बलात्कार । स्त्रीजातिमाथि उनको सहमति र इच्छाविरुद्ध जबरजस्ती बलप्रयोग गरेर, धोका, आतङ्क, डरको सहाराले उसको शीलभङ्ग या सतीत्वको हनन गर्नु नै हो बलात्कार । वर्तमान समयको अति चर्चित विषय । कुनै पनि खबर कागज, पत्रपत्रिका होस् या त दृश्यश्रव्य माध्यम, या सोसल मिडिया, सबैतिर बलात्कारको खबर एउटा साधारण घटना भएको छ । नाबालकदेखि लिएर वृद्धासम्म बलात्कार पीडिता भएको देखिन्छ समाजमा । आखिरमा किन हुन्छ बारम्बार बलात्कार ? किन नारीहरूलाई भोग गर्ने वस्तु ठानिन्छ ? किन उसको शारीरिक बलशक्ति कम छ भनेर उसलाई यस्तो यातना दिएको हो ? शक्तिकी प्रतिक हो नारी । ममताकी प्रतिमूर्ति हो नारी तर आज त्यही नारी दिनरात अर्काको पददलित भएर बाँच्नुपरेको छ । घर-हाट-बजार, अफिस होस् या सामाजिक अवस्थान, या होस् व्यक्तिगत ठाउँ कतै न कतैबाट ऊ शोषित-पीडित भइरहेकै हुन्छे । आफ्नै घरमा पनि नारीलाई सुरक्षित छ भन्न पाइँदैन अहिले । शारीरिक रूपले मात्र नभएर आज भोलि नारी मानसिक रूपले पनि बलात्कृत भइरहेकी हुन्छे । बलात्कार कुनै एउटा मानसिक व्याधि मात्र नभएर, यो एउटा अक्षम्य तथा जघन्य अपराध हो । लिङ्गजात क्षमता आधिपत्यको कुत्सित फसल हो बलात्कार । यसले समय, उमेर, स्थान, पात्र केही चिन्दैन । न यसले बुझ्दछ क्षमा, दया, ममता अथवा सहानुभूतिका उद्गारहरू । विवेकशून्य यस जघन्य अपराध हिंसाबाट आरम्भ भएर हिंसामै समाप्त हुन्छ ।

रिजु देवी
(असम)

बलात्कार किन हुन्छ, के हो यसको कारण यस विषयमा विभिन्न जनले विभिन्न मत व्यक्त गरेका छन् । मनस्तात्त्विक दिशाबाट कतिपय मनस्तत्त्वविद्‌हरूले युक्ति दर्साएका कतिपय दिशाहरू यस प्रकार रहेका छन् ।

(क) महिलाहरूले आफ्नो सीमित पोसाक पहिरनद्वारा अथवा व्यवहारद्वारा यौन आवेदन गर्छन् ।

(ख) अनजान पुरुषद्वारा नारी बलात्कृत हुन्छन् ।

(ग) बलपूर्वक भए पनि नारीले शारीरिक मिलन रुचाउँछन् ।

(घ) नारीले इच्छा गरेदेखि बलात्कारबाट बच्न सक्छन् ।

(ङ) नारीले प्रभावशाली व्यक्तित्वमाथि बलात्कारको लाञ्छन लगाउँछन् ।

(च) बलात्कारीहरू मानसिक रोगी हुन्छन् ।

मनस्तत्त्वविदहरूले यस्ता किसिमका युक्ति दर्साए तापनि यी युक्तिलाई युक्तिले नै नकार्न नसकिने हैन किनभने महिलाहरू सौन्दर्यप्रिय हुन्छन् । आफू सुन्दर देखिनुका निम्ति सीमित वस्त्रधारण गरे तापनि, कुनै परपुरुषले उनीहरूमाथि बलपूर्वक शारीरिक शोषण गरेको कहिल्यै चाहँदैनन् । बलात्कारको यसकारण कदापि हुन सक्दैन यसकारणले, किनकि सम्पूर्ण शरीर ढाकेर हिँड्नेहरू पनि आज समाजमा उति नै गरी बलात्कृत भइरहेका छन् । एउटी सानी दुई-तीन वर्षकी नानी जसको सौन्दर्यबोधको कुनै ज्ञान हुँदैन र पनि ऊ बलात्कारजस्तो पाशविकताको बलि भएकी हुन्छे, के कारणले ? यसको केही जबाफ छ र! समाजमा, मान्छे-मान्छेमा विश्वास डगमगाएको छ । अनजान पुरुषद्वारा मात्र किन ? आफ्नै आत्मीयजनबाट पनि लगातार महिला, नाबालिकाहरू दिनरात बलात्कृत भइरहेका छन् । सुतिरहेका ठाउँबाट सानी बच्चीलाई लगेर बलात्कार गरेको नजिर अहिले साधारण घटना भएको छ । विवाह त एउटा बलात्कारको वैधिक स्वीकृतिभन्दा अत्युक्ति नहोला । पितृप्रधान समाजमा यस्ता कति महिलाहरू छन्, जो दिनरात आफ्नै पतिका साथै परिवारकै अन्य व्यक्तिबाट अथवा बन्धुहरूबाट पनि यौन उत्पीडनको सिकार भइरहेका छन् । कसै-कसैको मात्र वैवाहिक जीवन सुखमय भएको देखिन्छ । एकअर्कालाई सम्मान, इज्जत गरेको देखिन्छ । धेरै नारीहरूको डर, लाज, अपमान, घिनले गर्दा जति नै पीडा खप्नुपरे तापनि उसले आफ्नो आवाज दबाएर राखेकी हुन्छे तर यो गलत निर्णय हो । अपराध गर्ने अपराधी जत्तिकै आफूमाथि भइरहेको अपराधलाई लुकाउने पनि उत्तिकै अपराधी हुन्छन् । यस्तै सङ्कोची मनोभाव र डरको आड लिएरै दिनदिनै यस्ता किसिमका अपराधक्रम बढ्दै गएका छन् ।

