साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
sp machapuchara cash back ads

युग्मकको इतिहास, सैद्धान्तिक रूपरेखा र मनका पाहुना

युग्मकलाई अस्तित्वमा ल्याउने वा निश्चित संरचना प्रदान गर्ने कारक वा अवयवलाई युग्मकका संरचनात्मक तत्त्व भनिन्छ । संरचनात्मक तत्त्वहरूको योगबाट नै सिङ्गो संरचना निर्माण हुन्छ ।

१. पृष्ठभूमि

साहित्यका विभिन्न विधाहरूमध्ये कविताको नवीन स्वरूप युग्मक हो । नेपाली साहित्यमा युग्मकलेखनको २५ वर्ष पूरा हुन लागिरहेको छ । संस्कृतमा ‘युग्म’ शब्दको अर्थ हो जोडी । दुई हरफका जोडी शब्दहरू मिलेर युग्मक निर्माण भएको छ । त्यसो त संस्कृतमा ‘युग्मक’ लेखन छ । जसरी हिन्दीमा दोहा छ, अङ्ग्रेजीमा Couplets छन् (रनपहेंली – २०१२) । तर पनि नेपाली युग्मक लेखनले आफ्नै विशिष्टता वहन गरेको छ । संरचनाको सङ्क्षिप्तामा सिर्जित हुने युग्मक अहिले भारतीय नेपाली कविताको एक नितान्त नव्य आग्रह र प्रस्तुति छ (प्यासी – २०१२) । यो भारतेली नेपाली साहित्यको मौलिक सृजना हो । यो आफ्नो अलग चिनारी र परिभाषा लिएर देखा परेको छ (दाहाल – २०७७) । हिन्दी साहित्यमा युग्मककै संरचनामा डा.राहत इंदोरी र गुलजार आदिका सायरी प्रशस्त पाइन्छन् ।

दीपक सुवेदी

आँखों में पानी रखो होठों पे चिंगारी रखो,

जिंदा रहना है तो तरकीबें बहुत सारी रखो ।

…………….

ज़ुबाँ तो खोल नज़र तो मिला जवाफ़ तो दे,

मैं कितनी बार लूटा हूँ मुझे हिसाब तो दे ।

(डा.राहत इंदोरी)

 

हाथ छुटे भी तो रिश्ते नहीं छोड़ा करते,

वक्त की शाख से लम्हें नहीं तोडा करते ।

………….

एक बार तो यूँ होगा, थोड़ा सा सुकून होगा,

ना दिल में कसक होगी, ना सर में जूनून होगा ।

(गुलजार)

नेपाली साहित्यमा युग्मकलाई प्रतिपादन गर्ने काम चाहिँ प्रयोगवादी कवि कालूसिंह रनपहेंली (२ मई, १९५४) ले गरेका हुन् । कालूसिंहले १/९/१९९५ देखि युग्मक लेख्न सुरु गरेका थिए । एउटा युग्मकमा दुई हरफ हुन्छन् । दुई हरफ एक आपसमा सम्बन्धित रहेका हुन्छन् । त्यसैले दुई हरफमा एउटा युग्मक भए पनि यो आफैँमा पूर्ण हुन्छ । यी दुई हरफको विषयवस्तुमा अन्योन्याश्रित सम्बन्ध रहेको हुन्छ । नेपाली भाषामा रनपहेंलीले लेखेको पहिलो

युग्मक –

जिन्दगी

हाँस्नु त

रुनु घामको सिंयाल रहेछ ।

हालसम्म युग्मकका कृतिहरू कालूसिंह रनपहेंलीको युग्मक (१९९८) र पासाङ नर्बु लामाको समयको पक्षधर (२०१३) सङ्ग्रह प्रकाशन भएका छन् भने डम्बर दाहालको मनका पाहुना (२०२१) प्रकाशनको सङ्घारमा रहेको छ । युग्मकमा साधनारत स्रष्टा सचिन खवास, अम्बर लाछिकाकी, हीरालाल रनपहेंली, ओमकुमार खवास, बी.के. मुखिया, प्रेम नेउपाने र अर्जुन नेउपाने आदि छापाहरूमा देखिरहेका छन् ।

२. संरचना

युग्मकलाई अस्तित्वमा ल्याउने वा निश्चित संरचना प्रदान गर्ने कारक वा अवयवलाई युग्मकका संरचनात्मक तत्त्व भनिन्छ । संरचनात्मक तत्त्वहरूको योगबाट नै सिङ्गो संरचना निर्माण हुन्छ । युग्मक पनि एउटा सिङ्गो संरचना भएकाले यसका पनि आफ्नै प्रकारका संरचक घटकहरू रहेका छन् । यिनै संरचक तत्त्व वा घटकहरूबाट युग्मकको निर्माण हुन्छ ।

२.१ शीर्षक

कुनै पनि रचनाको पहिचानका लागि भाव मिल्दो शीर्षक आवश्यक छ । शीर्षकविनाको युग्मक लेखिँदैन । तसर्थ प्रत्येक युग्मकको शीर्षक अनिवार्य तत्त्व हो । युग्मकको शीर्षक राख्दा विषयवस्तु वा वैचारिक पक्षसँग सम्बन्धित भएर साङ्केतिक र सङ्क्षिप्त रूपमा शीषर्क राखिन्छ ।

