फूलको विशेष स्थान हुन्छ । फूल, पवित्रता, शुद्धता र प्रेमको प्रतीक मानिन्छ । सृष्टिको अनुपम सुन्दर र पवित्र रचना हो फूल । यो दुनियाँलाई सुन्दर बनाउनमा फूलको विशेष स्थान रहेको छ र यो सुन्दर दुनियाँमा अनेक जातका रङ्गीबिरङ्गी र फरक-फरक गुण र विशेषता भएका फूलहरू पाइन्छन् र तीमध्ये एक फूल हो परिजातको फूल ।
यसको सुगन्ध र रातको महकलाई लिएर कतै-कतै यस फूललाई रातकी रानी पनि भन्ने गरिन्छ । रातभरि ढकमक्क मनमोहक रूपमा फुलेर घरटोल सुगन्धमय तुल्याउने अनि सूर्योदय अगावै भुईँभरि असरल्ल झरेर मन खिन्न बनाउने यस अद्भुत पुष्प वृक्षबारे सबैलाई कौतुहलता हुन सक्छ । पारिजातको फूल देख्दा जसरी अलौकिक लाग्दछ त्यत्तिकै रहस्यमय लाग्दछन् यो फूलसँग जोडिएका किंवदन्ती र धार्मिक वर्णनहरू ।
पारिजातको वनस्पतिको प्रजातीय नाम निक्टान्थस आर्बोट्रिस्टिस (Nyctanthes arbor-tristis) हो यो ग्रीक भाषाको शाब्दिक अर्थ ‘रातमा फुल्ने दुःखित वृक्ष’ भन्ने कुरा खुल्न आउँछ । यो फूललाई अङ्ग्रजीमा `नाइट जेस्मिन´, संस्कृतमा- शेफालिका, नेपालीमा पारिजात र हिन्दीमा हरसिंगार भनेर चिनिन्छ । यो दक्षिण एसिया लगायत पूरै भारतीय उप-महाद्विपमा यति प्रख्यात छ कि विभिन्न ठाउँमा विभिन्न नामले एक दिव्य वृक्षको रूपमा चिनिन्छ । भारतको बङ्गाल राज्यमा हरसिंगारलाई राजकीय फूल मान्दछन् । यो फूललाई विभिन्न भाषामा भिन्न-भिन्न नामले पुकारिन्छ जस्तै: मराठीमा पारिजातक, गुजरातीमा हरशणगार, बङ्गालीमा शेफालिका, शिउली । असमियामा शेवाली, तेलुगूमा पारिजातमु, पगडमल्लै, तमिलमा पवलमल्लिकै, मज्जपु, मलयालममा पारिजातकोय, पविझमल्ली, कन्नडमा पारिजात, उर्दूमा गुलजाफरी, मैथिलीमा सिंघार, सिंगर इत्यादि ।
यो जाई परिवारको वनस्पति हो तर यसको पात भने कमलो र मुलायम नभई झन्डै खाक्सीजस्तै खस्रो हुन्छ ।
पारिजातको फूल महिलाको नाकको फुलीझैँ फक्रिएको हुन्छ र हिउँजस्तै कञ्चन सेतो हुन्छ । फुलीको नली भने सुन्तले रङ्गजस्तै हुन्छ । यो फूल अनेक देवीदेवताको प्रिय भनेर आस्था राख्नेहरू यो फूल बटुल्न साँझैदेखि पारिजातको बोटमुनितिर चोखो कपडा वा नाङ्लो ओछ्याएर बिहान पूजाका लागि फूल बटुल्ने प्रचलन छ । बोटबाट फूल टिप्न हुन्न, पाप लाग्छ भन्ने जनविश्वास निकै गहिरो रूपमा जरा गाडेको पाइन्छ तर किन टिप्न हुँदैन भन्ने कुरा सबैलाई थाहा नहुँदा कौतुहलको विषय हुन सक्छ ।