बलात्कार अहिले केवल बलात्कार मात्र नभएर अत्यन्त हिंस्रक अनि भयानक भएको छ । जस्तै दलबद्ध बलात्कार । दलबद्ध बलात्कारको सिकार भएका नानी, वृद्धा अथवा नारीले पुनर्जीवन पाउने आशा नगरे पनि हुन्छ । निर्भया काण्ड, हाथरस काण्ड, हाथरस काण्डको ५०० मिल दूरीमा २४ घण्टाभित्रैमा फेरि अर्को त्यही घटना घट्नु, २०२० मणिपुरमा १४ वर्ष उमेरकी किशोरीलाई दलबद्ध बलात्कार, विगत वर्ष २०२० असमको गहपुर स्थित रजाबारीमा १२ वर्षकी नानीलाई दलबद्ध बलात्कार, असम नगाउँ जिल्लाकी सुमिला राङहान्पी सबै-सबै नै एकै किसिमका घटनाका सिकार भएका हुन् । पहिले बलात्कार अनि त्यसपछि फेरि अकथ्य नरकीय यातना दिएर त्यसको प्राण लिनु यही नै दस्तुर भएको छ अहिले । यस्ता घटनाहरू धेरै मात्रामा अहिलेका युवा र पुँजीवादी धनाढ्यहरूले नै गरेको देखिन्छ । यी त नथिभुक्त केस मात्र हुन्, समाजको डरले नथिभुक्त नभएका केसहरू त अझ चार गुणा होलान् । यसरी कतिदिनसम्म नारीले यो बर्बरता सहनुपर्ने हो?

के साँच्चै नै बलात्कार एउटा मानसिक रोगकै प्रतिफलन हो त? के बलात्कारी जति सबै मानसिक रोगी हुन्छन् त? अवश्य हुँदैनन् किनभने कहिलेकाहीँ कतिपय मानसिक रोगीले आफ्नो हिताहित ज्ञान हराएर असंयमित यौन अपराधमा लिप्त भए तापनि खुबै कम सङ्ख्यक यस्ता बलात्कारी छन्, जसलाई मानसिक रोगी भन्न मिल्दैन । नारीलाई दमन गर्नका निम्ति या त उसले नारीबाट पाएको अपमानको प्रतिशोध लिनका निम्ति पनि कसै-कसैले यस्तो अपराध गर्दछन् तर सानी नाबालिकामाथि केको प्रतिशोध? यो उसको कामवासना नै हैन र ? जति नै जे भने पनि पुरुषको कामना-वासना तीव्रतर भएका लागि कुनै पनि स्त्रीलाई आफ्नो सिकार बनाउन सक्दछन् । धर्मशास्त्रमा नारीलाई उच्चस्थान दिए तापनि त्यही नारीलाई विभिन्न दिशाहरूबाट अपमान गरिएको छ । जस्तै महाभारतमा द्रौपदीको वस्त्रहरण गर्नु, किचकद्वारा उसको शारीरिक शोषण गर्नुको अर्थ के हो त भन्दा नारीलाई अपमानित गर्नु, उसको मानसिक स्थितिलाई छिया-छिया पारेर उसको शरीरको पनि शोषण गरेर उसलाई पत्रु बनाइदिनु हो । रामायणमा रामले सीताको सतीत्वमाथि प्रश्न चिह्न लगाउँदा सीतालाई कस्तो धिक्कार लागेथ्यो । ऊ एउटी स्वाभिमानी नारी थिइन् र यो उनको बरदास्तको सीमाबाहिर थियो । समाजले नारीको स्वाभिमानलाई सधैँ ठेस पुऱ्याइरहेकै छ । इतिहासका पाना पल्टाउँदा हामीलाई थाहा हुन्छ वीराङ्गना नारीहरूको वीरत्व कथा । झाँसी रानी लक्ष्मीबाई, सती जयमति, मुला गाभरूजस्ता वीराङ्गनाहरूका तेजले तेजिलो छ इतिहास तर धर्मान्तरवाद र रूढिवादले सधैँ नारीको त्याग, तपस्या र साहसलाई बुढी औँलो देखाएर ओझल पारिदिएको छ । यो हुन्छ, यो हुँदैनको कुटिल नीतिहरूका चपेटमा परेर नारीहरूले आफ्नो गरिमालाई, आफ्नो मनको उद्यम र साहसलाई पनि भुलेका छन् । त्यही नारीको सरलतालाई अस्त्र बनाएर धर्मका ठेकेदारहरूले एउटा कठपुतलीजस्तो नचाइरहेका छन् हामी नारीहरूलाई ।