२.२ विषयवस्तु

मानवीय जीवन जगत्‌का समग्र वस्तुलाई र मानव चेतनाका अनुभव र अनुभूतिलाई समेटेर युग्मकको रचना गरिन्छ । प्रकृति, मानवता, संस्कार, संस्कृति, नैतिकता, जीवनले देखेका, भोगेका, कल्पना गरेका र यथार्थानुभूति अनि दृष्टिका साथै उखान टुक्काका साथै लोकोक्तिहरू नै युग्मकका विषयवस्तु हुन् । यसमा जीवनका दुई छेउमा जन्म र मृत्यु हुन्छन् । यी दुईको माझमा फेरि छन् जीवनका दुःखसुख, हाँसोआँसु, आशानिराशा, मिलनबिछोड इत्यादि । यति हुँदाहुँदै पनि यही नै विषयवस्तुमा युग्मक रचना गर्नुपर्छ भन्ने अनिवार्यता छैन । युग्मककार विषयवस्तु छान्न स्वतन्त्र हुन्छ । यही विषयवस्तुको छनोटमा रहेको स्वतन्त्रताका कारण युग्मकमा पनि विविधता पाइन्छ ।

२.३ हरफ

युग्मकमा दुई हरफ हुन्छन् । पहिलो हरफलाई लिड (Lead) भनिन्छ । यसले विषयवस्तुको उठान गर्छ । दोस्रो हरफलाई किकर (Kicker) भनिन्छ । यसले पहिलो हरफको आशयमा Kick गर्दै भावलाई पूरा गर्छ । युग्मकका दुई हरफ नदीका दुई किनारासरह रहेका हुन्छन् । जसमा दुई किनाराबिचबाट बगेको पानीमा चेतनाको चिराग बगेजस्तै हुन्छ ।

२.४ भाषाशैली

भाषा भाव अभिव्यक्तिको माध्यम हो भने शैली भावाभिव्यक्तिको पद्धति हो । भाषाका माध्यमबाट गरिने अभिव्यक्तिको प्रकार नै भाषाशैली हो । युग्मकमा प्रयोग गरिने सङ्कथनगत पद्धतिलाई शैली भनिन्छ । आर्थत् रचनामा आउने रचनाकारको प्रभाव, छाया वा रूपगुण नै शैली हो । शैली व्यक्तिपिच्छे फरक हुन सक्छ ।

शैलीगत विविधताले साहित्यिक विधाहरूबिच पृथक्ता ल्याउँछ । शैलीकै कारणले एउटै विषयमा लेखिएका रचनाहरूबिच रचनाकारका आधारमा भिन्नता पाइन्छ । युग्मकको भाषा गद्यात्मक वा पद्यात्मक हुन्छ, यीमध्ये जुन भाषा प्रयोग गरे पनि हुन्छ । युग्मकलाई अनुप्रास युक्त र अनुप्रासविहीन गरी दुई शैलीबाट रचना गर्न सकिन्छ ।

२.४.१ अनुप्रास

अनुप्रासको तात्पर्यार्थ साम्य हो । ध्वनिसाम्य, वणर्साम्य र शब्दसाम्य अनुप्रास पाइन्छन् । युग्मकमा अनुप्रास अनिवार्य तत्त्व भने होइन तर पनि अनुप्रास मिलेका युग्मक भए श्रुतिमा माधुर्य हुन आउने गर्छ । तसर्थ अनुप्रास मिलाएर पनि युग्मक लेख्न सकिन्छ । युग्मकलाई निम्न अनुप्रासका आधारमा रचना गर्न सकिन्छ ।

२.४.१.१ आद्यानुप्रास

दुई हरफका सुरु-सुरुका ध्वनिहरूमा साम्य रहनु आद्यानुप्रास हो ।

आशा

डडेको वन भयो हरियो

लडेको मन फेरि दरियो । (कालूसिंह रनपहेंली)

माथिको आशा शीर्षकको युग्मकमा डडेको र लडेको आद्यानुप्रासका रूपमा आएका छन् ।

२.४.१.२ मध्यानुप्रास

दुई हरफका बिच-बिचका ध्वनिहरूमा साम्य रहनु आद्यानुप्रास हो ।

व्यवहार

मत अभिमत जोडौँ, गरौँ मानाका कुरा

दम्भ अभिमान तोडौँ, गरौँ छानाका कुरा । (दीपक सुवेदी)

माथिको व्यवहार शीर्षकको युग्मकको दुई हरफमा बिचमा जोडौँ, तोडौँ साम्यका रूपमा आएका छन् ।

२.४.१.३ अन्त्यानुप्रास

युग्मकका दुई हरफकै अन्त्यमा ध्वनिहरूको साम्य रहनु अन्त्यानुप्रास हो ।

ज्ञान

अन्धकार गोरेटो सुन्दर ज्योति

खोज्नु होस यहीँ नै पाइन्छ हिरा मोती । (सचिन खवास)

 

ब्रह्माण्ड

जून तारा सूर्य ग्रह नक्षत्र सारा ।

आफ्ना आफ्ना कर्म आ-आफ्नै अभिभारा । (प्रेम नेउपाने)

माथिको ज्ञान शीर्षकको युग्मकका दुई हरफकै अन्त्यमा ज्योति र मोती, त्यसै गरी ब्रह्माण्ड शीर्षकमा सारा र अभिभारा अन्त्यानुप्रासका रूपमा आएका छन् ।

२.४.१.४ छेकानुप्रास

युग्मकको कुनै हरफमा एउटै क्रममा अनेक वर्णको एकपटक मात्र आवृत्ति भए त्यसलाई छेकानुप्रास भनिन्छ ।

