हलिउडको प्रख्यात कम्पनी वाल्ट डिज्ने र प्रख्यात कलाकार स्कार्लेट जोन्सनबीचको कानुनी लडाइँको अन्त्य भएको छ ।

जोन्सनले आफ्नो पछिल्लो सुपरहिरो फिल्म ‘ब्ल्याक विडो’लाई सिनेमा हलमा रिलिज नगरी सिधै डिज्नेप्लस नामक डिजिटल स्ट्रिमिङ साइटमा रिलिज गर्दा आफूलाई ठूलो आर्थिक घाटा लागेको र यसअघि आफूसँग कुनै पनि फिल्म पहिल्यै रिलिज गर्ने सम्झौता नभएको र यतिबेला फिल्म रिलिज गर्दा आफूसँगको सम्झौता मिचिएको भन्दै कलाकार जोन्सनले फिल्म कम्पनीलाई मुद्दा हालेकी थिइन् ।

यसरी कुनै कलाकारले यत्रो ठूलो फिल्म स्टुडियो तथा कम्पनीमाथि मुद्दा हालेको यो पहिलो घटना थियो । यसो गर्दा उनको सम्बन्ध स्टुडियोसँग बिग्रने र भविष्यमा कुनै पनि फिल्म खेल्नबाट वञ्चित हुने धेरैले आशंका गरिरहेका थिए ।

कुन हिसाबले यी दुईबीचको लडाइँ अन्त्य भयो, कति रकममा कुरा मिल्यो भन्नेबारे भने खुलाइएको छैन ।

ब्ल्याक विडो फिल्म खेल्नका लागि अभिनेत्री जोन्सनले २ करोड डलर पारिश्रमिक लिएकी थिइन् । हलिउडमा पारिश्रमिकबाहेक पनि जब फिल्मले राम्रो कमाई गर्छ, मुख्य कलाकारहरूले थप रकम पाउँछन् । यो फिल्म सिनेमा हलमा रिलिज नहुँदा आफूलाई ८ करोड डलर थप घाटा लागेको हुँदा त्यसको भरपाई आफूले पाउनुपर्ने दाबी गर्दै अभिनेत्री जोन्सनले मुद्दा हालेकी थिइन् ।

यस घटनालाई आफूहरूमै सुल्झाउन अदालतले सुझाव दिएको थियो ।

कोभिड १९ को विश्वव्यापी प्रभावका कारण संसारभरिकै सिनेमा हल बन्द छन् । जसका कारण खुलेका सिनेमा हलबाट पनि भरपर्दो व्यापार हुन सकेको छैन ।

यस्तो अवस्थामा आफ्नो स्ट्रिमिङ साइटबाट फिल्म रिलिज गर्नु बाध्यता रहेको र यस्तो बाध्यतामा पनि कलाकारबाट असहयोग पाउँदा दुःखी भएको टिप्पणी डिज्ने कम्पनीले विज्ञप्तिमार्फत गरेको थियो ।

डिज्ने स्टुडियोजका अध्यक्ष एलेन बर्गम्यानले भने कलाकार र कम्पनीबीचको असमझदारी सकिएको र सहमतिमा टुंगिएको टिप्पणी गरेका छन् ।

आउँदा दिनमा स्कारलेट जोन्सनसँग थप काम गर्न कुनै कठिनाई नरहेको बताउँदै निकट भविष्यमा नै टावर अफ टेरर फिल्ममाथि काम भइरहेको बताइएको छ ।

यता कलाकार जोन्सनले पनि समस्या समाधान भएकोमा खुसी व्यक्त गर्दै आउँदा दिनमा डिज्नेजस्तो सिर्जनशील कम्पनीमा भविष्यमा समेत काम गर्ने बताएकी छन् ।

यसअघि अर्को स्टुडियो वार्नर मेडियाले सिनेमा हलमा आफ्ना फिल्म रिलिज नहुने भएपछि ठूला कलाकारलाई मार परेको भन्दै २०० मिलियन डलर थप रकम उनीहरूका लागि छुट्याएको थियो । उसले हलमा रिलिज गर्न नपाएका फिल्महरूलाई उसको आफ्नै स्ट्रिमिङ साइट एचबिओम्याक्समा रिलिज गर्दा सोको भर्पाई गरेको थियो ।

सन् २०२० मा डिज्ने कम्पनीका प्रमुख कार्यकारी रबर्ट इगरको ठाउँमा नयाँ प्रमुख कार्यकारी बब चापेक चयन भएका थिए । चापेकले महामारीमा डिज्नेका थिम पार्क, क्रुज जहाजहरूको व्यापार नहुने भन्दै बन्द गरेका थिए । यस्तो अवस्थामा कलाकार जोन्सनले आफ्नो नाफा घटेको भन्दै अखबारबाजी गरेकामा चापेक खुसी देखिएका थिएनन् । तर जब जोन्सनको आवाजलाई हलिउड विमेन्स एडभोकेसी ग्रुपले मुखर गर्न थाल्यो, त्यसपछि भने कम्पनीले बाध्य भएर उनको क्षतिपूर्ति गरेको हो । त्यसो त एउटी महिला कलाकारका लागि २ करोड डलरको पारिश्रमिक कुनै कम नभएको टिप्पणी पनि कम्पनीका तर्फबाट नसुनिएको होइन । तर अन्य पुरूष कलाकारको तुलनामा उनको पारिश्रमिक भने कम नै देखिएको छ ।

पछिल्लो पटक मार्भल कमिक्सको सुपरहिरो फिल्म साङ ची एन्ड द लिजिन्ड अफ टेन रिङ्स फिल्म बक्स अफिसमा हिट भएको थियो । अमेरिकाभरि यो फिल्मले २०० मिलियन डलरको व्यापार गरेलगत्तै डिज्नेले आफ्ना फिल्महरू शुरूमा सिनेमा हलका लागि नै रिलिज गर्ने र त्यसको २ महिनापछि मात्र स्ट्रिमिङ साइटमा ल्याउने घोषणा गरेको थियो ।

यसको मुख्य कारण चाहिँ ब्ल्याक विडोलाई हलसँगै स्ट्रिमिङमा रिलिज गर्दा ठूलो मात्रामा फिल्मको पाइरेसी भएकाले आफूलाई घाटा लागेको डिज्नेले बताएको थियो ।

ब्ल्याक विडोले सिनेमा हलबाट मात्र १८४ मिलियन डलर संकलन गरेको थियो । यसअघि डिज्नेका यस्ता सुपरहिरो फिल्महरूले घरेलु बजारबाट कम्तीमा पनि १ अर्ब डलर संकलन गर्ने गरेकामा यत्तिमा चित्त बुझाउनु परेको थियो ।