हालैको दुई-तीन वर्षको अन्तरालमा गोरखाली देवकोटा कुलका दुई होनहार रत्नहरू डा. उपेन्द्र देवकोटा र प्रा. सरोजकुमार देवकोटा उज्यालोपछिको ध्रुवतारा हराएझैँ यो लोकबाट सदाका लागि हराउन पुगे । स्वर्गको बाटो समाए । देवकोटा वंशका सुन्दर बगैँचाका सर्वथा आकर्षक सुगन्धित फूलहरू मात्र चुँडिएनन्, सारा गोरखालीहरूको खुसी खोसियो । आँखाका डिल रसाए । नेपाली जनताको मनको संसार अँध्यारो भयो । डा. उपेन्द्रको सन्दर्भमा म पछि कुनै बेला कलम चलाउँला । यसपटक स्व. प्रा. सरोज देवकोटाको प्रेरणादायी जीवनयात्राको प्रसङ्गमा केही कुरा अभिव्यक्त गर्न गइरहेको छु । जसको आलोकमा हाम्रो समाज हिँड्न सकोस् ।
अतीत पनि छायाजस्तै हुँदो रहेछ । कहिल्यै नछाड्ने । स्व. प्रा. सरोज देवकोटाको अतीतले मलाई कहिले दायाँबाट त कहिले बायाँबाट पछ्याइरहन्छ सधैँ । त्यही अतीतको डोरीको पोयो समाउँदै एउटा सामाजिक, शैक्षिक विद्वान्प्रति श्रद्धावान् हुँदै अक्षरहरूको सहायताले भावनामा रङ्ग भर्दै शब्दहरूको सुगन्धित माला श्रद्धाञ्जलिस्वरूप अर्पण गर्न गइरहेको छु ।
सरोज देवकोटाको जीवनको आरोह/अवरोहमा अनेकन् बास्नादार घटनाहरूको सम्मिश्रण पाउँछौँ हामी । प्राध्यापनको अलावा राष्ट्रिय जनजीवनको अत्यन्त महत्त्वपूर्ण विविध निकायहरूमा रहेर काम गर्न सरकारले खटाएअनुसार देश निर्माणमा इमानदारीपूर्वक जुट्नुभयो । मातृभूमिप्रतिको कर्तव्य निर्वाह गर्नुभयो । जीवनको रङ्गमञ्चमा स्व. सरोजले अन्य धेरै सामाजिक क्षेत्रहरूमा निःस्वार्थ संलग्न भै प्रशंसायोग्य अभिनय गरेर जानुभयो, बित्नुभयो । बितेको पनि एक वर्ष हुन लागेछ । पत्तै नपाई समय कति छिटो बहँदो रहेछ ।
वि.सं. २००५ देखि २०७७ सम्मको स्व. सरोजको ७२ बर्से जीवनकालमा पूरा ३६ वर्ष त उहाँले त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थानमा प्राध्यापन गर्नुभयो । २०३२ सालमा सहायक प्राध्यापकबाट आरम्भ भएको त्यो यात्रा प्राध्यापक हुँदै २०६८ मा निवृत्त भएपछि टुङ्गियो । स्व. सरोज देवकोटाले प्राध्यापन प्रारम्भ गर्दा नेपालको इन्जिनियरिङ शिक्षा एउटा दुधे बालकको रूपमा बामे सर्दै थियो ।
त्यो अवस्थामा रहेको इन्जिनियरिङ क्षेत्रलाई हालको जस्तो व्यापक एवं फराकिलो बनाउन अनि विश्वभर उच्च गुणस्तरीय संस्थाको रूपमा स्थापित गराउन सरोज र उहाँजस्तै हस्ती र विज्ञहरूको ठूलो योगदान पाउँछौँ हामी । आज संसारको हरेक कुनामा अनि आफ्नै देशनिर्माणको महाअभियानमा सरोजहरूले उत्पादन गरेका इन्जिनियरिङका जनशक्तिहरू समर्पित छन् । भन्न सकिन्छ सरोज मरेर गए पनि उहाँका प्रतिनिधिहरू कृयाशील छन् । स्वदेशको कुना काप्चामा मात्र हैन सारा संसारभर उनको स्वर गुन्जिरहेछ । आफ्नो कर्मको प्रकाशले स्व. सरोज चारैतिर फैलिएका छन् । प्रज्वलित भइरहेछन् । उनको सम्झना कर्णप्रिय सङ्गीत बनेर संसारभरि गुन्जिरहेछ । सम्मानपूर्वक पुकारिरहेका छन्- सरोज !