त्याग

सर्जक हुन् प्रेमी प्रेमिका कलामा सिपालु

नव नभमा बाँचिरहन्छन् मुनामदन भै आफू । (दीपक सुवेदी)

प्रस्तुत युग्मकमा आएको पहिलो हरफमा ‘स’, ‘प’ र ‘म’ व्यञ्जन अनि दोस्रो हरफमा ‘न’ र ‘म’ दोहोरिएर छेकानुप्रास अलङ्कार उत्पन्न गरेका छन् ।

२.४.१.५ वृत्यनुप्रास

वृत्ति भनेको घुम्नु वा दोहोरिनु हो र एउटा युग्मकमा कुनै ध्वनि वा कुनै वर्णको एकै हरफमा आवृत्ति हुनुलाई वृत्यनुप्रास भनिन्छ ।

आह्वान

माझेर मन मनै मैलो

निर्माण नभ गरौँ नौलो । (दीपक सुवेदी)

प्रस्तुत युग्मकमा आएको पहिलो हरफमा ‘म’ वर्ण चारपटक आवृत्ति भएको छ भने दोस्रो हरफमा ‘न’ तीनपटक आवृत्ति भएको छ ।

२.४.१.६ लाटानुप्रास

एउटै युग्मकको विभिन्न ठाउँमा विभिन्न अर्थ बुझिने प्रक्रियालाई लाटानुप्रास भनिन्छ ।

जीवन

फूलले फुलाउँछ फूललाई

फुलले फुलाउँछ फुललाई । (दीपक सुवेदी)

प्रस्तुत युग्मकमा ‘फूलले फुलाउँछ फूललाई’ पङ्क्ति दोहोरिएको छ तर दुवै पङ्क्तिले फरक अर्थ दिन्छन् । पहिलो पङ्क्तिमा आएको ‘फूल’ ले र दोस्रो पङ्क्तिमा आएको ‘फुल’ ले फरक अर्थमा आएका छन् । यसरी एउटा शब्द वा वाक्य फरक-फरक अर्थमा दोहोरिएको अवस्था हुँदा लाटानुप्रास उत्पन्न गरेका छ ।

२.५ भाव

भावविनाको संरचना, आत्माविनाको शरीर हो । युग्मक मौलिक संरचनाका साथै मौलिक भावका दृष्टिले पनि महत्त्वपूर्ण छ । त्यसैले भाव युग्मकको मूल तत्त्व हो । यसलाई अनुभूति र उद्देश्य पनि भन्न सकिन्छ । अर्थात् युग्मककारको अनुभूति, युग्मकको विषयवस्तु र युग्मकको उद्देश्य तथा युग्मककारको जीवनदर्शनको समष्टि रूप नै युग्मकको भाव हुने गर्छ । युग्मककारको अनुभूति र कल्पनाशक्तिले युग्मकको भावमा ज्यादा ओज थप्दछ । यो युग्मक रचनाको कारक पनि हो ।

अतः युग्मक पनि साहित्यका अन्यविधा वा उपविधाहरूजस्तै मानव संवेदनाको कलात्मक अभिव्यक्ति भएको हुँदा मानव अनुभूति नै युग्मकमा व्यक्तिने भावको स्रोत हो । यसमा भावगत विविधता रहन्छ ।

२.६ बिम्ब, प्रतीक र अलङ्कार

युग्मकको भाव सम्प्रेषणका लागि बिम्ब, प्रतीक र अलङ्कार विधान भए अझ राम्रो हुन्छ । युग्मकमा बिम्ब, प्रतीक र अलङ्कारहरू भाव परिपोषक तत्त्वका रूपमा रहन्छन् । बिम्बहरू व्यञ्जनाधर्मी भएर युग्मकमा रहेका हुन्छन् । युग्मकको भाषा स्वाभावोक्तिका अतिरिक्त वक्रोक्तिमूलक वा अतिशयोक्तिमूलक पनि हुन्छ । यसले आलङ्कारिक चमत्कृतिद्वारा युग्मकमा सौन्दर्य उत्पन्न गर्दछ ।

२.६.१ बिम्ब

कुनै वस्तुको लाक्षणिक अर्थ बुझाउन बिम्बको प्रयोग गरिन्छ । बिम्बले शब्द वस्तुको प्रतिच्छायाका रूपमा विशिष्ट अर्थको बोध गराउँछ । सांसारिक वस्तु वा जीवनजगत्‌का व्यापक सन्दर्भबाट लिइएका सामग्रीहरू नै बिम्ब हुन् । युग्मक लेखनमा बिम्बको विशिष्ट भूमिका हुन्छ । युग्मकमा प्रयोग गरिएका भौतिक वा प्राकृतिक छाया नै बिम्ब हुन् ।

२.६.२ प्रतीक

शब्दले दिने सामान्य अर्थभन्दा भिन्न अर्थ बुझाउने वा अभिधाभन्दा व्यञ्जनार्थ प्रस्तुत गर्ने सशक्त र प्रभावकारी माध्यमलाई प्रतीक भनिन्छ । अर्थात् युग्मक रचनामा सामाजिक, सांस्कृतिक वा पौराणिक जीवनको सन्दर्भ लिएर प्रयोग भएका घटना वा पात्रहरू प्रतीक हुन् ।

