आज मेरो नेपाल फर्कने दिन । कपडाहरू पट्याउँदै छु । झोला पुछपाछ पार्दै छु । आज साँझ थाइल्यान्डको फुकेटबाट बैङ्कक पुग्नु छ र भोलि बिहान पहिलो हवाइजाजबाट मेरो यात्रा नेपाल पुग्ने छ । म एकरात बैङ्कक एयरपोर्टभित्र नै बस्नुपर्ने छ । मेरो यात्राको तालिका थाहा पाइसकेपछि कमल भण्डारीजी मलाई सम्झाउँदै बोल्नुहुन्छ-
“तपाईँको साँझतिरको उडान रहेछ । म तपाईँलाई दिनभरि फुकेट घुमाइदिन्छु अनि साँझतिर त्यतैबाट एयरपोर्ट पुर्याउँछु हुन्न ? फुकेटमा घुम्ने ठाउँहरू थुप्रे बाँकी छन् ।”
केही दिनअगाडि मात्र कमल भण्डारीजीसँग मेरो परिचय भएको हो । उहाँ फुकेट सहरको सफल व्यवसायीमध्येको एक जना । उहाँको थुप्रै व्यापारिक कारोवार छ भने मन्दिरमा उहाँको ठूलो योगदान छ । उहाँले पूर्ण रूपमा मन्दिरलाई समय लगाउनुहुन्छ तर एक हप्ताको बसाइँमा मैले फुकेट सहर र समुद्री किनार घुमिसकेको थिएँ । नेपालीको घर-घरमा गएर नेपालीपन लिइसकेको थिए । हामीले भातृत्व साटसाट गरिसकेका थियौँ । त्यसकारण मेरो मानसिकता फुकेट सहरको घुमाइमा भन्दा नेपाल यात्राको तयारीमा जान्छु । अर्कातिर सहर घुम्दाघुम्दै समयमा एयरपोर्ट पुग्न सकेनौँ भने ? म त्यो डरलाग्दो कल्पना गर्दै कमल भण्डारीतिर हेरेर बोल्छु-
“यतिका दिनको बसाइँमा मैले थुप्रै ठाउँमा गइसकेँ । के अरू महत्त्वपूर्ण ठाउँहरू पनि बाँकी नै छन् र ?”
उनी हौसलापूर्वक बोल्छन्- “म तपाईँलाई गौतम बुद्धको रौँ र ‘बिग बुद्ध’ भएको ठाउँमा घुमाउन लैजान्छु ।”
हुन त मैले बिग बुद्धका बारेमा पहिल्यै सुनेको थिएँ । अघिग्लो दिनमा नै सडकबाट बिग युद्धको दर्शन गरेको थिएँ । अग्लो पहाडको सिरमा पलेटी कसेर बसेका बुद्ध सहरको चारैतिरबाट प्रस्ट रूपमा देखिन्थे तर गौतम बुद्धको रौँका बारेमा थाहा थिएन । त्यसबारेमा मलाई कसैले बताएको थिएन । म त्यो हेर्न जान तयार हुन्छु । म मात्र होइन यो यात्रामा हामीहरू चार तयार हुन्छौँ । मन्दिरका पुजारी लोकनाथ तिम्सिना, स्थानीय समाजसेवी शुक्रराज लिम्बु, म र कमल भण्डारी । कमल भण्डारी गाडीको मालिक अनि चालकको कार्यभार लिनुभएको छ । त्यति मात्र होइन उहाँले आजको पूरा जिम्मेवार लिनुभएको छ ।
हाम्रो यात्रा फुकेट सहरबाट पूर्व लाग्छ । बाक्लो जङ्गल । उकालो बाटो अनि गाडीका बाक्लो आवतजावत । यात्रा त्यति सहज छैन । अनि बेला-बेला विपरीत दिशाबाट आएको गाडीलाई ठाउँ दिन पर्ने । करिब १ घण्टाको यात्रापछि हाम्रो गाडी विशाल समथर भागमा पुग्छ । त्यहाँ पुग्दा लाग्छ थाइल्यान्ड मन्दिरको राज्य हो । विभिन्न प्रकारका ससाना मन्दिर । बीच-बीचमा यात्रुका लागि बनेका बेन्चहरू । अनि धेरै पर देखिने ठूलो गुम्बा । गुम्बाको चारैतिर घुमेका अनगिन्ती मानेहरू देख्दा लाग्छ म नेपालमा नै छु । त्यहीँ मन्दिरमध्येको एउटा ठूलो मन्दिरलाई सङ्केत गर्दै कमल भण्डारी बोल्नुहुन्छ-