इन्जिनियरिङ शिक्षामा स्व. सरोजले प्राध्यापन मात्र गर्नु भएन, ई.अ.सं.को विभिन्न उच्च प्राज्ञिक प्रशासनिक पदहरू प्रोजेक्ट मेनेजर, सहायक डिनको जिम्मेवारीहरूमा रहेर आफ्नो क्षमताको प्रदर्शन गर्नुभयो । स्व. सरोज देवकोटाको प्रसङ्गमा उहाँका विद्यार्थी अनि साथीभाइहरू भन्ने गर्छन्-“ समुद्रजस्तै शान्त, शिष्ट, नरम, हसमुख अनि सरलताका विद्यालय नै थिए सरोज देवकोटा । कथनीमा मह र करनीमा जहर स्वभावको मान्छे होइनन् उनी । यदि ऐनामा चित्रको साटो चरित्र देखिँदो हो भने कहिल्यै हेर्दैन थिए होलान् मान्छेहरूले ऐना तर सरोज देवकोटा अपवादमा पर्नुहुन्छ । प्रा. सरोज देवकोटा त चित्र र चरित्र उस्तै भएको मान्छे हुनुहुन्थ्यो । उहाँको अनुहारमा झल्कने भद्रता, शालीनता र धीरताबाट सम्पूर्ण सरोज पढ्न सकिन्थ्यो आदि इत्यादि ।”
स्व. प्रा. सरोज देवकोटाको देनको चर्चा गरिरहँदा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को ( सिटिइभिटी) वर्णन गरिएन भने त्यो चर्चा अधुरो हुन जान्छ । सरोज देवकोटाले पचासको एक दशकभरि सो संस्थाको उच्च कार्यकारी पदहरूमा कहिले सदस्य सचिव भएर त कहिले उपाध्यक्ष भै अत्यन्तै कुशलतापूर्वक व्यवस्थापकीय जिम्मेवारी सम्हाल्नुभयो । परिषद्को न्यूनतम पूर्वाधारको विकास हुन नसकिरहेको सो समयमा नेपाल सरकार र अन्ताराष्ट्रिय दातृ सङ्गठनहरूका बिचमा समन्वय, सहयोग सृजना गराई साधन र स्रोत जुटाउने काम गर्नुभयो । गुणस्तरीय शिक्षामा जोड दिनुभयो । त्यसताका सरकारी हिसावले सञ्चालन भएका केही शिक्षालयहरू मात्र थिए सिटिइभिटीमा । जसले जनताको माग र चापअनुसारको आवश्यकतापूर्ति गर्न सकिरहेका थिएनन् । सरोज देवकोटाले निजी क्षेत्रलाई व्यापकरूपमा संलग्न गराएर मात्र मध्यमस्तरको यो प्राविधिक शिक्षालाई जनताको घर दैलोसम्म पुऱ्याउन सकिन्छ भनी नीति निर्माणको भूमिका निर्वाह गर्नुभयो । त्यही नीति निर्णयको जगमा टेकेर आज सिटिइभिटी अधिराज्यभरि व्यापक रूपमा फैलन पुगेको पाउँछौँ हामी । त्यसैले आजको सिटिइभिटी स्व. सरोजको पालाको सोचको प्रतिफल हो भन्दा अत्युक्ति हुने छैन । निर्धक्क साथ भन्न सकिन्छ– ‘खुट्टामा बाटो र आँखामा सपना’ भएका प्राविधिक शिक्षाविद् हुनुहुन्थ्यो । व्यवस्थापक अनि नीतिनिर्माता हुनुहुन्थ्यो स्व. प्रा. सरोज देवकोटा । आफ्नो कर्तव्यप्रति सधैँ सजग र सतर्क रहने सरोजले कामसँग रमाइलो कहिल्यै गर्नु भएन बरु सबैको साथ लिएर रमाइलोसँग काम गर्नुभयो ।