युग्मक दुई हरफमा मात्र लेखिने भएकाले थोरैमा धेरै भन्न तथा विशिष्ट र प्रभावपूर्ण अभिव्यक्ति दिन समाज, संस्कृति, ज्ञानविज्ञान आदि जीवनजगत्‌का अनेकानेक सन्दर्भबाट परम्परित एवं नवीन बिम्ब प्रतीकको चयन गरी युग्मकमा प्रयोग गरिन्छ । सामाजिक, आर्थिक, राजनीतिक क्षेत्रका विसङ्गति र विकृतिलाई व्यङ्ग्य हान्न प्रतीकले सहयोग पुर्‍याउँछ ।

२.६.३ अलङ्कार

अलङ्कार भन्नाले शोभाप्रदायक साधन बुझिन्छ । अलङ्कारशास्त्रमा भूषित गर्ने उपादानलाई अलङ्कार भनिन्छ । युग्मकमा प्रयुक्त सङ्गति, व्यङ्ग्य, प्रशंसा आदि प्रक्रियाबाट बिम्बालङ्कारको रूपतात्त्विक प्रक्रियालाई कलात्मक रूपमा प्रस्तुत गरिन्छ । युग्मक अभिधेयार्थकभन्दा लक्षार्थक वा व्यञ्जनार्थक हुनु राम्रो हुन्छ ।

जस्तै –

सुन्दरी

फूललाई फूलले हेर्छिन्, बागको बास

सुवास एउटी चन्द्रमा छ, अर्की उदास । (दीपक सुवेदी)

प्रस्तुत सुन्दरी शीर्षकको युग्मकमा आएको “फूललाई फूलले हेर्छिन्” मा अतिशयोक्ति अलङ्कार उत्पन्न भएको छ । यहाँ “सुन्दरी” अर्थात् उपमेय लुकेको छ र उपमान “चन्द्रमा” मात्रै प्रस्तुत छ । सुन्दरी (उपमेय) मा चन्द्रमा (उपमान) को अभेद आरोप गरिएको छ । अर्थात् सुन्दरीको चन्द्रमाजस्तो रूप (उपमेय) लुकेको छ । यसैले यसमा अतिशयोक्ति अलङ्कार सिद्ध हुन्छ । ज्यादै बढाइचढाइ गरिएको कथनलाई अतिशयोक्ति भनिन्छ ।

२.७ युग्मकका विशेषता

साहित्यका अन्य विधाहरूजस्तै युग्मकका पनि केही मौलिक विशेषताहरू छन् । तिनै विशेषताहरूले युग्मकको आफ्नो स्वरूप प्रस्तुत गर्दछन् । युग्मकका विशेषताहरूलाई निम्नानुसार छन् –

२.७.१ गद्यात्मक वा पद्यात्मक

युग्मक दुई हरफमा गद्य र पद्य दुवै शैलीमा लेखिन सकिने कविताको एउटा रूप हो ।

२.७.२ सङ्क्षिप्तता

युग्मक सङ्क्षिप्त रूप हो । यसमा सङ्क्षिप्त संरचनाभित्र कसिलो प्रभावकारी दृष्टि अभिव्यक्ति हुन्छ । एउटा युग्मकमा दुई हरफ हुन्छन् यसलाई आर्दश रूपमा लिइनु यसको संरचनागत सङ्क्षिप्ततालाई सङ्केत गर्दछ ।

२.७.३ सरलता

युग्मकले कोमल, सरल र कर्णप्रिय शब्दहरूको अपेक्षा गर्दछ । ज्यादा समस्त र क्लिष्ट शब्दहरू युग्मकका लागि राम्रो मानिँदैन । यो भावका दृष्टिले पनि सरल हुनु जरुरी छ ।

२.७.४ संवेद्यता

युग्मक लघु संरचनाभित्र पनि ज्यादै संवेद्य हुन्छ । यसमा सङ्क्षिप्त दृष्टि तर ज्यादै कसिलो तरिकाले व्यक्त हुने हुँदा युग्मक ज्यादा प्रभावकारी बन्दछ । यसको शैली र भावको सघनता नै यसमा प्रभावकारिताको मुख्य कारण हो ।

युग्मक नेपाली साहित्यका सन्दर्भमा नयाँ शैली र संरचना भएको रचना भए पनि आजकल यो ज्यादै लोकप्रिय भइरहेको छ ।

३. लेखक परिचय

स्रष्टा एवं द्रष्टा डम्बर दाहाल (१९५८) नेपाली साहित्यको फाँटका मलिला प्रतिभा हुन् । सन् १९७२ देखि लेखन आरम्भ गरेका दाहाल अझ असमेली नेपाली साहित्यको क्षेत्रमा साधनारत अग्रज सर्जकका रूपमा पनि स्थापित छन् । दाहालले डिमापुरबाट प्रकाशित ‘युवक’ पत्रिकामा सन् १९७३ मा पहिलो ‘वसन्त’ कविता र सन् १९८० को ‘बिन्दु’ पत्रिकामा ‘यसरी दुःखीको दिन गुज्रन्छ’ पहिलो कथा प्रकाशन गरी साहित्यमा औपचारिक प्रवेश गरेका हुन् । दाहालका आविष्कार (सन् १९८६, लघुकथा), यात्राक्रममा (सन् २००८, लघुकथा), हाम्रा केही मार्गदर्शकहरू (सन् २००८, जीवनी), उकुस मुकुस (सन् २००९, हाइकु), अतीतका पाइलाहरू (सन् २०१२, कविता), निबन्ध सम्भार (सन् २०१३, निबन्ध), विगत तीन वर्षलाई फर्केर हेर्दा (सन् २०१६), शुभेच्छा सम्भार (सन् २०१६), स्मृति प्रवाह भाग-१ (सन् २०१८, संस्मरण) आदि कृतिहरू नेपाली भाषामा प्रकाशित छन् । यसका अतिरिक्त नेपाली र असमिया भाषामा एक दर्जनभन्दा बढी पाठ्यपुस्तक, स्मृतिग्रन्थ, स्मारिका, बुलेटिन र पत्रपत्रिका सम्पादन समेत गरिसकेका छन् । यसरी हेर्दा लेखकीय इमानदारी लेखनका सन्दर्भमा डम्बर दाहालले आर्जन गरेको सबैभन्दा ठूलो सम्पत्ति भएर रहेको देखिन्छ ।