“ऊ ! त्यो मन्दिर ! यहाँको मुख्य मन्दिर हो । त्यहीँ छ गौतम बुद्धको रौँ ।” हाम्रा अगाडि एउटा कहालीलाग्दो मन्दिर देखिन्छ । हामीहरू त्यतै जान्छौ ।
आखिर कथन र कहावत कुन धर्ममा छैन र ? कुन धर्मलाई फूलबुट्टा र रङ्गले पोतिएको छैन र ? किंवदन्ती कहाँ छैनन् र ? आगामा हामफाल्ने सतीदेवीको शरीर लिएर महादेव भारतवर्षको थुप्रै ठाउँहरूमा चाहारे । महादेव चाहार्दै गर्दा सतीदेवीको विभिन्न अङ्गहरू विभिन्न ठाउँमा खस्दै गरे । त्यो खसेको ठाउँमा विभिन्न मन्दिर र पिठहरू बन्दै गए । त्यस्तै बुद्धलाई पनि कहाँ अतिरञ्जित नपारिएको छ र ? उनको अङ्गलाई कहाँ संरक्षित छैनन् भनिएको छैन र ? गौतम बुद्धको दाँत र केशका लागि बर्मा, नेपाल, श्रीलङ्काका विभिन्न बुद्धका मन्दिर बनेका छन् । थाइल्यान्डमा पनि बुद्धको रौँ र दाँत भएका मन्दिर बन्नुमा कुनै अनौठो होइन । हामीहरू त्यो मन्दिरको भ्रमण गर्छौं तर त्यहाँ न कुनै दाँतको नै दर्शन गर्न पाइन्छ न केश ! विशेष समारोहमा मात्र खोलिन्छ । कोठाभित्र बन्द गरिएको रौँ हामीले हेर्न पाएनौँ । हाम्रो लक्ष्य असफल भयो तर अर्को अनौठो प्रथा के रहेछ भने, त्यो मन्दिरभित्र प्रवेश गर्ने जो व्यक्तिको पनि घुँडासम्म छोपिएको हुनुपर्छ । त्यति टाढाबाट आएका श्रद्धालुहरूलाई घुँडा नछोपिएकै कारण मन्दिर प्रवेशमा रोक लगाउनु न्यायोचित नभएपछि व्यवस्थापन निर्माणले अर्को जुक्ति निकालेको छ । घुँडा छोप्नका लागि दराजाम चाङ्गका चाङ्ग लुङ्गी राखिएको छ । प्रत्येक पुरुष तथा महिलाले आफ्नो साइजको लुङ्गी लगाएर मन्दिरको दर्शन गरेपछि त्यो लुङ्गी पुनः दराजमा नै राख्ने चलन रहेछ तर त्यो समस्यामा हामीहरू छैनौँ । हामीहरू सबैको घुँडा मात्र होइन घुँडाभन्दा तलसम्म छोपिने कपडा लगाएका छौँ ।
फुकेट मन्दिरबाट सुरु भएको आजको हाम्रो यात्रा विभिन्न ठाउँको अवलोकन गरेपछि फुकेट एयरपोर्टमा गएर टुङ्गिन्छ । त्यति मात्र होइन मेरो बर्मा र थाइल्यान्डयात्राको यो अन्तिम चरण हो । म यो यात्रालाई बिट मार्दै छु । वास्तवमा बिदाइ नमीठो हुन्छ । अझ छोटो समयमा बनाइदिएको कसिलो माया । अपरिचितबाट सम्बन्ध गाँसिदै बनेको मीठो परिचय । म उहाँहरूलाई खोज्दै बर्माबाट थाइल्यान्डसम्म पुगेको थिए भने उहाँहरूबाट ममता पनि पाएको थिएँ । केवल हामीलाई जोडेको थियो – राष्ट्रियता र भाषाले । म भाषा पछ्याउँदै गएको थिएँ । उहाँहरूले पनि आफ्नो भाषा खोज्दै आउनेलाई स्नेह दिनुभएको थियो । मलाई गौरव लाग्छ, भाषाले मान्छेलाई कतिसम्म कसिलो डोरीले बाँधेको छ । उसलाई कति एकीकृत गरेको छ ।