हुन त आर्थिक गतिविधिको सन्दर्भलाई लिएर सिटिइभिटीको साख यानि कि छवि त्यति उज्यालो छैन भनिन्छ हाम्रो समाजमा । आर्थिक अपचलनका मुद्दा खेप्ने प्रशासकहरू धेरै नै भएर होला सायद ‘लिने र दिनेको दैनिक जात्रा हेर्न सिटिइभिटी जानु’ भन्ने कहावत बेलामौकामा सुनिन्छ पनि । त्यस्तो संस्थामा झन्डै १० वर्ष कार्यकारी पदमा बसेका सरोज देवकोटालाई कसैले औँला ठड्याएका देखिएन । भन्छन् मान्छेहरू- निष्कलङ्कको टीका लगाएर बाहिरिने दुर्लभ प्रतिनिधिमा सरोज देवकोटा पर्नुहुन्छ । सरोजको अवधिलाई स्वर्ण युग भन्नेहरूको पनि कमी छैन समाजमा ।
विभिन्न जिम्मेवारीहरू वहन गर्ने क्रममा सरोज देवकोटाले नेपाल सरकारको निर्णयानुसार सूचना प्रविधि उच्चस्तरीय आयोगको उपाध्यक्ष पदमा रहेर पनि देश सेवाको काम गर्नुभयो केही समय ।
स्व. सरोज देवकोटामा नेतृत्वदायी क्षमता उच्च पाउँछौँ हामी । नेपालको इन्जिनियरहरूको छाता सङ्गठन नेपाल इन्जिनियर्स एसोसियसनको अध्यक्ष भै इन्जिनियरिङ समूहको हक, हित र पेसागत मर्यादाका लागि दत्तचित्त भई क्रियाशील हुनुभयो । स्व. सरोजले आफ्नो त्यही कार्यकालमा विभिन्न पेसागत सञ्जाल ‘पापड’ को समेत अध्यक्ष भई २०६२ । ०६३ को लोकतन्त्र प्राप्तिको आन्दोलनको पनि अगुवाइ गर्नुभयो ।
समाजसेवाको क्षेत्रमा पनि स्व. सरोज देवकोटाको संलग्नता व्यापक पाउँछौँ हामी । टोलछिमेक लगाएत समाजका विभिन्न सामाजिक सङ्घ/सङ्गठन, स्कुल, कलेज र समुदायहरू सरोजको निष्ठा र इमानदारीको कदर गर्दै उहाँलाई नै नेतृत्व प्रदान गर्न लालायित हुन्थे । मृत्युपर्यन्त धेरै संस्थामा रहेर काम गर्नुभयो । सरोजको समाजसेवी भावनाको कदरस्वरूप यो पङ्क्तिकार समेत संस्थापक रहेको संस्था ‘दण्डपाणि अर्ज्याल स्मृति केन्द्र’ ले आफ्नो वार्षिक लोकप्रिय मुखपत्र ‘ज्ञानबिन्दु’ लाई स्व. प्रा. सरोज देवकोटा स्मृति अङ्कको रूपमा प्रकाशनार्थ विभिन्न तह र तप्काका विद्वत् व्यक्तित्वहरूको लेख रचनाहरू सङ्कलनको काम गरिरहेको छ । यही २०७८ असोजमा हुने उहाँको वार्षिक तिथिमा विमोचन गर्ने तरखरमा छ । स्मरण रहोस्- सो स्मृतिकेन्द्रको स्थापनाकाल २०६२ देखि सक्रिय रूपमा निरन्तर संलग्न भई परलोक हुँदाको समयमा स्व. सरोज देवकोटा नै अध्यक्ष हुनुहुन्थ्यो । स्व. सरोज देवकोटा मरेर गए पनि उहाँका असल कर्म, सोच र सच्चरित्रलाई समाजमा सुसूचित र प्रतिस्थापन गराई सरोजकै बाटामा लाग्न समाजलाई प्रेरित गर्ने अनि आफ्नो स्व. अध्यक्षको कदर, सम्मान गर्दै उहाँको सम्झनालाई अमर, चिरस्थायी बनाउने लक्ष्य स्मृति केन्द्रले लिएको छ । यसरी समाजसेवाको क्षेत्रमा पनि सरोज देवकोटाले छुट्टै पहिचान बनाउनुभयो । समाजप्रतिको सेवाभाव र राष्ट्रप्रतिको प्रेम स्व. सरोजको आदर्श पक्ष थियो ।
