डा. शङ्करप्रसाद गैरे आधा दर्जनभन्दा बढी कृतिहरूको धनी छन् । `कृष्ण´ उनको दोस्रो औपन्यासिक कृति हो । उनी पाल्पामा बसेर साहित्य सेवा र तानसेन त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गरिरहेका छन् ।

कृष्ण उपन्यास पौराणिक कथामा आधारित भएर मिथकीय प्रयोगमा लेखिएको उपन्यास हो । साहित्यमा हुने मिथकीय प्रयोगका बारेमा थोरै प्रकाश पार्न चाहेँ ।

जनक कार्की

प्रख्यात मनोवैज्ञानिक कार्ल युङले मिथकलाई सामूहिक चेतनाको अभिव्यक्ति मानेका छन् । हुन पनि मिथकमा मानवजीवन, जीवनप्रक्रिया र मनुष्यका चारैतिर काम गरिरहेका शक्तिहरूका विषयमा तिनीहरूका अनुभूति र संवेदनाको प्रतिनिधित्व भएको पाइन्छ । मिथकलाई संस्कृतिको बहुमूल्य अङ्ग पनि मानिन्छ । विश्वका प्रत्येक महान् संस्कृतिले ब्रह्माण्डको अस्तित्व र त्यसको भौतिक तत्त्वमा अन्तर्निहित शक्ति, विश्वको रचना तथा मानवीय एवं नैतिक मूल्यलगायत तमाम सङ्घर्षका कथालाई मिथक र तिनै पात्रहरूका माध्यमद्वारा अभिव्यक्त गर्ने प्रयत्न गरेका छन् । (मिथक : सिद्धान्त र प्रयोग, बद्रीप्रसाद ढकाल )

विश्व साहित्य लेखनमा मिथकको प्रचुर मात्रामा प्रयोग भएका पाइन्छन् । पूर्वीय र पाश्चात्य दुवै साहित्य वृत्तमा मिथकलाई समातेर महान् कृतिहरू लेखिएका छन् । पूर्वीय साहित्यका चर्चित पुस्तकहरू महाभारत, रामायणलाई मिथक साहित्यको पङ्क्तिमा राख्न सकिन्छ भने डिभाइन कमेडी, इलियड, प्याराडाइज लस्ट, प्रमिथस पनि मिथक साहित्य नै हुन् ।

मिथकमै रचित माधवीजस्तो शास्त्रीय र कालजयी उपन्यासका पिता मदनमणि दीक्षित भन्छन्, “मिथक भनेको कल्पना, अनुमान र सत्य हो ।”

महाभारत संस्कृत साहित्यको सबैभन्दा उत्कृष्ट महाकाव्य हो । जसलाई पूर्वीय अध्यात्मसँग जोडेर हेरिन्छ । यस कृतिभित्रको युद्धस्थलमा भएको श्रीकृष्ण र अर्जुनको संवाद जसलाई अलग्गै श्रीमद्‌भागवद्गीताको नामले चिनाइएको छ । त्यो संवाद तमाम वेद र उपनिषद्‌हरूको सारांशका रूपमा आएको हुनाले अरू ठूला पुस्तक नपढे पनि त्यति पढेरै अथाह बौद्धिक ज्ञान हासिल गर्न सक्छन् ।

हामीले नेपाली साहित्यमा आजका दिनसम्म महाभारतको मिथकमा आधारित थुप्रै साहित्यिक कृति पाइसकेका छौँ, जसमा द्वन्द्वको अवसान (राजेश्वर देवकोटा), योजनगन्धा (विष्णुप्रसाद धिताल), त्रिदेवी (मदनमाणि दीक्षित), राधा (कृष्ण धरावासी), चिरहरण (नीलम कार्की निहारिका), अश्वत्थामा (कुमार भट्टराई) आदि उपन्यासहरू । त्यसैगरी अश्वत्थामा (काव्य) (माधवप्रसाद घिमिरे), धृतराष्ट्र(काव्य) ,ऋतम्भरा (महाकाव्य) (मोहन भण्डारी), आदि दर्जनौँ कृति हामीसँग छन् । यसै भीडमा थपिएको छ, डा. शङ्करप्रसाद गरैको उपन्यास `कृष्ण´ ।