पारिजातको फूलको उत्पत्तिका बारेमा हरिवंश पुराणमा गरिएको धार्मिक वर्णनअनुसार यो पुष्प देवता र दानवबिच भएको समुद्र मन्थनबाट उत्पत्ति भएको थियो पछि भगवान् इन्द्रले यो वृक्षलाई इन्द्रलोक लिएर गए । स्वर्गमा मात्रै पाइने यो दिव्य वृक्ष पृथ्वीमा कसरी आइपुग्यो भन्ने भनाइमा एक दिन नारद मुनि उपहारस्वरूप पारिजात फूल लिएर इन्द्रलोकबाट कृष्णलाई भेट्न पुगेछन् । भगवान् कृष्णलाई त्यो फूल अत्यन्त सुन्दर र मोहक लागेर आफ्नो साथमा रहेकी प्रिय पत्नी रुक्मिणीलाई दिएछन् त्यसपछि नारद फेरि कृष्णकी अर्की पत्नी सत्यभामा कहाँ पुगेर आफूले स्वर्गबाट ल्याएको अलौकिक पुष्प कृष्णले रुक्मिणीलाई मात्रै दिएको र उनलाई एउटा पनि नराखिदिएको कुरा सुनाइदिएछन् ।
अनि रिस र ईर्ष्याले सत्यभामाले कृष्णलाई पारिजातको वृक्षनै ल्याइदिन ढिपी गरिछन् उनको जिद्दीको अगाडि आजित भएर कृष्णले सो वृक्ष स्वर्गलोकमा मात्र भएको र इन्द्रसँग अनुरोध गरेर ल्याइदिने वाचा गरेछन् तर यता नारद मुनिले फेरि स्वर्गलोकमा पुगेर कृष्णले पारिजात वृक्ष लिन आउँदै गरेको र उक्त वृक्ष इन्दलोकको सम्मान र सम्पत्ति भएकाले कृष्णलाई सुम्पन नमिल्ने कुरा इन्द्रलाई सुनाए । जब कृष्णले आफ्नो एक दूतलाई वृक्ष लिनको लागि इन्द्रलोक पठाएछन् इन्द्रले पारिजात दिन इन्कार गरेछन् । कृष्णले उनको दूत फूल नलिईकन खाली हात आएको देखेर क्रोधित भई इन्द्रलोकमा आक्रमण गरेर पारिजात आफ्नो कब्जामा लिन सफल भएछन् तर देवराज इन्द्र रिसको आवेगमा आएर श्राप दिएछन् कि यो पुष्प रातमा मात्र फुल्नेछ, दिनमा कसैले देख्न सक्ने छैन र यसमा कुनै फल लाग्ने छैन भनेर । कृष्णले परिजातको वृक्षलाई धरतीमा लिएर आए अनि पत्नी सत्यभामाको वाटिकामा यसरी रोपिदिए कि वृक्ष थियो सत्यभामाको बगैँचामा तर यसको फूल भने रुक्मिणीको बगैचामा झर्थ्यो । यसरी अहिले पनि देखिन्छ यो फूल बोटको सिधै तल फेदमा या नजिकै नझरेर अलि टाढा झर्ने गर्दछ ।
पारिजातसँग जोडिएको अर्को कथामा द्वापरयुगमा जब पाँच पाण्डव गुप्तवासमा थिए तब माता कुन्तीले सत्यगाभाको बगैँचामा पारिजात फूल देखेपछि शिवजीको आरधानामा पारीजात फूल चढाउने इच्छा जाहेर गरेपछि कुन्ती- पुत्र अर्जुनले द्वारकास्थित सत्यभामाको बगैँचाबाट पूरै वृक्ष नै उखेलेर गुप्तवास बसेको गाउँ किंतुर (उत्तर प्रदेसको एक गाउँ) मा ल्याएका थिए भन्ने किंवदन्ती छ र उक्त पारिजात वृक्ष अहिलेसम्म पनि सो ठाउँमा पाइन्छ र जसलाई छोएमात्र पनि सारा रोग भाग्दछ भने जनविश्वासमा भारतमा टाढा-टाढाबाट मान्छेहरू आउने गरेको पाइन्छ । यसरी सम्पूर्ण भारतीय उपमहाद्वीपमा यसको धार्मिक महत्त्व र महिमा फैलियो । दक्षिण भारतमा यो फूल केश शृङ्गारमा महिलाहरूले विशेष रूपमा प्रयोग गरेको पाइन्छ ।