बलात्कारीजस्ता घोर अपराधीहरू कस्ता-कस्ता किसिमका मानसिक रोगले ग्रस्त भएका हुन्छन् अथवा मानसिक रोग केकस्ता प्रकारका हुन्छन्, निम्न लिखित छन् -१. स्किजोफ्रेनिया (Schizophrenia) २. मेनिया(Mania) ३. विकृत यौन लिप्सा (Paraphilia) ४. असामाजिक व्यक्तित्व विकार (Antisocial personality disorder) ५. स्मृति विलुप्ति (Dementia), मादकद्रव्यसेवन र मस्तिष्क-आघात । जो-जो यस्ता प्रकारका रोगबाट ग्रस्त छन्, तिनीहरूको विवेक एकदमै शून्य हुन्छ र समय-असमय, को कस्तो मान्छे त्यसको केही पर्वाह नगरी मात्र आफ्नो शारीरिक भोक निवारण गर्न चाहन्छ ।

अपराधीपक्षले अपराध गरिसकेपछि आफ्नो बचाउ पक्षमा यस्ता किसिमका युक्ति पनि दर्साएको देखिन्छ । जस्तै- नारीहरू पुरुषभन्दा अलग्गै हुन्छन् किनभने नारीहरूको सोचविचार र चिन्ताभावना पुरुषको जस्तो हुँदैन । आकाश-पताल फरक हुन्छ । पुरुषलाई आकर्षण गर्ने प्रयास गर्छन् । दोस्रो, नारी द्रव्य हो । उसको शरीर पुरुषको कामना चरितार्थका निम्ति बनिएको । तिसरो, पुरुषको यौनवासना नियन्त्रणहीन हुन्छ र नारीद्वारा नै शान्त हुन्छ । चौथोमा, आफूमाथि भएको अन्यायको प्रतिशोध नारीलाई बरबाद गरेर लिन केही गलत हुँदैन । यस्ता विकृत मस्तिष्कबाट निस्किएका तर्कलाई तर्कलेनै खण्डन गर्नुपर्दछ हामी नारीजातिले । जबदेखि संसारको रचना भयो, तबदेखि नै ईश्वरले पुरुष-प्रकृति बनाए । संसारको सृष्टि तत्त्वदेखि लिएर जुन पनि प्रगतिशील कर्म होस्, त्यहाँ दुवैको सहभागिता नभए त्यो सफल बन्दैन तर गर्भधारण क्षमता केवल नारीले नै पाएको हुनले उसका शरीर मातृ, भग्नी, स्त्री, छोरीको कोमल भाव र ममताले बाहिरदेखि भित्री अन्तःकरणसम्म प्रेमले भरिएको हुन्छ । उनीहरूको सोचमा पनि नरमपना हुन्छ । गहिराइ हुन्छ तर अतिरिक्त वासनाशक्त कतिपय पुरुषले त्यसको महत्त्व नबुझेर उसलाई अलग्गै देख्छ र आफ्नो कामनाको सिकार बनाउँछ । अघि नै उल्लेख गरिएको छ, नारीहरू सधैँ धेरैभन्दा धेरै रूपवती देखिन खोज्छन् तर नारीहरूले भारतीय संस्कृतिलाई ध्यानमा राखेरै अनि सीमाभित्र रहेरै आफूलाई सुन्दर देखाएको राम्रो । यो कुरो एकदमै नकार्न सकिँदैन, कि पहिरनबाट पनि कसैलाई बुझिन्छ भन्ने कुरा । सुन्दरता अथवा सजिलोपनाका लागि अल्प-अर्धनग्न वस्त्रधारण गर्न भारतीय संस्कृतिभित्र पर्दैन । अहिलेका धेरै जसो महिला-नारीहरू पश्चिमा संस्कृतिप्रति आशक्ति भएका छन् । पश्चिमा संस्कृतिमा नग्नता एउटा साधारण कुरा हो । लिविङ टुगेदर गर्नु, चुम्बन गर्नु एउटा परम्परा जत्तिकै हो तर हाम्रो भारतीय संस्कृतिका यसको अनुमति छैन हामीलाई । आफ्नो परिवार, समाज तथा देशको प्राणलाई सुपरिमित र सुसभ्य बनाउनका निम्ति कतिपय नीतिहरूलाई त मान्नैपर्दछ हामीले । अहिले धेरैभन्दा धेरै विदेशीहरूले भारतीय नीति-परम्परालाई औधी मनपराएर हिन्दू धर्ममा दीक्षा लिएका छन् । किन भन्दा भारतीय संस्कृतिमा संस्कार छ (कतिपयलाई छोडेर), नीति-परम्परामा पवित्रता छ । त्यो भनेर धर्मका नाममा भइरहेको कुसंस्कारलाई चाहिँ कहिलै प्रश्रय दिनु हुँदैन । त्यहाँ वैज्ञानिक दृष्टिभङ्गी हुनैपर्दछ ।