४. ‘मनका पाहुना’ युग्मकसङ्ग्रह

नेपाली साहित्यमा हालसम्मकै युग्मकको तेस्रो सङ्ग्रह र सम्भवतः असमबाट प्रकाशित पहिलो युग्मकसङ्ग्रह डम्बर दाहालको मनका पाहुना (२०२१) यही नै पहिलो हुनुपर्छ । दाहालको यस सङ्ग्रहमा सङ्ख्यात्मक दृष्टिले दुई सय दुई ओटा युग्मक रहेका छन् ।

४.१ शीर्षक

वर्ण्य विषयको समग्रतालाई समेटेर प्रस्तुत गर्न सक्ने उपयुक्त पद वा पदावली नै शीर्षक हो । युग्मकमा पनि प्रस्तुत गरिने भाव वा विचारहरूलाई समेट्न सक्ने उपयुक्त प्रकृतिको शीर्षक चयन अनिवार्य रहन्छ । त्यही शीर्षकअनुसारको विषयवस्तुले समग्र युग्मकको अस्तित्वलाई वहन गरेको हुन्छ ।

युग्मककार डम्बर दाहालले मनका पाहुना (२०२१) सङ्ग्रहभित्रका युग्मकमा शीर्षक राख्दा पद सङ्ख्याका दृष्टिले बढीमा दुई पदसम्मका शीर्षक राखेको पाइन्छ । विपरीतार्थी शब्दहरू आशानिराशा (पृ.२२) र गुणदोष (पृ.२२) आदि साथै वसुधैव कुटुम्वकम् (पृ.६) र घुम्दै फिर्दै रुम्जाटार (पृ.१६८) जस्ता उक्तिलाई समेत दाहालले शीर्षकको रूपमा प्रयोग गरेको पाइन्छ । अधिकांश शीर्षकहरू भाव र विचार प्रधान रहेका छन् ।

४.२ विषयवस्तु

प्रयोजनपरक सर्वेक्षणअनुसार दाहालका युग्मकमा युगीन स्थितिअनुकूल शाश्वत मूल्ययुक्त समसामयिक विषयवस्तु अभिव्यक्त गरेका छन् । एकातिर विद्रोह, विरोध र क्रान्ति, जीवनको सत्यनिष्ठ प्रस्तुति, व्यङ्ग्य, परिवेशगत सूक्ष्म यथार्थ सन्दर्भ सहित विषयवस्तु उठाएका छन् । अर्कातिर जीवनका विवशता, निरर्थकता र असन्तुष्टि आदिलाई पनि व्यक्त गरेका छन् । कहीँ-कहीँ विरोध, विद्रोह र क्रान्ति पनि सामाजिक रूपान्तरणका लागि स्वयं सौन्दर्य र जीवनगाथाको रूपमा देखापरेका छन् तर पनि यो विरोधले, यो विद्रोहले र यो क्रान्तिले नकारात्मक पक्षलाई अस्वीकार गरेको पाइन्छ । तसर्थ समाजको प्रतिबिम्ब युग्मकमा छ । समग्रतामा दाहालका युग्मकका विषयवस्तु निम्न रहेका छन् ।

४.२.१ आर्थिक दुरावस्था

सभ्य समाजको लागि यो प्रदूषण हो । यसले व्यक्तिको स्वभाव र शैलीलाई नकारात्मक बनाउँछ । व्यक्तिलाई व्यक्तिवादी बनाउँछ । व्यक्तिको अनुशासन र मर्यादामा स्खलन ल्याउँछ । समाजमा अस्वस्थ प्रतिस्पर्धा र कुसंस्कारलाई बढवा दिन्छ । वर्तमान समय मानिसको आर्थिक अवस्थाका दृष्टिले डरलाग्दो अवस्थाबाट गुज्रिरहेका प्रति चिन्ता व्यक्त गरेका छन् ।

(१५) भ्रष्टाचार

दिउँसै राति

चिरिन्छ छाती । (पृ.११)

 

(७८) अदूरदर्शिता

हर्दाहेर्दै ढल्यो घर

छैन सरम के को डर । (पृ.२४)

४.२.२ प्रेम, प्रणय र यौन

प्रेमलाई ‘मायाँ’ को समानार्थी रूपमा बुझ्ने बुझाउने गरिन्छ । एक व्यक्तिको अर्को व्यक्तिसँग स्वभाव, गुण, व्यवहार आदिले हुने आकर्षण, प्रीति, प्यार (अधिकारी तथा भट्टराई, २०६६ – ६६७) नै प्रेम हो । यो त एक भावनात्वक कुरा हो, एक रङ्गीन अनुभूति हो । प्रेम समझदारी, समर्पण, इमानदारी र पवित्रताको प्रतीक पनि हो । प्रेम कहाँ, कति बेला, कोसँग, कुन रूपमा हुन्छ पत्तै हुँदैन । प्रेम रगतको नातासँग मात्र होइन भावनाको नातासँग पनि गाँसिएको हुन सक्छ । प्रस्तुत सङ्ग्रहमा दाहालले प्रीति वा प्रेमको सफल चित्रण गरेका छन् ।

