“कृपया, मियाँ काका” मैले विनम्र स्वरमा भनेँ, “म अन्धकारबाट आएको एउटा रिक्सावालाको छोरो हो । मलाई कविताको बारेमा सबै बताउनुस्‌ न । यो कविता कसले लेखेको हो ?”

उसले टाउको हल्लाएर ‘नाइँ’ भन्यो, तर मैले उसलाई तपाईंको दारी कति राम्रो, छाला कति गोरो आहा ! नाक र निधारले नै बताउँछ कि तपाईं डोम होइन जसले मक्काबाट जादुमय कार्पेट टेकेर उडेर आएको मुसलमानलार्इ आफूजस्तै डोम बनाएको थियो, भनेर खुब बढाइचढाई प्रशंसा गरिरहँ र ऊ मख्ख परेर हाँस्न थाल्यो । उसले मलाई फेरि दुईवटा कविता पढेर सुनायो र कविताको साँचो इतिहास सुनायो । त्यो यौटा अति गोप्य र जादुमय कुरा हो जुन ज्ञानीहरू मात्र जान्दछन्‌ । महामहिम, मैले यो कुनै नयाँ कुरा भनिरहेको छैन कि संसारको इतिहास भनेकै दस हजार वर्षको धनी र गरिब बीचको दिमागी लडाइँ हो | प्रत्येक पक्षले अर्को पक्षलाई अनन्त रूपमा झेल गरिरहेको छ ! इतिहासको सुरूदेखि नै यस्तै हुँदै आएको छ । गरिबले गमलामा पिसाब गर्ने, पालेको कुकुरलाई लात हान्ने आदि जस्ता थोरै युद्ध जित्छन्‌, तर धनीले दस हजार वर्षसम्म नै युद्ध जितेका छन्‌ । त्यसैले कुनै बुद्धिमानी (ज्ञानी) मानिसले गरिबको टीठ लागेर कविताको रूपमा चिह्न र सङ्केत छोडेर गए जुन गुलाब र सुन्दर चिज र केटीको बारेमा हो जस्तै सुनिन्छ, तर ठीकसँग बुझ्ने हो भने गोप्य कुरा खुल्छ र पृथ्वीको एउटा सबैभन्दा गरिब पनि यो निर्णयमा आइपुग्छ कि त्यो दस हजार वर्षको दिमागको युद्ध आफ्नै हितमा लडिएको रहेछ । ती चारवटा महान्‌ कविहरू रूमी, एकवाल र मिर्जा गालिब हुन्‌ र अर्को एउटाको नाम मलाई भनिएको थियो, तर मैले अहिले बिर्सेको छु ।

(त्यो चौथो कवि को थियो होला ? म उनको नाम सम्झिन नसकेर पागल हुन्छु । तपाईंलाई थाहा छ भने मलाई इमेल पठाउनुहोला |)

“मियाँ, काका, म तपाईंलाई अर्को यौटा प्रश्न सोध्न चाहन्छु ।”

“म को जस्तो देखिन्छु ? तिम्रो स्कुलको मास्टर जस्तो ? मलाई प्रश्न सोधिरहने होइन ।” बूढो झर्कियो ।

“अन्तिम प्रश्न । साँच्चै । मियाँ काका, मलाई भन्नुहोस्‌ के मानिस आफ्नै कवितामा हराउन सक्छ ?”

“तिमीले के भन्न खोजेको ? के जादु गरेर हराएजस्तै ?” मलाई हेरेर बूढाले भन्यो ।”हो त ! त्यो गर्न सकिन्छ । त्यसका लागि किताब पनि पाइन्छ । तिमी एउटा किताब किन्ने हो ?”

“होइन, नकिन्ने | म त्यस्तो हराउने भनेको होइन । मेरो मतलब के ऊ के ऊ……”

पसलेले निधार खुम्च्यायो र आँखा सानो पार्यो । उसको ठूलो कालो निधारका पसिनाका थोपाहरू ठूला ठूला भए ।

“मियाँ काका, त्यो कुरा बिर्सिदिनुस्‌ है ।” मैले उसलाई हँसिलो भएर हेर्दै भनेँ ।

अनि म आफैँलाई बूढासँग अब नबोल्न सचेत गराएँ । उसलाई धेरै कुरा पैले नै थाहा रहेछ ।

किताबहरू सरसर्ती हेर्दा मेरा आँखा पिरो भैसकेको थियो । म बस चढ्न दिल्ली गेटतिर लागिसंक्नुपर्ने थियो । मेरो मुखमा किताबको नमिठो स्वाद बाँकी नै थियो । यस्तो लाग्यो कि मैले ती पुराना किताबको गन्ध मिश्रित हावा धेरै लिई सकेँ । जब तपाईं पुराना किताबहरूसँग धेरै समय बिताउनुहुन्छ भने मनमा अनेकथरी अनौठा कुराहरू सल्बलाउँछन्‌ ।

