलामा छलाङ लाइसकेको छ। लगभग ७०० भन्दा बढी कविताहरू साहित्यपोस्टको पोर्टलमा प्रकाशित भइसकेका छन् र कविहरूको संख्या पनि दिनदिनै बढिरहेको एउटा सुखद् अवस्था छ। पोस्टरमा कवितालाई पस्किनु कुनै नयाँ कुरा थिएन। यसभन्दा अघि यस्ता अनेकन् कविता चित्रसहित पत्रपत्रिकामा नछापिएका होइनन् तर यता साहित्यपोस्टमा यसलाई एउटा अभियानको रूप दिएर दिगो राख्ने यो पहल सफल बनेको छ। पोस्टरमा प्रत्येक बिहीबार १५ कविहरूका कविता गरेर मात्र हेर्नु हो ७०० वटा कविताहरू अनुरुपको आकार्षित पार्ने चित्रहरू कोरिनु र निरन्तरता दिनु गजब कुरा भएको छ।
हिन्दी साहित्यमा पोस्टरकविता नै अघिदेखि चर्चामा आएको हो। यसले सामूहिक आन्दोलन र जनचेतनाको काम प्रवल रूपमा गरेको भेटिन्छ। पोस्टरकविताको खासियत त छोटोमा गज्जब कुरा राख्नु र चित्रबाट भावर्थलाई अर्थपुर्ण बनाउने हो।
यता नेपाली साहित्यमा यस विषयमा यतिको लामो समयसम्म निरन्तरता दिनु र काम गर्ने प्रथम श्रेय त सायदै साहित्यपोस्टलाई नै जान्छ। विश्वभरिका नेपालीभाषी कविलाई एउटै मञ्चमा एकजुट भएर कविताको सामर्थ्य देखाउने एउटा निकै प्रभावशाली साहित्यिक गतिविधिमा कविहरूको संलग्नतालाई लिएर गरिएको यस कामको सराहना चौतर्फी रूपमा भइराखेको छ।
कवितामा आफ्नो विचार र कलालाई केही बेग्लै किसिमले सचेत भएर राख्ने काम कविहरूबाट भइराखेको छ। पोस्टरकविताले सिमानाहरू तोडिदिएको छ। नयाँ र पुराना औ अग्रज र अनुज, यी सबैलाई ठाउँ दिएको छ। कविहरूका शक्तिशाली कविताले पोस्टरकवितामा ठाउँ पाएको हो। पोस्टरकविताले कविको मन राखिदिन वा चापलुसीपनमा आजसम्म कविता छापेको छैन। सामाजिक सचेतनामा कविहरूले लेखेका कविताले ठाउँ पाएको हो । वैचारिक पक्षधरता र वैचारिक स्पष्टताले हो, कविलाई सबल बनाउने। कविताहरू लेखिँदैछ तर पोस्टरकविताले पाठकलाई प्रभावित पार्ने काम कसरी छोटोमा कविता लेखेर गर्न सकिन्छ भन्ने कुरामा विश्वास जगाएको छ। कविताको कलात्मक उचाईलाई माथि पुर्याएको छ, पोस्टरकविताले।
एकैपल्टमा यति थुप्रै कविका कविता बकवास लाग्यो र यसरी छाप्नु हुँदैनसमेत भने केही कविताप्रेमीले। तर पोस्टरले एउटै सबै कविलाई एकै ठाउँमा देखाउनु कविताको सामूहिक शक्ति प्रदर्शन गर्नु पनि हो । पोस्टरको सौन्दर्यबाट साहित्य र कला बोध गराउने यो एउट पहल पनि हो। यसमा देखापर्ने कविहरू समाजलाई सही दिशातर्फ हाँक्ने सचेत नायक हुन्। सिनेमाको हिरोले सिनेमा खेलिसकेपछि उसको सुन्दर अभिनयबाट ऊ जसरी सेलिब्रेटी बन्छ भने समाजको सरोकारमा राम्रा कविता लेख्ने खाँटी कविहरू पनि ती सेलिब्रेटी भन्दा कम होइनन् ।
एउटा कवि मनमा हिरोइजम सधैँ हुन्छ, ऊ समाजका दुश्मनसित निडरता साथ लडिरहन्छ र कलमले आवाज उठाइरहन्छ। यी सबै कविहरूलाई एकै बसाईमा पढिसक्दा प्रत्येक बिहीबारको बिहान पाठक तरोताजा हुने र स्फूर्तिले भरिन्छ। कविता पढ्नेहरू ऊर्जाले भरिन्छन्। कविता पढेर पाठकलाई केहीबेर गम्भीर पनि हुन बाध्य बनाइरहेछ, पोस्टरकविताले। धेरै पाठकहरूले एकसाथ एक ठाउँ पढ्नु पनि साधारण कुरा होइन, यो कविहरूले पाएको राम्रो प्रतिक्रिया ठान्छौ।
पोस्टरकविताले पाठकको ध्यान खिँच्न सफल बनेको छ। प्रत्येक बिहीबार साहित्यपोस्टमा यी १५ भन्दा बढी कविका कविता छापिरहेका छौँ। बुधबारको दिन बिहीबार आउन लागेका कविका कविताबारे सबै पाठक र कविताप्रेमीको ध्यान तान्न कविहरूका फोटो र नामसहित रङ्गीन पोस्टरमा बनाएर लाउँछौँ जस्तो कि प्रत्येक शुक्रवार कुनै रिलिज हुन लागेको सिनेमाको पोस्टर हेरेपछि श्रोताहरूमा सिनेमा हेर्ने कौतुहलता जाग्छ, पोस्टरकविताले पनि पाठकहरूमा त्यही उत्सुक्ता जगाउनलाई त्यसो गर्दै आएका छौँ ।
असाधरण पाठकहरूको ध्यान पोस्टरकविताले तानेको छ, यो हामीले पाएको सबैभन्दा ठूलो सफलता हो।
रवि रोदन
सम्पादक
पोस्टरकविता अभियान
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।