अर्को कुरा, नारी कुनै बजारको सामग्री हैन । ऊबाटै एउटा समाज, देश तथा संसारको सृजना हुन्छ । त्यसैले पुरुष प्रधान समाजले नारीलाई सम्मान गर्नैपर्दछ । उसको अस्मिताको रक्षा गर्नैपर्दछ । विपथगामी भएका पुरुषहरूले आफूलाई नियन्त्रण गर्न सिक्नुपर्दछ । नारीले कहिल्यै अर्काको अहित चिताउन सक्दिनन् । उसले जति नै अपमान, लाञ्छना पाए तापनि पुरुषलाई कहिल्यै अपठ्यारोमा पार्दिन तर कतिपय पुरुषले भने सधैँ उसको शरीरलाई दाग लगाएरै मात्र मनको ज्वाला शान्त गराउँछ, जुनचाहिँ घोर अपमान र अपराध हो ।

समाजमा दिनदिनै यस्ता अपराधहरूको क्रम बढी रहेकाले गर्दा नारीहरू एकदमै असुरक्षित, असहाय भएका छन् । कुनै-कुनै बलात्कारीको अघिदेखिकै बलात्कार गर्ने कुनै परिकल्पना हुँदैन र पनि राति एउटी एकलै नारीलाई देख्दा उसको यौनवासना जागृत हुन्छ र पिशाच बन्छ । यस्तालाई Opportunistic अथवा सुविधावादी बलात्कारी भनिन्छ । अन्य एक प्रकार हुन्छन् जसले रिसरागमा आएर नारीलाई कष्ट, यातना दिनका लागि र समाजमा त्यसलाई लज्जित-अपमानित गर्नका उद्देश्यले यस्तो अपराध गर्छन् । विकृत मासिकतामा होस् अथवा प्रतिशोधमा गरेको होस्, त्यो कहिल्यै क्षमा योग्य हुँदैन ।

वर्ष २०१८ को २२ अप्रिल तारिख रामनाथ कोविन्दले एउटा अध्यादेशमा स्वीकृति प्रदान गर्दछन्, जहाँ बलात्कारजस्तो अपराधलाई कठोरताका साथ केन्द्र सरकारले संविधानको १२३ अनुच्छेदको विधिअनुसार अपराधिक कानुन अध्यादेश लगाउँदछन् । जुन चाहिँ संशोधन अध्यादेशद्वारा बलात्कारजस्तो अपराधलाई रोक्नका निम्ति मृत्युदण्डको प्रावधानसम्म लगाइएको छ तर यसमा पनि बहस त रहेकै देखिन्छ । राष्ट्रिय अपराध रिकर्ड ब्युरोको अनुसार २००१ देखि २०११ सम्म कुल ४८.३३ प्रतिशत बालिकाहरूको बलात्कारको मामिला दर्ज गरिएको थियो । एनसिआरबीको २०१४ को रिपोर्टअनुसार देशमा प्रत्येक घण्टामा ४ ओटा बलात्कार, हुन्छन् । फेरि ९५.०० प्रतिशत केसहरू परिवारले नै गुपछाप गरी अदालतसमक्ष पुग्न दिँदैनन् । ससाना बच्चीहरूका अधिकांश घटनाहरू पुलिस चौकीसम्म पनि पुगेको देखिँदैन ।

राष्ट्रिय अपराध रिकर्ड ब्युरोको लेखाजोखाअनुसार २०१९ मा राजस्थान, उत्तर प्रदेश, मध्यप्रदेश र हरियाणामा सबैभन्दा धेरै सामूहिक बलात्कार भएथ्यो । २०२० मा पनि यसको गतिविधि एउटै रहन्छ । सामूहिक बलात्कारको क्षेत्रमा झारखण्ड, तामिलनाडु, महाराष्ट्र पनि अघि नै छ । अहिले असम पनि पछि परेको छैन । हालैमा एउटा प्रेसमिटमा असमका मुख्य मन्त्री डा. हिमन्त विश्व शर्माले NCRB को मुताविक असममा बलात्कार भारतको अन्य राज्यभन्दा धेरै कम्ती भएको छ भन्नुभयो तर यो कुनै रमाउने कुरा हैन । बलात्कार एउटै अथवा थोरै मात्र भए पनि त्यो अक्षमनीय कुरा हो । यसमा दोषीले उचित दण्ड पाउनैपर्दछ । अर्को कुरा सामूहिक बलात्कारमा ३ सालदेखि लिएर ७५ वर्षसम्मका वृद्धाहरू बलात्कारको सिकार भएका देखिन्छन् । भारतीय दण्ड संहिता धारा ३७६ डिको अन्तर्गत यदि कोही महिलाको साथ एकभन्दा बडी व्यक्तिले बलात्कार गरे भने, यस्तो अपराधका निम्ति कम्ती पनि २० सालको काराबन्दी, जरिमनादिको प्रावधान राखिएको छ । त्यसरी नै भारतीय दण्ड संहिताको धारा ३७६ एबीद्वारा पनि १२ सालदेखि कम वर्षका नानीहरूमाथि भएको अपराधमा २० सालभन्दा पनि बडी काराबन्दी, जरिमना अनि अन्तमा मृत्युदण्डजस्तो सजाय तोकिएको छ ।

