२०७० सालमा झापाको सताशीधाममा कला कार्यशालाको आयोजना गरिएको थियो । कार्यशालामा सहभागी हुन काठमाण्डुबाट केही कलाकार सताशीधाम पुगेका थिए। दमक र काँकडभिट्टा वरपरका केही स्थानीय युवा कलाकार पनि कार्यक्रममा सहभागी हुन आई पुगेका थिए। त्यसै बिचमा एकजना होचा कदका मंगोलियन अनुहारका थिए काँकडभिट्टाका छेतेन शेर्पा ।

भर्खर कला शुरु गर्न लागेका शेर्पा अत्यन्त्यै जिज्ञासु स्वभावका थिए। हरेक दृष्टिकोणबाट कलालाई नियाल्ने र आफूलाई लागेको प्रश्न गर्थे उनी । निकै ठूलो उत्साहका साथ कार्यशालामा सहभागी भएका छेतेन उक्त कार्यशाला कलाजीवनकै महत्त्वपूर्ण क्षण मान्छन् ।

उतीबेला झापा, विषेशगरी काँकडभिट्टामा कलाका गतिविधि लगभग शून्य नै थियो। कला गरेरै बाँच्छु भनेर कल्पना नगरे पनि हुन्थ्यो तर छेतेनले कला गरेर बाँच्न सक्छु भनेर उदाहरण पेश गर्न चाहन्थे । ग्यालरी खोलेर चित्र बेच्छु भन्दा साथीभाइहरू हाँस्थे तर कसैको कुरा नसुनी उनी कलाक्षेत्रमा होमिए।

कलामा केही गर्छु भनेर प्रण गरेका छेतेनले हुँदाखाँदाको साईबर क्याफे र टेक्नेसियनको काम छोडेर कला क्षेत्रमा होल टाइमरको रुपमा प्रवेश गरे। घरछेउमा एउटा सानो कलाको ग्यालरी खोले र कलामा रुचि राख्ने साथीहरूलाई लिएर एउटा सानो समूह बनाए र नाम दिए “देही” कलाकार समूह। यही देहीको नामबाट विभिन्न कलाका गतिविधि गर्न थाले। देहीकै नेतृत्वमा हरेक दिनजसो स्थलगत कला कार्यशाला आयोजना गरिन्थ्यो र बेलुकी साथीभाइहरूसँग बसेर कलाका बारेमा गहन छलफल हुन्थ्यो। ग्यालरीको भाडा तिर्न र कार्यशाला चलाउन साथीभाइहरूबाट पैसा सङ्कलन गर्थे तर यस्तो तरिकाले कहिलेसम्म चल्थ्यो र ? ग्यालरी चलाउन हम्मेहम्मे भएपछि केही विद्यार्थीलाई फिस लिएर चित्रकला सिकाउने र आएको पैसाले ग्यालरीको भाडा तिर्ने योजना बुने।

संयोगवश यो योजना सफल बन्यो। कला सिक्ने विद्यार्थीको संख्या दिनदिनै बढ्दै गयो । यसले एकातिर आम्दानी पनि दिँदै गयो भने अर्कोतिर ग्यालरीमा फाट्टफुट्ट रुपमा चित्र पनि बिक्री हुन थाल्यो। यसबाट हौसियका छेतेन र उनको समूहले विभिन्न कला गतिविधि पनि कायमै राखे।

स्थलगत चित्रकला कार्यशाला त छँदैथियो, यसको अलावा मुरल आर्ट र डेकोरर आर्टका काम पनि हुँदै गए । घरका भित्ता र सडकका भित्तामा बनाइने यस्ता मुरल आर्ट सबैले देख्ने हुँदा धेरैको चासो उनीहरूमाथि पर्न थाल्यो। हरेक दिनजस्तो हुने यस्ता गतिविधिले देहीको चर्चा ह्वात्तै बढाइदियो।

स्थापना कालदेखि देहीले आजसम्म गरेको कामको फेहरिस्त लामो छ। यसैबीच केही महत्त्वपूर्ण कामहरू भएका छन्। जस्तो कि २०७१, २०७३ र २०७५ सालमा काँकडभिट्टा साहित्य कला महोत्सवमा कलाको सम्पूर्ण जिम्मेवारी यही देही समूहले लिएको थियो । उक्त कार्यक्रममा देशका विभिन्न भाग र छिमेकी देश भारतका कलाकारहरूलाई निम्त्याएर कलाको सामूहिक प्रदर्शनी र समसामयिक कलाका विषयमा गहन बहस चलाएका थिए। यसबाहेक विभिन्न समयमा देशका चर्चित अनुहारलाई काँकडभिट्टा निम्त्याउने र स्थानीय कलाकारहरूलाई कला सिकाउने व्यवस्था गर्दै आएको छ यो समूहले।

पछिल्लो समय देहीले कलाको विविधपाटालाई सम्बोधन गर्ने प्रयास गरेको छ। छोटो समयमै कलाको गतिविधि र आकर्षण बढेको देख्दा छेतेन दङ्ग छन् । अचेल यही समूहका कलाकारहरू कलामै जमेका छन्। अधिकांश कलाकार स्कुलमा कला विषय पढाउँछन्। यस अतिरिक्त निरन्तर कला सृजना र केही कमर्सियल प्रोजेक्टमा संलग्न छन्।

देही समूहका अभियन्ताबाहेक छेतेन आफैँ पनि राम्रा कलाकार हुन् ।

सुरुका दिनमा ल्याण्डस्केप, पोट्रेट र मानव दैनिकी बनाउने गरेता पनि अचेल कलाका पछिल्ला नवीन प्रयोगहरूमा आफूलाई अभ्यस्त गराइरहेका छन्।

सुरुमा उनलाई रियालिस्टिक आर्ट मात्र कला हो भन्ने लाग्थ्यो । उनी भन्छन्, “म त गलत रहेछु। कला त महासागर रहेछ !” समय परिवर्तनसँगै कलामा देखिएका नयाँ प्रयोगलाई आत्मसात गर्नुपर्छ भन्ने मान्यता राख्छन् उनी।

कला के रहेछ भन्ने अर्को सवालमा उनी भन्छन्- कला त बाहिरी घटना र मनको तालमेल रहेछ। एउटा कलाकारले बाहिरी संसारको अध्ययन र जानकारी बिना कला सृजना गर्न सक्दैन । एउटा कालजयी कला सृजना गर्न कलाकारले हरेक घटनालाई नजिकबाट नियाल्नु पर्ने उनको तर्क छ।

स्वअध्ययनबाटै चित्रकलामा लागेका छेतेनले यसबीच केही महत्त्वपुर्ण राष्ट्रिय तथा अन्तराष्ट्रिय कला प्रदर्शनी र कला कार्यशालामा सहभागिता जनाई सकेका छन् ।

कलाकै सेवा गरेवापत उनले कुलदिप राजवंशी मेमोरियल कला उत्थान सम्मान २०७५ र सुसेली प्रतिभा पुरस्कार २०७६ बाट सम्मानित भएका छन्।

आज हामी उनैका केही उम्दा सिर्जना अवलोकन गर्नेछौँः