श्रापित अश्वत्थामाको पुर्खाद्वारा वर्णन गरिएको कथा हो कृष्ण । उपन्यासको सुरुवात निकै रोचक लाग्छ । उनले कृष्णलाई कसरी चित्रण गर्छन् होला भन्ने उत्सुकता जगाउँछ ।

वर्तमान समयमा प्रेमको नाममा अनेक षड्यन्त्र हुन्छ । प्रेमको नाम दुरुपयोग गरेर स्वार्थ पूरा हुन्छन् । प्रेमको बहानामा मानिसले लोभी आकाङ्क्षा पूरा गर्छन् तर कृष्णमा राधाकृष्णको प्रेम आदर्श प्रेम भएर उभिएको छ । राधाले कृष्णलाई र कृष्णले राधालाई गरेको निसर्त, निःस्वार्थ र पवित्र प्रेमले घटेको प्रेमको मूल्यलाई भाउ बढाइदिन सहयोग गर्न सक्छ । कृष्णको मनमा सबै स्त्रीप्रति उत्तिकै सम्मान र आदर भए पनि यो कुराले राधालाई कहिले ईर्ष्यामा जलाएन । बरु कृष्णको यस्तो स्वभावले राधालाई कृष्णको मायाँ अझै उच्च लाग्छ ।

कालो रङ्गलाई हाम्रो समाजले कुरूप रङ्ग मान्दै आएको छ तर कृष्ण काला भए पनि कृष्णको सौन्दर्य अझै देदीप्यमान भएर उजेलिएको छ । कालो रङ्ग पनि सौन्दर्यको प्रतीक हु नसक्छ भनेर लेखकले समाजमा मानक मानिएको सौन्दर्यको रङ्ग विभेदलाई चिरेका छन् ।

हाम्रो समाजमा पुरुष र महिलाको जोडीमा उमेरको हिसाब हुन्छ । पुरुषभन्दा महिला उमेरले कान्छी भएपछि मात्र जोडीको आवश्यक पूर्वाधार सम्पन्न हुन्छ तर राधा जेठी भईकन पनि कृष्णले राधालाई गरेको प्रेममा दुवैका घरपरिवारले कुनै प्रश्न नउठाउनुले एउटा क्रान्तिकारी सुरुवातको सन्देश दिएका छन्, लेखकले ।

हामीले देखिरहेको कृष्णको शिरमा सजिएको मयूरको प्वाँख र गलामा सजिएको मोतीको मालालाई लेखकले कथामा राधाले दिएको उपहारका रूपमा चित्रण गरेका छन् । त्यो कथाको प्रसङ्गले पाठकको मनलाई रोमाञ्चित बनाउँछ ।

राधाको त्याग, बलिदान र बेहिसाब प्रेमले उनीप्रति सम्मान जगाउँछ । कृष्णले नियति र प्रारब्धको नियमलाई स्वीकार गरेर राधासँग बिहे नगरे पनि आजीवन राधालाई मात्र प्रेम गर्छन् । उनको विवाह तीन जना स्त्रीसँग भए पनि राधाको स्थान कसैलाई दिन नसक्ने बताउँछन् । राधा आफू नर्कमा जाने कुरालाई स्वीकार गरेर कृष्णलाई मनोरोगबाट बचाउन गरेको पहलले राधालाई आदर्श प्रेमिकाका रूपमा पूजा गर्न मन लाग्न सक्छ पाठकलाई ।