(८५) प्रीति

कोपिला बस्यो ममा

फक्रयो तिमीमा । (पृ.२५)

४.२.३ व्यङ्ग्य

आफू सुन्दर र आकर्षक बन्ने कुरा अरूका लागि नभएर आफ्नै लागि हो र उमेरसँग यसको केही सम्बन्ध छैन भन्ने यथार्थताको भाव युग्मकहरूमा प्रस्तुत गरिएको छ । वास्तवमा सुन्दर हुनु भनेको जीवनप्रति नित्य उत्सुक भइरहनु हो तर हिजोआज मान्छे स्वार्थ र आत्मपरकताले यति धेरै ओतप्रोत छन् । मानवीय संवेदना मृतप्राय छ । यस्तो बचाइ र अत्मीयताप्रति दाहालले व्यङ्ग्य गरेका छन् ।

(१७४) आत्मचिन्ता

बाँच्न त बाँचेँ

के बाँचेँ ? (पृ.४३)

 

(१८१) आत्मीयताको सङ्कट

साह्रो छ जिउन

मन सिउन । (पृ.४५)

 

४.२.४ राजनीति र द्वन्द्व

राजनीति भनेको राज्यको नीति, व्यवस्थालाई ठिक गरी जनताका लागि अन्य देशप्रतिको कुटनीतिक आदि सम्बन्धलाई ठिक राख्ने व्यवहारगत व्यवस्था नै राजनीति हो । समाजमा रहेका मानिसहरूबिच सामाजिक, आर्थिक र राजनीतिक लगायतका विविध विषयका कारणले सृजना हुने मतभिन्नता, असन्तुष्टि, कलह, रिस र द्वेष जस्ता गतिविधिहरूलाई सामाजिक द्वन्द्व भनिन्छ । कहिलेकाहीँ यही राजनीतिका लागि उत्पन्न द्वन्द्व हुन्छ र भुईँफुट्टा अर्काको बुई चढेर माथि उक्लिरहेको हुन्छ । युग्मककार डम्बर दाहालले लेखेका छन् –

(११५) भुईँफुट्टा

माथि त जाँदै छु

तर बुई चढेर । (पृ.३१)

 

४.२.५ मानवीयता, दार्शनिकता र जीवनवादिता

मानिसले आफूमा निहित चेतनाको कारण मानिस वा अन्य कुनै प्राणीमाथि अपनाउने मायाँ, ममता, स्नेह, सहयोग र सद्भाव आदि झल्काउने व्यवहार नै मानवता हो तर बिडम्बना, आजभोलि दिनहुँजसो भइरहेका घटनाक्रमले हामी आफूले पाएको उपाधिहरूको खिल्ली उडाइरहेको आभास हुन्छ । साँच्चै, युग्मकमा भनेजस्तै यति बेला हामीमा मानवता हराएको छ । दाहालका युग्मकमा दार्शनिकता र जीवनवादिताको सौन्दर्य अभिव्यक्त पाइन्छ । साथै सभ्यताका सर्जक र स्रष्टाहरूको अनन्त साधना अनि धैर्यलाई समेत युग्मकका माध्यमबाट बोधार्थ गरिरहेका छन् ।

(१५१) परिपक्वता

उमेर ढलेछ

चिन्तन फलेछ । (पृ.३९)

(१९७) गहिराइ

जति गहिराइ

त्यति कठिनाइ । (पृ.४८) आदि

४.३ भाषाशैली

लेखकीय विचारहरू पस्किने माध्यम भनेको भाषा हो । भाषाकै माध्यमबाट मानवीय विचारहरू आदानप्रदान हुने भएकाले स्रष्टाका अनुभूतिहरूको सम्प्रेषण गर्न भाषाको अनिवार्यता रहन्छ नै । जति सुन्दर अर्थग्राही भाषिक प्रयोग हुन सक्छ त्यति नै युग्मकको मूल मर्म उद्धाटन हुन सक्दछ । यसर्थ भाषिक सामर्थ्यका कारण युग्मकको ओजस्विता र प्रभावकारिता निर्धारण गरिन्छ ।

अथवा जुन अर्थको कथन गर्नुछ, त्यसका निम्ति उपलब्ध भएका विकल्पहरूमध्येबाट सबभन्दा बढी ललित र रागात्मक हुन सक्ने गरी वर्ण, पद वा पदावलीसमेत सुसज्जित गर्नु नै युग्मकको भाषाशैली हो । युग्मकका लागि अभिधाभन्दा लक्षणा र व्यञ्जनाको उचाइ महत्त्वपूर्ण हुन्छ । जसमा बिम्ब, अलङ्कार तथा प्रतीक आदि व्यक्त हुन्छ । भाषाशैलीले कवितालाई प्रभावकारी बनाउँछ । प्रस्तुत युग्मकसङ्ग्रहका केही रचनाहरू लक्षणा र व्यञ्जनाको तहमा रमाएकाले यिनको आस्वादन गर्न पाठकलाई बौद्धिक कसरत गरिरहनुपर्छ ।