उहाँहरू एयरपोर्टबाट बिदा भएर घर फर्किनुहुन्छ । म भित्र पस्छु । रातको नौ बजेको छ । एयरपोर्ट सुनसान हुने तरखरमा छ । धेरैजसो काउन्टरहरू बन्द भइसकेका छन् । केवल अन्तिमतिरका उडान मात्र बाँकी छन् । फुकेटबाट उडेको जहाज एक घण्टामा नै बैङ्कक आइपुग्छ । बैङ्ककमा रातको बाह्र बजेको छ । म रातभरि नै एयरपोर्टभित्र नै बस्छु ।
भोलिपल्ट बिहान बैङ्ककमा झलमल्ल उज्यालो भइसकेको छ । मलाई त्यति हजार छैन । मैले बोर्डिङ्ग पास पहिल्यै लिइसकेको छु भने काठमाडौँ उड्ने गेटनिरको सोफामा आराम गरेको छु । म पहिलो उडानबाट नै काठमाडौँ उत्रिन्छु । बिहान नौ बजे थाइ समयअनुसार बैङ्ककबाट उडेको “थाइ लाइन” ले नेपाली समयअनुसार ११:३० बजे काठमाडौँ पुर्याइदिएको छ । म त्रिभुवन विमानस्थलबाट बाहिर निस्किन्छु तर मेरो यात्रा अझै टुङ्गिएको छैन । म आजै चितवन पुग्नु छ । केही बेरपछि बुद्ध एयरको हवाइजहाजबाट भरतपुर पुग्दै छु । त्यति मात्र होयन म केही बेरका लागि गौशाला पनि पुग्नु छ ।
त्रिभुवन विमानस्थलको पार्किङ स्थल भिडमभिड छ । विशाल जनसमुदाय सलबलाइरहेको छ । हल्ला गरिरहेका छन् । त्यहाँ कोही ड्राइभर छन्, कोही आफन्त लिन आएका छन् । कोही बिदाइका लागि आएका छन् । तिनीहरू सबै नेपाली भाषा बोल्छन् । मेरा दाइभाइ हुन् तर आँखा सोझै उपत्यकाको हरियो डाँडामा ठोकिन्छ, त्यो डाँडाले मलाई रमाइलो पार्नुपर्ने हो । मेरो दृष्टि खिच्नुपर्ने हो तर सक्दैन । बरु मलाई दिक्क लाग्छ । म भिडबाट आँत्तिन थाल्छु । हुन त त्यो भिडले मलाई केही गर्दैन । मलाई समात्न आउँदैन । त्यो भिडबाट म बानी परिसकेको छु तर कहिल्यै नपसेका नौला पर्यटकले के सोच्लान् ? त्यो भिडप्रति उनीहरूको दृष्टि कस्तो पर्ला । के नेपाल पूरै बेरोजगार छ ! के नेपालमा कामै छैन । नेपाल बेकार भइसक्यो ! ती सबै आवारा गुन्डा हुन् ! थाइल्यान्डको विमानस्थल नेपालको भन्दा विशाल ठूलो छ । रङ्गुनको त्यस्तै छ तर किन त्यहाँ भिड छैन ! किन त्यहाँ ठेलमठेल छैन । किन त्यहाँ ट्याक्सी ड्राइभर कुरेर बस्दैनन् । मेरो मनमा धेरे अनुत्तरित प्रश्नको जन्म हुन्छ ।
त्यति मात्र होइन । न मेरो झोला ठूलो छ न मलाई हतार नै । म हिँडेर नै विमानस्थलबाट चक्रपथसम्म पुग्छु । मलाई चक्रपथमा बस चढेर गौशालासम्म पुग्नु छ तर म बस चढ्न सक्दिनँ । बसका चालक र सहचालको काम फुट्ने गरी आउने चिच्याहट ! बसभित्रको यात्रुको अटेसमटेस ! म असिनपसिन हुन्छु । म बसभित्र पसे पनि बाहिर निस्किहाल्छु ।
रङ्गुन सहरमा हजारौँ बसहरू कुँदेका छन् । हजारौँ ट्याक्सीहरू गुडेका छन् । बैङ्कक सहर काठमाडौँभन्दा व्यापक बाक्लो छ । त्यहाँ नगरबस चल्छ । नगर ट्रेन गुड्छ तर चिच्याहट छैन । भद्रगोल छैन । खलासी यात्रुलाई तान्न आउँदैनन् । सबैतिर सभ्यता छ, सद्व्यवहार छ ।