सरोज देवकोटा कर्कलामाथिको पानी अवश्य हुनुहुन्नथ्यो । उहाँ त वास्तविक टल्कने सक्कली हिरा हुनुहुन्थ्यो । मूल्यवान् कोहिनुर हिरा । चिल्ला कुरा गरेर लडाउने अनि हात दिएर उठाएझैँ गर्ने छलकपटी चरित्र थिएन उहाँमा । हार्दिकता, निश्चलता, सरलता अनि निष्कपटता उहाँको मुहारमा सदा प्रतिविम्बित हुन्थ्यो । शालीनता नै उहाँको सुन्दरता थियो । खै, के गुरुत्व बल थियो उहाँमा कुन्नि ? मानिसहरू प्रायः सरोजको वरिपरि झुम्मिरहन मन पराउथे ।
गोरखा जिल्लाको पश्चिमी भेगमा रहेको लिगलिग गाउँ । शिक्षित, राजनीतिक अनि चेतनशील व्यक्तिहरूको जन्म र वासस्थान भएको ऐतिहासिक थलो । त्यही गाउँमा पण्डित दुर्गाभक्त र दीर्घकुमारी देवकोटाको तेस्रो सन्तान एवं दोस्रो पुत्रका रूपमा जन्मनुभएको सरोज देवकोटा बाल्यकालदेखि नै राजनीतिक रूपमा चेतनशील हुनुहुन्थ्यो । उहाँको पिताजी पं. दुर्गाभक्त देवकोटा राणाशासन समाप्ति एवं प्रजातन्त्रप्राप्तिको आन्दोलनको एउटा अगुवा हुनुहुन्थ्यो, जो पछि २००८ देखि २०१३ सालसम्म गोरखा जिल्ला नेपाली काङ्ग्रेसको अध्यक्ष भई राजनीतिको अग्रभागमा समाहित हुनुभयो । त्यस्तो व्यक्तिको शिक्षित सन्तान सरोज देवकोटामा राजनीतिप्रतिको चासो, मोह र संलग्नता हुनु स्वाभाविकै थियो । देशमा पटक-पटक भएका प्रजातन्त्रप्राप्तिको जनआन्दोलनहरूमा सरोज देवकोटाको परोक्ष तथा प्रत्येक्ष संलग्नता थियो । धेरैपटक गिरफ्तार समेत हुनुहुयो । स्व. सरोज नेपाली काङ्ग्रेस समर्थक समूहका इन्जिनियरहरूको संस्था ‘सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स एसोसियसनको’ संस्थापक अध्यक्ष हुनुभयो । त्यो समूहमा सरोजको भूमिका अत्यन्तै उच्च थियो, मर्यादित थियो ।
प्रा. सरोज देवकोटाको सिद्धान्त, भावना र विचार स्पष्ट थियो । फरक विचार र सिद्धान्त भएका साथीभाइहरूमा यदाकदा देखिने शङ्कालु कसिङ्गरलाई उहाँले प्रेमिल कुचोले बढारी दिनुहुन्थ्यो । विमतिको सन्देश शिष्ट, सभ्य र शालीन तरिकाले प्रवाह गर्नुहुन्थ्यो । सहचर्यको बिर्को कोही कसैसँग पनि बन्द गर्नु भएन । प्रतिशोधको भावना नै थिएन उहाँमा । खुकुरी उज्याउनेप्रति पनि ‘आभारी छु’ भन्ने प्रकृतिको सज्जन हुनुहुन्थ्यो । बाह्र बजे घडीको सुई मिलेझैँ सबैसँग मिल्न सक्नुहुन्थ्यो । चिम्टाका दुई खुट्टी भई सहकार्य गर्ने खुबी थियो । अनि मान्छेहरू किन नभनुन् – ‘आँखामा हाले पनि नबिझाउने सरोज । जूनजस्तै शीलत सरोज । कम बोल्ने धेरै सुन्ने सरोज । रुवाभन्दा नरम सरोज, आदि इत्यादि ।’