(१३१) शुद्धता

झर्दैछन् तारा

तिमीलाई भेट्न होइन-हर्के, वीरेलाई (पृ.३५) ।

(१५६) सङ्कीणर्ता

मूल सडकको विरोध गर्छन्

गोरेटो मात्र हिँड्नेहरू (पृ.४०) ।

प्रतिनिधिमूलक उपर्युक्त युग्मकले भाषाशैली सरल, सहज र बोधगम्य छैन भन्ने कुरालाई प्रमाणित गर्दछन् ।

४.३.१ अन्त्यानुप्रास

प्रत्येक हरफको अन्त्यमा गरिने समान वर्णको पुनरावृत्तिबाट अन्त्यानुप्रास हुन्छ । यसरी हेर्दा उनका हरेक श्लोकमा अन्त्यानुप्रासको पनि सुन्दर संयोजन गरिएको पाइन्छ । एउटा उदाहरण हेरौँ-

(२४) कर्मचेत

समयको प्रहार

मेरो हार (पृ. १३) ।

माथिको युग्मकमा अन्त्यानुप्रासको रूपमा प्रहार र हारजस्तै व्यवस्था (८१) मा शोषण र पोषण, इतिहास (८८) मा छाल र आहाल, वीरत्व खोइ (८९) मा पीर र वीर, परिणाम (९०) मा झार्नु र हार्नु, आधुनिक प्रविधि (१७७) मा इसारा र सार आदि थुप्रै युग्मकमा पदहरूको प्रयोग गरी शब्द सौन्दर्य मात्र होइन, भावाभिव्यक्तिमा पनि कलात्मक सौन्दर्य सृजना गरेका छन् ।

४.३.२ आद्यानुप्रास

दुई हरफका सुरु-सुरुका ध्वनिहरूमा साम्य रहनु आद्यानुप्रास हो ।

(१६८) घुम्दै फिर्दै रुम्जाटार

त्रासपछि आश

आशापछि त्रास

माथिको युग्मकमा त्रास र आशाजस्तै गरी कर्मस्पृहा (१४१) मा ताली र गाली आद्यानुप्रासका रूपमा आएका छन् ।

४.३.३ स्वभावोक्ति अलङ्कार

स्वाभाविक कथनबाट स्वभावोक्ति अलङ्कार हुन्छ । समसामयिक जीवनजगत्‌लाई यथार्थपरक ढङ्गमा अभिव्यक्त गर्दा स्वभावोक्ति अलङ्कारको सृष्टि हुन पुग्दछ । यसमा कुनै पनि वस्तु वा प्राणीको मिल्दो वा सुहाउँदो वणर्न हुन्छ । युग्मककार दाहालले पनि समसामयिक जीवनजगत्‌का तीतामीठा भोगाइहरूलाई जीवन्त रूपमा चित्रण गरेका छन् । यी सन्दर्भहरूको चित्रणबाट उनका रचनाहरूमा स्वभावोक्ति अलङ्कारहरू सृजित हुन पुगेका छन् । उदाहरण हेरौँ-

(११६) मान्छे

देश सुध्रँदैन

मान्छे जब मान्छे हुँदैन । (पृ. ३२)

दाहालले मानवले मानवता भुलेर पाशविक चरित्र वरण गरी मानवसभ्यतालाई कलङ्कित पार्दै आएको यथार्थतालाई सुन्दर ढङ्गमा अभिव्यक्ति दिएका छन् ।

४.३.३ अतिशयोक्ति अलङ्कार

कुनै विषय (उपमेय) का बारेमा बढाइचढाइ गरेर रमणीय पाराले वणर्न गर्दा उत्पन्न हुने अर्थालङ्कारलाई अतिशयोक्ति अलङ्कार भनिन्छ । उनका कतिपय पद्यमा अतिशयोक्ति अलङ्कारको प्राचुर्य रहेको पाइन्छ । यसका केही उदाहरण हेरौँ-

(७१) दिव्य आनन्द

कहिले बस्छौ तिमी

स्वर्गबाट झरेर खिड्कीमा । (पृ. २३)

यसमा दाहालले अमूर्त स्वर्गजस्तै खिड्की रहेको परिकल्पना गरेका छन् । उनको यो परिकल्पना निकै अतिशयोक्तिपूर्ण रहेको छ । यस्तै, उनका अन्य युग्मकमा पनि दाहालको कोमल मनले छुट्टै सुन्दर स्थान सृजना गर्ने चाहना प्रकट गरेको छ ।

४.३.४ बिम्ब

बिम्ब तत्सम शब्द हो । यसको अर्थ छाया, प्रतिबिम्ब, प्रतिमा आदि भन्ने हुन्छ । अङ्ग्रेजीमा यसलाई बुझाउन इमेज (image) शब्दको प्रयोग गरिन्छ र यसले ‘मूर्तचित्र’ भन्ने अर्थ दिन्छ (बराल – २०६९) । युग्मकमा पनि बिम्बहरूको प्रयोग प्रशस्तै हुने गरेका छन् । यस्तो प्रयोगले पाठकको मस्तिष्कमा दीर्घकालीन प्रभावकारी चित्र प्रस्तुत गर्छ । दाहालका युग्मक (४) मा सगरमाथा, (३०) मा फूल, (५९) मा परेवा, (८५) मा कोपिला, (१२८) मा भित्तेपात्रो, (१५५) मा हिमाल आदि बिम्बका रूपमा प्रयोग गरेका छन् ।