फूलको उत्पत्तिको सम्बन्धमा अर्को किंवदन्ती
पारिजातक एक राजपुत्री थिइन् । तिनको सूर्यसँग गहिरो प्रेम कायम हुन्छ पछि गएर सूर्यले तिनलाई तिरस्कार गर्छन् र टाढा हुन्छन् अनि प्रेमवियोग खप्न नसकेर पारिजातले आत्महत्या गर्छिन् र उनको दाहसंस्कार गरिन्छ र उनको चिताको खरानीबाट एउटा वनस्पति पैदा हुन्छ त्यही हो, पारिजात । सायद सूर्यलाई तिरस्कार गरेका कारण सूर्योदय हुनुअगावै सबै फूल झरि पनि हाल्छन् ।
यस फूलप्रति इन्द्र, कुवेर, कृष्ण र सत्यभामा मात्र मोहित भएका होइनन् देवी लक्ष्मीको पनि विशेष मन पर्ने फूल हो किनकि यी दुवै समुद्र मन्थनको क्रममा जलबाट उत्पत्ति भएका मानिन्छन् । अर्को एक शास्त्रोक्तिअनुसार स्वर्गकी अप्सरा उर्वशीलाई मात्र पारिजात फूल छुने अधिकार दिइएको थियो र उनी यो फूललाई छोएर आफ्नो थकान मेटाउने गर्दथिन् ।
यसर्थ यसको धार्मिक महत्त्व यो छ कि जसले यो फूल एकचोटि छुन्छ तब सारा थकान मेटिएर ताजगीपन प्राप्त गर्दछ र घरमा लगाउँदा मात्रै पनि यसले मानसिक तनाव कम गर्छ र घरमा भएका वास्तु, देव या पितृदोष नाश भएर जान्छन् । यसले अन्य नकरात्मक ऊर्जालाई हटाएर सकरात्मक ऊर्जा भरिदिन्छ भन्ने भनाइ छ त्यसैले पारिजात घरमा रोप्नु अत्यन्त शुभ मानिन्छ ।
धार्मिक महत्त्व त आफ्नो ठाउँमा छँदै छ त्योबाहेक स्वास्थ्यका दृष्टिले पनि यो त्यत्तिकै बहुऔषधीय गुणले भरिपूर्ण छ । यसको फूल, पात र बोक्रा तीनै भाग उत्तिकै रूपमा उपयोगी छन् । सायटिका रोगका लागि यसमा विशेष गुण हुन्छ । यसका साथै यसमा एन्टिएलर्जिक, एन्टिभाइरल, एन्टिब्याक्टेरियल क्षमता हुन्छ । ज्वरो, मलेरिया, डेङ्गु, लगायत मुटुरोग, हाडजोर्नी, छालासम्बन्धी रोग, खोकी, दम, दुखाइ र तनाव कम गर्न, विभिन्न औषधिको रूपमा काम गर्दछ । यसको पातमा रहेको टेनिक एसिड, मैथिल सिलसिलेट र ग्लुकोसाइड र एन्टिअक्सिडेन्टजस्ता तत्त्वले शरिरका कोषलाई बचाइराख्न, बुढ्यौलीलाई ढिलो गराउन, स्त्रीरोग र क्यान्सर रोकथामका लागि त्यत्तिकै लाभकारी छ । शिरमा कपाल खुइलेको ठाउँमा लगाउनाले नयाँ केश उम्रन्छ भन्ने जनविश्वास छ । यति लाभकारी वनस्पतिका बारेमा जनमानसमा यसको महत्त्व बुझाइ यसको जगेर्ना र वृक्षारोपणका लागि प्रोत्साहन गर्न आवश्यक देखिन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।