स्व. सरोज देवकोटा मेरो फुपूको छोरा अर्थात् भानिज दाइ हुनुहुन्थ्यो । हामीलाई गर्ने मायाँ र स्नेहको उच्चताबाट उहाँ भानिज दाइ नभई एउटै पेटका सहोदर दाजुजस्तो मान्थ्यौँ हामी । परदेशमा रहेर पनि उहाँसँग देशविदेशको प्रसङ्गमा घण्टौँ फोन संवाद हुन्थ्यो । मृत्युको हप्तादिन अघिसम्म पनि सरोज दाजुसँग म सम्पर्कमा थिएँ । कोरोनाले उहाँलाई हप्तादिनभित्रै मारेछ । स्वर्गको बगैँचामा फुल्ने फूल हुनुभएछ । सरोज दाजुको असामयिक मृत्युको दुःखद समाचार मैनकाँडा बनेर हृदयमा गाडियो । आगाको कोइला पनि बरफजस्तै भयो हामीलाई । उनको मृत्युको विरहमा साराको मन खडेरीमा सुकेको बिरुवाजस्तै हुन पुग्यो । कुनै ठूलो दीर्घ रोगले दुःख नदिएको र फक्रक्क फुलिरहेका सरोज दाजुको अवसान पत्याउनु भनेको बादलविनाको झरी पत्याउनुजस्तै भयो । एकातर्फ परदेशमा बसेर पनि उहाँका स्मृतिग्रन्थ प्रकाशन यात्रामा जुटेको छु अर्कातर्फ सरोज देवकोटा दिवङ्गत हुनुभएको पत्याउन अझै सकिरहेको छैनँ मैले ।
कहिल्यै मर्न नहुने नेपाल आमाका एउटा असल सन्तान हुनुहुन्थ्यो सरोज । मलाई लाग्छ – स्वयं काल पनि आफ्नो दुष्कर्मको पश्चात्तापमा छटपटाइरहेको होला । हुन पनि समय यति निष्ठुर र अविवेकी होला भनि मैले पत्याउनै सकेको थिइनँ । अल्पायुमा नै त लग्यो लग्यो, दुनियाँको अन्त्येष्टिमा अनिवार्य घाट पुग्ने सरोजको अन्तिम बिदाइमा परिवारले पनि गतिलोसँग निर्धक्क भएर मुख हेर्न समेत मिलेन । प्रेमी, साथीसङ्गी अनि आफन्तजनले आँखा रसाउँदै र भक्कानिँदै लासमा एक थुँगा श्रद्धाको फूल चढाउन पनि पाएनन् । हुन पनि उहाँको मृत्युताका कोरोनाले दिग्विजय कायम गरी सात अरब मान्छेहरूलाई जेलभित्र थुनेर चक्रवर्ती बनेको थियो । त्यति मात्र कहाँ हो र ? आवाजविहीन, प्रतिक्रियाविहीन, संस्कार र संस्कृतिविहीनसमेत बनाइदिएको थियो । समयको त्रासदीभित्र सबै मान्छे सन्त्रस्त थिए ।
बिस्तारै बिस्तारै समयसँगै मृत्युका घाउहरू पुरिँदै जान्छन् र खाटा बस्छन् पनि तर सरोजको कल्पनाबेगरको अप्रत्यासित मृत्यु सदा आलो घाउ बनेर हृदय चहऱ्याइरहने प्रकृतिको हुन पुग्यो । उहाँको मृत्यु चोटको वेदनामय सम्झना सबैको मुटुमा सदा जीवितै हुने भए । त्यो मृत्यु बिर्सन आफ्नो मृत्यु कुर्नुपर्ने भएको छ । उहाँको अभाव र शून्यताको पीडा सदा असह्य र कष्टकर हुन पुगेको छ धेरैलाई ।
स्व. सरोज देवकोटाले आठ कक्षासम्मको शिक्षा आफ्नै गाउँ र लमजुङ दुराडाँडाका विद्यालयहरूबाट प्राप्त गर्नुभएको थियो । नौ र दश हुँदै एस.एल.सी. शान्ति विद्या गृह, काठमाडौँबाट २०२१ मा पास गर्नुभयो । पहाडी परिवेशको परिवार, चार-पाँच दिन हिँडेर पुग्नुपर्ने र खर्च धान्न महँगो हुने काठमाडौँमा बसेर आइएस्सी समेत पढ्न सजिलो र सहज अवश्य थिएन तर पनि सरोजको ठूलो दाजु एवं पूर्व प्रशासक रामेश्वर देवकोटाको सहयोग, उचित निर्देशन र संरक्षण नै स्व. सरोजले उच्चशिक्षा प्राप्त गर्ने आधार वन्यो । सरोजले तत्कालीन शोभियत सङ्घबाट र पछि बेलायतबाट इन्जिनियरिङ विषयमा मास्टर डिग्री प्राप्त गर्नुभएको थियो ।