सामूहिक बलात्कारजस्तो धृणिय अपराधको मामिलामा पुलिस कर्मीहरूको स्थितिमा पनि निकै अक्षमता देखिन्छ । घोसखोर बानीले गर्दा निक्कै केसहरू यसै रफादफा भएको देखिन्छ । ठाउँ-ठाउँमा पुलिस कर्मीहरूले नै गएर भुक्तभोगी परिवारलाई डराउनु, धम्काउनु जस्तो अपराध गर्छन् । त्यसले गर्दा केसहरूले सही दिशा नपाएर बार-बार सर्वोच्च न्यायालयबाट हस्तक्षेप गर्नुपर्ने हुन्छ । जुनसुकै पनि बलात्कारको क्षेत्रमा राज्य सरकार पनि अति गम्भीर हुन जरूरी छ । आरोपीहरूलाई कठोर दण्ड दिनुका साथै यौनहिंसाजस्तो अपराधको जाँच र सुनवाइ निर्दिष्ट समयभित्र होस्, यसबारे कडा दृष्टि राख्नुपर्दछ ।

बलात्कारका विभिन्न कारण- हिजोआज बलात्कार केवल महिला, वृद्धा, नाबालिका, किशोरीहरूको मात्र नभएर ससाना केटा, ट्रान्सजेन्डर या पशुमाथि पनि भएको देखिन्छ । आखिरमा के हुन सक्छ होला बलात्कारजस्तो जघन्य अपराधको मुख्य कारणहरू त्यसबारेमा जान्न अत्यन्त जरुरी छ । पितृसत्तात्मक समाज, छोरीलाई वस्तु सम्झनु, छेउछाउको वातावरण, मातापिता अनि पति, दमनात्मक कारबाहीका रूपमा बलात्कार, विवाहको उमेर बढाउनु, इन्टरनेट र टिवी- सिनेमाको भूमिका, इच्छापूर्तिको विकल्प, लैङ्गिक असमानता, व्यक्तित्व विकासको अभाव, लाचार ऐन व्यवस्था आदि जस्ता कारणहरूले समाजमा बलात्कार तीव्रताका साथ बढेको देखिए तापनि अरू पनि कतिपय मुख्य कारणहरू छन् । जस्तै-

प्रथम, पुरुषको मानसिक दुर्बलता- नारीलाई पाकेको फल सम्झनु नै पुरुषको एउटा ठुलो दुर्बलता हो । आफ्नो कोखमा नौ महिना राखेर उसलाई यो संसार देखाउने नै नारी हो तर नारीको यो महत्ता “यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवताः” धर्मशास्त्रभित्रै आबद्ध रहेर बसेको छ । धर्मशास्त्रमा नारीलाई उच्चस्थान दिएर सभाघरमा विश्वस्त पारिएको छ, शङ्काको नजरले हेरेर उसलाई धरतीमा समाहित हुन विवश पारिएको छ । उसलाई नीचा देखाएको छ । यो सबै धर्मभीरुहरूको दीर्घ परिकल्पनाको मिथ्या फसल हो । जसको दुःखद फल नारीले भोग्नुपरेको छ ।

द्वितीय, नशालु पदार्थको सेवन- बलात्कारको अर्को एउटा मुख्य कारण हो नशा । बलात्कारको ८० प्रतिशत घटनामा नशालु पदार्थको सेवन मुख्य रूपमा प्रतीत भएको देखिन्छ । हरेक सानो ठुलो सहरमा नशा (शराब) पानीसरह बिक्दछ । अहिले त गाउँबस्तीमा पनि चोरी-चोरी बेच्नेहरूले शराबको साथै अन्य नशालु द्रव्यहरूजस्तै ड्रग, होरोन, ब्राउन सुगरको पूरै व्यवसाय गर्न थालेका छन् । नवप्रजन्महरू हदै आशक्त भएको देखिन्छ दिनदिनै । नशालु पदार्थको सेवन गर्न पाएन भने निकै ठाउँमा आत्महनन गरेको समाचार पनि प्राप्त छ । ससाना बच्चाहरूले पनि अब त यसलाई मनोरञ्जनको साधन सोचेर यसको उपयोग गर्न लागेका छन् । नशालु पदार्थले मान्छेलाई उसको आफ्नो सोच, विवेकको विकृति घटाएर अर्कै गलत दिशामार्फत लिएर जान्छ । यस्तो नाजुक समयमा उसलाई कुनै पनि स्त्री अथवा सानीनानी, वृद्धा पनि सिकार नजर आउँछे । सरकारले यस विषयमा अधिक कठोर भएर नशालु पदार्थका दोकान-पसलहरूमा प्रतिबन्धकता लगाएदेखि बलात्कारजस्तो अपराध कम हुन निकै सघाउ पुग्ने थियो ।