लेखकको प्रमुख उद्देश्य कृष्णलाई मानवीकरण गर्नु हो । अन्ताराष्ट्रिय साहित्यमा हिन्दू धर्मका महान् देवता महादेवलाई अमीश त्रिपाठीले भगवान् शिवमा आधारित भएर ट्रायोलोजी सिरिजको उपन्यास लेखेका छन् । जुन उपन्यास अत्यधिक बिक्री हुने उपन्यासमा पनि पर्‍यो ।

उनको उपन्यासहरू द इमोर्टल्स अफ मेलुहा, द सिक्रेट अफ द नागाज र ओथ अफ द वायुपुत्राजमा शिवलाई मानवका रूपमा प्रस्तुत गरिएको छ । समान्य मानव शिव कसरी महानायक बने, हरेक परिस्थितिलाई कसरी सन्तुलनमा ल्याए, सोमरसको बेफाइदा लगायतका कुराहरू समेटिएको छ ।

लेखकले कृष्णलाई मानवीकरण गर्न खोजिएको भने पनि कति ओटा प्रसङ्गमा पाठकले कृष्णलाई दैवीकरण नै बनाइएजस्तो अनुभव हुन्छ । कंसले कृष्णलाई हत्या गर्न पठाएका एक से एक शक्तिशाली, चलाख र अद्भुत दुस्मनलाई सजिलैसँग कृष्णले परास्त गर्नु, पूतनाले कृष्णको मुहार देखेर मोहित भएर होस् गुमाएर विष लागेको औँला चाटेर आफ्नै मृत्यु हुनु, सुदर्शन चक्रको प्रदर्शन गर्नु, कुनै दिव्य शक्ति पाएको इन्जिनियरजस्तै छोटो समयमा वृन्दावन, इन्द्रप्रस्थ र सुदामाको गाउँ तुरुन्त बनाइदिनु यसका उदाहरण हुन् ।

कृष्ण उपन्यासले नेपाली वर्तमान राजनीतिक, समाजिक, आर्थिक, सांस्कृतिक आदि कुराहरूलाई प्रतिबिम्बित गरेको छ । सत्ताप्राप्तिको लागि हुने तछाडमछाड, दाउपेच, लुछाचुडी, कौटनीतिक पहल आदि कुरालाई चित्रण गरेको छ ।

कृष्णले आर्थिक उन्नतिका लागि वृन्दावनमा पशुपालनलाई दिएको महत्त्व हाम्रो देशको पनि आवश्यकताको विषय हो ।

अहङ्कारी शासक भयो भने त्यसले सम्पूर्ण राज्यमा जनताले भोग्न पर्ने कष्टलाई पनि सुन्दर चित्रण गरिएको छ । अहङ्कार सँगसँगै लोभ, ईर्ष्या, अधिक चाहनाले नै पापलाई जन्म दिने कुरा हाम्रै देशको राजनीतिलाई हेरेर पनि बुझ्न सकिन्छ ।

अन्यायको विरुद्ध लड्न र सन्मार्ग सिकाउन एउटा नेतृत्वको आवश्यक पर्छ । त्यहीँ कुशल नेतृत्व गर्न सक्षम देखिन्छन् कृष्ण र त्यहीँ कृष्णजस्तो व्यक्तित्वको नेतृत्व यो देशले पनि पर्खिरहेको छ ।

युद्धलाई नै अन्तिम उपाय पौराणिक महाभारतमा पनि देखाइयो र उपन्यास कृष्णमा पनि देखाइएको छ । सायद कहिलेकाहीँ सही र गलतमा चुनाव हुन्न, गलत र कम गलतबिच चुनाव गर्नुपर्ने हुन्छ । युद्ध त्यसैको परिणाम होला ।