देशको राजनीतिक परिदृष्यहरूबाट सन्तुष्ट हुनु हुन्न थियो स्व. सरोज देवकोटा । राष्ट्रको इज्जत रछ्यानमा पुऱ्याउने दुष्कर्ममा प्रयत्न ती नेताहरूप्रति क्षुब्ध हुनुहुन्थ्यो । वस्त्र तानेर मातृभूमिलाई नङ्ग्याउन उद्यत दुःशासनहरूप्रति वाक्क देखिनुहुन्थ्यो । परेवा बनेर राजनीतिमा छिर्ने अनि बाज बनेर झम्टने उनीहरूको दुश्चरित्रबाट दिक्क हुनुहुन्थ्यो । अगुवाहरूको हन्तकाली अनुहारमा उन्नत नेपालको प्रतिविम्ब देख्न नपाएकोमा गहिरो चिन्ता व्यक्त गर्नुहुन्थ्यो ।
सरोजको प्रसङ्गमा छुटाउन नहुने एउटा अर्को इतिहास छ–गोरखा नाटक समिति, काठमाडौँ । त्यो संस्थाको स्थापनाकालदेखि संलग्न भई उहाँ २०२४ सालतिर आइपुग्दा अध्यक्ष हुनुहुन्थ्यो । उहाँकै नेतृत्वमा रहेको समितिले आयोजना गरेको नाटक प्रदर्शनमा तत्कालीन राजा महेन्द्रको उपस्थिति भयो । सरोजले विभिन्न प्रदर्शनीहरूमा विशेष गरी एउटा सशक्त महिला पात्रको भूमिका निर्वाह गर्नुहुन्थ्यो ।
‘अहङ्कारको वृक्षमा विनाशको फल लाग्छ’ भन्ने नीति वचन उहाँले मनन गरेर नै होला सायद सर्पले काँचुली फालेझैँ घमन्डलाई फाल्नुभएथ्यो सरोजले । धानको बाला बनेर निहुरिन चाहनुहुन्थ्यो । सरोजसँगको सान्निध्यमा पुलकित हुँदै रानो भेटेको मौरीजस्तो अनि आमा भेटेको बालकजस्तो हुन्थ्यौँ हामी । सरोजप्रतिको विश्वास आफैँप्रतिको जस्तो बलियो थियो समाजमा । शरद् दाजुको छायाको शीतलतामा सधैँ रम्न चाहन्थे मान्छेहरू । इष्टमित्र आफ्नो घरपरिवारमा स्व. सरोज पस्दा वसन्त ऋतु नै पसेजस्तो रमाइलो र आनन्द मान्थे । उहाँको सामीप्य चिसो बिहानीको पारिलो घामजस्तै न्यानो अनुभव गर्थे ।
बोलीमा केही मितव्ययी अर्थात् अल्पभाषी स्व. सरोजको जीवन नानीझारझैँ कहिल्यै मुर्झाएन । सधैँ फुर्तिलो, ताजा र उज्यालो । उहाँ ढोडको लौरो हुनुहुन्थेन । जस्तो सुकै पनि जिम्मेवारीको भार थामेर आफ्नो क्षमता सफलतापूर्वक प्रदर्शन गरी जानुभयो । सार्थक जीवन बाच्नुभयो । सरोज देवकोटाको मायाँ र सम्झना छाया बनेर बस्नेछ नेपाली जनजीवनमा । हाम्रो समाजमा कहिल्यै नमेटिने सकारात्मक तस्बिर छाडेर जानुभएको छ । स्व. सरोज देवकोटाका सामाजिक र शैक्षिक देनहरूले हाम्रो भूमि सिँगारिँदै जानेछ । उहाँले देखाएको असल बाटामा हामी हिँड्न सकौँ । त्यो नै स्व. सरोजप्रतिको सच्चा श्रद्धाञ्जलि हुनेछ । अन्त्यमा शान्त र भद्र स्वभावकी हाम्री आदरणीय भाउजू चन्दा देवकोटा, छोराहरू विज्ञान, विवेक अनि दाजुहरू रामेश्वर, बिमल र दिदी शारदा, बहिनी उर्मिला लगायत सम्पूर्ण परिवारजनमा गहिरो समवेदना । स्व. प्रा. सरोज देवकोटामा हार्दिक श्रद्धासुमन ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।