फार्म हाउस बलात्कारको अर्को तेस्रो मुख्य कारण हो । देशका ठुलठुला नेता, अधिकारीवर्ग, उद्योगपतिका फार्म हाउसहरूमा आखिरमा के-के हुन्छ त्यो कुरा कोहीबाट लुकेको छैन । दुनियाँभरका गुन्डा, मवाली, ऐयासहरूको अड्डा हो योभन्दा अत्युक्ति नहोला जहाँ गरिब, लाचार महिलाहरू, बालिका-किशोरीहरू ती दानवहरूको बलात्कारको सिकार बन्छन् । पुलिस प्रशासनले सुनेर पनि सुनेको हुँदैन तिनीहरूको मार्मिक चीत्कार । त्राहिमाम्‌को गुहार लगाउँदै उनीहरूले जीवनको सर्वस्व हराउँछ । यस्ता फार्म हाउस पनि सरकारले बन्द गर्नुपर्दछ । बलात्कृता र उसको परिवारलाई तीन-चार लाखको माला लगाइदिएरै सरकारको दायित्व सम्पन्न हुँदैन यहाँ । सरकार कठोरभन्दा कठोर हुनुपर्दछ यस मामिलामा ।

पुलिस प्रशासनको ढिलामी बलात्कारको चौथो कारण । साँचो भन्ने हो भने अहिलेको कानुन व्यवस्था अल्छे पाराको छ । ढिलो छ । सबै थोक जानेर बुझेर पनि ‘घोस खौरे’ बानीले गर्दा पुलिस-प्रशासनले समयको काम समयमा नगरी दिएकाले गर्दा धेरै अपराधीहरू मुक्त आकाशतल निस्फिक्री घुमिरहेका हुन्छन् । कुनै-कुनै बलात्कारी त नेताअधिकारीका, छोरानाति भएकाले गर्दा हात लाउनै डराउँदछन् । यस्तो दयनीय अवस्थामा छ न्याय व्यवस्था । जो होचो उसैको मुखमा घोचो । जताबाट पनि नारी नै अच्कल्टो परिरहेकी हुन्छे । यस क्षेत्रमा केन्द्र तथा राज्य सरकारको कडा दृष्टि हुनुपर्दछ ।

बलात्कारको पञ्चम मुख्य कारण हो महिलाहरूको दुर्बल आत्मविश्वास । समाजमा बाँच्नका निम्ति एउटी नारीलाई आफ्नो सुरक्षा र बचाउ पक्षका हरेक उपायबारे जान्न अति नै जरुरी छ । अहिलेको समय-परिस्थिति साह्रै भयानक र गम्भीर छ । आफूलाई समाजको कुदृष्टिबाट, नकारात्मक पक्षबाट कसरी बचाउन सकिन्छ त्यसको सबै तौरतरिकाहरूको ज्ञान हुनुपर्दछ । अर्को कुरा, संसारमा जन्म लिइसकेपछि नमानी नहुने नीतिनियमहरूमा बाँधिएर बस्नु एउटी संस्कारित नारीको परम कर्तव्य हो तर अनावश्यक ढँटुवारे नियमको मालाचाँहि छोरीलाई मात्र भिराइदिएपछि त्यो छोरीलाई डर र करले हरेक क्षेत्रमा धेरै अप्ठ्यारो पारेको हुन्छ । उनीहरूको मनको इच्छाहरू अवदमित भएर मनको धरातल हल्लिएको छ । परिवारमा आमाबाबालगायत अन्य सदस्यहरूले छोरीको चाहनाभावनालाई सधैँ मान दिनुपर्दछ । उसको आत्मविश्वास बढाउने प्रयास गर्नुपर्दछ । छोराछोरीमा फरक नराखेदेखि उसले गर्न नसक्ने काम केही छैन । गरेर पनि देखाइरहेका छन् । परिवारका हरेक सदस्यको छोरीप्रति सद्भावना रह्यो भने गाउँघर, छरछिमेकी, अन्य मान्छेले उसलाई राम्रो नजरले हेर्दछन् । आज समयले परिवर्तन मागेको छ । परिवर्तन भनेको यो हैन कि आफ्नो नीतिआदर्शलाई बिर्सेर जै तै गर्नु हो । आफ्नो स्थितिमा रहेर अन्धसंस्कारको विरोधमा आवाज उठाउनु हो । समाजमा तथा आफूमाथि भएको अन्यायको घोर प्रतिवाद गर्नु हो । यसका निम्ति सबैलाई चाहिन्छ शिक्षा । सबै शिक्षित महिलाहरूले आफ्नो साथै अरू छोरीचेलीहरूलाई पनि शिक्षाप्रति आकर्षित गरौँ । अहिले शिक्षाले मात्र पनि समाजको गिद्दे नजरबाट आफूलाई बचाउन सकिँदैन । त्यसका लागि मार्सियल आर्ट, कुङ्फु, टाइकोवान्डो…. जस्ता आत्मरक्षाका विविध शैलीहरूको व्यावहारिक ज्ञान लिन अत्यन्त जरुरी छ । आवश्यक छ अत्यन्त साहसी बन्न । परिवारले सानैदेखि छोरीचेलीलाई साहसी बन्न अनुप्रेरित गरौँ । किनभने बलात्कारीले अहिले धेरैजसो साना बच्चीहरूलाई नै लक्ष्य बनाएको देखिन्छ ।