लेखकले स्वीकार गरेका छन्, “यो मेरो कथा होइन, व्यासको कथालाई मैले आफ्नो रङ्ग दलेको छु ।” यो उनको स्वीकारोक्ति इमानदार छ । हो लेखकले कृष्णको चित्रमा आफ्ना मन पर्ने रङ्ग दलेका छन् । प्रायः रङ्ग भने व्यासकै चित्रालयबाट सापटी लिएका छन् । धेरैथोरै साधरण जनमानसले कृष्ण चरित्र बुझेकै छ । त्यहीँ कथालाई लेखकले कंसको मृत्यु हुँदासम्म राम्रो रङ्ग भरेका छन् । जब हस्तिनापुरतिर लाग्छन् त्यहाँको रङ्गरोगन अलि कम छ वा त्यो रङ्ग त्यति चम्किन सकेको छैन ।

लेखले मेरैजस्तै मन भएका पाठकलाई यो उपन्यास मन पर्ने आशावादी विचार प्रकट गर्नुभएको छ, आफ्ना कुरामा । लेखकको जस्तो मन नहुनेले कस्तो मान्लान् त्यो कुरा त पाठकको हातमा छ ।

कृष्णलाई महानायक देखाउन लेखकले कृष्णका हरेक नकारात्मकक कुरालाई सकारात्मक रङ्ग पोतेका । जहाँ-जहाँ कृष्णलाई औँला उठाउने ठाउँ व्यासले छोडेका थिए, त्यहाँ-त्यहाँ बचाउको रङ्ग पोतिदिएका छन् ।

कृष्णलाई वा व्यासको कथालाई फरक तरिकाले पढ्न रुचाउने पाठक निराश पनि हुन सक्छन् । कृष्णलाई सुनिआएकै कुरामा देख्न चाहनेले पक्कै पनि आनन्द उठाउनेछन् । कृष्णको बासुरी व्यासकै स्केलमा धेरै बज्छ ।

उपन्यासको समापनमा कृष्णमा आएको एक्लोपन, उदासी, खिन्नता र पश्चात्तापले कृष्ण ग्रस्त हुन्छ्न् । यसले युद्ध र त्यसको परिणाम, आफन्त गुमाउनुको पीडा, जीवनका उतारचढावले कृष्णलाई सांसारिकजस्तो पनि देखाउँछ । यहाँनेर कृष्णलाई विशुद्ध मानवीकरण गरेको उदाहरण दिन सकिन्छ ।

लेखक शङ्कर गैरेले बजाएको कृष्णको बाँसुरीमा सुर पुराणकै छ मात्र ताल फरक हो । पौराणिक कथा हिँडेकै बाटाबाट गन्तव्यमा पुग्छ, फरक भनेको यात्रामा दायाँबायाँ देखिने दृश्य हो ।

उपन्यासको भाषा सुरम्य छ । सललल बगेको छ । विशिष्टदेखि समान्य पाठकले कतै अल्झिनु पर्दैन । मानिसको जीवनको उतारचढाव, सुखदुःख, समस्या, समाधान, साहस, स्वीकार भाव, बलिदान, समर्पण, प्रेम आदि सबै दर्शन उपन्यासले बोक्न सफल छ । मात्र पाठकलाई खड्किन सक्ने विषय भनेको नयाँ विचार हो । व्यासको कलमले जे शब्द ओकल्यो त्यहीँ पुनारावृत्ति अलि कम भएको भए हुने भन्ने लाग्न सक्छ । उपन्यासले नयाँ दृष्टि, विचार र दर्शन दिन चुकेको हो भन्ने भान हुनसक्छ । हामीले सुनेका महाभारतलाई अलग कोणबाट चित्रण गर्न अलि कन्जुस्याइँ भएको लाग्न सक्छ । कतिपय कुरालाई अनावश्यक वर्णन भएझैँ पनि लाग्न सक्छ । नेपाली साहित्यमा यो उपन्यास मिथकीय प्रयोगको सूचीमा सूचीकृत हुन योग्य छ । एकपटक पढ्दा समय व्यर्थ हुने छैन् । नयाँ पुस्ता जो महाभारतका कुराहरूबाट वञ्चित छन्, उनीहरूलाई दर्शन सिकाउने माध्यम बन्न सक्छ यो उपन्यास । हरे कृष्ण !