४.३.५ प्रतीक

प्रतीक पनि तत्सम शब्द हो । यसको शाब्दिक अर्थ उल्टो, विरुद्ध, प्रतिकूल, विपरीत, प्रतिभा भन्ने हुन्छ । अङ्ग्रेजीमा यसलाई सिम्बोल (symbol) को पर्यायका रूपमा प्रयोग गरिन्छ (बराल – २०६९) । दाहालका युग्मक (४) मा सगरमाथा जातीय गौरव, (३०) मा फूल प्रकृतिको दिव्यता स्वर्ग, (५९) मा परेवा शान्ति, (८५) मा कोपिला प्रीति, (१२८) मा भित्तेपात्रो समयाङ्कन, (१५५) मा हिमाल उच्चलक्ष्यका रूपमा युग्मकमा प्रतीक बनेर आएका छन् ।

५. निष्कर्ष

चेतनाको काव्यात्मक अभिव्यक्ति युग्मक हो । यसमा अनुभूतिको सुन्दर बहाब हुन्छ । युग्मकले सधैँ समय बोल्छ र जीवन अनि समाज बुझाउँछ । सृजनाका यिनै मान्यतामा हुर्किएका सबल स्रष्टा एवं द्रष्टा हुन् डम्बर दाहाल ।

व्यङ्ग्य, मानवीयता, दार्शनिकता र जीवनवादिता आदि काव्यगत मूल प्रवृत्ति रहेका दाहाल एउटै मन्दिरमा धर्म र दर्शनको समग्रतालाई अभिव्यक्त गर्न सक्ने असमेली नेपाली शिल्पी स्रष्टा हुन् । उनका युग्मकलाई हेर्ने हो भने अलिकति अभाव, केही गुनासा अनि अप्राप्तिको समग्र रूप नै जीवन हो । यो भोगाइको अनभूति पनि हो । त्यसैले दाहालका युग्मकको परिधि पनि समाज नै देखिन्छ । दाहालले युग्मकमा जीवनभोगाइ र जीवनको परिभाषा सुनाएका छन् पाठकलाई । भोगाइलाई भाग गर्दागर्दै भाग फलमा शेष लागेको सादय यही ज्ञान हो, जीवन । तसर्थ ‘मनका पाहुना’ भित्रका युग्मक पढ्दा पनि पाठकलाई साँच्चै लाग्छ- ‘फगत कल्पना मात्र होइन, यथार्थ पनि पोखिँदो रहेछ युग्मकमा ।’

युग्मकको पनि कोरियोग्राफ भनेको प्रस्तुत गर्ने शैली हो । अहिले युग्मकको कोरियोग्राफीमा बहस पनि भइरहेको छ । अनि युग्मकमा कला या विचार ? कोरियोग्राफीको हिसाबले दाहालका शान्तिका परेवा (५९), प्रतिक्षा (५९), अन्तिम परिणाम (१५८) आदि केही युग्मकहरू वाक्यझैँ लाग्छन् । युग्मकमा विविधीकरण दिन सक्यो भने त्यो सम्प्रेषणीय हुन्छ, अनि युग्मक साँच्चै पाठकसम्म पुग्छन् ।

अन्त्यमा, संस्कृतमा भनिएको छ -‘कविता लेख्ने काम मात्र कविको हो तर त्यसको रस खुट्याउने काम मर्मज्ञ पण्डितहरूको हो ।’ “कविः करोति काव्यानि, विद्वान् जानाति तद् रसम्” भनेझैँ बाँकी मीमांसा गर्ने बाँकी काम पाठकमै छोडेँ ।

सन्दर्भसूचि

अधिकारी, हेमाङ्गराज तथा भट्टराई बद्रीविशाल, (२०६६), प्रयोगात्मक नेपाली शब्दकोश, काठमाडौँ – विद्यार्थी प्रकाशन प्रा.लि. ।

दाहाल, नरबहादुर, भारतीय नेपाली साहित्य- इतिहास लेखनका केही आधार (भाग दुई), https://sahityapost.com/prabash/sub-prabash/12533/

प्यासी, डा.जस योञ्जन, (२०१२), समयको पक्षधर/समयको संवार्ता, समयको पक्षधर, पृ. xiii ।

बराल, डा.कृष्णहरि, (२०६९), कथा सिद्धान्त, काठमाडौँ, एकता बुक्स, पृ.९३ ।

रनपहेंली, कालूसिंह, (१९९८), युग्मक, सिक्किम, हिमाली प्रकाशन ।

……………………, (२०१२), युग्मक स्रष्टा पासाङ नुर्ब लामाज्यूलाई बधाई, समयको पक्षधर, पृ.ख ।

लामा, पासाङ नर्बु, (२०१३), समयको पक्षधर – गान्तोक, योल्मो प्रकाशन ।

शर्मा, मित्रदेव, (२०१८), उत्तर पूर्वाञ्चलका नेपाली साहित्यस्रष्टा र सृष्टिको जन्मानुक्रम सूची – चाँदमारी, तेजपुर, डा.रिजुस्मिता शर्मा ।

सुवेदी, दीपक, युग्मक लेखनको २५ वर्ष/ सिद्धान्त, सृजना र सम्भावना, sahityapost.com/khoj-anusandhan/29023/

…………………,सजिलो नेपाली वणर्विन्यास, (२०७६), काठमाडौँ – मञ्जरी प्रकाशन ।

प्रतिक्रिया
Loading...