दिनदिनै भइरहेको यस्तो अपराधको अहिले सबैले एउटै माग गरेका छन् – मृत्युदण्ड । के मृत्यु दण्ड नै यसको समाधान हो त? धेरैलाई लाग्दछ कि बलात्कारजस्तो जघन्य अपराधका निम्ति कुनै किसिमको अर्को सुनवाइ नहोस्, आरोपीलाई सिधै गोली गरियोस् अथवा त्यसको फाँसी होस् । मेनका गान्धीले कठुवामा सानी बच्चीमाथि भएको हृदयविदारक घटनादेखि पीडित भएर पाँक्सो एवं यौन उत्पीडनबाट नानीहरूको संरक्षणको ऐनद्वारा बलात्कारीलाई फाँसी होस् भन्ने माग गरेकी थिइन् तर धेरैले यसको विरोध गर्दै भन्दछन् कि बलात्कारीलाई मृत्युदण्ड दियो भने अपराधी डराउँछन् र आफ्नो ज्यान बचाउनका निम्ति पीडिताको निसङ्कोच हत्या गर्न सक्छन् ।

बालअधिकार कार्यकर्ताले पनि यस्तै युक्तिले यस मागको खण्डन गर्छन् । यो मागलाई एउटा भ्रामक दृष्टिकोण हो र यसले समाजमा हानिकारक प्रभाव पार्दछ भनेर केन्द्र सरकारको अध्यादेशको विरोध गर्दै भन्दछन् कि यदि मृत्युदण्ड नै बलात्कारको एकमात्र उपाय हो भने चीन सर्वप्रथम यस समस्याबाट मुक्त हुनुपर्ने हो । जस्टिस जेएस वर्मा समितिले पनि बच्चाहरूको जीवनसङ्कटको धारणा अघि राख्दै यस मृत्युदण्ड मागलाई प्रतिगामी भन्न खोज्दछ तर हामीलाई न्याय चाहिन्छ जसरी भए पनि ।

बलात्कार रोक्न सक्ने केही उपायहरू-

फार्स्ट ट्रेक कोर्टस-

फार्स्ट ट्रेक कोर्टसद्वारा अपराधीलाई दण्ड दिने व्यवस्था भएदेखि बलात्कारजस्तो अपराधबाट नारीहरूले अलिक शान्तिको श्वास फेर्न अवसर पाउनेछन् । सरकारले यस मुद्दामा विशेष रूपले ध्यान दिनुपर्दछ ।

पुलिस प्रशासनको विशेष शाखा-

ठाउँ-ठाउँमा पुलिस प्रशासनको जरुरी शाखाहरू गठन हुनुपर्दछ । हर सन्दिग्ध ठाउँहरूमा सिसिटिभि क्यामेराको व्यवस्था गरेको हुनुपर्दछ ।

देशरक्षकले मातृजातिको रक्षा गर्न हरबखत तत्पर भइरहन पर्दछ ।

यौन शिक्षा-

केटाकेटीहरूलाई समयअनुसार यौनशिक्षाबारे अवगत गर्नुपर्दछ । घर होस् या विद्यालय यौनशिक्षाबारे ज्ञान दिन अति नै आवश्यक छ । १५ वर्षदेखि माथिका नानीहरूलाई मित्रजस्तो व्यवहार गर्नुपर्दछ । त्योभन्दा साना नानीहरूलाई पनि अपरिचित व्यक्तिसँग कसरी तालमेल राख्ने त्यसको उचित शिक्षा दिनुपर्दछ । कुनै अपरिचितसँग मिलजुल गर्न दिनु हुँदैन । फेरि सानैदेखि आफ्नो लज्जाबारे अवगत गराउनुपर्दछ नानीहरूलाई ।

 

केस निवारणका लागि समयको निर्धारण-

धेरै केसहरू समयको सठिक निर्धारण नभएका लागि सुनवाइ अघि नै खारिज हुन्छन् । यही कुराको मौका छोपेर अपराधीहरूले आफ्नो अपराध लुकाउने मौका पाउँछन् । अनि फेरि नाना रकमका डर, धम्की तथा प्रलोभन दिएर अपराधीले भुक्तभोगीलाई चुप बस्न बाध्य गराउँछन् । दायित्वशील-सत्यवादी वकिलहरूको खाँचो छ अहिले देशमा । अपराधीको समर्थनमा कुनै पनि वकिलले केस नलड्ने हो भने धेरै मात्रामा नारीले न्याय पाउने थिए र अपराधीले दण्ड ।

