साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
sp machapuchara cash back ads

महिलाले सधैँभरि पीडा खेपेरै बाँच्नुपर्ने ?

यौनजन्य हिंसाका कारण महिलाहरूमा मनोविज्ञान, सामाजिक समस्या देखिन्छ । आर्थिक समस्या त हरेक क्षेत्रका महिलालाई छ नै । यस्ता समस्याका कारण महिलामा नकारात्मक असर परेर कतिपयले मानसिक सन्तुलन समेत गुमाउन पुगेका छन् ।

पछिल्लो समय हिंसाका घटना दिनप्रतिदिन बढिरहेका छन् । पढ्नु नपरोस् भन्यो, सुन्न नपरोस् भन्यो तर यस्ता घटना बिहानबिहानै अखबारका पानादेखि रेडियो टेलिभिजनबाट आउँछन् । हिंसा कसैमाथि पनि हुनु हुँदैन । त्यो महिला होस् या पुरुष । हिंसाका घटनामध्ये बलात्कार र यौनजन्य हिंसा सबैभन्दा भयानक हुन्छ । पीडित अर्थात् बलात्कृत सधैँ पीडामा भइरहँदा पीडक खुलेआम छाती फुलाएर हिँडिरहेको अवस्था छ । बलात्कारीलाई पीडा दिने कानुन बने पनि, कारबाहीको दायरामा ल्याए पनि पीडितलाई परेको आघात कुनै पनि क्षतिपूर्तिले पूरा गर्न सक्दैन । बलात्कारको मुद्दामा जस्तोसुकै कडा कारबाही भए पनि पीडितले भोगेको मानसिक आघातको पूर्ति हुन सक्दैन । एकातिर ऊ पीडित हुन्छे अर्कातिर यही समाजले उसलाई नै विभिन्न लाञ्छना लगाएर पीडामाथि पीडा थप्ने काम गर्छ । बाचुन्जेल उसलाई यो समाजले सम्मानित जीवन बाँच्न दिँदैन ।

बलात्कार र यौनजन्य हिंसामा परेका महिलालाई कसरी समाजमा पहिल्यैको अवस्थामा ल्याउन सकिन्छ ? कसरी उनीहरूले सम्मानित जीवन जिउन सक्छन् ? यसबारेमा हाम्रो राज्यले कुनै नीति, नियम र योजना किन बनाउँदैन ? बलात्कार पीडितलाई उचित भरणपोषण, आजीवन रोजगारी र निर्वाहमुखी भत्ताको व्यवस्था गरे के हुन्छ ? यस्ता प्रश्नले आजभोलि मस्तिष्क घोचिरन्छ । के पीडित महिला सधैँभरि पीडा खेपेरै बाँच्नुपर्ने ? पीडक चाँहि सम्मानित भइरहने ? यो अवस्था कहिलेसम्म ?

जसरी महिला, आदिवासी, दलितलाई अगाडि बढाउनका लागि राज्यले विभिन्न कार्यक्रममा ल्याएको छ । विभिन्न आरक्षण छुट्याएको छ । यो पनि चिरस्थायी त हुँदैन । हुनु पनि हुँदैन । किनकि महिलालाई आक्षरणभन्दा उनीहरूको क्षमता, दक्षताको आधारमा नै मूल्याङ्कन गरिनुपर्छ तर वर्षौदेखि पितृसत्ताको कारण जसरी महिला पछाडि पारिएका छन्म त्यसलाई केही हदसम्म उकास्न या अघि बढाउन आक्षरणको विकल्प पनि छैन । गर्न सक्दैनन् भन्दा पनि गर्ने अवसर दिनुपर्छ । अवसर नै नदिएपछि गर्न सक्छन् सक्दैनन् भन्ने कसरी थाहा हुन्छ ? समय र परिस्थितिले सबै सिकाउँदै जान्छ । अवसर नै नपाई सिक्ने कुरा पनि हुँदैन । त्यसैले निश्चित समयका लागि जसरी आक्षरण छुट्याइएको छ, त्यसरी नै बलात्कार र यौनजन्य हिंसामा परेका महिलालाई पनि समाजमा पुनःस्थापित गराउन र उनीहरूलाई सम्मानित जीवन जिउन सहज बनाउनका लागि कसरी अघि बढ्न सकिन्छ ? यस विषयतर्फ सोच्नुपर्छ कि ?

सम्बन्धित पोस्टहरु

सरोकारवाला निकाय, स्थानीय निकायले यस्ता पीडित महिलाका बारेमा चासो राखेर सकारात्मक भूमिका खेल्न सके पीडितलाई थोरै भए पनि राहत महसुस हुन्छ कि । यदि यस्ता पीडित महिलालाई लोकसेवा आयोग जस्तामा आरक्षण दिएर सबल बनाउन सकियो भने उनीहरूको पनि आत्मबल बढ्ने थियो कि ? अनि यदि पढ्ने उमेर समूहका छन् भने राज्यले यस्ता महिलाको उच्च शिक्षा अध्ययनसम्म निःशुल्क व्यवस्था गरिदियो भने उनीहरू थोरै भए पनि सम्मानित महसुस गर्थे कि । किनकि अपवादलाई छाडेर बलात्कारजन्य घटना प्रायः आर्थिक अवस्था कमजोर भएकाहरूमाथि नै भएका छन् । यो राज्यको दायित्वभित्र पर्छ र राज्यले लिनु पनि पर्छ भन्ने लाग्छ । यसमा राज्यको योजना के छ ? समुदायको धारणा के छ ? स्थानीय निकाय के भन्छ ? उनीहरूलाई न्याय सँगसँगै सम्मानित जीवन जिउने वातावरण तयार पार्न कस्तो भूमिका रहन्छ ? यतातर्फ पनि सोच्ने हो कि ?