बसपार्क जानु साटो म पुरानो दिल्लीमा टहलिएँ । म कहाँ जाँदै छु म आफैँलाई थाहा थिएन । मुख्य सडक छोड्ने बित्तिकै मनका भेलहरू सबै शान्त भए | केही मानिसहरू चारपाइमा बसेर बिंडी तान्दै थिए भने अरू केही भुइँमै पल्टेर निदाएका थिए । छानोमाथि चिलहरू उडिरहेका थिए | हावा चल्यो र ह्वास्स भैँसीको गन्ध आयो ।

सबैलाई थाहा छ कि पुरानो दिल्लीमा कतै कसाइको डेरा छ, तर धेरैले देखेका छैनन्‌, कता छ ? पुरानो सहरको आश्चर्यमध्ये यौटा यो पनि हो । छाप्रैछाप्रा, अनि प्रत्येक छाप्रामा बाटोतिर चाक फर्काएर, घुँडाघुँडा गोबरमा खुट्टा गाडेर गाडीको सिसा पुछ्ने मेसिन जस्तै पुच्छर हल्लाएर झिँगा धपाइरहेका भैँसीहरू देखिन्छन्‌ । म त्यहाँ उभिएर भैंसीको शरीरको गन्ध सुघेँ । मैले भैँसीको गन्ध नसुँघेको धेरै भैसकेको थियो ! मेरो फोक्सोमा अब सहरको दुर्गन्धित हावा बाँकी थिएन |

काठेगाडा चुइँकेको आवाज आयो । मैले एउटा भैँसी ठूलो गाडा तानेर आइरहेको देखेँ । गाडामा हातमा कोर्रा लिएर बसेको कुनै गाडीवान्‌ थिएन । कहाँ जानपर्ने हो भैंसीलाई थाहा थियो | त्यसैले यो आफ्नै सुरमा बाटबाटै आउँदै थियो । म बाटोछेउ उभिएँ । जब गाडा मेरो छेउबाट गयो अनि मैले देखेँ कि गाडाभरि काटिएका भैँसीको गोबर पो रहेछ । म गोबर भन्दै छु, तर नढाँटी भन्नुपर्दा गाडामा नाकको टुप्पोमा बाहेक अरू सबै ठाउँको छाला काढिएको, आँखा पनि निकालिएको, ट्वाङ्ग प्वाल देखिने, भैँसीका खप्परहरू थिए । त्यही टुप्पोबाट रौँहरू छुस्स बाहिर निस्केका थिए | सबै निमिट्यान्न पारिए पनि भैँसीको खप्पर भनेर चिनाउने त्यही एउटा नाकको टुप्पो थियो । अनुहारको अरू सबै भाग केही बाँकी थिएन ।

र त्यो जीवित भैँसी मालिकबिना नै मरेका भैंसीको भारी बोकेर जानुपर्ने ठाउँतिर खुरूखुरू जाँदै थियो ।

म पनि एक छिनसम्म ती मारेर छाला काढिएका भैँसीका खप्परहरू हेर्दै त्यो अभागी भैंसीसँगसँगै हिंडे । अनि त्यसपछि त महामहिम, यौटा अनौठो घटना घट्यो । म कसम खाएर भन्दै छु कि त्यो गाडा तानिरहेको भैँसीले पछि फर्केर मलाई हेर्यो र मेरो बुबाको जस्तै स्वरमा भन्यो, “तेरो दाइ किसनलाई पिटेर मारियो । तँ चाहिँ खुसी छस्‌ ?”

मलाई लाग्यो बिउँझिनुभन्दा केही मिनेट अघि म डरलाग्दो सपना देख्दै थिएँ ।
तपाईलाई थाहा छ यो सपना हो, तर अझै तपाईं उठ्न डराउनुहुन्छ ।

“तेरी। काकी लुटटुलाई बलत्कारपछि-हत्या गरियो । तँचाहि खुसी छस्‌ ?”

“तेरी हजूरआमालाई लातैलात हानेर मारियो । तँचाहि खुसी छस्‌ ?” भैसीले मलाई आँखा पल्टाएर हेर्यो र भन्यो, “लाज मर्नु ।” अनि छिटोछिटो अगाडि बढ्दै मेरो छेउबाट गयो | ती छाला काढिएका भैँसीका खप्परहरू देख्दा लाग्यो ती मेरै आफन्तजनको टाउकाहरू हुन्‌ ।