वेबसिरिज र विज्ञापनहरूमा आवश्यक प्रतिरोध-

धेरै विज्ञापनले समाजमा सचेतनता ल्याउँछ भने यस्ता धेरै विज्ञापनहरू छन् जहाँ व्यवसायीहरूले आफ्नो मुनाफाका निम्ति महिलाहरूलाई कन्ट्र्याक साइन गरेर आफ्नो तरिकाले व्यवहार गरिरहेका छन् । त्यो मात्र हैन, कनट्र्याकअनुसार अर्धनग्न पोसाकहरू लगाएर महिलाहरूले आफ्नो अस्मितालाई बेचिसकेको देखिन्छ । पुरुषहरूको साथसाथै नारी व्यवसायजस्ता अनैतिक कार्यकलापमा पनि कैयौँ मात्रामा नारीहरू जडित भएको देखिन्छ । यसमा महिलाहरूको पनि दोष छ । जति नै रुपियाँ पैसा, कृत्रिम सुख अर्जन गरे तापनि क्षति त नारीजातिकै भएको छ । यस्ता किसिमका कलङ्कित कर्महरू गरेर महिलाहरूले आफ्नो मर्यादालाई कहिल्यै ठेस पुऱ्याउनु हुँदैन । धेरैजसो विज्ञापन, सिनेमा, वेबसिरिजहरूमा पनि नारीलाई वस्तुका रूपमै उपस्थापन गरिएको हुन्छ र परिवारका साथ बसेर हेर्न सकिँदैन । अहिलेका युवापिँढीहरू त झन् त्यस्तैमा भुलेर लक्ष्यदेखि भट्किएका छन् । सरकारले यस क्षेत्रमा अति संवेदनशील भएर यस किसिमका अकल्याणकारी कामहरूलाई जरैदेखि मास्ने चेष्टा अविरल गर्नुपर्दछ ।

महिला शिक्षा र आर्थिक सुरक्षा-

छोरी भनेर अवहेलना नगरेर छोराको जस्तै उसको शिक्षा र आर्थिक सुरक्षाको पूर्ण व्यवस्था मिलाउनुपर्दछ घरपरिवारले । अहिलेका शिक्षित नारीवर्गहरू कर्मसंस्थापनपट्टि आकर्षित भएका छन् । त्यसरी नै धेरै जसोले आफ्नो घरपरिवार चलाएका छन् तर कर्मसंस्थापनमा पनि महिना वेतन दिने ठाउँमा महिलालाई कम्ती नै वेतन दिएको देखिन्छ । आफ्नो परिवारको साह्रो, गाह्रो, अप्ठेरोहरू टार्नका निम्ति धेरै नारीहरूले कहिलेकाँही धेरै अबेलासम्म अफिसमा काम गरेको देखिन्छ र राति अफिसमै पनि या त बाटाघाटामा बलात्कृत भएको देख्नसुन्न पाइन्छ । नारी सुरक्षाका निम्ति परिवारमा आर्थिक सुरक्षा र बाहिर अफिस आदिमा पनि उपयुक्त वेतन दिएर सबल बनाएदेखि नारीहरू निकै उपकृत हुने थिए । धेरै सादर हुने साथै नारीहरू स्वावलम्बी हुने थिए ।

आरोपीलाई चुनाव लड्न रोक-

आरोपी त सिधै एउटा सिङ्गो अपराधी हो, फेरि किन उसले चुनाव लड्न सुविधा पाउँछ? अपराधीहरूलाई केस लडने मौका दिएको हुनाले गर्दा अदालतमा कालो कोटको आडमा पैसासँग रमाउने धेरै वकिलहरूले रुपियाँ-पैसाको बलले आरोपीलाई निरपराध तुल्याउन अथक प्रयास गरिरहेका हुन्छन् । गरेका पनि छन् । त्यसरी नै जुनसुकै अपराध गरेर आरोपी भइसकेपछि भारतीय संविधानले राज्य-लोकसभा, अथवा गाउँसहरको कुनै पनि विधाको चुनाव लड्न प्रतिबन्धकता लगाउनुपर्दछ तर उल्टा छ न्याय व्यवस्था । ठुलठुला कुर्सीमा धेरैजसो यस्तै दुई नम्बरी नेता-पालिनेताहरू सत्तासीन भइरहेका हुन्छन् । यस क्षेत्रमा त्यसको कसैले उत्तरदायित्व लिन सक्दैन कि भोलि गएर उसले कुनै अपराध या अपराधीको सङ्गत लिँदैन भनेर । यो अत्यन्त विचारणीय कुरा हो ।

समाजको सही दृष्टिकोण- समाजको दृष्टिकोण

नारीपुरुष दुवैमाथि बराबर हुनुपर्दछ । सानै उमेरदेखि नारीपुरुषमा विभेदता ल्याउनले गर्दा पुरुषले सधैँ नारीहरूमाथि आफ्नो आधिपत्य नै जमाइरहेको हुन्छ र उसले ठुलै नैतिक अपराध गरे तापनि उसको अपराध छिट्टै बिर्सिन्छ अनि नारीलाई भने सोही अपराधका निम्ति जीवनभर कलङ्किनी भनेर मर्नु न बाच्नु जस्तो पारिन्छ । यस्तो किसिमको फरक भावनाले गर्दा नारीभित्रबाटै खिन्न भएर आउँछे र ऊ हीनमन्यतामा होमिन्छे । समाजले यसैको फाइदा लिएर उसलाई काबुमा गर्दछ । नैतिक शिक्षा, वौद्धिक ज्ञान संयोजित तथा संस्कारजनित पठनपाठनको सुलभ ऊर्जाशील व्यवस्था भए यो अपराध धेरै मात्रामा कम्ने थियो भन्ने लाग्छ ।