अझै पनि ग्रामीण इलाकाहरूमा बलात्कार र बलात्कार प्रयासका घटनाहरूलाई या त लुकाइन्छ या त गाउँमै मिलाउने प्रयास गरिन्छ । किनकि बलात्कारका घटना अदालतमा पुगे पनि पीडितले न्याय पाउन बर्सौँ अदालत धाउनुपर्छ । यस्ता जघन्य अपराधका घटनाका मुद्दा सरकार बादी हुने भए पनि गरिब सर्वसाधारणले लामो अदालती प्रक्रियामा लाग्ने यातायात र अन्य खर्च धान्न समेत कठिनाइ हुन्छ । पीडकले आर्थिक प्रलोभनमा पारेर अदालती प्रक्रिया लम्ब्याउने र धरौटीमा छटेर उल्टै पीडितलाई धम्क्याउने सम्भावना पनि उत्तिकै हुन्छ । जसले गर्दा बलात्कृत महिला या बालबालिका र उसलाई थप पीडा हुन्छ । पीडित महिला विवाहित भए उसले समाजमा पुनःस्थापित हुन निकै कठिनाइ छ । अविवाहित युवती भए उसको विवाह हुने या समाजमा सहज जीवन बिताउने सम्भावना पनि लगभग समाप्त हुन्छ । यस्तो बेलामा उनीहरू मानसिक रूपमा विक्षिप्त हुने सम्भवना पनि रहन्छ । यो सबैको केन्द्रमा हाम्रो सामाजिक संरचना त जिम्मेवार छँदै छ, उनहरूको सामाजिक आर्थिक हैसियत पनि कारक छ । सरकारले पीडितलाई समयमै उचित क्षतिपूर्ती र रोजगारी दिन सक्ने हो भने पीडितले पीडा भुलेर सहज जीवनमा सजिलै फर्कन सक्छ्न् । हैन भने बलात्कारको पीडा भन्दा बढी पीडा उनीहरूले त्यसपछिको जीवनमा हरेक दिन पाउँछन् ।

यहाँसम्म कि कतिपय पीडित बालिका या युवती आफ्नै घरमा समेत सम्मानित जीवन जिउन सकेका छैनन् । कतिपय परिवारले चेतना र अशिक्षाका कारण दोष पीडित महिलालाई नै दिने गरेको छ । यस्तो बेला उसलाई आत्मबल बढाउन परामर्श दिने, रचनात्मक काम गर्न उत्प्रेरित गर्ने या बलात्कृत या यौन हिंसा पर्नुमा उसको गल्ती होइन भनेर उसलाई र परिवारलाई परामर्श दिने कार्य गर्नु त कता हो कता उल्टै पीडित नै खुलमखुला हिँडिरहेको अवस्था छ । अहिले बालबालिका तथा समाजकल्याण मन्त्रालयले समाज कल्याण परिषद्‌मार्फत जिल्ला जिल्लामा बालगृह संचालन गरेको भए पनि त्यो बालगृह यौन हिंसा पीडित बाहिकाका निम्ति होइन । न त हिंसा पीडित युवतीको उद्धार र पुनःस्थापनाका निम्ति नै राज्यले कुनै नीति बनाएको छ । रक्षा नेपाल जस्ता केही निजी संस्थाले अहिले यौन हिंसा र बलात्कार पीडित महिला र बालिकालाई संरक्षण दिइराखेको छ । यस्तो संरक्षण गृह कमसेकम प्रत्येक राज्यमा एउटा सञ्चालन गर्ने र उनीहरूलाई पढ्ने, सिप सिक्ने र सक्षम बनाउन राज्यले समयमै ध्यान दिन सके यौन हिंसा र बलात्कार पीडितले पुनर्जीवन पाउने थिए कि ।

यौनजन्य हिंसाका कारण महिलाहरूमा मनोविज्ञान, सामाजिक समस्या देखिन्छ । आर्थिक समस्या त हरेक क्षेत्रका महिलालाई छ नै । यस्ता समस्याका कारण महिलामा नकारात्मक असर परेर कतिपयले मानसिक सन्तुलन समेत गुमाउन पुगेका छन् । जसले हिंसा सहनुपरेको छ, समाजले उसैलाई नराम्रो नजरले हेरिदिन्छ । अनि कसरी उनीहरू माथि उठ्न सक्छन् ? वास्तवमा मानव समाजमा व्याप्त लैङ्गिक हिंसाको तथ्याङ्क डरलाग्दो नै छ । विश्वव्यापी अध्ययनको तथ्याङ्क हेर्दा आम महिलामा जीवनकालभरिमा हिंसाको सिकार बन्न सक्ने अनुमानित दर २० प्रतिशत रहेको पाइन्छ । यसरी सिकार हुनेमा अधिकांश पति, आफन्त, साथी, प्रेमी, शिक्षक अर्थात् नजिकका बाटै भएको पाइन्छ । हिंसा भइरहँदा पनि महिलाको सहने बानी, परिवार, समाजको डरले धेरैले अझै पनि हिंसा सहन बाध्य भएका छन् । यो अवस्था पछिल्लो समय शिक्षित र ग्रामिणभन्दा सहरी क्षेत्रमा झन् बढी देखिएका छ ।

प्रतिक्रिया
Loading...