तर काठमाडौँ सहरको यातायातमा म बानी परिसकेको छु । बसका सहचालक र चालकको टर्रो स्वर मैले पचाइसकेको छु । मलाई यस्तै भिडभाड र हुलभुलमा हुर्किएको हुँ । यो मेरो बाध्यता हो वा आवश्यकता तर हामीले यसलाई परिमार्जित बनाउन सकेनौँ । अनुशासनहीन बनिरह्यौ । मलाई खेद लाग्छ ।
म गौशाला पुगेर पुनः विमानस्थल आउँछु तर यसपटक मेरो गन्तव्य अन्ताराष्ट्रिय टर्मिनल नभई आन्तरिक टर्मिनलतिर छ । म भरतपुरका लागि लाइनमा उभिनुपर्छ । हुन त काठमाडौँबाट कुन दिन हवाइजहाज समयमा उडेको थियो र ? कुन महिना मौसमको कारण देखाएर विमानका कर्मचारी आफू निर्दोष बनेका थिएनन् र ? यसपटक पनि त्यो रोगले छुट्कारा पाउन सकिनँ । केवल यही फरक थियो, पहिला-पहिला २-३ घण्टा कुर्नुपर्थ्यो भने यसपटक आधा घण्टा मात्र । म काठमाडौँबाट भरतपुर पुग्छु ।
काठमाडौँबाट सुरु भएको मेरो यात्रा थाइल्यान्ड, बर्मा, थाइल्यान्ड, काठमाडौँ हुँदै भरतपुरमा आएर टुङ्गिन्छ । म झोला लिएर आफ्नो निवासतिर जान्छु तर मेरो मानसिकता भने टुङ्गिँदैन । म उराठलाग्दो बन्छु । मलाई दिक्क लाग्छ । अनुशासनहीन परिपाटि र विवेकहीन नेताबाट आजित छु । हामी किन सचेत भएनौँ । हामीलाई किन चेतना घुसेन । हाम्रो छिमेकी मुलुकहरूले आफ्नो मुलुकलाई सम्पन्न पारिसके । उन्नति गरिसके तर हामीहरू ? मेरा अगाडि ठूलो प्रश्नचिह्न उभिन्छ । बर्मा देश सैनिक शासनबाट थिलो-थिलो छ । प्रजातन्त्र निमोठिएको छ तर विकास रोकिएको छैन । उनीहरू रातदिन खटेका छन् । आफ्नो देशलाई सक्षम पार्न प्रजातन्त्र चाहिँदैन । जनता बोल्नु पर्दैन । जनता स्वतन्त्र हुनु पर्दैन । नेता दह्रो हुनुपर्छ अनि विवेकशील कर्मचारी । जनताका लागि जनता बोल्ने होइन नेता बोल्ने हो । उनीहरू नै खट्नुपर्छ । हामीले राजतन्त्र फाल्यौँ । नेपालको राजदरबारमा राजा बस्ने गर्दैनन् । निरङ्कुश सावित भएको राजतन्त्र हटिसक्यो तर देश निकालाका लागि राजतन्त्र फाल्नुपर्छ भन्ने छैन । राजतन्त्रको कट्टर विरोधी हुनु पर्दैन । राजतन्त्र भएको थाइल्यान्डको विकासबाट कुन नेपाली पछुतो नगर्ला । त्यहाँको भौतिक संरचनाबाट कुन व्यक्ति लालाहित नहोला !
चुनौती कहाँ छैन ! समस्या कुन मुलुकमा आउँदैन ! शक्ति र सम्पदाको दुरुपयोग कहाँ हुन खोज्दैन तर त्यसलाई नियन्त्रण गर्न सक्नु र देश विनाश हुनबाट बचाउन नचाहनु नै राष्ट्र कङ्गाल हुनु हो अनि व्यक्ति जतिसुकै धनी किन नहोस्, किन सम्पन्न नहोस् उसलाई संसारले कङ्गालकै रूपमा चिन्छ । उसको नाम अगाडि गरिब, निमुखा, श्रमिक अनि कङ्गाल नै थपिन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।